बाइबलको दृष्टिकोण
साथीहरूबीच लेनदेन
“दुष्टले ऋण लिन्छ, र फेरि तिर्दैन। तर धर्मात्माले ता अनुग्रहसाथ व्यवहार गर्छन्।”—भजन ३७:२१.
“सकेसम्म लेनदेनको काममा हात नहालेकै राम्रो, अक्सर यस्तो कामले पैसा अनि मित्रता दुवै हराउँछ।” वर्षौंदेखि साँचो साबित हुँदै आएको यो कुरालाई विलियम सेक्सपियरले माथिका शब्दहरूमा दोहऱ्याएका मात्र हुन्। मानव सम्बन्धलाई टुक्य्राउने थुप्रै कारणहरूमध्ये लेनदेन पनि एउटा हो। राम्रो योजना बनाएर सोचबिचार पुऱ्याउँदै गरेका कामहरूसमेत सधैं हामीले सोचे जस्तै हुँदैन।—उपदेशक ९:११, १२.
विभिन्न अप्ठ्यारा परिस्थितिहरूले गर्दा ऋणीलाई आफूले लिएको ऋण तिर्न गाह्रो वा असम्भव हुनसक्छ। अथवा ऋणदाता आफैलाई पैसाको अचानक खाँचो पर्न सक्छ। यस्तो भएको खण्डमा मित्रता र आफ्नोपनको नातामा खतरा आइपर्न सक्छ भनेर सेक्सपियर टिप्पणी गर्छन्।
कसैलाई भने ऋण लिनु साँच्चै आवश्यक परेको हुन्छ। गम्भीर दुर्घटना वा जागिरबाट हात धुनु पर्दा आर्थिक अवस्था एकदमै कम्जोर हुनसक्छ। यस्तो अवस्थामा उसले जीवन धान्ने एउटै सहायताको बाटो ऋण लिनु मात्र देखेको हुनसक्छ। बाइबलले आवश्यकता परेकाहरूलाई आफ्नो औकातले भ्याएसम्म मदत गर्न प्रोत्साहन दिन्छ। (हितोपदेश ३:२७) यसमा ऋण दिनु पनि समावेश हुनसक्छ। यद्यपि, यस्तो लेनदेनमा दुवै पक्षले आफ्नो दायित्वलाई कस्तो दृष्टकोणले हेर्नुपर्छ?
ध्यान दिनुपर्ने सिद्धान्तहरू
बाइबल, आर्थिक कामकुरासम्बन्धी निर्देशन दिने पुस्तक होइन। तसर्थ, यसले लेनदेनको सबै पक्षलाई छलफल गरेको छैन। जस्तै, ऋण दिएको ब्याज लिने नलिने वा ब्याज कति लिए ठीक होला यी सब जिम्मेवारी ती दुवै पक्षको हो।a तर बाइबलले लेनदेन गर्ने व्यक्तिहरूको मनोवृत्ति र व्यवहारसम्बन्धी स्पष्ट र मायालु सिद्धान्तहरू चाहिं दिन्छ।
ऋणीलाई लागू हुने सिद्धान्तहरूमा ध्यान दिनुहोस्। प्रेरित पावलले मसीहीहरूलाई “आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ” भनेर सल्लाह दिए। (रोमी १३:८) पावलले यहाँ थुप्रै मामिलामा लागू हुने सल्लाह दिइरहेका थिए तर ऋण काढ्ने विषयमा पनि अवश्य चेताउनी दिन्छ। कसैबाट ऋण लिनु भन्दा बरु केही दु:ख भोग्नु बेस हुन्छ। किन? किनभने हितोपदेश २२:७ यसो भन्छ: “धनीले गरीबमाथि प्रभुत्व गर्छ, साहूको चाकरे असामी हुन्छ।” ऋण फिर्ता नगरूञ्जेलसम्म ऋणीले आफू बन्धनमा परेको महसुस गर्छ। साथै उसित भएको सम्पूर्ण आय आफ्नो हुँदैन। उसले भाकल पूरा गर्ने कुरालाई एकदमै महत्त्वपूर्ण ठानेको हुनुपर्छ, अन्यथा कठिनाइहरू आइपर्न सक्छन्।
जस्तै, भाकलको मिति नाघेर पनि ऋण फिर्ता नहुँदा ऋणदातालाई कता कता रिस उठ्नसक्छ। अब भनौं, ऋणीले नयाँ-नयाँ कपडा लगाइरहेको, रेस्टुराँमा खानपिन गरिरहेको र छुट्टी मनाउन गइरहेको देख्दा ऋणदातालाई वास्तवमा उसलाई ऋण लिनु पर्ने आवश्यकता नै थिएन कि जस्तो लाग्नसक्छ। त्यस्तो देख्दा उसको रिसको आगो झनै दन्कनसक्छ। उनी दुई र उनीहरूको परिवारबीचको सम्बन्धमा तितोपना आउनसक्छ वा परिस्थिति त्यो भन्दा नाजुक पनि हुनसक्छ। ऋणीले आफूले दिएको वचन पूरा गर्न नसक्दा यस्तो दुःखलाग्दो अवस्था पनि हुन सक्छ।—मत्ती ५:३७.
तर ऋणीले कोसिस गर्दा गर्दै पनि परिस्थितिवश आफूले सोचेको जस्तो भएन भने नि? के उसको ऋण माफी हुन्छ? हुन्छ नै भन्ने छैन। भजनरचयिता भन्छ, धर्मी मानिसले “आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदलँदैन।” (भजन १५:४) यस्तो स्थितिमा ऋणीले तुरुन्तै आफ्नो अवस्थाबारे ऋणदातालाई खुलस्त पारिहाल्नु नै मायालु र बुद्धिमानी कुरा हुनेछ। त्यसो गर्दा तिनीहरूले अर्कै विकल्पको प्रबन्ध मिलाउनसक्छन्। यसो गर्दा एक त उनीहरूमा मेल-मिलाप भइरहन्छ औ अर्कोतिर परमेश्वर पनि खुसी हुनुहुनेछ।—भजन १३३:१; २ कोरिन्थी १३:११.
वास्तवमा, ऋणीले आफू कस्तो मानिस हो भन्ने कुरा ऋण प्रयोग गर्ने ढंगबाट चिनाउँछ। ऋण फिर्ता गर्ने कुरालाई हल्का सम्झँदै जथाभाबी र लापरवाही गर्ने मनोवृत्तिले अरूप्रति उसको केही चासो नभएको बुझिन्छ। यस्तो मनोवृत्ति भएको मानिसले उसको स्वार्थलाई झल्काउँछ साथै आफ्नो इच्छा र चाहनालाई मात्र बढी ध्यान दिने किसिमको मानिस हो भन्ने बुझिन्छ। (फिलिप्पी २:४) आफू मसीही भइकन पनि जानाजानी ऋण तिर्दैन भने परमेश्वरको नजरमा बैमान ठहरिन्छ, साथै उसको गतिविधिले उ लोभी र दुष्ट छ भनेर देखाउनसक्छ।—भजन ३७:२१.
ऋणदाता
लेनदेनको मामिलामा ऋण लिनेको मुख्य दायित्व भए तापनि ऋणदातालाई लागू हुने सिद्धान्तहरू पनि छन्। आवश्यकता परेकाहरूलाई सहायता गर्नसक्ने क्षमता छ भने तिनीहरूलाई सहायता गर्नुपर्छ भनेर बाइबलले बताउँछ। (याकूब २:१४-१६) तर त्यसको मतलब, आफ्नो अध्यात्मिक भाइले ऋण माग्दैमा उसलाई दिनैपर्छ भन्ने छैन। बाइबल भन्छ: “चतुर मानिस दु:ख आएको देखेर जोगिन्छ।”—हितोपदेश २२:३.
लेनदेनको मामलामा खतराहरू आइपर्नसक्ने कुराहरू जानीबुझीकन सोझा मानिसहरूले पहिल्यै होसियारीसँग काम गर्छन्। के उसलाई ऋण दिनु मुनासिब छ? उसले यस विषयमा राम्ररी सोचेको छ कि छैन? के उ व्यवस्थित ढंगमा चल्ने स्वभावको व्यक्ति हो साथै समाजमा उसको नाउँ कस्तो छ? उ तयार गरिएको कागजातमा हस्ताक्षर गर्न राजी छ? (यर्मिया ३२:८-१४ तुलना गर्नुहोस्।) के उ ऋण फिर्ता गर्न तयारी छ?
आवश्यकतामा परेका तर ऋण चाहिं फिर्ता गर्न नसक्ने मसीहीहरूलाई ऋण दिंदै नदिनु भनेको चाहिं होइन। तर मसीहीहरूले सँगी मानवहरूप्रति पूरा गर्नुपर्ने दायित्व पैसाको लेनदेनमा मात्र सीमित छैन। प्रेरित यूहन्ना प्रश्न गर्छन्: “तर संसारको सम्पत्ति हासिल गरेर पनि कसैले आफ्नो भाइलाई खाँचो परेको देखेर त्यसमाथि आफ्नो दया देखाउँदैन भनेता परमेश्वरको प्रेम त्यसमा कसरी रहन्छ?” हो, मसीहीहरू भएर “वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम” देखाऔं।—१ यूहन्ना ३:१७, १८.
कहिलेकाहीं कसैले आवश्यकतामा परेको आफ्नो भाइलाई ऋण नदिने निर्णय गर्नसक्छ। त्यसको साटो उसलाई चाहेको सामग्री दिन वा अर्कै प्रकारको सहयोग गर्न चाहलान्। त्यस्तै किसिमले, ऋणीलाई समस्याहरू आइपर्दा ऋणदाताले दयालु व्यवहार गर्नसक्छ। ऋणीको बदलिंदो परिस्थितिलाई ध्यानमा राख्दै उसले ऋण फिर्ता गर्ने समय केही लम्ब्याउन, ऋण कम गरिदिन वा सम्पूर्ण ऋण नै माफी गरिदिन पनि सक्छ। यी सब गर्ने नगर्ने चाहिं ऋणदाताकै व्यक्तिगत निर्णयको कुरा हो।
परमेश्वरले सबै कुरा देख्नुहुन्छ र हाम्रो व्यवहार अनि आय स्रोतको परिचालनको लागि हामीलाई जवाफदेही ठहराउनुहुन्छ भनेर मसीहीहरूले कहिल्यै बिर्सनु हुँदैन। (हिब्रू ४:१३) हामी जे गर्छौं ती सबै “प्रेममा गरिएका होऊन्” भन्ने बाइबलको सल्लाह अवश्य नै साथीहरूबीच लेनदेनको मामिलामा लागू हुन्छ।
[फुटनोट]
a ऋणमा ब्याज लगाउने विषयमा थप जानकारी प्राप्त गर्न अक्टोबर १५, १९९१, को प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २५-८ मा हेर्नुहोस्।
[पृष्ठ -मा भएको चित्र]
“सराफी र उनकी पत्नी” (१५१४), क्वेन्टिन मास्सीसद्वारा
[स्रोत]
Scala/Art Resource, NY