बाइबलको दृष्टिकोण
के घमण्डी हुनु गलत हो?
उहिले उहिले सात घातक पापहरूमध्ये पहिलो घमण्ड हो भनिन्थ्यो। यद्यपि, आज थुप्रैको विचारमा यो धारणा अत्यन्तै पुरानो भइसक्यो। यो २१ औं शताब्दीको संघारमा घमण्डलाई पाप होइन बरु मूल्यवान् सम्पत्ति ठानिन्छ।
तथापि, बाइबलले घमण्डको नकारात्मक अर्थ दिन्छ। घमण्ड गर्नु गलत हो भनेर बाइबलमा हितोपदेशको पुस्तकमा मात्र पनि थुप्रै पटक उल्लेख गरिएको छ। उदाहरणका लागि, हितोपदेश ८:१३ ले यसो भन्छ: “अभिमान, अहंकार, खराब चाल, भड़काउने कुराहरू, यी सबैलाई म घृणा गर्छु।” हितोपदेश १६:५ बताउँछ: “अहंकारी मानिस, सबका सब, परमप्रभुको दृष्टिमा घृणित छन्।” साथै पद १८ ले यस्तो चेताउनी दिन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”
हानिकारक घमण्ड
बाइबलले तिरस्कार गरेको घमण्डलाई अचाक्ली आत्मसम्मान, कसैको प्रतिभा, सौन्दर्य, धन, शिक्षा, दर्जा इत्यादिबारे अनावश्यक अहंकार गर्नु हो भन्न सकिन्छ। यसले गर्दा अरूलाई हेला गर्ने व्यवहार, अभिमान, ढिठ वा अहंकार आफूमा भएको देखाउँछ। आफूबारे अचाक्ली सोच्नाले सुधार्न इन्कार गर्ने, भूल स्वीकार्न र क्षमा माग्न नचाहने, वचनबद्ध नहुने, मानमर्यादा हराउन नचाहने अथवा कसैले केही गऱ्यो वा भन्यो भन्दैमा कारणैबिना रिसाउने हुनसक्छ।
घमण्डीले जहिले पनि आफ्नै ढंगमा काम गर्ने वा गर्दै नगर्ने खालको मनोवृत्तिमा जोड दिन्छ। यस्तो मनोवृत्तिले गर्दा अक्सर एक न एक तरिकामा व्यक्तिगत झगडाहरू हुन्छन्। जातीय तथा राष्ट्रियताको घमण्डले गर्दा अनगिन्ती युद्ध तथा रक्तपात भएको छ। बाइबलअनुसार घमण्डले गर्दा नै परमेश्वरको आत्मिक पुत्रले विद्रोह गरेर आफैलाई शैतान अर्थात् दियाबल बनायो। मसीही प्राचीनहरूको योग्यताबारे पावलले यस्तो सल्लाह दिए: “तिनी नयाँ विश्वासी नहोऊन्, नत्रता घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्।” (१ तिमोथी ३:६; नयाँ संशोधित संस्करण; इजकिएल २८:१३-१७ तुलना गर्नुहोस्।) घमण्डका परिणामहरू यस्तै हुन् भने परमेश्वरले यसलाई विरोध गर्नु कुनै अचम्मको कुरा छैन। तथापि, तपाईं यस्तो प्रश्न गर्नुहुन्छ होला, ‘के कुनै परिस्थितिहरूमा घमण्ड गर्नु जायज छैन र?’
के जायज घमण्ड छ?
मसीही युनानी धर्मशास्त्रमा “गर्व गर्नु, आनन्दित हुनु, घमण्ड गर्नु” भनेर अनुवाद गरिएको काफ्खाओमे क्रियालाई नकारात्मक र सकारात्मक, दुवै अर्थमा चलाइएको छ। उदाहरणका लागि, “परमेश्वरको महिमाको आशामा हामी आनन्द गरौं” भनी पावल भन्छन्। तिनी यस्तो सल्लाह पनि दिन्छन्: “घमण्ड गर्नेले प्रभुमा घमण्ड गरोस्।” (रोमी ५:२; २ कोरिन्थी १०:१७) यसको अर्थ यहोवालाई परमेश्वर मान्दै उहाँमा घमण्ड गर्नु हो। यो एउटा यस्तो भाव हो जसले उहाँको राम्रो नाउँ र ख्यातिमा आनन्दित हुन हामीलाई उत्प्रेरित गर्छ।
उदाहरणका लागि: कुनै असल नाउँको निन्दा गरिंदैछ भने त्यस नाउँको पक्षमा बोल्नु के गलत हो? अवश्य पनि होइन। तपाईंको परिवारको सदस्य वा तपाईंले माया र आदर गर्ने व्यक्तिबारे कसैले अनुचित कुरा गऱ्यो भने के तपाईं रिसाउनुहुन्न र? के तपाईं तिनीहरूको नाउँको रक्षा गर्न बोल्न बाध्य महसुस गर्नुहुन्न र? बाइबल भन्छ, “धेरै धन-सम्पत्ति भन्दा असल नाउँको इच्छा गर्नु धेरै उत्तम हो।” (हितोपदेश २२:१) एकपल्ट मिश्रको घमण्डी फिरऊनलाई सर्वशक्तिमान् परमेश्वरले यसो भन्नुभयो: “मेरो शक्ति प्रकट गर्ने अभिप्रायलेनै मैले तँलाई जीवित राखेको छु, र यसरी सारा संसारमा मेरो नाउँको घोषणा होस्।” (प्रस्थान ९:१६) यसकारण परमेश्वर आफ्नो असल नाउँ र प्रतिष्ठामा आनन्दित हुनुका साथै त्यसको लागि उत्साही पनि हुनुहुन्छ। त्यसै गरी हामी पनि अहंकार वा घमण्डको कारणले नभई आफ्नो असल नाउँ र प्रतिष्ठा जोगाउन चाहन्छौं।—हितोपदेश १६:१८.
कुनै पनि स्वास्थ्यकर सम्बन्धको लागि आदर महत्त्वपूर्ण छ। आफ्ना साथीहरूबाट भरोसा गुमायौं भने यसले हाम्रो सामाजिक जीवन र व्यापारिक लेनदेनमा असर गर्छ। त्यस्तै गरी, संयुक्त लगानी अथवा साझेदारीमा कुनै एक सदस्यले उसको आफ्नै वा साथीहरूको बदनाम हुने काम गर्दा सबथोक भताभुंग हुनसक्छ। लक्ष्य चाहे जुनसुकै होस् त्यो हासिल गर्न ख्याति कायम राख्नुपर्छ। यसकारण, मसीही मण्डलीमा प्राचीनहरूले बाहिरकाहरूबाट “असल नाउँ” कमाएको हुनुपर्छ। (१ तिमोथी ३:७) घमण्डसाथ आत्मगौरवको लागि नभई योग्य र सम्मानित ढंगमा परमेश्वरको प्रतिनिधित्व गर्न तिनीहरू असल नाउँ कमाउन उत्प्रेरित हुन्छन्। आखिर, बाहिरकाहरूबाट असल नाउँ कमाउन नसकेको सेवक कत्तिको विश्वासयोग्य हुनसक्छ र?
व्यक्तिगत उपलब्धिमा गर्ने घमण्डबारे नि? उदाहरणका लागि, छोराछोरीले स्कूलमा राम्रो गर्दा आमाबाबुको अनुभूतिलाई नै लिनुहोस्। यस्तो उपलब्धि उचित सन्तुष्टिको स्रोत हो। थिस्सलोनिकीका सहमसीहीहरूलाई पत्र लेख्दा उपलब्धिहरूमा आफू पनि आनन्दित भएको पावलले देखाए: “हे भाइ हो, तिमीहरूका निम्ति परमेश्वरमा सधैं धन्यवाद चढ़ाउन हामी बाध्य छौं। औ यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास अत्यन्तै बढ़दैछ, र तिमीहरूको प्रेम, प्रत्येकको एक अर्कोप्रति बढ़दै पनि छ। यहाँसम्म कि, तिमीहरूमाथिको सबै खेदो, तिमीहरूले सहेको तिमीहरूका कष्टहरूमा, तिमीहरूका धीरज र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूमा हामी आफै पनि तिमीहरूमा घमण्ड गर्छौं।” (२ थिस्सलोनिकी १:३, ४) हो, आफ्ना प्रियजनहरूको उपलब्धिमा आनन्दित हुनु स्वाभाविक झुकाउ हो। यसकारण, गलत र सही घमण्डलाई केले छुट्याउँछ?
आफ्नो प्रतिष्ठा कायम राख्नु, सफल हुनु र सफलतामा खुसी हुनु अनुचित होइन। तथापि, आफ्नो वा अरूको आत्मगौरव, हठी हुनु र घमण्ड गर्नुलाई परमेश्वर निन्दा गर्नुहुन्छ। निस्सन्देह, यदि कोही घमण्डले ‘फूल्न’ थाल्यो वा ‘आफूबारे बढी सोच्न’ थाल्यो भने त्यो दुःखदायी हुन्छ। यहोवा परमेश्वरमा र उहाँले मसीहीहरूको निम्ति गरिदिनुभएको थोकबाहेक केहीमा पनि तिनीहरूले गर्व वा घमण्ड गर्ने ठाउँ नै छैन। (१ कोरिन्थी ४:६, ७; रोमी १२:३) अगमवक्ता यर्मिया हाम्रोलागि यो राम्रो सिद्धान्त दिन्छन्: “जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस ‘म परमप्रभुलाई बुझ्दछु चिन्दछु औ उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ।”—यर्मिया ९:२४.
[पृष्ठ २०-मा भएको चित्र]
“Pope Innocent X,” by Don Diego Rodríguez de Silva Velázquez
[स्रोत]
Scala /Art Resource, NY