पाठकहरूका प्रश्नहरू
अपराधीहरूलाई दिइने ज्यानसजाय अर्थात् मृत्युदण्डबारे बाइबलले के भन्छ?
हो, हाम्रो अनुभव वा जीवनको परिस्थितिअनुसार हरेकका आफ्नै व्यक्तिगत भावनाहरू होलान्। यस विवादमा अरू थुप्रैले झैं हामीले पनि निष्पक्ष राजनैतिक अडान लिंदा यहोवाका साक्षीहरूको हैसियतमा ज्यानसजायबारे परमेश्वरको जस्तै विचार राख्नुपर्छ।
सोझै भन्ने हो भने, परमेश्वरले आफ्नो लिखित वचनमा ज्यानसजायलाई गलत भनी संकेत गर्नुभएको छैन।
उत्पत्ति अध्याय ९ अनुसार यहोवाले मानव इतिहासको सुरुतिरै यस विषयमा आफ्नो विचार व्यक्त गर्नुभयो। त्यस विवरणमा सम्पूर्ण मानव परिवारका पुर्खाहरू, नूह र तिनको परिवार समावेश थियो। जहाजबाट निस्केपछि परमेश्वरले तिनीहरूलाई जनावरहरू मारेर रगत निथारिसकेपछि त्यसको मासु खाने अनुमति दिनुभयो। त्यसपछि उत्पत्ति ९:५, ६ मा परमेश्वरले यसो भन्नुभयो: ”तिमीहरूको रगत, अर्थात् प्राणको रगतको निम्ति म निश्चय लेखा लिनेछु। हरेक पशु र मानिसदेखि र हरेक मानिसका दाज्यू-भाइदेखि पनि म मानिसको प्राणको साटो लिनेछु। जसले मानिसको रक्तपात गर्छ मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसहरूलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।” अतः यहोवाले हत्याराहरूमाथि ज्यानसजाय लागू गर्न सकिने अधिकार दिनुभयो।
परमेश्वरले इस्राएलीहरूलाई आफ्ना मानिस ठान्नुभए तापनि ईश्वरीय नियम विरुद्ध गरिने तिनीहरूका विभिन्न गम्भीर अपराधहरू मृत्युदण्डका योग्य थिए। गन्ती १५:३० मा हामी यस्तो मोटामोटी भनाइ पाउँछौं: ”स्वदेशी वा परदेशी कुनै व्यक्तिले केही वास्तै नगरी परमप्रभुलाई तिरस्कार गऱ्यो भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट वहिष्कृत होस्।”
तर मसीही मण्डली स्थापना भइसकेपछि नि? यहोवाले मानव सरकारहरूलाई रहन दिनुका साथै तिनीहरूलाई उच्च अख्तियारवालाहरू भन्नुभएको छ भनी हामीलाई थाह छ। वास्तवमा, बाइबलले त्यस्ता सरकारी अख्तियारवालाहरूप्रति आज्ञाकारी हुन मसीहीहरूलाई आग्रह गरेपछि यस्तो सेवाबारे भन्छ, “तिनी हाम्रो निम्ति परमेश्वरका सेवक हुन्। तर तिमीले खराब काम गऱ्यौ भने डराऊ, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। किनकि तिनी खराब काम गर्नेमाथि क्रोधको निम्ति बदला लिने परमेश्वरका सेवक हुन्।”—रोमी १३:१-४.
के त्यसको अर्थ, गम्भीर गल्ती गर्ने अपराधीहरूको ज्यान लिने अधिकारसमेत ती सरकारहरूसित छ? छ। हामी १ पत्रुस ४:१५ का शब्दहरूबाट त्यस्तो निष्कर्षमा पुग्नुपर्छ। उक्त पदमा प्रेरितले आफ्ना भाइहरूलाई यस्तो आग्रह गरे: “तिमीहरूमध्ये कसैले पनि ज्यानमारा, अथवा चोर, अथवा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैं दुःख नभोग।” के तपाईंले ध्यान दिनुभयो, ‘ज्यानमारा[ले] झैं दुःख नभोग’? सरकारहरूसित अपराधीहरूलाई दण्ड दिने अधिकार छैन भनी पत्रुसले भनेनन्। बरु, अपराधीले दण्ड पाउनु उचित छ भने। के त्यसमा मृत्युदण्ड पनि समावेश हुनेथियो?
हुन सक्थ्यो। यो कुरा प्रेरित अध्याय २५ मा उल्लिखित पावलका शब्दहरूबाट स्पष्ट हुन्छ। यहूदीहरूले पावललाई व्यवस्था विरुद्ध अपराध गरेको आरोप लगाएका थिए। प्रेरित २३:२९ मा लेखिएअनुसार मुख्य कप्तानले कैदी पावललाई रोमी बडाहाकिमकहाँ पठाउँदा यसो भने: ”तिनीहरूको व्यवस्थाको विषयको सवालमा दोष लगाएको रहेछ, तर ज्यान सजाय अथवा कैद गर्नु पर्ने माफिककै केही दोष मैले देखिनँ।” दुइ वर्षपछि पावल बडाहाकिम फेस्तसको सामु हाजिर गराइए। हामी प्रेरित २५:८ मा यस्तो लेखिएको पाउँछौं: ”पावलले जवाफ दिए र भने, ‘मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा, औ सिजरको विरुद्धमा केही अपराध गरेको छैनँ।’ ” तर अब तिनले दण्ड तथा ज्यानसजायबारे समेत कस्तो टिप्पणी गर्छन्, त्यसमा ध्यान दिनुहोस्। प्रेरित २५:१०, ११ हामी यस्तो लेखेको पाउँछौं:
“पावलले भने, ‘म सिजरको न्याय-आसनको सामने खडा भइरहेछु, जहाँ मेरो इन्साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ। यदि म खराब गर्ने हुँ, र मैले ज्यान सजाय माफिकको काम गरेको छु भने मर्नालाई म इन्कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई बात लगाएका कुरा केही सत्य होइन भने ता मलाई तिनीहरूका हातमा कसैले सुम्पनसक्तैन। म सिजरकहाँ अपील गर्दछु।’ ”
गल्ती गर्नेहरूलाई दण्ड दिने र मार्नेसमेत अधिकार सिजरसित छ भनी नियुक्त अख्तियारवालासामु उभिएका पावलले स्वीकारे। दोषी ठहरिएमा तिनी दण्ड स्वीकार्न तयार थिए। नता तिनले सिजरसित हत्याराहरू मात्र नभई अरूलाई पनि ज्यानसजाय दिने अधिकार थियो भन्ने कुरामा विरोध जनाए।
हो, त्यतिबेलाको रोमी न्याय प्रणाली त्रुटिरहित थिएन, नता आजका मानव अदालत प्रणालीहरू नै त्रुटिरहित छन्। त्यतिबेला र अहिले पनि कतिपय निर्दोषहरूलाई दोषी ठहराएर सजाय दिइएका छन्। पिलातसले समेत येशूबारे यसो भने: “मैले ता यिनमा मृत्यु लायकको केही कारण भेट्टाइनँ यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।” हो, सरकारी अख्तियारवालाले येशू निर्दोष हुनुहुन्छ भनेर स्वीकारे तापनि उहाँलाई मारियो।—लूका २३:२२-२५.
तर त्यस्ता अन्यायहरू हुँदैमा ज्यानसजाय दिनु अनैतिक हो भनेर पावल वा पत्रुसले बहस गरेनन्। बरु, यस विषयमा परमेश्वरको विचार के हो भने, सिजरका उच्च अख्तियारवालाहरू रहुञ्जेल तिनीहरूले ‘खराब काम गर्नेमाथि क्रोधको निम्ति बदला लिन तरवार भिर्छन्।’ अनि त्यसमा ज्यानसजाय दिन तरवार भिर्नु पनि समावेश छ। तर यस संसारको कुनै पनि सरकारले हत्याराहरूलाई ज्यानसजाय दिने अधिकार प्रयोग गर्नुहुने कि नहुने भन्ने विरोधोभासपूर्ण प्रश्न उठ्दा साँचो मसीहीहरू होशियारीसाथ निष्पक्ष हुन्छन्। मसीहीजगत्का पादरीहरूजस्तो तिनीहरू यसबारे बहस गर्दैनन्।