वफादारीको चुनौती सामना गर्ने
“नयाँ मानिसलाई धारण गर, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।”—एफिसी ४:२४.
१. हामी किन यहोवा परमेश्वरप्रति वफादार हुनुपर्छ?
वफादारीको चुनौती धेरै प्रकारका छन्। सबैभन्दा मुख्य चुनौती हो, यहोवा परमेश्वरप्रति वफादारी कायम गर्नु। यहोवा को हुनुहुन्छ, उहाँले हाम्रोनिम्ति के गर्नुभएको छ तथा उहाँप्रति हाम्रो समर्पण आदिलाई विचार गर्ने हो भने, हामी उहाँप्रति वफादार रहनैपर्ने कुरा प्रष्ट हुन्छ। कसरी हामी यहोवा परमेश्वरप्रति वफादारी प्रदर्शित गर्छौं? प्रमुख तरिका हो, यहोवाका धार्मिक सिद्धान्तहरूमा वफादार रहेर।
२, ३. वफादारी र धार्मिकताबीच कस्तो सम्बन्ध छ?
२ त्यस चुनौती सामना गर्न हामीले १ पत्रुस १:१५, १६ का शब्दहरूलाई ध्यान दिनैपर्छ: “तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’” वफादारीले हामीलाई आफ्ना विचार, बोली तथा कार्यहरूलाई यहोवाको इच्छाअनुरूप ढालेर सधैं उहाँको आज्ञा पालन गर्न लाउँछ। यसको अर्थ १ तिमोथी १:३-५ मा आज्ञा दिइएझैं असल अन्तस्करण राख्नु हो: “शुद्ध हृदयबाटको प्रेम, असल विवेक र निष्कपट विश्वासनै त्यस आज्ञाको [बेग्लै सिद्धान्तहरू नसिकाउनु वा झूटा कथाहरूमा ध्यान नदिनु] उद्देश्य हो।” हो, हामी कोही पनि सिद्ध छैनौं तर यथाशक्य असल गर्ने चेष्टा गर्नुपर्छ। के हामी गर्दैनौं र?
३ परमेश्वरप्रतिको वफादारीले हामीलाई स्वार्थी भावले धार्मिक सिद्धान्तहरूको सम्झौता गर्नबाट जोगाउँछ। वास्तवमा वफादारीले हामीलाई ढोंगी हुनदेखि रोक्छ। भजनरचयिताले वफादारीलाई ध्यानमा राख्दै यसरी गाए: “हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्, म तपाईंको सत्यतामा हिंड़नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्।” (भजन ८६:११) वफादारीलाई “मानिसहरूले कार्यान्वयन गर्न नसक्ने नियमहरू वा सिद्धान्तहरू पालन गर्नु” भनेर राम्ररी वर्णन गरिएको छ। वफादार रहन त्यो गर्नु आवश्यक छ।
४, ५. वफादारीले हामीलाई कस्ता गलत कार्यहरू गर्नदेखि रोक्नेछ?
४ परमेश्वरप्रतिको वफादारीले हामीलाई उहाँको नाउँ तथा राज्यको निन्दा हुने कुनै पनि कुरा गर्नदेखि रोक्नेछ। उदाहरणका लागि, एक पटक दुइ मसीहीहरूबीच समस्या खडा हुँदा तिनीहरूले सांसारिक अदालतको शरण लिए। वास्तवमा त्यसो गर्नु उचित थिएन। न्यायाधीशले सोधे, ‘के तपाईंहरू दुवै यहोवाका साक्षीहरू हुनुहुन्छ?’ स्पष्टतः तिनीहरू अदालतमा के खोज्न आएका हुन्, त्यो कुरा न्यायाधीशले बुझ्न सकेनन्। त्यो कति निन्दनीय कुरा थियो! यहोवा परमेश्वरप्रति वफादार भएका भए ती भाइहरूले प्रेरित पावलको यो सल्लाह स्वीकार्ने थिए: “अहँ, एउटामाथि अर्कोको मुद्दा हुनु यो तिमीहरूको ठूलो त्रुटि हो। बरु अन्याय किन नसहनु? बरु किन ठगिएरनै नरहनु?” (१ कोरिन्थी ६:७) यहोवा परमेश्वरप्रति वफादार हुनु भनेको निश्चय पनि यहोवा तथा उहाँको संगठनमाथि निन्दा ल्याउनुभन्दा बरु आफ्नै हानि सहनु हो।
५ परमेश्वरप्रतिको वफादारीमा मानिसको डरले नदबिनु पनि समावेश छ। “मानिसको डर त्यसको निम्ति पासो हो, तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।” (हितोपदेश २९:२५) यसकारण, सतावट आइपर्दा हामी सम्झौता गर्दैनौं बरु तत्कालीन सोभियत संघ, मलावी, इथियोपिया र अरू थुप्रै देशका यहोवाका साक्षीहरूले बसालेका उदाहरण अनुकरण गर्छौं।
६. वफादारीले हामीलाई कोसित मित्रता गाँस्नदेखि रोक्छ?
६ यहोवा परमेश्वरप्रति वफादार छौं भने, उहाँका शत्रुहरूलाई हामी मित्र बनाउँदैनौं। त्यसैकारण चेला याकूबले लेखे: “हे व्यभिचारी हो, संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो भन्ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब ४:४) हामी राजा दाऊदले निम्न शब्दहरूमा देखाएको वफादारीलाई ग्रहण गर्न चाहन्छौं: “हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा नगरूँ? र तपाईंका विरुद्धमा उठ्नेहरूलाई के म तुच्छ न ठानूँ? म तिनीहरूलाई औधी घृणा गर्छु, म तिनीहरूलाई मेरा शत्रुनै ठान्छु।” (भजन १३९:२१, २२) हामी जानाजानी पाप गर्नेहरूसित हेलमेल गर्दैनौं किनभने तिनीहरूसित हाम्रो कुनै कुरा मेल खाँदैन। के परमेश्वरप्रतिको वफादारीले हामीलाई व्यक्तिगत तवरमा वा टेलिभिजनको माध्यमबाट आउने यहोवाका यस्ता शत्रुहरूसित मिलजुल गर्नदेखि रोक्नेछैन र?
यहोवाको समर्थन गर्ने
७. वफादारीले हामीलाई यहोवाबारे के गर्न मदत दिनेछ र यो एलीहूले कसरी गरे?
७ वफादारीले हामीलाई यहोवा परमेश्वरको समर्थन गर्न उत्प्रेरित गर्छ। यस सम्बन्धमा एलीहूको कति राम्रो उदाहरण हामी पाउँछौं! अय्यूब ३२:२, ३ ले भन्छ: “एलीहूलाई रीस उठ्यो। किनभने अय्यूबले आफूलाई परमेश्वरभन्दा पनि धेरै धर्मी तुल्याए। औ ती तीन जना मित्रहरूसँग पनि तिनी रिसाए। किनभने अय्यूबलाई जवाफ दिन तिनीहरूसित केही जवाफै रहेन, र तिनीहरूले परमेश्वरलाई दोषी देखाए।” हामी अय्यूबको पुस्तकमा अध्याय ३२ देखि ३७ सम्म एलीहूले परमेश्वरको समर्थन गरेको पाउँछौं। उदाहरणका लागि तिनले भने: “एक छिन धैर्य धारण गर्नुहोस्, तपाईंलाई म अझै बुझाइदिऊँ, परमेश्वरको तर्फमा मैले अझै भन्नुपरेको छ। . . . उहाँले दुःखमा परेकाहरूको उचित न्याय बिगार्नुहुन्न।”—अय्यूब ३६:२-७.
८. हामीले किन यहोवाको समर्थन गर्नु आवश्यक छ?
८ यहोवाको समर्थन गर्नु किन आवश्यक छ? आज, हाम्रा परमेश्वर यहोवाको थुप्रै तरिकाले निन्दा भएको छ। के दाबी गरिएको छ भने, उहाँको अस्तित्व छैन, उहाँ त्रिएकको भाग हुनुहुन्छ, उहाँले नरककुण्डको आगोमा मानिसहरूलाई अनन्त दण्ड दिनुहुन्छ, उहाँले संसार परिवर्तन गर्न कमजोर प्रयास गर्नुहुँदैछ, उहाँले मानिसजातिको चिन्ता गर्नुहुन्न र यस्तै अरू थुप्रै थुप्रै। हामी उहाँको समर्थन गरेर तथा उहाँको अस्तित्व छ अनि उहाँ बुद्धिमान, न्यायी, सर्वशक्तिमान र मायालु परमेश्वर हुनुहुन्छ, प्रत्येक कुराका लागि उहाँको आफ्नै समय छ, ठीक समयमा उहाँले सबै दुष्टताको अन्त गर्नुभएर सारा पृथ्वीलाई प्रमोदवन बनाउनुहुन्छ भन्ने कुराहरूको प्रमाण दिएर उहाँप्रति आफ्नो वफादारी प्रदर्शित गर्छौं। (उपदेशक ३:१) यसो गर्न कुनै मौका नचुकाई परमेश्वरको नाउँ तथा राज्यको साक्षी दिन आवश्यक छ।
यहोवाको संगठनप्रति वफादारी
९. कस्ता विषयहरूको कारण केहीले आफ्नो वफादारीलाई कमजोर साबित गरे?
९ अब हामी यहोवाको दृश्य संगठनप्रति वफादार रहने कुराहरू केलाऔं। मसीही मण्डलीलाई आध्यात्मिक भोजन दिने “विश्वासी अनि बुद्धिमान दास” लगायत यस संगठनप्रति हामी अवश्य वफादार हुनुपर्छ। (मत्ती २४:४५-४७) मानौं, वाच टावर प्रकाशनहरूमा आफूले नबुझ्ने वा समय सापेक्षिक नलागेका कुराहरू देखियो। तब हामी के गर्नेछौं? ठेस खाएर संगठन नै छाड्छौं? धेरै वर्षअघि प्रहरीधरहरा-ले नयाँ करार सहस्र वर्षीय राज्यमा लागू हुन्छ भन्दा केहीले यसरी नै संगठन छाडे। अरूले चाहिं एकपल्ट प्रहरीधरहरा-ले तटस्थताको विषयमा कुरा उठाउँदा ठेस खाए। यदि यी ठोकर खानेहरू संगठन अनि आफ्ना भाइहरूप्रति वफादार रहेका भए यी कुराहरू स्पष्ट बुझ्न यहोवाको समयलाई पर्खने थिए। र वास्तवमा उहाँले पछि त्यसको अर्थ ठीक समयमा खोल्नुभयो। यसकारण वफादारीमा विश्वासी अनि बुद्धिमान दासद्वारा थप स्पष्टीकरण प्रकट नहोऊञ्जेल धैर्यसाथ पर्खनु पनि समावेश छ।
१०. वफादारीले हामीलाई कुन कुराबारे जिज्ञासु हुनदेखि रोक्छ?
१० यहोवाको दृश्य संगठनप्रति वफादार रहनुको अर्थ धर्मत्यागीहरूसित कुनै सम्बन्ध नराख्नु पनि हो। वफादार मसीहीहरू यस्ता मानिसहरूको कुराप्रति जिज्ञासु हुँदैनन्। हो, यहोवाले आफ्नो काममा प्रयोग गर्नुभएका मानिसहरू सिद्ध छैनन्। तर परमेश्वरको वचनले हामीलाई के गर्नु भन्छ? परमेश्वरको संगठन छाड्नु? होइन। भातृस्नेहले हामीलाई यसप्रति वफादार बनाउनुपर्छ। अनि निरन्तर “एउटाले अर्कोलाई हृदयले प्रगाढ़ प्रेम” गर्नुपर्छ।—१ पत्रुस १:२२.
वफादार प्राचीनहरूप्रति वफादारी
११. वफादारीले हामीलाई कस्तो नकारात्मक सोचाइबाट जोगाउँछ?
११ मण्डलीमा भनिएको वा गरिएको कुनै कुरा बुझ्न कठिन पर्दा वफादारीले हामीलाई न्याय गर्नदेखि रोक्छ। अनि यसले हामीलाई न्याय गर्ने काम आफ्नो नसम्झी टीकाटिप्पणी नगर्न मदत गर्नेछ। नियुक्त प्राचीनहरू तथा अरू सँगी विश्वासीहरूका कमजोरीहरूलाई केलाउनुको साटो तिनीहरूका असल गुनहरूलाई ध्यान दिनु एकदमै राम्रो होइन र? हो, हामी कुनै पनि यस्ता नकारात्मक विचारलाई रोक्न चाहन्छौं किनभने यसको सम्बन्ध अवफादारीसित छ! वफादारीले हामीलाई पावलको यो निर्देशन पालन गर्न मदत दिन्छ, “कसैको बदनाम नगर्नू।”—तितस ३:.१, २.
१२, १३. प्राचीनहरूले कस्ता विशेष चुनौतीहरू सामना गर्नुपर्छ?
१२ वफादारी कायम राख्नु प्राचीनहरूका लागि चुनौती हो। यीमध्ये एउटा चुनौती हो, गोपनीयता भंग नगर्नु। मण्डलीको कुनै सदस्यले आफ्नो गोप्य कुरा प्राचीनलाई भन्लान्। यति बेला वफादारीले प्राचीनलाई गोपनीयताको सिद्धान्त भंग गर्नदेखि रोक्नेछ। तिनले हितोपदेश २५:९ को सल्लाहलाई ध्यानमा राख्छन्: “अरू मानिसको गुप्त कुरा प्रकट नगर्।” त्यसको अर्थ, यस्तो कुरा आफ्नी पत्नीलाई समेत बताउनुभएन!
१३ प्राचीनहरूले वफादारीका अरू परीक्षाहरू पनि सामना गर्नुपर्छ। तिनीहरू मानिसहरूलाई खुशी पार्नतर्फ लाग्नेछन् वा साहस र नम्रतासाथ सुधार गर्नुपर्नेलाई सुधार्नेछन्? चाहे ऊ आफ्नै आफन्त वा घनिष्ठ मित्र नै किन नहोस्। परमेश्वरको संगठनप्रतिको वफादारीले प्राचीनहरूलाई आध्यात्मिक खाँचोमा परेकाहरूलाई सहयोग गर्न उत्प्रेरित गर्छ। (गलाती ६:१, २) हामी दयालु व्यवहार गर्नेछौं तर प्रेरित पावलले प्रेरित पत्रुसको भूल सोझै देखाएझैं हामीले पनि सँगी प्राचीनलाई सोझै कुरा बताउँदा वफादारीले हामीलाई दयालु हुन मदत गर्नेछ। (गलाती २:११-१४) अर्कोतर्फ, अविवेकी कार्य वा अरू तरिकाले आफ्नो अख्तियारको हेलचक्य्राइँ गर्नदेखि निरीक्षकहरू सतर्क रहनुपर्छ। नत्र त्यसले तिनीहरूका अधीनमा भएकाहरूलाई परमेश्वरको संगठनप्रति वफादार हुन कठिन पार्छ।—फिलिप्पी ४:५.
१४, १५. वफादारीका कुन तत्त्वहरूले मण्डलीका सदस्यहरूको परीक्षा गर्नसक्छ?
१४ मण्डली र मण्डलीका प्राचीनहरूप्रति वफादारी कायम गर्ने चुनौतीका अन्य पक्षहरू पनि छन्। मण्डलीमा केही समस्याहरू उत्पन्न हुँदा परमेश्वर र उहाँको प्रतिनिधित्व गर्नेहरूप्रति वफादार हुने मौका हामी पाउँछौं। (हेर्नुहोस् द वाचटावर, जून १५, १९८७, पृष्ठ १५-१७) यदि मण्डलीबाट कसैलाई बहिष्कार गरिंदैछ भने, यो कदमका लागि पर्याप्त कारणहरू थिए कि थिएनन् भन्ने अनुमान नगरेर वफादारीसाथ हामीले प्राचीनको समर्थन गनुपर्छ।
१५ मण्डलीप्रति वफादार हुनुमा हाम्रो परिस्थिति तथा योग्यताअनुसार हप्ताका पाँचैवटा सभाहरूको समर्थन गर्नु पनि समावेश छ। यसको अर्थ, ती सभाहरूमा लगातार धाउनु मात्र होइन तर त्यसका लागि तयारी गर्नु र मौकाअनुसार प्रोत्साहनदायी टिप्पणीहरू पनि दिनुपर्छ।—हिब्रू १०:२४, २५.
वैवाहिक वफादारी
१६, १७. वफादारीका के कस्ता चुनौतीहरू विवाहित मसीहीहरूले सामना गर्नुपर्छ?
१६ अरू कसप्रति हामी वफादार हुनुपर्छ? यदि विवाहित हौं भने, वैवाहिक वाचालाई ध्यानमा राख्दै आफ्नो पति वा पत्नीप्रति वफादार हुनुपर्छ। वफादारीले हामीलाई पत्नी वा पतिलाई खुशी पार्नुको साटो अन्य स्त्री वा पुरुषहरूलाई खुशी पार्नबाट रोक्नेछ। आफ्नो पति वा पत्नीप्रति वफादार हुनुमा अरूलाई आफ्नो पति वा पत्नीको कमजोरी वा भूलहरू नबताउनु पनि समावेश छ। सुनौलो नियमअनुरूप आफ्नो पति वा पत्नीसित खुल्ला संचार कायम राख्नु जति कठिन छ, त्योभन्दा यसरी अरूलाई गुनासो पोखाउनु धेरै सजिलो हुन्छ। (मत्ती ७:१२) भनौं भने, वैवाहिक जीवनले मसीही वफादारीको साँचो चुनौती प्रस्तुत गर्छ।
१७ वफादारीको यस चुनौती सामना गर्दा घोर दुराचार त्याग्नु मात्र होइन तर आफ्ना विचार र भावनाहरूलाई जोगाउनु पनि पर्छ। (भजन १९:१४) उदाहरणका लागि, हाम्रो छली हृदय सुखविलास तथा उत्तेजनाको चाहनाले भरिएको छ भने, हामी सजिलै स्वार्थले प्रेरित भई त्यसलाई हासिल गर्न अघि बढ्छौं। राजा सुलेमानले पतिहरूलाई वैवाहिक इमानदारीबारे प्रतीकात्मक रूपमा ‘आफ्नै कुण्डको पानी र आफ्नै खोलाबाट बगेको पानी पिउन’ आग्रह गरे। (हितोपदेश ५:१५) अनि येशूले भन्नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८) अश्लील कुराहरूमा रुचि लिने पतिहरूले पत्नीहरूलाई विश्वासघात गर्दै तथा तिनीहरूप्रति अवफादारी देखाउँदै आफूलाई अनैतिक कार्य गर्ने खतरामा पार्छन्। त्यसरी नै पत्नीहरू पनि धारावाहिक टेलिश्रृंखलामा देखाइने अनैतिक घटनाहरूप्रति आकर्षित भई आफ्ना पतिप्रति अवफादार हुने प्रलोभनमा पर्नसक्छन्। तथापि, हामी पति वा पत्नीप्रति वफादार भएर वैवाहिक बन्धनलाई बलियो बनाउँछौं र यहोवा परमेश्वरलाई खुशी पार्न एकअर्कालाई सहयोग गर्छौं।
वफादारी कायम राख्नमा सहयोगहरू
१८. कुन कुराको मूल्यांकन गर्नाले हामी वफादार हुन मदत पाउँछौं?
१८ यी चार क्षेत्रहरूमा वफादार रहन कुन कुन कुराले हामीलाई मदत गर्छ: यहोवा, उहाँको संगठन, मण्डली र पति वा पत्नी? एउटा सहायता हो, वफादारीको चुनौती पूरा गर्नु यहोवाको सार्वभौमिकतालाई उच्च पार्नु हो भन्ने कुरा बुझ्नु। हो, वफादार रहेर हामी यहोवा ब्रह्माण्डको सर्वसत्ताधारी हुनुहुन्छ भनेर देखाउँछौं। यसरी हामी आत्मसम्मान र यहोवाको नयाँ संसारमा अनन्त जीवन पनि प्राप्त गर्नसक्छौं। यहोवा परमेश्वरदेखि लिएर वार्षिक पुस्तक-लगायत बाइबल अनि हाम्रा वाच टावर प्रकाशनहरूमा उल्लिखित वफादारीका उदाहरणहरूलाई ध्यान दिएमा हामी स्वयं वफादार रहन मदत प्राप्त गर्नसक्छौं।
१९. हामी वफादार हुनुमा विश्वासले कस्तो भूमिका निर्वाह गर्छ?
१९ यहोवा परमेश्वरप्रतिको बलियो विश्वास र उहाँलाई अप्रसन्न तुल्याउने काम गर्नदेखि डराउनाले हामीलाई वफादारीको चुनौती सामना गर्न मदत दिनेछ। यहोवाप्रतिको विश्वास र भयलाई हामी लगनशीलतासाथ परमेश्वरको वचन अध्ययन गरेर अनि मसीही सेवकाईमा संलग्न रहेर अझ बलियो बनाउनसक्छौं। यसले हामीलाई एफिसी ४:२३, २४ मा उल्लिखित पावलको सल्लाहअनुरूप चल्ने मदत दिन्छ: “आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई धारण गर, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।”
२०. कुन चाहिं गुनले हामीलाई यहोवा र अरू व्यक्तिहरूप्रति वफादार हुन मदत दिन्छ?
२० यहोवाका गुनहरूप्रतिको मूल्यांकनले पनि हामीलाई वफादार हुने मदत दिन्छ। तर मुख्यतः हाम्रा स्वर्गमा हुनुहुने पिताप्रति निःस्वार्थ प्रेम, उहाँले हाम्रालागि गर्नुभएको सबै कुराप्रति कृतज्ञता र उहाँलाई सारा हृदय, सारा प्राण, सारा मन अनि शक्तिले प्रेम गर्नाले हामीलाई वफादार बन्न मदत दिनेछ। यसबाहेक, येशूले भन्नुभएझैं उहाँका चेलाहरू भनी चिनाउने प्रेम देखाउनाले हामीलाई मण्डलीका मसीहीहरू तथा परिवारप्रति वफादारी कायम गर्न मदत दिनेछ। अर्को शब्दमा भन्ने हो भने, वास्तवमा यो स्वार्थी वा निःस्वार्थी हुने कुरा हो। अवफादार हुनु भनेको स्वार्थी हुनु हो। वफादारको अर्थ निस्वार्थी हुनु हो।—मर्कूस १२:३०, ३१; यूहन्ना १३:३४, ३५.
२१. वफादारीको चुनौतीबारे संक्षेपमा के भन्न सकिन्छ?
२१ यसलाई संक्षेपमा भन्दा: वफादारी भनेको यहोवा परमेश्वर, येशू ख्रीष्ट र यहोवाका सम्पूर्ण साँचो सेवकहरूद्वारा प्रदर्शित उत्कृष्ट गुन हो। यहोवा परमेश्वरसित राम्रो सम्बन्ध राख्न हामीले उहाँप्रति वफादारी कायम गर्नैपर्छ। यसमा उहाँको धार्मिक आवश्यकताहरूअनुरूप जीवन बिताउनु, उहाँका शत्रुहरूसित कुनै सम्बन्ध नराख्नु र औपचारिक तथा अनौपचारिक साक्षी दिएर उहाँको समर्थन गर्नु समावेश छन्। हामी यहोवाको दृश्य संगठनप्रति पनि वफादार हुनैपर्छ। हामी हाम्रा मण्डली तथा आफ्नो पति वा पत्नीप्रति पनि वफादार हुनैपर्छ। सफलतापूर्वक वफादारीको चुनौती सामना गर्नाले हामी यहोवाको सार्वभौमिकता उच्च पारिरहेका तथा उहाँको पक्ष लिइरहेका हुनेछौं। यसप्रकार उहाँको अनुग्रह पाएर हामी अनन्त जीवनको उपहार पाउनेछौं। ईश्वरीय भक्तिबारे प्रेरित पावलले जे-जस्तो सुझाउ दिए, त्यसलाई वफादारीको चुनौती सामना गर्दा पनि लागू गर्नसक्छौं। यो कुरा अहिले र पछि आउने दुवै जीवनका लागि लाभदायी छ।—भजन १८:२५; १ तिमोथी ४:८.
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ हामी कुन तरिकामा परमेश्वरप्रति वफादारीको चुनौती सामना गर्नसक्छौं?
◻ यहोवाको संगठनप्रतिको वफादारीले हामीबाट के माग गर्छ?
◻ प्राचीनहरूले वफादारीको चुनौती कसरी सामना गर्नसक्छन्?
◻ विवाहित मसीहीहरूले वफादारीको कुन चुनौती सामना गर्नैपर्छ?
◻ कुन गुनहरूले हामीलाई वफादारीको चुनौती सामना गर्न मदत गर्छ?
[पृष्ठ १७-मा भएको चित्र]
मण्डलीका सदस्यहरूप्रति वफादारी कायम गर्नाले प्राचीनहरूलाई गोपनीय कुराहरू प्रकट गर्नदेखि रोक्नेछ
[पृष्ठ १८-मा भएको चित्र]
पति वा पत्नीप्रति वफादार रहनाले वैवाहिक बन्धन बलियो हुन्छ