प्रेरितहरूका समयमा ज्योतिका चमकहरू
“धर्मात्माहरूको निम्ति ज्योति, र हृदयमा सोझा भएकाहरूको निम्ति आनन्द छर्नुभएको छ।”—भजन ९७:११.
१. आज यहोवाका साक्षीहरू कसरी प्रारम्भिक मसीहीहरू जस्तै छन्?
साँचो मसीहीहरूको हैसियतमा हामी भजन ९७:११ का शब्दहरू कति मूल्यांकन गर्छौं! हाम्रो निम्ति बारम्बार ‘ज्योति चम्किएको छ।’ निस्सन्देह, हामीमध्ये केहीले दशकौंदेखि यहोवाको ज्योति चम्किरहेको देखेका छौं। यी सबै कुराले हामीलाई हितोपदेश ४:१८ स्मरण गराउँछ। त्यहाँ यसो भनिएको छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन् झन् चहकिलो हुँदैजान्छ।” परम्पराभन्दा शास्त्रलाई बढी मान्यता दिने भएकोले हामी यहोवाका साक्षीहरू प्रारम्भिक मसीहीहरूजस्तै छौं। तिनीहरूको मनोवृत्ति ईश्वरीय प्रेरणाबाट लेखिएको मसीही युनानी शास्त्रका ऐतिहासिक पुस्तक तथा पत्रहरूद्वारा स्पष्ट देख्न सकिन्छ।
२. येशूका अनुयायीहरूले प्राप्त गरेका ज्योतिका प्रथम चमकहरू के थिए?
२ येशू ख्रीष्टका प्रारम्भिक चेलाहरूले पाएका ज्योतिका प्रथम चमकहरू मसीहसँग सम्बन्धित थियो। अन्द्रियासले आफ्नो भाइ शिमोन पत्रुसलाई यसो भने: “हामीले मसीहलाई भेटाएका छौं।” (यूहन्ना १:४१) स्वर्गमा हुनुहुने पिताले केही समयपश्चात् प्रेरित पत्रुसलाई यो कुराको पुष्टि दिन मदत दिनुभयो। तिनले येशू ख्रीष्टलाई यसो भने: “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।”—मत्ती १६:१६, १७; यूहन्ना ६:६८, ६९.
तिनीहरूको प्रचार गर्ने दायित्वमाथि ज्योति
३, ४. आफ्नो पुनरुत्थानपश्चात् भावी क्रियाकलापबारे येशूले चेलाहरूलाई कस्तो ज्ञान प्रदान गर्नुभयो?
३ येशू ख्रीष्टले आफ्नो पुनरुत्थानपश्चात् सम्पूर्ण चेलाहरूमाथि लागू हुने दायित्वबारे ज्योतिका चमकहरू प्रदान गर्नुभयो। सम्भवतः त्यो गालिलमा भेला भएका ५०० चेलाहरूलाई दिनुभएको यो आज्ञा थियो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०; १ कोरिन्थी १५:६) तत्पश्चात् ख्रीष्टका सबै अनुयायीहरू प्रचारकहरू हुनुपर्नेथियो र तिनीहरूको प्रचार-कार्य “इस्राएलको घरानामा हराएका भेड़ाहरू” सम्म मात्र सीमित हुनेथिएन। (मत्ती १०:६) नता तिनीहरूले पाप पश्चात्ताप भएको क्षमाको चिन्हस्वरूप यूहन्नाले जस्तो बप्तिस्मा दिनेथिए। बरु, तिनीहरूले मानिसहरूलाई “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा दिनेथिए।
४ येशूको स्वर्गारोहण हुनुभन्दा केही समयअघि उहाँका ११ विश्वासी प्रेरितहरूले यसरी सोधे: “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” त्यो प्रश्नको जवाफ दिनुको साटो प्रचार-कार्यबारे थप निर्देशनहरू दिंदै येशूले यसो भन्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्मै मेरा गवाही हुनेछौ।” त्यतिञ्जेल तिनीहरू केवल यहोवाका साक्षीहरू थिए तर अब तिनीहरू ख्रीष्टका पनि साक्षीहरू हुनेथिए।—प्रेरित १:६-८.
५, ६. पेन्तिकोसको दिनमा येशूका चेलाहरूले ज्योतिका कस्ता चमकहरू पाए?
५ त्यसको दश दिनपछि येशूका अनुयायीहरूले साँच्चै नै ज्योतिका चहकिला चमकहरू पाए! सा.यु. ३३ पेन्तिकोसको दिनमा तिनीहरूले प्रथम चोटि योएल २:२८, २९ को उपयोगितालाई पूर्णतया बुझे: “म [यहोवा] मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोरा-छोरीहरूले भविष्यवाणी कहनेछन्, तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका तन्हेरीहरूले दर्शन देख्नेछन्। औ ती दिनमा तिमीहरूका दास र तिमीहरूका दासीहरूमाथि पनि म आफ्नो आत्मा खन्याउनेछु।” यरूशलेममा भेला भएका १२० पुरुष तथा स्त्रीहरूमाथि पवित्र आत्मा चिरा चिरा परेका आगोका जिब्राहरूको रूपमा टाउकोमा अडेको येशूका चेलाहरूले देखे।—प्रेरित १:१२-१५; २:१-४.
६ पुनरुत्थान भइसक्नुभएको येशूमा भजन १६:१० लागू हुन्छ भनेर पनि पेन्तिकोसकै दिन चेलाहरूले प्रथम पटक बुझे। भजनरचयिताले यसो भनेका थिए: “तपाईंले [यहोवा परमेश्वर] मेरो प्राणलाई पातालमा छोड़नुहुनेछैन। तपाईंले आफ्ना पवित्र जनलाई कुहुनु दिनुहुनेछैन।” यी शब्दहरू राजा दाऊदमाथि लागू हुँदैन भनी चेलाहरूले बुझे किनभने उनको चिहान त्यतिबेलासम्म त्यहीं थियो। यो नयाँ ज्योतिको वर्णन सुन्न पाउँदा त्यहाँ उपस्थितमध्ये ३,००० जना असाध्यै विश्वस्त भएर त्यही दिन बप्तिस्मा लिनु कुनै आश्चर्यको कुरा होइन!—प्रेरित २:१४-४१.
७. रोमी सेनाको कप्तान, कर्नीलियसको घर जाँदा प्रेरित पत्रुसले कस्तो चहकिलो ज्योति पाए?
७ परमेश्वरले तिनीहरूबारे भन्नुभएको कुरालाई धेरै शताब्दीसम्म इस्राएलीहरूले बुझेका थिए: “पृथ्वीका सबै कुलहरूमा मैले केवल तिमीहरूमाथि मन लगाएँ।” (आमोस ३:२) अतः प्रेरित पत्रुस र तिनका साथीहरू रोमी सेनाको कप्तान, कर्नीलियसको घरमा जाँदा खतना नभएका अन्यजातिहरूमा प्रथम चोटि पवित्र आत्मा ओर्लनु निस्सन्देह ज्योति चम्किनाले भएको थियो। साथै उल्लेखनीय कुरा, बप्तिस्माअघि पवित्र आत्मा खन्याइएको यो एक मात्र घटना थियो। तर यस्तै हुनु आवश्यक थियो। अन्यथा यी खतना नभएका अन्यजातिहरू बप्तिस्माका लागि योग्य छन् भनी पत्रुसले थाह पाउने थिएनन्। यस घटनाको महत्त्वलाई बुझ्दै पत्रुसले सोधे: “हामीझैं पवित्र आत्मा पाउने यिनीहरूलाई अन्यजातिहरू बप्तिस्मा हुन नदिन कसले पानी मनाई गर्नसक्छ?” निस्सन्देह, त्यहाँ उपस्थित कसैले औचित्यपूर्वक विरोध जनाउन सक्दैनथे। अतः यी अन्यजातिहरूको बप्तिस्मा भयो।—प्रेरित १०:४४-४८; प्रेरित ८:१४-१७ तुलना गर्नुहोस्।
अब खतना आवश्यक छैन
८. खतनासम्बन्धी व्यवस्था त्याग्न केही प्रारम्भिक मसीहीहरूलाई किन गाह्रो पऱ्यो?
८ खतना गर्ने सम्बन्धमा सत्यको थप ज्योति चम्क्यो। यहोवाले सा.यु.पू. १९१९ मा अब्राहामसित करार बाँध्नुहुँदा खतना गर्ने प्रचलन सुरु भएको थियो। तब परमेश्वरले अब्राहाम र तिनको घरानाका पुरुषहरूको खतना गर्नुपर्ने आज्ञा दिनुभयो। (उत्पत्ति १७:९-१४, २३-२७) अतः खतना, अब्राहामका सन्तानहरूको चिनारी हुन गयो। अनि तिनीहरू त्यस प्रचलनको घमण्ड गर्थे। फलस्वरूप, “खतना नभएकाहरू” भन्ने अभिव्यक्ति तिरस्कृत हुन थाल्यो। (यशैया ५२:१; १ शमूएल १७:२६, २७) अतः केही प्रारम्भिक यहूदी मसीहीहरूले यो चिनारी राख्न चाहनुको कारण सजिलै बुझ्न सकिन्छ। यस विषयमा केहीले पावल र बर्णाबाससित चर्को विवाद गरे। यो विवाद सुल्झाउन पावल र बर्णाबास मसीही परिचालक निकायको परामर्श लिन यरूशलेम गए।—प्रेरित १५:१, २.
९. प्रेरित १५ अध्यायमा लिपिबद्ध गरिएअनुसार तत्कालीन परिचालक निकायले ज्योतिका कस्ता चमकहरू पाए?
९ तर त्यस समयमा यहोवाका सेवकहरूले खतना गर्नु आवश्यक थिएन भनेर प्रारम्भिक मसीहीहरूले कुनै स्पष्ट चमत्कारद्वारा खतनासम्बन्धी ज्योतिको चमक पाएनन्। बरु, तिनीहरूले शास्त्रको जाँच, पवित्र आत्माको डोऱ्याइ अनि खतना नभएका अन्यजातिहरूको सन्दर्भमा पत्रुस र पावलको अनुभवबाट थप ज्योति प्राप्त गरे। (प्रेरित १५:६-२१) पत्र मार्फत त्यो निर्णय सुनाइयो, जसको केही भाग यसप्रकार थियो: “यी जरूरतका कुराहरू बाहेक अरू बढ़ता बोझ तपाईंहरूलाई नबोकाउनामानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चड़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्।” (प्रेरित १५:२८, २९) तसर्थ, प्रारम्भिक मसीहीहरू खतना अनि मोशाको व्यवस्थाका अन्य आवश्यकताहरूबाट मुक्त भए। अतः, पावलले गलातीका मसीहीहरूलाई यसो भन्न सके: “स्वतंत्रतासाथ ख्रीष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो।”—गलाती ५:१.
सुसमाचारका पुस्तकहरूमा ज्योति
१०. मत्तीरचित सुसमाचारमा प्रकटित ज्योतिका केही चमकहरू के के थिए?
१० सा.यु. ४१ तिर लेखिएको मत्तीको पुस्तकमा पाठकहरूको लाभको निम्ति ज्योतिका थुप्रै चमकहरू पाइन्छ भन्नुमा कुनै सन्देह छैन। तुलनात्मक ढंगमा भन्ने हो भने, प्रथम शताब्दीका थोरै मसीहीहरूले मात्र येशूकै मुखबाट उहाँका शिक्षाहरू सुनेका थिए। येशूको प्रचारको मूल विषय परमेश्वरको राज्य थियो भनेर विशेषगरि मत्तीरचित सुसमाचारले जोड दियो। अनि सही मनोवृत्तिको आवश्यकतामाथि येशूले निकै जोड दिनुभयो! उहाँको डाँडाको उपदेश, (मत्ती १३ अध्यायमा लिपिबद्धजस्ता) उहाँका उखानहरू र अध्याय २४ तथा २५ मा उहाँका महान् भविष्यवाणीहरूमा ज्योतिका कति धेरै चमकहरू पाइन्छन्! सा.यु. ३३ पेन्तिकोसको लगभग आठ वर्षपछि मात्र लेखिएको मत्तीरचित सुसमाचारका यी सबै कुराहरूतर्फ प्रारम्भिक मसीहीहरूको ध्यानाकर्षण गरियो।
११. लूका र मर्कूसरचित सुसमाचारको पुस्तकको विषयवस्तुबारे के भन्न सकिन्छ?
११ झन्डै १५ वर्षपछि लूकाले सुसमाचारको पुस्तक लेखे। तिनको विवरण प्रायजसो मत्तीको जस्तै भए तापनि यसमा ५९ प्रतिशत थप जानकारीहरू छन्। लूकाले येशूका छवटा चमत्कारहरू लिपिबद्ध गरे र सुसमाचारका अन्य लेखकहरूले उल्लेख नगरेका उहाँका उदाहरणहरू दुइ गुना बढी उल्लेख गरे। सम्भवतः केही वर्षपश्चात् मर्कूसले येशू ख्रीष्टलाई क्रियाशील चमत्कारी मानव भनी जोड दिंदै सुसमाचारको पुस्तक लेखे। मत्ती र लूकाले उल्लेख गरिसकेका प्रायजसो कुराहरू मर्कूसले लेखे। तापनि ती दुवैले उल्लेख नगरेको एउटा उखान तिनले उल्लेख गरे। त्यो उखानमा येशूले परमेश्वरको राज्यलाई एउटा बीउसित तुलना गर्नुभयो, त्यो टुसाउँछ, बढ्छ र त्यसले बिस्तारै फल दिन थाल्छ।a—मर्कूस ४:२६-२९.
१२. यूहन्नाको सुसमाचारको पुस्तकले कुन हदसम्म थप ज्ञान प्रदान गऱ्यो?
१२ त्यसपछि मर्कूसरचित समाचार लेखिएको ३० वर्षभन्दा बढी समयपछि यूहन्नाले सुसमाचारको पुस्तक लेखे। येशूको सेवकाई र विशेषगरि उहाँको मानव पूर्व अस्तित्वमाथि संकेतहरूद्वारा यूहन्नाले निकै ज्योति प्रदान गरे। यूहन्नाले मात्र लाजरसको पुनरुत्थानको विवरण दिन्छन् र येशूले आफ्ना विश्वासी प्रेरितहरूलाई भन्नुभएको असल टिप्पणीहरूका साथै आफूलाई विश्वासघात गरिने अघिल्लो रातमा उहाँको हृदयस्पर्शी प्रार्थना केवल उनले बताएका छन्, जुन अध्याय १३ देखि १७ सम्म लिपिबद्ध गरिएको छ। वास्तवमा, यूहन्नारचित सुसमाचारको ९२ प्रतिशत विशिष्ट छ भनिन्छ।
पावलका पत्रहरूमा ज्योतिका चमकहरू
१३. पावलले रोमीहरूलाई लेखेको पत्रलाई कसै कसैले सुसमाचारको पुस्तकजस्तै किन ठानेका छन्?
१३ प्रेरितहरूका समयमा बाँचिरहेका मसीहीहरूलाई ज्योतिका चमकहरू प्रकट गर्न विशेषगरि प्रेरित पावललाई प्रयोग गरिएको थियो। उदाहरणको लागि, लूकाले सुसमाचारको पुस्तक लेखेको समय अर्थात् लगभग सा.यु. ५६ तिर नै पावलले रोमीहरूलाई पत्र लेखे। यस पत्रमा पावलले परमेश्वरको विशेष अनुग्रह र येशू ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ भन्ने तथ्य प्रकाश पार्छन्। सुसमाचारको यस पक्षमा पावलले जोड दिएकोले रोमीहरूलाई लेखेको पत्रलाई केहीले सुसमाचारको पाँचौं पुस्तकसरह ठान्छन्।
१४-१६. (क) कोरिन्थका मसीहीहरूलाई लेखेको पहिलो पत्रमा एकताबद्ध हुनुपर्ने आवश्यकतामाथि पावलले कस्तो प्रकाश पारे? (ख) आचरणसम्बन्धी कस्तो थप ज्योति पहिलो कोरिन्थीको पुस्तकमा पाइन्छ?
१४ कोरिन्थका मसीहीहरूलाई पिरोलिरहेको खास विषयबारे पावलले लेखे। तिनले कोरिन्थीहरूलाई लेखेको प्रेरित सल्लाह आज हाम्रो समयका मसीहीहरूलाई समेत लाभदायी भएको छ। प्रथमतः, केही व्यक्तिविशेषमा ध्यानाकर्षण गर्दै भिन्दाभिन्दै गुटहरू बनाउने गल्ती गरिरहेका कोरिन्थीहरूलाई तिनले ज्ञान प्रदान गर्नुपरेको थियो। निडरतापूर्वक यसो भन्दै प्रेरितले तिनीहरूको मनोवृत्ति सच्याए: “ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।”—१ कोरिन्थी १:१०-१५.
१५ कोरिन्थको मसीही मण्डलीले अघोर अनैतिकतालाई सहिरहेको थियो। त्यहाँ एक जना मानिसले आफ्नै बुबाकी पत्नी राखेर ‘अन्यजातिहरूमा पनि नहुने व्यभिचार’ गरेका थिए। पावलले यसप्रकार स्पष्टसित लेखे: “तिमीहरूले तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” (१ कोरिन्थी ५:१, ११-१३) बहिष्कार गर्नु मसीही मण्डलीको लागि नौलो कुरा थियो। कोरिन्थको मण्डलीलाई ज्ञान चाहिएको अर्को क्षेत्र के थियो भने, त्यहाँका केही सदस्यहरूले उजुरी सुल्झाउन आफ्ना आध्यात्मिक भाइहरूलाई सांसारिक अदालतसम्म पुऱ्याइरहेका थिए। यसो गरेकोमा पावलले तिनीहरूलाई कडासित हप्काए।—१ कोरिन्थी ६:५-८.
१६ कोरिन्थको मण्डलीलाई पीडित तुल्याइरहेको अर्को विषय, यौनसम्बन्ध थियो। यौन अनैतिकताको प्रचुरताले गर्दा हरेक पुरुषको आफ्नै पत्नी र हरेक स्त्रीको आफ्नै पति हुनु बेस हुनेछ भनी पावलले १ कोरिन्थीको ७ अध्यायमा लेखे। अविवाहितहरूले अलमलबिना यहोवाको सेवा बढी गर्नसक्ने भए तापनि सबैले अविवाहित बस्ने वरदान पाएका हुँदैनन् भनेर पनि पावलले देखाए। अनि एउटी स्त्रीको पति मरेको खण्डमा तिनी पुनः विवाह गर्न स्वतन्त्र हुन्थिन् तर “प्रभुमा मात्र।”—१ कोरिन्थी ७:३९.
१७. पुनरुत्थानको शिक्षामा पावलले कस्तो ज्योति प्रकाश पारे?
१७ पुनरुत्थानको विषयमा साँच्चै ज्योतिका अद्भुत चमकहरू प्रकट गर्न प्रभुले पावललाई चलाउनुभयो! कस्तो शरीर लिएर अभिषिक्त मसीहीहरू बिउँताइनेछन्? पावलले यसरी लेखे: “प्राकृतिक शरीरमा छरिन्छ, आत्मिक शरीरमा बिउँताइन्छ।” शारीरिक शरीर स्वर्गमा लगिनेछैन किनभने “मासु र रगत स्वर्गको राज्यको हकदार हुनेछैन।” पावलले अझै के थपे भने, सबै अभिषिक्त मसीहीहरू मृत्युमा रहिरहँदैनन् तर येशूको उपस्थितिमा केही अभिषिक्त जनहरू मर्नेबित्तिकै अमर जीवनको लागि बिउँताइनेछन्।—१ कोरिन्थी १५:४३-५३.
१८. पावलले थिस्सलोनिकीहरूलाई लेखेको पहिलो पत्रमा भविष्यसम्बन्धी कस्तो ज्योति पाइन्छ?
१८ थिस्सलोनिकीका मसीहीहरूलाई पत्र लेख्दा भविष्यबारे प्रकाश पार्न पावललाई चलाइएको थियो। यहोवाको दिन रातमा चोरजस्तै आउनेथियो। पावलले यसरी पनि वर्णन गरे: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।”—१ थिस्सलोनिकी ५:२, ३.
१९, २०. पावलले हिब्रूहरूलाई लेखेको पत्रमा यरूशलेम र यहूदियाका मसीहीहरूले ज्योतिका कस्ता चमकहरू पाए?
१९ हिब्रूहरूलाई पत्र लेखेर पावलले यरूशलेम र यहूदियाका प्रारम्भिक मसीहीहरूलाई ज्योतिका चमकहरू प्रदान गरे। उपासना गर्ने सम्बन्धमा मोशाको व्यवस्थाभन्दा मसीही व्यवस्था कति श्रेष्ठ छ भनेर तिनले जोडदार ढंगमा देखाए। स्वर्गदूतहरूद्वारा प्रसारित व्यवस्था पछ्याउनुको साटो स्वर्गदूतहरूभन्दा श्रेष्ठ, परमेश्वरको पुत्रले प्रथम पटक बोल्नुभएको मुक्तिमा मसीहीहरूले विश्वास राखेका छन्। (हिब्रू २:२-४) परमेश्वरको घरमा मोशा एक परिचारक मात्र थिए। तथापि, येशू ख्रीष्टले सम्पूर्ण घरानामाथि अध्यक्षता गर्नुहुन्छ। मल्कीसेदेकको दर्जाअनुसार ख्रीष्ट, प्रधान पूजाहारी र हारूनको पूजाहारीत्वभन्दा श्रेष्ठ स्थानमा हुनुहुन्छ। विश्वास र आज्ञाकारिताको कमीले गर्दा इस्राएलीहरू परमेश्वरको विश्राममा प्रवेश गर्न सकेनन् तर आफ्नो विश्वास तथा आज्ञाकारिताले गर्दा मसीहीहरू त्यहाँ प्रवेश गर्छन् भनेर पनि पावलले देखाए।—हिब्रू ३:१–४:११.
२० साथै, व्यवस्थाको करारभन्दा नयाँ करार निकै श्रेष्ठ छ। यर्मिया ३१:३१-३४ मा ६०० वर्षअघि भविष्यवाणी गरिएझैं नयाँ करारमा बाँधिएकाहरूको हृदयमा परमेश्वरको व्यवस्था लेखिएको छ अनि तिनीहरूले पापको साँचो क्षमा पाउँछन्। प्रधान पूजाहारीले आफ्नो र अरू मानिसहरूको पापको निम्ति वर्षेनी बलिदानहरू चढाउनु पर्थ्यो। तर मसीहीहरूसित प्रधान पूजाहारीको हैसियतमा येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ निष्पाप हुनुहुन्छ र उहाँले एकै चोटि सदाको निम्ति पापको लागि बलिदान चढाउनुभयो। आफ्नो बलिदान चढाउन हातले निर्मित पवित्र स्थानमा प्रवेश गर्नुको साटो उहाँ परमेश्वरको सामु उभिन स्वर्गमा प्रवेश गर्नु- भयो। यसबाहेक, मोशाको व्यवस्थाको करारमा पशु बलिहरूद्वारा पूर्णतया पाप क्षमा गर्न सकिंदैनथ्यो अन्यथा त्यो वर्षेनी चढाउनु पर्नेथिएन। तर एकै चोटि सदाको निम्ति चढाइएको ख्रीष्टको बलिदानले सम्पूर्ण पाप क्षमा गर्छ। यी सबैले महान् आध्यात्मिक मन्दिरमाथि ज्योति प्रदान गर्छ, जसको चोकमा आज अभिषिक्त शेष जन र “अरू भेड़ा[ले]” सेवा चढाउँछन्।—यूहन्ना १०:१६; हिब्रू ९:२४-२८.
२१. प्रेरितहरूका समयमा भजन ९७:११ र हितोपदेश ४:१८ को पूर्तिबारे यो छलफलले के देखाएको छ?
२१ प्रेरित पत्रुस, चेला याकूब अनि यहूदाले लेखेका पत्रहरूमा पाइने ज्योतिका चमकहरूजस्ता सबै उदाहरणहरू उल्लेख गर्न यहाँ यथेष्ट ठाउँ छैन। तर भजन ९७:११ र हितोपदेश ४:१८ को उल्लेखनीय पूर्ति प्रेरितहरूका समयमा भयो भनी देखाउन माथि उल्लिखित उदाहरणहरू यथेष्ट हुनुपर्ने हो। सत्य नमुना र छाँयाहरूबाट विकास हुँदै पूर्ति र वास्तविकता हुन थाल्यो।—गलाती ३:२३-२५; ४:२१-२६.
२२. प्रेरितहरूको मृत्युपश्चात् के भयो र यसपछिको लेखले के देखाउनेछ?
२२ येशूका प्रेरितहरूको मृत्यु र भविष्यवाणी गरिएको धर्मत्यागको सुरुआतपछि सत्यको ज्योति साह्रै मधुरो हुन थाल्यो। (२ थिस्सलोनिकी २:१-११) तथापि, येशूको प्रतिज्ञाअनुरूप धेरै शताब्दीपछि मालिक फर्कनुभयो र “विश्वासी र बुद्धिमान दास[ले]” ठीक ठीक समयमा आफ्नो “परिवार[लाई]” खाना दिइरहेको भेटाउनुभयो। परिणामस्वरूप, येशू ख्रीष्टले त्यस दासलाई “आफ्नो सारा सम्पत्तिमाथि नियुक्त” गर्नुभयो। (मत्ती २४:४५-४७) त्यसपछि ज्योतिका कस्ता चमकहरू चम्किए? यसपछिको लेखमा त्यो छलफल गरिनेछ।
[फुटनोट]
a यहाँ उल्लिखित जमीनले वातावरणलाई संकेत गर्छ जहाँ एक मसीहीले व्यक्तित्वसम्बन्धी गुनहरू खेती गर्छ।—द वाचटावर, जून १५, १९८०, पृष्ठ १८-१९ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ सत्य प्रगतिशील ढंगमा बुझिन्छ भनी बाइबलका कुन पदहरूले देखाउँछन्?
◻ प्रेरितको पुस्तकमा लिपिबद्ध ज्योतिका केही चमकहरू के के हुन्?
◻ सुसमाचारका पुस्तकहरूमा कस्तो ज्योति पाइन्छ?
◻ पावलका पत्रहरूमा ज्योतिका कस्ता चमकहरू पाइन्छन्?