समानुभूति—दया र अनुकम्पाको कुञ्जी
“तपाईंले अरूको पीडा शान्त पार्न सक्नुहुन्छ भने, जीवन निरर्थक हुँदैन” भनेर हेलन केलरले लेखिन्। केलरलाई पक्कै पनि भावनात्मक पीडा कस्तो हुन्छ भनेर थाह थियो। बिमारीको कारण, १९ महिनाकी हुँदा तिनी पूर्णतया अन्धी र बहिरी भइन्। तर अनुकम्पापूर्ण शिक्षिकाले हेलनलाई ब्रेलमा पढ्न र लेख्न अनि पछि बोल्न पनि सिकाइन्।
शारीरिक अशक्तता विरुद्ध संघर्ष गर्नु पर्दाको नैराश्यबारे केलरकी शिक्षिका आन सलिभानलाई राम्ररी थाह थियो। तिनी आफै पनि राम्रोसँग देख्न सक्दिन थिइन्। तर आन हेलनको हातमा अक्षरहरू “लेखेर” तिनीसँग कुराकानी गर्ने तरिका निकाल्न अधीर भइनन्। आफ्नो शिक्षिकाको समानुभूतिबाट प्रेरित भएर हेलनले आफ्नो जीवन अन्धा र बहिराहरूलाई मदत गर्न समर्पण गर्ने निर्णय गरिन्। ठूलो प्रयत्न गरेर आफ्नो अशक्तता सामना गर्न सिकेको कारण त्यस्तै अवस्थामा भएका अरूप्रति तिनले समानुभूति र अनुकम्पा महसुस गर्थिन्। तिनी उनीहरूलाई मदत गर्न चाहन्थिन्।
यस स्वार्थी संसारमा, ‘दया नदेखाउने’ र अरूको आवश्यकताहरूलाई बेवास्ता गर्ने झुकाउ स्वतः आउँछ भन्ने कुरा तपाईंले पनि अनुभव गर्नुभएको होला। (१ यूहन्ना ३:१७) तथापि, मसीहीहरूलाई भने आफ्नो छिमेकीलाई प्रेम गर्न र आपसमा प्रगाढ प्रेम राख्न आज्ञा दिइएको छ। (मत्ती २२:३९; १ पत्रुस ४:८) यद्यपि, सायद तपाईंलाई यस वास्तविकताबारे थाह छ होला: हामी एकअर्कालाई प्रेम गर्न पूर्ण प्रयत्न गरे तापनि अरूको पीडालाई शान्त पार्ने अवसरलाई त्यत्ति वास्ता गरिरहेका हुँदैनौं। तिनीहरूको आवश्यकताहरूप्रति सजग नभएको कारण यसो भएको हुन सक्छ। समानुभूति भनेको हामीले दया र अनुकम्पा देखाउन मौका खुला गर्ने कुञ्जी हुन सक्छ।
समानुभूति के हो?
एउटा शब्दकोश भन्छ, समानुभूति भनेको “अर्को व्यक्तिको परिस्थिति, भावना र आशयहरूसँग परिचित हुनु वा बुझ्नु” हो। यसलाई अरूको ठाउँमा आफूलाई राख्न सक्ने क्षमता भनेर पनि वर्णन गरिएको छ। त्यसकारण, सामानुभूति देखाउनको लागि सर्वप्रथम अर्को व्यक्तिको परिस्थिति बुझ्नुपर्छ अनि त्यसपछि, ती परिस्थितिहरूले गर्दा तिनमा उब्जिएका भावनाहरू आफैले महसुस गर्न सक्नुपर्छ। हो, समानुभूति देखाउनु भनेको अरूले भोगेको पीडा हाम्रो हृदयमा महसुस गर्न सक्नु हो।
“समानुभूति” भन्ने शब्द बाइबलमा कतै पनि पाईंदैन, तर धर्मशास्त्रले यो गुणलाई अप्रत्यक्ष रूपमा भने संकेत गरेको छ। प्रेरित पत्रुसले मसीहीहरूलाई ‘सहानुभूति देखाउन, भातृ-प्रेम गर्न र कोमल हृदयका हुन’ सल्लाह दिए। (१ पत्रुस ३:८) “सहानुभूति” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “अरूसँगै दुःख भोग्नु” वा “अनुकम्पा देखाउनु” हो। प्रेरित पावलले “आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रोओ” भनेर सँगी मसीहीहरूलाई प्रोत्साहन दिंदा पनि यस्तै भावना व्यक्त गरे। पावलले अझै यसो भने: “एक दोस्रोप्रति एकै मनका होओ।” (रोमी १२:१५, १६) हाम्रो छिमेकीको ठाउँमा आफूलाई राखेर हेरेनौं भने, तिनीहरूलाई प्रेम गर्न प्राय असम्भव हुन्छ भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्न र?
सबैले केही न केही मात्रामा समानुभूति देखाउँछन्। भोका बच्चा र विचलित भएका शरणार्थीहरूको हृदयविदारक दृश्य देखेर दुःखित नहुने कोचाहिं होला र? सुँक्क-सुँक्क गर्दै रोइरहेको आफ्नो बच्चालाई कुनचाहिं मायालु आमाले बेवास्ता गर्न सक्लिन् र? तर सबै नै पीडाहरू बाहिरबाट सजिलै देख्न सकिने हुँदैनन्। निराश महसुस गरिरहेका, बाहिरबाट नदेखिने स्वास्थ्य समस्याको सामना गरिरहेका वा भोजन गर्ने असन्तुलित बानी भएका मानिसहरूको जस्तो समस्या हामीले भोगेका छैनौं भने, तिनीहरूको भावना बुझ्न एकदमै गाह्रो हुन्छ! तथापि, तिनीहरूको जस्तो परिस्थितिहरूको सामना हामीले गर्नु नपरे तापनि तिनीहरूप्रति हामीले सँगी भाव देखाउन सक्छौं र देखाउनु पर्छ भनी धर्मशास्त्रले बताउँछ।
समानुभूतिको धर्मशास्त्रीय उदाहरण
यहोवा हाम्रो लागि समानुभूतिको प्रमुख उदाहरण हुनुहुन्छ। आफू सिद्ध हुनुभए तापनि, हामी सिद्ध भएको उहाँ आशा गर्नुहुन्न, “किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनहुन्छ।” (भजन १०३:१४; रोमी ५:१२) अर्को कुरा, हाम्रा सीमितताहरूबारे उहाँलाई थाह भएको हुँदा ‘उहाँले हामीहरूलाई हामीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन।’ (१ कोरिन्थी १०:१३) आफ्ना सेवकहरू र आफ्नो आत्माद्वारा उहाँले हामीलाई समाधान प्राप्त गर्न मदत गर्नुहुन्छ।—यर्मिया २५:४, ५; प्रेरित ५:३२.
आफ्ना जनहरूले भोगेको पीडा यहोवालाई आफैले भोगेझैं लाग्छ। बेबिलोनबाट फर्केका यहूदीहरूलाई उहाँले यसो भन्नुभयो: “जसले तिमीहरूलाई छुन्छ त्यसले [मेरो] आँखाको नानीलाई छुन्छ।” (जकरिया २:८) परमेश्वरको समानुभूति राम्ररी बुझेको हुनाकारण बाइबलका लेखक दाऊदले उहाँलाई यसो भने: “मेरो आँसु तपाईंको भाँड़ामा हालिराख्नुहोस्, ती सबै तपाईंको पुस्तकमा छन्?” (भजन ५६:८) यहोवाका विश्वासी सेवकहरूले निष्ठा कायम गर्दा बगाएको आँसु उहाँले कुनै पुस्तकमा लेखिएझैं गरी सम्झनुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी कुरा हो!
स्वर्गमा बस्नु हुने आफ्नो पिता जस्तै येशू ख्रीष्ट पनि अरूको भावनाप्रति संवेदनशील हुनुहुन्थ्यो। एक जना बहिरो मानिसलाई निको पार्नु हुँदा उहाँले त्यसलाई एकान्तमा लैजानु भयो, किनभने त्यो मानिस त्यसरी निको हुँदा लज्जित वा झसंग नहोस् भनेर सायद उहाँ चाहनुहुन्थ्यो। (मर्कूस ७:३२-३५) अर्को अवसरमा, एक जना विधवाले आफ्नो एक मात्र छोराको लास लैजाँदै गरेको येशूले देख्नुभयो। त्यस विधवाले भोगिरहेकी पीडा तुरुन्तै महसुस गर्नुभएकोले उहाँ मलामीहरूको नजिकै गएर त्यस जवान मानिसलाई पुनरुत्थान गर्नुभयो।—लूका ७:११-१६.
आफ्नो पुनरुत्थानपछि येशू दमीशक जाने बाटोमा शावलकहाँ देखा पर्नुभयो र उहाँका चेलाहरूलाई दिइएको क्रूर सतावटले उहाँमा परेको असरबारे शावललाई थाह दिनुभयो। उहाँले तिनलाई भन्नुभयो, “म येशू हुँ, जसको खेदो तिमी गर्छौ।” (प्रेरित ९:३-५) आफ्नो बिरामी बच्चाको पीडा आमाले महसुस गरेझैं, आफ्ना चेलाहरूले भोगेको पीडा येशूले व्यक्तिगत रूपमा अनुभव गर्नुभयो। त्यसैगरी, स्वर्गमा बस्नु हुने हाम्रा प्रधान पूजाहारी येशू “हाम्रा निर्बलतामा हामीसँग दुःखी” हुनुहुन्छ अथवा रोथरहामको अनुवादअनुसार “हाम्रा निर्बलतामा सँगी भाव” देखाउनुहुन्छ।”—हिब्रू ४:१५.
प्रेरित पावलले अरूको पीडा र भावनाहरूप्रति संवेदनशील हुन सिके। तिनले सोधे, “को निर्धो छ, र म निर्धो छैनँ? कसलाई चाहिं बाधा पर्न आउँछ, र म चाहिं रिसले जल्दिनँ?” (२ कोरिन्थी ११:२९) स्वर्गदूतले पावल र सिलासलाई फिलिप्पीको कैदबाट चमत्कारपूर्वक छुटाउँदा, पावलले कैदबाट कोही पनि भागेका छैनन् भन्ने कुरा झ्यालखानाको हाकिमलाई तुरुन्तै बताइहाले। झ्यालखानाको हाकिमप्रतिको समानुभूतिको कारण तिनले आत्महत्या गर्लान् जस्तो पावललाई लाग्यो। विशेष सुरक्षासहित रेखदेख गर्नु भनी आज्ञा दिइएको कुनै कैदी भागेमा रोमी कानूनअनुसार झ्यालखानाको हाकिमलाई कठोर सजाय दिइन्थ्यो भन्ने कुरा पावललाई थाह थियो। (प्रेरित १६:२४-२८) पावलको जीवनदायी कामले झ्यालखानाको हाकिम प्रभावित भए र तिनी तथा तिनको घरानाले मसीही हुनको लागि कदम चाले।—प्रेरित १६:३०-३४.
समानुभूतिको खेती कसरी गर्ने
धर्मशास्त्रले हामीलाई स्वर्गमा बस्नु हुने हाम्रो पिता यहोवा र उहाँको पुत्र येशू ख्रीष्टको अनुकरण गर्न बारम्बार जोड दिन्छ। त्यसैकारण समानुभूति, हामीले विकास गर्नु पर्ने गुण हो। हामी यो कसरी गर्न सक्छौं? अरूको आवश्यकता र भावनाहरूप्रति हाम्रो संवेदनशीलता बढाउन सकिने तीनवटा मुख्य तरिकाहरू छन्: सुनेर, अवलोकन गरेर अनि कल्पना गरेर।
सुन्नुहोस्। ध्यान दिएर सुन्यौं भने अरूले कस्तो खालको समस्याहरू भोगिरहेका छन् भनी थाह पाउँछौं। हामी जति राम्ररी सुन्छौं तिनीहरूले आफ्ना भावनाहरू त्यति नै हृदय खोलेर प्रकट गर्न सक्छन्। “प्राचीनले मेरो कुरा सुन्छन् भनेर विश्वस्त छु भने मलाई तिनीसँग कुरा गर्न सजिलो लाग्छ,” भनेर मिरिआम बताउँछिन्। “तिनले मेरो समस्या साँच्चै बुझ्छन् भनेर म थाह पाउन चाहन्छु। मैले भनेका कुराहरू तिनले सुनिरहेका छन् भनेर देखाउने खालका प्रश्नहरू तिनले सोध्दा तिनमा मेरो भरोसा अझै बढ्छ।”
अवलोकन गर्नुहोस्। आफूले महसुस गरिरहेको र भोगिरहेको कुराहरू सबैले हामीलाई प्रस्टसँग बताउँदैनन्। तथापि, कुनै सँगी मसीही निराश जस्तो देखिंदा, किशोर-किशोरीले पहिलेको जति कुराकानी गर्न छोड्दा वा जोसिलो सेवकको उत्साह सेलाउँदा चनाखो व्यक्तिले थाह पाउनेछ। कुनै समस्यालाई सुरुको अवस्थामा नै थाह पाउने यस्तो क्षमता आमाबाबुहरूको लागि महत्त्वपूर्ण छ। “मैले कस्तो महसुस गर्दै छु भन्ने कुरा मैले बताउनुभन्दा पहिले नै मेरो आमाले कसरी हो कुन्नि थाह पाइसक्नुहुन्छ,” मारी भन्छिन्, “त्यसैकारण खुलस्त भएर मेरा समस्याहरूबारे उहाँलाई बताउन मलाई सजिलो लाग्छ।”
तपाईंको कल्पना शक्ति चलाउनुहोस्। समानुभूति जगाउने सबैभन्दा प्रभावकारी तरिका आफैलाई यस्ता प्रश्नहरू सोध्नु हो: ‘म यस्तो परिस्थितिमा भएको भए कस्तो महसुस गर्थें होला? मैले कस्तो प्रतिक्रिया देखाउँथें होला? मलाई के चाहिन्थ्यो होला?’ अय्यूबलाई सान्त्वना दिन आएका तीन जना झूटा सन्त्वनादाताहरू आफूलाई अय्यूबको ठाउँमा राख्न असमर्थ साबित भए। यसैकारण, अय्यूबले यस्तो र उस्तो पाप गरे होलान् भनेर आफ्नै मनगढन्ते कुरा गरेर तिनीहरूले अय्यूबलाई दोषी ठहराए।
असिद्ध मानिसहरूलाई भावनाहरू बुझ्नुभन्दा गल्तीहरूको आलोचना गर्न धेरै सजिलो हुन्छ। तथापि, पीडा भोगिरहेका व्यक्तिको संकष्टबारे कल्पना गर्न हामीले कडा प्रयत्न गऱ्यौं भने, यसले हामीलाई आलोचना गर्नुको साटो सहानुभूति देखाउन मदत गर्नेछ। “सुझाउहरू दिनुभन्दा पहिले ध्यानपूर्वक सुन्दा र सम्पूर्ण परिस्थितिलाई बुझ्ने कोसिस गर्दा म अझ राम्रो सल्लाह दिन सक्छु,” भनी क्वान नाउँ गरेका एक जना अनुभवी प्राचीन भन्छन्।
यस सन्दर्भमा यहोवाका साक्षीहरूद्वारा वितरित प्रकाशनहरूले धेरै जनालाई मदत गरेको छ। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाले निराशा र बाल दुर्व्यवहार जस्ता जटिल समस्याहरूबारे समेत छलफल गरेको छ। यस समसामयिक जानकारीले पाठकहरूलाई यस्ता समस्या भोगिरहेकाहरूको भावनाप्रति अझ बढी संवेदनशील हुन मदत गर्छ। त्यसैगरी, युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तकले धेरै आमाबाबुहरूलाई आफ्ना बच्चाहरूको समस्याहरू बुझ्न मदत गरेको छ।
समानुभूतिले मसीही क्रियाकलापमा मदत गर्छ
आफूसँग बाँड्न पुग्ने खानेकुरा छ भने, हामीमध्ये कमैले मात्र भोकाएको बच्चालाई टुलुटुलु हेरिरहन्छौं होला। हामीमा समानुभूति छ भने, मानिसको आध्यात्मिक अवस्थालाई पनि बुझ्नेछौं। बाइबलले येशूबारे यसो भन्छ: “भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) आज पनि लाखौं मानिसहरू त्यस्तै आध्यात्मिक अवस्थामा छन् र तिनीहरूलाई मदतको खाँचो छ।
येशूको दिनमाझैं मानिसहरूको हृदयसम्म पुग्न हामीले पूर्वाग्रह तथा गहिरो गरी जरा गाडेर बसेको प्रचलनलाई पन्छाउनु पर्ने हुन्छ। समानुभूति देखाउने सेवकले आफ्नो सन्देशलाई अझ सुनूँ-सुनूँ लाग्ने बनाउनको लागि आपसमा सहमत हुन सकिने वा मानिसहरूलाई थाह भएकै विषयमा कुरा गर्ने प्रयास गर्छन्। (प्रेरित १७:२२, २३; १ कोरिन्थी ९:२०-२३) समानुभूतिद्वारा उत्प्रेरित दयाका कार्यहरूले फिलिप्पीको झ्यालखानाको हाकिमलाई जस्तै, हाम्रो स्रोताहरूलाई पनि राज्य सन्देशप्रति अझ ग्रहणशील बनाउन सक्छ।
मण्डलीमा अरूको कमजोरीलाई वास्ता नगर्नको लागि समानुभूति धेरै नै मदतकारी हुन्छ। हामीलाई चोट पुऱ्याउने भाइका भावनाहरूलाई बुझ्ने कोसिस गऱ्यौं भने, निस्सन्देह, तिनलाई क्षमा गर्न हामीलाई सजिलो हुनेछ। तिनको जस्तै पृष्ठभूमि र परिस्थितिमा भएको भए सम्भवतः हामीले पनि त्यस्तै प्रतिक्रिया देखाउने थियौं होला। यहोवा समानुभूतिशील हुनुभएकोले हामी ‘माटोनै हौं भनी सम्झनुहुन्छ’ र त्यसैकारण के हामीलाई समानुभूतिले अरूको असिद्धतालाई विचार गरेर तिनीहरूलाई ‘क्षमा गर्न’ उत्प्रेरित गर्नुपर्दैन र?—भजन १०३:१४; कलस्सी ३:१३.
भूल गर्ने व्यक्तिको भावना र संवेदनशीलतालाई बुझ्यौं भने, हामी दयालु ढंगमा सल्लाह दिन सक्छौं होला। समानुभूतिशील मसीही प्राचीनले आफूलाई यसरी सम्झाउँछन् ‘यही गल्ती मबाट पनि हुन सक्थ्यो। म पनि त्यस्तै परिस्थितिमा पर्न सक्छु।’ त्यसैकारण, पावल यस्तो सल्लाह दिन्छन्: “नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।”—गलाती ६:१.
सँगी मसीहीले मदत माग्न हिचकिचाए तापनि सके जति व्यावहारिक मदत दिन हामी आफै अग्रसर हुन पनि समानुभूतिले हामीलाई प्रेरित गर्न सक्छ। प्रेरित यूहन्ना यस्तो लेख्छन्: “संसारको सम्पत्ति हासिल गरेर पनि कसैले आफ्नो भाइलाई खाँचो परेको देखेर त्यसमाथि आफ्नो दया देखाउँदैन भनेता परमेश्वरको प्रेम त्यसमा कसरी रहन्छ? . . . वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम गरौं।”—१ यूहन्ना ३:१७, १८.
“कामले साँचो प्रेम” गर्न सर्वप्रथम हामीले हाम्रो भाइलाई वास्तवमा के चाहिरहेको छ भनेर बुझ्नुपर्छ। अरूलाई मदत गर्ने मनसायले के हामी तिनीहरूको आवश्यकतालाई गम्भीरतापूर्वक ध्यान दिन्छौं? समानुभूति भनेको नै यही हो।
सँगी भाव खेती गर्नुहोस्
जन्मजातै हामी समानुभूतिशील छैनौं होला, तथापि हामीले यस सँगी भाव खेती गर्न सक्छौं। हामीले अझ बढी ध्यान दिएर सुन्यौं, गम्भीरतापूर्वक विचार गऱ्यौं र अरूको परिस्थितिमा आफूलाई राखेर हेऱ्यौं भने हामी अझ बढी समानुभूतिशील हुन सक्नेछौं। फलस्वरूप, आफ्ना बच्चा, अरू मसीही र आफ्ना छिमेकीहरूप्रति अझ बढी प्रेम, दया र अनुकम्पा देखाउन प्रेरित भएको महसुस गर्नेछौं।
कहिल्यै पनि स्वार्थले आफ्नो समानुभूतिलाई निसासिन नदिनुहोस्। पावलले यस्तो लेखे, “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:४) हाम्रो अनन्त भविष्य यहोवा तथा उहाँको प्रधान पूजाहारी येशू ख्रीष्टको समानुभूतिमा निर्भर छ। त्यसकारण, यो गुण खेती गर्नु हाम्रो नैतिक दायित्व हो। हाम्रो समानुभूतिले हामीलाई अझ राम्रो सेवक र आमाबाबु बन्न बल प्रदान गर्नेछ। सबैभन्दा मुख्य कुरा त, समानुभूतिले हामीलाई “लिनुभन्दा दिनु अझ असल हो” भन्ने कुरा महसुस गर्न मदत गर्नेछ।—प्रेरित २०:३५.
[पृष्ठ २५-मा भएको चित्र]
समानुभूति भनेको अरूलाई मदत गर्ने मनसाय राखेर तिनीहरूको आवश्यकतालाई गम्भीरतासाथ अवलोकन गर्नु हो
[पृष्ठ २६-मा भएको चित्र]
एक जना मायालु आमाले आफ्नो बच्चाप्रति स्वतः देखाउने समानुभूति के हामीले सिक्नेछौं?