-
मसीहको उपस्थिति र उहाँको शासनप्रहरीधरहरा—१९९३ | अप्रिल १
-
-
१, २. (क) येशू स्वर्गतर्फ जानु हुँदा उहाँका प्रेरितहरूलाई दुईवटा स्वर्गदूतहरूले कसरी सान्त्वना दिए? (ख) ख्रीष्ट फर्कनु हुने कुराको सम्भावनाले के प्रश्नहरू खडा गर्दछन्?
जैतुन डाँडाको पूर्वपट्टि एघार जना मानिसहरू आकाशतर्फ हेर्दै उभिरहेका थिए। केही क्षणअघि मात्र तिनीहरूका माझबाट येशू उचालिनु भएको थियो। उहाँको रूप तिनीहरूको दृष्टिबाट बिस्तारै अस्पष्ट हुँदै गयो र अन्तमा त्यसलाई देख्नै नसक्ने गरी बादलले ढाक्यो। येशू नै मसीह हुनुहुन्छ भनेर येशूले तिनीहरूसित बिताउनु भएका केही वर्षहरूको दौडानमा प्रस्तुत गर्नु भएको प्रशस्त प्रमाण यी मानिसहरूले देखिसकेका थिए; उहाँको मृत्युको शोक र पुनरुत्थानको हर्ष पनि तिनीहरूले अनुभव गरिसकेका थिए। तर अहिले चाहिं उहाँ गइ नै हाल्नु भयो।
२ अचानक दुईवटा स्वर्गदूत देखा परे र यी सान्त्वनाप्रद शब्दहरू भने: “ए गालीलका मानिस हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूसँगबाट स्वर्गारोहण हुनुभएको छ, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर गइरहनुभएको देख्यौ, त्यसरीनै उहाँ फेरि आउनुहुनेछ।” (प्रेरित १:११) यी शब्दहरू कति ढाढसपूर्ण थिए—येशू स्वर्ग जानुको अर्थ पृथ्वी र मानवजातिमाथि अब उप्रान्त उहाँले कुनै चासो नलिने होइन! त्यसको विपरीत येशू फेरि फर्की आउनु हुनेछ। निश्चय नै यी शब्दहरूद्वारा प्रेरितहरू आशान्वित भए। येशूको पुनरागमनको प्रतिज्ञालाई आज पनि लाखौं-लाख मानिसहरूले ठूलो महत्त्व दिन्छन्। कसै-कसैले यसलाई “दोस्रो आगमन” वा “आगमन” भन्छन्। तथापि, धेरै मानिसहरू चाहिं येशूको पुनरागमनको अर्थबारे अन्योलमा छन्। ख्रीष्ट कुन रीतिले फर्कनु हुनेछ? कहिले? र त्यसले हाम्रो जीवनमाथि आज कसरी प्रभाव पार्दछ?
ख्रीष्टको पुनरागमन हुने तरिका
३. ख्रीष्टको पुनरागमनको सम्बन्धमा धेरै मानिसहरू के विश्वास गर्दछन्?
३ एन इभ्यान्जिकल ख्रीस्टोलोजी भन्ने पुस्तकअनुसार “ख्रीष्टको पुनरागमन वा दोस्रो आगमनद्वारा (पारुसिया) परमेश्वरको राज्य आखिरी पटक, स्पष्टगरी र सदाकालका लागि स्थापित हुनेछ।” ख्रीष्टको पुनरागमन खुला रूपले र यस ग्रहमा बस्ने सबैले देख्ने गरी हुनेछ भन्ने आम धारणा छ। यस धारणालाई समर्थन गर्न धेरैले प्रकाश १:७ तर्फ सङ्केत गर्दछन् जहाँ यसरी लेखिएको छ: “हेर, उहाँ बादलहरूका साथमा आउनुहुन्छ, र हरेक आँखाले र उहाँलाई छेंड़नेहरूले उहाँलाई देख्नेछन्।” तर यस पदको अक्षरशः अर्थ लिनु के उचित हो?
४, ५. (क) प्रकाश १:७-को अर्थ यथाशाब्दिक होइन भनी हामी कसरी बुझ्दछौं? (ख) यस समझलाई येशूका आफ्नै शब्दहरूले कसरी समर्थन गर्दछ?
४ नबिर्सनु होस्, प्रकाशको पुस्तक “चिन्हहरू”-द्वारा प्रस्तुत गरिएको छ। (प्रकाश १:१) त्यसो हुनाले यो पद लाक्षणिक नै हुनुपर्छ; किनभने येशू फर्कनु हुँदा “उहाँलाई छेंड़नेहरूले” आखिर कसरी देख्न सक्छन् र? तिनीहरू त करीब २० शताब्दीअघि नै मरिसके! यसबाहेक, ख्रीष्ट जसरी जानु भयो, उहाँ “उसरी नै” फर्किआउनु हुनेछ भनेर स्वर्गदूतहरूले भनेका थिए। अतः उहाँ कसरी जानु भयो? उहाँ जानु हुँदा के लाखौं मानिसहरूले हेरिरहेका थिए? थिएनन्। त्यस घटनालाई केही विश्वासी जनहरूले मात्र देखे। अनि तिनीहरूसित स्वर्गदूतहरू कुरा गर्दा, के ती प्रेरितहरूले ख्रीष्ट स्वर्गसम्मै पुग्नु भएको देखे? देखेनन्। येशूलाई बादलले ढाक्यो र तिनीहरूको दृष्टिबाट उहाँ ओझल हुनुभयो। त्यसको केही समयपछि मात्र उहाँ मानव आँखाले देख्न नसक्ने एकजना आत्मिक व्यक्तिको रूपमा स्वर्गमा प्रवेश गर्नु भएको हुनुपर्छ। (१ कोरिन्थी १५:५०) अतः, प्रेरितहरूले येशूको यात्राको प्रथम चरणभन्दा बढी केही देखेनन्; तिनीहरूले यात्राको अन्तिम चरण, अर्थात् स्वर्गमा हुनुहुने आफ्ना पिता, यहोवाको समीप उहाँ फर्कनु भएको चाहिं देख्न पाएनन्। यो कुरा तिनीहरूले आफ्ना विश्वासका आँखाले मात्र ठम्याउन सके।—यूहन्ना २०:१७.
५ येशू बिल्कुलै यस्तै गरी फर्कनुहुन्छ भनी बाइबलले सिकाउँछ। आफ्नो मृत्यु भन्दा केहीअघि येशू आफैले यसो भन्नुभयो: “अझ अलिबेर, औ संसारले मलाई फेरि कहिल्यै देख्नेछैन।” (यूहन्ना १४:१९) उहाँले यसो पनि भन्नुभयो: “परमेश्वरको राज्य प्रत्यक्ष रूपमा आउँदैन।” (लूका १७:२०) उसो भए ‘उहाँलाई हरेक आँखाले देख्नेछन्’ भनेको अर्थ के हो त? यस प्रश्नको उत्तर दिन पहिले हामीले येशूको पुनरागमनको सम्बन्धमा येशू र उहाँका अनुयायीहरूले प्रयोग गरेको शब्दलाई राम्ररी बुझ्नु पर्दछ।
६. (क) युनानी शब्द पारूसिया-लाई “आगमन” भनी अनुवाद गरिएको शब्दले त्यसको सम्पूर्ण अर्थ किन दिंदैन? (ख) पारुसिया भन्ने शब्दले कुनै क्षणिक घटनालाई होइन, तर लामो अवधिलाई जनाउँदछ भन्ने कुरा केले देखाउँछ?
६ तथ्य के हो भने, येशू “फर्किनु” मात्र हुँदैन। त्योभन्दा बढी गर्नु हुनेछ। त्यस शब्दले “आउनु” र “आगमन” जस्तो छोटो समयावधि भित्र घटने कुनै एउटा घटनालाई मात्र सङ्केत गर्छ। तर येशू र उहाँका अनुयायीहरूले प्रयोग गर्नु भएको युनानी शब्दको अर्थ त्यो भन्दा बढी छ। त्यो शब्द पारूसिया हो, जसको अक्षरशः अर्थ हो “सङ्गै हुनु” वा “उपस्थिति”। यस शब्दले आगमन मात्र होइन, त्यसपछि हुने उपस्थितिसमेतलाई ढाक्छ भन्ने कुरा धेरै विद्वानहरू स्वीकार्छन्। उदाहरणका लागि राजकीय भ्रमणको दौडानमा एकजना शाही व्यक्तिको उपस्थितिलाई विचार गर्नुहोस्। यसप्रकारको उपस्थिति एउटा कुनै क्षणिक घटना होइन; यो एउटा खास समयावधिका लागि हुन्छ। मत्ती २४:३७-३९-मा येशूले भन्नुभयो कि “मानिसको पुत्रको आगमन [पारूसिया]” “नूहका दिनहरू” जस्तै हुनेछ जब आखिरमा गएर जल-प्रलय भएको थियो। जल-प्रलय आएर त्यस बेलाको दुष्ट संसारको रीतिरिवाजलाई बगाएर लग्नुभन्दा कयौं दशक पहिलेदेखि नूहले जहाज बनाउँदै दुष्टहरूलाई चेतावनी दिने पनि गरेका थिए। त्यसैगरी ख्रीष्टको अदृश्य उपस्थिति पनि केही दशकसम्म कायम रहने एउटा समयावधि हो जसको अन्तमा महान विनाश हुनेछ।
७. (क) पारुसिया-लाई मानव आँखाले देख्न सक्तैन भन्ने कुरा केले प्रमाणित गर्दछ? (ख) ख्रीष्टको पुनरागमन “हरेक आँखाले” देख्नेछ भनी शास्त्रमा वर्णन गरिएको वचन कहिले र कसरी पूरा हुनेछ?
७ यहाँ चर्चा गरिएको आगमन-लाई निःसन्देह मानव आँखाले अक्षरशः देख्ने छैन। त्यो देख्न सकिने हुँदो हो त आफ्ना अनुयायीहरूले उहाँको उपस्थितिलाई ठम्याउन सकोस् भनेर येशूले एउटा चिन्ह दिनमा यतिका समय किन बिताउनु हुन्थ्यो र?a तथापि शैतानको विश्व रीतिरिवाजलाई नष्ट गर्न ख्रीष्ट आउनुहुँदा, उहाँको उपस्थितिको वास्तविकता सबैको सामु सम्पूर्णतया प्रत्यक्ष हुनेछ। त्यसैबेला “हरेक आँखाले उहाँलाई देख्ने छ।” ख्रीष्टको शासन एउटा वास्तविकता हो भनेर येशूका विरोधीहरूसमेतले बडो खिन्नताका साथ बुझ्ने छन्।—मत्ती २४:३०; २ थिस्सलोनिकी २:८; प्रकाश १:५, ६ हेर्नुहोस्।
-
-
मसीहको उपस्थिति र उहाँको शासनप्रहरीधरहरा—१९९३ | अप्रिल १
-
-
a यसबारे धर्मशास्त्री आर० गोभेटले १८६४ सालमा यसो भने: “मेरो विचारमा यो एउटा अति नै निर्णयात्मक कुरा हो। चिन्ह दिनुको अर्थ नै उपस्थिति एउटा रहस्य हो भनेर बुझिन्छ। किनकि हामीले देख्न सक्ने कुरालाई प्रत्यक्ष पार्न कुनै चिन्हको खाँचो पर्दैन।”
-