यहोवाका मानिसहरू विश्वासमा दह्रो बनाइन्छन्
“यसरी मण्डलीहरू विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।”—प्रेरित १६:५
१. परमेश्वरले प्रेरित पावललाई कसरी प्रयोग गर्नु भयो?
यहोवा परमेश्वरले टार्ससको शावललाई “एउटा छानिएको पात्र” झैं प्रयोग गर्नु भयो। धेरै “कष्टहरू भोग्ने” प्रेरित पावलको नाउँबाट तिनी प्रचलित छन्। तर तिनले र अरू धेरैले गरेका कामबाट यहोवाको सङ्गठनमा एकता र अदभुत बृद्धिको आनन्द अनुभव गर्न सकियो।—प्रेरित ९:१५, १६.
२. प्रेरित १३:१–१६:५ बारे मनन गर्नु किन लाभदायक हुनेछ?
२ अन्यजातिका मानिसहरू बढ़दो सङ्ख्यामा मसीही भइरहेका हुनाले परमेश्वरका मानिसहरूका विश्वासलाई दह्रो बनाउन र एकता कायम राख्न, सञ्चालक समितिको एउटा विशेष बैठकले महत्वपूर्ण भूमिका निभायो। प्रेरित १३:१–१६:५ सम्म उल्लेखित् घटनाहरूको विचार गर्नु धेरै नै फायदाजनक हुनेछ किनभने यहोवाका साक्षीहरूले पनि आज त्यस्तै बृद्धि र आत्मिक आशिषहरू अनुभव गरिरहेका छन्। (यशैया ६०:२२) (प्रेरितको पुस्तकमा आधारित लेखहरू अध्ययन गर्नु हुँदा, ठूला-ठूला अक्षरमा सङ्केत् गरिएका पदहरू पढ़नुहोस् भनेर अनुरोध गर्दछौं).
धर्म-प्रचारकहरू गतिशीलता साथ काममा लाग्छन्
३. एन्टिओकमा “अगमवक्ताहरू र शिक्षकहरूले” के काम गर्ने गर्थिए?
३ एन्टिओक र सिरियाका मण्डलीहरूबाट बाहिर पठाइएका मानिसहरूले विश्वासमा भएका भाइहरूलाई विश्वासमा दह्रो भएर बस्ने मदद दिए। (१३:१-५) एन्टिओकमा “अगमवक्ताहरू र शिक्षकहरू” बर्णाबास, सिमिओन (नाइजर), साइरिनीबासी लुसियस, मनेन र टार्ससका शावल थिए। अगमवक्ताहरूले परमेश्वरको वचनको अर्थ खोलि दिने र अगमवाणी भन्ने काम गरथिए तर शिक्षकहरूले चाहिं शास्त्र र ईश्वरीय जीवन व्यतित गर्ने सम्बन्धमा उपदेश दिने गरथिए। (१ कोरिन्थी १३:८; १४:४) बर्णाबास र शावल एउटा खास कामका लागि नियुक्त भए। बर्णाबासका भाइ, मर्कूसलाई साथमा लिएर, तिनीहरू सायप्रस तिर लागे। (कलस्सी ४:१०) तिनीहरूले पूर्वीय बन्दरगाह सालामिसका सभाघरहरूमा प्रचार गरे, तर त्यहाँका यहूदीहरूले राम्रो सँग वचन ग्रहण गरे भन्ने कुरा पाउँदैनौं। तिनीहरू धनवान हुनाले, मसीहको तिनीहरूलाई के खाँचो थियो र?
४. धर्म-प्रचारकहरू सायप्रसमा लगातार प्रचार गरिरहँदा के भयो?
४ तर सायप्रसमा अरू साक्षी दिने कामलाई परमेश्वरले आशिष दिनु भयो। (१३:६-१२) पाफोसमा यी धर्म-प्रचारकहरूले बारयेशू (एलीमास) नाउँ भएको एक जना यहूदी जादूगर र झूटा अगमवक्ता भेट्टाए। यो मानिसले हाकिम सर्गियस पौलसलाई परमेश्वरको वचन सुन्न देखिन् रोक्ने कोशिश गर्दा, पवित्र आत्माले प्रेरित भएर शावलले एसो भने: ‘ए सम्पूर्ण छल र सम्पूर्ण धूर्त्याइँले भरिएको तँ शैतानको बच्चा, तँ सारा धर्म-कर्मको शत्रु, के तँ यहोवाको [NW] सच्चा बाटो बङ्ग्याउन छोड़दैनस?’ उत्तिखेरै, परमेश्वरको हातले एलिमासलाई अन्धो पारि दियो र सर्गियस पौलसले “यहोवाको [NW] शिक्षामा अचम्भ मानी विश्वास गरे।”
५, ६. (क) पिसिड्याको एन्टिओकको सभाघरमा पावलले येशूको विषयमा के भने? (ख) पावलको भाषणले के असर पार्यो?
५ सायप्रसबाट, टोली एशिया मायनरको पर्गा नाउँ भएको शहर तिर समुद्री यात्रा गर्दै गयो। पावल र बर्णाबास त्यहाँ देखि शायद उत्तर, पहाड़ी भन्ज्याङहरूको बाटो, ‘नदीहरूको जोखिम र डाँकूहरूको जोखिममा’ पर्दै, पिसिडियाको एन्टिओकमा आइ पुगे। (२ कोरिन्थी ११:२५, २६) यहाँ पावल सभाघरमा गएर बोले। (१३:१३-४१) तिनले इस्राएलसँग परमेश्वरले गर्नु भएको व्यवहारको पुनरावलोकन गरे र दाऊदको सन्तान येशू नै मुक्तिदाता हुनुहुन्छ भनेर चिनाइ दिए। यहूदी शासकहरूले येशूको मृत्युको माँग गरेको भएता पनि, परमेश्वरले उहाँलाई बिउताउँनु भएर, तिनीहरूको पुर्खाहरू सँग परमेश्वरले गर्नु भएको अगमवाणी पुरा भएको थियो। (भजन संग्रह २:७; १६:१०; यशैया ५५:३) पावलले आफ्नो स्रोताहरूलाई परमेश्वरले येशू द्वारा दिनु हुने मुक्तिको ठट्टा नगर्नू भनेर चेताउनी दिए।—हबकूक १:५, सेप्टूगेंट.
६ पावलको भाषण सुनेर धेरैको मनमा चासो जाग्यो जसरी आज यहोवाका साक्षीहरूले दिएका भाषणहरू सुनेर पनि मानिसहरूमा चासो जागेको छ। (१३:४२-५२) आउँदो विश्रामको दिनमा शहरका प्राय जम्मै मानिसहरू यहोवाको वचन सुन्न भेला भए र यो देखेर यहूदीहरू डाहले भरिए। यी मसीही धर्म-प्रचारकहरूले एकै हप्ताह भित्र त्यत्तिका अन्यजातिहरूको धर्म-परिवर्तन गराउन सके, जत्तिका ती यहूदीहरूले आफ्ना जीवनकाल भरिमा पनि गर्न सकेका थिएनन्! यहूदीहरूले ईश्वर-निन्दा गर्दै पावलको विरोध गरेको हुनाकारण, आत्मिक ज्योति वेग्लै ठाउँमा चम्काउन उचित् देखियो र तिनीहरूलाई पावलले एसो भने: ‘तपाईंहरूले नै [परमेश्वरको वचनलाई] रद्द गरेर आफैले आफैलाई अनन्त जीवनको अयोग्य ठहराउनुहुन्छ भनेता, हेर्नुहोस्, हामी अब अन्यजातिहरू तर्फ फर्कन्छौं।’—यशैया ४९:६.
७. पावल र बर्णाबासले सतावटको सामने के कस्तो प्रतिकृया व्यक्त गरे?
७ यस पछि अन्यजातिका मानिसहरू रमाउन थाले र अनन्त जीवन तर्फ राम्रो सँग मन लगाउनेहरू जम्मै विश्वास गर्नेहरू भए। तर जसै देश भरि यहोवाको वचनको बृद्धि हुँदै गयो, यहूदीहरूले आफ्नो इलाकाबाट पावल र बर्णाबासलाई सताएर बाहिर फालिदिन, समाजका प्रतिष्ठित स्त्रीहरू (शायद आ-आफ्ना पतिहरू र अरूहरूमाथि दबाव हाल्न सक्ने) र अरू प्रमुख मानिसहरूलाई भड़काए। तर यतिले ती धर्म-प्रचारकहरूलाई रोक्न सकेन। तिनीहरूले आफ्नो “खुट्टाको धूलो तिनीहरूका विरूद्धमा टकटकाएर” रोमी प्रान्त गलातीको मुख्य शहर आइकोनियम (आधुनिक कोन्या) तिर हिंड़े। (लूका ९:५; १०:११) तर पिसिड्याको एन्टिओकमा बस्ने चेलाहरूलाई के भयो? विश्वासमा दह्रो भएको हुनाकारण, तिनीहरू “आनन्द र पवित्र आत्माले परिपूर्ण” भए। विरोध हुँदै मा अध्यात्मिक प्रगतिमा वाधा पार्न आवश्यक छैन रहेछ भनेर हामीले यहाँबाट बुझ्न सक्छौं।
सतावटको वावजूद विश्वासमा दहो
८. आइकोनियममा प्रचारको काम सफल भएको हुनाकारण, के भयो?
८ पावल र बर्णाबास, दुवैले सतावटको बाबजूद दृढ़ विश्वास प्रकट गरे। (१४:१-७) आइकोनियमको सभाघरमा तिनीहरूले दिएको साक्षीको फलःस्वरूप, धेरै जना यहूदीहरू र युनानीहरू विश्वास गर्नेहरू भए। भरखरै विश्वास गर्न लागेका मानिसहरूको विरूद्धमा, विश्वास न गर्ने यहूदीहरूले अन्यजातिका मानिसहरूलाई भड़काउँदा यी दुई सेवकहरू निडर भएर, परमेश्वरको अख्तियार साथ बोले र उहाँले तिनीहरूलाई चिन्हहरू गर्ने शक्ति दिनु भएर आफ्नो अनुमोदन प्रकट गर्नु भयो। यसले गर्दा भीड़मा फूट उत्पन्न भयो र केही मानिसहरूले यहूदीहरूका पक्ष लिए र केही मानिसहरू प्रेरितहरूको (पठाइएकाहरू) पक्ष लिने भए। प्रेरितहरू डरपोकहरू थिएनन् तर तिनीहरूलाई ढुङ्गाले हान्ने षड़यन्त्रको खबर पाए पछि, तिनीहरू बुद्धिमानी साथ, एशिया माइनरको इलाकामा स्थित दक्षिण गलातीको लाइकोनियामा प्रचार गर्न गए। हामीहरू पनि यसरी नै चतुर भयौं भने, सतावट हुँदा हुँदै पनि आफ्नो सेवकाईमा गतिशील हुन सक्छौं।—मत्ती १०:२३.
९, १०. (क) लङ्गड़ो मानिस निको भएको देखेर लिस्त्राका मानिसहरूले के कस्तो प्रतिकृया देखाए? (ख) पावल र बर्णाबासले लिस्त्रामा के प्रतिकृया देखाए?
९ लाइकाओनियाको लिस्त्रा नाउँ भएको शहरमा अब साक्षी दिइयो। (१४:८-१८) त्यहाँ पावलले आमाको गर्भ देखिनै लङ्गड़ा भएको एक जना मानिसलाई निको पारे। यो चमत्कारको निम्ति यहोवा जिम्मेवार हुनुहुन्छ भनेर नबुझेको हुनाले, भीड़ एसो भन्दै कराउन थाले: “देवहरू मानिसहरूका रूपमा हामीकहाँ ओर्लेर आएछन्।” यो कुरा लाइकाओनिया भाषामा भनेको हुनाकारण, बर्णाबास र पावललाई के भइ रहेको छ, थाहै भएन। पावलले मुख्य वक्ताको काम गरेको देखेर, ती मानिसहरूले पावललाई मर्करी (देवहरूको वाक्पटु दूत) र बर्णाबासलाई जूपिटर भनी ठाने।
१० मर्करीको पुजारीले गोरूहरू र फूलका मालाहरू पनि पावल र बर्णाबासलाई चढ़ाउन ल्याए। सबैले बुझ्न सक्ने साधारण युनानी भाषा बोल्दै अथवा अनुवादक द्वारा, यी परदेशीहरूले आफू पनि सबैका जस्तै कमजोरीहरू हुने मानिसहरू हुन् र मनिसहरूलाई “यी व्यर्थका कुराहरूबाट” (निर्जीव देव अथवा मूर्तिहरू) “साक्षात परमेश्वर तर्फ फिराउन” सुसमाचार सुनाउदै हिडेंका हुन् भनी चाँड़-चाँड़ै बताइ दिए। (१ राजा १६:१३; भजन संग्रह ११५:३-९; १४६:६) हो, पहिले पहिले परमेश्वरले जातिहरूलाई (हिब्रूहरू बाहेक) आ-आफ्नो मार्गमा चल्न दिनु भएतापनि, ‘स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु’ दिनु हुँदै उहाँले आफ्नो भलाइ र अस्तित्वबारे गवाही दिन छाड़नु भएन। (भजन संग्रह १४७:८) यस प्रकारको तर्क प्रस्तुत गरेर पनि, बर्णाबास र पावलले तिनीहरूका लागि बली चढ़ाउन देखिन्, भीड़लाई अत्यन्त कठिनाई साथ रोक्न सके। यी धर्म-प्रचारकहरूले देवहरू झैं उपासना थापेनन् नता तिनीहरूले त्यस ठाउँमा मसीही धर्म स्थापित गर्न यस प्रकारको अख्तियार प्रयोग गरे। यहोवाले उहाँको सेवामा हामी द्वारा सम्पन्न गर्नु हुने कार्यका लागि मान खोजने प्रवृत्ति हामीमा छ भने, खासगरि यो हाम्रा लागि एउटा राम्रो उदाहरण हो!
११. “अनेक कष्ट सही हामी परमेश्वरको राज्यमा पस्नै पर्छ” भन्ने शब्दहरूबाट हामी के सिक्न सक्दछौं?
११ अचानक, सतावटले आफ्नो उग्ररूप धारण गर्यो। (१४:१९-२८) कसरी? पिसिड्याको एन्टिओक र आइकोनियमबाट आएका यहूदीहरूको कुरामा लागेर, भीड़ले पावललाई ढुङ्गाले हान्नथाले र तिनलाई मुर्दा ठानेर, शहरको बाहिर लगेर फालिदिए। (२ कोरिन्थी ११:२४, २५) तर चेलाहरूले तिनलाई वरिपरिबाट घेरे पछि, पावल जुरूक्क उठेर अरूहरूले नदेख्ने गरी, हुन सक्छ रातको अन्धकारमा, लिस्त्रा भित्र प्रवेश गरे। भोलीपल्ट तिनी र बर्णाबास डर्बीमा गए, जहाँ निकै मानिसहरू चेला बनेछ। लिस्त्रा, आइकोनियम र एन्टिओकमा पुनःभेट गर्न जाँदा, यी धर्म-प्रचारकहरूले ती ठाउँहरूका चेलाहरूलाई बलियो बनाउँन, विश्वासमा दह्रो भएर बस्न प्रोत्साहित गर्दै एसो भने: “अनेक कष्ट सही परमेश्वरको राज्यमा [हामी] पस्नैपर्छ।” (२ तिमोथी ३:१२) मसीहीहरू हुनाले, हामी माथि पनि सङ्कष्टहरू आइ लाग्नेछ तर ती सङ्कष्टहरूबाट उम्कनका लागि हामीले आफ्नो विश्वासको उल्लङ्घन गर्नु हुँदैन। त्यस बखत, पावलले गलातीहरूलाई लेखेको पत्र जुन जुन मण्डलीहरूका लागि थियो, ती सबै मण्डलीहरूमा प्राचीनहरू नियुक्त गरियो।
१२. पावलको प्रथम प्रचार यात्रा समाप्त हुँदा, ती दुई धर्म-प्रचारकहरूले के गरे?
१२ पिसिड्या भएर जाँदा, पावल र बर्णाबासले प्यामफिलियाको प्रमुख शहर, पर्गामा परमेश्वरको वचन सुनाए। समयमा, तिनीहरू सिरियाको एन्टिओकमा फर्केर आए। पावलको प्रथम प्रचार-यात्रा अब समाप्त भए पछि, यी दुई धर्म-प्रचारकहरूले मण्डलीलाई “परमेश्वरले तिनीहरूका साथमा कत्ति काम गर्नुभयो, र उहाँले अन्यजातिहरूलाई कसरी विश्वासको ढोका खोलिदिनुभयो भन्ने समाचार सुनाए।” एन्टिओकका चेलाहरू सँग तिनीहरूले केही समय बिताएका हुनाले, तिनीहरू विश्वासमा अझ दह्रो हुन सके। आज पनि, परिभ्रमण अध्यक्षहरूका भ्रमणबाट यस्तै किसिमको आत्मिक असर हुन्छ।
एउटा महत्वपूर्ण प्रश्नको फैसला हुन्छ
१३. मसीही-धर्मलाई हिब्रू र गैर हिब्रू गुटबन्दीबाट बचाउनका लागि, के आवश्यक भयो?
१३ विश्वासमा दह्रो हुनका लागि सोच-विचारमा एकता आवश्यक थियो। (१ कोरिन्थी १:१०) मसीही-धर्मलाई हिब्रू र गैर-यहूदी गूटमा टुक्रिन नदिनका लागि, परमेश्वरको सङ्गठनमा अन्यजातिहरूबाट ओइरिरहेका मानिसहरूले मोशाको व्यवस्था पालन गर्दै खतना गर्न आवश्यक छ वा छैन भन्ने कुराको, सञ्चालक समितिले फैसला गर्नु पर्यो। (१५:१-५) यहूदियाबाट केही मानिसहरू सिरियाको एन्टिओकमा गएर अन्यजातिहरूबाट आएका विश्वास गर्ने भाइहरूले खतना न गरे सम्म मुक्ति पाइने छैन भनेर सिकाउन थाली सकेका थिए। (प्रस्थान १२:४८) यसकारण, पावल, बर्णाबास र अरूहरूलाई यरूशलेममा, प्रेरितहरू र प्राचीनहरूकहाँ पठाइयो। त्यहाँ पनि, जति जना विश्वासीहरू जो पहिले कानूनवादी फरिसीहरू थिए, तिनीहरूले अन्यजातिहरूलाई खतना र मोशाको व्यवस्था पालन गर्न लाउनै पर्छ भनेर जिद्दी गरे।
१४. (क) यरूशलेमको बैठकमा वादविवाद भएतापनि, के राम्रो उदाहरण पाउँछौं? (ख) पत्रुसले त्यहाँ गरेको तर्कको निचोड़ के थियो?
१४ परमेश्वरको इच्छा थाह लाउन, बैठक बस्यो। (१५:६-११) हो, त्यो बैठकमा वादविवाद चल्यो किनभने दह्रो विचार राख्ने मानिसहरूले आ-आफ्नो राय प्रकट गरिरहेका थिए तापनि त्यहाँ कुनै प्रकारको झगड़ा वा कलह चाहिं भएन—र आजका प्राचीनहरूका निम्ति यो एउटा उच्च स्तरको उदाहरण हो! केही समय पछि पत्रुसले एसो भने: ‘परमेश्वरले मेरो मुखबाट अन्यजातिहरूले सुसमाचारको वचन सुनून् र विश्वास गरून् भनी, तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा बक्सेर तिनीहरूका निम्ति गवाही दिनुभयो। [प्रेरित १०:४४-४७] यसकारण अब किन परमेश्वरको परीक्षा गर्नुहुन्छ, र चेलाहरूका काँणमा त्यो जुवा [व्यवस्था पालन गर्ने जिद्द] हालिदिनुहुन्छ? जुन नता हाम्रा पिता-पुर्खाहरूले न हामीले बोक्न सक्यौं। तर हामी [शारीरिक यहूदीहरू] विश्वास गर्दछौं कि प्रभु येशूको अनुग्रहबाट तिनीहरूले उद्धार पाए झैं हामीले पनि पाउनेछौं।’ परमेश्वरले खतना न गरेका अन्यजातिहरूलाई पनि स्वीकार गर्नु भएर, मुक्तिको निम्ति खतना र व्यवस्था पालन गर्न आवश्यक छैन भनेर देखाउनु भयो।—गलाती ५:१.
१५. याकूबले कुन्-कुन् मुख्य कुराहरू औंलाएर देखाए र अन्यजाति मसीहीहरूलाई के भनेर पत्र लेख्ने सल्लाह गरे?
१५ पत्रुसले आफ्नो कुरा भनी सके पछि, सारा मण्डली शान्त भयो। तर भन्ने कुरा अझ बाँकी नै थियो। (१५:१२-२१) बर्णाबास र पावलले तिनी दुई द्वारा परमेश्वरले अन्यजातिहरूको माझमा गर्नु भएका अन्य चिन्हहरूको कुरा बताइ दिए। यस पछि, येशूका भाइ पर्ने, अध्यक्ष याकूबले एसो भने: ‘कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्यजातिहरूबाट एक जाति लिनलाई कृपादृष्टि गर्नुभयो भन्ने कुरो शिमोनले बताएका छन्।’ “दाऊदको तम्बू” फेरि बनाउने अगमवाणी (दाऊदको वंशमा राज्यको पुनःस्थापना) दुवै यहूदीहरू र अन्यजातिहरूबाट, येशूका चेलाहरू (राज्यका हकवालाहरू) जम्मा भएर पुरा भइरहेको थियो भनेर याकूबले सङ्केत् गरे। (आमोस ९:११, १२, सेपटुवागिन्ट अनुवाद; रोमी ८:१७) यो उद्देश्य स्वयं परमेश्वरले रच्नु भएको हुनाकारण, यसलाई चेलाहरूले स्वीकार्न उचित् थियो। याकूबले अन्यजातिहरूबाट आएका मसीहीहरूलाई निम्न कुराहरूबाट अलग बस्न भनेर पत्र पठाउने राय दिए: (१) मूर्त्तिहरूलाई बली चढ़ाएको प्रसाद, (२) व्यभिचार र (३) रगत र गला अँठ्याएर मारेको जन्तुको मासु। प्रत्यक विश्रामको दिनमा, सभाघरहरूमा पढ़िने मोशाको व्यवस्थामा पनि यी कुराहरू निषेध थिए।—उत्पत्ति ९:३, ४; १२:१५-१७; ३५:२, ४.
१६. प्रथम शताब्दिको सञ्चालक समितिले कुन तीन कुराहरूबारे दिएका निर्देशन आज सम्म कायम छ?
१६ सञ्चालक समितिले अब एन्टिओक, सिरिया र सिलिसियामा भएका अन्यजाति मसीहीहरूलाई पत्र पठाए। (१५:२२-३५) पवित्र आत्मा र पत्र पठाउनेहरूले मूर्त्तिहरूलाई बली चढ़ाएका कुराहरू, रगत (जसलाई कुनै कुनै मानिसरूले नियमित रूपमा खाने गर्थिए), रगत न बगाइकन गला अँठ्याएर मारेका जन्तुको मासु (धेरै मूर्त्तिपूजकहरूले यस प्रकारको मासुलाई एउटा स्वादिष्ट परिकार ठान्द थिए) र व्यभिचार, (ग्रीक भाषामा पोरनिया अथवा शास्त्रले मान्यता दिएको विवाह बाहिरको गैर-कानूनी योनिक सम्बन्ध)। यी कुराहरूबाट आफूलाई अलग राखेमा, तिनीहरूको आत्मिक उन्नति हुने थियो जसरी आज यी “जरूरत्का कुराहरूबाट” टाढ़ा बसेर, यहोवाका साक्षीहरूको पनि आत्मिक उन्नति भइरहेको छ। “तपाईंहरूको भलो होस्” भन्नुको अर्थ “बिदाइ” गरेको हो र कुनै स्वास्थ्यको भलाइ सगँ ती नियमहरू सम्बन्धित् छन् भनेको होइन। एन्टिओकमा त्यो पत्र पढ़ेर सुनाए पछि, त्यसबाट प्रोत्साहन पाएर मण्डली प्रफुल्लित् भयो। त्यत्तिखेर, पावल, सिलास, बर्णाबास र अरूहरूका पनि प्रोत्साहनयुक्त शब्दहरूले गर्दा पनि एन्टिओकमा बस्ने परमेश्वरका मानिसहरू विश्वासमा अझ दह्रो हुन सके। हामी पनि आफ्ना सँगी विश्वासीहरूलाई प्रोत्साहित पार्ने र बलियो बनाउने मौका खोजी हिड़ने गरौं।
धर्म-प्रचारको दोस्रो यात्रा शुरू हुन्छ
१७. (क) दोस्रो प्रचार-यात्राको सम्बन्धमा के समस्या खड़ा भयो? (ख) पावल र बर्णाबासले तिनीहरूको यो विवादको समाधान कसरी गरे?
१७ धर्म-प्रचारको दोस्रो यात्रा गर्ने कुरा प्रस्तुत हुँदा, एउटा समस्या खड़ा भयो। (१५:३६-४१) पावल र बर्णाबास मिलेर सायप्रस र एशिया मायनरका मण्डलीहरूलाई पुनःभेट गर्न जाने विचार व्यक्त गरे। बर्णाबासले मंजूर गरे र तिनले साथमा आफ्ना भाइ मर्कूसलाई लग्न चाहे। तर पावल राजी भएनन् किनभने प्यामफिलियाबाट मर्कूस तिनीहरूसँग छुट्टिएर गएका थिए। यत्तिमै त्यहाँ “चर्को मतभेद भयो”। तर आफ्नो कुरा माथि पार्नका लागि, नता पावल न बर्णाबासले यो निजी मामलामा अरू प्राचीनहरूलाई अथवा सञ्चालक समितिलाई विथोलित गर्न खोजे। कस्तो राम्रो उदाहरण!
१८. पावल र बर्णाबास छुट्टिएर के भयो र यसबाट हामी के सिक्न सक्दछौं?
१८ तर यो विवादले गर्दा दुईजनाको बाटो चाहिं छुट्टियो। मर्कूसलाई आफ्नो साथमा लिएर बर्णाबास सायप्रस तिर लागे। पावल चाहिं आफ्नो सह-यात्री सिलाससँग “मण्डलीलाई स्थिर गराउँदै सिरिया र सिलिसियाभरि गए।” बर्णाबासले शायद आफ्नो नाता-गोतालाई विशेष महत्व दिएको हुनुसक्छ तर उनले पावल एक जना “छानिएको पात्र” र प्रेरित हुन् भन्ने कुरालाई मान्यता दिनु पर्ने थियो। (प्रेरित ९:१५) यस सम्बन्धमा हामी कस्तो छौं? यो घटना बाट हाम्रो मनमा पनि ईश्वरीय अख्तियार र “विश्वासी र बुद्धिमान दासलाई” हार्दिक सहयोग दिने आवश्यक्ता राम्रो सँग गढ़ेर बस्नु पर्छ!—मत्ती २४:४५-४७.
शान्तिमा उन्नति
१९. वर्तमान मसीही युवकहरूका लागि, तिमोथीमा कस्तो उदाहरण पाउन सकिन्छ?
१९ यो मतभेदले गर्दा मण्डलीको शान्तिलाई असर पार्न दिइएन। परमेश्वरका मानिसहरू विश्वासमा दह्रो हुँदै गए। (१६:१-५) पावल र सिलास डर्बी देखि लिस्त्रा तिर लागे। त्यहाँ युनिस नाउँ भएकी विश्वासी यहूदी र तिनका अविश्वासी युनानी पतिको छोरो, तिमोथी बस्द थिए। तिमोथी त्यति खेर नौजवान मानिस थियो, किनभने, १८ अथवा २० वर्ष पछि पनि तिनलाई एसो भनिएको पाउँछौं: “कोही मानिसले तिम्रो जवानीलाई हेला गर्न नपाओस्।” (१ तिमोथी ४:१२) “लिस्त्रा [प्राय १८ मिल टाढ़ा] र आइकोनियमका भाइहरूमा तिनका बारेमा असल नाउँ चलेको” हुनाकारण, तिनी असल सेवकाई र इश्वरीय गुणहरूका लागि प्रसिद्ध थिए। आजका मसीही युवकहरूले पनि त्यस्तै प्रकारको नाउँ कमाउन, यहोवाको मददको खोजी गर्नु उचित छ। पावलले तिमोथीको खतना गराइ दिए, किनभने तिनीहरू यहूदीहरूका घर र सभाघरहरूमा जाने गर्दथिए र ती यहूदीहरूलाई तिमोथीका पिता अन्यजातिका हुन् भन्ने कुरा थाह थियो र कुनै कुराले पनि यहूदी पुरूष र स्त्रीलाई मसीहबारे सिक्ने वाधा न देओस् भन्ने प्रेरित पावलको चाहना थियो। बाइबलका सिद्धान्तहरूको उल्लङ्घन नगरीकन यहोवाका साक्षीहरूले पनि आज हर प्रकारका मानिसहरूको नजरमा सुसमाचारलाई ग्रहणयोग्य पार्न खोज्छन्।—१ कोरिन्थी ९:१९-२३.
२०. प्रथम शताब्दिको सञ्चालक समितिबाट आएको पत्र अनुसार कामगर्नाले के असर पार्यो र यसले हामी माथि पनि के कस्तो असर पार्नु पर्ने भनेर सोच्नु हुन्छ?
२० तिमोथीलाई एउटा सेवकको रूपमा प्रयोग गर्दै, पावल र सिलासले सञ्चालक समितिका प्रेरितहरू र धर्म-गुरूहरू द्वारा तोकिएको विधिहरू प्रतिपालन गर्नू भनी चेलाहरूलाई बताए। र यसको परिणाम के भयो? सिरिया, सिलिसिय र गलातीलाई सङ्केत् गर्दै, लूकाले एसो भनेर लेखे: “यसरी मण्डलीहरू विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।” हो, सञ्चालक समितिबाट आएको पत्रको अनुसार हिड़दा, एकता र अध्यात्मिक उन्नति भयो। यहोवाका मानिसहरू एकता र विश्वासमा दह्रो भएर बस्न आवश्यक परेको यो कठिन समयहरूका लागि, यो एउटा उत्तम उदाहरण हो! (w90 6/15)
तपाईं के जवाब दिनु हुनेछ?
◻ सतावटको सामने पावल र बर्णाबासले के कस्तो प्रतिकृया व्यक्त गरे?
◻ “अनेक कष्ट सहेर हामी परमेश्वरको राज्यमा पस्नै पर्छ” भन्ने वाक्यबाट हामी के सिक्न सक्छौं?
◻ प्रथम शताब्दिको सञ्चालक-समितिले पठाएका पत्रका तीन विशेष कुराहरूबाट हामी के निर्देशन पाउँदछौं?
◻ प्रथम शताब्दिका यहोवाका साक्षीहरूलाई विश्वासमा दह्रो बनाउने कुराहरू आज हामीमा पनि कसरी लागु हुन्छन्?