उच्च अख्तियारवालाहरूप्रति हाम्रो सापेक्षिक अधीनता
“अन्तस्करणको निम्ति पनि तिमीहरूलाई अधीनमा रहनु उचित छ।”—रोमी १३:५
१. नाजी उच्च अख्तियारवालाहरूबाट यहोवाका साक्षीहरूले के कस्ता कठिन अनुभवहरूको सामना गर्नु परे र के त्यो तिनीहरूले “गलत काम गरेका हुनाले” भएको थियो?
जनवरी ७, १९४० मा फ्य्रान्ज राइटर र अरू ५ जना जवान अष्ट्रियनहरूको टाउको काटेर हत्या गरियो। तिनीहरू बाइबलका छात्र, यहोवाका साक्षीहरू थिए। हिटलरको जर्मन राइखको निम्ति हातहतियार उठाउन तिनीहरूको अन्तस्करणले नदिएको हुनकारण तिनीहरूको हत्या भयो। दोस्रो विश्वयुद्धमा आफ्नो विश्वासकालागि मारिने हजारौं यहोवाका साक्षीहरू मध्ये राइटर पनि एक जना थिए। अरू धेरैले यातना शिविरमा धेरै वर्षसम्म सास्ती भोगे। के यिनीहरू सबैले “खराब काम गरेका” हुनाले, उच्च नाजी अधिकारीहरूको “तरवार” बाट सास्ती भोग्नु परेको हो? (रोमी १३:४) कदापि होइन! अख्तियारवालाको हातबाट सास्ती भोग्नु परेता पनि, यी मसीहीहरूले रोमीको १३ अध्यायमा उल्लेखित परमेश्वरका आज्ञाहरू पालन गरे भनी पावलका अगाड़िका शब्दहरूले देखाउँदछ।
२. उच्च अख्तियारवालाको अधीनमा रहने बाध्यता के कारणले गर्दा छ?
२ रोमी १३:५ मा, प्रेरित लेख्दछन्: “यसकारण क्रोधको खातिर मात्र होइन, तर अन्तस्करणको निम्ति पनि तिमीहरूलाई अधीनमा रहनु उचित छ।” अघि मात्र पावलले भनेका थिए कि अख्तियारवालासित “तरवार” भएको हुनाले हामी तिनीहरूको अधीनमा रहने एउटा उचित कारण थियो। तर अब यहाँ अर्को एउटा अझ बलियो कारण तिनी दिन्छन्: अन्तस्करण। हामीहरू “एउटा शुद्ध अन्तस्करणले” परमेश्वरको सेवा गर्ने प्रयत्न गर्दछौं। (२ तिमोथी १:३) उच्च अख्तियारवालाको अधीनमा रहन बाइबलले सल्लाह दिन्छ र हामी त्यसको पालना गर्छौं किनकि परमेश्वरको नजरमा जे ठीक छ सोही गर्न हामी चाहन्छौं। (हिब्रू ५:१४) कुनै मानिसले हामीहरूमाथि कुनै नजर नराखेता पनि, वास्तवमा, बाइबलमा आधारित तालिम पाएको हाम्रो अन्तस्करणले अख्तियारवालाको अधीनमा रहन हामीहरूलाई प्रेरणा दिन्छ।—उपदेशक १०:२० सँग तुलना गर्नुहोस्.
“यसैकारण तिमी पनि कर तिर्छौ”
३, ४. यहोवाका साक्षीहरू कुन कुराका लागि प्रसिद्ध छन् र मसीहीहरूले कर किन तिर्नु पर्दछ?
३ केही वर्ष अघि नाइजेरियामा कर तिर्ने कुरोलाई लिएर दङ्गा भएको थियो। धेरै जनाको मृत्यु भयो र अख्तियारवालाहरूले सैनिकको सहायता लिनुपऱ्यो। सैनिकहरू एउटा स्थानीय राज्य-सभागृह भित्र, सभा चलिरहेको बेलामा प्रवेश गरे र त्यहाँ मानिसहरू भेला भएको कारण जान्न चाहे। यहोवाका साक्षीहरू बाइबल अध्ययन गर्न भेला भएका रहेछन् भनी थाह पाए पछि, सैनिक अधिकृतले सैनिकहरूलाई फर्केर जाने आदेश दिंदै एसो भने: “यहोवाका साक्षीहरू कर विरोधी होइनन्।”
४ पावलका यी शब्दहरू अनुसार आफ्नो जीवन सञ्चालन गर्नमा नाइजेरियाका ती साक्षीहरू प्रसिद्ध थिए: “किनभने यसै कारणले पनि तिमीहरू कर तिर्दर्छौ। किनकि तिनीहरू यसै कामका निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्।” (रोमी १३:६) “सिजरको चीज सिजरलाई देऊ” भन्ने नियम येशूले दिनुहुँदा, उहाँ करकै विषयमा भन्दै हुनुहुन्थियो। (मत्ती २२:२१) सांसारिक अख्तियारवालाहरू सडक, सुरक्षा, पुस्तकालय, यातायात, विद्यालय, हुलाक सेवा आदिको प्रबन्ध गर्दछन्। हामीहरू प्राय: यी चीजहरूको उपयोग गर्दछौं। त्यसकारण यसकालागि हामीहरूले तिनीहरूलाई कर तिर्नु उचित हो।
“तिर्नु पर्ने कुरा सबै तिर”
५. “तिर्नु पर्नेलाई सबै तिर” भनेको अर्थ के हो?
५ पावल अगाड़ि भन्छन्: “तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर, महसुल तिर्नु पर्नेलाई महसुल, डराउनु पर्नेसँग डराऊ, आदर गर्नु पर्नेलाई आदर गर।” (रोमी १३:७) यो “सबै” भन्ने शब्दले परमेश्वरका जन-सेवकको हैसियतमा काम गर्ने प्रत्यक सांसारिक अख्तियारवालालाई जनाउँदछ। यसमा कुनै छुट हुँदैन। हामी आफूलाई मन नपर्ने राजनैतिक व्यवस्थामा बसेका छौं भने पनि हामी कर तिर्छौं। हामी बसेको ठाउँमा धार्मिक संस्थाहरूलाई करको छुट छ भने, मण्डलीहरूले त्यसको फायदा उठाउन सक्छन्। यसैगरी अरू नागरिक सरह, कर छुटकालागि भएका कुनैपनि कानुनी व्यवस्थाको मसीहीहरूले फायदा उठाउन सक्छन्। तर कुनै मसीहीले अवैध तरिकाले कर छल्नु हुँदैन।— मत्ती ५:४१; १७:२४-२७ सङ्ग तुलना गर्नुहोस्.
६, ७. अख्तियारवालाले सताएता पनि, र करको केही अंश हामीलाई चित्त नबुझने कुराहरूमा खर्च भएता पनि हामीले कर किन तिर्नु पर्छ?
६ उदाहरणकालागि, यदि कुनै विशेष कर अन्यायपूर्ण छ, वा सो करको केही भाग गर्भपात, रक्त-बैंक, अथवा तटस्थाको सिद्धान्त विपरीत अर्थात् हाम्रो सिद्धान्तसँग मेल नखाने अन्य कुराहरूका निम्ति प्रयोग गरिन्छ भने के गर्ने? त्यसो हुँदा पनि हामी आफ्नो सबै करहरू तिर्दर्छौं। जम्मा भएको करको रकम कसरी प्रयोग हुन्छ भन्ने कुराको निम्ति अख्तियारवालाहरू जिम्मेवार छन्। हामी अख्तियारवालाहरूलाई न्यायगर्न खटिएका होइनौं। परमेश्वरनै यस “पृथ्वीका न्यायकर्त्ता हुनुहुन्छ” र समयमा उहाँले यस पृथ्वीका अख्तियारवालाहरूले आफ्नो अधिकार कसरी प्रयोग गरे भन्ने विषयमा तिनीहरूसित हिसाब लिनुहुनेछ। (भजनसंग्रह ९४:२; यर्मिया २५:३१) सो नहोउञ्जेलसम्म हामी आफूले तिर्नु पर्ने कर तिर्छौं।
७ यदि अख्तियारवालाले हामीलाई सताए भने कसो गर्ने? तिनीहरूले हाम्रालागि उपलब्ध गराएका दैनिक सेवाहरू हामीले प्रयोग गरिरहेका हुनाले, हामीहरूले कर तिर्दछौं। एउटा अफ्रिकाको देशमा यहोवाका साक्षीहरूलाई सताइएको विषयलाई लिएर, सान फ्रान्सिस्को एक्जामिनर भन्ने पत्रिकाले यस प्रकार लेखे: “तिमीले तिनीहरूलाई आदर्श नागरिक ठान्न सक्छौ। लगनशीलताका साथ तिनीहरू कर तिर्दछन्, रोगीहरूको हेरचाह गर्दछन्, निरक्षरतासित सङ्घर्ष गर्दछन्।” हो, ती सताइएका साक्षीहरूले आफ्ना करहरू तिर्दथिए।
“डर” र “आदर”
८. अख्तियारवालालाई हामीले दिने “डर” के हो?
८ रोमी १३:७ मा उल्लेखित् “डर” एउटा डरपोकको डर होइन, तर सांसारिक अख्तियारवालाकालागि एउटा सम्मान, तिनको कानून भङ्ग होला भन्ने डर हो। यो सम्मान, ओहदामा बस्ने व्यक्तिका लागि सधैं नभएता पनि, त्यस ओहदाका लागि सम्मान हो। रोमी सम्राट टाइबेरियस वारे भविष्यवाणी गर्दा, बाइबलमा उसलाई “तुच्छ ठानिने मानिस” भनिएको छ। (दानियल ११:२१) तर तिनी सम्राट भएका हुनाले, मसीहीहरू तिनको डर मान्दथिए, र तिनलाई सम्मान दिन्थिए।
९. मानव अख्तियारवालाहरू प्रति आदर दर्शाउने केही उपायहरू के हुन्?
९ जहाँसम्म आदरको कुरा छ, धर्मसँग सम्बन्धित् उपाधिहरू नदिनु भन्ने येशूको आज्ञालाई हामी अनुसरण गर्दछौं। (मत्ती २३:८-१०) तर सांसारिक शासकहरूका सम्बन्धमा, तिनीहरू प्रति आदर जनाउन जुन पदवीको प्रयोग आवश्यक हुन्छ, हामीहरू त्यही पदवी प्रयोग गर्दै, तिनीहरूलाई खुशीसाथ सम्बोधन गर्दछौं। रोमी बड़ा हाकिमहरूसँग बोल्दा पावलले “महा महिम” भन्ने शब्दनै प्रयोग गरे। (प्रेरित २६:२५) दानियलले नबुकदनेजरलाई “मेरो प्रभु” भने। (दानियल ४:१९) यसैगरी आज पनि मसीहीहरूले “मालिक” “सरकार” भन्ने शब्दहरू चलाउन सक्तछन्। कुनै ठाउँको चलन अनुसार, यदि न्यायाधीश न्यायालयमा प्रवेश गर्दा उठ्ने, र शासकको सम्मानमा शिर झुकाउने चलन छ भने मसीहीहरूले पनि त्यसो गर्न सक्छन्।
सापेक्षिक अधीनता
१०. अख्तियारवालाले मसीहीहरूबाट माँग गर्ने कुराहरू सीमित छ भन्ने कुरालाई येशूले कसरी देखाउनु भयो?
१० यहोवाका साक्षीहरू मानव अख्तियारवालाका अधीनमा रहेर पनि, फ्रान्ज राइटर र अरू धेरैले किन त्यस प्रकारको दु:ख भोग्नु पऱ्यो? किनभने हाम्रो अधीनता सापेक्षिक छ र अख्तियारवालाहरूले हामीसँग माग गर्न सक्ने कुरामा बाइबलले सीमा तोकी दिएको छ भन्ने कुरा तिनीहरू सँधै स्वीकारदैनन्। एउटा प्रशिक्षित मसीही अन्तस्करणलाई दखल दिने किसिमको कुरा अख्तियारवालाले माग गर्दा, तिनीहरूले ईश्वर प्रदत्त सीमा नाँघेको हुनेछ। येशू ख्रीष्टले यस कुरालाई यसो भनेर सङ्केत गर्नु भयो: “जे जे सिजरका हुन् . . . सिजरलाई, जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” सिजरले परमेश्वरको हकलाग्ने कुराको माँग गरे भने, त्यस कुरामा सर्वप्रथम परमेश्वरको हक छ भन्ने कुरा हामीले मान्नु पर्दछ।
११. एउटा मानवीय अख्तियारवालाले हामीबाट माँग गर्न सक्ने कुरा सीमित छ भनी दर्शाउने सर्वमान्य सिद्धान्त के हो?
११ के यस प्रकारको हाम्रो अड़ान ध्वंशकारी अथवा राजद्रोही हो? कदापि होइन। वास्तवमा, यो त धेरै जसो सभ्य राष्ट्रहरूले स्वीकार गरेको एउटा सिद्धान्तलाई अझ विस्तृत रूपमा प्रयोग गरेको मात्र हो। १५ वाँ शताब्दीमा, एक जना पीटर भोन हेगेनबैक भन्ने व्यक्तिले तिनको अधिकारमा रहेका युरोपीय क्षेत्रमा आतङ्क फैलाएको आरोपमा मुद्दा चलाइयो। तर तिनले ता आफ्नो मालिक, बरगन्डीका ङ्यूकको आज्ञा पालन मात्र गरिरहेका थिए भन्दै आफ्नो बचाउ गर्न खोजे तर यो कुरा अस्वीकृत भयो। त्यस पछि पनि, कुनै उच्च अख्तियारवालाको आदेश पालन गर्दा एउटा व्यक्तिले अत्याचारहरू गरेको छ भने, ती अत्याचारहरूका लागि सोही व्यक्ति जिम्मेवार हुन सक्तैन भन्ने दाबी धेरै पटक, खासगरी, अन्तर्राष्ट्रिय विशेष अदालतमा, नाजी युद्ध अपराधीहरूले गर्दै आएकाछन्। तर अकसर यस प्रकारको दाबी इनकार गरिएको छ। आफ्नो फैसलामा अन्तर्राष्ट्रिय विशेष अदालतले यसो भने: “व्यक्तिहरूका अर्न्तराष्ट्रिय कर्त्तव्यहरू हुन्छन् र यी कर्त्तव्यहरूको पालना कुनै एउटा राष्ट्रले अह्राएका आदेशहरूको पालना भन्दा अति नै महत्वपूर्ण हुन्छ।”
१२. अख्तियारवालाका बेमनासिब मांगहरूलाई परमेश्वरका जनहरूले अस्वीकार गरेका केही शास्त्रीय उदाहरणहरू के हुन्?
१२ परमेश्वरका सेवकहरूले यो एउटा कुरा सधैं मनमा राख्नेगर्छन् कि उच्च अख्तियारवालाहरू प्रति तिनीहरूको उचित अधीनता सीमित छ। मिश्रमा मोशाको जन्म भएको समयमा, फिरौनले दुइ जना हिब्रू सुडेनीहरूलाई सबै नवजात केटाहरूको हत्या गर्नु भनी आज्ञा दिएका थिए। तर ती सुडेनीहरूले नवजात शिशुहरूलाई बचाएर राखे। फिरौनको आज्ञा उल्लङ्घन गरेर के तिनीहरूले गलती गरे ता? अवश्य गरेनन्। परमेश्वरले दिनुभएको अन्तस्करणको तिनीहरू अनुसरण गरिरहेका थिए, र यसका लागि, परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो। (प्रस्थान १:१५-२०) इस्राएलीहरू बेबिलनमा निर्वासनमा हुँदा, नेबुकदनेजरले आफ्ना अधिकारीहरूका साथै तीन जना हिब्रू युबकहरू अर्थात् शद्रक, मेसक, र अवेदनेगोलाई, उनले दुराको मैदानमा खड़ा गरेका मूर्तिको सामुन्ने दण्डवत् गर्ने आदेश दिए। ती तीन जना हिब्रूहरूले एसो गर्न इनकार गरे। के तिनीहरूले गलत गरे? गरेनन्, किनकि राजाको आज्ञा पालन गर्दा, परमेश्वरको आज्ञाको उल्लङ्घन हुनेथियो।—प्रस्थान २०:४, ५; दानियल ३:१-१८.
“परमेश्वरलाई शासनकर्ताको रूपमा मान”
१३. उच्च अख्तियारवालाहरू प्रति सापेक्षिक अधीनतावारे शुरूका मसीहीहरूले कस्तो उदाहरण प्रस्तुत गरे?
१३ यसैगरी, यहूदी अधिकारीहरूले पत्रुस र यूहन्नालाई येशूको विषयमा प्रचार बन्द गर्न भन्दा, तिनीहरूले जवाफ दिए: “कुन ठीक हो? तपाईंहरूको कुरा सुन्नु कि परमेश्वरको? सो तपाईंहरूनै विचार गर्नुहोस्।” (प्रेरित ४:१९; ५:२९) तिनीहरू चुप लागेर बसेनन्। मसीही शताब्दी भन्ने पत्रिकाले प्राचीन मसीहीहरूले आफ्ना अन्तस्करणको आधारमा लिएको निर्णयको यसरी व्याखा गर्दछ: “सबै भन्दा प्राचीन मसीहीहरू फौजमा काम गर्दैन थिए। रोलैन्ड बेन्टन्को टिप्पणी अनुसार ‘नया नियमको समयको अन्त देखिन् सा. यु. १७०-१८० को दशकसम्म, मसीहीहरू फौजमा भर्ना भएको प्रमाण पटक्कै छैन।’ (क्रिश्चियन याटिच्युड्स टुआर्ड वार एण्ड पीस [याबिङ्गडन, १९६०], पानाहरू ६७-८) . . . स्वीफ्ट भन्छन्, जस्टीन मार्टयरको विचारमा ‘मसीहीहरू हिंसात्मक कार्यहरूमा भागलिने ता कुरै उठदैन थियो।’”
१४, १५. प्राचीन मसीहीहरूले मानव अख्तियारवालाहरू प्रति प्रकट गर्ने सापेक्षिक आज्ञाकारिता बाइबलका कुन् सिद्धान्तहरू बमोजिम हुन पर्दथियो?
१४ शुरूका मसीहीहरूले किन सिपाहीहरू भएर सेवा गरेनन्? निःसन्देह, तिनीहरू प्रत्यकले परमेश्वरको वचन र नियमहरूलाई ध्यानपूर्वक अध्ययन गर्दथिए र बाइबलद्वारा प्रशिक्षित आफ्नो अन्तस्करणको आधारमा व्यक्तिगत निर्णय लिने गर्दथिए। तिनीहरू तटस्थ थिए, “यस संसारका” थिएनन् र तिनीहरूको तटस्थाको कारण तिनीहरू यस संसारको द्वन्दमा कुनै एउटा पक्ष लिन सक्तैन थिए। (यहून्ना १७:१६; १८:३६) यस बाहेक, तिनीहरू परमेश्वरका जनहरू थिए। (२ तिमोथी २:१९) कुनै राष्ट्रकालागि आफ्नो ज्यान दिनुको अर्थ परमेश्वरको हक भएको चीजलाई सिजरलाई दिएको हुने थियो। साथै, तिनीहरू प्रेममा बाँधिएको एउटा अन्तर्राष्ट्रिय भ्रातृत्वका भाग थिए। (यूहन्ना १३:३४; कलस्सी ३:१४; १ पत्रुस ४:८; ५:९) शुद्ध अन्तस्करणसाथ तिनीहरूले हात-हतियार उठाउन सक्तैन थिए किनभने यसो गर्दा, सम्भवत: तिनीहरूको हातबाट आफ्नै सङ्गी मसीहीको हत्या हुन सक्थियो।
१५ यसका साथै, सम्राटको उपासना गर्ने जस्ता अन्य प्रचलित धार्मिक प्रथाहरूमा मसीहीहरूले साथ दिन सक्तैन थिए। फल:स्वरूप, तिनीहरूलाई “विचित्र र खतरनाक मानिसहरू भनी ठान्दथिए, र स्वभाविकत:, बाँकी अरूसबैले तिनीहरूलाई शङ्काको दृष्टिकोणले हेर्दथिए।” (स्टील द बाइबल स्पीक्स, डब्लू. ए. स्मार्ट द्वारा लिखित्) मसीहीहरू ‘डराउनु पर्नेसँग” डराउनु पर्छ भनी पावलले लेखेको भएता पनि, तिनीहरूले यहोवा प्रति राख्नु पर्ने अझ ठूलो डर, वा श्रद्धा बिर्सेनन्। (रोमी १३:७; भजनसंग्रह ८६:११) येशू आफैले भन्नुभयो: “शरीर मार्ने तर प्राणलाई चाहिं घात गर्न न सक्नेसँग नडराओ तर प्राण [न्यु.व.] र शरीर दुवैलाई नरकमा (गेहेन्ना न्यु. व.) नाश गर्न सक्नेसँग बरू डराओ।”—मत्ती १०:२८.
१६. (क) कुन् कुन् क्षेत्रमा मसीहीहरूले उच्च अख्तियारवाला प्रति तिनीहरूको अधीनतालाई विचार पुऱ्याउनु पर्छ? (ख) २७ पानामा भएको बाकसले के दर्शाउँछ?
१६ मसीहीको हैसियतमा, आज हामीहरू त्यस्तै प्रकारका चुनौतिहरूको सामना गर्दछौं। मूर्तिपूजाको कुनैपनि आधुनिक रूपमा—चाहे त्यो कुनै मूर्ति वा प्रतीकलाई उपासनाको भाव देखाउनु होस् अथवा मुक्तिदाताको रूपमा कुनै व्यक्ति वा सङ्गठनलाई मान्यता दिनु होस्—हामीहरू भाग लिन सक्तैनौं। (१ कोरिन्थी १०:१४; १ यूहन्ना ५:२१) र शुरूका मसीहीहरू जस्तै हामीहरू पनि आफ्नो मसीही तटस्थासँग समझौता गर्न सक्तैनौं।—२ कोरिन्थी १०:४ सँग तुलना गर्नुहोस्.
“नम्रता र डर”
१७. अन्तस्करणको कारण सताइएका व्यक्तिहरूलाई पत्रुसले कस्तो सल्लाह दिनुभयो?
१७ प्रेरित पत्रुसले हाम्रो अन्तस्करणको अड़ान वारे लेख्दै यसो भने: “किनकि परमेश्वरतर्फको विवेकको निम्ति मानिसले अन्यायमा क्लेश सहेर दु:ख भोग्नु पर्छ भने, यो ग्रहणयोग्य छ।” (१ पत्रुस २:१९) हो, सतावटको सामने पनि मसीहीहरू दह्रो रहन्छन् भने, परमेश्वरमा यो ग्रहणयोग्य छ, र यसबाट मसीही विश्चास खारिने र अझ बढ़ी बलियो हुन पाउने थप फायदा त्यसमा हुन्छ। (याकूब १:२-४; १ पत्रुस १:६, ७; ५:८-१०) पत्रुसले यो पनि लेखे: “तर धर्मको खातिर दु:ख भोग्नु पऱ्यो भनेता तिमीहरू धन्यका हौ, तिनीहरूको डरसँग डर नराख, औ नघबराओ। तर ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्ने हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग सँधै तयार भइरहो।” (१ पत्रुस ३:१४, १५) कस्तो मददकारी सल्लाह!
१८, १९. उपासना गर्ने हाम्रो स्वतन्त्रतालाई अख्तियारवालाहरूले सीमित तुल्याइ दियो भने, गहिरो आदर र विवेकपूर्ण प्रवृत्तिले कसरी मदद पुऱ्याउँन सक्ने छ?
१८ कहिलेकाहीं अख्तियारवालालाई मसीही अड़ानवारे गलतफहमी हुँदा अथवा मसीही जगतका धर्मुगुरुहरूले अख्तियारवालाहरूलाई यहोवाका साक्षीहरू बारे असत्य कुराहरू सुनाई दिएको छ भने, साक्षीहरूमाथि सतावट आइ पर्न सक्दछ। त्यस्तो बेलामा अख्तियारवालाहरूकहाँ गएर तथ्य कुरा प्रस्तुत गरी दिएमा, दबाब कम हुन सक्छ। नम्रता र डरको भावना कायम राख्ने प्रवृति भएको कुनै पनि मसीहीले आफूलाई सताउनेहरूसँग शारीरिक रूपमा झगड़ा गर्दैन। तथापि, आफ्नो विश्वासको रक्षा गर्न, तिनले हर उपलव्ध कानुनी उपाय प्रयोग गर्नेछ। त्यस पछि सबै थोक यहोवाको हातमा छाड़ि दिन्छ।—फिलिप्पी १:७; कलस्सी ४:५, ६.
१९ जहाँसम्म आफ्नो अन्तस्करण भङ्ग हुँदैन, एउटा मसीहीले आदरपूर्वक अख्तियारवालाहरूको आज्ञा पालन गर्ने हर प्रयास गर्ने छ। उदाहरणकालागि, मण्डलीका सभाहरूमा सरकारी प्रतिबन्ध लाग्यो भने, मसीहीहरूले यहोवाको टेबलबाट आत्मिक खाना खाने अरू कुनै अप्रत्यक्ष प्रबन्ध मिलाइ हाल्दछन्। सर्वोच्च अख्तियारवाला यहोवा परमेश्वरले पावलद्वारा हामीहरूलाई भन्नुहुन्छ: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरून्। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनलाई नछोड़ौं।” (हिब्रू १०:२४, २५) तर यस प्रकारको भेला हुने काम, विवेकपूर्ण ढङ्गमा पनि गर्न सकिन्छ। थोरै मात्र उपस्थित हुन सकेता पनि, यस प्रकारको प्रबन्धमा परमेश्वरको आशिष रहन्छ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं।—मत्ती १८:२० सँग तुलना गर्नुहोस्.
२०. यदि सुसमाचारको आम प्रचारमा प्रतिबन्ध लगाइयो भने, त्यस्तो परिस्थितिमा मसीहीहरूले के गर्न सक्छन्?
२० यसैगरी, केही अख्तियारवालाहरूले सुसमाचारको आम प्रचार गर्ने काममा रोक लगाएकाछन्। यस्तो परिस्थतिमा भएका मसीहीहरूले याद गर्नु पर्ने कुरा यो छ कि, सर्वोच्च अख्तियारवालाले येशू मसीहीद्वारा यसो भन्नु भएको छ: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनु पर्छ।” (मर्कूस १३:१०) त्यसकारण, जस्तो सुकै कष्ट सहनु परेता पनि, मसीहीहरूले सर्वोच्च अख्तियारवालाको आज्ञा पालन गर्दछन्। सम्भव भएसम्म, प्रेरितहरूले जनसभाहरू द्वारा र घर-घरमा गएर प्रचार गरे। र अनौपचारिक भेटवार्ता द्वारा पनि प्रचार गर्न सकिन्छ। (यूहन्ना ४:७-१५; प्रेरित ५:४२; २०:२०) बाइबलमात्र प्रयोग गरेर प्रचार गर्दा अक्सर अख्तियारवालाहरूले हस्तक्षेप गर्दैनन्। र यसबाट सबैनै साक्षीहरू शास्त्रहरूबाट तर्क गर्ने काममा निपुण हुनु पर्छ भन्ने आवश्यकता देखिन्छ। (प्रेरित १७:२, १७ सँग तुलना गर्नुहोस्.) निडर तर आदरपूर्ण भावनासाथ, मसीहीहरूले अख्तियारवालाहरूलाई क्रोधित न तुल्याइकन यहोवाको आज्ञा पालन गर्ने अक्सर एउटा न एउटा बाटो फेला पार्न सकिन्छ।—तितस ३:१, २.
२१. सिजरले आफ्नो सतावट निरन्तर कायम राखेमा, मसीहीहरूले कुन मार्ग अपनाउनु पर्छ?
२१ ता पनि, कहिलेकाहीं, मसीहीहरूलाई अख्तियारवालाले निरन्तर सताइ रहन्छन्। त्यस्तो अवस्थामा, शुद्ध अन्तस्करणसाथ जे ठीक छ सो गर्दै हामी सहनु मात्र सक्तछौं। जवान फ्रान्ज राइटरको सामने पनि एउटा चुनौति थियो: आफ्नो विश्वासको सम्झौता गर्ने अथवा मर्ने। तर तिनले परमेश्वरको उपासना गर्न छाड्न सक्तैन थिए। यसकारण, तिनले हिम्मतका साथ मृत्यु रोजे। आफ्नो मृत्युको अघिल्लो राती, फ्रान्जले आफ्नी आमालाई लेखे: “भोलि विहान मलाई प्राणदण्ड दिइन्छ। बितेको समयमा सबै साँचो मसीहीहरूले झैं, मैले पनि परमेश्वरबाट शक्ति पाएको छु . . . तपाईं मृत्युसम्म विश्वासी रहनु भयो भने पुनरुत्थानमा हाम्रो फेरि भेट हुनेछ।”
२२. हाम्रो के आशा छ र हाल, हामीले के गरिरहनु पर्छ?
२२ कुनै दिन हामी सारा मानव जाति एउटै कानूनको अधीनमा रहनेछौं र त्यो यहोवाको कानून हुनेछ। त्यस बेलासम्म हामी सबै आफ्नो शुद्ध अन्तस्करणका साथ परमेश्वरको प्रबन्धलाई पालन गर्नु पर्दछ र उच्च अख्तियारवालाहरू प्रति हाम्रो सापेक्षिक अधीनतालाई कायम राख्नाका साथै, हाम्रो सार्वभौमसत्ता सम्पन्न प्रभु यहोवा प्रति सबै कुराहरूमा आज्ञाकारी होऔं।—फिलिप्पी ४:५-७. (w90 11/1)
तपाईंलाई याद छ?
▫ उच्च अख्तियारवालाहरूका अधीनमा रहनु पर्ने के बाध्यता छ?
▫ सिजरले लगाएको कर तिर्न हामी किन हिचकिचाउनु हुँदैन?
▫ अख्तियारवालालाई कुन प्रकारको आदर हामीले दर्शाउनु पर्छ?
▫ सिजर प्रति हाम्रो अधीनता किन सापेक्षिक हो?
▫ परमेश्वरको हक लाग्ने चीजको माँग गर्दै हामीलाई सिजरले सताएको खण्डमा, हाम्रो प्रतिक्रिया कस्तो हुनु पर्छ?
[पृष्ठ २५-मा भएको पेटी]
आदर, उपासना होइन
एक विहान कक्षा चलि रहेको बेलामा, टेरा भन्ने नाउँ भएकी, क्यानाडाकी एक जना सानी यहोवाका साक्षीले, आफ्नी सहपाठीलाई उसको शिक्षकले कक्षा कोठाबाट केही क्षणकालागि बाहिर लगेको देखिन्। एक छिन् पछि, शिक्षकले टेरालाई उससँग सुटुक्कै प्रिन्सिपलको कोठामा आउन भने।
त्यहाँ गए पछि, टेराले प्रिन्सिपलको टेबलमा एउटा क्यानाडाको झण्डा बेरेर राखेको देखिन्। शिक्षकले टेरालाई त्यस झण्डालाई थुक्न भने! टेराले राष्ट्रगान न गाएको र झण्डा सलामीमा पनि भाग न लिएको हुनाकारण, अहिले झण्डालाई थुक्न गाह्रो हुन नपर्ने भनेर शिक्षकले भने। यहोवाका साक्षीहरूले झण्डाको उपासना नगरेता पनि, तिनीहरू त्यसको सम्मान गर्दछन् भनेर व्याख्या गर्दै, टेराले झण्डामा थुक्न इनकार गरी।
कक्षामा फर्केर आए पछि, भर्खरै एउटा कुराको जाँच भयो भनेर शिक्षकले धोषणा गरे। तिनले दुई जना विद्यार्थीहरूलाई, एक एक गरी प्रिन्सिपलको कोठामा लगेर, तिनीहरूलाई झण्डामा थुक्न भनेछन्। पहिलो विद्यार्थीले देशभक्तिका समारोहहरूमा भाग लिने गर्थिन् तर तिनलाई झण्डामा थुक्न अह्राउँदा, तिनले थुकिन्। ठीक त्यसको विपरीत, टेरा राष्ट्रगान गाउने गर्दैन थिइन् र झण्डा सलामीमा पनि भाग लिंदैन थिइन्; तापनि त्यस प्रकार झण्डाको अनादर गर्न, तिनले इनकार गरिन्। उचित सम्मान देखाउने व्यक्ति टेरानै हुन् भनी शिक्षकले भने।—यहोवाका साक्षीहरूको १९९० को वार्षिक पुस्तक.