कसलाई “बचाइनेछ”?
“जसले परमप्रभुको [“यहोवाको,” NW] नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।”—प्रेरित २:२१.
१. वश्व इतिहासमा सा.यु. ३३ पेन्तिकोस किन एउटा निर्णायक दिन थियो?
विश्व इतिहासमा सा.यु. ३३ पेन्तिकोस एउटा निर्णायक दिन थियो। किन? किनभने त्यस दिन एउटा नयाँ राष्ट्रको जन्म भयो। सुरुमा यो राष्ट्र त्यति ठूलो थिएन। यसमा यरूशलेमस्थित एउटा घरको माथिल्लो कोठामा भेला भएका येशूका १२० जना चेलाहरू मात्र थिए। तर त्यतिबेलाका प्रायजसो राष्ट्रहरू आजका मानिसहरूले बिर्सिसके। यद्यपि, त्यस दिन यरूशलेमस्थित उक्त घरको माथिल्लो कोठामा जन्मिएको राष्ट्र भने अहिलेसम्म अस्तित्वमा छ। यो तथ्य हाम्रोलागि अत्यन्तै महत्त्वपूर्ण छ किनभने परमेश्वरले त्यही राज्यलाई मानिसजातिसमक्ष आफ्नो साक्षी नियुक्त गर्नुभएको छ।
२. नयाँ राष्ट्रको जन्म हुँदा कस्ता चमत्कारी घटनाहरू भए?
२ त्यो नयाँ राष्ट्र देखा पर्न थाल्दा योएलका भविष्यसूचक शब्दहरूको पूर्तिअनुरूप महत्त्वपूर्ण घटनाहरू भए। यी घटनाहरू हामी प्रेरित २:२-४ मा उल्लेख गरिएको पाउँछौं: “अनि अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो, र त्यसले तिनीहरू बसेको घर जम्मै भरिदियो। औ आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, र ती तिनीहरू एक एक माथि बसे। अनि तिनीहरू सबै पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम, तिनीहरू अरू भाषामा बोल्नलागे।” यसरी, ती १२० जना विश्वासी पुरुष तथा स्त्री आध्यात्मिक राष्ट्रको सदस्य बने। प्रेरित पावलले “परमेश्वरका इस्राएल” भनेका प्रारम्भिक सदस्यहरू यिनै हुन्।—गलाती ६:१६.
३. सा.यु. ३३ पेन्तिकोसमा योएलको कुन भविष्यवाणी पूरा भयो?
३ “ठूलो बतास बहेको” हेर्न भीड जम्मा भयो र यो योएलको भविष्यवाणीको पूर्तिअनुरूप हो भनी प्रेरित पत्रुसले बुझाए। तर कुन चाहिं भविष्यवाणी? यस सन्दर्भमा तिनले के भने, सुन्नुहोस्: “आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, ‘म सबैको शरीरमाथि मेरो आत्माबाट खन्याइदिनेछु, औ तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, औ तिमीहरूका जवानहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ा-पाकाहरू स्वप्नदर्शी हुनेछन्। औ म आफ्ना दासहरू र आफ्ना दासीहरूमाथि ती दिनमा आफ्ना आत्माबाट खन्याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन्। औ माथि स्वर्गमा म अचम्मका काम र तल पृथ्वीमा चिह्नहरू देखाउनेछु, अर्थात् रगत, आगो, धुवाँको वाफ, परमप्रभुको महान् र प्रख्यात दिन आउन अघाड़ि, सूर्य अँध्यारोमा र चन्द्र रगतमा परिवर्त्तन हुनेछ। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’ ” (प्रेरित २:१७-२१) पत्रुसले उद्धरण गरेका यी शब्दहरू योएल २:२८-३२ मा छन् र त्यसको पूर्तिले यहूदी जातिको समय खतम हुन लागेको छ भनी बुझायो। अविश्वासी इस्राएलमाथि हुने न्याय अर्थात् “परमप्रभुको महान् र प्रख्यात दिन” नजिकै थियो। तर कसलाई बचाइनेथियो वा को को बच्नेथिए? अनि यसले कुन कुराको पूर्वचित्रण गर्छ?
भविष्यवाणीका दुई पूर्ति
४, ५. भावी घटनाहरूलाई ध्यानमा राख्दै पत्रुसले के सल्लाह दिए र उक्त सल्लाह त्यतिबेला मात्र नभई पछिसम्म पनि कसरी लागू हुन्थ्यो?
४ सा.यु. ३३ पछि परमेश्वरको आध्यात्मिक इस्राएल फल्दैफुल्दै गयो तर वास्तविक इस्राएल राष्ट्र भने खस्कँदै गयो। सा.यु. ६६ मा वास्तविक इस्राएलको रोमसित दुस्मनी थियो। सा.यु. ७० मा इस्राएलको अस्तित्व झन्डै विलिन भयो र यरूशलेमलगायत त्यहाँको मन्दिर तहसनहस भयो। यही सन्निकट विपत्तिलाई ध्यानमा राख्दै सा.यु. ३३ मा पत्रुसले उत्तम सल्लाह दिए। योएलका शब्दहरू फेरि उद्धरण गर्दै तिनले यसो भने: “जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।” हरेक यहूदीले यहोवालाई पुकार्ने कि नपुकार्ने भनेर व्यक्तिगत निर्णय गर्नुपरेको थियो। यसमा पत्रुसका यी थप निर्देशनहरू पालन गर्नु समावेश थियो: “पश्चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ।” (प्रेरित २:३८) इस्राएल राष्ट्रले नकारेको येशूलाई तिनीहरूले मसीहको रूपमा स्वीकार्नुपर्ने थियो।
५ योएलका ती भविष्यसूचक शब्दहरूले प्रथम शताब्दीका नम्र जनहरूमाथि गहिरो छाप पारे। तथापि, आज हाम्रो समयमा ती शब्दहरूले झनै ठूलो छाप पार्छन् किनभने यस २० औं शताब्दीका घटनाहरूले देखाएअनुसार योएलको भविष्यवाणीको दोस्रो पूर्ति भएको छ। त्यो कसरी भएको छ, आउनुहोस् हामी हेरौं।
६. सन् १९१४ नजिकिंदै जाँदा परमेश्वरका इस्राएलको चिनारी कसरी प्रस्टिंदै गयो?
६ प्रेरितहरूको मृत्युपछि झूटो मसीहीधर्मका सामाहरूले गर्दा परमेश्वरको इस्राएल देखिनै छाड्यो। तथापि, १९१४ देखि सुरु भएको आखिरी दिनमा यस आध्यात्मिक राष्ट्रको चिनारी पुनः स्पष्ट हुन थाल्यो। यी सबै घटनाहरू गहुँ र सामाबारे येशूले दिनुभएका उखानका पूर्ति हुन्। (मत्ती १३:२४-३०, ३६-४३) सन् १९१४ नजिकिंदै जाँदा अभिषिक्त मसीहीहरूले आफूलाई अविश्वासी मसीहीजगत्बाट अलग्याउन थाले। त्यसका झूटा सिद्धान्तहरू निर्भयतापूर्वक त्यागे र “अन्यजातिको समय” सुरु हुनै लागेको छ भनी प्रचार गर्न थाले। (लूका २१:२४) तर १९१४ मा सुरु भएको प्रथम विश्वयुद्धमा केही अप्रत्याशित विवादहरू खडा भए। भीषण दबाबले गर्दा तिनीहरूको जोस सेलायो र कतिपयले सम्झौता गरे। सन् १९१८ तिर त तिनीहरूको प्रचार क्रियाकलाप पूर्णतया बन्द भइसकेको थियो।
७. (क) सा.यु. ३३ पेन्तिकोसमा भएजस्तै १९१९ मा पनि के भयो? (ख) सन् १९१९ को प्रारम्भतिर यहोवा परमेश्वरको आत्मा उहाँका सेवकहरूमाथि खनिंदै जाँदा के भयो?
७ तैपनि, त्यस्तो अवस्था धेरै समयसम्म रहेन। यहोवाले १९१९ देखि आफ्ना जनहरूमाथि पवित्र आत्मा खन्याउन थाल्नुभयो। उक्त घटनाले सा.यु. ३३ पेन्तिकोसको स्मरण गरायो। हो, १९१९ मा पवित्र आत्माले अभिषेक गर्न थाल्दा अभिषिक्त जनहरू विभिन्न भाषाहरूमा बोलेनन् र ठूलो बतास पनि चलेन। चमत्कारहरू गर्ने समय धेरैअघि नै बन्द भइसकेको थियो भनेर हामी १ कोरिन्थी १३:८ मा लिपिबद्ध पावलका शब्दहरूबाट बुझ्छौं। यद्यपि, आफ्ना जनहरूमाथि परमेश्वरको आत्मा रहेको कुरा १९१९ मा प्रस्ट भयो जब सं.रा.अ., ओहायोस्थित सिडार प्वाइन्टमा आयोजित अधिवेशनमा विश्वासी मसीहीहरूले नयाँ जोसका साथ राज्यको सुसमाचार प्रचार गर्ने काम पुनः थाले। तिनीहरू १९२२ मा फेरि सिडार प्वाइन्टमा भेला भए र यस्तो आग्रहले तिनीहरूलाई उत्तेजित बनायो, “राजा तथा उहाँको राज्यको घोषणा गर्नुहोस्, घोषणा गर्नुहोस्, घोषणा गर्नुहोस्!” प्रथम शताब्दीमा जस्तै परमेश्वरको आत्मा खन्याएपछि जे जति घटनाहरू भए, ती संसारको नजरबाट लुक्नसकेन। पुरुष स्त्री, जवान वृद्ध, प्रत्येक समर्पित मसीहीले “अगमवाणी” गर्न थाले अर्थात् “परमेश्वरका महाकार्यहरूका विषयमा” घोषणा गर्न थाले। (प्रेरित २:११) पत्रुसले जस्तै तिनीहरूले नम्र जनहरूलाई यसरी आग्रह गरे: “दुष्ट पुस्ताबाट बच।” (प्रेरित २:४०) ध्यान दिएर सुन्नेहरूले उक्त चेताउनी कसरी पालन गर्नसक्थे? योएल २:३२ मा लिपिबद्ध योएलका यी शब्दहरू पालन गरेर, “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ।”
८. सन् १९१९ देखि यता परमेश्वरका इस्राएलका गतिविधिहरू कसरी अघि बढिरहेका छन्?
८ त्यो सुरुसुरुको समयदेखि परमेश्वरका इस्राएलका गतिविधिहरू अघि बढिरहेका छन्। अभिषिक्त जनहरूलाई छाप लगाउने काम पनि द्रुत गतिले पूरा भएको देखिएको छ र पार्थिव आशा भएका नम्र जनहरूको ठूलो भीड पनि १९३० को दशकदेखि देखिन थालेका छन्। (प्रकाश ७:३, ९) अब समय धेरै बाँकी छैन भनी सबैले महसुस गरेका छन् किनभने योएल २:२८, २९ को दोस्रो पूर्तिले देखाएअनुसार हामी यहोवाको अझ भयानक दिनको सँघारमा छौं। त्यतिबेला संसारभरिका धार्मिक, राजनैतिक तथा व्यापारिक प्रणालीहरू सबै नाश हुनेछन्। अतः यहोवाले हामीलाई बचाउनुहुनेछ भनी निर्धक्क भई ‘उहाँको नाउँ पुकार्ने’ हामीसित यथेष्ट कारणहरू छन्!
यहोवाको नाउँ कसरी पुकार्छौं?
९. यहोवाको नाउँ पुकार्नुमा समावेश केही कुराहरू के हुन्?
९ यहोवाको नाउँ पुकार्नुमा के के समावेश छन्? योएल २:२८, २९ को प्रसंगले उक्त प्रश्नको जवाफ पाउन मदत गर्छ। उदाहरणका लागि, यहोवाले जोसुकैको पुकारा सुन्नुहुन्न। अर्का भविष्यवक्ता यशैया मार्फत यहोवा इस्राएललाई यसो भन्नुभयो: “तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरो मुख तिमीहरूदेखि अर्कोतिर फर्काउनेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ।” यहोवाले किन आफैले छान्नुभएको जातिको पुकारा सुन्न इन्कार गर्नुभयो? उहाँ यसो भन्नुहुन्छ: “तिमीहरूका हात रगतले भरिएका छन्।” (यशैया १:१५) रक्तदोषी वा पाप गरिरहने व्यक्तिको प्रार्थना यहोवाले सुन्नुहुनेछैन। त्यसैकारण, पत्रुसले पेन्तिकोसको दिन भेला भएका यहूदीहरूलाई पश्चात्ताप गर भने। योएल २:२८, २९ को प्रसंगलाई ध्यानमा राखेर हेर्दा योएलले पनि पश्चात्ताप गर्न निकै जोड दिएको पाउँछौं। उदाहरणका लागि, योएल २:१२, १३ मा हामी यस्तो लेखिएको पाउँछौं: “तापनि परमप्रभु भन्नुहुन्छ, ‘अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले उपवास बसेर, रूँदै र विलाप गर्दै मतिर फर्क, औ आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु आफ्ना परमेश्वरतिर फर्क, किनभने उहाँ अनुग्रही, दयामा भरपूर, रीस गर्नमा धीरजी र कृपामा भरिपूर्ण हुनुहुन्छ।’ ” अभिषिक्त मसीहीहरू १९१९ देखि यी शब्दअनुरूप चल्न थाले। तिनीहरूले आफ्ना गल्तीहरूको पश्चात्ताप गरे र फेरि कहिल्यै विश्वासको सम्झौता नगर्ने वा सुस्त नहुने संकल्प गरे। फलतः परमेश्वरको आत्मा खन्याउने बाटो खुल्यो। यहोवाको नाउँ पुकार्ने र उहाँले सुनेको चाहने हरेक व्यक्तिले त्यसै गर्नुपर्छ।
१०. (क) साँचो पश्चात्ताप के हो? (ख) साँचो पश्चात्ताप गर्नेहरूप्रति यहोवा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ?
१० यो पनि नबिर्सनुहोस्, साँचो पश्चात्ताप भनेको “मैले बिराएँ” भन्नु मात्र होइन। इस्राएलीहरू आफ्ना गहिरा भावनाहरू देखाउन लुगा च्यात्ने गर्थे। तर यहोवा भन्नुहुन्छ: ‘लुगा होइन, तर आफ्नो हृदय फटाऊ।’ साँचो पश्चात्ताप हाम्रो हृदयबाट अर्थात् मन भित्रबाट आउँछ। हामीले खराब गर्ने बानीलाई चटक्कै छाड्नु पनि यसमा समावेश छ। यशैया ५५:७ यसो भन्छ: “दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस्।” यसमा येशूले जस्तै पापलाई घृणा गर्नु समावेश छ। (हिब्रू १:९) त्यसो गरेको खण्डमा छुडौतीको बलिदानको आधारमा यहोवाले हामीलाई क्षमा गर्नुहुनेछ भनी उहाँमाथि पूर्ण भरोसा राख्नसक्छौं। किनकि उहाँ “अनुग्रही, दयामा भरपूर, रीस गर्नमा धीरजी र कृपामा भरिपूर्ण हुनुहुन्छ।” उहाँले हाम्रो उपासना, हाम्रो आध्यात्मिक अन्नबलि र अर्घबलि ग्रहण गर्नुहुनेछ। हाम्रो पुकारा उहाँले सुन्नुहुनेछ।—योएल २:१४.
११. हाम्रो जीवनमा साँचो उपासनाले कस्तो स्थान पाएको हुनुपर्छ?
११ येशूले डाँडाको उपदेशमा भन्नुभएको अर्को एउटा कुरा पनि हामीले बिर्सनु हुँदैन। त्यो हो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” (मत्ती ६:३३) उपासनालाई हल्का कुरा वा हाम्रो अन्तस्करणलाई चित्त बुझाउने नाउँमात्रको सेवाजस्तो ठान्नु हुँदैन। परमेश्वरको सेवा गर्नु हर हालतमा हाम्रो जीवनको प्रमुख लक्ष्य हुनुपर्छ। यसकारण, योएल मार्फत यहोवा यसो भन्नुहुन्छ: “सियोनमा तुरही फूक, . . . मानिसहरूलाई भेला गर, समुदायलाई शुद्ध पार, बूढ़ा–पाकाहरूलाई जम्मा गर, नानीहरू र दूधे–बालकहरूलाई बटुल। ब्याहुला आफ्नो कोठाबाट र ब्याहुली आफ्नो भित्री कोठाबाट निस्कून्।” (योएल २:१५, १६) नवविवाहित दुलहादुलही आफ्नै संसारमा भुल्नु, एकअर्काको मात्र टन्टा गर्नु अस्वाभाविक होइन। तर तिनीहरूका लागि पनि यहोवाको सेवा प्रमुख कुरा हुनैपर्छ। साँचो उपासनाको निम्ति भेला हुनु र उहाँको नाउँ पुकार्नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही नहुनु पर्ने हो।
१२. गत वर्षको स्मरणार्थ रिपोर्टअनुसार वृद्धिको कस्तो सम्भावना देखियो?
१२ यसलाई ध्यानमा राख्दै यहोवाका साक्षीहरूको १९९७ सेवा वर्षको रिपोर्ट विचार गरौं। गत वर्ष राज्य प्रकाशकहरूको शिखर संख्या ५५,९९,९३१ पुग्यो। उपासकहरूको कत्रो ठूलो भीड! स्मरणार्थ उत्सवमा १,४३,२२,२२६ जना उपस्थित भए, अर्थात् प्रकाशकहरूको संख्याभन्दा लगभग ८५ लाख धेरै। यो तथ्यांकले अझ धेरै वृद्धि हुने सम्भावनालाई देखाउँछ। यी ८५ लाखमध्ये थुप्रै यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिसकेका छन्। तिनीहरूमध्ये कतिपय इच्छुक व्यक्तिहरू होलान् त कति चाहिं बप्तिस्माप्राप्त आमाबाबुका छोराछोरी। अनि त्यसमध्ये कतिपय त यहोवाका साक्षीहरूको सभामा पहिलो पटक आएका थिए। तिनीहरू सभामा आएको हुनाकारण यहोवाका साक्षीहरूले तिनीहरूलाई अझ राम्ररी चिन्ने अनि अझ प्रगति गर्न मदत दिने मौका पाए। अनि कतिपय यस्ता व्यक्तिहरू पनि थिए, जो हरेक वर्ष स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन् र एक दुइटा सभाहरू पनि धाउँछन् तर खास केही प्रगति गर्दैनन्। निस्सन्देह, हाम्रा सभाहरूमा उपस्थित हुन चाहने यस्ता महानुभावहरूलाई स्वागत छ। तर हामी उहाँहरूलाई योएलका भविष्यसूचक शब्दहरू गम्भीरतापूर्वक मनन गर्न अनि यहोवाको नाउँ पुकार्दा उहाँले सुन्नुभएको चाहन्छन् भने के के गर्नुपर्छ, त्यो विचार गर्न आग्रह गर्छौं।
१३. यहोवाको नाउँ पुकार्न थालिसकेका छौं भने अरूप्रति हाम्रो जिम्मेवारी के हो?
१३ प्रेरित पावलले परमेश्वरको नाउँ पुकार्नुसित सम्बन्धित अर्को पक्षलाई पनि जोड दिए। रोमीहरूलाई लेखेको पत्रमा पावलले योएलका भविष्यसूचक शब्दहरू यसप्रकार उद्धरण गरे: “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” त्यसपछि तिनले यस्तो तर्क गरे: “तब जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्?” (रोमी १०:१३, १४) हो, अहिलेसम्म परमेश्वरलाई नचिन्ने अरू थुप्रै मानिसहरूले उहाँको नाउँ पुकार्नुपरेको छ। त्यसकारण, यहोवालाई चिनिसकेकाहरूको जिम्मेवारी यस्ता व्यक्तिहरूलाई प्रचार गर्नु मात्र होइन तर यहोवाको सेवामा यथाशक्य गर्न पनि मदत दिनु हो।
आध्यात्मिक प्रमोदवन
१४, १५. परमेश्वरलाई प्रसन्न पार्ने तरिकामा उहाँको नाउँ पुकारेको हुँदा यहोवाका जनहरूले प्रमोदवनरूपी कस्ता आशिष्हरू पाएका छन्?
१४ अभिषिक्त जन तथा अरू भेडा दुवैले त्यस्तो दृष्टिकोण राखेको हुनाकारण यहोवाले आशिष् दिनुभएको छ। “परमप्रभु आफ्नो देशको निम्ति डाही हुनु[हुनेछ] र उहाँले आफ्नो प्रजालाई टिठाउनु[हुनेछ]।” (योएल २:१८) यहोवाले १९१९ मा आफ्ना जनहरूलाई पुनर्स्थापित गरेर आध्यात्मिक गतिविधिमा सामेल गराउनुहुँदा उहाँ डाही हुनुभयो र टिठाउनुभयो। यो वास्तवमा आध्यात्मिक प्रमोदवन नै हो जसबारे योएलले यी शब्दहरूमा राम्ररी वर्णन गरेका थिए: “ए देश नडरा, खुशी भएर रमाहट गर्, किनभने परमप्रभुले ठूला ठूला कामहरू गर्नुभएको छ। ए जंगलका पशुहरू हो, नडराऊ, किनकि वनका खर्कहरू हरिया भएका छन्, रूखमा फलहरू लाग्नेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्त फलहरू दिनेछन्। यसैले अब ए सियोनका बासिन्दाहरू हो, खुशी होऊ, र परमप्रभु आफ्ना परमेश्वरमा रमाहट गर, किनभने उहाँले अघिल्लो झरी जति चाहिन्छ उति दिनुहुनेछ, र तिमीहरूका निम्ति वर्षा ल्याइदिनुहुनेछ—अघिल्लो झरी र पछिल्लो झरी पहिलेको झैं वर्षाइदिनुहुनेछ। तब खलाहरू अन्नले भरिनेछ, रस–कुण्ड दाखमद्य र तेलले भरेर पोखिनेछ।”—योएल २:२१-२४.
१५ कस्तो मनमोहक विवरण! इस्राएलमा जीवन बिताउन चाहिने अन्न, जैतूनको तेल र दाखमद्यजस्ता ती तीन आधारभूत कुराहरूका साथै प्रशस्त बस्तुभाउ पनि थिए। आज हाम्रो समयमा ती भविष्यसूचक शब्दहरू निस्सन्देह, आध्यात्मिक ढंगमा पूरा भइरहेका छन्। हामीलाई चाहिने जति यथेष्ट आध्यात्मिक भोजनको प्रबन्ध यहोवाले गर्नुहुन्छ। यहोवाले त्यसरी प्रचुर मात्रामा दिनुभएकोमा के हामी खुसी छैनौं? साँच्चै, मलाकीले भविष्यवाणी गरेझैं परमेश्वरले ‘स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष् हामीहरूमाथि वर्षाउनुभएको छ।’—मलाकी ३:१०.
यस रीतिरिवाजको अन्त
१६. (क) यहोवाको आत्मा खनाइनुले आज हाम्रो समयका लागि के अर्थ राख्छ? (ख) भविष्य कस्तो छ?
१६ परमेश्वरका जनहरूको प्रमोदवनरूपी अवस्था अगमवाणी गरिसकेपछि योएल यहोवाको आत्मा खन्याइनेबारे भविष्यवाणी गर्छन्। पत्रुसले पेन्तिकोसको दिनमा यो भविष्यवाणी उद्धरण गर्दा “आखिरी दिनहरूमा” त्यो पूरा भयो, भने। (प्रेरित २:१७) त्यतिबेला परमेश्वरको आत्मा खन्याइनुको अर्थ, यहूदी रीतिरिवाजको आखिरी दिनको सुरुआत थियो। यस २० औं शताब्दीमा परमेश्वरको इस्राएलमाथि उहाँको आत्मा खन्याइनुको अर्थ हो, हामी विश्वव्यापी रीतिरिवाजको आखिरी दिनमा बाँचिरहेका छौं। यी सब विचार गर्दा हाम्रो भविष्यबारे के भन्नसक्छौं? योएलको भविष्यवाणी हामीलाई यसो भन्छ: “आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत आगो र धुवाँका खामाहरू। परमप्रभुको त्यो महा र भयंकर दिन आउनभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र चाहिं रगतमा परिवर्त्तन हुनेछ।”—योएल २:३०, ३१.
१७, १८. (क) यरुशलेममाथि यहोवाको कस्तो भयानक दिन आइपऱ्यो? (ख) भविष्यमा पनि यहोवाको महा दिन पक्कै आउने भएकोले हामी के गर्न उत्प्रेरित भएका छौं?
१७ यहोवाको महा दिन सा.यु. ७० मा चरमोत्कर्षमा पुग्यो तर सा.यु. ६६ देखि नै ती भविष्यसूचक शब्दहरू यहूदामा पूरा हुन थालिसकेका थिए। परमेश्वरको नाउँ महिमित नगर्नेहरूमध्ये हुनु त्यतिबेला कस्तो खतरनाक कुरा हुनसक्थ्यो! आज पनि यस सम्पूर्ण रीतिरिवाज यहोवाको हातबाट नाश हुने बेला आउँदा त्यस्तै डरलाग्दा घटनाहरू हुनै लागेका छन्। तैपनि, त्यस्तो अवस्थाबाट बच्न सकिन्छ। भविष्यवाणी अझै यसो भन्छ: “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ। किनकि परमप्रभुले भन्नुभए अनुसार सियोन डाँड़ा र यरूशलेममा बाँचेर उम्कनेहरू हुनेछन्, औ बाँकी रहेकाहरूमा ती हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ।” (योएल २:३२) यहोवाको नाउँ जान्न पाएकोमा यहोवाका साक्षीहरू साँच्चै कृतज्ञ छन्। अनि उहाँको नाउँ पुकार्दा अवश्य बचाउनुहुनेछ भनी तिनीहरू ढुक्क छन्।
१८ अत्यन्तै क्रोधका साथ यहोवाको महान् र प्रख्यात दिन यस संसारमाथि आइपर्दा के हुनेछ? यसबारे अन्तिम लेखमा छलफल गरिनेछ।
के तपाईंलाई सम्झना छ?
◻ यहोवाले आत्मा आफ्ना जनहरूमाथि पहिलो पटक कहिले खनाउनुभयो?
◻ यहोवाको नाउँ पुकार्नुमा समावेश केही कुराहरू के हुन्?
◻ शाब्दिक इस्राएलमाथि यहोवाको महान् र प्रख्यात दिन कहिले आयो?
◻ उहाँको नाउँ पुकार्ने जतिलाई यहोवाले कसरी आशिष् दिनुहुन्छ?
[पृष्ठ १५-मा भएको चित्र]
सा.यु. ३३ पेन्तिकोसमा एउटा नयाँ राष्ट्रको जन्म भयो
[पृष्ठ १६, १७-मा भएको चित्र]
यस शताब्दीको प्रारम्भतिर यहोवाले आफ्ना जनहरूमाथि पवित्र आत्मा फेरि खनाउनुहुँदा योएल २:२८, २९ पूरा भयो
[पृष्ठ १८-मा भएको चित्र]
मानिसहरूलाई यहोवाको नाउँ पुकार्न मदत गर्नैपर्छ