मसीहीहरू तथा मानिसजातिको संसार
“बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल।”—कलस्सी ४:५.
१. आफ्ना अनुयायी तथा संसारबारे येशूले के भन्नुभयो?
स्वर्गमा हुनुहुने आफ्नो पितालाई प्रार्थना गर्नुहुँदा येशूले आफ्ना चेलाहरूबारे यसो भन्नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गऱ्यो, किनकि तिनीहरू संसारका होइनन्, जस्तो म संसारको होइनँ।” त्यसपछि उहाँले अझ यसो भन्नुभयो: “तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्।” (यूहन्ना १७:१४, १५) तथापि, मसीहीहरू कुनै आश्रम वा मठमा बसेर संसारबाट अलग्ग हुनु आवश्यक थिएन। उल्टो, ख्रीष्टले त “पृथ्वीको अन्तसम्म” आफ्नो साक्षी बनाएर तिनीहरूलाई “संसारमा पठा[उनुभयो]।” (प्रेरित १:८; यूहन्ना १७:१८) तैपनि, उहाँले “यस संसारको मालिक,” शैतानको हातबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनेर परमेश्वरलाई आग्रह गर्नुभयो। किनकि ख्रीष्टको नाउँको कारण शैतानले तिनीहरूलाई घृणाको पात्र बनाउनेथियो।—यूहन्ना १२:३१; मत्ती २४:९.
२. (क) बाइबलमा “संसार” शब्दलाई कसरी चलाइएको छ? (ख) यहोवाले संसारप्रति कस्तो सन्तुलित दृष्टिकोण राख्नु हुन्छ?
२ बाइबलमा उल्लिखित “संसार” (युनानी, कोसमोस) शब्दले अक्सर “त्यस दुष्टको अधीनमा परेको” अधार्मिक मानव समाजलाई संकेत गर्छ। (१ यूहन्ना ५:१९) यहोवाका स्तरहरूका साथै यस संसारलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने आज्ञा पालन गरेकोले कहिलेकाहीं मसीहीहरू र संसारबीच राम्रो सम्बन्ध कायम हुनसक्दैन। (२ तिमोथी ३:१२; १ यूहन्ना ३:१, १३) तथापि, आम मानव परिवारलाई संकेत गर्न पनि धर्मशास्त्रमा कोसमोस शब्द प्रयोग गरिएको छ। यही अर्थलाई समेटी येशूले संसारबारे यसो भन्नुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँबाट बचोस् भनेर पठाउनुभयो।” (यूहन्ना ३:१६, १७; २ कोरिन्थी ५:१९; १ यूहन्ना ४:१४) अतः यसप्रकार, एकातिर शैतानको दुष्ट रीतिरिवाजका विशेषताहरू घृणा गर्दै र अर्कोतिर “पश्चात्ताप” गर्ने जत्ति सबैलाई बचाउन आफ्नो पुत्रलाई यस पृथ्वीमा पठाउनुभएर यहोवाले मानिसजातिप्रति प्रेम देखाउनुभयो। (२ पत्रुस ३:९; हितोपदेश ६:१६-१९) संसारप्रति यहोवाको यस्तो सन्तुलित दृष्टिकोण उहाँका उपासकहरूका निम्ति मार्गनिर्देशक हुनुपर्छ।
येशूको उदाहरण
३, ४. (क) शासन गर्नका लागि येशूले कुन ओहदा स्वीकार्नुभयो? (ख) मानिसजातिको संसारप्रति येशूको दृष्टिकोण कस्तो थियो?
३ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले पोन्तियस पिलातसलाई यसो भन्नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्ना १८:३६) शैतानले यस जगत्का सबै राज्यहरू दिन्छु भन्ने प्रस्ताव राख्दा येशूले ती शब्दहरूअनुरूप अस्वीकार गर्नुभएको थियो। त्यसैगरि यहूदीहरूले राजा बनाउन खोज्दा पनि उहाँले यिनै शब्दहरूअनुरूप तिनीहरूको प्रयास विफल पारिदिनुभएको थियो। (लूका ४:५-८; यूहन्ना ६:१४, १५) यद्यपि, येशूले मानिसजातिप्रति ठूलो प्रेम देखाउनुभयो। यसको एउटा उदाहरणबारे प्रेरित मत्तीले यस्तो रिपोर्ट दिए: “भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” प्रेमकै कारण उहाँले शहर तथा गाउँघरसम्म गएर मानिसहरूलाई प्रचार गर्नुभयो। उहाँले तिनीहरूलाई सिकाउनुभयो र तिनीहरूको रोगबिमार निको पारिदिनुभयो। (मत्ती ९:३६) उहाँसित सिक्न आउनेहरूको शारीरिक आवश्यकताप्रति पनि उहाँ सचेत हुनुहुन्थ्यो। हामी यस्तो लेखिएको पाउँछौं: “येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, ‘भीड़हरूलाई म टिठाउँछु, किनभने तीन दिन भइसक्यो तिनीहरू मसँगै छन्, र तिनीहरूसित खानेकुरो केही छैन। औ यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ नत्रता तिनीहरू बाटामा मूर्च्छा पर्नेछन्।’ ” (मत्ती १५:३२) कस्तो मायालु चिन्ता!
४ यहूदीहरू सामरीहरूप्रति निकै पूर्वाग्रह राख्थे। तर येशूले एउटी सामरी स्त्रीसित निकै बेर कुरा गर्नुभयो र दुइ दिनसम्म सामरीहरूको शहरमा पूर्णतया साक्षी दिनुभयो। (यूहन्ना ४:५-४२) परमेश्वरले उहाँलाई “इस्राएलको घरानाका हराएका भेड़ाहरू” कहाँ पठाउनुभए तापनि गैरयहूदीहरूले विश्वास देखाउँदा उहाँले बेलाबेलामा तिनीहरूको बिन्ती सुन्नुभयो। (मत्ती ८:५-१३; १५:२१-२८) हो, ‘संसारको भाग नभएर’ पनि येशूले संसारका मानिसजातिलाई अर्थात् मानिसहरूलाई प्रेम देखाउनु सम्भव छ भनी प्रदर्शित गर्नुभयो। के हामी पनि आफू वरपरका, काम गर्ने ठाउँका अथवा किनमेल गर्दा भेटिएका मानिसहरूप्रति त्यसरी नै सहानुभूति देखाउँछौं? के हामी तिनीहरूका आध्यात्मिक आवश्यकताहरू मात्र नभई आफ्नो औकातअनुसार अन्य जायज आवश्यकताहरू पूरा गर्न मदत गरेर पनि तिनीहरूको भलो चाहन्छौं भनेर व्यक्त गर्छौं? येशूले त्यसै गर्नुभयो र त्यसरी परमेश्वरको राज्यबारे मानिसहरूलाई बताउने बाटो खोल्नुभयो। हो, हामी येशूले गर्नुभएजस्तै चमत्कारहरू गर्नसक्दैनौं। तर भलाइ गऱ्यौं भने यहोवाका साक्षीहरू विरुद्ध राखिएको पूर्वाग्रह हटाएर प्रायः त्यसले चमत्कारै गर्छ।
“बाहिर भएका” मानिसहरूप्रति पावलको मनोवृत्ति
५, ६. “बाहिर भएका” यहूदीहरूसित पावलले कस्तो व्यवहार गरे?
५ प्रायजसो पत्रहरूमा पावलले गैरमसीही यहूदी वा अन्यजातिकाहरूलाई “बाहिरकाहरू” वा “बाहिर भएकाहरू” भनेर सम्बोधन गरेका छन्। (१ कोरिन्थी ५:१२; १ थिस्सलोनिकी ४:१२; १ तिमोथी ३:७) यी व्यक्तिहरूसित पावलले कसरी व्यवहार गरे? ‘कुनै किसिमले कसै कसैलाई बचाइहाल्न सबैका निम्ति तिनी सबै कुरा भए।’ (१ कोरिन्थी ९:२०-२२) नौलो शहरमा पुग्ने बित्तिकै त्यहाँका यहूदीहरूकहाँ गएर तिनीहरूलाई प्रचार गर्ने बानी तिनको थियो। तिनी कसरी कुरा थाल्थे? मसीह आइसक्नुभएका, बलिदानरूपी मृत्यु भोगिसक्नुभएका र पुनरुत्थान भइसक्नुभएका जोडदार प्रमाणहरू तिनी कुशल तथा आदरपूर्ण ढंगमा बाइबलबाट पेश गर्थे।—प्रेरित १३:५, १४-१६, ४३; १७:१-३, १०.
६ यसप्रकार यहूदीहरूलाई मसीह र परमेश्वरको राज्यबारे सिकाउन पावलले व्यवस्था र अगमवक्ताहरूबारे तिनीहरूको ज्ञान बढाइदिए। अनि कसै कसैलाई विश्वास दिलाउन तिनी सफल पनि भए। (प्रेरित १४:१; १७:४) यहूदी नेताहरूले दिएका सतावटको बावजूद सँगी यहूदीहरूप्रति पावलको अपार स्नेह थियो भनी तिनको यस लेखाइबाट थाह हुन्छ: “ए भाइ हो, मेरो आफ्नो हृदयको इच्छा र तिनीहरूका निम्ति परमेश्वरमा मेरो अन्तरबिन्ती यही छ, कि तिनीहरूले [यहूदीहरूले] उद्धार पाऊन्। किनभने तिनीहरूसँग परमेश्वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन भनी मलाई तिनीहरूका विषयमा पक्का थाह छ।”—रोमी १०:१, २.
गैरयहूदी विश्वासीहरूलाई मदत गर्नु
७. पावलले प्रचार गर्दा धर्म परिवर्तन गरेर यहूदी मत मान्न थाल्ने धेरैजसोले कस्तो प्रतिक्रिया देखाए?
७ यहूदी मत मान्ने गैरयहूदीहरू ती व्यक्तिहरू थिए जसले यहूदी धर्म अपनाउन खतना गरेका थिए। रोम, सिरिया एन्टिओक, एथियोपिया र पिसिदियाको एन्टिओकलगायत समस्त यहूदी इलाका अर्थात् डाइसपोरामा पनि यहूदी मत मान्ने गैरयहूदीहरू थिए भन्ने प्रमाण छ। (प्रेरित २:८-१०; ६:५; ८:२७; १३:१४, ४३; तुलना गर्नुहोस् मत्ती २३:१५) तिनीहरू यहूदी शासकहरूजस्ता हठी थिएनन् र तिनीहरूले आफू अब्राहामका वंश हौं भनेर धाक लाउन पनि सक्दैनन् थिए। (मत्ती ३:९, यूहन्ना ८:३३) बरु, तिनीहरूले मूर्तिपूजक धर्मलाई त्यागेका थिए अनि यहोवा र उहाँका नियमहरूबारे केही ज्ञान प्राप्त गरिसकेपछि नम्रतासाथ यहोवातिर फर्केका थिए। यसबाहेक, मसीहको आगमनबारे यहूदीहरूले राखेका आशा तिनीहरूले पनि ग्रहण गरे। सत्यको खोजी गर्न आफ्नो जीवनशैली तथा विश्वास परिवर्तन गर्ने इच्छुकता देखाइसकेको हुनाले तिनीहरूमध्ये धेरैजसो प्रेरित पावलले प्रचार गर्दा सुन्न र थप परिवर्तनहरू गर्न तयार थिए। (प्रेरित १३:४२, ४३) पहिले मूर्तिपूजा गर्ने गरे तापनि त्यसलाई त्यागी यहूदी मत मान्न थालिसकेका यस्ता व्यक्तिहरूले फेरि धर्म परिवर्तन गरी मसीही बनेकाहरू, अझै गैरमसीही देवता मान्ने अन्यजातिका अरू मानिसहरूलाई कुशलतासाथ साक्षी दिनसक्ने स्थितिमा हुन्थे।
८, ९. (क) यहूदी मत मान्न धर्म परिवर्तन गर्नेहरूबाहेक अन्यजातिको अर्को कुन समूह पनि यहूदी धर्मप्रति आकर्षित भए? (ख) खतना नगर्ने धेरैजसो ईश्वभीरूहरूले सुसमाचारप्रति कस्तो प्रतिक्रिया जनाए?
८ खतना गरी यहूदी मत मान्न थाल्नेहरूबाहेक अन्य गैरयहूदीहरू पनि यहूदी धर्मतर्फ आकर्षित भए। कर्निलियस यिनीहरूमध्ये सबैभन्दा पहिले मसीही बन्ने व्यक्ति थिए। तिनी यहूदी मत नमान्ने भए तापनि “भक्त थिए, र . . . परमेश्वरको भय मान्थे।” (प्रेरित १०:२) प्रेरितको पुस्तकबारे टिप्पणी गर्दा प्राध्यापक एफ. एफ. ब्रूसले लेखे: “यस्ता अन्यजातिका मानिसहरूलाई साधारणतया ‘ईश्वरभीरू’ भनिन्छ; तर यो कुनै पारिभाषिक शब्द नभई सुविधाको लागि प्रयोग गरिएको शब्द हो। त्यसबेलाका धेरैजसो अन्यजातिका मानिसहरू यहूदी मतमा (खतना गर्नैपर्ने आवश्यकता पुरुषहरूका लागि विशेषगरि ठोक्करको कारण हुन गएकोले) पूर्णतया लाग्न तयार नभए तापनि यिनीहरू यहूदी सभाघरमा एउटै ईश्वरको उपासना गर्ने सरल तरिका र यहूदीहरूको नैतिकवान् जीवनस्तरले गर्दा यहूदी धर्मतर्फ आकर्षित भएका थिए। यिनीहरूमध्ये कोही कोही सभाघरहरू जान्थे र युनानी संस्करणका शास्त्रपदहरू पढेको सुनेको आधारमा तिनीहरूले केही हदसम्म प्रार्थना गर्न तथा बताइएको शास्त्रपदहरूको ज्ञान हासिल गर्नसके।”
९ एसिया माइनर र ग्रीसका सभाघरहरूमा प्रचार गर्दा प्रेरित पावलले यस्ता थुप्रै ईश्वरभीरूहरूलाई भेटे। पिसिदियाको एन्टिओकमा तिनले सभाघरमा जम्मा भएकाहरूलाई “हे इस्राएली र परमेश्वरको डर मान्ने हो,” भनेर सम्बोधन गरे। (प्रेरित १३:१६, २६) पावलले थिस्सलोनिकाको सभाघरमा तीन विश्राम दिनहरूमा प्रचार गरेपछि “तिनीहरूमध्ये [यहूदीहरू] कोही कोहीले [मसीही हुन] मानिहाले, औ भक्त ग्रीकहरूमध्ये ठूलो भीड़ र प्रमुख स्त्रीहरूमध्ये धेरैनै पावल र सिलासतर्फ लागे,” भनेर लूकाले लेखे। (प्रेरित १७:४) शायद यिनीहरूमध्ये कोही कोही युनानीहरू खतना नगरिएका ईश्वरभीरूहरू थिए होलान्। अन्यजातिका यस्ता थुप्रै मानिसहरू यहूदी समाजमा थिए भन्ने प्रमाण छ।
“अविश्वासीहरू[बीच]” प्रचार गर्दै
१०. धर्मशास्त्रबारे केही पनि थाह नभएका अन्यजातिका मानिसहरूलाई पावलले कसरी प्रचार गरे र यसको परिणाम के भयो?
१० मसीही युनानी धर्मशास्त्रमा “अविश्वासी” भनी प्रयोग गरिएको शब्दले विशेषगरि मसीही मण्डली बाहिरका मानिसहरूलाई संकेत गर्नसक्छ। यसले अक्सर गैरमसीही धर्म मान्नेहरूलाई संकेत गर्छ। (रोमी १५:३१; १ कोरिन्थी १४:२२, २३; २ कोरिन्थी ४:४; ६:१४) एथेन्सका थुप्रै अविश्वासीहरूले युनानी दर्शनशास्त्रमा शिक्षादीक्षा पाएको भए तापनि तिनीहरूसित धर्मशास्त्रको कुनै ज्ञान थिएन। के यो देखेर पावल तिनीहरूलाई प्रचार गर्न निरुत्साहित भए? अहँ, भएनन्। बरु, तिनले आफ्नो कुरा गर्ने तरिकामा छाँटकाँट गरे। एथेन्सबासीहरूलाई थाह नभएको हिब्रू धर्मशास्त्रबाट सोझै उद्धरण नगरि तिनले कौशलतासाथ बाइबलका कुराहरू प्रस्तुत गरे। बाइबलीय सत्य र पुरातन स्टोइक कविहरूले व्यक्त गरेका केही खास विचारहरूबीचको समानता पनि तिनले निपुणतासाथ पेश गरे। अनि तिनले सारा मानिसजातिको साँचो परमेश्वर एक जना मात्र हुनुहुन्छ, जसले मरिसकेर पुनरुत्थान हुनु भइसक्नु भएको व्यक्तिद्वारा मानिसलाई धार्मिकताका साथ न्याय गर्नुहुनेछ भन्ने धारणा प्रस्तुत गरे। यसरी पावलले एथेन्सबासीहरूलाई ख्रीष्टबारे कुशलतापूर्वक प्रचार गरे। अनि यसको परिणाम? अधिकांश मानिसहरूले तिनको सरासर विरोध गरे वा नपत्याए तापनि “कुनै कुनै मानिसहरूले तिनका साथ लागेर विश्वास गरे। तिनीहरूमध्ये डियनुसियस अरियोपागी पनि थिए र डामारिस नाउँ भएकी एउटी स्त्री, र उनीहरूसित अरूहरू पनि थिए।”—प्रेरित १७:१८, २१-३४.
११. कोरिन्थ कस्तो शहर थियो र त्यहाँ पावलले गरेको प्रचारकार्यको परिणाम के भयो?
११ कोरिन्थमा यहूदीहरूको निकै ठूलो समाज थियो। त्यसैकारण पावलले त्यहाँ सभाघरबाटै आफ्नो सेवकाई थाले। तर यहूदीहरूले विरोध गर्न थालेपछि पावल अन्यजातिका मानिसहरूकहाँ गए। (प्रेरित १८:१-६) तिनले त्यहाँ कत्ति मानिसहरू भेट्टाए! कोरिन्थ एक व्यस्त, सभ्य, व्यापारिक तर ग्रीस-रोमी संसारमा अनैतिकताको लागि बदनाम शहर थियो। वास्तवमा टु कोरिन्थिअनाइज (कोरिन्थीबासी बनाउनु) भनिने अंग्रेजी शब्दको अर्थ नै अनैतिक काम गर्नु हुन गयो। यद्यपि, यहूदीहरूले पावलको कुरा सुन्न इन्कार गरेपछि येशू तिनीसमक्ष देखा पर्नुभएर यसो भन्नुभएको थियो: “नडराऊ, तर बोल्दै जाऊ, . . . यस शहरमा मेरा मानिसहरू धेरैनै छन्।” (प्रेरित १८:९, १०) येशूले भन्नुभएजस्तै पावलले कोरिन्थमा विश्वासीहरू फेला पारे र एउटा मण्डली स्थापित गरे। त्यस मण्डलीका सदस्यहरूमध्ये पहिले “कोरिन्थी” जीवनशैली बिताउनेहरू पनि थिए।—१ कोरिन्थी ६:९-११.
आज “सबै मानिसहरूलाई” जोगाउनखोज्नु
१२, १३. (क) पावलले प्रचार गरेको इलाका र आज हामीले प्रचार गर्ने इलाका कसरी समान छ? (ख) निकै शताब्दीअघिदेखि मसीहीजगत्को धर्मले जरा गाडेका इलाकाहरू अथवा औपचारिक धर्मले गर्दा निराश भएकाहरूप्रति हामी कस्तो मनोवृत्ति देखाउँछौं?
१२ प्रथम शताब्दीमा जस्तै आज पनि “परमेश्वरको मुक्ति दिने अनुग्रह सबै मानिसहरूलाई प्रकट भएको छ।” (तीतस २:११) सुसमाचार प्रचार गर्ने इलाका बढेर त्यसले सबै महादेश तथा समुद्रका धेरैजसो टापुहरू पनि समेटिसक्यो। अनि पावलको समयमा जस्तै वास्तवमा “सबै मानिसहरू” भेटिएका छन्। उदाहरणका लागि, शताब्दीयौं अघिदेखि मसीहीजगत्का चर्चहरू स्थापित भएका मुलुकहरूमा हामीहरूमध्ये कतिपयले प्रचार गर्छौं। प्रथम शताब्दीका यहूदीहरू जस्तै मसीहीजगत्का सदस्यहरू पनि धार्मिक परम्पराहरूले नराम्रोसित जकडिएका हुनसक्छन्। तापनि, हामी राम्रा हृदय हुनेहरूलाई खोज्न र तिनीहरूसित बाइबलसम्बन्धी धेरथोर जत्ति ज्ञान छ, त्यसलाई बढाउन खुशी छौं। तिनीहरूका धार्मिक नेताहरूले कहिलेकाहीं हाम्रो विरोध गरेका वा हामीलाई सताएका भए तापनि हामी तिनीहरूलाई होच्याउँदै वा दुत्कार्दै कुरा गर्दैनौं। बरु, सही ज्ञानको कमी भए तापनि तिनीहरूमध्ये कसै कसैसित “परमेश्वरका निम्ति जोश त छ” भनेर हामी स्वीकार्छौं। येशू र पावलले जस्तै हामी साँचो प्रेम देखाउँछौं र हामीसित तिनीहरू पनि बाँचून् भन्ने उत्कट इच्छा हामीले राखेका छौं।—रोमी १०:२.
१३ औपचारिक धर्मले गर्दा निराश भएकाहरूलाई पनि हामी प्रचारको दौडान भेट्छौं। तथापि, तिनीहरू अझै पनि ईश्वरभीरू हुनसक्छन्। केही हद्सम्म परमेश्वरमा आस्था राख्ने र इज्जतदार जीवन बिताउन कोसिस गरिरहेकाहरू हुनसक्छन्। यो टेढो र असाध्यै ईश्वरहीन पुस्ताबीच परमेश्वरमाथि विश्वास राख्ने मानिस भेट्टाउँदा के हामी रमाउनुपर्ने होइन र? अनि तिनीहरूलाई उपासना गर्ने निष्कपट र सच्चा तरिका यो हो भनेर देखाउन के हामी उत्सुक छैनौं र?—फिलिप्पी २:१५.
१४, १५. सुसमाचार प्रचार गर्ने ठूलो इलाकाको प्रबन्ध कसरी भएको छ?
१४ महाजालको उखानमा येशूले प्रचार गर्ने इलाका ठूलो हुनेछ भनेर अग्रिमवाणी गर्नुभएको थियो। (मत्ती १३:४७-४९) यस उखानबारे व्याख्या गर्दै प्रहरीधरहरा सेप्टेम्बर १, १९९२ को पृष्ठ २१ यसो भन्छ: “शदियौंदेखिन् मसीहीजगत्का सदस्यहरूले नै परमेश्वरको वचन अनुवाद गर्ने, नकल गर्ने, र वितरण गर्ने काममा एउटा प्रमुख भूमिका निभाउँदै आएका छन्। अनकन्टार मुलुकहरूका भाषाहरूमा बाइबलको अनुवाद गर्न मसीहीजगत्ले पछि बाइबल सोसाइटीहरू गठन गरे वा तिनीहरूलाई टेवा दिए। तिनीहरूले चिकित्सक मिसनरीहरू र शिक्षकहरू ठाउँ-ठाउँमा पठाए र यिनीहरूले चाहिं भोजन र अन्य भौतिक लाभहरूको कारण मसीहीधर्म अपनाउने मानिसहरू जम्मा गरे। यसप्रकार, अयोग्य किसिमका अथवा परमेश्वरको अनुमोदन प्राप्त नगर्ने माछाहरू ठूलो संख्यामा जम्मा भयो। तरै पनि, यस प्रक्रियाद्वारा लाखौं गैरमसीहीहरूले बाइबल र भ्रष्टै सही तर मसीही धर्मको एउटा रूपसित परिचित हुने मौका पाए।”
१५ दक्षिण अमेरिका, अफ्रिका तथा केही टापुहरूमा मसीहीजगत्ले सफलतापूर्वक धर्म परिवर्तन गरेको छ। आज हाम्रो समयमा यी क्षेत्रमा थुप्रै नम्र व्यक्तिहरू भेटिएका छन्। धर्म परिवर्तन गरेर यहूदी मत मान्नेहरूप्रति पावलले जस्तै यस्ता मानिसहरूप्रति हामीले सकारात्मक र मायालु मनोवृत्ति देखायौं भने निरन्तर असल काम गरिरहनसक्छौं। हामीले सहयोग गर्नुपरेका मानिसहरूमध्ये हामी यहोवाका साक्षीहरूको “रायसित सहमत हुने” लाखौं व्यक्तिहरू पनि छन्। हामीहरू भेट्न जाँदा तिनीहरू सधैं खुशी हुन्छन्। यिनीहरूमध्ये कसै कसैले हामीसित बाइबल अध्ययन गर्छन्, हाम्रा सभाहरूमा र त्यसमा पनि अझ विशेषगरि ख्रीष्टको मृत्युको वार्षिकोत्सवका दिन उपस्थित भएका छन्। परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्ने अरू थुप्रै व्यक्तिहरू छन् भनी के यस्ता व्यक्तिहरूले देखाउँदैनन् र?
१६, १७. (क) कस्ता मानिसहरूलाई हामी सुसमाचार सुनाउँछौं? (ख) भिन्नाभिन्नै प्रकारका मानिसहरूलाई प्रचार गर्दा हामी कसरी पावलको अनुकरण गर्छौं?
१६ यसबाहेक, मसीहीजगत्को प्रभावमा नपरेका अन्य मानिसहरूलाई तिनीहरूको आफ्नै देशमा वा कुनै पश्चिमी मुलुकमा अन्त प्रवासीको रूपमा भेट्दा तिनीहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्ने हो? अनि धर्म पटक्कै मन नपराउने त्यस्ता लाखौं नास्तिकहरू वा अज्ञेयवादीहरूप्रति कस्तो धारणा राख्नुपर्ने हो? यसबाहेक, किताब पसलमा पाइने सहायक पुस्तकहरूमा छापिएका आधुनिक दर्शन वा लोकप्रिय मनोविज्ञानलाई नै धर्म ठान्नेहरूबारे नि? के यीमध्ये कोही पनि क्षमा पाउन योग्य छैनन् भन्ठान्दै बेवास्ता गर्नु हुन्छ? प्रेरित पावलको अनुकरण गर्छौं भने हामी त्यसो गर्नेछैनौं।
१७ एथेन्समा प्रचार गर्दा आफ्ना श्रोताहरूसित दर्शनशास्त्रबारे वादविवाद गर्ने फन्दामा पावल फँसेनन्। तर आफ्नो सम्पर्कमा आएका मानिसहरूलाई सुहाउनेगरि आफ्नो तर्क पेश गर्दै तिनले बाइबल सत्यलाई सुस्पष्ट तथा तार्किक तरिकामा प्रस्तुत गरे। त्यसैगरि, हामीले प्रचार गर्नुपर्ने मानिसहरूको धर्म वा दर्शनहरूमा हामी पोख्त हुनु आवश्यक छैन। तथापि, प्रभावकारी तरिकाले साक्षी दिन हामी आफ्नो प्रस्तुति समयानुसार प्रस्तुत गर्छौं वा “सबैका निम्ति . . . सबै कुरा” हुन्छौं। (१ कोरिन्थी ९:२२) कलस्सीका मसीहीहरूलाई लेख्दै पावलले भने: “समयको अवसर विचार गरेर बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल। हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।”—कलस्सी ४:५, ६.
१८. हाम्रो के जिम्मेवारी छ र हामीले कुन कुरा कहिल्यै बिर्सनु हुँदैन?
१८ येशू र प्रेरित पावल जस्तै हामी पनि हर प्रकारका मानिसहरूप्रति प्रेम देखाऔं। विशेषगरि, अरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न हामी भएभरको प्रयास गरौं। अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको यो कुरा पनि कहिल्यै नबिर्सौं: “तिनीहरू पनि संसारका होइनन्!” (यूहन्ना १७:१६) हाम्रोनिम्ति यसले के अर्थ राख्छ, त्यो अर्को लेखमा छलफल गरिनेछ।
पुनरावलोकनको उद्देश्य
◻ संसारप्रतिको येशूको सन्तुलित दृष्टिकोण व्याख्या गर्नुहोस्।
◻ प्रेरित पावलले यहूदी तथा यहूदी मत मान्न धर्म परिवर्तन गर्नेहरूलाई कसरी प्रचार गरे?
◻ ईश्वरभीरू तथा विश्वास नगर्नेहरूसित पावलले कसरी कुरा गरे?
◻ हाम्रो प्रचार कार्यमा हामी “सबैका निम्ति . . . सबै कुरा” कसरी हुनसक्छौं?
[पृष्ठ १०-मा भएको चित्र]
छिमेकीहरूप्रति भलाइको काम गरेर मसीहीहरूले आफूप्रति राखिएको पूर्वाग्रहलाई अक्सर मेटाउनसक्छन्