संसारलाई ध्यानमा राख्दै बुद्धिमानीपूर्वक हिंड्नु
“बाहिर रहेकाहरूतर्फ . . . बुद्धिमानीसाथ चल।”—कलस्सी ४:५.
१. सुरु-सुरुका मसीहीहरूले कुन कुराको सामना गर्नुपऱ्यो र प्रेरित पावलले कलस्सीको मण्डलीलाई के सल्लाह दिए?
रोमी साम्राज्यको अधीनमा भएका शहरहरूमा जीवन बिताउने सुरु-सुरुका मसीहीहरूले मूर्तिपूजा, अनैतिक सुखविलास तथा गैर-मसीही रीतिथिति र परम्पराहरूको सामना निरन्तर नै गर्नुपर्थ्यो। एशिया माइनरको मध्यपूर्वमा रहेको शहर, कलस्सीमा जीवन बिताइरहेकाहरूले स्वदेशवासी फ्रिजियनहरूले गर्ने मातृ-देवीको उपासना र प्रेतवाद, युनानी अधिवासीहरूको गैर मसीही तत्त्वज्ञान र यहूदी बस्तीहरूमा मानिने यहूदी धर्म जस्ता कुराहरूको सामना गर्नु पर्थ्यो। प्रेरित पावलले त्यहाँका मसीही मण्डलीलाई “बाहिर रहेकाहरूतर्फ” “बुद्धिमानीसाथ चल” भनी सल्लाह दिए।—कलस्सी ४:५.
२. बाहिर रहेकाहरूतर्फ बुद्धिमानीपूर्वक व्यवहार गर्न आज यहोवाका साक्षीहरूलाई किन आवश्यक छ?
२ आज यहोवाका साक्षीहरूले पनि त्यस्तै प्रकारका गलत प्रचलनहरू र त्योभन्दा पनि बढी कुराहरूको सामना गर्नुपर्छ। त्यसकारण तिनीहरूले पनि साँचो मसीही मण्डलीभन्दा बाहिरकाहरूसित बुद्धिमानीपूर्वक व्यवहार गर्नु आवश्यक छ। धार्मिक र राजनैतिक सङ्गठनका थुप्रै व्यक्तिहरू लगायत पत्रपत्रिकाहरूले समेत यहोवाका साक्षीहरूको विरोध गर्दछन्। यस्ता केही विरोधीहरूले यहोवाका साक्षीहरूको नाउँमा धब्बा लगाउन अथवा तिनीहरूको विरूद्धमा वैमनस्यता पैदा गर्न खुलेआम विरोध वा छेडपेच गर्दछन्। सुरु-सुरुका मसीहीहरू हठधर्मी र एउटा खतरनाक “सम्प्रदाय” हुन् भन्ने गलत दृष्टिकोण राखिएको थियो। त्यस्तैगरि आज पनि यहोवाका साक्षीहरू पूर्वाग्रह र गलत विचारधाराको तारो भएका छन्।—प्रेरित २४:१४; १ पत्रुस ४:४.
पूर्वाग्रहलाई हटाउनु
३, ४. (क) साँचो मसीहीहरूलाई संसारले किन कहिल्यै पनि प्रेम गर्नेछैन तर हामीले के गर्न प्रयास गर्नुपर्छ? (ख) नाजी यातना शिविरमा भएका यहोवाका साक्षीहरूको बारेमा एकजना लेखिकाले के लेखिन्?
३ साँचो मसीहीहरू संसारले तिनीहरूलाई प्रेम गर्ला भन्ने आशा गर्दैनन् किनभने प्रेरित यूहन्नाअनुसार “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) तरपनि, मानिसहरूलाई यहोवाको पक्षमा र साँचो उपासनातर्फ ल्याउनको निम्ति प्रयास गर्न बाइबलले मसीहीहरूलाई सल्लाह दिन्छ। यो काम हामी प्रत्यक्षतः प्रचार गर्नुको साथै हाम्रो असल आचरणद्वारा गर्दछौं। प्रेरित पत्रुसले यसरी लेखे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिमीहरूले परमेश्वरको महिमा गरुन्।”—१ पत्रुस २:१२.
४ फरगिभ—बट् डु नट फरगेट (Forgive—But Do Not Forget) भन्ने पुस्तकमा लेखिका सिल्भिया सेल्भेसेनले नाजी यातना शिविरमा उनीसित भएका महिला साक्षीहरूबारे यसप्रकार लेखिन्: “आफ्नो विश्वासद्वारा मात्र होइन तर व्यावहारिक कुराहरूमा पनि काथे, मार्गरेट र अरू थुप्रै यहोवाका साक्षीहरूले मेरो निकै मदत गरे। हाम्रा घाउहरूमा लगाउन सफा कपडाका टुक्राहरू ल्याइ दिन्थे . . . छोटकरीमा भन्ने हो भने, हाम्रो भलाइ चाहने र कामद्वारा मित्रैलो भावना देखाउने मानिसहरूको बीचमा हामी थियौं।” “बाहिर रहेकाहरू”-बाट कस्तो राम्रो साक्षी!
५, ६. (क) ख्रीष्टले हालमा कुन काम पूरा गरिरहनु भएको छ र हामीले कुन कुरालाई कहिल्यै बिर्सनु हुँदैन? (ख) संसारका मानिसहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ र किन?
५ बाहिर रहेकाहरूसङ्ग बुद्धिमानीसित व्यवहार गर्नाले पनि हाम्रो विरुद्धको पूर्वाग्रहलाई कमजोर तुल्याउन सक्छौं। यो सत्य हो कि येशू ख्रीष्ट शासनारुढ हुनुभएको समयमा हामी बाँचिरहेका छौं र “जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्याउँछ,” त्यसरी नै उहाँले राष्ट्रहरूलाई छुट्ट्याइरहनुभएको छ। (मत्ती २५:३२) तर ख्रीष्ट नै न्यायकर्त्ता हुनुहुन्छ भनेर हामीले कहिल्यै नबिर्सौं; “भेड़ा” को हो र “बाख्रा” को हो भनेर उहाँले नै छुट्ट्याउनुहुन्छ।—यूहन्ना ५:२२.
६ यहोवाको सङ्गठनमा नभएकाहरूप्रति हाम्रो मनोवृत्तिलाई पनि यस कुराले असर गर्नु पर्छ। हामीले तिनीहरू सांसारिक मानिसहरू त हुन् नि भनेर सोचौंला तर तिनीहरू मानवजातिको त्यस संसारको भाग हो जसलाई “परमेश्वरले . . . यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) मानिसहरू बाख्राहरू हुन् भनेर पूर्वानुमान गर्नुभन्दा तिनीहरूलाई सम्भाव्य भेडा ठान्नु बेस हो। बितेको समयमा सत्यको निर्दयतापूर्वक विरोध गर्नेहरू पनि आज समर्पित साक्षीहरू भएका छन्। र यीमध्ये धेरैजना प्रचार कार्यले भन्दा भलाइका कामले गर्दा प्रभावित भएका हुन्। उदाहरणको लागि, पृष्ठ १५-मा भएको चित्र हेर्नुहोस्।
जोशिलो, तर जबरजस्ती गर्ने होइन
७. पोपले कस्तो प्रकारको आलोचना गरे तर हामी कस्ता प्रश्नहरू गर्न सक्छौं?
७ पोप जोन पल दोस्रोले सबैजसो सम्प्रदायहरू र विशेषगरि यहोवाका साक्षीहरूको आलोचना गरे। उनले यसो भने: “ढोका ढोकामा गएर अथवा सडकहरूमा हिंड्ने मानिसहरूलाई रोकी रोकी आफ्नो धर्मका लागि जबरजस्ती नयाँ अनुयायी खोज्ने सम्प्रदायहरू प्रेरितहरू र मिसनरीहरूको जोशको झुट्टा नकल गर्ने ढोङ्गीहरू हुन्।” यदि हामी “प्रेरितहरू र मिसनरीहरूको जोशको झुट्टा नकल गर्ने ढोङ्गी मात्र हौं भने,” प्रचारकमा हुनु पर्ने साँचो जोश चाहिं कहाँ पाइन्छ भनेर प्रश्न गर्न सकिन्छ। पक्कै पनि त्यो जोश न त क्याथोलिकहरू, न प्रोटेसटेन्टहरू न अरू रूढिवादी गिर्जाका सदस्यहरूमा पाइन्छ।
८. हामीले घर-घरमा साक्षी दिने काम कसरी गर्नुपर्छ र कस्तो परिणामको आशा गर्न सक्छौं?
८ तरपनि, हामी जबरजस्ती साक्षी दिन्छौं भन्ने आरोपलाई झुट्टा साबित गर्नका लागि हामी सदैव दयालु, आदरभाव देखाउने र शिष्ट हुनुपर्छ। चेला याकूबले यसप्रकार लेखे: “तिमीहरूमा ज्ञानी र समझदार जो छ त्यसैले ज्ञानको नम्रतासित आफ्नो काम बढिया चाल-चलनबाट देखाओस्।” (याकूब ३:१३) प्रेरित पावलले “कल्याहा नहुन”-मा जोड दिन्छन्। (तितस ३:२) उदाहरणको लागि, हामीले प्रचार गरिरहेका व्यक्तिहरूको विश्वासलाई तुरुन्तै गलत ठहराउनुको सट्टा, तिनीहरूको विचारधारामा गम्भीर चासो किन नदेखाउने? त्यसपछि त्यो व्यक्तिलाई बाइबलमा भएको सुसमाचार सुनाउनुहोस्। हामीले एउटा सकारात्मक मनोवृत्ति राखेर कुरा गर्दा र बेग्लै विश्वास भएकाहरूलाई आदर देखाउँदा तिनीहरूलाई एउटा राम्रो मनोवृत्ति राख्न मदत दिन्छौं र परिणामस्वरूप तिनीहरू हाम्रो कुरा सुन्न र बाइबलमा भएको समाचारको महत्त्व बुझ्न इच्छुक हुनेछन्। ती मध्ये कसै कसैले पछि “परमेश्वरको महिमा” गर्नेछन्।—१ पत्रुस २:१२.
९. प्रेरित पावलले (क) कलस्सी ४:५-मा (ख) कलस्सी ४:६-मा दिएका सल्लाहलाई हामी कसरी प्रयोग गर्न सक्छौं?
९ प्रेरित पावलले सल्लाह दिए: “समयको अवसर विचार गरेर बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल।” (कलस्सी ४:५) यस अभिव्यक्तिको पहिलो भागलाई वर्णन गर्दै जे० बी० लाइटफुटले लेखे: “परमेश्वरको कामलाई अघि बढाउने कुनै पनि कुरा भन्न अथवा गर्न पाइने मौकालाई गुम्न नदिनु।” (तेर्सो अक्षर हाम्रो) हो, हामी ठिक अवसरमा उचित शब्दहरू बोल्न र कामहरू गर्न तयार हुनुपर्छ। त्यसो गर्नको निम्ति उचित समयमा भेटहरू गर्न आवश्यक पर्न सक्छ। मानिसहरूले हाम्रो समाचारलाई अस्वीकार गर्छन् भने, के यसको कारण तिनीहरूले मूल्याङ्कन नगर्नाले हो अथवा नमिल्ने समयमा हामी उसकहाँ गएको कारणले गर्दा हो? पावलले अझ लेखे: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।” (कलस्सी ४:६) यसो गर्न पहिले नै सोचविचार पुऱ्याउनुपर्छ र छिमेकीप्रति साँचो प्रेम हुनुपर्छ। हामी सदैव राज्यको समाचार अनुग्रहसित प्रस्तुत गरौं।
आदरणीय र “हरेक असल काममा तत्पर”
१०. (क) क्रेटमा जीवन बिताइरहेका मसीहीहरूलाई प्रेरित पावलले कस्तो सल्लाह दिए? (ख) पावलको उदाहरण अनुसरण गर्नमा यहोवाका साक्षीहरू कत्तिको अनुकरणीय भएका छन्?
१० बाइबलका सिद्धान्तहरूमा हामी सम्झौता गर्न सक्दैनौं। अर्को तर्फ, मसीही निष्ठासित सम्बन्ध नराख्ने विषयहरूबारे अनावश्यक विवाद गर्नु पनि हुँदैन। प्रेरित पावलले लेखे: “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू, र हरेक असल काममा तत्पर रहनू। कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू भनी तिनीहरूलाई [क्रेटमा भएका मसीहीहरू] सम्झाइदेऊ।” (तितस ३:१, २) बाइबलविद् इ० एफ० स्कटले उपरोक्त पद्यांशबारे यसप्रकार लेखे: “मसीहीहरू केवल अख्तियारवालाहरूको अधीनमा बस्नु मात्रै होइन, तर हरेक प्रकारका असल कामहरू गर्न तत्पर हुनुपर्छ। यसको अर्थ . . . आवश्यक भएमा मसीहीहरू जनहितका लागि काम गर्न अग्रसर हुनु पर्छ। आगलागी, महामारी र भिन्नभिन्न प्रकारका विपत्तिहरू भइनै रहन्छन् जब सबै असल नागरिकहरूले आफ्ना छिमेकीहरूलाई मदत गर्न इच्छा गर्छन्।” संसारमा हेऱ्यौं भने विपत्तिहरू आइपरेका घटनाहरू थुप्रै छन् र त्यत्तिबेला उद्धार कार्यहरू गर्न यहोवाका साक्षीहरू सबैभन्दा अग्रसर भएका छन्। तिनीहरूले आफ्ना भाइहरूलाई मात्र होइन तर बाहिर रहेकाहरूलाई पनि मदत गरेका छन्।
११, १२. (क) अख्तियारवालाहरूप्रति मसीहीहरूले कस्तो व्यवहार गर्नुपर्छ? (ख) राज्य भवनहरू निमार्ण गर्ने सन्दर्भमा अख्तियारवालाहरूको अधीनमा बस्नुको अर्थ के हो?
११ पावलले तितसलाई लेखेको यस पद्यांशले पनि हामीले अख्तियारवालाहरूप्रति आदरभावपूर्ण मनोवृत्ति देखाउने आवश्यकतालाई जोड दिन्छ। तटस्थताका लागि न्यायधीशहरूको सामने खडा हुँदा विशेषगरि जवान मसीहीहरूले बाहिरकाहरूलाई ध्यानमा राखेर बुद्धिमानीपूर्वक चल्नु पर्ने कुरा याद गर्नुपर्छ। तिनीहरूको बाह्य रूप, चालचलन र अख्तियारवालाहरूसङ्ग बोल्ने ढङ्गले गर्दा तिनीहरूले यहोवाका जनहरूको प्रतिष्ठा या त बढाउन या त घटाउन सक्छन्। तिनीहरूले “आदर गर्नुपर्नेलाई आदर . . . गर्नुपर्छ” र आफ्नो विश्वासको पक्षमा बोल्दा गहिरो श्रद्धाकासाथ बोल्नुपर्छ।—रोमी १३:१-७; १ पत्रुस २:१७; ३:१५.
१२ “अख्तियारवालाहरू”-मा स्थानीय सरकारी अधिकारीहरू समाविष्ट छन्। आजकल धेरै राज्य भवनहरू बनिंदै छन् जसले गर्दा स्थानीय अधिकारीहरूसँग सम्पर्क नराखी हुँदैन। अक्सर गरेर, प्राचीनहरूले पूर्वाग्रहको सामना गर्नुपर्छ। मण्डलीका प्राचीनहरूले अख्तियारवालाहरूसित राम्रो सम्बन्ध राख्नुको साथै नगर योजना आयोगलाई समर्थन गरेको खण्डमा यस्ता पूर्वाग्रहहरू हटाउन सकिने कुरा थाहा लागेको छ। यसले गर्दा प्रायजसो यहोवाका साक्षीहरू र तिनीहरूले दिने समाचारबारे अलिकता अथवा केही न जान्नेहरूलाई पनि राम्रो साक्षी दिने मौका मिलेको छ।
‘हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो’
१३, १४. रोममा भएका मसीहीहरूलाई पावलले कस्तो सल्लाह दिए र बाहिर रहेकाहरूसित सम्पर्क राख्दा हामीले यस कुरालाई कसरी प्रयोग गर्न सक्छौं?
१३ गैर मसीही शहर रोममा जीवन बिताइरहेका मसीहीहरूलाई पावलले यसप्रकार सल्लाह दिए: “कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्नुहुन्छ, ‘म बदला फेर्नेछु,’ ‘तर तिम्रो शत्रु भोकाउँछ भने, त्यसलाई खुवाऊ, तिर्खाउँछ भने, पियाऊ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधी लज्जित [शीरमा बल्दो कोइला खन्याउनेछौ न्यु व०] तुल्याउनेछौ।’ खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।”—रोमी १२:१७-२१.
१४ बाहिरका व्यक्तिहरूसित व्यवहार गर्दा हामीले साँचो मसीहीहरूको हैसियतमा निश्चय नै विरोधको सामना गर्दछौं। उपरोक्त पद्यांशअनुसार, भलाइका कार्य- हरू गरेर विरोधको सामना गर्नु बुद्धिमानी हो भनेर प्रेरित पावलले देखाउँछन्। यी असल कार्यहरूले बल्दो कोइलाहरूले झैं विरोधीको वैमनस्यतालाई पगालिदिन सक्छ। यहोवाका जनहरूप्रति तिनमा दयालु मनोवृत्तिको विकास गर्न सकिन्छ र सायद सुसमाचार सुन्न पनि तिनले चासो लिन सक्छन्। यसो हुँदा, खराबीमाथि भलाइले विजय प्राप्त गर्छ।
१५. बाहिर रहेकाहरूतर्फ बुद्धिमानीपूर्वक व्यवहार गर्न विशेषगरि मसीहीहरू कतिबेला सतर्क हुनुपर्छ?
१५ बाहिर रहेकाहरूतर्फ बुद्धिमानीपूर्वक व्यवहार गर्न विशेषगरि त्यस्ता घरहरूमा आवश्यक हुन्छ जहाँ पति वा पत्नीले सच्चाई स्वीकारेको हुँदैन। बाइबलका सिद्धान्तहरू पालन गर्नाले उत्तम पति, उत्तम पत्नी, उत्तम पिता, उत्तम आमा र आज्ञाकारी साथै स्कूलमा मेहनत गरेर पढ्ने बच्चाहरू बनाउँछ। बाइबलका सिद्धान्तहरूअनुसार जीवन बिताउँदा एकजना विश्वास गर्नेमाथि भएको राम्रो असरलाई विश्वास नगर्नेले देख्न सक्ने हुनुपर्छ। तसर्थ, कोही कोही व्यक्तिहरू समर्पित परिवारका सदस्यहरूको “चालचलनले गर्दा, बिना वचनले भए पनि विश्वास गर्ने” हुन सक्छन्।—१ पत्रुस ३:१, २.
‘सबै मानिसहरूतर्फ भलाइको काम गर्ने’
१६, १७. (क) कस्तो प्रकारका बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ? (ख) हाम्रा भाइहरूतर्फ र साथै बाहिर रहेकाहरूतर्फ कसरी ‘भलाइका काम गर्न’ सक्छौं?
१६ हाम्रो छिमेकीको निम्ति हामीले गर्न सक्ने सबैभन्दा उत्तम काम नै उसलाई जीवनको समाचार सुनाउनु र येशू ख्रीष्टद्वारा यहोवासित मिलाप गर्न सिकाउनु हो। (रोमी ५:८-११) तसर्थ प्रेरित पावलले हामीलाई लेख्छन्: “उहाँद्वारानै [ख्रीष्ट] हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) पावल अझै लेख्छन्: “तर भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।” (हिब्रू १३:१६) हामीले सबैजनालाई आम-साक्षी दिनुको साथसाथै “भलाइ गर्न” पनि बिर्सनु हुँदैन। यसो गर्नाले परमेश्वरलाई प्रसन्न तुल्याउने बलिदानको यो एउटा अविच्छिन्न भाग बन्दछ।
१७ स्वाभाविकतः हामी भावनात्मक, आध्यात्मिक, शारीरिक अथवा भौतिक तवरमा मदतको खाँचो परेका आत्मिक भाइहरूप्रति भलाइ गर्छौं। पावलले लेख्दा यस कुरालाई सङ्केत गरे: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०; याकूब २:१५, १६) तथापि, “सबै मानिसतर्फ . . . भलाइको काम गरौं” भन्ने शब्दहरूलाई पनि बिर्सनु हुँदैन। आफ्नो नातेदार, छिमेकी अथवा सहकर्मीलाई एउटा सानो असल काम गरिदिनाले पनि हामीहरूप्रति भएको पूर्वाग्रह हटाउन र सच्चाइप्रति तिनीहरूको हृदयलाई कमलो बनाउन सक्छ।
१८. (क) कस्ता खतराहरूदेखि हामी अलग हुनुपर्छ? (ख) जनसाधारणलाई साक्षी दिंदा मसीही भलाइले कसरी मदत पुऱ्याउँछ?
१८ यसो गर्नको निम्ति बाहिर रहेकाहरूलाई आफ्नो घनिष्ठ साथी बनाउन खाँचो छैन। त्यस्ता सङ्गतिहरू हाम्रो निम्ति सम्भाव्य खतराहरू हुन्। (१ कोरिन्थी १५:३३) र संसारसित मित्र हुने हाम्रो कुनै मनसाय छैन। (याकूब ४:४) तर हामीहरू मसीही भएर भलाइको काम गर्नाले हाम्रो प्रचार कार्यमा सहायता मिल्नेछ। कुनै कुनै मुलुकहरूमा मानिसहरूलाई घरमा भेटेर कुरा गर्न निकै नै गाह्रो हुँदै गइरहेको छ। कुनै कुनै आवास भवनहरूमा सुरक्षा उपकरणहरू लगाइएको हुन्छ जसले गर्दा त्यहाँ बस्नेहरूसित कुरा गर्न नै मुश्किल हुन्छ। विकसित देशहरूमा प्रचार गर्न प्रयोग गर्न सकिने अर्को उपाय टेलिफोन हो। धेरै देशहरूमा सडकमा साक्षी दिन सकिन्छ। तर, हामी सबै देशहरूमा मिलनसार, शिष्ट, दयालु र मदतकारी भयौं भने मानिसहरूको पूर्वाग्रहहरू हटाउने मौका मिल्छ र राम्रो साक्षी दिन सकिन्छ।
विरोधीहरूलाई शान्त पार्न
१९. (क) हामीहरूको उद्देश्य मानिसहरूको चाकरी गर्न नभएकोले हामी के प्रत्याशा गर्न सक्छौं? (ख) हामीले दानियलको उदाहरण अनुसरण गर्न र पत्रुसको सल्लाह अपनाउन कस्तो प्रयत्न गर्नुपर्छ?
१९ यहोवाका साक्षीहरू न मानिसहरूको चाकरी गर्न चाहन्छन् नता तिनीहरूदेखि डराउँछन्। (हितोपदेश २९:२५; एफिसी ६:६) तिनीहरू कर तिर्नमा अनुकरणीय र असल नागरिकहरू भए तापनि विरोधीहरूले तिनीहरूको विरुद्धमा द्वेषपूर्ण झूट तथा तिनीहरूलाई होच्याएर बोल्नेछन् भनेर यहोवाका साक्षीहरू जान्दछन्। (१ पत्रुस ३:१६) यो कुरा थाहा पाएको हुनाकारण तिनीहरू दानियलको नक्कल गर्न चाहन्छन्, जसको विरुद्धमा शत्रुहरूले यसो भनेका थिए: “तिनको धर्मको सम्बन्धमा बाहेक हामी यस दानियलको विरुद्धमा अरू कुनै आरोप लाउनसक्तैनौं।” (दानियल ६:५) मानिसहरूलाई खुशी तुल्याउन हामी कहिल्यैपनि बाइबलका सिद्धान्तहरूलाई बङ्ग्याउने छैनौं। अर्कोतर्फ, हामी शहीद हुन पनि चाहँदैनौं। हामी मानिसहरूसित शान्तिपूर्वक बाँच्न चाहन्छौं र प्रेरितको यो सल्लाहलाई पालन गर्छौं: “किनकि परमेश्वरको इच्छा यही छ, कि असल गरेरनै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।”—१ पत्रुस २:१५.
२०. (क) हामी कुन कुरामा विश्वस्त छौं र येशूले हामीलाई कस्तो प्रोत्साहन दिनुहुन्छ? (ख) बाहिर रहेकाहरूतर्फ हामीले कसरी बुद्धिमानीपूर्वक व्यवहार गर्न सक्छौं?
२० संसारबाट अलग्गै हुनुपर्छ भन्ने हाम्रो अडान पूर्णतया बाइबलमा आधारित छ भनी हामी विश्वस्त छौं। यसलाई प्रथम शताब्दीका मसीहीहरूको इतिहासले समर्थन गर्दछ। येशूका यी शब्दहरूबाट हामी प्रोत्साहित हुन्छौं: “संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर ढाड़स गर, मैले संसारलाई जितेको छु।” (यूहन्ना १६:३३) हामी डराउँदैनौं। “यदि तिमीहरू भलाइको निम्ति उत्सुक हुन्छौ भनेता तिमीहरूको हानि गर्ने को हुन्छ? तर धर्मको खातिर दुःख भोग्नुपर्यो भनेता तिमीहरू धन्यका हौ, तिनीहरूका डरसँग डर नराख, औ नघबराओ। तर ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तत्पर भइरहो।” (१ पत्रुस ३:१३-१५) यसप्रकार जीवन बिताउँदा हामी बाहिर रहेकाहरूतर्फ बुद्धिमानीपूर्वक व्यवहार गरिरहेका हुनेछौं। (w93 7/1)
पुनरावलोकनको सिलसिलामा
▫ बाहिर रहेकाहरूतर्फ यहोवाका साक्षीहरूले किन बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्छ?
▫ संसारले प्रेम गर्ला भनेर साँचो मसीहीहरूले किन कहिल्यै आशा गर्न सक्दैनन् तर तिनीहरूले के गर्न कोसिस गर्नुपर्छ?
▫ संसारका मानिसहरूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ र किन?
▫ हाम्रा भाइहरूप्रति मात्र होइन तर बाहिर रहेकाहरूप्रति पनि हामीले किन “भलाइको काम” गर्नु पर्छ?
▫ हामीले बाहिर रहेकाहरूप्रति बुद्धिमानीपूर्वक व्यवहार गर्नाले जनसाधारणलाई प्रचार गर्ने काममा कसरी मदत पुऱ्याउन सकिन्छ?
[पृष्ठ १५-मा भएको चित्र]
फ्रान्समा भएका साँचो मसीहीहरूले तिनीहरूको छिमेकीहरूलाई बाढी पछि मदत गरिरहेका
[पृष्ठ १७-मा भएको चित्र]
मसीही भलाइको काम गर्नाले पूर्वाग्रहलाई हटाउन सकिन्छ
[पृष्ठ २०-मा भएको चित्र]
मसीहीहरू “हरेक असल काममा तत्पर” हुनुपर्छ