के परमेश्वरले हाम्रो भविष्य पूर्वनिर्धारण गरिसक्नुभएको छ?
“पूर्वनिर्धारित भविष्य भन्ने पदावलीको प्रयोग नै नगरिएको भए कतिपय मनगढन्ते समस्याहरू हुने थिएनन्।” यदि तपाईंले “पूर्वनिर्धारित भविष्य” भन्ने पद प्रयोग गर्नुभएको वा सुन्नुभएको भए उक्त भनाइको अर्थ के हो भनी तपाईं सोच्नुहोला।
हालैको फ्रेन्च क्याथोलिक इन्साइक्लोपीडिया थियो-अनुसार “पूर्वनिर्धारित भविष्य” भन्ने पद प्रयोग नगर्नु नै बेस हुनेछ। अर्को पुस्तक यसो भन्छ: “आज, धर्मसिद्धान्तसम्बन्धी विवादहरूमा प्रोटेस्टेन्टहरूका लागि समेत पूर्वनिर्धारित भविष्य कुनै महत्त्वपूर्ण विषयजस्तो देखिंदैन।”
तापनि, पूर्वनिर्धारित भविष्यसम्बन्धी प्रश्नले इतिहासभरि कैयौं मानिसहरूलाई व्याकुल पारेको छ। धार्मिक सुधार ल्याउन यही विवादले महत्त्वपूर्ण भूमिका खेल्यो। अनि क्याथोलिक चर्च भित्रै पनि शताब्दीयौंसम्म यो चर्को विवादको विषय भएको थियो। आज यस विषयमा त्यत्तिको विवाद नगरिए तापनि यो अझै समस्याको रूपमा रहेको पाइन्छ। आफ्नो भविष्य पहिले नै निर्धारण गरिएको थियो कि थिएन भनेर कसले पो जान्न चाहँदैन र?
पूर्वनिर्धारित भविष्य—यसको अर्थ
चर्चहरूमा “पूर्वनिर्धारित भविष्य” शब्दको कस्तो अर्थ लगाइन्छ? डिक्शनेर डे थियोलोजी क्याथोलिक्-अनुसार यो “नाउँ तोकिएका केही खास व्यक्तिहरूलाई अनन्त जीवन दिने दैवीय उद्देश्य हो।” “नाउँ तोकिएका” छानिएका व्यक्तिहरू साधारणतया प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रमा उल्लेख गरेकाहरू हुन् भनिन्छ। त्यहाँ यसरी लेखिएको पाइन्छ: “परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छाअनुसार बोलावट भएकाहरूका निम्ति पनि सब कुरा मिलेरनै तिनीहरूका भलाइको निम्ति काम गर्दछन्। किनभने जस जसलाई उहाँले अघिबाटै चिन्नुभएको छ, उहाँले अघिबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपमा बनाउनालाई . . . अघिबाटै नियुक्त गर्नुभयो। तर जस जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि तुल्याउनुभयो।”—रोमी ८:२८-३०.
स्वर्गमा ख्रीष्टको महिमामा सहभागी हुन केही व्यक्तिहरूलाई तिनीहरू जन्मिनुअघि नै परमेश्वरले छान्नु हुन्छ भन्ने धारणा पनि पाइन्छ। यसले गर्दा लामो समयदेखि विवाद चलिरहेको प्रश्न खडा हुन्छ: कसलाई बचाउने भनी के परमेश्वरले आफूखुशी छान्नुहुन्छ वा परमेश्वरको अनुग्रह प्राप्त गर्न र त्यसलाई कायम राख्न मानिसहरूले स्वेच्छापूर्वक छान्न सक्छन्?
अगस्टिन, पूर्वनिर्धारित भविष्यसम्बन्धी सिद्धान्तको पिता
चर्चका पादरीहरूले पूर्वनिर्धारित भविष्यको विषयमा लेखे तापनि क्याथोलिक र प्रोटेस्टेन्ट दुवैका लागि यस धर्मसिद्धान्तसम्बन्धी जग बसाल्ने व्यक्ति अगस्टिन (३५४-४३० सा.यु.) हो भन्ने आमधारणा छ। अगस्टिनको भनाइअनुसार धर्मीहरूले अनन्त आशिष्हरू पाउनेछन् भन्ने कुरा अनन्तकालअघि नै निर्धारण गरिएको हुन्छ। अर्कोतिर, अधर्मीहरूलाई यस्तै गरिनेछ भनेर परमेश्वरले पूर्वनिर्धारण नगर्नु भए तापनि आफ्ना पापहरूका लागि तिनीहरूले दण्ड भोग्नेछन्। अगस्टिनको स्पष्टीकरणले स्वेच्छालाई कुनै ठाउँ दिएन, फलस्वरूप थुप्रै विवादहरू उत्पन्न भए।
अगस्टिनका उत्तराधिकारीहरू
पूर्वनिर्धारित भविष्य र स्वेच्छासम्बन्धी विवाद मध्य युगमा पटक पटक देखा परिरह्यो र धार्मिक सुधार भएताका यस विषयमा केही ठोस कदम चाल्नु अपरिहार्य भयो। लुथरको दृष्टिकोणमा छानिएकाहरूको भावी योग्यता वा असल कार्यहरूमाथि विचारै नपुऱ्याइकन परमेश्वरले स्वेच्छापूर्वक व्यक्तिविशेषको भविष्य निर्धारण गर्नुहुन्छ। द्विपक्षीय भाग्यसम्बन्धी धारणाको अझ बढी तात्त्विक निष्कर्षमा क्याल्भिन पुगे: कोही अनन्त मुक्ति प्राप्त गर्न र अरू भने अनन्त दण्डका लागि निर्धारण गरिएका हुन्छन्। तर क्याल्भिनलाई पनि परमेश्वरको छनौट आफूखुशी र बुझ्नै नसकिने जस्तो लाग्यो।
मानिसहरूलाई जोगाउन र धर्मी ठहराउन परमेश्वरले गर्नुहुने कार्य बुझाउन चर्चहरूले प्रयोग गर्ने शब्द, “निगाह” र त्यसको निकटतम सम्बन्धित शब्द, पूर्वनिर्धारित भविष्यबीच चर्को विवाद भयो। त्यसले गर्दा क्याथोलिक होली सीले आफ्नो स्वीकृतिबिना यस विषयमा केही नछाप्न १६११ मा निषेधाज्ञा जारी गऱ्यो। क्याथोलिक चर्चभित्र १७ औं र १८ औं शताब्दीका रोमन क्याथोलिक पादरी, फ्रान्सेली कर्नेलियस जान्सेनले अगस्टिनका शिक्षाहरूलाई समर्थन गरे। तिनीहरूले मसीही धर्मको पवित्र र गण्यमान्य तरिकालाई समर्थन गरे अनि कुलीनहरूलाई समेत आफ्ना अनुयायीहरू बनाउन सक्षम भए। यद्यपि, यो विषयमा विवाद साम्य भएन। राजा लुइस चौधौंले जान्सेनी विचारको मूल थलो, पोर्ट रोयल कोर्ट चर्चलाई नाश गर्ने आदेश दिए।
तर धार्मिक सुधार भएका प्रोटेस्टेन्ट चर्चहरूमा भने यो विवाद अझै टुंगिएको थिएन। अन्य धार्मिक समूहहरूको साथमा याकोबस् आर्मिनसलाई पछ्याउने अरू कट्टर विरोधीहरूको विश्वासअनुसार मुक्तिको लागि मानिस स्वयंले महत्त्वपूर्ण भूमिका निभाइरहेको हुन्छ। क्याल्भिनको रूढिवादी विचारधारालाई दुरुस्तै पालन गरेर प्रोटेस्टेन्ट साइनोड अफ डोरडेक्टले (१६१८-१९) यो विवादलाई अस्थायी रूपमा साम्य पारे। लाभेन्ट्योर डे ला रिफोर्म—ले मोण्ड डे झाँ क्याल्भिन-अनुसार पूर्वनिर्धारित भविष्य र स्वेच्छासम्बन्धी झगडाले गर्दा जर्मनीमा लामो समयसम्म “सम्झौता गर्न असफल प्रयास गरिनुका साथै धर्मविज्ञानीहरू काराबासमा परे र देशबाट निकालिए।”
पूर्वनिर्धारित भविष्य वा स्वेच्छा?
सुरुदेखि नै पूर्वनिर्धारित भविष्य र स्वेच्छाजस्ता विपरीत विचारहरूको कारण निकै चर्को विवादहरू भए। यो बेमेल सुल्झाउन अगस्टिन असफल भए। यो परमेश्वरको सार्वभौमिकताको अभिव्यक्ति हो र यसर्थ अवर्णनीय छ भनी क्याल्भिनले पनि भने।
तर परमेश्वरका गुणहरू र व्यक्तित्वसम्बन्धी बाइबलको अभिव्यक्तिले के यी प्रश्नहरू स्पष्टसित बुझ्न मदत गर्छ? आउँदो लेखले यी बुँदाहरूलाई विस्तृत तवरमा छलफल गर्नेछ।
[पृष्ठ ४-मा भएको चित्र]
क्याल्भिन
लुथर
जान्सेन
[स्रोत]
Pictures: Bibliothèque Nationale, Paris