येसु ख्रिष्टको समयमा यहुदीहरूको इतिहास (अङ्ग्रेजी) (ईसापूर्व १७५—इस्वी संवत् १३५) पुस्तकमा यसो भनिएको छ: “[इस्राएलको] १० कुलको र कुनै समय अस्सेरिया अनि बेबिलोनबाट देश निकाला गरिएका यहुदा राज्यका सन्तानहरू मेसोपोटामिया, मादी र बेबिलोनमा बसोबास गर्थे।” एज्रा २:६४ अनुसार बेबिलोनको निर्वासनबाट ४२ हजार ३ सय ६० जना इस्राएली यरुसलेम फर्के। यो घटना ईसापूर्व ५३७ को हो। इस्वी संवत् प्रथम शताब्दीमा “बेबिलोन वरिपरि बसोबास गर्ने” यहुदीहरू हजारौँ थिए भनेर फ्लेभियस जोसेफसले बताएका छन्। इस्वी संवत् २ देखि ४ शताब्दीसम्ममा यी समुदायले बेबिलोनी ताल्मुद प्रकाशित गरे।
मिश्रमा ईसापूर्व छैटौँ शताब्दीदेखि नै यहुदीहरू थिए भनेर पुराना लेखोटहरूले देखाउँछ। त्यस समयावधिमा यर्मियाले मेम्फिसलगायत मिश्रका विभिन्न ठाउँमा बस्ने यहुदीहरूलाई सन्देश पठाए। (यर्मि. ४४:१, फुटनोट) अरू राष्ट्रहरूमा ग्रीक सभ्यताले असर गरिरहेको समयमा यहुदीहरूको ठूलो सङ्ख्या मिश्रमा बसाइँ सरेको हुनुपर्छ। अलेक्जेन्ड्रियामा सुरु-सुरुमा बसोबास गर्नेहरूमध्ये यहुदीहरू पनि थिए भनी जोसेफसले बताएका छन्। समयको दौडान सहरको एउटा पूरै भाग तिनीहरूको लागि छुट्ट्याइयो। इस्वी संवत् प्रथम शताब्दीमा यहुदी लेखक फिलोका अनुसार लाखौँ यहुदीहरू मिश्र देशभरि “लिबियादेखि इथियोपियाको सिमानासम्म” फैलिएका थिए।