“परमेश्वरले हामीलाई यसरी प्रेम गर्नु[भयो]”
“परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएपछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ।”—१ यूहन्ना ४:११.
१. मार्च २३ को दिन सूर्यास्तपछि विश्वभरिका लाखौं मानिसहरू राज्यभवनहरू र अरू सभास्थलहरूमा किन भेला हुनेछन्?
मार्च २३, १९९७ आइतबारका दिन यहोवाका साक्षीहरूले प्रयोग गर्ने राज्यभवनहरू र अरू सभास्थलहरूमा विश्वभरिका १,३०,००,००० भन्दा धेरै मानिसहरू भेला हुनेछन्। किन? किनभने परमेश्वरले मानवजातिप्रति देखाउनुभएको सबैभन्दा महान् प्रेमले तिनीहरूको हृदय पग्लेको छ। येशू ख्रीष्टले यसो भन्नुहुँदै परमेश्वरको प्रेमको त्यो अद्भुत प्रमाणमाथि ध्यानकेन्द्रित गराउनुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.
२. परमेश्वरको प्रेमप्रति हाम्रो प्रतिक्रियाबारे हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्न बेस हुनसक्छ?
२ परमेश्वरले देखाउनुभएको प्रेमलाई विचार गर्दा हामीले आफूलाई यसरी सोध्नु बेस हुनेछ, ‘परमेश्वरले जे जति गर्नुभएको छ के म त्यसको साँच्चै मूल्यांकन गर्छु? के मेरो जीवनपद्धतिले त्यस मूल्यांकनको प्रमाण दिन्छ?’
“परमेश्वर प्रेम हुनुहुन्छ”
३. (क) प्रेम प्रदर्शन गर्नु परमेश्वरको निम्ति किन असामान्य कुरा होइन? (ख) उहाँको सृष्टिमा शक्ति र ज्ञान कसरी झल्किन्छ?
३ परमेश्वरले प्रेम देखाउनु कुनै असामान्य कुरा होइन किनभने “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) प्रेम उहाँको प्रमुख गुन हो। मानवजातिलाई राख्न पृथ्वी बनाउनुहुँदा उहाँले पर्वत बनाउनुभयो, ताल र सागरहरूमा पानी भर्नुभयो। ती कार्यले उहाँको शक्तिको महानतालाई देखाउँछ। (उत्पत्ति १:९, १०) परमेश्वरले जलचक्र र अक्सीजनचक्रको प्रबन्ध गर्नुभयो। मानिसहरूको जीवन धान्नको लागि पृथ्वीका रासायनिक तत्त्वहरूलाई खानेकुरामा परिणत गर्न उहाँले अनगिन्ती सूक्ष्मदेही प्राणी रचना गर्नुभयो र विभिन्न प्रकारको वनस्पति उमार्नुभयो। उहाँले बनाउनुभएको बायोलजिकल क्लकद्वारा हामी पृथ्वीका समय र ऋतुहरू परिवर्तन भएको महसुस गर्छौं। यी सबै कुराले उहाँको महान् बुद्धि-लाई देखाउँछ। (भजन १०४:२४; यर्मिया १०:१२) तैपनि, भौतिक सृष्टिमा झन् परमेश्वरको प्रेम स्पष्ट देखिन्छ ।
४. परमेश्वरको भौतिक सृष्टिमा उहाँको प्रेमको कुन प्रमाणलाई देख्नुपर्छ र मूल्यांकन गर्नुपर्छ?
४ रसिलो पाकेको फल खाँदा पाइने स्वादहरूमा परमेश्वरको प्रेमको प्रमाण पाउँछौं। ती फलले शरीरलाई पौष्टिकता मात्र दिंदैन तर आनन्द पनि दिन्छ। हाम्रो आँखाअगाडि उहाँको प्रेमको सुस्पष्ट प्रमाण छ। ती हुन्—रमणीय सूर्यास्त, तारै ताराले भरिएको स्वच्छ आकाश, रंगीचंगी फूलहरू, पशुका बच्चाहरू खेलेको र साथीसँगीहरूको मधुर मुस्कान। हामी वसन्त ऋतुमा फूलहरूको मगमग सुवास लिन्छौं। झरनाको आवाज, चराहरूको चिरबिर र प्रियजनहरूको मीठो बोली सुन्छौं। कुनै प्रियजनले हामीलाई अंगालो हाल्दा हामी स्पर्शको अनुभूति पाउँछौं। कति पशुहरूले जस्तो हेर्ने, सुन्ने वा सुँघ्ने शक्ति मानिसहरूमा हुँदैन। तर परमेश्वरको स्वरूपमा बनाइएको मानवजातिसित परमेश्वरको प्रेम महसुस गर्ने शक्ति छ, जुन कुरा पशुमा छैन।—उत्पत्ति १:२७.
५. कसरी यहोवाले आदम र हव्वाप्रति प्रशस्त प्रेम देखाउनुभयो?
५ यहोवा परमेश्वरले प्रथम मानवहरू आदम र हव्वालाई सृष्टि गर्नुहुँदा तिनीहरूलाई प्रेमको प्रशस्त प्रमाण दिनुभएको थियो। उहाँले बगैंचा लगाउनुभयो अर्थात् प्रमोदवन बनाउनुभयो र हर प्रकारका रूखहरू उमार्नुभयो। उहाँले त्यहाँ पानीको निम्ति एउटा नदीको प्रबन्ध गर्नुभएको थियो र बगैंचाभरि राम्रा राम्रा पशुपंक्षीहरू सृष्टि गर्नुभयो। उहाँले यी सबै कुरा आदम र हव्वालाई दिनुभयो र त्यो बगैंचा तिनीहरूको घरसरह थियो। (उत्पत्ति २:८-१०, १९) उहाँले तिनीहरूलाई आफ्नै छोराछोरी अर्थात् ब्रह्माण्डीय परिवारसित झैं व्यवहार गर्नुभयो। (लूका ३:३८) यी प्रथम मानव दम्पतीका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई सारा पृथ्वी प्रमोदवन बनाउने सन्तोषप्रद कार्यभार दिनुभयो। र यसो गर्न तिनीहरूले अदनलाई नमुनाको रूपमा लिनसक्थे।—उत्पत्ति १:२८.
६. (क) आदम र हव्वाले अपनाएको विद्रोही मार्गबारे तपाईंलाई कस्तो लाग्छ? (ख) अदनमा भएको घटनाबाट हामीले पाठ सिकेर लाभ उठाएका छौं भनी कुन कुराले संकेत गर्नसक्छ?
६ तथापि, केही समय नबित्दै आदम र हव्वा आज्ञाकारिता अर्थात् वफादारीको परीक्षामा परे। तिनीहरू दुवैले आफूप्रति देखाइएको प्रेमको मूल्यांकन गर्न विफल भए। तिनीहरूको यो कार्य अति दुःखलाग्दो थियो। यसलाई क्षमा गर्न सकिंदैन थियो! परिणामस्वरूप, तिनीहरूले परमेश्वरसितको सम्बन्ध गुमाए, उहाँको परिवारबाट निकालिए र अदनबाट निस्कनुपऱ्यो। आज हामीले तिनीहरूको पापको असर अझै भोगिरहेका छौं। (उत्पत्ति २:१६, १७; ३:१-६, १६-१९, २४; रोमी ५:१२) तर के हामीले त्यस घटनाबाट पाठ सिकेका छौं? हामीले परमेश्वरको प्रेमप्रति कसरी प्रतिक्रिया देखाइरहेका छौं? के हामीले दिनहुँ गर्ने निर्णयहरूले हामी परमेश्वरको प्रेमको मूल्यांकन गर्छौं भनेर देखाउँछन्?—१ यूहन्ना ५:३.
७. आदम र हव्वाले जे सुकै गरे तापनि यहोवाले तिनीहरूको सन्तानको लागि कसरी प्रेम देखाउनुभयो?
७ परमेश्वरले हाम्रो प्रथम मानव मातापिताको निम्ति गर्नुभएको त्यति धेरै कुराप्रति तिनीहरूले मूल्यांकन नदेखाउँदा पनि परमेश्वरले प्रेम देखाइरहनुभयो। वर्तमान समयमा बाँचिरहेका हामीहरूलगायत त्यतिबेला नजन्मिएका मानिसहरूप्रतिको स्नेहले गर्दा परमेश्वरले आदम र हव्वालाई सन्तान जन्माउने अनुमति दिनुभयो। (उत्पत्ति ५:१-५; मत्ती ५:४४, ४५) उहाँले त्यसो नगर्नुभएको भए हामी कोही पनि जन्मने थिएनौं। यहोवाले आफ्नो इच्छालाई अझ प्रकट गर्नुहुँदै आदमको विश्वासी सन्तानको लागि आशाको आधार पनि प्रबन्ध गर्नुभयो। (उत्पत्ति ३:१५; २२:१८; यशैया ९:६, ७) उहाँको प्रबन्धमा समावेश भएका कुराहरूद्वारा सारा राष्ट्रका मानिसहरूले आदम र हव्वाले गुमाएको कुरा प्राप्त गर्नसक्छन्। त्यो हो, परमेश्वरको विश्वव्यापी परिवारका अनुमोदित सदस्यहरूको हैसियतमा सिद्ध जीवन। उहाँले यो छुडौतीको प्रबन्धद्वारा गर्नुभयो।
छुडौती किन चाहियो?
८. आदम र हव्वा मर्नै परे तापनि तिनीहरूको कुनै पनि सन्तान मर्नुपर्दैन भनेर यहोवाले आज्ञा दिनुभए मात्र किन पुग्ने थिएन?
८ के मानव जीवनको रूपमा छुडौती तिर्नु साँच्चै आवश्यक थियो? आदम र हव्वा तिनीहरूको विद्रोहको कारण मर्नैपर्थ्यो। तैपनि परमेश्वरको आज्ञा पालन गर्ने तिनीहरूको सबै सन्तान सधैंभरि बाँच्नसक्छन् भनेर के परमेश्वरले सुनाउनुभएको भए पुग्दैन थियो र? मानवजातिको दृष्टिकोणअनुसार त्यो युक्तिसंगत जस्तो लाग्ला। तथापि, यहोवाले “धार्मिकता र न्यायलाई निको मान्नुहुन्छ।” (भजन ३३:५) आदम र हव्वाले पाप गरेपछि मात्र तिनीहरूले सन्तान जन्माए। तसर्थ, तिनीहरूका ती छोराछोरी कोही पनि सिद्ध जन्मिएन। (भजन ५१:५) तिनीहरू जन्मजात पापी थिए र पापको ज्याला मृत्यु हो। यहोवाले यस कुरालाई बेवास्ता गर्नुभएको भए उहाँको विश्वव्यापी परिवारका सदस्यहरूका लागि त्यो कुन प्रकारको उदाहरण हुनेथियो? उहाँले आफ्नै धार्मिक स्तरहरूलाई बेवास्ता गर्न सक्नुभएन। न्यायले माग गरेका कुराहरूको उहाँले कदर गर्नुभयो। परमेश्वरले विवादहरूलाई मेटाउन प्रयोग गर्नुभएको तरिकामा कसैले कहिल्यै उचित कारणले भूल भेटाउन सक्नेथिएन।—रोमी ३:२१-२३.
९. ईश्वरीय न्यायको स्तरअनुसार कुन प्रकारको छुडौतीको खाँचो थियो?
९ त्यसोभए, यहोवाको आज्ञा पालन गर्न रुचाउने आदमका सन्तानहरूका लागि कसरी उचित आधारको प्रबन्ध गर्न सकियो? सिद्ध मानवले बलिदान दिएमा न्यायअनुसार त्यसले छुडौतीको बलिदान स्वीकार्नेहरूको पापलाई ढाक्नसक्थ्यो। एउटै मानिस आदमको पापले गर्दा सम्पूर्ण मानव परिवार पापी भएको हुँदा अर्को सिद्ध मानवले बगाएको रगतले त्यस न्यायको तराजुलाई बराबर बनाउनसक्थ्यो। (१ तिमोथी २:५, ६) तर त्यस्तो व्यक्ति कहाँ पाउन सकिन्छ त?
त्यो मूल्य कत्ति मूल्यवान् थियो?
१०. आवश्यक छुडौतीको प्रबन्ध गर्न आदमको सन्तान किन असमर्थ भए?
१० पापी आदमको सन्तानमध्ये कसैले पनि तिनले गुमाएको जीवनका प्रत्याशाहरू मोल तिरेर फेरि किन्न सक्दैनथिए। “तिनीहरूमध्ये कसैले पनि कुनै तरिकाले आफ्ना भाइलाई मोल तिरेर छुटाउनसक्तैन, परमेश्वरलाई त्यसको छुटकाराको मोल त्यसले दिनसक्तैन। (किनकि तिनीहरूको आत्माको मोल ज्यादै हुन्छ, र कहिल्यै पनि तिर्न नसक्ने हुन्छ)।” (भजन ४९:७-९) यहोवाले मानवजातिलाई कुनै आशा नदिनुको साटो उहाँ आफैले कृपा गरेर त्यसको प्रबन्ध गर्नुभयो।
११. यहोवाले कुन माध्यमद्वारा उचित छुडौतीको लागि चाहिने सिद्ध जीवनको प्रबन्ध गर्नुभयो?
११ यहोवाले कुनै स्वर्गदूतको आत्मिक शरीरलाई मानव रूपमा अवतार गराउनुभएर देखावटी बलिदान दिन पृथ्वीमा पठाउनुभएन। बरु, सृष्टिकर्ता परमेश्वरले मात्र गर्नसक्नुहुने चमत्कारद्वारा स्वर्गमा भएको आफ्नो पुत्रको जीवन शक्ति र व्यक्तित्वलाई मरियम नाउँकी स्त्रीको गर्भमा सार्नुभयो। तिनी यहूदा कुलका हेलीकी छोरी थिइन्। परमेश्वरको सक्रिय शक्ति अर्थात् उहाँको पवित्र आत्माको रेखदेखमा उक्त शिशु आमाको गर्भमा हुर्कनुभयो र सिद्ध मानवको रूपमा जन्मनुभयो। (लूका १:३५; १ पत्रुस २:२२) यी जनले ईश्वरीय न्यायले माग गरेका कुराहरूलाई पूर्णतया पूरा गर्ने छुडौतीको बलिदानको मोल तिर्नुपर्थ्यो।—हिब्रू १०:५.
१२. (क) कुन अर्थमा येशू परमेश्वरको “एकलो पुत्र” हुनुहुन्छ? (ख) छुडौतीको प्रबन्ध गर्न परमेश्वरले पठाउनुभएको यी नै जनले कसरी हाम्रोलागि उहाँको प्रेमबारे जोड दिनुभयो?
१२ यहोवाले स्वर्गमा भएका आफ्ना लाखौं छोरा हरूमध्ये कसलाई यो कार्य सुम्पनुभयो? धर्मशास्त्रमा “एकलो पुत्र” भनी वर्णन गरिएको जनलाई। (१ यूहन्ना ४:९) यस अभिव्यक्तिलाई उहाँ मानवको रूपमा जन्मँदा को हुनुभयो भनेर होइन तर त्यसअघि स्वर्गमा उहाँ को हुनुहुन्थ्यो भनी वर्णन गर्न प्रयोग गरिएको छ। उहाँलाई मात्र यहोवाले कसैको सहायताबिना आफैले सृजनुभएको थियो। उहाँ सारा सृष्टिको जेठो हुनुहुन्छ। यहोवाले अरू सारा प्राणीहरू सृजन चलाउनुभएको व्यक्ति उहाँ नै हुनुहुन्छ। स्वर्गदूतहरू आदमजस्तै परमेश्वरका पुत्रहरू हुन्। तर येशूलाई “पिताबाट आउनुभएको एकलो पुत्रको जस्तो महिमा” भएको भनी वर्णन गरिएको छ। उहाँलाई “पिताको काखमा” बस्नुभएको भनी वर्णन गरिएको छ। (यूहन्ना १:१४, १८) पितासित उहाँको घनिष्ठ, गोपनीय र स्नेही सम्बन्ध छ। उहाँले आफ्नो पिताको प्रेम मानवजातिलाई दिनुहुन्छ। पिताले यी पुत्रप्रति र पुत्रले मानवजातिप्रति कस्तो महसुस गर्नुहुन्छ, त्यसबारे हितोपदेश ८:३०, ३१ ले यसरी बताउँछ: “म उहाँको [यहोवा] छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं . . . मेरो [यहोवाको मुख्य कालिगड अर्थात् ज्ञानको मूर्त रूप, येशू] आनन्द चाहिं मानव-जातिमा थियो।” यी नै अति प्रिय पुत्रलाई परमेश्वरले छुडौतीको बलिदानको लागि पृथ्वीमा पठाउनुभयो। तसर्थ, येशूको यो भनाइ कत्ति अर्थपूर्ण छ: “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो”!—यूहन्ना ३:१६.
१३, १४. अब्राहामले इसहाकलाई बलिदान चढाउन खोजेको बाइबल विवरणद्वारा हामी कसरी यहोवाले गर्नुभएको कुराप्रति मूल्यांकन व्यक्त गर्न मदत पाउँछौं? (१ यूहन्ना ४:१०)
१३ त्यो कुरा बुझ्न हामीलाई मदत दिनको लागि येशू पृथ्वीमा आउनुभन्दा धेरैअघि लगभग ३,८९० वर्षअघि परमेश्वरले अब्राहामलाई यस्तो निर्देशन दिनुभएको थियो: “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।” (उत्पत्ति २२:१, २) विश्वासकै कारण अब्राहामले आज्ञा पालन गरे। आफूलाई अब्राहामको ठाउँमा राखेर हेर्नुहोस्। यदि त्यो तपाईंले अति माया गर्नुभएको तपाईंको एउटै छोरो हो भने के गर्नुहुन्थ्यो? बलि चढाउन दाउरा चिर्नुहुँदा, मोरीयाहमा पुग्न धेरै दिनको यात्रा गर्दा र वेदीमा आफ्नो छोरालाई राख्दा तपाईंलाई कस्तो लाग्नेथियो?
१४ स्नेही आमाबाबुलाई किन त्यस्तो लाग्छ? किनभने उत्पत्ति १:२७ ले बताउँछ, परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। हामीले प्रेम र स्नेह देखाउँदा यहोवाको प्रेम र स्नेह केही मात्रामा मात्र झल्किन्छ। अब्राहामको घटनामा परमेश्वरले हस्तक्षेप गर्नुभयो र वास्तवमा इसहाकलाई बलि चढाइएन। (उत्पत्ति २२:१२, १३; हिब्रू ११:१७-१९) तथापि, उहाँले भने छुडौतीको बलिदानलाई त्यसरी रोक्नुभएन, जब कि त्यो बलिदान चढाउन उहाँ र उहाँको पुत्रको लागि सजिलो थिएन। परमेश्वरले कुनै दायित्वको भावनाले त्यो बलिदान चढाउनुभएको थिएन। बरु त्यो त उहाँको अद्भुत अनुग्रह थियो। के हामी यसको साँच्चै मूल्यांकन गर्छौं?—हिब्रू २:९.
छुडौतीको बलिदानले के सम्भव बनाउँछ?
१५. वर्तमान रीतिरिवाजमा समेत छुडौतीले मानिसहरूको जीवनमा कसरी असर गरेको छ?
१५ परमेश्वरको त्यस मायालु प्रबन्धमा विश्वास गर्नेहरूमाथि यसले गहिरो प्रभाव पार्छ। पहिला तिनीहरू पापले गर्दा परमेश्वरबाट अलग्गिएका थिए। उहाँको वचनले बताएअनुसार तिनीहरू ‘खराब काममा लागेका र खराब मन भएकाले’ गर्दा उहाँका शत्रु भएका थिए। (कलस्सी १:२१-२३) तर तिनीहरूले “उहाँको पुत्रको मृत्युद्वारा . . . परमेश्वरसित मिलाप” गर्नसके। (रोमी ५:८-१०) तिनीहरूले आफ्नो जीवनपद्धति परिवर्तन गरेर अनि ख्रीष्टको बलिदानमा विश्वास गर्नेहरूलाई परमेश्वरले गर्नुहुने क्षमालाई स्वीकारेर शुद्ध अन्तस्करण पाएका छन्।—हिब्रू ९:१४; १ पत्रुस ३:२१.
१६. छुडौतीमा विश्वास गरेकोले सानो बगाललाई कस्ता आशिष्हरू प्रदान गरिन्छन्?
१६ यहोवाले पृथ्वीमा आफ्नो सुरुको उद्देश्य पूरा गर्न उहाँको पुत्रसित स्वर्गको राज्यमा सहभागी हुन पाउने अनुग्रह सीमित व्यक्तिहरू अर्थात् सानो बगाललाई मात्र दिनुभएको छ। (लूका १२:३२) यिनीहरूलाई “हरेक कुल, भाषा, मानिस र जाति[बाट] . . . परमेश्वरको निम्ति राज्य [गर्न] र पूजाहारी” हुन लिइएका छन्। (प्रकाश ५:९, १०) यिनीहरूबारे प्रेरित पावलले लेखे: “तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट अब्बा, पिता, भनी हामी पुकार्दछौं। हामी परमेश्वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला।” (रोमी ८:१५-१७) परमेश्वरले तिनीहरूलाई पुत्रहरूको हैसियतमा ग्रहण गर्नुहुँदा आदमले गुमाएको न्यानो सम्बन्ध तिनीहरूले प्राप्त गर्छन्। तर यी पुत्रहरूले स्वर्गको सेवामा आदमले नपाएका थप विशेषाधिकारहरू पाउनेछन्। त्यसैकारण प्रेरित यूहन्नाले यसो भन्नु कुनै अचम्मलाग्दो होइन: “हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरको सन्तान भनी कहलिनुपर्छ, र साँच्चै यस्तै छौं”! (१ यूहन्ना ३:१) परमेश्वरले यस्ता जनहरूलाई सैद्धान्तिक प्रेम (अगापे) मात्र होइन तर साँचो मित्रहरूबीच हुने बन्धनको विशेषता, कोमल स्नेह (फिलिया) पनि व्यक्त गर्नुहुन्छ।—यूहन्ना १६:२७.
१७. (क) छुडौतीमा विश्वास गर्ने सबैलाई कस्तो अवसर दिइन्छ? (ख) तिनीहरूका लागि “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता” भनेको के हो?
१७ येशू ख्रीष्ट मार्फत प्राप्त हुने जीवनको लागि परमेश्वरको उदार प्रबन्धमाथि विश्वास गर्ने अरू सबैलाई पनि यहोवाले आदमले गुमाएको मूल्यवान् सम्बन्ध हासिल गर्ने अवसर दिनुहुन्छ। प्रेरित पावलले यसरी बताए: “सृष्टिको उत्कट आशाले [आदमबाट आएको मानव सृष्टि] परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो हेर्दछ। [त्यो हो, तिनीहरूले स्वर्गको राज्यमा ख्रीष्टका उत्तराधिकारीहरू अर्थात् परमेश्वरका छोराहरूले स्वर्गको राज्यमा मानवजातिको लागि सकारात्मक कार्य गर्ने समयलाई पर्खन्छन्] किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्यो। [तिनीहरू मृत्युको प्रत्याशासहित पापमा जन्मेका थिए र त्यसबाट मुक्त हुने उपाय नै थिएन।] [परमेश्वरले दिनुभएको] यसै आशामा कि परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” (रोमी ८:१९-२१) त्यस स्वतन्त्रताको अर्थ के हुनेछ? त्यसको अर्थ, तिनीहरू पाप र मृत्युको बन्धनबाट मुक्त भएका छन्। तिनीहरूले मन र शरीरमा सिद्धता पाउनेछन्, घरको रूपमा पार्थिव प्रमोदवन पाउनेछन् र अनन्त जीवनमा तिनीहरूले सिद्ध जीवनको आनन्द उठाउनुकासाथै एक मात्र साँचो परमेश्वर यहोवाप्रति मूल्यांकन व्यक्त गर्नेछन्। यी सबै कसरी सम्भव पार्न सकियो? परमेश्वरको एक मात्र पुत्रले दिनुभएको छुडौतीको बलिदानद्वारा।
१८. मार्च २३ का दिन सूर्यास्तपछि हामी के गरिरहेका हुनेछौं र किन?
१८ येशूले सा.यु. ३३, नीसान १४ का दिन यरूशलेमको एउटा घरको माथिल्लो कोठामा आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुभयो। उहाँको मृत्युको वार्षिक स्मरण उत्सव साँचो मसीहीहरूका लागि एक महत्त्वपूर्ण घटना भएको छ। येशू स्वयंले यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) सन् १९९७ मा स्मरणार्थ उत्सव मार्च २३ मा (नीसान १४ सुरु हुँदा) सूर्यास्तपछि मनाइनेछ। त्यस दिन यस अवसरमा उपस्थित हुनु जत्ति महत्त्वपूर्ण कुरा अरू हुनै सक्दैन।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ परमेश्वरले कुन तरिकामा मानवजातिप्रति प्रशस्त प्रेम देखाउनुभएको छ?
◻ आदमको सन्तानलाई छुटकारा दिन किन सिद्ध जीवनको खाँचो पऱ्यो?
◻ यहोवाले कुन ठूलो मूल्य तिर्नुभएर छुडौतीको प्रबन्ध गर्नुभयो?
◻ छुडौतीले कुन कुरा सम्भव बनाउँछ?
[पृष्ठ १०-मा भएको चित्र]
परमेश्वरले आफ्नो एकलो पुत्र दिनुभयो