निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्!
“तिनीकहाँ आउनेहरू सबैलाई तिनले खुशीसाथ सत्कार गर्थे . . . औ परमेश्वरको राज्यको प्रचार गर्थे।”—प्रेरित २८:३०, ३१.
१, २. ईश्वरीय समर्थनको पावलसँग के प्रमाण थियो र तिनले कुन कुराको उदाहरण छाड़ेका छन्?
यहोवाले सधैं नै राज्यका प्रचारकहरूको समर्थन गर्नु हुन्छ। उहाँले पावलका लागि पनि यही गर्नु भयो! ईश्वरीय समर्थन पाएको हुनाले तिनी शासकहरूको सामने उभिन सके, हूल-दङ्गाको उपद्रव सहन सके र निर्भयता साथ यहोवाको राज्यको घोषणा गर्न सके।
२ रोममा कैदी भएर बसेको बेलामा पनि, पावलले “तिनीकहाँ आउनेहरू सबैलाई तिनले खुशीसाथ सत्कार गर्थे . . . औ राज्यको प्रचार गर्थे।” (प्रेरित २८:३०, ३१) आज यहोवाका साक्षीहरूका लागि यो कति राम्रो उदाहरण हो! लूकाले लेखेका, प्रेरितको पुस्तकका अन्तिम अध्यायहरूबाट हामी पावलको सेवकाईबारे धरै कुरा सिक्न सक्छौं।—प्रेरित २०:१–२८:३१.
सङ्गी विश्वासीहरू दह्रो बनाइन्छन्
३. ट्रोआसमा के भयो र त्यसको हाम्रो दिनसँग के समानन्तर छ?
३ एफिसस्मा हूल-दङ्गा शान्त भए पछि, पावल आफ्नो तेस्रो प्रचार भ्रमण तिर लागे। (२०:१-१२) तर सिरिया तर्फ जहाजबाट जान लागेकै बेलामा, यहूदीहरूले तिनको विरूद्धमा षड़यन्त्र रचेका छन् भन्ने कुरा तिनले थाह पाए। पावल चढ़नै लागेको जहाजमा चढ़ेर तिनीहरूले पावलको हत्या गर्ने योजना मिलाएको हुन सक्छ। यसैकारण, पावल म्यासिडोनिया भएर गए। ट्रोआसमा तिनले एक हप्ताह, त्यहाँका सङ्गी विश्वासीहरूलाई प्रोत्साहन दिनमा बिताए, जसरी आज यहोवाका साक्षीहरू बीच परिभ्रमण अध्यक्षहरूले गर्छन्। त्यहाँबाट हिड़न भन्दा अघिको रात, तिनले आधा रात सम्म भाषण दिइरहे। झ्यालमा बसेको युटिकस, दिन भरिको काम-काजले गर्दा थकित थिए होलान्। निद्रामा परेर, तिनी तेस्रो तलाबाट तल खसेर मरे, तर पावलले तिनलाई पुनःजीवित् पारे। यो ठूलो आनन्दको कारण भएको हुनु पर्छ! एसो सम्झनु होस्, आउने नया संसारमा हजारौं लाखौंको पुनरुत्थान हुँदा अझ कति हर्ष मनाइनेछ।—यूहन्ना ५:२८, २९.
४. सेवकाईको सम्बन्धमा, पावलले एफिसी प्राचीनहरूलाई के शिक्षा दिए?
४ यरूशलेम जाने बाटोमा, पावल मिलेटसमा रोकिएर एफिसस्का प्राचीनहरू सँग भेट गर्छन्। (२०:१३-२१) तिनले कसरी “घर-घरमा” शिक्षा दिने गर्थे र “यहूदीहरूलाई र ग्रीकहरूलाई समेत परमेश्वरतिरको पश्चातापको र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्वासको साक्षी” कसरी दिने गर्थे भनेर तिनीहरूलाई सम्झना गराए। पछि गएर प्राचीन हुनेहरूले पश्चाताप गरे र तिनीहरूले विश्वास प्राप्त गरे। अविश्वासीहरूको घर-घरमा गएर, निर्भयतासार्थ राज्यको घोषणा गर्ने प्रशिक्षण पावलले तिनीहरूलाई दिएका थिए, जसरी आज यहोवाका साक्षीहरूले गर्छन्।
५. (क) पवित्र आत्माको निर्देशन मान्ने कुरामा पावल कसरी एउटा असल उदाहरण थिए? (ख) ‘बगाललाई होशियारी साथ चराउनु’ भनेर प्राचीनहरूलाई किन सल्लाहको खाँचो थियो?
५ परमेश्वरको पवित्र आत्माबाट निर्देशन स्वीकार्ने कुरामा पावलले एउटा अति नै असल उदाहरण छाड़ेका छन्। (२०:२२-३०) यरूशलेममा तिनलाई बन्धन र कष्टले पर्खी रहेकोछ भनेर थाह भएतापनि, तिनी “आत्मामा बाँधिएको” अथवा आत्माको अगुवाइ अनुसार हिड़न बाध्य भएर यरूशलेम तर्फ गइरहेका थिए। तिनी जीवनको मोल अवश्य गर्दथिए तर परमेश्वर प्रति भक्त हुनु तिनको निम्ति सबै भन्दा महत्वपूर्ण कुरा थियो र आज हाम्रो विचार पनि त्यस्तै हुनु पर्ने हो। प्राचीनहरूलाई ‘पवित्र आत्माले परमेश्वरको मण्डलीमा’ ‘धर्माधिकारी’ तुल्याएको हुनाकारण, तिनीहरूले मण्डलीको हेरचाह गर्नु पर्छ भनेर पावलले तिनीहरूलाई अनुरोध गरे। तिनी “गए पछि” (तिनको मृत्यु पश्चात) “डरलाग्दा ब्वाँसाहरू” आएर “बगाललाई स्वाहा” पार्नेछन्। यस प्रकारका मानिसहरू ती प्राचीनहरूकै बीचबाट उठने छन् र समझ-शक्ति मा अलिक कमजोर हुने चेलाहरूले तिनीहरूको बाङ्गो शिक्षाहरू अपनाउने छन्।—२ थिस्सलोनिकी २:६.
६. (क) निर्धक्क भएर पावलले प्राचीनहरूलाई परमेश्वरको हातमा किन सुम्पिदिन सके? (ख) पावलले प्रेरित २०:३५ को सिद्धान्त कसरी प्रयोगमा ल्याए?
६ धर्मत्याग जस्ता कुराबाट बाँचेर बस्नका लागि, प्राचीनहरू अध्यात्मिक तौरमा सचेत हुनु परेको थियो। (२०:३१-३८) प्रेरित पावलले तिनीहरूलाई हिब्रू शास्त्रका कुराहरू र येशूका शिक्षाहरू सिकाइ दिएका थिए जसमा “पवित्र भएकाहरूमा सबैलाई अधिकार” दिलाउन सक्नका लागि शुद्ध पार्ने शक्ति थियो। आफ्ना सङ्गीहरू र आफ्ना आवश्यक्ताहरू मेहनत गरेर पूरा गर्न, पावलले प्राचीनहरूलाई परिश्रमी हुने प्रोत्साहन दिए। (प्रेरित १८:१-३; १ थिस्सलोनिकी २:९) हामीहरूले पनि यही मार्ग अपन्याउँदै अरूहरूलाई अनन्त जीवन पाउने मदद दिने गर्यौं भने, येशूका यी शब्दहरूको मुल्याङ्कन गर्न सक्ने छौं: “लिनु भन्दा दिनु अझ असल हो।” यी शब्दहरूको सार येशूको जीवनीहरूमा पाइन्छ तर यस्को स्पष्टरूपमा उद्धरण पावलले मात्र गरेको छ र यी शब्दहरूको ज्ञान तिनले प्रेरणा अथवा मौखिक शिक्षा द्वारा प्राप्त गरेको हुन सक्छ। हामीले पनि पावलले झैं स्वार्थ त्याग गर्न सक्यौं भने, धरै मात्रामा आनन्द अनुभव गर्न सक्नेछौं। तिनले तिनीहरू सबैलाई धेरै समय, मेहनत र प्रेम दिएको हुनाले, तिनी त्यहाँबाट आफ्नो बाटो लाग्दा एफिसी प्राचीनहरू धेरै नै दुःखीत भए!
यहोवाको इच्छा पूरा होस्
७. परमेश्वरको इच्छाको अधीनमा बस्ने विषयमा, पावल कसरी उदाहरण भएका छन्?
७ पावलको तेस्रो प्रचार यात्रा समाप्त हुने बेलामा (ई. स. ५६), परमेश्वरको इच्छाको अधीनमा बसेर तिनले एउटा अर्को राम्रो उदाहरण दिएको छ। (२१:१-१४) सिजरियामा तिनी र तिनका सङ्गीहरू फिलिपको घरमा बसे, जसकी चारवटी छोरी “अगमवाणी” बोल्द थिए अर्थात् हुन लागेका कुराहरूको अग्रिम घोषणा पवित्र आत्मा द्वारा दिने गर्थे। यहाँ नै मसीही अगमवक्ता अगाबसले पावलको पटुका लिएर आफ्नै हात र खुट्टा बाँधे र यस पटुकाको धनीलाई यहूदीहरूले यरूशलेममा बाँधेर अन्यजातिहरूको हातमा सुम्पीदिनेछन् भनेर भन्न तिनलाई पवित्र आत्माले प्रेरित गरेको थियो। तर पावलले एसो भने: “प्रभु येशूको नाउँको निम्ति बाँधिनु मात्र होइन तर यरूशलेममा मर्न पनि म तत्पर छु।” यस पछि, चेलाहरूले पनि, “यहोवाको [NW] इच्छा पूरा होस्” भन्दै चूप लागे।
८. कुनै बेला, राम्रो सल्लाह लिन गाह्रो लाग्छ भने, के याद राख्नु उचित हुनेछ?
८ पावलले यरूशलेमका प्राचीनहरूलाई अन्यजातिहरूको बीच तिनको सेवकाई द्वारा परमेश्वरले गर्नु भएका जम्मै कुराहरू बताइदिए। (२१:१५-२६) असल सर-सल्लाह स्वीकार्न हामीलाई गाह्रो लाग्छ भने, पावलले कसरी स्वीकार गरे भनेर हामी याद राख्न सक्छौं। तिनले अन्यजातिहरूका देशमा गएर यहूदीहरूलाई “मोशाको त्याग” गर्नू भनेर शिक्षा दिएका छैनन् भनी प्रमाणित गर्न, प्राचीनहरूले तिनलाई चोखिन र आफू र आफ्ना चार जना सङ्गीहरूलाई खाँचो पर्ने खर्च पनि तिनलेनै भरिदिनु भनेर सल्लाह दिंदा, पावलले स्वीकार गरे। येशूको मृत्युले व्यवस्थालाई हटाइ दिएको भएता पनि, त्यसमा भएका भाकल सम्बन्धी नियमहरू पालन गरेर पावलले केही खराबी गरेनन्।—रोमी ७:१२-१४.
हूलगर्नेहरूको घेराउमा परेर पनि तिनी दृढ़ रहे
९. भीड़हरूले गर्ने उपद्रव बारे, पावलका अनुभवहरू र आज यहोवाका साक्षीहरूको अनुभवमा के समानन्तर पाइन्छ?
९ अकसर हूल-दङ्गाबाट हिंसाको सामना गर्नु परेतापनि यहोवाका साक्षीहरूले परमेश्वर प्रति आफ्नो समग्रता कायम राखेका छन्। (उदाहरणका लागि १९७५ यरबुक अफ जेहोवास विट्नेसेस, पाना १८०-९० सम्म हेर्नुहोस्) यस्तैगरी एशिया माइनरका यहूदीहरूले पावलको विरूद्धमा भीड़लाई उस्काए। (२१:२७-४०) तिनीहरूले पावल सँग एफिसी ट्रोफिमसलाई देखेको हुनाकारण, ग्रीकहरूलाई मन्दिर भित्र लगरे अपवित्र पार्यो भन्दै तिनीहरूले पावलमाथि झूटो आरोप लगाए। पावललाई मार्नै लागेका थिए जब रोमी हाकिम क्लोडियस लिसियस र तिनका मानिसहरू आएर भीड़लाई शान्त पारे! अग्रिमवाणीमा भने अनुसार (यहूदीहरूको कारण) लिसियसले पावललाई साङ्गलोमा बाँधे। (प्रेरित २१:११) प्रेरित पावललाई मन्दिरको अदालत सँग टाँसिएको सिपाही-घरमा लग्नै लागेको बेलामा, पावल देश-द्रोही होइन तर मन्दिर भित्र पस्ने अधिकार भएको एक जना यहूदी रहेछ भनेर लिसियसलाई थाह भयो। बोल्ने अनुमति पाए पछि, मानिसहरूलाई हिब्रू भाषामा सम्बोधन गर्दै पावल बोल्न लागे।
१०. यरूशलेमका यहूदीहरूले पावलको भाषणलाई कसरी स्वीकारे र तिनलाई कोर्रा किन लगाएनन्?
१० पावलले निडरतासाथ साक्षी दिए। (२२:१-३०) पावलले उनी सम्माननीय गमलीयलबाट शिक्षा पाएको एउटा यहूदी हुन् भनेर आफ्नो परिचय दिए। त्यो मार्गमा हिड़ने मानिसहरूलाई सताउन तिनी दमिशकमा जाँदा, बाटोमा महिमीत येशूको दर्शन पाएर तिनी अन्धो भए तर पछि हननियाले तिनलाई फेरि दृष्टि दिलाइदिएको कुरा जम्मै बताइ दिए। केही समय पछि, प्रभुले पावललाई एसो भन्नु भयो: “जाऊ, किनकि म तिमीलाई अन्यजातिहरू कहाँ यहाँबाट टाढ़ा टाढ़ासम्म पठाउनेछु।” पावलका यी शब्दहरू जङ्गलमा आगोको फिलिङ्गोहरू जस्तो भयो। पावल बाँच्ने योग्यको छैन भनी कराउँदै, भीड़ले आ-आफ्ना वस्त्रहरू फाले र क्रोधसाथ हावामा धूलो उड़ाउँन थाले। यहूदीहरू पावलको विरूद्धमा किन छन् भन्ने कुरा थाह गर्नका लागि, पावललाई कोर्राबाजी गरेर केर्न लिसियसले तिनलाई सिपाहीहरू पाले बस्ने कोठामा ल्याए। ‘के जो मानिस रोमी नागरिक हो, र दण्डको लागि ठहरिएकै छैन, त्यसलाई कोर्रा लगाउन न्यायसँगत हो?’ भनेर पावलले प्रश्न गर्ना साथै, तिनलाई कोर्रा (बिच-बिचमा गाँठो अथवा हाड र धातुहरूको टुक्रा गढ़ेका छालाको चाबुक) लगाउन सकेनन्। पावल एउटा रोमी नागरिक हुन् भन्ने कुरा थाह पाए पछि, लिसियस डराए र यहूदीहरूले पावलको विरोध किन गरिरहेका छन् भनेर थाह लगाउन तिनलाई सभाघरको सामने लगे।
११. पावल कुन दृष्टिकोणबाट एउटा फरिसी थिए?
११ पावलले सभाघरमा गएर “परमेश्वरको सामु म सब तरहबाट असल विवेकमा रहेको छु” भन्ना साथै, प्रधान पुजाहारी हननियाले पावलको मुखमा हिर्काउने हुकूम दिए। (२३:१-१०) पावलले तिनलाई एसो भने: “हे कमेरो लागेको पर्खाल, तिमीलाई पनि परमेश्वरले हिर्काउनुहुनेछ।” “के तँ परमेश्वरका प्रधान पुजाहारीलाई मुखलाग्छस्?” भनेर त्यहाँ उभिरहेकाहरूले प्रश्न गरे। आँखा कमजोर भएको हुनाले, हननियालाई पावलले चिनेनन् होलान्। तर, त्यहाँ सभामा सदुकीहरू र फरिसीहरू भएको थाह भएर, पावलले एसो भने: ‘म ता फरिसीको छोरो फरिसी नै हुँ, मरेकाहरूको विषयमा र पुनरुत्थानको विषयको सवालमा मेरो मुद्दा भएको छ।’ यसले गर्दा फरिसीहरू र सदुकीहरूमा मतभेद भयो, किनभने फरिसीहरू पुनरुत्थानमा विश्वास गर्दथिए र सदुकीहरू चाहिं विश्वास गर्दैन थिए। त्यहाँ यति साह्रो हल-चल मचियो, कि लिसियसले प्रेरित पावललाई बचाएर निकाल्नु पऱ्यो।
१२. यरूशलेममा पावलको हत्या गर्ने षड़यन्त्रबाट तिनी कसरी उम्कनु सके?
१२ यस पछि, तिनको हत्या गर्ने षड़यन्त्रबाट पावल उम्के। (२३:११-३५) तिनको हत्या नगरिकन केही पनि नखाने र नपिउने शपथ चालिस जना यहूदीहरूले हालेका थिए। यसको जानकारी पावल र लिसियसलाई तिनको भतिजोले दियो। सैनिक सुरक्षा साथ, पावललाई यहूदियाको रोमी प्रशासकीय राजधानी, सिजरियामा, राज्यपाल एनटोनियस फेलिक्स कहाँ पठाइन्छ। कुनै दिन पावलको कुरा सुनी दिने वचन दिए पछि, फेलिक्सले तिनलाई महान कहलाइएको हेरदको प्रतोरी दरबार अथवा राज्यपालको निवास-स्थान भित्र, हिरासतमा राख्ने हुकूम दियो।
शासकहरूको सामने निर्भयता
१३. पावलले फेलिक्सलाई के को विषयमा साक्षी दिए र यसको असर के भयो?
१३ चाँड़ै नै प्रेरित पावलले तिनका विरूद्धमा लगाएका झूटा आरोपहरूको खण्डन गर्दै फेलिक्सको सामने निर्भयता साथ साक्षी दिए। (२४:१-२७) भीड़लाई तिनले उस्काउने काम गरेका थिएनन् भनेर पावलले यहूदी विरोधीहरूको सामने स्पष्ट पारि दिए। तिनी व्यवस्था र अगमवक्ताहरू द्वारा लेखिएका कुराहरूमा विश्वास गर्दथिए र “धर्मी र अधर्मी समेतको पुनरुत्थान हुन्छ” भनी आशा राख्द थिए भन्ने कुरा बताइ दिए। पावल यरूशलेममा “दान र दक्षिणा” लिएर (सतावटले गर्दा गरीब हुनगएका येशूका चेलाहरूका लागि चन्दा) गएका थिए र आफूलाई रीतिअनुसार पवित्र पनि पारि सकेका थिए। फेलिक्सले न्याय दिन स्थगित गरेतापनि, पावलले केही समय पश्चात् उसलाई र उसकी पत्नी द्रूसिल्लालाई (हेरद अग्रीपाकी छोरी) ख्रीष्ट, धार्मिकता, संयम र आउने न्यायको दिनबारे प्रचार गरे। यस प्रकारको कुरा सुनेर फेलिक्स भयभित् भयो र उसले पावललाई त्यहाँबाट हटायो। तथापि, घूस पाउने आशामा, पछि उसले पावललाई फेरि फेरि बोलाइ पठाइ रहन्थियो। पावल निर्दोष थिए भन्ने कुरा थाह भएर पनि, फेलिक्सले आफू यहूदीहरूसँग लोकप्रिय हुनका लागि पावललाई कैद मै छाड़ि दियो। दुई वर्ष पछि, फेलिक्सको ठाउँमा पोरसियस फेस्टस आयो।
१४. फेस्टसको सामने उभ्याउँदा, पावलले के कानूनी प्रबन्धको फायदा उठाए र यसको आज के समानन्तर पाउनु हुन्छ?
१४ फेस्टसको सामने पनि पावलले निर्भयता साथ साक्षी दिए। (२५:१-१२) प्रेरित पावल मृत्युको सजाए योग्य भएमा, त्यसबाट तिनी पछि हटने छैनन् तर यहूदीहरूलाई प्रसन्न पार्नको निम्ति मात्र तिनीहरूको हातमा कसैले पनि तिनलाई सुम्पीदिन पाउने छैनन्। पावलले रोममा (अथवा त्यस बेलाको सम्राट निरोको सामने) आफ्नो कुरा भन्न पाउने रोमी नागरिकको अधिकार प्रयोग गर्दै, “म सिजरकहाँ अपील गर्दछु!” भनेर अनुरोध गरे। तिनको यो अनुरोध ग्रहण गरियो र भविष्यद्वाणीमा भने अनुसार, पावलले “रोममा साक्षी” दिन पाउने भए। (प्रेरित २३:११) यहोवाका साक्षीहरूले पनि ‘सुसमाचारको रक्षा र समर्थनको कामका’ लागि कानूनी प्रबन्धहरू प्रयोग गर्दछन्।—फिलिप्पी १:७.
१५. (क) पावल राजा अग्रीपा र सिजरको सामने खड़ा हुँदा, कुन अगमवाणी पूरा भयो? (ख) शावलले ‘सुइरोलाई लात’ कसरी हान्दै थियो?
१५ उत्तरी यहूदियाको राजा हेरद अग्रीपा दोस्रो र तिनकी बहिनी बर्णिस (जस सँग तिनको हाडनाता करणी सम्बन्ध थियो) सिजरियामा फेस्टसलाई भेटन आएको बेलामा, तिनीहरूको सामने पनि पावलले साक्षी दिन सके। (२५:१३–२६:२३) अग्रीपा र सिजरको सामने साक्षी दिए पछि, प्रभुको नाउँ तिनले राजाहरूको सामने लिनेछन् भन्ने अगमवाणी पावल द्वारा पूरा भयो। (प्रेरित ९:१५) दमिशक जाने बाटोमा भएको घटनाको विवरण दिंदै, येशूले भन्नु भएको यो कुरा पावलले अग्रीपालाई बताइ दिए: “सुइरोमा लात हाल्न तिमीलाई कठिन छ।” अटेर गोरूले सुइरोको घोंचाइलाई रोक्न खोज्दा आफैलाई चोट पुऱ्याए झैं, सावलले पनि परमेश्वरबाट समर्थन पाएका येशूका चेलाहरूको विरोध गर्दा, आफूलाई चोट पुऱ्याएका थिए।
१६. पावलले दिएको साक्षी सुनेर अग्रीपा र फेस्टसले के कस्तो प्रतिकृया व्यक्त गरे?
१६ यो सुनेर फेस्टस र अग्रीपाले कस्तो प्रतिकृया व्यक्त गरे? (२६:२४-३२) तिनीहरूले पुनरुत्थानको कुरा बुझ्न सकेनन् तर पावलको विश्वास देखेर चकित हुँदै, फेस्टसले एसो भने: “ए पावल तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ!” त्यसरी नै आज पनि, यहोवाका साक्षीहरू पावल जस्तै “सत्य र सुबुद्धिका कुराहरू” बोल्दा, केही मानिसहरूले तिनीहरूलाई बौलाहा भन्छन्। “थोरै समयमा तैंले मलाई पनि ख्रीष्टियन बनाउने छस्! [NW]” भन्दै अग्रीपाले सुनवाइ समाप्त गरे तर पावलले सिजरकहाँ अपील नगरेको भए, तिनी स्वतन्त्र हुन सक्ने थिए भन्ने कुरा मानी लिए।
समुद्रका जोखिमहरू
१७. रोम तर्फ जाँदा पावलले सामना गर्नु परेका समुद्री जोखिमहरूको वर्णन तपाईं कसरी गर्नु हुन्छ?
१७ रोम जाने यात्रामा, पावलले “समुद्रका जोखिमहरूको” सामना गर्न पऱ्यो। (२ कोरिन्थी ११:२४-२७) सिजरिया देखिन् रोम सम्म समुद्र-यात्रा गरेर जाने कैदीहरूको हाकिम जुलियस थियो। (२७:१-२६) तिनीहरूको जहाज सायडनमा आइ पुगे पछि, त्यस ठाउँका विश्वासीहरूसँग पावलले भेट गर्ने मौका पाए र तिनीहरूले पावलको अध्यात्मिक उत्साहलाई नवजागृत पारि दिए। (३ यूहन्ना १४ सँग तुलना गर्नुहोस्) एशिया माइनरको मायरा भन्ने ठाउँमा, जुलियसले कैदीहरूलाई अन्न बोकेर इटाली जान लागेको जहाजमा चढ़ायो। जोरसँग आँधी-बेरी आएतापनि, तिनीहरू क्रेती शहर लासिआको बन्दरगाह, फेर-हेवन्समा पुगे। त्यहाँबाट फिनिक्स जाने बाटोमा, जहाज उत्तर-पूर्वीय बत्तासको फेरमा पर्यो। उत्तर अफ्रिकाको बलौटे धापमा फँसने डरले, नाविकहरूले “पाल तल झारिदिए।” जहाज टुक्रेर नजाओस् भनेर, त्यसलाई मन्तिरबाट बाँधेका थिए। तर पनि जहाज आँधीबाट ज्यादै उचालिने र पछारिने भएको हुनाले, तिनीहरूले जहाजलाई हलुङ्गो पार्न, भित्र भएका मालसामान बाहिर फ्याँक्न थाले। तेस्रो दिन तिनीहरूले जगेड़ा राखेका पाल र अरू सामानहरू पनि मिल्काइदिए। बाँच्ने आशा कम हुँदै जाँदा, पावलकहाँ एउटा स्वर्गदूत देखा परेर तिनलाई भयभित न हुनु, किनभने तिनी सिजरको सामने खड़ा हुनेछन् भने। सबै यात्रीहरू सुरक्षित एउटा टापूमा पाखा लाग्नेछन् भनेर पावलले भन्दा सबैलाई कति ढुक्क लाग्यो होला!
१८. पावल र तिनका सह-यात्रीहरूलाई अन्तमा के भयो?
१८ यात्रीहरू सबै नै बाँचे। (२७:२७-४४) १४ वाँ दिनमा, नाविकहरूले तिनीहरू कुनै देशको नजीक पुगेको अनुमान लगाए। र गहिराइ नापेर हेर्दा, यो अनुमान साँचो साबित भयो र जहाज चट्टानहरूमाथि बज्रनु पुग्ला भनेर, लङ्गरहरू खसाले। पावलले बिन्ती गरे पछि, सबै २७६ मानिसहरूले केही खाना खाए। यस पश्चात्, समुद्रमा गहुँ फालेर जहाजलाई हलुङ्गो तुल्याइयो। उज्यालो भएपछि, नाविकहरूले लङ्गरहरू खुस्काए, बहनाको बन्धन पनि फुकाइदिए र बतासका लागि अगिल्तिरको पाल उठाएर किनार तर्फ अगि बढ़ाए। दुई समुद्रको दोभान परेको ठाउँमा, जहाजको पछिल्लो हिस्सा टुक्रा-टुक्रा भयो। तथापि, सबैजना विना खतरा पाखा लागे।
१९. पावललाई माल्टामा के भयो र तिनले त्यहाँ अरूहरूका लागि के गरे?
१९ जहाजको दुर्घटनाबाट बाँचेका, पानीले लुत्रुक्क भिजेका र थकित यात्रीहरू, माल्टामा आइपुगे र यो टापूका बासिन्दाहरूले तिनीहरूलाई “औधि दया देखाए।” (२८:१-१६) पावलले झिजाँ-मिजाको मुठा आगोमा हाल्दा, आगोको तापले एउटा सर्पलाई जागृत पाऱ्यो र त्यो पावलको हातमा झुण्डियो। (आजकल माल्टामा विषालु सर्पहरू छैनन्, तर यो भने एउटा विषाक्त “जन्तु” थियो।) माल्टाका निवासीहरूले पावललाई एउटा हत्यारा ठाने जसलाई “न्यायकर्त्ताले बाँच्न दिएनन्।” तर तिनी नता मरेर ढलेको, न सुनिएर आयेको देखेर, तिनीहरूले तिनलाई देवता ठाने। यस पछि पावलले माल्टाको प्रमुख हाकिम पब्लियसको बाबु समेत धेरैको रोगहरू निको पारि दिए। तीन महिना पश्चात्, पावल, लूका र अरिसटार्कस, “जियुसका पुत्रहरूको” (केस्टर र पोलुक्स नाउँ भएका, नाविकहरूलाई मदद दिन्छन् भनी ठानिने, जम्ल्याहा देवताहरू) चिन्ह भएको जहाजमा चढ़ेर त्यहाँबाट विदा भए। पटिओलीमा आइ पुगे पछि, जुलियस आफ्नो जिम्मामा भएका मानिसहरूसँग अघि गयो। रोमी राजधानीका मसीहीहरू अप्पियसको बजार र तीन पाटी भन्ने ठाउँमा आएर पावल सँग भेटगर्दा, तिनले परमेश्वरलाई धन्यबाद चढ़ाउँदै ढाडस बाँधे। अन्तमा, रोममा पुगे पछि, तिनीकहाँ एउटा सिपाही पाले बसेता पनि, पावल आफ्नै डेरामा बस्न पाए।
यहोवाका राज्यको घोषणा गर्दै जाओ!
२०. रोममा पुगे पछि, आफ्नो डेरामा पावल के गर्दै व्यस्त रहे?
२० रोममा आफ्नो डेरामा बसेर, पावलले निर्भयतासाथ यहोवाको राज्यको घोषणा गरे। (२८:१७-३१) तिनले यहूदी मतका प्रमुख मानिसहरूलाई एसो भने: “इस्राएलको आशाको कारणले म यो साङ्गलाले बाँधिएको हुँ।” त्यो आशामा मसीहलाई स्वीकार्नु सम्मिलित् थियो र जसका लागि हामी पनि दुःख उठाउनु तयार हुनुपर्छ। (फिलिप्पी १:२९) त्यहाँका धेरै जसो यहूदीहरूले विश्वास नगरेतापनि, अन्यजातिबाट आएका धेरै जना र यहूदीहरूको एउटा सानो सङ्ख्याका मानिसहरूले असल हृदय प्रकट गरे। (यशैया ६:९, १०) दुई वर्ष सम्म, (ई. स. ५९-६१ सम्म) पावलले आफू कहाँ आउने सबैजनालाई स्वागत गरे र तिनीहरूलाई “विना रोक-टोक, निर्धक्कसँग परमेश्वरको राज्यको प्रचार गर्थे र प्रभु येशू ख्रीष्टको विषयका कुराहरू सिकाउँथे।”
२१. आफ्नो पार्थिव जीवनको अन्त सम्मै, पावलले कस्तो उदाहरण छाड़ेर गए?
२१ शायद पावललाई निर्दोष ठानेर निरोले तिनलाई स्वतन्त्र तुल्याइदिएको जस्तो छ। र यस पछि, पावलले फेरि तिमोथी र तितससँग आफ्नो काम शुरू गरेका थिए। तथापि, रोममा तिनी फेरि (ई. स. ६५) थुनामा परे र यस पटक निरो कै हातमा शहीद भएको जस्तो छ। (२ तिमोथी ४:६-८) तर अन्त सम्मै पावल राज्यको एउटा साहसी प्रचारकको उदाहरण भए। त्यही जोशका साथ, यी अन्तिम दिनहरूमा, परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेका सबैले यहोवाका राज्यको घोषणा गरून्! (w90 6/15)
तपाईं कसरी उत्तर दिनु हुन्छ?
◻ पावलले एफिससका प्राचीनहरूलाई सेवकाई सम्बन्धि के प्रशिक्षण दिए?
◻ परमेश्वरको इच्छाको अधीनमा बस्ने सम्बन्धमा, पावलले के उदाहरण दिएको पाउँछौं?
◻ भीड़हरूले मचाउने हिंसाको सम्बन्धमा, पावलका अनुभवहरू र आज यहोवाका साक्षीहरूको अनुभवमा के समानन्तर पाउँछौं?
◻ राज्यपाल फेस्टसको सामने खड़ा हुँदा, पावलले के कानूनी प्रबन्धबाट लाभ उठाए र यसको आधुनिक समानन्तर के हो?
◻ रोममा, पावल आफ्नो डेरामा कुन काम गर्नमा व्यस्त रहे र यसरी के को उदाहरण दिए?