तपाईंको जीवनको वरदानको सही मोल गर्नुहोस्
“जीवित परमेश्वरको सेवा गर्नालाई ख्रीष्टको रगतले तिमीहरूका विवेकलाई शक्तिहीन कामहरूबाट कति बढ़ता गरी शुद्ध पार्ला?”—हिब्रू ९:१४.
१. हामी जीवनलाई अत्यन्तै मूल्यवान् ठान्छौं भनेर कुन कुराबाट देखिन्छ?
तपाईंलाई आफ्नो जीवनको मोल तोक्न लगाइयो भने यसको मोल कति तोक्नुहुनेछ? चाहे आफ्नो होस् वा अरूको, हामी जीवनलाई अत्यन्तै मूल्यवान् ठान्छौं। यसैकारण हामी बिरामी हुँदा वा नियमित स्वास्थ्य परीक्षणको लागि डाक्टरकहाँ जान्छौं। हामी बाँच्न र निरोगी रहन चाहन्छौं। वृद्ध वा अशक्त भइसकेकाहरू समेत प्रायजसो मर्न चाहँदैनन्; तिनीहरू बाँच्न चाहन्छन्।
२, ३. (क) हितोपदेश २३:२२ ले कस्तो दायित्वबारे प्रकाश पार्छ? (ख) हितोपदेश २३:२२ मा उल्लेख गरिएको दायित्वमा परमेश्वर कसरी समावेश हुनुहुन्छ?
२ जीवनलाई तपाईं कत्तिको मूल्यवान् ठान्नुहुन्छ, त्यसले अरूसितको तपाईंको सम्बन्धलाई असर गर्छ। उदाहरणका लागि, परमेश्वरको वचन यस्तो निर्देशन दिन्छ: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” (हितोपदेश २३:२२) यहाँ “सुन्” भन्नुको अर्थ कुरा सुन्नु मात्र होइन; यो हितोपदेशको अर्थ सुन्नु र त्यसलाई पालन गर्नु हो। (प्रस्थान १५:२६; व्यवस्था ७:१२; १३:१८; १५:५; यहोशू २२:२; भजन ८१:१३) परमेश्वरको वचनले तपाईंका आमाबाबुको कुरा सुन्नुपर्ने कस्तो कारण दिन्छ? तपाईंका आमाबाबु तपाईंभन्दा अनुभवी र पाको हुनुभएको कारणले मात्र उहाँहरूको कुरा सुन्नुपर्ने होइन। यसको कारण हो, तपाईंलाई “जीवन दिने” उहाँहरू नै हुनुहुन्छ। त्यसकारण आफ्नो जीवनको मोल गर्नुहुन्छ भने तपाईं त्यस जीवनको स्रोतप्रति दायित्व महसुस गर्नुहुन्छ।
३ तपाईं साँचो मसीही हुनुहुन्छ भने पक्कै पनि यहोवालाई जीवनको मूल स्रोतको रूपमा स्वीकार्नुहुन्छ। तपाईं उहाँद्वारा नै ‘जिउनुहुन्छ’; “चलहल” गर्न सक्नुहुन्छ, चेतनशील प्राणीको रूपमा काम गर्न सक्नुहुन्छ र अहिले तपाईंको “अस्तित्व” रहनुका साथै अनन्त जीवनलगायत भविष्यबारे सोच्न वा योजना बनाउन सक्नुहुन्छ। (प्रेरित १७:२८; भजन ३६:९; उपदेशक ३:११) हितोपदेश २३:२२ ले बताएजस्तै, जीवनमा अरू कसैको निर्देशन खोज्नुको सट्टा जीवनसम्बन्धी उहाँको दृष्टिकोण बुझ्ने र त्यसअनुसार चल्ने इच्छा गर्दै आज्ञाकारितापूर्वक परमेश्वलाई ‘सुन्नु’ उपयुक्त छ।
जीवनप्रति आदर देखाउनुहोस्
४. मानव इतिहासको सुरुतिरै जीवनप्रतिको आदर कसरी एउटा महत्त्वपूर्ण विषय बन्यो?
४ चाहे जुनसुकै कारणको लागि होस्, जीवनको उपयोग (वा दुरुपयोग) गर्ने कुरा यहोवाले मानिसहरूको हातमा छोडिदिनुभएन भन्ने कुरा उहाँले मानव इतिहासको सुरुमै प्रस्ट पार्नुभयो। ईर्ष्याले भरिएर कयिनले आफ्नो निर्दोष भाइ हाबिलको ज्यान लियो। तपाईंको विचारमा के कयिनसित जीवनबारे यस्तो निर्णय गर्ने अधिकार थियो? परमेश्वरको विचारमा ऊसित यस्तो अधिकार थिएन। उहाँले कयिनसित लेखा लिनुभयो: “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाइ दिइरहेछ।” (उत्पत्ति ४:१०) ध्यान दिनुहोस्, भूमिमा भएको हाबिलको रगत क्रूरतापूर्वक अकालमै अन्त गरिएको उनको जीवनको प्रतीक थियो, जसले बदलाको लागि परमेश्वरसँग दुहाई दिइरहेको थियो।—हिब्रू १२:२४.
५. (क) नूहको दिनमा परमेश्वरले कस्तो निषेधाज्ञा जारी गर्नुभयो र यो कस-कसलाई लागू हुने थियो? (ख) कुन अर्थमा यो निषेधाज्ञा एउटा महत्त्वपूर्ण कदम थियो?
५ जलप्रलयपछि, जम्मा आठ जनाबाट मानिसजातिको नयाँ सुरुवात भयो। सबै मानिसहरूलाई लागू हुने एउटा घोषणामा, जीवन र रगतलाई परमेश्वर कत्तिको मूल्यवान् ठान्नुहुन्छ भन्नेबारे उहाँले थप कुरा प्रकट गर्नुभयो। उहाँले मानिसहरूले जनावरको मासु खान सक्छन् भन्नुभयो तर उहाँले यस्तो प्रतिबन्ध पनि लगाउनुभयो: “जीवित-जीवात् सबै तिमीहरूका आहारका निम्ति हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैं सबै थोक म तिमीहरूलाई दिन्छु। तर मासु त्यसको प्राणसमेत, अर्थात् रगतसमेत नखाओ।” (उत्पत्ति ९:३, ४) कतिपय यहूदीहरूले यस भनाइको मतलब मानिसहरूले जिउँदो जनावरको मासु वा रगत खानु हुँदैन भनेको हो भन्ने अर्थ लगाए। तर यस पदमा परमेश्वरले जीवन धान्नको लागि रगत खान निषेध गरिरहनुभएको थियो भन्ने कुरा समयले स्पष्टसित देखाउने थियो। यसबाहेक, परमेश्वरले नूहमार्फत दिनुभएको आज्ञा उहाँको महिमित उद्देश्य पूरा गर्नमा रगतले खेल्ने भूमिकाको सन्दर्भमा एउटा महत्त्वपूर्ण कदम थियो—यही उद्देश्यले मानिसहरूलाई अनन्त जीवन प्राप्त गर्ने मौका दिने थियो।
६.जीवनको मोलसम्बन्धी आफ्नो दृष्टिकोणलाई परमेश्वरले नूहमार्फत कसरी जोड दिनुभयो?
६ परमेश्वरले अझै यसो भन्नुभयो: “तिमीहरूको रगत, अर्थात् प्राणको रगतको निम्ति म निश्चय लेखा लिनेछु। हरेक पशु र मानिसदेखि र हरेक मानिसका दाज्यू-भाइदेखि पनि म मानिसको प्राणको साटो लिनेछु। जसले मानिसको रक्तपात गर्छ मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।” (उत्पत्ति ९:५, ६) सम्पूर्ण मानव परिवारको लागि गरिएको यस घोषणाबाट तपाईं देख्न सक्नुहुन्छ कि परमेश्वरले मानिसको रगतलाई उसको जीवनको प्रतीकको रूपमा हेर्नुहुन्छ। मानिसलाई सृष्टिकर्ताले जीवन दिनुहुन्छ र रगतले प्रतिनिधित्व गर्ने त्यो जीवनको कसैले पनि अन्त गर्नु हुँदैन। कयिनले जस्तै कसैले हत्या गर्छ भने त्यस हत्याराको जीवनको “लेखा” लिने अधिकार परमेश्वरसित छ।
७. रगतबारे परमेश्वरले नूहलाई बताउनुभएको कुरामा हामीले किन चासो राख्नुपर्छ?
७ आफ्नो घोषणामार्फत परमेश्वरले मानिसहरूलाई रगतको दुरुपयोग नगर्न निर्देशन दिइरहनुभएको थियो। परमेश्वरले यस्तो निर्देशन किन दिनुभएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? अनि परमेश्वरले रगतप्रति यस्तो दृष्टिकोण राख्नुको पछाडि कस्तो कारण थियो? साँच्चै भन्ने हो भने यसको जवाफमा बाइबलको सबैभन्दा महत्त्वपूर्ण शिक्षा मुछिएको छ। थुप्रै धार्मिक संगठनहरूले उपेक्षा गरे तापनि यो मसीही सन्देशको मूल जड हो। त्यो शिक्षा के हो अनि यसमा तपाईंको जीवन, निर्णय र क्रियाकलापहरू कसरी मुछिएका छन्?
रगत—यसलाई कसरी प्रयोग गर्न सकिन्थ्यो?
८. रगतको प्रयोगको सन्दर्भमा यहोवाले व्यवस्थामा कस्तो बन्देज लगाउनुभयो?
८ इस्राएललाई व्यवस्थाको सङ्ग्रह दिंदा यहोवाले जीवन र रगतबारे थप विवरणहरू दिनुभयो। यसै सिलसिलामा आफ्नो उद्देश्य पूरा गर्न उहाँले अर्को एउटा थप कदम चाल्नुभयो। तपाईंलाई थाहै होला, व्यवस्थाले अन्न, तेल र दाखमद्यजस्ता कुराहरू परमेश्वरलाई चढाउन माग गर्थ्यो। (लेवी २:१-४; २३:१३; गन्ती १५:१-५) त्यतिबेला पशुबलि पनि चढाउनुपर्थ्यो। यसबारे परमेश्वरले यसो भन्नुभयो: “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्चित गर्नलाई दिएको छु, किनभने त्यसमा प्राण भएको हुनाले रगतद्वारा प्रायश्चित गरिन्छ। यसकारण तिमीहरू . . . कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।” यहोवाले अझै भन्नुभयो कि कुनै सिकारी वा किसानले भोजनको लागि जनावार माऱ्यो भने उसले रगत निथारेर धूलोले पुरिदिनुपर्थ्यो। पृथ्वी परमेश्वरको पाउदान हो र रगत पृथ्वीमा खन्याउँदा त्यस व्यक्तिले जीवनको स्रोत जो हुनुहुन्छ उहाँलाई नै जीवन फिर्ता दिएको कुरा स्वीकार्थ्यो।—लेवी १७:११-१३; यशैया ६६:१.
९. व्यवस्थामा बताइएअनुसार कुन कामको लागि मात्र रगत प्रयोग गर्न सकिन्थ्यो र यसको उद्देश्य के थियो?
९ त्यो व्यवस्था अहिले हाम्रो समयको लागि कुनै महत्त्व नराख्ने धार्मिक विधिविधान मात्र थिएन। इस्राएलीहरूले किन रगत खानु हुँदैनथ्यो, के तपाईंले याद गर्नुभयो? परमेश्वरले यसो भन्नुभयो: “यसकारण तिमीहरू . . . कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।” कारण के थियो? “मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्चित गर्नलाई दिएको छु।” मानिसहरूले रगत खानु हुँदैन भनी परमेश्वरले नूहलाई किन भन्नुभयो भन्नेबारे यसले अन्तरदृष्टि दिन्छ भन्ने कुरा के तपाईंले बुझ्नुभयो? सृष्टिकर्ताले रगतलाई उच्च महत्त्व भएको वस्तुको रूपमा हेर्ने र धेरैको जीवन बचाउन सक्ने एउटा विशेष प्रयोगका लागि साँचेर राख्ने निर्णय गर्नुभयो। यसले पाप ढाक्नको (प्रायश्चित्त) लागि महत्त्वपूर्ण भूमिका खेल्ने थियो। त्यसैले व्यवस्थाअन्तर्गत परमेश्वरले एउटा मात्र अवस्था अर्थात् यहोवाको क्षमा खोजिरहेका इस्राएलीहरूको जीवनको प्रायश्चित्त गर्नको लागि मात्र वेदीमा रगत प्रयोग गर्न अनुमति दिनुभएको थियो।
१०. जनावरको रगतले किन पूर्ण क्षमातर्फ डोऱ्याउन सक्दैनथ्यो तर व्यवस्थाअन्तर्गतको बलिदानले कस्तो सम्झौटो प्रदान गऱ्यो?
१० यो धारणा मसीहीधर्मसित नमिल्ने किसिमको छैन। व्यवस्थाको यो ईश्वरीय पक्षलाई सङ्केत गर्दै मसीही प्रेरित पावलले यस्तो लेखे: “वास्तवमा व्यवस्थाअनुसार ता रगतले झण्डै सबै थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापमोचन हुँदै हुँदैन।” (हिब्रू ९:२२) व्यवस्थाले माग गरेका ती बलिदानहरूले इस्राएलीहरूलाई सिद्ध र पापरहित बनाएन भनी पावलले स्पष्ट पारे। तिनले यस्तो लेखे: “ती बलिदानहरूमा पापको सम्झना पो सालिन्दै हुँदै जान्छ। किनकि साँढ़ेहरू र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ।” (हिब्रू १०:१-४) तैपनि यस्ता बलिदानहरू उपयोगी थिए। यसले इस्राएलीहरूलाई तिनीहरू पापी छन् र पूर्णतया क्षमा पाउन तिनीहरूलाई अझ केही कुरा चाहिन्छ भनी सम्झाउँथ्यो। तर जनावरहरूको जीवनलाई चित्रित गर्ने रगतले मानव पाप पूर्णतया ढाक्न सक्दैनथ्यो भने यसो गर्न सक्ने के अरू कुनै जीवनरक्त थियो?
जीवनदाताले दिनुभएको समाधान
११. जनावरको रगतको बलिदानले अरू केही कुरातर्फ ध्यान खिच्दै थियो भनेर हामी कसरी थाह पाउँछौं?
११ वास्तवमा व्यवस्थाले परमेश्वरको इच्छा पूरा गर्न अझ प्रभावकारी केही कुरातर्फ ध्यान खिच्दै थियो। पावलले यसरी सोधे: “तब व्यवस्था के रहेछ ता?” तिनले यस्तो जवाफ दिए: “जुन वंशलाई प्रतिज्ञा भएको हो सो नआउञ्जेल अपराधको कारणले यो थपिन आएको हो, र स्वर्गदूतहरूद्वारा मध्यस्थको [मोशाको] हातबाट ठहराउनुभयो।” (गलाती ३:१९) त्यसै गरी पावलले यस्तो लेखे: “व्यवस्थामा अब आउने उत्तम कुराहरूको स्वयं स्वरूप नभई, छाया मात्र [छ]।”—हिब्रू १०:१.
१२. रगतको सन्दर्भमा परमेश्वरको उद्देश्य बिस्तारै-बिस्तारै प्रकट भएको कुरा हामी कसरी देख्न सक्छौं?
१२ सारांशमा, नूहको दिनमा परमेश्वरले जीवन धान्न मानिसहरूले जनावरको मासु खान सक्छन् तर तिनीहरूले रगत खानु हुँदैन भन्ने आज्ञा दिनुभयो भन्ने कुरा नबिर्सनुहोस्। पछि गएर, परमेश्वरले “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” भनेर बताउनुभयो। हो, उहाँले रगतलाई जीवनको प्रतीकको रूपमा हेर्ने निर्णय गर्नुभयो र यसो भन्नुभयो: “मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्चित गर्नलाई दिएको छु।” तथापि, परमेश्वरको उद्देश्य अद्भुत ढङ्गमा बिस्तारै-बिस्तारै प्रकट हुने थियो। व्यवस्था पछि आउने उत्तम कुराहरूको छाया थियो। कुन उत्तम कुराको?
१३. येशूको मृत्यु किन महत्त्वपूर्ण थियो?
१३ यसको वास्तविकता येशू ख्रीष्टको मृत्युमा केन्द्रित थियो। तपाईंलाई थाहै छ येशूलाई सताइयो र लट्काइयो। उहाँ एक जना अपराधी जसरी मर्नुभयो। पावलले यस्तो लेखे: “हामी कमजोर हुँदा ख्रीष्ट भक्तिहीनहरूका निम्ति ठीक समयमा मर्नुभयो। . . . परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” (रोमी ५:६, ८) हाम्रो लागि मरेर येशूले हाम्रा पापहरू ढाक्न बलिदान दिनुभयो। त्यो बलिदान मसीही सन्देशको मूल जड हो। (मत्ती २०:२८; यूहन्ना ३:१६; १ कोरिन्थी १५:३; १ तिमोथी २:६) रगत र जीवनसित यसको के सम्बन्ध छ र तपाईंको जीवन यसमा कसरी मुछिएको छ?
१४, १५. (क) एफिसी १:७ को कुनै-कुनै अनुवादहरूमा येशूको मृत्युलाई कसरी जोड दिइएको छ? (ख) एफिसी १:७ मा कुन कुरा छुट्ने सम्भावना हुन्छ?
१४ कुनै-कुनै चर्चका अनुयायीहरूले “येशू मेरो लागि मर्नुभयो” भनेर येशूको मृत्युलाई जोड दिन्छन्। कुनै-कुनै बाइबल अनुवादहरूमा एफिसी १:७ लाई कसरी अनुवाद गरिएको छ, विचार गर्नुहोस्: “उहाँमा नै र उहाँको मृत्युद्वारा नै हामीलाई छुटकारा छ अर्थात् हाम्रा अपराधहरू क्षमा हुन्छन्।” (फ्रयाङ्क शिल बालेन्टिनको दि अमेरिकन बाइबल, १९०२) “ख्रीष्टको मृत्युद्वारा हामी स्वतन्त्र भएका छौं र हाम्रा पापहरू क्षमा भएका छन्।” (टुडेज इंग्लिस भर्सन, १९६६) “ख्रीष्टमा र ख्रीष्टद्वारै अनि उहाँको जीवनको बलिदानद्वारा हामी मुक्त भएका छौं, मुक्ति जसको अर्थ पापहरूको क्षमा हो।” (विलियम बार्कलेको द न्यु टेस्टामेन्ट, १९६९) “ख्रीष्टको मृत्युद्वारा नै हाम्रा पापहरू क्षमा भएका छन् र हामी स्वतन्त्र भएका छौं।” (द ट्रान्सलेटर्स न्यु टेस्टामेन्ट, १९७३) यस्ता अनुवादहरूमा तपाईं येशूको मृत्यलाई जोड दिएको देख्न सक्नुहुन्छ। तर कसै-कसैले यसो भन्न सक्छन्: ‘येशूको मृत्यु त साँच्चै नै महत्त्वपूर्ण छ। तर यी अनुवादहरूमा कुन कुरा छुटेको छ?’
१५ वास्तवमा, तपाईंसित यस्ता अनुवादहरू मात्र उपलब्ध छन् भने तपाईंले एउटा एकदमै महत्त्वपूर्ण बुँदा छुटाइरहनुभएको हुन सक्छ र यसले बाइबल सन्देशसम्बन्धी तपाईंको समझलाई सीमित तुल्याउन सक्छ। यस्ता अनुवादहरूले एफिसी १:७ को मौलिक पदमा “रगत” अर्थ जनाउने युनानी शब्द प्रयोग गरिएको छ भन्ने तथ्यलाई ओझेलमा पार्छन्। त्यसैले, नेपाली भाषाको पवित्र बाइबल जस्तै थुप्रै बाइबलहरू मौलिक पदसित बढी मेल खान्छन्: “जसमा हामीलाई उहाँको रगतबाट उद्धार, अर्थात् उहाँको अनुग्रहको धनअनुसार अपराधहरूको क्षमा हुन्छ।”—छड्के अक्षर हाम्रो।
१६. “उहाँको रगतबाट” भन्ने अनुवादले हामीलाई कुन कुरा सम्झाउनुपर्छ?
१६ “उहाँको रगतबाट” भन्ने अनुवाद अर्थपूर्ण छ र यसले हामीलाई थुप्रै कुराहरू सम्झाउनुपर्छ। सिद्ध व्यक्ति येशू नै मर्नुभए तापनि मृत्युले मात्र पुग्दैनथ्यो। विशेष गरी प्रायश्चित्तको दिनमा व्यवस्थाले छाया स्वरूप देखाएको कुरा उहाँले पूरा गर्नुभयो। त्यो विशेष दिनमा व्यवस्थाले तोकेका जनावरहरू बलि चढाइन्थ्यो। त्यसपछि, प्रधान पूजाहारी केही रगत लिएर वासस्थान वा मन्दिरको महा-पवित्रस्थानभित्र पस्थे र त्यहाँ परमेश्वर साँच्चै उपस्थित हुनुभएझैं गरेर उहाँसामु उक्त रगत चढाउँथे।—प्रस्थान २५:२२; लेवी १६:२-१९.
१७. प्रायश्चित्तको दिनले पूर्वचित्रण गरेको कुरा येशूले कसरी पूरा गर्नुभयो?
१७ पावलले वर्णन गरेअनुसार प्रायश्चित्तको दिनले पूर्वचित्रण गरेको कुरा येशूले पूरा गर्नुभयो। पहिला, इस्राएलका प्रधान पूजाहारी “आफ्नो निम्ति र मानिसको कसूरको निम्ति” चढाइएको रगत लिएर वर्षको एक चोटि महा-पवित्रस्थानभित्र जाने गर्थे भनी तिनले उल्लेख गरे। (हिब्रू ९:६, ७) त्यही नमुना अनुरूप, आत्माको रूपमा पुनरुत्थान हुनुभएपछि येशू स्वर्गमै फर्कनुभयो। मासु र रगतको शरीर नभई आत्मिक शरीर भएकोले उहाँ “हाम्रा निम्ति परमेश्वरको सामने” जान सक्नुहुन्थ्यो। उहाँले परमेश्वरसामु कुन कुरा प्रस्तुत गर्नुभयो? कुनै भौतिक कुरा त होइन तर अत्यन्तै महत्त्वपूर्ण केही कुरा। पावलले अझै यसो भने: “ख्रीष्ट पछि आउने उत्तम कुराको प्रधान पूजाहारी भएर . . . बोकाहरू र बाछाहरूको रगत होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरेर एकैचोटी पवित्रस्थानभित्र पस्नुभयो। किनकि बोका र बाछाको रगत[ले] . . . शरीरको शुद्धेइँमा पवित्र तुल्याउँछ भनेता, जीवित परमेश्वरको सेवा गर्नालाई ख्रीष्टको रगतले तिमीहरूका विवेकलाई शक्तिहीन कामहरूबाट कति बढ़ता गरी शुद्ध पार्ला? जसले अनन्त आत्माद्वारा आफैलाई परमेश्वरकहाँ निष्खोट अर्पण गर्नुभयो।” हो, येशूले परमेश्वरसामु आफ्नो जीवनरक्तको मोल प्रस्तुत गर्नुभयो।—हिब्रू ९:११-१४, २४, २८; १०:११-१४; १ पत्रुस ३:१८.
१८. रगतबारे बाइबलले बताउने कुरा आजका मसीहीहरूको लागि किन महत्त्वपूर्ण हुनुपर्छ?
१८ यो ईश्वरीय सत्यले हामीलाई रगतबारे बाइबलले बताउने अद्भुत पक्ष बुझ्न मदत दिन्छ। जस्तै: यसप्रति परमेश्वर किन यस्तो दृष्टिकोण राख्नुहुन्छ, यसप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ र रगतको प्रयोगबारे परमेश्वरले जारी गर्नुभएको निषेधाज्ञालाई हामीले किन आदर गर्नुपर्छ। मसीही युनानी धर्मशास्त्रका पुस्तकहरू पढ्दा तपाईंले थुप्रै ठाउँमा ख्रीष्टको रगत भनी उल्लेख गरिएको पाउनुहुनेछ। (पेटी हेर्नुहोस्।) प्रत्येक मसीहीले “उहाँको [येशूको] रगत[ मा]” विश्वास राख्नुपर्छ भनी यसले स्पष्ट पार्छ। (रोमी ३:२५) येशूले बगाउनुभएको “रगतद्वारा” मात्र हामीले क्षमा पाउन र परमेश्वरसित शान्ति कायम राख्न सम्भव छ। (कलस्सी १:२०) येशूसितै स्वर्गमा शासन गर्न उहाँले विशेष करार बाँध्नुभएकाहरूको लागि यो कुरा अवश्य लागू हुन्छ। (लूका २२:२०, २८-३०; १ कोरिन्थी ११:२५; हिब्रू १३:२०) साथै, यो कुरा आउँदै गरेको “महा सङ्कष्टबाट” बचेर पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउने आजको “ठूलो भीड़[को]” लागि पनि लागू हुन्छ। तिनीहरूले लाक्षणिक तवरमा ‘आ-आफ्ना लुगाहरू थुमाको रगतमा धुन्छन्।’—प्रकाश ७:९, १४.
१९, २०. (क) परमेश्वरले किन रगतको प्रयोगमा बन्देज लगाउने निर्णय गर्नुभएको छ र त्यसबारे हामीले कस्तो महसुस गर्नुपर्छ? (ख) हामी कुन कुरा थाह पाउन इच्छुक हुनुपर्छ?
१९ कुरा स्पष्ट छ, परमेश्वरको नजरमा रगतको विशेष महत्त्व छ। हाम्रो नजरमा पनि यस्तै हुनुपर्छ। जीवनबारे चासो राख्नुहुने सृष्टिकर्तासित मानिसहरूले रगत कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा बन्देज लगाउने अधिकार छ। हाम्रो जीवनबारे उहाँले एकदमै चासो राख्नुहुने भएकोले उहाँले रगत एउटा अत्यन्तै महत्त्वपूर्ण तरिकामा प्रयोग गर्नको लागि छुट्याएर राख्नुभएको छ र यो तरिकाद्वारा मात्र अनन्त जीवन पाउन सम्भव छ। यस तरिकामा येशूको अमूल्य रगत मुछिएको थियो। हाम्रो भलाइको लागि यस्तो जीवनदायी तरिकामा रगत अर्थात् येशूको रगत प्रयोग गर्नुभएकोमा हामी यहोवा परमेश्वरप्रति कत्ति कृतज्ञ हुन सक्छौं! येशूले बलिदान स्वरूप हाम्रो लागि आफ्नो रगत बगाउनुभएकोमा हामी उहाँप्रति पनि कत्ति कृतज्ञ हुनुपर्छ! साँच्चै, हामी प्रेरित यूहन्नाले व्यक्त गरेका भावनाहरू बुझ्न सक्छौं: “हामीलाई प्रेम गर्नहुने, र आफ्नो रगतले हाम्रा पापबाट हामीलाई छुटाउनुहुने, र हामीलाई एउटा राज्य र उहाँका पिता परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमिन।”—प्रकाश १:५, ६.
२० हाम्रा सर्वज्ञानी परमेश्वर र जीवनदाताले यस जीवनदायी भूमिकाबारे धेरै अघि नै सोचिसक्नुभएको थियो। त्यसैले हामी यस्तो प्रश्न सोध्न सक्छौं: “हाम्रा निर्णय तथा कार्यहरूमा यसले कस्तो असर पार्नुपर्छ?” अर्को लेखले यस प्रश्नबारे छलफल गर्नेछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• हाबिल र नूह समावेश भएका विवरणहरूबाट हामी रगतप्रति परमेश्वरको दृष्टिकोणबारे के सिक्न सक्छौं?
• व्यवस्थामा परमेश्वरले रगतको प्रयोगमा कस्तो सीमा तोक्नुभयो र किन?
• प्रायश्चित्तको दिनले पूर्वचित्रण गरेको कुरा येशूले कसरी पूरा गर्नुभयो?
• येशूको रगतले हाम्रो जीवन कसरी बचाउन सक्छ?
[पृष्ठ १८-मा भएको चित्र]
कुन रगतले जीवन बचाउँछ?
“तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्नुभएकोले होशियारी हुनुहोस्।”—प्रेरित २०:२८.
“यसकारण झन् बढ़तागरी अब उहाँको रगतले धर्मी ठहरिएको हुनाले, हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बाँच्नेछौं।”—रोमी ५:९.
“तिमीहरू . . . आशा नभएका, र यस संसारमा परमेश्वररहित भएका थियौ। तर अब तिमीहरू जो एकपल्ट ख्रीष्ट येशूबाट टाढ़ा थियौ, ख्रीष्टको रगतले नजीकै भएका छौ।”—एफिसी २:१२, १३.
“सारा पूर्णता उहाँमानै बास गरोस् भनी पितालाई यही खुश लाग्यो, औ उहाँको क्रूसको [“शासनाको खम्बाको,” NW ] रगतद्वारा शान्ति गराएर उहाँद्वारै सबै थोक . . . आफैसँग मिलाप गराउनुभयो।”—कलस्सी १:१९, २०.
“यसैकारण हे भाइ हो, येशूको रगतले त्यस नयाँ र जीवित मार्गबाट पवित्रस्थानमा प्रवेश गर्न हामीलाई साहस भएको [छ]।”—हिब्रू १०:१९.
“नाश हुने पदार्थहरू, अर्थात् चाँदी अथवा सुनले तिमीहरूका पिता-पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनिएका होइनौ, तर थुमाको जस्तो निष्कलङ्क, निर्दोष र अनमोल रगतले, अर्थात् ख्रीष्टको रगतले किनिएका हौ।”—१ पत्रुस १:१८, १९.
“जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ, हामी पनि ज्योतिमै हिंड़्छौं भनेता एउटासँग अर्काको हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ।”—१ यूहन्ना १:७.
“तपाईं त्यो पुस्तक लिने र त्यसका छाप खोल्ने योग्यको हुनुहुन्छ, किनभने तपाईं मारिनुभएको थियो, र तपाईंले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्वरको निम्ति किन्नुभयो।”—प्रकाश ५:९.
“हाम्रा भक्तहरूलाई दोष लगाउने . . . फ्याँकिदिएको छ। औ थुमाको रगत, र तिनका वचनको साक्षीको कारण . . . तिनीहरूले त्यसलाई जितेका छन्।”—प्रकाश १२:१०, ११.
[पृष्ठ १६-मा भएको चित्र]
पापको क्षमामा रगतले भूमिका खेल्न सक्छ भन्ने कुरा परमेश्वरले व्यवस्थामार्फत स्पष्ट पार्नुभयो
[पृष्ठ १७-मा भएको चित्र]
येशूको रगतमार्फत थुप्रै जीवन बचाउन सकिन्थ्यो