अध्याय १६
“म्यासिडोनिया आउनुहोस्”
जिम्मेवारी स्विकार्दा र खुसीसाथ सतावट सहँदा आशिष् पाए
प्रेषित १६:६-४० मा आधारित
१-३. (क) पवित्र शक्तिले निर्देशन दिइरहेको छ भनेर पावल र तिनका सहयात्रीहरूले कसरी अनुभव गरे? (ख) अब हामी कुन कुरा केलाउनेछौँ?
केही स्त्रीहरू म्यासिडोनियाको फिलिप्पी सहरबाट हिँड्छन्। तिनीहरू चाँडै सानो नदी ग्याङजिटिस आइपुग्छन्। त्यतिबेलाको चलनअनुसार इस्राएलको परमेश्वरलाई प्रार्थना गर्न तिनीहरू नदी किनारमा बस्छन्। यहोवाले तिनीहरूलाई हेरिरहनुभएको छ।—२ इति. १६:९; भज. ६५:२.
२ यति नै बेला फिलिप्पीको लगभग ८०० किलोमिटर पूर्वतिर केही पुरुषहरू दक्षिणी गलातियाको लिस्त्रा सहरबाट हिँड्छन्। केही दिनपछि तिनीहरू रोमी राजमार्ग हुँदै घनाबस्ती भएको एसियाको पश्चिमी भागमा पुग्छन्। ख्रिष्टबारे सुन्न नपाएका हजारौँ मानिसहरू भएको एफिसस र अरू सहरमा जान सकियोस् भनेर पावल, सिलास र तिमोथिले त्यो बाटो रोजेका हुन्। तर आफ्नो यात्रा सुरु गर्न नपाउँदै पवित्र शक्तिले तिनीहरूलाई रोक्छ। तिनीहरूलाई कसरी रोक्यो भनेर त बाइबलमा बताइएको छैन। तर जेहोस्, पवित्र शक्तिले तिनीहरूलाई एसियाको प्रान्तमा सुसमाचार सुनाउनदेखि रोक्यो। किन? येसु पवित्र शक्तिमार्फत पावल अनि तिनका सहयात्रीहरूलाई एजियन समुद्रपारि एसिया माइनर र ग्याङजिटिस नामको सानो नदी किनारमा डोऱ्याउन चाहनुहुन्छ।
३ म्यासिडोनियाको यस असाधारण यात्रामा येसुले पावल र तिनका सहयात्रीहरूलाई डोऱ्याउनुभएको तरिकाबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। आउनुहोस्, हामी इस्वी संवत् ४९ तिर पावलको दोस्रो मिसनरी यात्रामा भएका केही घटना केलाऔँ।
“परमेश्वरले हामीलाई बोलाउनुभएको हो” (प्रेषित १६:६-१५)
४, ५. (क) पावल र तिनका सहयात्रीहरू बिथिनिया नजिकै पुग्दा के भयो? (ख) तिनीहरूले के निर्णय गरे र नतिजा कस्तो भयो?
४ एसियामा सुसमाचार सुनाउने अनुमति नपाएपछि पावल र तिनका सहयात्रीहरू बिथिनियाका सहरहरूमा सुसमाचार सुनाऔँ भनेर उत्तरतर्फ लागे। त्यहाँ पुग्न तिनीहरूले पातलो बस्ती भएको फ्रिजिया र गलातियाका कच्ची बाटोहरू हुँदै केही दिन यात्रा गरिसकेको हुनुपर्छ। तर बिथिनिया नजिक पुग्दा तिनीहरूलाई रोक्न येसुले फेरि पवित्र शक्ति प्रयोग गर्नुभयो। (प्रेषि. १६:६, ७) अब भने सायद ती मानिसहरू रनभुल्लमा परे। के सुसमाचार सुनाउने र कसरी सुनाउने भनेर तिनीहरूलाई थाह थियो। तर कहाँ सुनाउने, त्योचाहिँ थाह थिएन। हामी यसरी बुझौँ: तिनीहरूले एसियाको ढोका ढकढक्याए—प्रयास व्यर्थ भयो। बिथिनियाको ढोका ढकढक्याए—प्रयास फेरि पनि व्यर्थ भयो। तर पावल ढोका नखोलिएसम्म ढक्ढक्याइरहन कटिबद्ध थिए। यस घडीमा आएर तिनीहरूले अलि छक्कलाग्दो निर्णय गरे। तिनीहरू पश्चिमतर्फ लागे र एकपछि अर्को सहर हुँदै ५५० किलोमिटर हिँडेर त्रोआसको बन्दरगाह पुगे। त्यहाँबाट तिनीहरू म्यासिडोनियातर्फ लागे। (प्रेषि. १६:८) त्यहाँ तेस्रो पटक पावल र तिनका सहयात्रीहरूले ढोका ढकढक्याए। यसपालि भने खोलियो!
५ सुसमाचारको पुस्तकका लेखक लुकाले पावल र तिनका सहयात्रीहरूलाई त्रोआसमा भेटेपछि तिनी पनि त्यस समूहमा सामेल भए। त्यहाँ भएको घटनाबारे लुका लेख्छन्: “राती पावलले एउटा दर्शन देखे—एक जना म्यासिडोनियाली पुरुष खडा भएर तिनलाई यस्तो बिन्ती गरिरहेका थिए: ‘म्यासिडोनिया आउनुहोस् र हामीलाई मदत गर्नुहोस्।’ पावलले दर्शन देख्नेबित्तिकै हामी म्यासिडोनियातिर लाग्यौँ किनकि उनीहरूलाई सुसमाचार सुनाउन परमेश्वरले हामीलाई बोलाउनुभएको हो भन्ने निष्कर्षमा हामी पुगेका थियौँ।”a (प्रेषि. १६:९, १०) अब भने कहाँ सुसमाचार सुनाउने भनेर पावललाई थाह भयो। आफ्नो यात्रा बीचैमा छोडेर नफर्केकोमा पावल कत्ति खुसी भए होलान्! ती चार जना पुरुषले म्यासिडोनिया जाने जहाज समातिहाले!
६, ७. (क) पावलको यात्रा विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) पावलको अनुभवबाट हामी कुन कुरामा विश्वस्त हुन सक्छौँ?
६ यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? याद गर्नुहोस्: पावल एसियाको यात्रामा निस्किसकेपछि मात्र परमेश्वरको शक्तिले तिनलाई रोक्यो। अनि पावल बिथिनिया नजिक पुगिसकेपछि मात्र येसुले तिनलाई निर्देशन दिनुभयो। अन्तमा पावल त्रोआस पुगिसकेपछि मात्र येसुले तिनलाई म्यासिडोनियातर्फ डोऱ्याउनुभयो। मण्डलीको शिरको हैसियतमा आज पनि येसु हामीलाई त्यसरी नै डोऱ्याउन सक्नुहुन्छ। (कल. १:१८) उदाहरणको लागि, हामी अग्रगामी सेवा गर्ने वा आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सर्ने योजना बनाउँदै छौँ होला। तर त्यस लक्ष्यमा पुग्न हामीले ठोस कदम चालिसकेपछि मात्र येसुले परमेश्वरको शक्तिको मदतद्वारा हामीलाई डोऱ्याउनुहुन्छ। किन? यो उदाहरण विचार गर्नुहोस्: गाडी गुडिरहेको छ भने मात्र चालकले त्यसलाई दायाँ अथवा बायाँ मोड्न सक्छ। त्यसैगरि हामी गतिशील छौँ अर्थात् लक्ष्यमा पुग्न जोडतोडले लागिरहेका छौँ भने मात्र येसुले हामीलाई सेवाको काम विस्तार गर्न आवश्यक डोऱ्याइ दिनुहुन्छ।
७ तर तपाईँको प्रयास उत्तिनैखेर सफल भएन भने नि? परमेश्वरको शक्तिले तपाईँलाई डोऱ्याएको रहेनछ भन्ने निष्कर्षमा पुग्दै हरेस खानु ठीक होला त? अहँ! हुँदैन! नबिर्सनुहोस्, पावललाई पनि त्यस्तै बाधाअड्चन आएको थियो। तैपनि खोलिने ढोका नभेट्टाउन्जेल तिनले खोजिरहे र ढकढक्याइरहे। “सेवा गर्ने मौकाको ठूलो ढोका” खोज्न लगनशील भई लागिरह्यौँ भने इनाम पाउनेछौँ भनेर हामी विश्वस्त हुन सक्छौँ।—१ कोरि. १६:९.
८. (क) फिलिप्पी कस्तो सहर थियो, बताउनुहोस्। (ख) पावलले “प्रार्थना गर्ने ठाउँ”-मा सुसमाचार सुनाउँदा कस्तो राम्रो नतिजा भयो?
८ म्यासिडोनिया आइपुगेपछि पावल र तिनका सहयात्रीहरू फिलिप्पीतिर लागे। फिलिप्पीका मानिसहरू आफू रोमी नागरिक भएकोमा घमन्ड गर्थे। त्यहाँका थुप्रै कुरा रोमसित मिल्दोजुल्दो थियो। त्यसैले त्यहाँ बस्ने अवकाशप्राप्त रोमी सिपाहीहरूलाई रोममै बसेको आभास हुन्थ्यो। सहरको ढोकाबाहिर एउटा सानो नदीको किनारामा ती मिसनरीहरूले “प्रार्थना गर्ने ठाउँ” भेट्टाए।b विश्रामदिनमा तिनीहरू त्यहाँ गए र परमेश्वरको उपासना गर्न भेला भएका केही स्त्रीलाई भेटे। चेलाहरू त्यहाँ बसे र उनीहरूसँग कुरा गर्न थाले। लिडिया नाम गरेकी एउटी स्त्रीले तिनीहरूको “कुरा सुनिरहेकी थिइन्। . . . यहोवा परमेश्वरले उनको हृदय खोलिदिनुभयो।” ती मिसनरीहरूको कुरा सुनेर लिडिया यति प्रभावित भइन् कि उनी र उनको घरमा हुने सबैले बप्तिस्मा गरे। त्यसपछि उनले पावल र तिनका सहयात्रीहरू आफ्नो घरमा बस्न नआएसम्म कर गरिरहिन्।c—प्रेषि. १६:१३-१५.
९. आज थुप्रैले कसरी पावलको अनुकरण गरेका छन्? तिनीहरूले कस्ता आशिष्को आनन्द उठाइरहेका छन्?
९ लिडियाको बप्तिस्माको बेला कत्ति रमाइलो भयो होला! “म्यासिडोनिया आउनुहोस्” भन्ने निम्तो स्विकारेकोमा र परमेश्वरको डर राख्ने ती स्त्रीहरूको प्रार्थनाको जवाफस्वरूप यहोवाले तिनी र तिनका सहयात्रीहरूलाई पठाउने निर्णय गर्नुभएकोमा पावल कत्ति खुसी भए होलान्! जवान होऊन् वा वृद्ध, अविवाहित होऊन् वा विवाहित, आज पनि थुप्रै भाइबहिनी आवश्यकता धेरै भएका ठाउँहरूमा बसाइँ सर्छन्। हो, तिनीहरूले कठिनाइहरूको सामना गर्नुपर्छ तर लिडियाजस्तै बाइबल सत्य अँगाल्ने मानिस भेट्टाउँदा महसुस हुने सन्तुष्टिको कारण तिनीहरूले ती सबै दुःख बिर्सन्छन्। आवश्यकता धेरै भएको फलानो-फलानो ठाउँमा “आउनुहोस्” भन्ने निम्तो स्विकार्न तपाईँ पनि छाँटकाँट गर्न तयार हुनुहुन्छ कि? तपाईँले असीमित आशिष् पाउनुहुनेछ। बीस वर्ष नाघिसकेका भाइ आरेनलाई विचार गर्नुहोस्। तिनी मध्य-अमेरिकाको एउटा देशमा बसाइँ सरे। सेवा गर्न अरू देशमा सरेका थुप्रैले तिनको यस कुरामा सहमति जनाउनेछन्: “अर्को भूमिमा गएर सेवा गर्दा मैले आध्यात्मिक रूपमा परिपक्व हुन र यहोवासित अझ घनिष्ठ सम्बन्ध विकास गर्न मदत पाएको छु। क्षेत्र सेवाको त कुरै नगरौँ! म अहिले आठ वटा बाइबल अध्ययन सञ्चालन गर्दै छु!”
“भीड तिनीहरूमाथि जाइलाग्यो” (प्रेषित १६:१६-२४)
१०. पावल र तिनका सहयात्रीहरूले अचानक अर्कै परिस्थिति सामना गर्नुमा दुष्ट स्वर्गदूतको हात थियो भनेर किन भन्न सकिन्छ?
१० सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूले एकलौटी प्रभाव जमाइरहेको इलाकामा सुसमाचार फैलिन थाल्दा त्यो पक्कै पनि रिसले मुरमुरियो। त्यसैले त पावल र तिनका सहयात्रीहरूले अचानक अर्कै परिस्थितिको सामना गर्नुमा दुष्ट स्वर्गदूतहरूकै हात थियो! प्रार्थना गर्ने ठाउँमै हुँदा दुष्ट स्वर्गदूत बास गरेको एउटी केटी आई। भावी बताएर उसले आफ्ना मालिकहरूको निम्ति निकै कमाउने गर्थी। पावलको पछि-पछि लागेर त्यो केटी यसो भन्दै चिच्याइरही: “यी मानिसहरू सर्वोच्च परमेश्वरका दास हुन् र यिनीहरूले तिमीहरूलाई उद्धारको मार्गको सन्देश घोषणा गरिरहेका छन्।” उक्त केटीले बताएका कुराहरूको र पावलका शिक्षाहरूको स्रोत एउटै देखियोस् भनेर दुष्ट स्वर्गदूतले त्यसलाई त्यसरी चिच्याउन लगाएको हुन सक्छ। यसो गर्दा मानिसहरूको ध्यान ख्रिष्टका साँचो अनुयायीहरूबाट अन्तै मोड्न सकिन्थ्यो। तर त्यस केटीबाट दुष्ट स्वर्गदूतलाई निस्किहाल्न आज्ञा गरेर पावलले त्यसलाई चुप लगाए।—प्रेषि. १६:१६-१८.
११. एउटी केटीबाट दुष्ट स्वर्गदूतलाई निकालिदिएपछि पावल र सिलासले कस्तो परिस्थिति भोग्नुपऱ्यो?
११ कमाइ गर्ने सजिलो बाटो बन्द भएको देखेपछि त्यस केटीका मालिक रिसले चूर भए। तिनीहरूले पावल र सिलासलाई घिस्याउँदै बजारमा लगे। त्यहाँ व्यापारिक मुद्दा-मामिला छिनोफानो गर्न रोमका नगर प्रशासकहरू बस्थे। तिनीहरूले शासकहरूमा भएको पूर्वाग्रह र राष्ट्र प्रेमको भावलाई जगाउँदै यसो भने: ‘हामी रोमीहरूले स्विकार्न वा पालन गर्न उचित नहुने रीतिथिति यी यहुदीहरूले सिकाइरहेका छन्।’ यस्तो कुरा सुनेर तुरुन्तै “[बजारमा भएको] भीड तिनीहरूमाथि [पावल र सिलासमाथि] जाइलाग्यो” र नगर प्रशासकहरूले “तिनीहरूलाई छडी लगाउने” हुकुम गरे। त्यसपछि पावल र सिलासलाई घिस्याउँदै झ्यालखानामा लगियो। जेलरले तिनीहरूलाई झ्यालखानाको सबैभन्दा भित्रको खोरमा लगेर थुने र ठिँगुरोमा हाले। (प्रेषि. १६:१९-२४) जेलरले ढोका बन्द गरेपछि त्यो खोर यति अँध्यारो भयो कि पावल र सिलासले एकअर्कालाई समेत देख्न सकेनन्। तर यहोवाले तिनीहरूलाई देखिरहनुभएको थियो।—भज. १३९:१२.
१२. (क) ख्रिष्टका चेलाहरूले सतावटलाई कस्तो ठाने र किन? (ख) सैतान र त्यसका चम्चाहरूले हाम्रो खेदो गर्न आज पनि कस्ता तरिका चलाउँछन्?
१२ वर्षौँअघि येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभएको थियो: “तिनीहरूले . . . तिमीहरूको पनि खेदो गर्नेछन्।” (युह. १५:२०) त्यसैले पावल र तिनका सहयात्रीहरू म्यासिडोनिया पुग्दा तिनीहरू सतावट भोग्न तयार थिए। सतावट आउँदा त्यसलाई यहोवाबाट अनुग्रह नपाएको होइन बरु सैतानले रिस पोखाएको हो भनेर तिनीहरूले सम्झे। आज पनि सैतानका चम्चाहरूले फिलिप्पीका मानिसहरूको जस्तै तरिकाहरू अपनाउँछन्। स्कुल तथा काम गर्ने ठाउँमा हामीबारे नानाथरीका कुराहरू फैलाउँछन् जसको कारण मानिसहरूले हाम्रो खेदो गर्न सक्छन्। कुनै-कुनै देशमा विरोधीहरूले हामीविरुद्ध मुद्दा चलाएका छन् र यसो भनेका छन्: ‘यी साक्षीहरू हामीले “परम्परादेखि” विश्वास गर्दै आएका कुराहरू खलबलिने गरी सिकाउँदै छन्।’ कुनै-कुनै ठाउँमा हाम्रा सङ्गी विश्वासीहरूले कुटाइ खाएका छन् र तिनीहरूलाई झ्यालखानामा हालिएको छ। तर यहोवाले यी सबै कुरा देखिरहनुभएको छ।—१ पत्रु. ३:१२.
“तुरुन्तै बप्तिस्मा गरे” (प्रेषित १६:२५-३४)
१३. “उद्धार पाउन मैले के गर्नुपर्छ” भनेर जेलरले किन सोधे?
१३ त्यस दिन पावल र सिलासले भोग्नुपरेको मानसिक तनाव र शारीरिक पीडा तुरुन्तै निको हुनेवाला त थिएन। तैपनि मध्यरातसम्ममा तिनीहरूले कुटाइको दुखाइ बिर्सिसकेका थिए। यतिसम्म कि तिनीहरू “प्रार्थना गर्दै परमेश्वरको स्तुतिगान गाइरहेका थिए।” तर अचानक भूकम्प गयो र झ्यालखाना हल्लियो! निद्राबाट झसङ्ग ब्युँझिएका जेलरले झ्यालखानाका ढोकाहरू खुल्लै देखेपछि सबै कैदी भागिसके होलान् भन्ठाने। तिनीहरूलाई भाग्न दिएकोमा आफूले सजाय भोग्नुपर्छ भनी थाह भएकोले तिनले “आफ्नो तरबार थुतेर आत्महत्या गर्ने सुर कसे।” तर ठूलो सोरले कराउँदै पावलले यसो भने: “आफूलाई केही नगर्नुहोस्, हामी सबै जना यहीँ छौँ!” तब थरथर कामिरहेका जेलरले यसो भने: “हजुर, उद्धार पाउन मैले के गर्नुपर्छ?” पावल र सिलासले तिनको उद्धार गर्न सक्दैन थिए। येसुले मात्र तिनको उद्धार गर्न सक्नुहुन्थ्यो। त्यसैले तिनीहरूले यस्तो जवाफ दिए: “प्रभु येसुमा विश्वास गर्नुहोस् अनि . . . तपाईँको . . . उद्धार हुनेछ।”—प्रेषि. १६:२५-३१.
१४. (क) पावल र सिलासले जेलरलाई कस्तो मदत दिए? (ख) खुसीसाथ सतावट सहेकोले पावल र सिलासले कस्तो आशिष् पाए?
१४ के जेलरले साँचो मनले प्रश्न सोधेका थिए? पावलले तिनको इमानदारीमा शङ्का गरेनन्। जेलर अन्यजातिका थिए र उनलाई बाइबलको ज्ञान थिएन। ख्रिष्टियन बन्नुअघि उनले बाइबलका आधारभूत कुराहरू सिक्नुपर्थ्यो र स्विकार्नुपर्थ्यो। त्यसैले पावल र सिलासले उनलाई समय लगाएर “यहोवा परमेश्वरको वचन” सुनाए। धर्मशास्त्रका शिक्षाहरू सिकाउनमा मग्न हुँदा तिनीहरूले आफ्नो दुखाइ सबै बिर्सिसकेका थिए। तर जेलरले तिनीहरूको ढाडमा भएका गहिरा घाउहरू देखे र मलहमपट्टी लगाइदिए। त्यसपछि “उनले र उनको घरमा हुनेजति सबैले तुरुन्तै बप्तिस्मा गरे।” खुसीसाथ सतावट सहेकोले पावल र सिलासले कत्ति ठूलो आशिष् पाए!—प्रेषि. १६:३२-३४.
१५. (क) आज थुप्रै साक्षीहरूले कसरी पावल र सिलासको उदाहरण पछ्याएका छन्? (ख) हामी इलाकाका मानिसहरूलाई किन भेट्न गइरहनुपर्छ?
१५ पावल र सिलासले जस्तै आज पनि थुप्रै साक्षीले आफ्नो विश्वासको कारण थुनामा पर्दा समेत सुसमाचार सुनाइरहेका छन् र राम्रा नतिजा प्राप्त गरेका छन्। हाम्रो काममाथि प्रतिबन्ध लगाइएको एउटा देशको अनुभव विचार गर्नुहोस्। कुनै समय त्यस देशमा भएका साक्षीहरूमध्ये ४० प्रतिशतले थुनामा हुँदा यहोवाबारे सत्य कुराहरू सिकेका थिए! (यसै. ५४:१७) साथै यो कुरा पनि याद गर्नुहोस्, भूकम्प आइसकेपछि मात्र जेलरले मदत मागे। त्यसैगरि राज्य सन्देश सुन्न कहिल्यै चासो नदेखाएका व्यक्तिहरूले पनि दुःखदायी घटनाहरूको कारण आफ्नो जीवन उलटपुलट भएपछि सुसमाचार सुन्न सक्छन्। त्यसैले इलाकाका मानिसहरूलाई बारम्बार भेट्न जाँदा हामी तिनीहरूलाई बाइबलका कुराहरू सिकाउन तयार छौँ भनेर देखाइरहेका हुन्छौँ।
“के अहिलेचाहिँ हामीलाई सुटुक्क निकाल्न खोज्दै छन्?” (प्रेषित १६:३५-४०)
१६. पावल र सिलासलाई पिटिएको भोलिपल्ट परिस्थितिमा कस्तो परिवर्तन आयो?
१६ उज्यालो भएपछि नगर प्रशासकहरूले पावल र सिलासलाई छोडिदिनू भन्ने आदेश दिए। तर पावलले उनीहरूलाई भने: “हामी रोमी नागरिक भए पनि तिनीहरूले हामीलाई दोषी नठहराईकनै खुलमखुला पिटे र झ्यालखानामा हालिदिए। के अहिलेचाहिँ हामीलाई सुटुक्क निकाल्न खोज्दै छन्? अहँ, हामी त्यसरी जाँदैनौँ! उनीहरू आफै आएर हामीलाई बाहिर निकालून्।” ती पुरुषहरू रोमी नागरिक रहेछन् भन्ने थाह पाएपछि नगर प्रशासकहरू “डराए” किनभने उनीहरूले ती पुरुषहरूको अधिकार हनन गरेका थिए।d अब पासा पल्टियो। चेलाहरूले खुलमखुला पिटाइ खाएका थिए। तर अब भने नगर प्रशासकहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने भयो। तिनीहरूले पावल र सिलासलाई फिलिप्पी छोडेर जान आग्रह गरे। ती दुई चेलाहरू राजी भए तर जानुअघि तिनीहरूले बढ्दै गइरहेका नयाँ चेलाहरूलाई प्रोत्साहन दिए। त्यसपछि मात्र तिनीहरू त्यहाँबाट गए।
१७. पावल र सिलासले सतावट सहेको देखेर भर्खरै ख्रिष्टियन बनेकाहरूले कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्थे?
१७ सुरुमै रोमी नागरिकको रूपमा आफ्नो हकबारे उल्लेख गरेको भए पावल र सिलासले कोर्रा खान पर्दैनथ्यो। (प्रेषि. २२:२५, २६) तर त्यसो गर्दा फिलिप्पीका चेलाहरूलाई ती पुरुषहरूले ख्रिष्टको खातिर कष्ट भोग्नबाट बच्न आफ्नो अधिकार चलाएको भान पनि पर्न सक्थ्यो अनि रोमी नागरिक नभएका ती चेलाहरूको विश्वासमा नकारात्मक असर पर्न सक्थ्यो। आखिर कानुनले उनीहरूलाई कोर्रा खानबाट बचाउने थिएन। बरु त्यतिबेला सजाय भोगेर पावल र तिनका सहयात्रीहरूले ख्रिष्टका अनुयायीहरू सतावटको बेला पनि दृढ रहन सक्छन् भनेर आफ्नै उदाहरणबाट ती नयाँ ख्रिष्टियनहरूलाई देखाए। साथै तिनीहरू रोमी नागरिक भएको कुराको कदर गर्न लगाएर पावल र सिलासले नगर प्रशासकहरूलाई उनीहरूले गैर-कानुनी ढङ्गमा व्यवहार गरेको कुरा मानिलिन बाध्य तुल्याए। यसले गर्दा उनीहरू पावलका सङ्गी उपासकहरूमाथि दुर्व्यवहार गर्नदेखि पछि हट्न सक्थे र त्यस्तै प्रकारको सतावट आइपरेमा चेलाहरूले केही हदसम्म कानुनी सुरक्षा पाउन सक्थे।
१८. (क) आज ख्रिष्टियन निरीक्षकहरू कसरी पावलको उदाहरण पछ्याउँछन्? (ख) अहिले हामी कसरी “सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना” गर्छौँ?
१८ आज पनि मण्डलीका निरीक्षकहरू आफ्नै उदाहरणबाट सिकाउने कोसिस गर्छन्। ख्रिष्टियन गोठालाहरू आफ्ना सङ्गी उपासकहरूले जसो गरून् भन्ने चाहन्छन्, आफूले पनि त्यसै गरेर उदाहरण बसाल्छन्। साथै पावलजस्तै हामी पनि कानुनी तवरमा पाउने अधिकार कहिले र कसरी आफ्नो सुरक्षाको लागि चलाउने भनी होसियार भई विचार गर्छौँ। आवश्यक परेको बेला हाम्रो उपासनाको काममा कानुनी सुरक्षा पाउन हामी स्थानीय, राष्ट्रिय वा अन्तरराष्ट्रिय अदालतको ढोका ढकढक्याउँछौँ। हाम्रो उद्देश्य समाजमा सुधार ल्याउनु होइन बरु फिलिप्पीमा कैद परेको झन्डै १० वर्षपछि पावलले त्यहाँको मण्डलीलाई लेखेझैँ “सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना” गर्नु हो। (फिलि. १:७) त्यस्ता मुद्दाहरूको नतिजा जस्तोसुकै भए तापनि पावल र तिनका सहयात्रीहरूझैँ हामी पनि परमेश्वरको पवित्र शक्तिले डोऱ्याउने जुनसुकै ठाउँमा “सुसमाचार सुनाउन” कटिबद्ध छौँ।—प्रेषि. १६:१०.
a पृष्ठ १२८ मा भएको “लुका—प्रेषितको पुस्तकका लेखक” शीर्षकको पेटी हेर्नुहोस्।
b फिलिप्पीमा पहिले लडाइँमा भाग लिएका थुप्रै सिपाही बसोबास गर्ने भएकोले तिनीहरूले यहुदीहरूलाई त्यहाँ सभाघर बनाउन अनुमति नदिएका हुन सक्छन्। अथवा सभाघर बनाउन कम्तीमा पनि १० जना यहुदी पुरुष हुनै पर्थ्यो। त्यहाँ त्यो सङ्ख्या नपुगेको पनि हुन सक्छ।
c पृष्ठ १३२ मा भएको “लिडिया—बैजनी रङ्गको व्यापारी” शीर्षकको पेटी हेर्नुहोस्।
d रोमी कानुनअनुसार उपयुक्त तरिकामा मुद्दा लड्न पाउनु कुनै पनि नागरिकको हक थियो। दोषी नठहराईकन कसैलाई पनि सार्वजनिक रूपमा सजाय दिन पाइँदैन थियो।