यहोवालाई तपाईंको विश्वस्तता बनाउनुहोस्
“हे परमप्रभु, तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा [ “विश्वस्तता,” NW] हुनुहुन्छ।”—भजन ७१:५.
१. गोठालो ठिटा, दाऊदले कस्तो चुनौतीको सामना गरे?
त्यो मानिस नौ फिटभन्दा अग्लो थियो। त्यसकारण इस्राएलको रणभूमिमा रहेका सबै सेनाहरू त्योसँग भिड्न डराउनु कुनै छक्कलाग्दो कुरा थिएन! त्यो बडेमाको पलिश्ती गोल्यतले हप्तौंसम्म हरेक बिहान र हरेक बेलुकी इस्राएलको सेनालाई धम्काउँथ्यो र ऊसँग लड्न कोही वीर पुरुषलाई पठाउन चुनौती दिन्थ्यो। अन्ततः चुनौती स्वीकारियो तर एउटा सैनिकले नभई एउटा ठिटाले। ती गोठालो ठिटा, दाऊद आफ्नो प्रतिद्वन्द्वीको अगाडि साह्रै फुच्चे देखिन्थे। साँच्चै भन्ने हो भने, तिनको वजन गोल्यतको कवच र हतियारहरूभन्दा पनि कम हुन सक्छ! तैपनि, ती ठिटा त्यस बडेमाको व्यक्तिसँग भिडे र साहसको एउटा प्रख्यात प्रतीक नै भए।—१ शमूएल १७:१-५१.
२, ३. (क) दाऊदले किन त्यस्तो विश्वस्ततासाथ गोल्यतको सामना गर्न सके? (ख) यहोवालाई हाम्रो विश्वस्तता बनाउन हामी कुन दुई कदमबारे छलफल गर्नेछौं?
२ दाऊदले त्यस्तो साहस कहाँबाट पाए? सम्भवतः दाऊदले निकै वर्षपछि लेखेका केही शब्दहरू याद गर्नुहोस्: “हे परमप्रभु, तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा [“विश्वस्तता,” NW] हुनुहुन्छ।” (भजन ७१:५) हो, दाऊदले ठिटै छँदादेखि यहोवामा पूर्ण भरोसा राखेका थिए। तिनले यसो भन्दै गोल्यतको सामना गरेका थिए: “तँ ता मसँग लड़न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड़न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु।” (१ शमूएल १७:४५) गोल्यतको विश्वस्तता आफ्नो सामर्थ्य र हतियारमा थियो भने दाऊदको विश्वस्तता यहोवामा थियो। ब्रह्माण्डको सर्वोच्च परमेश्वर आफ्नो पक्षमा भएकोले त्यो मानिस जतिसुकै ठूलो र सशस्त्र भए तापनि दाऊद डराउनुपर्ने कारण के थियो र?
३ दाऊदबारे पढ्दै जाँदा के तपाईंलाई यहोवामा आफ्नो विश्वस्तता त्यत्तिकै बलियो भए हुन्थ्यो जस्तो लाग्छ? सम्भवतः हामी सबैले त्यस्तो चाहना गर्छौं। त्यसैले आउनुहोस्, हामीले यहोवालाई आफ्नो विश्वस्तता बनाउन चाल्न सक्ने दुइटा कदम हेरौं। प्रथमतः हामीले त्यस्तो विश्वस्ततामा बाधा पुऱ्याउने सामान्य अवरोधमाथि विजय हासिल गर्नुका साथै त्यसलाई कायम राख्नुपर्छ। दोस्रो, हामीले यहोवामा भरोसा राख्नुमा खास के समावेश छ भनी सिक्नुपर्छ।
यहोवामा विश्वस्त हुन सामान्य अवरोधमाथि विजय हासिल गर्ने
४, ५. किन थुप्रै मानिसहरूले परमेश्वरमा विश्वस्त हुन गाह्रो मान्छन्?
४ परमेश्वरमा विश्वस्त हुनदेखि मानिसहरूलाई कुन कुराले बाधा पुऱ्याउँछ? अक्सर, खराब कुराहरू किन हुन्छन् भनी कोही-कोही अलमल्लमा पर्छन्। थुप्रैलाई दुःखकष्टको लागि परमेश्वर जिम्मेवार हुनुहुन्छ भनी सिकाइएको हुन्छ। विपत्ति आइपर्दा परमेश्वरले मृतकहरूलाई उहाँसँग स्वर्गमा “लानुभयो” भनी पादरीहरूले भन्न सक्छन्। यसबाहेक, थुप्रै धर्मगुरुहरूले हरेक विपत्ति र दुष्ट कार्यहरूलगायत संसारमा हुने प्रत्येक घटनाहरू परमेश्वरले पहिल्यै पूर्वनिर्धारित गर्नुभएको थियो भनी सिकाउँछन्। त्यस्तो कठोर हृदय भएको परमेश्वरमा विश्वस्त हुन त गाह्रै हुन्छ। अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिने शैतान सबै त्यस्ता “भूतात्माहरूका सिद्धान्त[लाई]” बढवा दिन उत्सुक छ।—१ तिमोथी ४:१; २ कोरिन्थी ४:४.
५ शैतान मानिसहरूले परमेश्वरमा आफ्नो विश्वस्तता गुमाएको चाहन्छ। परमेश्वरको त्यो शत्रु, हामीले मानव दुःखकष्टको मूल कारण पत्ता लगाएको चाहँदैन। अनि हामीले दुःखकष्टको धर्मशास्त्रीय कारण सिकेका छौं भने शैतान हामीले ती बिर्सेको चाहन्छ। त्यसकारण संसारमा दुःखकष्ट हुनुको तीन प्रमुख कारण हामीले समय-समयमा पुनरावृत्ति गर्नु बेस हो। त्यसो गर्दा जीवनमा भोग्ने समस्याहरूको लागि यहोवा जिम्मेवार हुनुहुन्न भनी हामी आफ्नो हृदयमा निश्चित हुन सक्छौं।—फिलिप्पी १:९, १०.
६. पहिलो पत्रुस ५:८ ले मानव दुःखकष्टको एउटा कारण कसरी औंल्याउँछ?
६ मानव दुःखकष्टको लागि एउटा कारण हो, शैतान यहोवाका विश्वासी जनहरूको निष्ठा तोड्न चाहन्छ। त्यसले अय्यूबको निष्ठा तोड्ने प्रयास गऱ्यो। अय्यूबको सन्दर्भमा शैतान असफल भयो तर त्यसले हार मानेको छैन। यस संसारको शासकको हैसियतमा त्यसले यहोवाका विश्वासी सेवकहरूलाई ‘निलिहाल्न’ खोज्छ। (१ पत्रुस ५:८) यसमा हामी प्रत्येक समावेश छौं! शैतान, हामीले यहोवाको सेवा गर्न बन्द गरेको चाहन्छ। त्यसकारण त्यसले अक्सर सतावट दिन उक्साउँछ। त्यस्तो दुःखकष्ट पीडादायी भए तापनि हामीले सहनुपर्ने जायज कारण छ। यसो गर्दा हामीले शैतान झूटा हो भनी प्रमाणित गर्न मदत गर्छौं र यहोवालाई आनन्दित तुल्याउँछौं। (अय्यूब २:४; हितोपदेश २७:११) सतावट सहन यहोवाले हामीलाई जसै बलियो बनाउनुहुन्छ, उहाँमाथिको हाम्रो विश्वस्तता पनि बढ्छ।—भजन ९:९, १०.
७. गलाती ६:७ ले हामीलाई दुःखकष्टको कारण बुझ्न कसरी मदत गर्छ?
७ दुःखकष्टको लागि दोस्रो कारण यस सिद्धान्तमा पाइन्छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) कहिलेकाहीं मानिसहरूले खराब छनौटहरू गरेर रोप्तछन् र परिणामस्वरूप केही हदसम्म दुःखकष्ट भोगेर कटनी गर्छन्। तिनीहरूले जथाभाबी गाडी हाँक्ने छनौट गर्लान् जसको परिणामस्वरूप दुर्घटना हुन सक्छ। थुप्रैले धूम्रपान गर्ने छनौट गर्छन् जसले गर्दा मुटुसम्बन्धी रोग वा फोक्सोको क्यान्सर हुन सक्छ। अनैतिक यौन आचरणमा सामेल हुन छनौट गर्नेहरूले बिग्रिएको पारिवारिक सम्बन्ध, आत्म-सम्मानको कमी, यौनजन्य रोगहरू तथा अनिच्छित गर्भाधारणको खतरा भोग्छन्। मानिसहरूले त्यस्ता दुःखकष्टका लागि परमेश्वरलाई दोष दिन खोज्लान् तर यथार्थमा तिनीहरू आफ्नै खराब निर्णयका सिकार हुन्छन्।—हितोपदेश १९:३.
८. उपदेशक ९:११ अनुसार मानिसहरूले किन दुःखकष्ट भोग्छन्?
८ दुःखकष्टको लागि तेस्रो कारण उपदेशक ९:११ मा उल्लेख गरिएको छ: “मैले संसारका अझै एउटा कुरो देखें वेग कुदाइले दौड़ जित्नसक्तैन, औ शक्तिले लड़ाइँ जित्नसकिन्न। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” कहिलेकाहीं मानिसहरू केवल गलत समयमा गलत ठाउँमा हुन्छन्। हाम्रो व्यक्तिगत बल वा कमजोरीको बावजुद हामीमध्ये कसैलाई कुनै पनि समय दुःखकष्ट र मृत्यु आइपर्न सक्छ। उदाहरणका लागि, येशूको समयमा यरूशलेमको धरहरा ढलेर १८ जना मानिस मरे। परमेश्वरले तिनीहरूलाई, तिनीहरूले पहिला गरेका पापको लागि सजाय दिइरहनुभएको थिएन भनेर येशूले बताउनुभयो। (लूका १३:४) होइन, यहोवा त्यस्तो दुःखकष्टको लागि जिम्मेवार हुनुहुन्न।
९. दुःखकष्टबारे थुप्रैले कुन कुरा नबुझेका हुन सक्छन्?
९ दुःखकष्टका केही कारणहरू बुझ्नु महत्त्वपूर्ण छ। तथापि, एउटा यस्तो पक्ष छ जुन थुप्रैलाई बुझ्न गाह्रो लाग्छ। त्यो हो: यहोवा परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?
यहोवाले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?
१०, ११. (क) रोमी ८:१९-२२ अनुसार “सारा सृष्टि[लाई]” के भयो? (ख) सृष्टिलाई व्यर्थताको अधीनमा राख्ने को हुनुहुन्छ भनी हामी कसरी थाह पाउन सक्छौं?
१० प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रको एउटा भागमा यस महत्त्वपूर्ण विषयलाई प्रकाश पारिएको छ। पावलले यस्तो लेखे: “सृष्टिको उत्कट आशाले परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो हेर्दछ। किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्यो। यसै आशामा, कि परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ। किनकि सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।”—रोमी ८:१९-२२.
११ यी पदहरूको कुरा बुझ्न हामीले पहिला केही महत्त्वपूर्ण प्रश्नहरूको स्पष्ट उत्तर पाउनुपर्छ। उदाहरणका लागि, सृष्टिलाई व्यर्थताको अधीनमा रहन दिने को हो? कसै-कसैले शैतानतर्फ औंल्याएका छन् भने अरू कसैले आदमतर्फ। तर तिनीहरू दुवैले त्यस्तो अधीनमा राखेको हुन सक्दैन। किन? किनभने सृष्टिलाई व्यर्थताको अधीनमा राख्ने व्यक्तिले नै “आशामा” त्यसो गरेको हो। हो, विश्वासी जनहरूले अन्ततः “विनाशको बन्धनबाट छुटकारा” पाऊन् भनेर उहाँले आशा प्रदान गर्नुहुन्छ। नता आदमले न शैतानले त्यस्तो आशा प्रदान गर्न सक्थ्यो। यहोवाले मात्र सक्नुहुन्थ्यो। त्यसकारण स्पष्टतः सृष्टिलाई व्यर्थताको अधीनमा राख्ने उहाँ नै हुनुहुन्छ।
१२. “सारा सृष्टि” को हो भन्नेबारे कस्तो गोलमाल पैदा भएको छ र यस प्रश्नको जवाफ कसरी दिन सकिन्छ?
१२ तर, यस विवरणमा “सारा सृष्टि” भनी संकेत गरिएको के हो? कसै-कसैले “सारा सृष्टि[ले]” जीवजन्तु र वनस्पतिलगायत सम्पूर्ण प्राकृतिक संसारलाई संकेत गर्छ भन्छन्। तर के जीवजन्तु र बोटबिरुवाले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता” प्राप्त गर्ने आशा गर्छन्? अहँ, गर्दैनन्। (२ पत्रुस २:१२) त्यसोभए, “सारा सृष्टि[ले]” मानिसजातिलाई मात्र संकेत गर्न सक्छ। यो सृष्टि, अदनको बगैंचामा भएको विद्रोहको कारण पाप र मृत्युबाट प्रभावित छ र यसलाई आशाको नितान्त खाँचो परेको छ।—रोमी ५:१२.
१३. अदनको बगैंचामा भएको विद्रोहले मानिसजातिलाई कस्तो प्रभाव पाऱ्यो?
१३ त्यस विद्रोहले वास्तवमा मानिसजातिलाई के गऱ्यो? पावल यसको परिणाम एउटै शब्दमा वर्णन गर्छन्: व्यर्थता। एउटा सन्दर्भ पुस्तकअनुसार यो शब्दले “कुनै वस्तु जुन उद्देश्यको लागि रचना गरिएको हो, त्यसअनुसार काम गर्न नसक्नुको व्यर्थतालाई” बुझाउँछ। मानिसहरूलाई सधैंभरि बाँच्न रचना गरिएको थियो, तिनीहरू सिद्ध, एकताबद्ध परिवारको रूपमा मिलेर प्रमोदवनरूपी पृथ्वीको देखभाल गर्नुपर्ने थियो। त्यसो नगरी तिनीहरूले छोटो, पीडादायी र अक्सर दिक्कलाग्दो जीवन बिताइरहेका छन्। अय्यूबले भनेझैं “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) साँच्चै व्यर्थता!
१४, १५. (क) यहोवाले मानिसजातिलाई सुनाउनुभएको सजायमा न्यायको कस्तो प्रमाण पाउँछौं? (ख) सृष्टि “आफ्नै इच्छाले” व्यर्थताको अधीनमा रहेको होइन भनेर किन पावलले भने?
१४ अब भने मूल प्रश्न उठ्छ: “सारा पृथ्वीका न्यायकर्त्ताले” मानिसजातिलाई किन यस्तो पीडादायी र दिक्दारी अवस्थामा रहन दिनुभएको? (उत्पत्ति १८:२५) के उहाँले त्यसो गर्नु न्यायोचित थियो? एक चोटि हाम्रा प्रथम मातापिताले के गरे सम्झनुहोस्। परमेश्वर विरुद्ध विद्रोह गरेर तिनीहरूले शैतानको पक्ष लिए जसले यहोवाको सार्वभौमिकताबारे व्यापक चुनौती खडा गऱ्यो। तिनीहरूले आफ्नो कार्यद्वारा यहोवाको डोऱ्याइविना विद्रोही आत्मिक प्राणीहरूको डोऱ्याइमा आफैले शासन गर्दा मानिसहरूलाई बेस हुन्छ भन्ने कुरालाई समर्थन गरे। यसरी विद्रोहीहरूमाथि सजाय सुनाउनुहुँदा यहोवाले तिनीहरूले जे खोजेका थिए, त्यही नै दिनुभयो। उहाँले शैतानको डोऱ्याइमा मानिस आफैले शासन गर्ने अनुमति दिनुभयो। त्यस्तो परिस्थितिमा, मानिसजातिलाई आशाको आधारमा व्यर्थताको अधीनमा राख्नुभन्दा गहन र न्यायी निर्णय अरू के हुन सक्थ्यो र?
१५ निस्सन्देह, यो सृष्टिको “आफ्नै इच्छा” थिएन। हामी छनौट गर्ने कुनै मौका नपाई पाप र मृत्युको दासको रूपमा जन्मन्छौं। तर यहोवा कृपालु हुनुभएको कारण आदम र हव्वालाई बाँकी जीवन बाँच्न र सन्तान जन्माउन दिनुभयो। हामी तिनीहरूको सन्तान भएकोले पाप र मृत्युको व्यर्थताको अधीनमा भए तापनि हामीले आदम र हव्वा असफल भएको कुरा गर्ने मौका पाएका छौं। हामी यहोवाको कुरा सुन्न सक्छौं र फलतः उहाँको सार्वभौमिकता धार्मिक र सिद्ध छ भने यहोवाबाट अलग्गिएको मानवशासनले पीडा, दिक्दारी र व्यर्थता मात्र ल्याउँछ भनी बुझ्न सक्छौं। (यर्मिया १०:२३; प्रकाश ४:११) अनि शैतानको प्रभावले अवस्थालाई झनै बिगार्छ। मानव इतिहासले यो तथ्यको पुष्टि गर्छ।—उपदेशक ८:९.
१६. (क) आज संसारमा देखिने दुःखकष्टको लागि यहोवा जिम्मेवार हुनुहुन्न भनी हामी किन पक्का हुन सक्छौं? (ख) यहोवाले विश्वासी जनहरूको लागि मायालुपूर्वक कस्तो आशा प्रदान गर्नुभएको छ?
१६ स्पष्टतः मानिसजातिलाई व्यर्थताको अधीनमा राख्नुपछाडि यहोवासित जायज कारणहरू थिए। तर के यसको मतलब आज हामी प्रत्येकलाई पिरोल्ने व्यर्थता र दुःखकष्टको कारण यहोवा हुनुहुन्छ भन्ने हो? यसको जवाफ दिनुअघि एक जना अपराधीमाथि न्यायी सजाय सुनाउने एक जना न्यायाधीशबारे विचार गर्नुहोस्। त्यस अपराधीले आफ्नो सजायको दौडान धेरै दुःख भोग्न सक्छ तर के तिनले आफ्नो दुःखको कारण त्यो न्यायाधीश हो भनेर दोष लगाउन मिल्छ? अवश्य मिल्दैन! यसबाहेक, यहोवा कहिल्यै पनि दुष्टताको स्रोत हुनुहुन्न। याकूब १:१३ यसो भन्छ: “कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” साथै, हामी यो कुरा पनि नबिर्सौं, यहोवाले “आशामा” यो सजाय घोषणा गर्नुभयो। उहाँले आदम र हव्वाका विश्वासी सन्तानहरूले व्यर्थताको अन्त र “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता” हेर्न सकून् भनेर मायालुपूर्वक प्रबन्धहरू गर्नुभएको छ। अनन्तसम्म विश्वासी मानिसजातिले सबै सृष्टि फेरि व्यर्थताको पीडादायी अवस्थामा फर्कनुपर्ला भनेर कहिल्यै चिन्ता गर्नुपर्ने छैन। न्यायी तरिकामा परिस्थिति सँभाल्नुहुने यहोवाले सदाको निम्ति आफ्नो सार्वभौमिकताको औचित्यलाई स्थापना गरिसक्नुभएको हुनेछ।—यशैया २५:८.
१७. आज संसारमा व्याप्त दुःखकष्टका कारण पुनरावृत्ति गर्दा हामीमा कस्तो असर पर्नुपर्छ?
१७ मानव दुःखकष्ट हुनुका यी कारणहरू पुनरावृत्ति गर्दा के हामी दुष्टताको लागि यहोवालाई दोष लाउने वा उहाँमा हाम्रो विश्वस्तता गुमाउनुपर्ने कुनै आधार भेट्टाउँछौं? यसको विपरीत, त्यस्तो अध्ययनले मोशाका यी शब्दहरूसित सहमत हुने कारण दिन्छ: “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) यी विषयहरूमा मनन गरेर समय समयमा यी कुराहरूबारे हाम्रो समझलाई ताजा गरौं। यसो गर्दा जब हामी परीक्षाहरू भोग्छौं, तब हाम्रो मनमा शंकाका बीउ रोप्ने शैतानको प्रयासको प्रतिरोध गर्न सक्नेछौं। तर सुरुमा उल्लेख गरिएको दोस्रो कदमबारे के भन्न सकिन्छ? यहोवामा भरोसा राख्नुमा के समावेश छ?
यहोवामा भरोसा राख्नुको अर्थ के हो
१८, १९. बाइबलले यहोवामा भरोसा राख्ने प्रोत्साहन दिन कस्ता शब्दहरू प्रयोग गरेको छ तर त्यस सन्दर्भमा कसै-कसैको कस्ता गलत धारणाहरू छन्?
१८ परमेश्वरको वचनले हामीलाई यस्तो आग्रह गर्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) यी सुन्दर र आश्वासनदायी शब्दहरू हुन्। निश्चय पनि सम्पूर्ण ब्रह्माण्डमा, स्वर्गमा हुनुहुने हाम्रो प्रिय पिताभन्दा भरोसायोग्य अरू कोही छैन। तैपनि, यी शब्दहरू व्यवहारमा उतार्नुभन्दा हितोपदेशको पुस्तकमा ती शब्दहरू पढ्नु सजिलो छ।
१९ यहोवामा भरोसा गर्नु भन्नेबारे थुप्रैका गलत धारणाहरू छन्। कसै-कसैले त्यस्तो भरोसा राख्नु केवल एउटा भावना, रमाइलो महसुस हुने अनुभूति हो र यो हृदयबाट आफै आउनुपर्छ भन्ठान्छन्। अरू कतिपयले चाहिं यहोवामा भरोसा राख्नुको अर्थ उहाँले हामीलाई सबै कठिनाइहरूबाट बचाउनुहुन्छ, सबै समस्या समाधान गर्नुहुन्छ, हामीले दिनहुँ सामना गर्ने प्रत्येक चुनौतीको परिणाम हामीले चाहेजस्तै र त्यो पनि तुरुन्तै हुन्छ भन्ने आशा गर्न सक्नु हो भन्ठान्छन्! तर त्यस्ता विचारहरू निराधार छन्। भरोसा राख्नु भनेको भावना मात्र होइन र यो अव्यावहारिक हुँदैन। वयस्कहरूको सन्दर्भमा भन्ने हो भने, भरोसा राख्नुमा राम्ररी सोचविचार गरेर जानकार निर्णय गर्नु समावेश छ।
२०, २१. यहोवामा भरोसा राख्नुमा के समावेश छ? उदाहरण दिनुहोस्।
२० फेरि एक चोटि हितोपदेश ३:५ मा के भनिएको छ, ध्यान दिनुहोस्। यसमा, यहोवामा भरोसा राख्नुलाई आफ्नै समझ-शक्तिमा भरोसा राख्नुबीचको भिन्नता देखाइएको छ र हामीले एकै चोटि यी दुवै गर्न सक्दैनौं भन्ने संकेत दिन्छ। के त्यसको अर्थ हामीले आफ्नो समझ-शक्ति प्रयोग गर्न पाउँदैनौं भन्ने हो? होइन किनभने हामीलाई ती शक्तिहरू दिनुहुने यहोवा, हामीले उहाँको सेवा गर्दा ती प्रयोग गरेको आशा गर्नुहुन्छ। (रोमी १२:१) तर हामी केमा लीन हुन्छौं वा भर पर्छौं? हाम्रो सोचाइ यहोवाको अनुरूप छैन भने के हामीले उहाँको बुद्धि हाम्रो भन्दा सर्वोत्कृष्ट छ भन्दै स्वीकार्छौं? (यशैया ५५:८, ९) यहोवामा भरोसा राख्नुको अर्थ उहाँको सोचाइले हाम्रो सोचाइलाई डोऱ्याउन दिनु हो।
२१ उदाहरणका लागि: एउटा सानो बच्चा गाडीको पछाडि र तिनको आमाबाबु चाहिं अगाडि सीटमा बसिरहेको कल्पना गर्नुहोस्। तिनको बुबाले गाडी चलाउँदै छन्। यात्राको दौडान कुनै समस्या आइपऱ्यो, जस्तै—कुन बाटो जाने वा खराब मौसम वा बाटोको अवस्था राम्रो भएन भने एक जना आज्ञाकारी, भरोसा गर्ने बच्चाले कस्तो प्रतिक्रिया देखाउँछ? के तिनी पछाडिबाट आफ्नो बुबालाई के गर्नुपर्छ भनी सिकाउँदै कराउँछन्? तिनका आमाबाबुले तिनलाई गाडीमा आफ्नो सीट बेल्ट लगाएर राम्रोसँग बस्नु भन्दा के तिनीहरूको निर्णयमाथि शंका वा प्रतिरोध गर्छन्? गर्दैनन्, तिनले आफ्ना आमाबाबु असिद्ध नै भए तापनि त्यस्ता परिस्थितिमा स्वतः आमाबाबुमा भरोसा राख्छन्। यहोवा त हाम्रो सिद्ध पिता हुनुहुन्छ। विशेष गरी चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्नुपर्दा के हामीले उहाँमा पूर्णतया भरोसा राख्नु पर्दैन र?—यशैया ३०:२१.
२२, २३. (क) हामीले समस्याहरूको सामना गर्दा किन यहोवामा भरोसा राख्नुपर्छ र सो हामीले कसरी गर्न सक्छौं? (ख) अर्को लेखमा के छलफल गरिनेछ?
२२ तथापि, हितोपदेश ३:६ ले हामीलाई कठिन परिस्थितिको सामना गर्दा मात्र होइन तर ‘आफ्नो सबै चालमा यहोवालाई सम्झनुपर्छ’ भनी बताउँछ। त्यसकारण हामीले दिनहुँ गर्ने निर्णयहरूमा यहोवामा हाम्रो भरोसा झल्कनुपर्छ। समस्या आइपर्दा हामी हरेस खाने, आत्तिने वा समस्या सामना गर्ने उत्तम तरिकाको सन्दर्भमा यहोवाको डोऱ्याइको प्रतिरोध गर्ने गर्नु हुँदैन। हामीले परीक्षाहरूलाई यहोवाको सार्वभौमिकताको समर्थन गर्ने, शैतानलाई झूटा साबित गर्न मदत गर्ने र आज्ञाकारीलगायत परमेश्वरलाई प्रसन्न तुल्याउने अन्य गुणहरूको विकास गर्ने सुअवसरको रूपमा लिनुपर्छ।—हिब्रू ५:७, ८.
२३ हामीले आफूसामु जस्तोसुकै अवरोधहरूको खतरा आइ परे तापनि यहोवामा भरोसा देखाउन सक्छौं। हामीले यो, आफ्नो प्रार्थनामा र डोऱ्याइको लागि यहोवाको वचन र उहाँको संगठनमा भर परेर देखाउँछौं। तर विशेषतः हामीले आजको संसारमा देखापर्ने समस्याहरूसित जुझ्दा यहोवामाथि भरोसा कसरी देखाउन सक्छौं? यस विषयमा हाम्रो अर्को लेखमा छलफल गरिनेछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• दाऊदले यहोवालाई आफ्नो विश्वस्तता बनाएको कसरी देखाए?
• आज मानव दुःखकष्टको तीन कारणहरू के-के हुन् र ती समय-समयमा पुनरावृत्ति गर्नु किन बेस हो?
• यहोवाले मानवजातिमाथि कस्तो सजाय सुनाउनुभयो र यो किन न्यायी थियो?
• यहोवामा भरोसा राख्नुमा के समावेश छ?
[पृष्ठ ८-मा भएका चित्रहरू]
दाऊदले यहोवालाई आफ्नो विश्वस्तता बनाए
[पृष्ठ १०-मा भएको चित्र]
यरूशलेमको एउटा धरहरा ढल्दा यसको लागि यहोवा जिम्मेवार हुनुहुन्नथ्यो भनी येशूले देखाउनुभयो