साहसी हुनुहोस्
“निर्भयसँग हामी भन्दछौं, ‘प्रभु [यहोवा न्यु व०] मेरा सहायक हुनुहुन्छ।’”—हिब्रू १३:६.
१. सा०यु० प्रथम शताब्दीमा परमेश्वरको सत्य कुराहरू सिकेका व्यक्तिहरूले कस्तो निर्भयता प्रदर्शन गरे?
सामान्य युगको पहिलो शताब्दी थियो। लामो समयदेखि प्रतीक्षित मसीह आइसकेका थिए। आफ्ना चेलाहरूलाई राम्ररी सिकाउनुको साथै उहाँले एउटा महत्त्वपूर्ण प्रचार कार्य सुरु गरिसक्नुभएको थियो। मानिसहरूले परमेश्वरको राज्यको सुसमाचार सुन्ने बेला आइसकेको थियो। यसर्थ, सत्य कुरा सिकिसकेका पुरुष र स्त्रीहरूले निर्भयतासाथ त्यस महान समाचारको घोषणा गर्न थाले।—मत्ती २८:१९, २०.
२. आज यहोवाका साक्षीहरूलाई साहस किन चाहिन्छ?
२ त्यस समयमा राज्य स्थापित भइसकेको थिएन। तर राजा-नियुक्त येशूले भविष्यमा राजकीय शक्तिमा आफ्नो अदृश्य उपस्थितिबारे भविष्यवाणी गरिसक्नु भएको थियो। त्यो समय अतुलनीय युद्धहरू, भोकमरी, रूढी, भुईंचालो र विश्वव्यापी प्रचार कार्यले चिह्नित हुनेथियो। (मत्ती २४:३-१४; लूका २१:१०, ११) यहोवाका साक्षीहरू हुनाकारण यस्ता परिस्थितिहरू र सतावटको सामना गर्न हामीलाई साहसको खाँचो पर्दछ। यसकारण सा०यु० पहिलो शताब्दीका साहसी राज्य प्रचारकहरूबारे बाइबलमा दिइएको विवरणलाई ध्यान दिनु लाभदायक हुनेछ।
ख्रीष्टको अनुकरण गर्न साहस
३. साहसको सबैभन्दा राम्रो उदाहरण कसको छ र उहाँबारे हिब्रू १२:१-३ मा के भनिएको छ?
३ साहसको सर्वोत्तम उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ। यहोवाका मसीहीपूर्व साक्षीहरूको ‘मेघ’-बारे उद्धरण गरिसकेपछि, प्रेरित पावल येशूमाथि ध्यान केन्द्रित गर्दै यसो भन्छन्: “यसैकारण हामी पनि, यत्तिका गवाहीका मेघले घेरिएका हुनाले, हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। किनभने पापीहरूबाट उहाँको विरूद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर, औ मन शिथिल भई तिमीहरू थाकेर नजाओ।”—हिब्रू १२:१-३.
४. शैतानले प्रलोभन ल्याउँदा येशूले साहसको प्रदर्शन कसरी गर्नुभयो?
४ बप्तिस्मा पश्चात् उजाडस्थानमा ४० दिनसम्म मनन र प्रार्थना गर्दै उपवास बसिसक्नु भएपछि येशूले निर्भयतासाथ शैतानको विरोध गर्नुभयो। दियाबलले ढुङ्गालाई रोटी बनाउन प्रलोभित गर्दा येशूले इन्कार गर्नुभयो किनभने व्यक्तिगत इच्छा पूर्तिका लागि चमत्कारहरू गर्नु गलत थियो। येशूले भन्नुभयो, “यस्तो लेखिएको छ, मानिस भोजनले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको प्रत्येक वचनले बाँच्तछ।” मन्दिरको गजूरबाट हाम्फाल्न शैतानले चुनौती दिंदा येशूले इन्कार गर्नुभयो किनभने सम्भावित आत्महत्या गरेर परमेश्वरलाई परीक्षामा पार्नु पाप हुनेथियो। ख्रीष्टले भन्नुभयो, “फेरि यस्तो लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्।” त्यसपछि “दण्डवत” गरे जस्तो मात्र गरेमा शैतानले सारा संसारै दिने कुरा गरे। तर परीक्षा आइपर्दा मानिसहरू परमेश्वरप्रति विश्वासी हुने छैनन् भन्ने शैतानको चुनौतीलाई समर्थन गर्दै येशूले धर्मत्याग गर्नुहुने थिएन। अतः येशूले घोषणा गर्नुभयो: “ए शैतान, हटी जा! किनभने यस्तो लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, औ उहाँको मात्र सेवा गर्नू।” त्यसो भनिसकेपछि, प्रलोभकले “केही समयसम्म छोड़ेर गयो।”—मत्ती ४:१-११; लूका ४:१३.
५. प्रलोभनहरूमा नफस्न हामीलाई कुन कुराले मदत दिन सक्छ?
५ येशू यहोवाको अधीनमा हुनुहुन्थ्यो र शैतानको विरोध गर्नुहुन्थ्यो। त्यसरी नै हामीले पनि ‘परमेश्वरको अधीनमा बसेर शैतानको विरोध गऱ्यौं भने त्यो हामीहरूबाट भाग्नेछ।’ (याकूब ४:७) हामीले शास्त्रको अनुसरण गऱ्यौं र पापी काम गर्न लोभिईंदा शास्त्रवचनलाई उद्धरण पनि गऱ्यौं भने हामी पनि येशूले जस्तै साहसीपूर्वक परीक्षाको सामना गर्न सक्छौं। चोरी गर्न लोभिईंदा यदि हामीले त्यत्ति नै बेला “चोरी नगर्नू” भन्ने परमेश्वरको व्यवस्थालाई उद्धरण गऱ्यौं भने के हामी परिक्षामा फस्छौं होला? यदि लैङ्गिक अनैतिकतामा फस्न लाग्दा दुई जना मसीहीमध्ये एक जनाले मात्र पनि साहसीपूर्वक “व्यभिचार नगर्नू” भन्ने वचनलाई उद्धरण गरे भने के तिनीहरू अनैतिकतामा फस्छन् होला?—रोमी १३:८-१०; प्रस्थान २०:१४, १५
६. येशू संसारमाथि विजय प्राप्त गर्ने साहसी विजेता कसरी हुनुहुन्थ्यो?
६ यस संसारबाट घृणित मसीही भएर हामी यस संसारको आत्मा र पापपूर्ण आचरणदेखि टाढा बस्न सक्छौं। येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर ढाड़स गर, मैले संसारलाई जितेको छु।” (यूहन्ना १६:३३) यस संसार जस्तो नभएर येशू संसारमाथि विजयी हुनुभयो। विजयी भएर उहाँले देखाउनुभएको उदाहरण र उहाँको निष्ठावान मार्गको प्रतिफलले संसारबाट अलग र निष्कलङ्कित हुन उहाँको अनुसरण गर्न साहस प्रदान गर्न सक्छ।—यूहन्ना १७:१६.
प्रचार गरी नै रहन साहस
७, ८. सतावटको बावजूद पनि प्रचार गरिरहन हामीलाई कुन कुराले मदत दिनेछ?
७ सतावटको बावजूद पनि प्रचार गरी नै रहन येशू र उहाँका चेलाहरूले साहसको निम्ति परमेश्वरमा भर गर्नुभयो। सतावटको बावजूद पनि ख्रीष्टले आफ्नो सेवकाई पूरा गर्नुभयो। सा०यु० ३३-को पेन्तिकोसको समय पश्चात्, यहूदी धार्मिक नेताहरूले रोक्न खोजे तापनि येशूका सताइएका चेलाहरूले प्रचार गरी नै रहे। (प्रेरित ४:१८-२०; ५:२९) चेलाहरूले प्रार्थना गरे: “हे प्रभु [यहोवा न्यु व०], तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्।” त्यसपछि के भयो? त्यही विवरण भन्दछ: “तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबैजना पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्वरको वचन बोले।”—प्रेरित ४:२४-३१.
८ आज अधिकांश मानिसहरू सुसमाचार सुन्न रूचाउँदैनन्। त्यसकारण ती व्यक्तिहरूलाई लगातार प्रचार गरी रहन साहसको खाँचो पर्दछ। विशेषगरि सताइएका यहोवाका सेवकहरूलाई पूर्ण रूपले साक्षी दिनको लागि ईश्वर-प्रदत्त साहसको खाँचो पर्दछ। (प्रेरित २:४०; २०:२४) अतः साहसी राज्य प्रचारक पावलले जवान, कम अनुभवी आफ्नो सहकर्मीलाई यसो भने: “परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। यसकारण हाम्रा प्रभुको साक्षीको शर्म नमान, नता म उहाँको कैदीको, तर परमेश्वरको शक्तिअनुसार सुसमाचारको निम्ति कष्ट भोग।” (२ तिमोथी १:७, ८) हामीले साहसको लागि प्रार्थना गऱ्यौं भने प्रचार गरिरहन सक्नेछौं र सतावट नै आए तापनि राज्य प्रचारक हुनाको आनन्द गुमाउनेछैनौं।—मत्ती ५:१०-१२.
यहोवाको पक्षमा खडा हुन साहस
९, १०. (क) ख्रीष्टका बप्तिस्माप्राप्त अनुयायीहरू हुन पहिलो शताब्दीका यहूदी र अन्यजातिहरूले के गरे? (ख) मसीहीहरू हुन साहसको किन खाँचो पर्थ्यो?
९ प्रथम शताब्दीका थुप्रै यहूदीहरू र अन्यजातिहरूले ख्रीष्टको बप्तिस्माप्राप्त अनुयायीहरू हुन साहसीपूर्वक अशास्त्रीय परम्पराहरू त्यागे। सा०यु० ३३ पेन्तिकोसको केही समय पश्चात्, “चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ्यो। औ पूजाहारीहरूको एक ठूलो दलले यही मत मान्न लाग्यो।” (प्रेरित ६:७) ती यहूदीहरूसित धार्मिक बन्धनहरू तोडेर येशूलाई मसीहको रूपमा स्वीकार गर्ने साहस थियो।
१० सा०यु० ३६-को प्रारम्भमा धेरै अन्यजातिहरू विश्वासी भए। कर्नीलियस, उनको परिवार र अन्यजातिका अरू मानिसहरूले सुसमाचार सुन्नेबित्तिकै यसलाई स्वीकार गरे, पवित्र आत्मा पाए र “येशू ख्रीष्टको नाउँमा बप्तिस्मा” लिए। (प्रेरित १०:१-४८) फिलिप्पीमा झ्यालखानाका हाकिम अन्यजातिका थिए र उनको घरानाले तुरुन्तै मसीही धर्मलाई स्वीकारे र “उनी र उनको परिवारले उत्तिखेरै बप्तिस्मा लिए।” (प्रेरित १६:२५-३४) त्यस्ता कदमहरू उठाउन साहस चाहिन्थ्यो किनभने मसीहीहरू अलोकप्रिय र सताइएको सानो झुन्ड थियो। तिनीहरू अझै पनि त्यस्तै नै छन्। तर तपाईंले परमेश्वरलाई समर्पण गरेर यहोवाका एकजना साक्षीको रूपमा बप्तिस्मा लिनुभएको छैन भने के त्यस्ता साहसी कदमहरू उठाउने बेला भएको छैन र?
विभाजित घरमा साहस
११. युनिस र तिमोथीले साहसको कस्तो राम्रो उदाहरण देखाए?
११ धार्मिक दृष्टिकोणबाट विभाजित घरानामा युनिस र उनको छोरा तिमोथीले विश्वासको साहसी उदाहरण देखाए। युनिसको पति गैरमसीही भए तापनि, उनले आफ्नो छोरालाई बाल्यकालदेखि “पवित्र लेखोटहरू” सिकाइन्। (२ तिमोथी ३:१४-१७) मसीही भइसकेपछि युनिसले ‘निष्कपट विश्वास’ प्रदर्शन गरिन्। (२ तिमोथी १:५) विश्वास नगर्ने आफ्नो पतिको शीरत्वलाई आदर देखाउँदै मसीही शिक्षाहरू तिमोथीलाई सिकाउने साहस उनीसित थियो। पावलको मिसनरी यात्राहरूमा सङ्गै जान आफ्नो छोरा नियुक्त हुँदा अवश्य नै उनले आफ्नो विश्वास र साहसको प्रतिफल पाइन्। यस्तै परिस्थितिमा भएका मसीही आमाबाबुहरूलाई यस अनुभवले कस्तो प्रोत्साहन दिन सक्छ!
१२. तिमोथी कस्तो व्यक्ति बन्न पुगे र आज उनीजस्तै भएर कसले देखाएका छन्?
१२ धार्मिक दृष्टिकोणले विभाजित परिवारमा हुर्केको भए तापनि, तिमोथीले साहसीपूर्वक मसीही धर्मलाई स्वीकारेर एक जना आध्यात्मिक व्यक्ति बन्न पुगे। तिनको विषयमा पावलले यसप्रकार लेखे: “अब म तिमीहरूकहाँ [फिलिप्पीहरू] चाँडै तिमोथीलाई पठाउन प्रभुमा आशा गर्दछु, र तिमीहरूको अवस्था थाह पाएर म पनि आनन्दित होऊँ। किनभने साँचो मनले तिमीहरूका कल्याण सोच्ने मजस्तै मन भएको मानिस अरू कोही छैन, . . . यो प्रमाणित भएको तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरीनै तिनले मसित सुसमाचार फैलाउने काममा सेवा गरे।” (फिलिप्पी २:१९-२२) आज पनि, धार्मिक दृष्टिकोणबाट विभाजित परिवारहरूमा हुर्कने थुप्रै केटा र केटीहरूले साहसीपूर्वक साँचो मसीही धर्म अँगाल्दछन्। तिमोथीले जस्तै तिनीहरूले पनि आफ्नो प्रमाण दिइरहेका छन्। तिनीहरू यहोवाको सङ्गठनको भाग भएकोमा हामी कति आनन्दित छौं!
‘हाम्रो गर्दन खतरामा’ राख्ने साहस
१३. अक्वीला र प्रिस्काले कुन ढङ्गमा साहस देखाए?
१३ आफ्नो सहकर्मीको खातिर साहसीपूर्वक ‘आफ्नो गर्दन खतरामा राखेर,’ अक्वीला र उनकी पत्नी, प्रिसील्लाले (प्रिस्का) राम्रो उदाहरण छाडे। तिनीहरूले पावललाई आफ्नो घरमा राखे, पाल बनाउने काममा मदत दिए र कोरिन्थमा नयाँ मण्डली स्थापना गर्न मदत गरे। (प्रेरित १८:१-४) तिनीहरूको १५-वर्षे लामो मित्रतामा पावलको खातिर अप्रत्यक्ष ढङ्गमा तिनीहरूले आफ्नो ज्यान समेत जोखिममा पारे। त्यहाँका मसीहीहरूलाई पावलले यी कुराहरू भन्दा तिनीहरू रोममै थिए: “प्रिस्का र अक्वीला, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूप्रति सलाम भनिदेओ, जसले मेरो प्राणको निम्ति तिनीहरूका आफ्ना गर्दन दिए। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिहरूका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्।”—रोमी १६:३, ४.
१४. अक्वीला र प्रिस्काले पावलको खातिर आफ्नो गर्दनलाई खतरामा पार्दा कुन आज्ञा मुताविक काम गरिरहेका थिए?
१४ पावलको खातिर अक्वीला र प्रिस्काले आफ्नो गर्दन खतरामा हालेर येशूको शब्दअनुरूप काम गरिरहेका थिए: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर।” (यूहन्ना १३:३४) यो एउटा “नयाँ” आज्ञा थियो किनभने मोशाको व्यवस्थाअनुसार आफ्नो छिमेकीलाई मात्र आफूझैं प्रेम गर्नु पर्थ्यो। (लेवी १९:१८) यो आज्ञा “नयाँ” यसकारणले हुन गयो किनभने येशूलेझैं आत्म-त्यागको प्रेमले अरूहरूको लागि आफ्नो ज्यान समेत दिन तयार हुनु पर्थ्यो। सा०यु० दोस्रो र तेस्रो शताब्दीका लेखक टर्टुलियनले मसीहीहरूप्रति सांसारिक मानिसहरूको भनाइलाई यसप्रकार उल्लेख गरे: “हेर, यिनीहरू एकअर्कालाई कस्तो प्रेम गर्दछन् र एक अर्काकालागि मर्न पनि तैयार रहन्छन्।” (अपोलोजी, अध्याय ३९, ७) विशेषगरि सतावटहरू आइपर्दा हाम्रा सङ्गी विश्वासीहरूलाई शत्रुहरूको क्रूरता र मृत्युमा फस्न नदिन आफ्नो गर्दन खतरामा राखेर भ्रातृत्व प्रेम प्रदर्शन गर्न हामी बाध्य हुन सक्छौं।—यूहन्ना ३:१६.
साहसले आनन्द ल्याउँछ
१५, १६. प्रेरित अध्याय १६-मा बताएअनुसार साहस र आनन्द आपसमा कसरी सम्बन्धित छन्?
१५ कठिनाइ आइपर्दा साहस देखाउनाले आनन्द ल्याउँछ भन्ने प्रमाण पावल र सिलासले प्रदर्शन गरे। फिलिप्पी शहरमा अदालतका हाकिमहरूको आदेशमा तिनीहरूलाई खुलेआम छडीले पिटियो र झ्यालखानामा ठिङ्गुरा ठोकेर राखियो। यद्यपि, तिनीहरू डराएर लुत्रुक्क परेर बसेनन्। परिस्थिति अप्ठ्यारो भए तापनि तिनीहरूसित ईश्वर-प्रदत्त साहस र विश्वासी मसीहीहरू हुनाले आउने आनन्द थियो।
१६ आधा राततिर पावल र सिलास प्रार्थना गर्दै भजनहरू गाएर परमेश्वरको प्रशंसा गरिरहेका थिए। तब एक्कासि भुईंचालोले झ्यालखानालाई हल्लायो, ठिङ्गुरोहरू खुले र सबै ढोकाहरू उघ्रिए। झ्यालखानाका भयभीत हाकिम र उनको परिवारलाई साक्षी दिइयो जसको फलस्वरूप तिनीहरू सबैले यहोवाको सेवकको रूपमा बप्तिस्मा लिए। “परमेश्वरमा विश्वास गरेर तिनका परिवारसमेत सबै खुशी भए।” (प्रेरित १६:१६-३४) यो देखेर पावल र सिलास कस्तो खुशी भए होलान्! साहसको यो र अरू शास्त्रीय उदाहरणहरूलाई ध्यान दिइसकेपछि हामी पनि यहोवाका सेवकहरू भएर कसरी साहसी रहन सक्छौं?
लगातार साहसी भइ रहनुहोस्
१७. भजनसंग्रह २७-मा भनेझैं यहोवाको बाटो हेर्नु कसरी साहससित सम्बन्धित छ?
१७ यहोवाको बाटो हेर्नाले हामीलाई साहसी हुन मदत दिन्छ। दाऊदले यसरी गाए: “परमप्रभुको बाटो हेर, दह्रो हो, र तेरो हृदयले साहस गरोस्, तैंले परमप्रभुको बाटो हेर्।” (भजनसंग्रह २७:१४) आफ्नो जीवनको “किल्ला”-को तवरमा यहोवामाथि दाऊदले भरोसा गर्थे भनेर भजनसंग्रह २७-ले देखाउँछ। (पद १) बितेको समयमा दाऊदका शत्रुहरूसित परमेश्वरले गर्नुभएको व्यवहार देखेको हुँदा दाऊदले साहस पाए। (पदहरू २, ३) अर्को कारण यहोवाको उपासनाको मुख्य ठाउँप्रतिको मूल्याङ्कन थियो। (पद ४) यहोवाको मदत, सुरक्षा र छुटकारामा भर पर्नाले पनि दाऊदको साहस बढ्यो। (पदहरू ५-१०) यसबाहेक यहोवाको धार्मिक मार्गहरूबारे लगातार पाइरहेको निर्देशन पनि मदतकारी साबित भयो। (पद ११) उनका शत्रुहरूबाट बचाउन यहोवामाथिको विश्वास र आशाका साथ पूर्ण निर्भरतासहित गरेको प्रार्थनाले पनि दाऊदलाई साहसी हुन मदत दियो। (पदहरू १२-१४) हामी पनि “यहोवाको बाटो हेरेर” त्यस्तै साहस देखाउन सक्छौं।
१८. (क) सङ्गी उपासकहरूसित नियमित तवरमा सङ्गत गर्नाले साहसी हुन मदत दिन्छ भनेर कुन कुराले देखाउँछ? (ख) मसीही सभाहरूले साहस बढाउन कस्तो भूमिका खेल्छ?
१८ यहोवाका सङ्गी उपासकहरूसित नियमित तवरमा सङ्गत गर्नाले साहसी भइरहन सक्छौं। सिजरलाई अपिल गरेर रोमतर्फ यात्रा गर्दा पावलले अप्पियस र तीन-पाटी भन्ने ठाउँमा सङ्गी विश्वासीहरूलाई भेटे। विवरणअनुसार, “यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढाए, र हौसला लिए।” (प्रेरित २८:१५) हामी नियमित तवरमा सभाहरूमा उपस्थित भयौं भने पावलको यस सल्लाहलाई अनुसरण गरिरहेका हुन्छौं: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरून्। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोडौं। तर दिन नजीक नजीक आइपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ्ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) एक अर्कालाई प्रोत्साहन दिनुको अर्थ के हो? प्रोत्साहन दिनुको अर्थ “साहस, जोश अथवा आशाका साथ उत्प्रेरित गर्नु” हो। (वेब्सटर्स नाइन्थ न्यु कोलिजियट डिक्शनरी) अरू मसीहीहरूको साहस बढाउन हामी थुप्रै कामहरू गर्न सक्छौं र त्यस्तैगरि तिनीहरूको प्रोत्साहनले हामीमा साहस बढाउन सक्छ।
१९. हामी साहसी रहिरहने सम्बन्धमा शास्त्र र मसीही प्रकाशनहरू कसरी सम्बन्धित छन्?
१९ साहसी भइरहन हामीले नियमित तवरमा परमेश्वरको वचन अध्ययन गर्नुपर्छ र त्यसमा दिइएको सल्लाह हाम्रो जीवनमा प्रयोग गर्नुपर्छ। (व्यवस्था ३१:९-१२; यहोशू १:८) शास्त्रमा आधारित मसीही प्रकाशनहरू पनि हाम्रो नियमित अध्ययनमा समावेश हुनुपर्छ। किनभने हाम्रो विश्वासको परीक्षालाई ईश्वर-प्रदत्त साहसका साथ सामना गर्न त्यहाँ दिइएका राम्रा सल्लाहहरूले हामीलाई मदत दिन सक्छ। विभिन्न परिस्थितिहरूमा यहोवाका सेवकहरू कसरी साहसी भए भन्ने कुरा हामीले बाइबलमा दिइएका विवरणमा देखि सक्यौं। त्यस्ता जानकारीहरूले कत्तिको मदत देला भनेर अहिले हामीलाई थाहा नहोला तर परमेश्वरको वचन शक्तिशाली छ र यसबाट सिकेका कुराहरूले हामीलाई सधैं फाइदा गर्नसक्छ। (हिब्रू ४:१२) उदाहरणको लागि, मानिसहरूको डरले हाम्रो सेवकाईलाई असर पार्न थाल्यो भने हामीले ईश्वरहीन मानिसहरूलाई परमेश्वरको समाचार प्रचार गर्ने साहसी हनोकलाई सम्झन सक्छौं।—यहूदा १४, १५.
२०. यहोवाका सेवकहरू भएर साहसी भइरहन प्रार्थना अपरिहार्य छ भनेर किन भन्न सकिन्छ?
२० यहोवाका साहसी सेवकहरू भइरहन हामी प्रार्थनामा निरन्तर लागिरहनु पर्छ। (रोमी १२:१२) येशूले साहसीपूर्वक परीक्षाहरू सहनुभयो किनभने उहाँले “आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरबिन्ती गर्नुभयो, र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाई भयो।” (हिब्रू ५:७) प्रार्थनाद्वारा परमेश्वरको नजिक भयौं भने हामीले सांसारिक डरछेरुवा व्यक्तिहरूले जस्तो पुनरुत्थान नै नहुने “दोस्रो मृत्यु”-को अनुभव गर्नेछैनौं। (प्रकाश २१:८) परमेश्वरको नयाँ संसारमा पाइने ईश्वरीय सुरक्षा र जीवन उहाँको साहसी सेवकहरूको निम्ति हो।
२१. यहोवाका निष्ठावान साक्षीहरू किन साहसी हुन सक्छन्?
२१ यहोवाका निष्ठावान साक्षीहरू हुनाले हामीहरू भूतात्मा र मानव शत्रुहरुसित डराउनु पर्दैन किनभने हामीसित परमेश्वरको भरोसा र संसारमाथि विजय प्राप्त गर्नुहुने येशूको साहसी उदाहरण छ। त्यस्तैगरि यहोवाका जनहरूसित आध्यात्मिक तवरमा उत्थानवर्धक सङ्गति गर्नाले पनि हामीलाई साहसी हुन मदत दिन्छ। शास्त्र र मसीही प्रकाशनहरूमा दिइएको निर्देशन र सल्लाहले पनि हाम्रो साहस बढाउन मदत गर्छ। यसबाहेक परमेश्वरका अतीतका जनहरूबारे बाइबलमा दिइएको उदाहरणले हामीलाई उहाँको मार्गमा साहसीपूर्वक हिंड्न मदत दिन्छ। तसर्थ, आजको डरलाग्दो अन्तिम दिनमा हामी उहाँको पवित्र सेवामा साहसीपूर्वक अघि बढौं। हो, यहोवाका सबै जनहरू साहसी होऊन्! (w93 11/15)
तपाईंले कसरी जवाफ दिनुहुनेछ?
▫ येशूको उदाहरणले हामीलाई कसरी साहसी बनाउन सक्छ?
▫ प्रचार गरी रहन येशू र उहाँका चेलाहरूलाई कुन कुराले साहस दियो?
▫ यहोवाको पक्षमा खडा हुन यहूदी र अन्यजातिहरूलाई किन साहसको खाँचो पऱ्यो?
▫ युनिस र तिमोथीले साहसको कस्तो उदाहरण प्रदर्शन गरे?
▫ सतावटकै बेलामा पनि साहसले आनन्द ल्याउँछ भन्ने के प्रमाण छ?
[पृष्ठ २८-मा भएको चित्र]
हामीले शास्त्र वचन अनुसरण गऱ्यौं र परीक्षाको बेलामा शास्त्रपद उद्धरण गऱ्यौं भने येशूले झैं परीक्षाको सामना गर्न सक्छौं