अपोल्लस मसीही सत्यको वाक्पटु उद्घोषक
मसीही मण्डलीमा चाहे धेरै वर्षदेखि या केही वर्षदेखि मात्र सदस्य भएका होऊन्, सबै राज्य उद्घोषकहरू सुसमाचारका उद्घोषकहरूको हैसियतमा उन्नति गर्न इच्छुक हुनुपर्छ। त्यसो गर्नुको अर्थ परमेश्वरको वचनप्रतिको हाम्रो ज्ञान र अरूलाई सिकाउने योग्यता बढाउनु हो। केही मानिसको निम्ति यसको अर्थ चुनौतीहरू सामना गर्नु, कठिनाइहरू पार गर्नु वा थप क्रियाकलापमा आफूलाई उपलब्ध गराउनु होला।
बाइबलमा पुरातन समयका समर्पित पुरुष तथा स्त्रीहरूका थुप्रै उदाहरणहरू पाइन्छन्। तिनीहरूले धेरै आध्यात्मिक उन्नति गरेर आफ्ना प्रयासहरूको प्रतिफल विभिन्न तरिकामा प्राप्त गर्नसके। तिनीहरूमध्ये एक अपोल्लस थिए। मसीही शिक्षाहरूबारे अपूर्ण समझ भएको व्यक्ति भनेर धर्मशास्त्रले हामीलाई तिनको परिचय दिन्छ। तथापि, केही वर्ष बित्दा नबित्दै तिनले प्रथम शताब्दीको मण्डलीका परिभ्रमण प्रतिनिधिको हैसियतमा कार्य गरिरहेका थिए। कुन कुराले तिनलाई त्यस्तो उन्नति गर्न सक्षम बनायो? हामी सबैले अनुसरण गर्नुपर्ने गुनहरू तिनीसित थिए।
“धर्मशास्त्रमा पोख्त”
बाइबल लेखक लूकाअनुसार लगभग सा.यु. ५२ तिर “अलेक्जेन्ड्रियामा जन्म भएको अपोल्लस नाउँका एक जना कुशल वक्ता यहूदी एफिससमा आइपुगे। तिनी धर्मशास्त्रमा पोख्त थिए। यस मानिसले प्रभुको मार्गबमोजिमको शिक्षा पाएका थिए, र आत्माको जोशले भरिएर यिनले येशूका विषयका कुराहरू ठीक ठीकसँग बोल्ने र सिकाउने गर्थे। तर तिनले यूहन्नाको बप्तिस्मा मात्र थाह पाएका थिए। औ तिनले निर्धक्कसँग सभाघरमा बोल्नथाले।”—प्रेरित १८:२४-२६.
मिश्रको अलेक्जेन्ड्रिया रोमपछि विश्वको दोस्रो सबैभन्दा ठूलो शहर हुनुका साथै यहूदी र युनानी दुवैका लागि तत्कालीन अति महत्त्वपूर्ण सांस्कृतिक केन्द्र थियो। सम्भवतः त्यस शहरको ठूलो यहूदी समुदायमा शिक्षा लिएकोले गर्दा अपोल्लसले हिब्रू धर्मशास्त्रको राम्रो ज्ञान र वाक्पटुशैली हासिल गरेका थिए। अपोल्लसले येशूबारे कहाँ शिक्षा पाए, अनुमान लगाउनु एकदमै गाह्रो छ। शास्त्रविद् एफ. एफ. ब्रुस बताउँछन्, “पक्कै पनि तिनी यात्री अर्थात् शायद घुमन्ते व्यापारी थिए र आफू पुगेका थुप्रै ठाउँहरूमध्ये कुनैमा तिनले मसीही प्रचारकहरूलाई भेटेको हुनसक्छ।” तर जे होस्, तिनले येशूका विषयमा ठीक ठीकसँग बोलेका र सिकाएका भए तापनि तिनलाई सा.यु. ३३ पेन्तिकोसअघि साक्षी दिइएको जस्तो देखिन्छ। किनकि “तिनले यूहन्नाको बप्तिस्मा मात्र थाह पाएका थिए।”
येशूको पूर्वगामीको हैसियतमा बप्तिस्मा दिने यूहन्नाले सम्पूर्ण इस्राएल राष्ट्रलाई जोडदार साक्षी दिएका थिए र थुप्रैले तिनीबाट प्रायश्चितको प्रतीकको रूपमा बप्तिस्मा लिए। (मर्कूस १:५; लूका ३:१५, १६) थुप्रै इतिहासकारअनुसार रोमी साम्राज्यका यहूदी जनसंख्यामध्ये थुप्रैलाई येशूबारे यूहन्नाले यर्दन नदीको किनारमा प्रचार गरेका सीमित ज्ञान मात्र थाह थियो। डब्ल्यु. जे. कानीबेर र जे. एस्. हाउसन बताउँछन्, “तिनीहरूको मसीही धर्म हाम्रो प्रभुको सेवकाईको दौडान भएको मसीही धर्मजस्तै थियो। ख्रीष्टको मृत्युको अर्थबारे तिनीहरूलाई पूर्णतया थाह थिएन। सम्भवतः तिनीहरूलाई उहाँको पुनरुत्थानको वास्तविकताबारे पनि थाह थिएन।” पेन्तिकोस सा.यु. ३३ मा पवित्र आत्मा खन्याइएको घटनाबारे अपोल्लस पनि अनभिज्ञ थिए जस्तो देखिन्छ। तैपनि, तिनले येशूबारे केही मात्रामा सही जानकारी फेला पारेका थिए र त्यसलाई तिनले आफैभित्र सीमित राखेनन्। निस्सन्देह, आफूले जानेका कुरा बताउन तिनले साहसपूर्वक अवसरहरू खोजे। तथापि, तिनको त्यो जोश र उत्साह अझै पनि सही ज्ञानअनुरूप थिएन।
जोशिलो तर नम्र
लूकाको विवरणले अझ बताउँछ: “तिनले बोलेका सुनेर प्रिस्किला र अक्वीलाले तिनलाई आफूहरूकहाँ ल्याए, र परमेश्वरको मार्गको अर्थ झन प्रष्टसँग बुझाइदिए।” (प्रेरित १८:२६) अक्वीला र प्रिस्किलाले आफ्नो विश्वाससित अपोल्लसको विश्वास निकै मेल खाएको बुझेका हुनुपर्छ। तर तिनीहरूले सबैको सामु तिनको अपूर्ण समझलाई सुधार्ने कोसिस नगरेर बुद्धिमत्तापूर्वक कार्य गरे। सम्भवतः तिनीहरूले तिनलाई मदत गर्ने उद्देश्यले थुप्रै व्यक्तिगत छलफलहरू गरेको हामी कल्पना गर्नसक्छौं। “धर्मशास्त्रमा शक्तिशाली” अपोल्लसले कस्तो प्रतिक्रिया देखाए? (प्रेरित १८:२४, किंगडम इन्टरलिनियर) सम्भवतः अक्वीला र प्रिस्किलालाई भेट्नुअघिसम्म अपोल्लसले तिनको अपूर्ण सन्देश आमतवरमा प्रचार गरिरहेका थिए। घमण्डी व्यक्तिले कुनै पनि सुधारलाई सहजै अस्वीकार गर्नसक्छ तर अपोल्लस नम्र थिए र पूर्ण ज्ञान प्राप्त गर्न सकेकोमा कृतज्ञ भए।
अपोल्लसको त्यही आडम्बररहित झुकाउ एफिससका भाइहरूले कोरिन्थका मण्डलीलाई लेखेको सिफारिश पत्र स्वीकार्न तिनले देखाएको इच्छुकतामा झल्किन्छ। विवरणले बताउँछ: “तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई हौसला दिए, र उनलाई ग्रहण गरून् भनी त्यहाँका चेलाहरूलाई उत्साह दिएर चिठी लेखे।” (प्रेरित १८:२७; १९:१) अपोल्लसले आफ्नो मर्यादाको हैसियत खोजेनन् तर विनयी भएर मसीही मण्डलीको प्रबन्धअनुरूप चले।
कोरिन्थमा
कोरिन्थमा अपोल्लसको सेवकाईले सुरुमा अत्युत्तम परिणामहरू निकालेको थियो। प्रेरितको पुस्तकले यस्तो प्रतिवेदन दिन्छ: “तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरू जतिलाई खूबै मदत गरे। किनकि तिनले धर्मशास्त्रका वचनद्वारा ‘येशूनै ख्रीष्ट हुनुहुन्छ’ भन्ने कुरा खुल्लमखुल्ला देखाईकन यहूदीहरूलाई एकदमै निरुत्तर तुल्याए।”—प्रेरित १८:२७, २८.
अपोल्लसले तयारी गरेर र जोशिलो भई भाइहरूलाई प्रोत्साहन दिंदै मण्डलीको सेवामा आफूलाई तल्लीन राखे। तिनको सफलताको कुञ्जी के थियो? निश्चयै अपोल्लससित जन्मगत योग्यता थियो र यहूदीहरूसित खुल्लमखुल्ला तर्कवितर्क गर्न तिनी साहसी थिए। तर त्योभन्दा महत्त्वपूर्ण, तिनले धर्मशास्त्र चलाएर तर्क गर्थे।
अपोल्लसले कोरिन्थीहरूमाथि शक्तिशाली प्रभाव पारेको भए तापनि तिनको प्रचार-कार्यले नचिताएका नकारात्मक प्रभावहरू ल्याए। कसरी? पावल र अपोल्लस दुवैले कोरिन्थमा परमेश्वरको राज्यबारे सत्यको बीउ रोप्ने र पानी हाल्ने असल काम गरिसकेका थिए। अपोल्लस कोरिन्थ आउनुभन्दा झन्डै दुइ वर्षअघि लगभग सा.यु. ५० मा पावलले त्यहाँ प्रचार गरेका थिए। पावलले लगभग सा.यु. ५५ मा कोरिन्थीहरूलाई प्रथम पत्र लेखुञ्जेल त त्यहाँ गुटबन्दी सुरु भइसकेको थियो। केहीले अपोल्लसलाई आफ्ना नेता ठान्थे भने अरूले चाहिं पावल वा पत्रुसको पक्ष लिन्थे वा ख्रीष्टलाई मात्र नेता मान्थे। (१ कोरिन्थी १:१०-१२) कसैले भन्थे: ‘म अपोल्लसको।’ किन?
पावल र अपोल्लसले प्रचार गरेको सन्देश एउटै थियो तर तिनीहरूको व्यक्तित्व बेग्लाबेग्लै थियो। पावल आफैले स्वीकारेअनुसार तिनी “बोली वचनमा अशिक्षित” थिए; अर्कोतर्फ अपोल्लस चाहिं “वाक्पटु” थिए। (२ कोरिन्थी १०:१०; ११:६) आफ्ना योग्यताहरूले गर्दा अपोल्लस कोरिन्थको यहूदी समुदायका केही व्यक्तिहरूलाई आफ्नो कुरा सुन्न लगाउन सक्षम भए। तिनी ‘यहूदीहरूलाई पूर्णरूपले गलत साबित गर्न’ सफल भए भने त्यसको केही समयअघि मात्र पावलले सभाघर छाडेका थिए।—प्रेरित १८:१, ४-६.
केही मानिसहरू अपोल्लसतिर आकृष्ट हुनुको कारण के यही हुनसक्थ्यो? थुप्रै टिप्पणीकारहरूको भनाइअनुसार युनानीहरूबीच दर्शनबारे छलफल गर्ने अन्तरनिहित चाह भएकोले केही मानिसहरू निकै उत्साहित भएर अपोल्लसकहाँ जान रुचाउँथे होलान्। जुजेपे रीकोटी बताउँछन्, “[अपोल्लसको] सुन्दर भाषाशैली र रोचक पात्रहरू भएका रूपक कथाहरूले गर्दा आडम्बररहित र अपरिष्कृत वक्ता पावललाई भन्दा धेरै तिनलाई रुचाउने थुप्रै मानिसहरूको प्रशंसा बटुल्न अपोल्लस सफल भएका थिए।” वास्तवमा, कुनै कुनै व्यक्तिहरूले भाइहरूबीच फूट उत्पन्न गराउन गलत ढंगमा यस्ता व्यक्तिगत प्राथमिकताहरूलाई चलाएका थिए भने, पावलले “ज्ञानीहरूका ज्ञान[को]” कटु आलोचना किन गरे, सजिलै बुझ्न सकिन्छ।—१ कोरिन्थी १:१७-२५.
तथापि, यस्ता आलोचनाले पावल र अपोल्लसबीच फूट थियो भनेर देखाउँदैन। कोरिन्थीहरूबाट सहानुभूति हत्याउन यी दुइ प्रचारकहरूबीच घोर प्रतिद्वन्द्व चल्थ्यो भनेर केहीले मनगढन्ते अडकल लगाए तापनि धर्मशास्त्रले यस्तो कुनै कुरा बताउँदैन। अपोल्लस आफूलाई कुनै गुटको नेता बनाउने चेष्टा गर्नुको साटो कोरिन्थ छाडेर एफिसस फर्किसकेका थिए र विभाजित मण्डलीलाई पावलले प्रथम पत्र लेख्दा तिनी पावलसितै थिए।
तिनीहरूबीच अमेल वा प्रतिद्वन्द्व थिएन। बरु, स्पष्टतया ती दुवैले पारस्परिक विश्वसनीयतासहित कोरिन्थका समस्याहरू सुल्झाउन एकाअर्काको सहयोग गरिरहेका थिए। सम्भवतः पावलले अपोल्लसबारे होइन तर कोरिन्थका केही व्यक्तिहरूमाथि आशंका गरेका थिए। यी दुइ पुरुषहरूको काम पूर्णतया सामञ्जस्यपूर्ण थियो। तिनीहरूका शिक्षाहरू समपूरक थिए। पावलका शब्दहरू यहाँ उद्धृत गर्ने हो भने: “मैले रोपें, अपोल्लसले पानी हाले,” किनभने ती दुवै “परमेश्वरका सहकर्मी” थिए।—१ कोरिन्थी ३:६, ९, २१-२३.
कोरिन्थीहरूले अपोल्लसको दोस्रो भ्रमणको चाहना गर्दै पावललाई जस्तै तिनको पनि ठूलो सम्मान गरे। तर पावलले अपोल्लसलाई कोरिन्थमा फर्कन आमन्त्रित गर्दा अलेक्जेन्ड्रियावासी अपोल्लसले अस्वीकार गरे। पावल भन्छन्: “तर भाइ अपोल्लसको विषयमा चाहिं, तिनी . . . तिमीहरूकहाँ आऊन् भनेर मैले तिनलाई धेरै बिन्ती गरें, र अहिले आउन तिनलाई बिलकुलै इच्छा भएन, तर मौका पाउनेसाथ तिनी आउनेछन्।” (१ कोरिन्थी १६:१२) फेरि त्यहाँ गुटबन्दी सुरु हुन्छ भन्ने डरले वा अन्त कतै व्यस्त भएकोले गर्दा अपोल्लस फर्कन नचाहेका होलान्।
अपोल्लसले क्रेट र शायद त्यहाँदेखि अर्को ठाउँमा यात्रा गरिरहेको कुरा तिनीबारे धर्मशास्त्रमा अन्तिम पटक गरिएको उल्लेख हो। पुनः पावलले अपोल्लस र तिनका सहयात्री जीनसका लागि भ्रमणको दौडान खाँचो पर्नसक्ने प्रत्येक कुराको प्रबन्ध गरिदिनू भनेर तितसलाई बताउँदै आफ्नो मित्र र सहकर्मीप्रति खास सम्मान देखाउँछन्। (तितस ३:१३) त्यतिबेलासम्म अर्थात् मसीही प्रशिक्षणको झन्डै दश वर्षपछि अपोल्लसले मण्डलीको परिभ्रमण प्रतिनिधिको हैसियतमा कार्य गर्न यथेष्ट उन्नति गरिसकेका थिए।
आध्यात्मिक उन्नति गर्न सहयोग पुऱ्याउने ईश्वरीय गुनहरू
सुसमाचार प्रचार गर्ने आधुनिक समयका सबै प्रकाशकहरू र आध्यात्मिक उन्नति गर्न चाहने सबैका निम्ति त्यस अलेक्जेन्ड्रियावासी प्रचारकले असल उदाहरण बसाले। हामी तिनीजस्तो वाक्पटु त छैनौं होला तर निष्कपटतासाथ सत्य खोज्नेहरूलाई मदत गर्न हामी तिनीजस्तै धर्मशास्त्रको प्रयोगको ज्ञान र योग्यतामा बराबर हुन अवश्यै चेष्टा गर्नसक्छौं। आफ्नो जोशिलो क्रियाकलापद्वारा अपोल्लसले “विश्वास गर्नेहरू जतिलाई खूबै मदत गरे।” (प्रेरित १८:२७) अपोल्लस नम्र, आत्मत्यागी र अरूको सेवा गर्न इच्छुक थिए। मसीही मण्डलीभित्र प्रतिद्वन्द्व वा महत्त्वाकांक्षाको कुनै स्थान रहँदैन भनेर तिनले राम्ररी बुझेका थिए। किनकि हामी सबै “परमेश्वरका सहकर्मी” हौं।—१ कोरिन्थी ३:४-९; लूका १७:१०.
हामीले पनि अपोल्लसले जस्तै आध्यात्मिक उन्नति गर्नसक्छौं। के हामीले आफूलाई यहोवा र उहाँको संगठनमा अझ धेरै प्रयोग हुन योग्य बनाएर हाम्रो पवित्र सेवालाई बढाउने वा विस्तृत पार्ने इच्छा गरिरहेका छौं? त्यसो गरेमा हामी मसीही सत्यका जोशिला विद्यार्थीहरू र उद्घोषकहरू हुनेछौं।