आज कसले परमेश्वरलाई महिमा दिइरहेका छन्?
“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ।”—प्रकाश ४:११.
१, २.(क) बायोमिमेटिक्स भनिने क्षेत्रलाई कस्ता उदाहरणहरूले प्रस्ट पार्छ? (ख) कस्ता प्रश्नहरू खडा हुन्छन् र यसको जवाफ के हो?
सन् १९४० दशकको कुरा हो, स्वीस इन्जिनियर जर्ज डे मिस्ट्रालले आफ्नो कुकुरलाई डुलाउन लगे। घर फर्केपछि तिनले आफ्नो कपडाभरि र कुकुरको भुत्लामा पनि कुरो टाँसिएको देखे। जिज्ञासाको कारण तिनले ती कुरोहरूलाई सूक्ष्मदर्शक-यन्त्रमा राखेर हेरे अनि ती कुरोहरूमा सुर्केनी भएको कुनै पनि वस्तुमा टाँसिन सक्ने ससाना अङ्कुसेहरू भएको देखेर तिनी छक्क परे। अन्ततः तिनले यस्तै खालको कृत्रिम वस्तु—भेल्क्रो अर्थात् झोला, जुत्ता वा लुगामा टाँस्न प्रयोग गरिने च्यार-च्यार गर्ने वस्तुको आविष्कार गरे। प्रकृतिमा पाइने कुराहरूको नक्कल गर्ने व्यक्तिमा डे मिस्ट्राल मात्र थिएनन्। उडिरहेका ठूलठूला चराहरूको अध्ययन गरेपछि संयुक्त राज्य अमेरिकाका राइट दाजुभाइले हवाइजहाजको डिजाइन गरे। फ्रान्सेली इन्जिनियर अलेक्जान्ड्रे गुस्ताभ आइफलले तिनकै नाउँबाट नामाकरण गरिएको पेरिसको धरहराको डिजाइन तयार पार्दा मानव शरीरको भारलाई तिघ्राको हड्डीले जसरी थाम्न सक्छ, त्यही आधारभूत सिद्धान्त चलाए।
२ यी उदाहरणहरूले बायोमिमेटिक्स अर्थात् प्रकृतिमा पाइने संरचनाहरूको नक्कल गर्न खोज्ने विज्ञानजगत्को एउटा क्षेत्रबारे प्रस्ट पार्छ।a यद्यपि, एउटा जायज प्रश्न खडा हुन्छ: ती ससाना कुरोहरू, ठूलठूला चराहरू, मानिसको तिघ्राको हड्डी र अरू उदेकलाग्दा मौलिक वस्तुहरू, जसलाई हेरेर मानिसहरूले थुप्रै आविष्कारहरू गरेका छन्, ती सबैको डिजाइनरलाई आविष्कारकहरू कत्तिको श्रेय दिन्छन्? दुःखद् वास्तविकता यो हो कि आजको संसारमा परमेश्वरले पाउनुपर्ने श्रेय वा महिमा उहाँलाई कमै दिइन्छ।
३, ४. “महिमा” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ के हो र यहोवाको सन्दर्भमा प्रयोग गर्दा यसले कुन कुरा सङ्केत गर्नुपर्ने हो?
३ ‘परमेश्वरलाई किन महिमा दिनुपर्छ र? के उहाँ पहिल्यैदेखि महिमित हुनुहुन्न र?’ भनेर कसै-कसैले सोध्लान्। हो, यहोवा ब्रह्माण्डमा सबैभन्दा महिमित व्यक्ति हुनुहुन्छ तर यसको मतलब उहाँ सबै मानिसहरूको नजरमा महिमित हुनुहुन्छ भन्ने होइन। बाइबलमा “महिमा” भनी अनुवाद गरिएको हिब्रू शब्दले “ओजस्वी” भन्ने भाव दिन्छ। यस शब्दले कुनै व्यक्तिलाई अरूको नजरमा प्रभावशाली वा महत्त्वपूर्ण बनाउने कुरालाई सङ्केत गर्छ। परमेश्वरको सन्दर्भमा यस शब्दले मानिसको नजरमा परमेश्वरलाई प्रभावशाली बनाउने कुरालाई सङ्केत गर्छ।
४ परमेश्वरलाई प्रभावशाली बनाउने कुरा के हो भनेर आज धेरै मानिसहरूले वास्तै गर्दैनन्। (भजन १०:४; १४:१) वास्तवमा, तिनीहरूले परमेश्वरमा विश्वास गरे तापनि समाजका प्रभावशाली व्यक्तित्वहरूले अक्सर ब्रह्माण्डका महिमित सृष्टिकर्तालाई अनादर गर्न मानिसहरूलाई उक्साएका छन्। तिनीहरूले कसरी यसो गरेका छन्?
“यिनीहरूलाई कुनै किसिमको बहाना छैन”
५. सृष्टिका आश्चर्यहरूबारे थुप्रै वैज्ञानिकहरू कसरी वर्णन गर्छन्?
५ धेरै वैज्ञानिकहरू सृष्टिकर्ता छैन भनेर लिंडे ढिपी गर्छन्। त्यसोभए, मानिसजाति लगायत सृष्टिका आश्चर्यहरूबारे तिनीहरू कसरी वर्णन गर्छन् त? तिनीहरू यी आश्चर्यकामको श्रेय संयोगको उपज अर्थात् विकासवादलाई दिन्छन्। उदाहरणका लागि, विकासवादी वैज्ञानिक स्टिफन जे गोल्डले यस्तो लेखे: “हामी यहाँ हुनुको कारण एक अनौठो जातका माछाहरूमा एक प्रकारको विशेष बनौटका पखेटा थिए जुन स्थलचर प्राणीहरू बन्न खुट्टामा परिणत हुन सक्थे . . . हामी ‘उत्कृष्ट’ जवाफको खोजी गरौंला तर त्यस्तो कुनै जवाफ पाइँदैन।” त्यसरी नै, रिचर्ड ई. लिकी र रजर लिविनले यस्तो लेखे: “सायद मानवजातिको अस्तित्व केवल एउटा ठूलो जैविक भूल हुन सक्छ।” प्रकृतिको सुन्दरता र डिजाइनको प्रशंसा गर्ने केही वैज्ञानिकहरू समेत परमेश्वरलाई श्रेय दिन चुक्छन्।
६. परमेश्वरलाई सृष्टिकर्ताको हैसियतमा श्रेय दिनदेखि कुन कुराले थुप्रै व्यक्तिहरूलाई निरुत्साहित बनाइरहेको हुन्छ?
६ उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूले विकासवादलाई तथ्यको रूपमा जोड दिंदा अबुझ व्यक्तिहरूले मात्र यसलाई विश्वास गर्न इन्कार गर्छन् भनेर तिनीहरूले सङ्केत गरिरहेका हुन्छन्। यसरी जोड दिंदा थुप्रै व्यक्तिहरूले कस्तो प्रतिक्रिया देखाउँछन्? केही वर्षअघि, विकासवादबारे राम्रो ज्ञान भएका एक जना व्यक्तिले विकासवादको सिद्धान्तमा विश्वास गर्ने मानिसहरूसित अन्तरवार्ता लिए। तिनले यसो भने: “विद्वानहरू जति सबैले विकासवादमा विश्वास गर्छन् भनेर तिनीहरूलाई भनिएको कारणले गर्दा मात्र थुप्रै व्यक्तिहरूले विकासवादमा विश्वास गर्दा रहेछन् भनेर मैले थाह लगाएँ।” हो, नास्तिक विचारधारा व्यक्त गरेर शिक्षित व्यक्तिहरूले परमेश्वरलाई सृष्टिकर्ताको हैसियतमा श्रेय दिनदेखि सर्वसाधारणलाई निरुत्साहित बनाइरहेका हुन्छन्।—हितोपदेश १४:१५, १८.
७. रोमी १:२० अनुसार दृश्य सृष्टिद्वारा कुन कुरा छर्लङ्गै देख्न सकिन्छ र किन?
७ के तथ्य अनि प्रमाणकै आधारमा वैज्ञानिकहरू यस्तो निष्कर्षमा पुगेका हुन् त? पक्कै होइनन्! सृष्टिकर्ता हुनुहुन्छ भनी पुष्टि गर्ने थुप्रै प्रमाणहरू हाम्रा वरिपरि छन्। उहाँबारे प्रेरित पावलले यस्तो लेखे: “उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको [मानिसजातिको] सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई [विश्वास नगर्नेहरूलाई] कुनै किसिमको बहाना छैन।” (रोमी १:२०) उहाँको हातका कामहरूमा हामी सृष्टिकर्ताको प्रमाण स्पष्टसित देख्न सक्छौं। त्यसैले, मानिसजातिको अस्तित्वको सुरुवातदेखि नै दृश्य सृष्टिद्वारा मानिसहरूले परमेश्वरको अस्तित्वको प्रमाण “बुझ्न” सकेका छन् भनी पावल बताउँदैछन्। यो प्रमाण कहाँ देख्न सकिन्छ?
८. (क) भौतिक आकाशले कसरी परमेश्वरको शक्ति र बुद्धिको प्रमाण दिन्छ? (ख) ब्रह्माण्डको एक जना सुरुवातकर्ता हुनुहुन्थ्यो भनी कुन कुराले सङ्केत गर्छ?
८ ताराहरूले भरिएको आकाशमा हामी परमेश्वरको प्रमाण देख्छौं। “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ” भनी भजन १९:१ बताउँछ। “आकाश” अर्थात् घाम, जुन र ताराहरूले परमेश्वरको शक्ति र बुद्धिको प्रमाण दिन्छ। अनगन्ती ताराहरूले हामीलाई विस्मित तुल्याउँछ। अनि यी सबै आकाशीय पिण्डहरू अन्तरिक्षमा अन्धाधुन्ध घुम्दैनन् तर निश्चित भौतिक नियमहरू अनुरूप परिक्रमा गर्छन्।b (यशैया ४०:२६) यस्तो व्यवस्थित नियम पद्धतिको श्रेय केवल संयोगलाई दिनु के तार्किक हुन्छ र? रोचक कुरा त के छ भने थुप्रै वैज्ञानिकहरू ब्रह्माण्डको सुरुवात अकस्मात् भएको हो भन्छन्। यसो भन्नुको कारणबारे बताउँदै एक जना प्राध्यापकले यस्तो लेखे: “नास्तिक र अज्ञेयवादीहरूको लागि ब्रह्माण्डको कुनै सुरुवातै छैन भन्नु सबैभन्दा स्वीकार्य छ। त्यसै गरी, ब्रह्माण्डको सुरुवात छ भन्ने हो भने यसको सुरुवातकर्ता को हो भन्ने प्रश्न उठ्छ किनभने कुनै कारणै विना यत्रो परिणाम हुन सक्छ भनेर कसले पो कल्पना गर्न सक्छ र?”
९. जनावरहरूको सृष्टिमा यहोवाको बुद्धि कसरी स्पष्ट देखिन्छ?
९ परमेश्वरको प्रमाण हामी पृथ्वीमा पनि देख्छौं। भजनहारले यस्तो उद्गार गरे: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” (भजन १०४:२४) यहोवाले सृष्टि गर्नुभएका जनावरहरू लगायत उहाँको “सम्पत्तिले” उहाँको बुद्धि प्रकट गर्छ। हामीले सुरुमा थाह पाएझैं जीवित वस्तुहरूको डिजाइन यति उच्चस्तरको छ कि वैज्ञानिकहरू अक्सर यसको नक्कल गर्ने कोसिस गर्छन्। अरू केही उदाहरणहरू विचार गर्नुहोस्। अझ बलियो हेल्मेट बनाउने लक्ष्यका साथ अनुसन्धाताहरू जरायोको सिङको अध्ययन गर्दैछन्; राम्ररी कान नसुन्ने व्यक्तिहरूको लागि अझ राम्रा उपकरणहरू बनाउन तिनीहरू सूक्ष्म श्रवणशक्ति भएको एउटा प्रजातिको झिंगाको अनुसन्धान गर्दैछन् अनि राडारले समेत पत्ता लगाउन नसक्ने हवाईजहाज निर्माण गर्ने विचारले तिनीहरू लाटोकोसेरोको प्वाँखलाई परीक्षण गर्दैछन्। तर मानिसहरूले जतिसुकै प्रयास गरे तापनि प्रकृतिमा पाइने वस्तुहरूको दुरुस्त नक्कल भने उतार्न सक्दैनन्। बायोमिमेक्री—इनोभेसन इन्सपायर्ड बाइ नेचर भन्ने पुस्तक यस्तो टिप्पणी गर्छ: “जीवित वस्तुहरूले जीवावशेष इन्धन खपत नगरी, यस ग्रहलाई प्रदूषित नपारी वा आफ्नो भविष्यलाई खतरामा नपारी हामीले गर्न चाहेका सबै कुराहरू गरेका छन्।” साँच्चै कस्तो बुद्धि!
१०. महान् डिजाइनरको अस्तित्वलाई नकार्नु किन अतार्किक हो? उदाहरण दिनुहोस्।
१० चाहे तपाईं माथि आकाशमा हेर्नुहोस् वा यसै पृथ्वीमा भएका सृष्टिहरूलाई, एक जना सृष्टिकर्ता हुनुहुन्छ भन्ने प्रमाण स्पष्ट देख्न सकिन्छ। (यर्मिया १०:१२) स्वर्गमा बस्ने प्राणीहरूसित हामी हृदयदेखि नै सहमत हुनुपर्छ, जो यसरी कराउँछन्: “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” (प्रकाश ४:११) आफ्नो शरीरको आँखाद्वारा देखेको डिजाइनले गर्दा थुप्रै वैज्ञानिकहरू छक्क परे तापनि तिनीहरू सृष्टिकर्ता हुनुहुन्छ भन्ने प्रमाण आफ्नो ‘हृदयको आँखाले’ देख्न सक्दैनन्। (एफिसी १:१८) यसलाई हामी यसरी चित्रण गर्न सक्छौं: प्रकृतिमा पाइने सुन्दरता र डिजाइन देखेर छक्क पर्नु तर महान् डिजाइनरको अस्तित्वलाई चाहिं नकार्नु भनेको एकदमै सुन्दर चित्रकलाको प्रशंसा गर्नु तर एउटा सादा क्यानभासलाई उत्कृष्ट कलाकारितामा परिणत गर्ने कलाकारको अस्तित्वलाई भने नकार्नु जत्तिकै अतार्किक हुन्छ। त्यसैले परमेश्वरमा विश्वास गर्न इन्कार गर्नेहरूलाई “कुनै किसिमको बहाना छैन” भन्नु कुनै छक्कलाग्दो कुरा होइन!
“अन्धा अगुवाहरू[ले]” धेरैलाई गलत मार्गमा डोऱ्याउँछन्
११, १२. पूर्वनिर्धारित भविष्यको सिद्धान्त कुन अनुमानमा आधारित छ र यो सिद्धान्तले परमेश्वरको महिमा गर्दैन भनी कुन कुराले देखाउँछ?
११ धेरै धार्मिक व्यक्तिहरूले आफ्नो उपासना पद्धतिले परमेश्वरलाई महिमा दिन्छ भनेर निष्कपट विश्वास गर्छन्। (रोमी १०:२, ३) तथापि, समग्रमा धर्मले मानव समाजको अर्को पाटो बोकेको छ जसले वास्तवमा परमेश्वरलाई महिमा दिनदेखि लाखौं मानिसहरूलाई रोकेको छ। कसरी? आउनुहोस्, हामी दुईवटा तरिका विचार गरौं।
१२ पहिलो, धर्महरूले झूटा शिक्षाहरू मार्फत परमेश्वरलाई दिनुपर्ने महिमा अन्तै मोड्छन्। उदाहरणका लागि, पूर्वनिर्धारित भविष्यको शिक्षालाई लिनुहोस्। यो सिद्धान्त परमेश्वरसित भविष्यबारे थाह पाउने शक्ति भएकोले गर्दा उहाँलाई हरेक कुराको नतिजाबारे पहिल्यै थाह हुन्छ भन्ने अनुमानमा आधारित छ। पूर्वनिर्धारित भविष्यको सिद्धान्तले हरेक व्यक्तिविशेषको भविष्य—चाहे असल होस् वा खराब—परमेश्वरले पहिल्यै निर्धारण गर्नुभएको हुन्छ भनी बताउँछ। यस धारणाअनुसार अहिले संसारमा भइरहेका सबै दुःखकष्ट र दुष्टताको लागि पक्कै पनि परमेश्वर नै दोषी हुनुहुन्छ। परमेश्वरको प्रमुख शत्रु, शैतान जसलाई बाइबलले “संसारको शासक” भन्छ, त्यसमाथि थुपार्नुपर्ने दोष परमेश्वरमाथि थुपार्दा यसले पक्कै पनि उहाँको महिमा गर्दैन।—यूहन्ना १४:३०; १ यूहन्ना ५:१९.
१३. भविष्यबारे थाह पाउने आफ्नो क्षमतालाई परमेश्वरले नियन्त्रणमा राख्न सक्नुहुन्न भनेर सोच्नु किन मूर्खता हो? उदाहरण दिनुहोस्।
१३ पूर्वनिर्धारित भविष्य परमेश्वरको बदनाम गर्ने एउटा गैरधर्मशास्त्रीय शिक्षा हो। यसले उहाँले के गर्न सक्नुहुन्छ र वास्तवमा के गर्नुहुन्छ भन्ने कुराबीच गोलमाल उत्पन्न गराउँछ। भविष्यमा हुने कुरा परमेश्वरले पहिल्यै थाह पाउन सक्नुहुन्छ भन्ने तथ्य बाइबलमा स्पष्टसित बताइएको छ। (यशैया ४६:९, १०) तथापि, भविष्यबारे थाह पाउने आफ्नो क्षमतालाई उहाँले नियन्त्रणमा राख्न सक्नुहुन्न वा सबै नतिजाका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ भनेर सोच्नु अतार्किक हो। उदाहरणका लागि, मानिलिनुहोस्, तपाईंसित असाध्यै धेरै शारीरिक बल छ। यसो हुँदैमा के तपाईंलाई आँखा अगाडि देखेजति सबै गह्रौं वस्तुहरू उचाल्दै हिंड्न मन लाग्छ र? पक्कै लाग्दैन! त्यसै गरी, परमेश्वरसित भविष्यबारे थाह पाउने क्षमता छ भन्दैमा यसले उहाँलाई सबै कुराबारे पहिल्यै थाह पाउन वा पूर्वनिर्धारित गर्न बाध्य पार्दैन। उहाँले पूर्वज्ञान विवेकशील वा बुद्धिमानी ढङ्गमा प्रयोग गर्नुहुन्छ।c कुरा स्पष्ट छ, पूर्वनिर्धारित भविष्य लगायत अन्य झूटा शिक्षाहरूले परमेश्वरको महिमा गर्दैन।
१४. कुन तरिकामा संगठित धर्मले परमेश्वरको अनादर गरेको छ?
१४ संगठित धर्मले परमेश्वरको अनादर गर्ने दोस्रो तरिका यसका अनुयायीहरूको आचरणद्वारा हो। मसीहीहरूले येशूका शिक्षाहरू पछ्याएको आशा गरिन्छ। अरू कुराहरूका साथै, येशूले आफ्ना अनुयायीहरूलाई ‘आपसमा प्रेम गर्न’ र ‘संसारको भाग नहुन’ सिकाउनुभयो। (यूहन्ना १५:१२; १७:१४-१६) मसीहीजगत्का पादरीहरू नि? के तिनीहरूले ती शिक्षा साँच्चै पछ्याएका छन्?
१५. (क) राष्ट्रहरूबीचको युद्धको सन्दर्भमा पादरीहरूले कस्तो रेकर्ड बसालेका छन्? (ख) पादरीहरूको आचरणले लाखौं मानिसहरूमा कस्तो असर पारेको छ?
१५ युद्धको सन्दर्भमा पादरीहरूले बसालेको रेकर्डलाई विचार गर्नुहोस्। तिनीहरूले राष्ट्रहरूबीचका थुप्रै युद्धहरूलाई समर्थन गरेका छन्, सहेका छन् र यसमा नेतृत्वसमेत लिएका छन्। तिनीहरूले सैनिक टुकडीहरूलाई आशिष् दिएका छन् र युद्धमा मार्नु उचित हो भनेर वकालत गरेका छन्। हामी यस्तो प्रश्न नसोधी रहनै सक्दैनौं: ‘तिनीहरूकै धर्म मान्ने विपक्षी समूहका पादरीहरूले पनि यसै गरिरहेका छन् भनेर के ती पादरीहरूलाई थाह छैन?’ (“परमेश्वर कसको पक्षमा हुनुहुन्छ?” भन्ने पेटी हेर्नुहोस्।) रक्तपिपासु युद्धहरूमा परमेश्वरको समर्थन छ भनी दाबी गरेर पादरीहरूले परमेश्वरको महिमा गर्दैनन्। न त तिनीहरूले बाइबलका स्तरहरू पुरानो भइसक्यो भनेर जस्तोसुकै प्रकारको यौन अनैतिकतालाई सहँदा नै उहाँको महिमा गर्छन्। तिनीहरूले हामीलाई साँच्चै येशूको समयका धार्मिक नेताहरूको सम्झना दिलाउँछन्, जसलाई येशूले “अधम काम गर्ने” र “अन्धा अगुवाहरू” भन्नुभयो! (मत्ती ७:१५-२३; १५:१४) यी पादरीहरूको आचरणले गर्दा लाखौं मानिसहरूमा परमेश्वरप्रतिको प्रेम सेलाएर गएको छ।—मत्ती २४:१२.
कसले साँच्चै परमेश्वरलाई महिमा दिइरहेका छन्?
१६. कसले साँच्चै परमेश्वरलाई महिमा दिइरहेका छन् भन्ने प्रश्नको जवाफ पाउन हामीले किन बाइबलमा हेर्नै पर्छ?
१६ संसारका प्रमुख तथा प्रभावशाली व्यक्तिहरू साधारणतया परमेश्वरलाई महिमा दिन चुकेका छन् भने कसले चाहिं साँच्चै त्यसो गरिरहेका छन् त? यस प्रश्नको जवाफको लागि हामीले बाइबलमा हेर्नै पर्छ। आखिर, आफूलाई कसरी महिमा दिनुपर्छ भनेर बताउने अधिकार परमेश्वरसित छ र उहाँले आफ्नो वचन, बाइबलमा यी स्तरहरू तोक्नुहुन्छ। (यशैया ४२:८) आउनुहोस्, परमेश्वरलाई महिमा दिने तीनवटा तरिका विचार गरौं र हरेक अवस्थामा आज कसले साँच्चै त्यसो गरिरहेका छन् भन्ने प्रश्नमाथि विचार गरौं।
१७. यहोवाको नाउँको महिमा गर्नु उहाँको इच्छाको अत्यावश्यक पक्ष हो भन्ने कुरा यहोवा आफैले कसरी सङ्केत गर्नुभयो र आज कसले पृथ्वीभरि परमेश्वरको नाउँको प्रशंसा गरिरहेका छन्?
१७ पहिलो, परमेश्वरको नाउँको प्रशंसा गरेर हामी उहाँको महिमा गर्न सक्छौं। यसो गर्नु परमेश्वरको इच्छाको अत्यावश्यक पक्ष हो भन्ने कुरा यहोवाले येशूलाई दिनुभएको जवाफले पुष्टि गर्छ। आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि येशूले यसरी प्रार्थना गर्नुभयो: “हे पिता, आफ्नो नाउँको महिमा गर्नुहोस्।” तब एउटा आवाजले यस्तो जवाफ दियो: “मैले महिमा गरेको छु, र फेरि महिमा गर्ने पनि छु।” (यूहन्ना १२:२८) यो आवाज पक्कै पनि यहोवा स्वयम्को थियो। उहाँको जवाफबाट यो प्रस्ट हुन्छ कि उहाँको नाउँको महिमा गर्नु उहाँको लागि महत्त्वपूर्ण छ। त्यसोभए, पृथ्वीभरि यहोवाको नाउँ अरूलाई थाह दिएर अनि त्यो नाउँको प्रशंसा गरेर आज कसले उहाँको महिमा गरिरहेका छन्? यहोवाका साक्षीहरूले, अनि तिनीहरूले २३५ मुलुकमा यसो गरिरहेका छन्!—भजन ८६:११, १२.
१८. परमेश्वरलाई “सत्यतामा” पुजिरहेका व्यक्तिहरू हामी कसरी चिन्न सक्छौं र कुन समूहले एक शताब्दीभन्दा लामो समयदेखि बाइबल सत्य सिकाइरहेको छ?
१८ दोस्रो, परमेश्वरबारे सत्य सिकाएर हामी उहाँको महिमा गर्न सक्छौं। साँचो उपासकहरूले परमेश्वरलाई “आत्मा र सत्यतामा” पुज्नेछन् भनी येशूले बताउनुभयो। (यूहन्ना ४:२४) परमेश्वरलाई “सत्यतामा” पुजिरहेका व्यक्तिहरू हामी कसरी चिन्न सक्छौं? तिनीहरूले बाइबलमा आधारित नभएका र परमेश्वर तथा उहाँको इच्छाको गलत प्रतिनिधित्व गर्ने सिद्धान्तहरू इन्कार गर्नै पर्छ। बरु, तिनीहरूले परमेश्वरको वचनका शुद्ध सत्यहरू सिकाउनै पर्छ, जस्तै: यहोवा मात्रै सर्वोच्च परमेश्वर हुनुहुन्छ र यो सर्वोच्च स्थानको महिमा उहाँलाई मात्र दिनुपर्छ (भजन ८३:१८, NW); येशू, परमेश्वरको पुत्र र परमेश्वरको मसीही राज्यको नियुक्त शासक हुनुहुन्छ (१ कोरिन्थी १५:२७, २८); परमेश्वरको राज्यले यहोवाको नाउँ पवित्र पार्नुका साथै यस पृथ्वी र मानवजातिका लागि उहाँले राख्नुभएका उद्देश्यहरू पूरा गर्नेछ (मत्ती ६:९, १०); परमेश्वरको राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनै पर्छ। (मत्ती २४:१४) एक शताब्दीभन्दा लामो समयदेखि एउटा मात्र समूहले विश्वासीपूर्वक यस्तो अमूल्य सत्य सिकाइरहेको छ र त्यो समूह हो—यहोवाका साक्षीहरू!
१९, २०. (क) मसीहीको असल आचरणले किन परमेश्वरको महिमा गर्न सक्छ? (ख) असल आचरण कायम राखेर आज कसले परमेश्वरलाई महिमा दिइरहेका छन् भन्ने कुरा ठम्याउन हामीलाई कस्ता प्रश्नहरूले मदत गर्न सक्छ?
१९ तेस्रो, परमेश्वरका स्तरहरू अनुरूप जीवन बिताएर हामी उहाँको महिमा गर्न सक्छौं। प्रेरित पत्रुसले यस्तो लेखे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।” (१ पत्रुस २:१२) कुनै मसीहीको आचरणले तिनको विश्वास झल्काउँछ। जब मानिसहरूले यो कुरा बुझ्छन् अर्थात् ती मसीहीको आचरण असल हुनुको कारण तिनको विश्वासले गर्दा नै रहेछ भन्ने कुरा याद गर्छन्, यसले परमेश्वरको महिमा गर्छ।
२० असल आचरण कायम राखेर आज कसले परमेश्वरलाई महिमा दिइरहेका छन्? अनि थुप्रै सरकारहरूले करहरू तिर्ने, शान्तिपूर्ण तथा नियमपालक नागरिकहरूको रूपमा कुन चाहिं धार्मिक समूहको प्रशंसा गरेका छन्? (रोमी १३:१, ३, ६, ७) जातीय, राष्ट्रिय र वर्गीय भिन्नताहरूको कुनै मतलब नराखी आफ्ना सँगी विश्वासीहरूबीच एकता प्रदर्शन गर्ने व्यक्तिहरूको रूपमा कसले संसारभरि नाउँ कमाएका छन्? (भजन १३३:१; प्रेरित १०:३४, ३५) नियम-कानुन, पारिवारिक मूल्यमान्याताहरू र बाइबल नैतिकताप्रति सम्मान जगाउने बाइबलसम्बन्धी शैक्षिक कार्यको लागि कुन चाहिं समूह संसारभरि चिरपरिचित छ? यी र अन्य क्षेत्रहरूमा तिनीहरूको असल आचरण स्वयम्ले नै यसको प्रमाण दिने एउटै मात्र समूह छ र त्यो समूह हो—यहोवाका साक्षीहरू!
के तपाईंले परमेश्वरलाई महिमा दिइरहनुभएको छ?
२१. हामीले व्यक्तिगत तवरमा परमेश्वरलाई महिमा दिइरहेका छौं कि छैनौं भनेर किन विचार गर्नुपर्छ?
२१ हामी प्रत्येकले आफूलाई यस्तो प्रश्न सोध्नु बेस हुन्छ, ‘के मैले व्यक्तिगत तवरमा परमेश्वरलाई महिमा दिइरहेको छु?’ भजन १४८ अनुसार अधिकांश सृष्टिले परमेश्वरलाई महिमा दिन्छन्। स्वर्गदूतहरू, आकाश, पृथ्वी र यसमा भएका जनावरहरू सबैले यहोवाको प्रशंसा गर्छन्। (पद १-१०) तर आजका अधिकांश मानिसहरूले चाहिं यसो नगर्नु कत्ति दुःखलाग्दो कुरा हो! परमेश्वरलाई महिमा दिने ढङ्गमा जीवन बिताएर तपाईं पनि यहोवाको प्रशंसा गर्ने अरू सृष्टिहरूजस्तै हुन सक्नुहुन्छ। (पद ११-१३) आफ्नो जीवनको सदुपयोग गर्ने योभन्दा उत्तम मार्ग अरू छैन।
२२. यहोवालाई महिमा दिएर तपाईं कुन-कुन तरिकामा आशिष्हरू पाउन सक्नुहुन्छ र तपाईंको कटिबद्धता कस्तो हुनुपर्छ?
२२ यहोवालाई महिमा दिएर तपाईं थुप्रै तरिकामा आशिष्हरू पाउन सक्नुहुन्छ। ख्रीष्टको छुडौतीको बलिदानप्रति विश्वास खेती गर्दा स्वर्गमा बस्नुहुने तपाईंको पितासित शान्तिमय र फलदायी सम्बन्धको आनन्द उठाउँदै तपाईं परमेश्वरसित मिलापमा रहनुहुन्छ। (रोमी ५:१०) परमेश्वरलाई महिमा दिनुपर्ने कारणहरूबारे विचार गर्दा तपाईं अझ सकारात्मक र कृतज्ञ बन्नुहुन्छ। (यर्मिया ३१:१२) त्यसपछि, तपाईं अरूलाई आनन्ददायी र उद्देश्यपूर्ण जीवन बिताउन मदत गर्न सक्नुहुन्छ, यसो गर्दा तपाईं आफैले पनि अझ ठूलो आनन्द पाउनुहुनेछ। (प्रेरित २०:३५) अहिले र सदासर्वदै परमेश्वरलाई महिमा दिन कटिबद्ध व्यक्तिहरूमध्ये तपाईं पनि हुन सकून्!
[फुटनोटहरू]
a “बायोमिमेटिक्स” भन्ने पदावली “जीवन” र “अनुकरण” भन्ने अर्थ लाग्ने युनानी शब्दहरू बायोस् र मिमेसिस्-बाट आएको हो।
b भौतिक आकाशले कसरी परमेश्वरको बुद्धि र शक्ति झल्काउँछ भन्ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ड्र क्लोज टु जेहोभा पुस्तकको अध्याय ५ र १७ हेर्नुहोस्।
c यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स-को खण्ड १, पृष्ठ ८५३ हेर्नुहोस्।
के तपाईंलाई याद छ?
• साधारणतया वैज्ञानिकहरूले मानिसहरूलाई परमेश्वरको महिमा गर्न मदत दिएका छैनन् भनेर हामी किन भन्न सक्छौं?
• संगठित धर्मले परमेश्वरलाई महिमा दिनदेखि मानिसहरूलाई कुन दुई तरिकामा रोकेको छ?
• कुन-कुन तरिकामा हामी परमेश्वरको महिमा गर्न सक्छौं?
• तपाईंले व्यक्तिगत तवरमा परमेश्वरलाई महिमा दिइरहनुभएको छ कि छैन भनेर किन विचार गर्नुपर्छ?
[पृष्ठ १२-मा भएको पेटी]
“परमेश्वर कसको पक्षमा हुनुहुन्छ?”
दोस्रो विश्वयुद्धको दौडान जर्मन वायुसेनामा काम गरेका तर पछि यहोवाका साक्षी बनेका एक जना व्यक्ति यसरी सम्झन्छन्:
“युद्ध चलिरहेका वर्षहरूमा . . . बम खसाल्नको लागि विमानहरूले उडान भर्नुअघि क्याथोलिक, लुथरन, इपिस्कोपल र त्यस्तै अरू लगायत प्रायजसो सबै सम्प्रदायका पादरीहरूले विमान र त्यसमा भएका सिपाहीहरूलाई आशिष् दिएको देख्दा म अलमल्लमा पर्थें। ‘परमेश्वर कसको पक्षमा हुनुहुन्छ?’ भनेर म अक्सर सोच्ने गर्थें।
“जर्मन सिपाहीहरूले गट मिट उन्स् (परमेश्वर हामीसित हुनुहुन्छ) भन्ने शब्दहरू कुँदिएको पेटी लगाउँथे। तर मेरो मनमा यस्तो प्रश्न उठ्थ्यो, ‘एउटै धर्म मान्ने र एउटै परमेश्वरलाई उपासना गर्ने अर्को पक्षका सिपाहीहरूसित चाहिं परमेश्वर हुनुहुन्न र?’ ”
[पृष्ठ १०-मा भएको चित्र]
पृथ्वीभरि, यहोवाका साक्षीहरूले परमेश्वरलाई साँच्चै महिमा दिइरहेका छन्