जे जे सिजरका हुन् सिजरलाई दिने
“तिर्नु पर्ने कुरा सबैलाई तिर।”—रोमी १३:७.
१, २. (क) येशूको भनाइअनुसार मसीहीहरूले कसरी परमेश्वर र सिजरप्रतिको दायित्वलाई सन्तुलित गर्नुपर्छ? (ख) यहोवाका साक्षीहरूले कुन कुरालाई प्रथम स्थान दिनुपर्छ?
येशू मसीहले बताउनुभएअनुसार हामीले परमेश्वरलाई दिनुपर्ने कुरा र सिजर वा सरकारलाई दिनुपर्ने कुराहरू छन्। येशूले भन्नुभयो: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” यी थोरै शब्दहरूद्वारा उहाँले आफ्ना शत्रुहरूलाई अलमल्ल पार्नुभयो। अनि परमेश्वरसितको सम्बन्ध र सरकारसितको व्यवहारप्रति हामीले राख्नुपर्ने सन्तुलित मनोवृत्तिको सार बताउनुभयो। अतः उहाँका कुरा सुन्नेहरूले ‘साह्रै अचम्म मान्नु’ कुनै छक्कलाग्दो कुरो होइन!—मर्कूस १२:१७.
२ निस्सन्देह, यहोवाका सेवकहरूले परमेश्वरको चीज परमेश्वरलाई दिनु सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्छन्। (भजन ११६:१२-१४) तथापि, यसो गर्दा येशूले भन्नुभएझैं सिजरलाई दिनुपर्ने कुरा दिन तिनीहरू भुल्दैनन्। बाइबल-प्रशिक्षित अन्तस्करणअनुसार सिजरलाई कुन हदसम्म तिर्नुपर्छ, त्यसलाई तिनीहरूले प्रार्थनापूर्वक विचार गर्नु खाँचो छ। (रोमी १३:७) आधुनिक समयमा थुप्रै कानुनवेत्ताहरूले सरकारी शक्तिको सीमा छ र सबै मानिस तथा सरकारहरूलाई प्राकृतिक नियमले बाँधेको हुन्छ भनेर मानि लिएका छन्।
३, ४. प्राकृतिक नियम, प्रकटित नियम र मानव नियमबारे कस्ता चाखलाग्दा टिप्पणीहरू गरिएका छन्?
३ प्रेरित पावलले संसारका मानिसहरूबारे लेख्दा यस प्राकृतिक नियमको यसरी उल्लेख गरे: “परमेश्वरको विषयमा जान्नु पर्ने कुरो तिनीहरूमा प्रकट भएको छ, किनकि परमेश्वरले तिनीहरूलाई प्रकट गरिदिनुभएको छ। किनकि उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन।” यो कुरा स्वीकारेमा यस प्राकृतिक नियमले अविश्वासीहरूको अन्तस्करणलाई समेत प्रेरित गर्नेछ। तसर्थ, पावल अझ भन्छन्: “व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन् भने, तिनीहरूका व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था छन्, यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्नेगर्छन्।”—रोमी १:१९, २०; २:१४, १५.
४ अठारौं शताब्दीतिर प्रख्यात बेलाइती न्यायशास्त्री विलियम ब्ल्याकस्टोनले लेखे: “यो प्रकृतिको नियम [प्राकृतिक नियम] मानवजातिसित समसामयिक [एकै युगको] हुनाका साथै परमेश्वर स्वयंले आदेश दिनुभएको हुनाले निस्सन्देह यो अरू कुनै पनि नियमभन्दा उच्च छ। यो हर समय सारा विश्वका सारा देशहरूमा लागू हुन्छ। प्रकृतिको नियम उल्लंघन हुने कुनै पनि मानव नियम बेकार छ।” बाइबलमा “प्रकट भएको नियम[बारे]” ब्ल्याकस्टोनले यसरी टिप्पणी गरे: “प्रकृतिको नियम र बाइबलमा प्रकट गरिएको नियम, यी दुइ आधारहरूमा मानव नियमहरू निर्भर छन्। त्यसैले यी नियमहरूको विरोध गर्न कुनै मानव नियमहरूलाई छुट दिनु हुँदैन।” यो कुरा येशूले मर्कूस १२:१७ मा भन्नुभएको कुरासित मेल खान्छ। स्पष्टतया, सिजरले एक मसीहीबाट के माग गर्नसक्छ, त्यसको परमेश्वरले सीमा तोक्नुहुन्छ। महासभाले प्रेरितहरूलाई येशूको नाउँमा प्रचार नगर्नू भनी आज्ञा दिएर परमेश्वरले तोक्नुभएको सीमा नाघेको थियो। त्यसैले प्रेरितहरूले यस्तो सही जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।”—प्रेरित ५:२८, २९.
“परमेश्वरको चीज”
५, ६. (क) परमेश्वरको सरकार सन् १९१४ मा जन्मिसकेको हुनाले मसीहीहरूले के कुरा मनमा राख्नुपर्छ? (ख) आफू सेवक भनेर एक जना मसीहीले कसरी पुष्टि गर्छन्?
५ मुख्यतः सर्वशक्तिमान यहोवा परमेश्वरले ख्रीष्टको मसीही सरकार मार्फत राजाको हैसियतमा सन् १९१४ देखि शासन गर्न थाल्नुभएदेखि परमेश्वरको चीज सिजरलाई नदिन मसीहीहरू दृढ हुनुपऱ्यो। (प्रकाश ११:१५, १७) परमेश्वरको नियमले मसीहीहरूलाई ‘संसारको भाग नहुन’ पहिलेभन्दा झन् बढी आग्रह गर्छ। (यूहन्ना १७:१६) आफ्नो जीवनदाता परमेश्वरप्रति समर्पित भइसकेको हुँदा आफू आफ्नो इच्छाअनुरूप होइन तर परमेश्वरको इच्छाअनुरूप चल्छौं भन्ने कुरा तिनीहरूले स्पष्टसित प्रदर्शन गर्नैपर्छ। (भजन १००:२, ३) पावलले लेखेझैं “हामी प्रभुकै हौं।” (रोमी १४:८) यसबाहेक, मसीहीलाई बप्तिस्मा दिंदा तिनलाई परमेश्वरको सेवकको रूपमा नियुक्त गरिन्छ। तसर्थ, तिनले पावलसितै यसो भन्नसक्छन्: “[परमेश्वरले] . . . सेवकलाई झैं हामीलाई पनि योग्यको बनाउनुभयो।”—२ कोरिन्थी ३:५, ६.
६ प्रेरित पावलले यस्तो पनि लेखे: “म मेरो सेवामा घमण्ड [महिमा, NW] गर्दछु।” (रोमी ११:१३) निश्चय हामीले पनि त्यस्तै गर्नुपर्छ। हाम्रो सेवकाई चाहे पूर्ण-समय होस् वा अर्ध-समय, यहोवाले नै हामीलाई सेवकाईमा खटाउनुभएको हो भनेर सोच्नुपर्छ। (२ कोरिन्थी २:१७) केहीले हाम्रो अडानमाथि चुनौती खडा गर्लान्। तसर्थ, समर्पित तथा बप्तिस्माप्राप्त प्रत्येक मसीही आफू साँच्चै नै सुसमाचार सुनाउने सेवक हो भन्ने स्पष्ट र सकारात्मक प्रमाण पेश गर्न तयार हुनैपर्छ। (१ पत्रुस ३:१५) उसको आचरणमा पनि सेवकाईको प्रमाण झल्किनुपर्छ। परमेश्वरको सेवकको हैसियतमा मसीहीले स्वच्छ नैतिकता तथा पारिवारिक एकता कायम राख्नुपर्छ, इमानदार हुनुपर्छ र नियम तथा आदेशहरू पालन गर्नुपर्छ। (रोमी १२:१७, १८; १ थिस्सलोनिकी ५:१५) मसीहीले यहोवा परमेश्वरसितको सम्बन्ध र परमेश्वरद्वारा प्राप्त सेवकाईलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्नुपर्छ। सिजरले आदेश दिंदैमा उसले यी कुराहरूलाई त्याग्दैन। स्पष्टतया, ती कुराहरू “परमेश्वरको चीज[मा]” सम्मिलित छन्।
“सिजरको चीज”
७. कर तिर्ने सन्दर्भमा यहोवाका साक्षीहरूले कस्तो नाउँ कमाएका छन्?
७ “उच्च अख्तियारवालाहरू” अर्थात् सरकारी शासकहरूको अधीनमा बस्नुपर्छ भनेर यहोवाका साक्षीहरूलाई थाह छ। (रोमी १३:१) तसर्थ, सिजर अर्थात् सरकारले वैध माग गर्दा आफ्नो बाइबल-प्रशिक्षित अन्तस्करणअनुसार तिनीहरूले ती मागहरू पूरा गर्छन्। उदाहरणका लागि, पृथ्वीमा अति इमानदारीसाथ कर तिर्नेहरूमध्ये साँचो मसीहीहरू पर्छन्। जर्मनीको समाचारपत्र मुयेन्कनेर मरकुर-ले यहोवाका साक्षीहरूबारे यसो भन्यो: “संघीय गणतन्त्रमा तिनीहरू सबैभन्दा इमानदार छन् अनि ठीक समयमा कर तिर्छन्।” इटालीको समाचारपत्र ला स्टाम्पा-ले यस्तो अवलोकन प्रस्तुत गऱ्यो: “तिनीहरू [यहोवाका साक्षीहरू] सबैले चाहेको जस्तै अति वफादार नागरिक हुन्। तिनीहरू कर वा आफ्नो फाइदाको लागि अप्ठ्यारो नियमहरू छल्दैनन्।” यहोवाका सेवकहरूले आफ्नो “अन्तस्करणको निम्ति” यसो गर्छन्।—रोमी १३:५, ६.
८. के सिजरको चीज कर तिर्नुसम्म मात्र सीमित छ?
८ “सिजरको चीज” के कर तिर्नुसम्म मात्र सीमित छ? छैन। पावलले डर र आदरजस्ता अन्य कुराहरू पनि सूचीबद्ध गरे। मत्तीको सुसमाचारबारे आलोचनात्मक तथा विवरणात्मक पुस्तिका-मा (अंग्रेजी) जर्मन शास्त्रविद् हिन्रिक मेयरले यसरी लेखे: “[सिजरको चीज] भन्नाले . . . निजामती कर मात्र भनेर हामीले बुझ्नु हुँदैन। तर तिनको वैध शासनअन्तर्गत तिनले पाउनुपर्ने सम्पूर्ण अधिकारलाई यसले देखाउँछ।” आफ्नो पुस्तक मसीही धर्मको उत्थान-मा (अंग्रेजी) इतिहासकार इ. डब्ल्यु. ब्रान्जले के लेखे भने, मसीहीले तिर्नुपर्ने कर तिर्छन् अनि “त्यसरी नै तिनले केवल परमेश्वरलाई दिनुपर्ने कुरा सिजरलाई दिने माग गरेमा चाहिं सरकारप्रतिको सो दायित्वहरू स्वीकार गर्दैनन्।”
९, १०. सिजरलाई तिर्नुपर्नेबारे कस्तो संकोच मसीहीहरूमा उत्पन्न हुनसक्छ तर के कुरा मनमा राख्नुपर्छ?
९ परमेश्वरको अधिकारमा भएको चीजलाई दखल नगरी सरकारले माग गर्नसक्ने कुराहरू के हुन्? केहीले सिजरलाई वैधतापूर्वक कर तिर्नुबाहेक अरू केही दिन सकिंदैन भनेर सोचेका छन्। निस्सन्देह, ईश्वरतान्त्रिक क्रियाकलापमा लगाउन सकिने समय सिजरलाई दिनु परेमा तिनीहरूको अन्तस्करणले मान्नेछैन। हो, हामीले ‘परमेश्वरलाई आफ्ना सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्नुपर्छ।’ यद्यपि, पवित्र सेवाबाहेक अरू कुराहरूमा पनि हामीले समय बिताओस् भनी यहोवा आशा गर्नुहुन्छ। (मर्कूस १२:३०; फिलिप्पी ३:३) उदाहरणका लागि, आफ्नो पति वा पत्नीलाई खुशी पार्न समय बिताउनू भनेर मसीहीलाई सल्लाह दिइएको छ। यस्ता क्रियाकलापहरू गलत होइनन् तर प्रेरित पावलले ती “प्रभुकै कुरा” होइनन् बरु “संसारको कुरा” हुन् भनी बताए।—१ कोरिन्थी ७:३२-३४; तुलना गर्नुहोस् १ तिमोथी ५:८.
१० यसबाहेक, ख्रीष्टले आफ्ना अनुयायीहरूलाई करहरू “तिर्नू” भनेर अधिकार दिनुभएको थियो। निश्चय, यसमा परमेश्वरप्रति समर्पित समय प्रयोग गर्नु सम्मिलित छ। किनभने हाम्रो सम्पूर्ण जीवन नै परमेश्वरप्रति समर्पित छ। कुनै देशमा औसतन कर आयस्रोतको ३३ प्रतिशत छ भने (केही देशहरूमा योभन्दा धेरै छ) यसको अर्थ एक कामदारले वर्षेनी आफ्नो कमाइको एक तिहाइ हिस्सा राज्यकोषलाई बझाउनुपर्छ। अर्को शब्दमा भन्ने हो भने, एक कामदारले आफूले जागिर खाएको समयावधिभित्र लगभग १५ वर्ष त “सिजर[को]” कर तिर्नुमा बिताएको हुनेछ। शिक्षाबारे पनि विचार गर्नुहोस्। अधिकांश देशहरूको नियमअनुसार आमाबाबुले छोराछोरीलाई नियमले तोकेको समयावधिसम्म स्कूलको शिक्षा दिनुपर्छ। शिक्षाको यो अवधि बेग्लाबेग्लै देशमा बेग्लाबेग्लै हुन्छ। संयुक्त राज्यमा त यो नियम प्रान्त-प्रान्तअनुसार बेग्लाबेग्लै छ। तथापि, अधिकांश ठाउँहरूमा यो अवधि धेरै लामो हुन्छ। हो, यस्तो शिक्षा साधारणतया लाभदायी नै हुन्छ। तर बच्चाले कति वर्ष स्कूलमा बिताउनुपर्छ, त्यसको निर्णय सिजरले गर्छ। अनि मसीही आमाबाबुहरूले सिजरको आज्ञा पालन गर्छन्।
अनिवार्य सैनिक सेवा
११, १२. (क) थुप्रै मुलुकहरूमा सिजरले कस्तो माग गर्छ? (ख) सैनिक सेवाप्रति प्रारम्भिक मसीहीहरूको कस्तो दृष्टिकोण थियो?
११ केही देशहरूमा सिजरले गर्ने अर्को माग हो अनिवार्य सैनिक सेवा। यस २० औं शताब्दीमा लडाइँको समयमा अधिकांश राष्ट्रहरूले यसको प्रबन्ध गरेका छन् भने केही राष्ट्रहरूले लडाइँ नभएको समयमा समेत यस्तो प्रबन्ध गरेका छन्। फ्रान्समा यो दायित्वलाई धेरै वर्षसम्म रक्त कर भनिन्थ्यो। त्यसको अर्थ, प्रत्येक युवक राज्यको लागि आफ्नो जीवन बलिदान दिन इच्छुक हुनुपर्थ्यो। यहोवाप्रति समर्पित जनहरूले के यो कुरा शुद्ध अन्तस्करणकासाथ गर्नसक्छन्? यसबारे प्रथम शताब्दीका मसीहीहरूको दृष्टिकोण कस्तो थियो?
१२ प्रारम्भिक मसीहीहरूले असल नागरिक बन्ने प्रयास गरे तापनि आफ्नो विश्वासअनुरूप तिनीहरूले अरूको ज्यान लिएनन् न त सरकारको खातिर आफ्नो जीवन नै बलिदान गरे। धर्मको विश्वकोश-ले (अंग्रेजी) बताउँछ: “मसीहीहरूलाई मानव हत्या गर्न निषेध गरिएको थियो भनेर तरतुलियन तथा ओरिजेनलगायत प्रारम्भिक चर्चका प्रमुखहरूले स्वीकारे। र त्यही सिद्धान्तले मसीहीहरूलाई रोमी सेनामा भर्ना हुनदेखि रोक्यो।” आफ्नो पुस्तक प्रारम्भिक चर्च र संसार-मा (अंग्रेजी) प्राध्यापक सी. जे. काडु लेख्छन्: “मार्कस अरिलियसले शासन गर्नुअघिसम्म [सा.यु. १६१-१८०] मसीहीहरू बप्तिस्मा लिएपछि कुनै हालतमा पनि सैनिक बन्दैनन् थिए।”
१३. सैनिक सेवाप्रति मसीहीजगतको अधिकांश दृष्टिकोण किन प्रारम्भिक मसीहीहरूको जस्तो छैन?
१३ आज मसीहीजगतका चर्चहरूले किन यसप्रकारको दृष्टिकोण राख्दैनन्? चौथौं शताब्दीमा भएको आमूल परिवर्तनले गर्दा। मसीही परिषद्को इतिहास (अंग्रेजी) नामक क्याथोलिक प्रकाशनले बयान गर्छ: “गैरमसीही सम्राटहरूको शासनअन्तर्गत सैनिक सेवाबारे अधिकांश मसीहीहरू धार्मिक तवरमा अटल थिए। तिनीहरूले सैनिक सेवा गर्न अस्वीकार गरे तथा सैनिक सेवा छाडे। कन्सटेन्टाइनले गरेको परिवर्तनबारे विचारविमर्श गर्न चर्चद्वारा आयोजित सभाले [सा.यु. ३१४ मा, आर्लका] मसीहीहरूमाथि एउटा नयाँ दायित्व थप्यो। त्यो थियो, मसीहीहरूले युद्धमा भाग लिनैपर्ने। किनभने सम्राट मसीहीहरूको मित्र भएको छ।” त्यसरी येशूका शिक्षाहरूलाई लत्याएदेखि अहिलेसम्म मसीहीजगतका पादरीहरूले आफ्नो बगाललाई राष्ट्रहरूको सैन्य सेवामा लाग्न प्रोत्साहन दिंदै आएका छन्। यद्यपि, यसबारे नैतिक वा धार्मिक सिद्धान्तको आधारमा केही व्यक्तिहरूले विरोध गरेका छन्।
१४, १५. (क) केही ठाउँहरूमा मसीहीहरूले कुन आधारमा सैनिक सेवाबाट छुट पाउने दाबी गर्छन्? (ख) छुट उपलब्ध नहुँदा सैनिक सेवाबारे सही निर्णय लिन मसीहीहरूलाई कुन धर्मशास्त्रीय सिद्धान्तहरूले मदत दिन्छन्?
१४ यस सन्दर्भमा के अधिकांश मानिसले गरेझैं मसीहीहरूले पनि त्यस्तै गर्नुपर्छ? पर्दैन। धर्मका सेवकहरूलाई सैनिक सेवाबाट छुट दिएको देशमा बसोबास गर्ने समर्पित तथा बप्तिस्माप्राप्त मसीहीले त्यस प्रबन्धको फाइदा उठाउनसक्छन्। किनभने वास्तवमा तिनी सेवक हुन्। (२ तिमोथी ४:५) संयुक्त राज्य तथा अस्ट्रेलियालगायत थुप्रै देशहरूले युद्धको समयमा समेत यस्तो छुट दिएका छन्। लडाइँ नभएको समयमा पनि सैनिक सेवालाई अनिवार्य बनाउने मुलुकहरूले यहोवाका साक्षीहरूलाई धर्मका सेवकहरूको हैसियतमा छुट दिएका छन्। ताकि तिनीहरूले जनसेवकाईद्वारा मानिसहरूलाई निरन्तर मदत दिइरहन सकून्।
१५ तर धर्मका सेवकहरूलाई छुट नदिने मुलुकमा बस्ने मसीहीहरूबारे नि? त्यस्तो अवस्थामा बाइबल-प्रशिक्षित अन्तस्करणअनुरूप तिनीहरूले व्यक्तिगत निर्णय गर्नुपर्छ। (गलाती ६:५) सिजरको अख्तियार अनि यहोवालाई दिनुपर्ने चीजलाई तिनले होशियारीसाथ तौलनुपर्छ। (भजन ३६:९; ११६:१२-१४; प्रेरित १७:२८) साँचो मसीहीहरूको चिनारी सँगी विश्वासीहरूप्रतिको प्रेम हो भनेर मसीहीहरूले सम्झनुपर्छ। चाहे ती सँगी विश्वासीहरू अन्य मुलुकका होऊन् या अर्को जातिका होऊन् तिनीहरूले प्रेम गर्नुपर्ने कुरा मनमा राख्छन्। (यूहन्ना १३:३४, ३५; १ पत्रुस २:१७) यसबाहेक, यशैया २:२-४; मत्ती २६:५२; रोमी १२:१८; १४:१९; २ कोरिन्थी १०:४; र हिब्रू १२:१४ जस्ता पदहरूमा पाइने धर्मशास्त्रीय सिद्धान्तहरूलाई तिनीहरूले भुल्नेछैनन्।
निजामती सेवा
१६. केही मुलुकहरूमा सैनिक सेवा अस्वीकार गर्नेहरूबाट सिजरले कस्तो गैरसैनिक सेवाको माग गर्छ?
१६ तथापि, धर्मका सेवकहरूलाई छुट नदिए तापनि केही व्यक्तिहरूले सैनिक सेवा नकार्नसक्छन् भनी स्वीकार गर्ने मुलुकहरू छन्। यी मुलुकहरूमध्ये थुप्रैले यस्ता नैतिक वा धार्मिक सिद्धान्तको आधारमा सैनिक सेवा इन्कार गर्ने व्यक्तिहरूलाई सैनिक सेवामा बलजफती नलगाउने प्रबन्ध मिलाएका छन्। समुदायका लागि लाभदायी हुने जस्ता आवश्यक निजामती सेवालाई केही ठाउँहरूमा गैरसैनिक राष्ट्रिय सेवा मानिन्छ। के एक समर्पित मसीहीले यस्तो सेवा गर्नसक्छन्? यहाँ फेरि, समर्पित तथा बप्तिस्माप्राप्त मसीहीले बाइबल-प्रशिक्षित अन्तस्करणको आधारमा आफैले निर्णय गर्नुपर्छ।
१७. गैरसैनिक सेवाको लागि बाइबलमा कुनै उदाहरण छ?
१७ बाइबलको समयमा अनिवार्य सेवा प्रचलित थियो जस्तो देखिन्छ। एउटा इतिहास पुस्तकले बताउँछ: “यहूदियाका बासिन्दाहरूबाट कर र ऋण उठाउनु बाहेक सरकारी [अख्तियारवालाहरूले ज्याला नदिइ श्रममा लगाउँथे]। यो मध्य-पूर्वको पुरातन प्रथा थियो। यसलाई युनानी र रोमी अख्तियारवालाहरूले पनि कायम राखे। . . . नयाँ नियमले पनि यहूदियामा कर सट्टाभर्ना गर्न श्रमिक बनाउने प्रथाको उदाहरण प्रस्तुत गर्दै यसको व्यापकतालाई देखाउँछ। यसै प्रथाअनुसार सिपाहीहरूले साइरिनीको शिमोनलाई येशूको क्रूस (यातनाको शूली) बोक्न लगाए। (मत्ती ५:४१; २७:३२; मर्कूस १५:२१; लूका २३:२६)।”
१८. कस्ता गैरसैनिक, गैरधार्मिक सामुदायिक सेवाहरूमा यहोवाका साक्षीहरूले अक्सर भाग लिन्छन्?
१८ त्यस्तैप्रकार केही देशहरूमा सरकार वा स्थानीय अख्तियारवालाहरूले नागरिकहरूलाई सामुदायिक सेवाहरू गर्न लाउँछन्। कहिलेकाहीं यी सेवाहरू इनार खन्ने वा सडक बनाउने जस्ता विशेष कामको लागि गरिन्छन्। कुनै कुनै बेला यो साप्ताहिक तवरमा सडक, स्कूल वा अस्पताल आदि सफासुग्घर गर्ने जस्ता नियमित सेवाहरू हुन्छन्। यस्तो निजामती सेवा समुदायको लागि लाभदायी छ तथा झूटो धर्मसित सम्बन्धित छैन वा आफ्नो अन्तस्करण दूषित नपार्ने खालका हुँदा यहोवाका साक्षीहरूले त्यसमा भाग लिएका छन्। (१ पत्रुस २:१३-१५) यसको परिणामस्वरूप, अद्भुत साक्षीकार्य भएको छ अनि कहिलेकाहीं साक्षीहरूलाई सरकारको विरोधी भनी दोष लगाउनेहरूको मुख यसले बन्द गरेको छ।—तुलना गर्नुहोस् मत्ती १०:१८.
१९. केही समयको लागि सिजरले गैरसैनिक राष्ट्रिय सेवा गर्न लाउँदा एक जना मसीहीले त्यसलाई कसरी लिनुपर्छ?
१९ यद्यपि, सरकारले एक जना मसीहीलाई निजामती सेवा स्वरूप केही समय सरकारी प्रशासनअन्तर्गत बसेर राष्ट्रिय सेवा गर्न लाउँछ भने के गर्ने? यस्तो बेला फेरि मसीहीहरूले सुसूचित अन्तस्करणको आधारमा निर्णय गर्नुपर्छ। “हामी सबै परमेश्वरको न्याय-आसनको सामने खड़ा हुनेछौं।” (रोमी १४:१०) सिजरको आवश्यकता पूरा गर्नुपर्दा मसीहीले प्रार्थनापूर्वक अध्ययन तथा मनन गर्नुपर्छ।a मण्डलीका परिपक्व मसीहीहरूसित यसबारे कुरा गर्नु बुद्धिमतापूर्ण हुनसक्छ। त्यसपछि आफैले निर्णय गर्नैपर्छ।—हितोपदेश २:१-५; फिलिप्पी ४:५.
२०. गैरसैनिक राष्ट्रिय निजामती सेवाबारे मनन गर्न एक जना मसीहीलाई कुन प्रश्न तथा धर्मशास्त्रीय सिद्धान्तहरूले मदत दिन्छन्?
२० यसरी जाँचपड्ताल गर्दा मसीहीहरूले थुप्रै बाइबल सिद्धान्तहरू विचार गर्नसक्छन्। हामीलाई “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी . . . कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू” भनेर पावलले भने। (तितस ३:१, २) त्यस्तैप्रकारले प्रस्तावित निजामती कामको मसीहीहरूले राम्ररी जाँच गर्नु बेस हुनेछ। तिनीहरूले यो काम स्वीकारेर के मसीही निष्ठा कायम राख्नसक्छन्? (मीका ४:३, ५; यूहन्ना १७:१६) के यसले तिनीहरूलाई झूटा धर्महरूको सम्पर्कमा ल्याउँछ? (प्रकाश १८:४, २०, २१) के यसले तिनीहरूलाई मसीही जिम्मेवारीहरू पूरा गर्न रोक्नेछ वा नचाहिंदो बाधा ल्याउनेछ? (मत्ती २४:१४; हिब्रू १०:२४, २५) अर्कोतिर, सरकारले मागेको सेवा गर्दा समेत के तिनीहरू पूर्ण-समय सेवा गर्दै आध्यात्मिक उन्नति गरिरहन सक्छन् कि?—हिब्रू ६:११, १२.
२१. गैरसैनिक राष्ट्रिय निजामती सेवाबारे एक भाइले जस्तोसुकै निर्णय गरे तापनि तिनीप्रति मण्डलीको दृष्टिकोण कस्तो हुनुपर्छ?
२१ एक मसीहीले यी प्रश्नहरूको जवाफ इमानदारीसाथ खोज्दा अख्तियारवालाहरूको आज्ञा पालनको लागि गर्न सकिने “असल काम” राष्ट्रिय निजामती सेवा हो भनेर तिनले निष्कर्ष निकाल्यो भने के गर्ने? यहोवाको सामने यो तिनको आफ्नै निर्णय हो। नियुक्त प्राचीनहरू र अरूले त्यस भाइको यस्तो अन्तस्करणको आदर गर्नुपर्छ अनि असल मसीही नै ठान्नुपर्छ। तथापि, एक जना मसीहीले निजामती सेवा गर्न सकिन्न भनेर सोचे भने पनि तिनको अडानलाई आदर गर्नुपर्छ। तिनी असल अडान भएको व्यक्ति नै रहनेछन् र मायालु समर्थन प्राप्त गर्नेछन्।—१ कोरिन्थी १०:२९; २ कोरिन्थी १:२४; १ पत्रुस ३:१६.
२२. परिस्थिति जस्तोसुकै भए तापनि हामी के गरिरहनेछौं?
२२ मसीहीको हैसियतमा हामीले “आदर गर्नु पर्नेलाई आदर” गर्न छाड्नु हुँदैन। (रोमी १३:७) हामी राम्रो व्यवस्थाको आदर गर्नेछौं अनि शान्तिमय तथा नियमपालक नागरिक बन्ने कोसिस गर्नेछौं। (भजन ३४:१४) हाम्रो मसीही जीवन र कामलाई असर गर्ने निर्णय “राजाहरू र उच्च पदाधिकारीहरू[ले]” गर्दा तिनीहरूका लागि पनि हामी प्रार्थना गर्नसक्छौं। सिजरको चीज सिजरलाई दिनुको परिणामस्वरूप “सब प्रकारका भक्ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाउने” आशा गर्छौं। (१ तिमोथी २:१, २) सबैभन्दा मुख्य कुरा, कर्तव्यनिष्ठ भई परमेश्वरको चीज परमेश्वरलाई दिएर हामी मानिसजातिको एक मात्र आशाको रूपमा परमेश्वरको सरकारको सुसमाचार प्रचार गरिरहनेछौं।
[फुटनोट]
a प्रहरीधरहरा, (अंग्रेजी) मे १५, १९६४, पृष्ठ ३०८, अनुच्छेद २१ हेर्नुहोस्।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ सिजर र यहोवासितको सम्बन्धलाई तुलना गर्दा मसीहीले कुन कुरालाई प्रथम स्थान दिनुपर्छ?
◻ हामीले यहोवालाई दिनुपर्ने तर सिजरलाई कहिल्यै दिन नसक्ने कुरा के हो?
◻ हामीले सिजरलाई दिनसक्ने केही उचित कुराहरू के हुन्?
◻ अनिवार्य सैनिक सेवाको विषयमा सही निर्णय गर्न कुन शास्त्रपदहरूले हामीलाई मदत दिन्छन्?
◻ गैरसैनिक राष्ट्रिय निजामती सेवा गर्न माग गरिएमा हामीले मनमा राख्नुपर्ने केही कुराहरू के हुन्?
◻ यहोवा र सिजरसम्बन्धी कुन कुरा हामी गरिरहनेछौं?
पृष्ठ १६, १७-मा भएको चित्र]
प्रेरितहरूले महासभालाई भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ”