इस्वी संवत् ३३ पेन्तिकोसमा पत्रुसले साक्षी दिँदा ‘यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू’ दुवैले सुने।—प्रेषि. २:१०.
दिनहुँ खानेकुरा बाँड्ने “महत्त्वपूर्ण काममा” नियुक्त भएका योग्य पुरुषहरूमध्ये निकोलाउस पनि थिए। तिनलाई “यहुदी बनेका एन्टिओकका” भनी चिनाइएको छ। (प्रेषि. ६:३-५) धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू अन्यजातिका थिए। तिनीहरूले परमेश्वर र इस्राएलको व्यवस्था सबै स्विकारेर अन्य सबै देवताहरूलाई तिरस्कार गरेकोले, खतना गरेकोले (पुरुष हुन् भने) र इस्राएल राष्ट्रसित सम्बन्ध गाँसेकोले तिनीहरूलाई यहुदी नै ठानिन्थ्यो।
ईसापूर्व ५३७ मा बेबिलोनको कैदबाट मुक्त भएपछि थुप्रै यहुदी इस्राएलबाट टाढा पर्ने भूमिमा बसोबास गर्न थाले तर यहुदी धर्म भने त्यागेनन्। त्यसैले भूमध्यसागरको पूर्वतिर र त्यसभन्दा टाढा बस्ने प्राचीन समयका मानिसहरू यहुदी धर्मसित परिचित थिए। होरेस र सेनेकाजस्ता प्राचीन समयका लेखकहरूले विभिन्न मुलुकका थुप्रै मानिस यहुदी र तिनीहरूको प्रचलनबाट प्रभावित भए अनि यहुदीहरूको समुदायसितै मिले र धर्म परिवर्तन गरेर यहुदी बने भनेर पुष्टि गरेका छन्।