जीवनमा अर्थपूर्ण उद्देश्यको पछि लाग्ने
“सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर।”—भजन १५०:६.
१. एक जवान व्यक्तिले कसरी जीवनमा उद्देश्य खोजे, बताउनुहोस्।
कोरियामा हुर्केका सङ जिनa विगत सम्झँदै भन्छन्: “मैले डाक्टरी पढें किनभने म आफ्नो जीवन मानिसहरूलाई मदत गर्नका लागि प्रयोग गर्न चाहन्थें। डाक्टर बनेर नाम र दाम कमाउँदा खुसी हुन सकिन्छ भन्ने पनि लाग्यो। एउटा डाक्टरले मानिसलाई खासै धेरै मदत गर्न नसक्ने कुरा बुझेपछि मलाई चित्त बुझेन। त्यसपछि म चित्रकलाको क्षेत्रमा लागें तर मैले कोरेका चित्रहरूले पनि अरूलाई त्यति लाभ पुऱ्याएको जस्तो लागेन र आफू स्वार्थी भएको महसुस गरें। अनि शिक्षण पेशातिर लागें र केही समय नबित्दै के थाह पाएँ भने, म विद्यार्थीहरूलाई केवल तथ्यहरू मात्र बताउन सक्छु तर साँचो सुखतर्फ डोऱ्याउने निर्देशन भने दिन सक्दिनँ।” अरू थुप्रै मानिसजस्तै सङ जिन पनि जीवनमा अर्थपूर्ण उद्देश्यको खोजीमा थिए।
२. (क) जीवनमा उद्देश्य प्राप्त गर्नुको अर्थ के हो? (ख) सृष्टिकर्ताले हामीलाई यहाँ राख्नुको उद्देश्य थियो भनेर हामी कसरी थाह पाउँछौं?
२ जीवनमा साँचो उद्देश्य प्राप्त गर्नु भनेको जिउने कारण पाउनु, जीवनमा स्पष्ट लक्ष्य हुनु र आफूले गर्ने प्रयासहरूको प्रमुख आधार हासिल गर्नु हो। के मानिसजातिले साँच्चै यस्तो उद्देश्य प्राप्त गर्न सक्छन्? अवश्यै सक्छन्! तथ्य कुरा के हो भने हामी बुद्धि, अन्तस्करण र तर्कशक्तिसहित सृजिएका छौं। यसको अर्थ, सृष्टिकर्ताले हामीलाई पृथ्वीमा राख्नुको पछाडि एउटा असल उद्देश्य थियो। तसर्थ, सृष्टिकर्ताको उद्देश्यअनुरूप जीवन बिताएर मात्र हामी साँचो उद्देश्य पाउन र त्यो पूरा गर्न सक्छौं।
३. मानिसजातिको लागि परमेश्वरको उद्देश्यमा के समावेश छ?
३ बाइबल बताउँछ, परमेश्वरले हाम्रो निम्ति राखेको उद्देश्यमा थुप्रै कुरा समावेश छन्। उदाहरणका लागि, परमेश्वरले हामीलाई आश्चर्य रीतिले बनाउनुभएको छ र यो उहाँले हामीप्रति देखाएको निःस्वार्थ प्रेमको साँचो अभिव्यक्ति हो। (भजन ४०:५; १३९:१४) त्यसैले, परमेश्वरको उद्देश्यबमोजिम जीवन बिताउनुको अर्थ परमेश्वरले जस्तै अरूलाई निःस्वार्थ प्रेम गर्नु हो। (१ यूहन्ना ४:७-११) साथै, यसको अर्थ परमेश्वरका निर्देशनहरू पालन गर्नु पनि हो जसले हामीलाई उहाँको मायालु उद्देश्यअनुरूप जीवन बिताउन मदत गर्छ।—उपदेशक १२:१३; १ यूहन्ना ५:३.
४. (क) जीवनमा साँचो उद्देश्य प्राप्त गर्न के आवश्यक छ? (ख) जो कोही पनि पछि लाग्न सक्ने सबैभन्दा महान् उद्देश्य के हो?
४ मानिसहरूले आपसमा र अन्य सृष्टिसित खुसीसाथ र शान्तिपूर्वक जीवन बिताऊन् भन्ने पनि परमेश्वरको उद्देश्य थियो। (उत्पत्ति १:२६; २:१५) तर खुसी, सुरक्षित र शान्ति महसुस गर्न हामीले के गर्नुपर्छ? जसरी एउटा बच्चाले खुसी र सुरक्षित महसुस गर्न आमाबाबु नजिकै भएको तिनलाई महसुस हुनुपर्छ, त्यसरी नै हामीले पनि जीवनमा साँचो अर्थ र उद्देश्य पाउन स्वर्गमा बस्नुहुने पितासित राम्रो सम्बन्ध गाँस्नु आवश्यक छ। (हिब्रू १२:९) परमेश्वरले हामीलाई उहाँको नजिक आउन दिएर र हाम्रो प्रार्थना सुनेर उहाँसित यस्तो सम्बन्ध राख्न सम्भव तुल्याइदिनुहुन्छ। (याकूब ४:८; १ यूहन्ना ५:१४, १५) यदि हामी विश्वासमा ‘परमेश्वरको साथै हिंड्छौं’ र उहाँको मित्र बन्छौं भने उहाँलाई आनन्दित र महिमित पार्न सक्छौं। (उत्पत्ति ६:९; हितोपदेश २३:१५, १६; याकूब २:२३) यो, जो कोही पनि पछि लाग्न सक्ने सबैभन्दा महान् उद्देश्य हो। भजनहारले यस्तो लेखे: “सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर।”—भजन १५०:६.
जीवनमा तपाईंको उद्देश्य के हो?
५. भौतिक कुरालाई पहिलो स्थानमा राख्नु किन मूर्खता हो?
५ परमेश्वरले हाम्रो लागि राखेको उद्देश्यको एउटा भाग, हामीले आफ्नै र आफ्नो परिवारको राम्रो देखभाल गरोस् भन्ने हो। यसमा शारीरिक र आध्यात्मिक दुवै आवश्यकता पूरा गर्नु समावेश छ। तर सांसारिक रुचि र सांसारिक कामकुराले अझ महत्त्वपूर्ण कुरा अर्थात् आध्यात्मिक गतिविधिलाई ओझेलमा नपारोस् भन्नाको लागि सन्तुलन चाहिन्छ। (मत्ती ४:४; ६:३३) दुःखको कुरा, थुप्रै मानिस प्रायः भौतिक कुरा थुपार्नैमा मात्र ध्यान लगाउँछन्। तर, भौतिक कुराले मात्र आफ्नो जम्मै आवश्यकता पूरा गर्न खोज्नु मूर्खता बाहेक अरू केही होइन। एसियाका धनाढ्यहरूमा गरिएको हालैको सर्वेक्षणअनुसार, तिनीहरूमध्ये धेरैले “समाजमा मान-सम्मान कमाएका छन् र धनले गर्दा तिनीहरूलाई जीवनमा केही हासिल गरेको महसुस पनि भएको छ। तैपनि, तिनीहरू असुरक्षित र चिन्तित महसुस गर्छन्।”—उपदेशक ५:११.
६. धन-सम्पत्तिको पछि लाग्नेहरूलाई येशूले के सल्लाह दिनुभयो?
६ येशूले ‘धनको धोकाबारे’ बताउनुभयो। (मर्कूस ४:१९) धनले कसरी धोका दिन्छ? यसले मानिसलाई खुसी बनाउँछ जस्तो देखिन्छ तर वास्तवमा बनाउँदैन। बुद्धिमान् राजा सुलेमानले यसो भने: “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन।” (उपदेशक ५:१०) तर के भौतिक लक्ष्यको पछि लाग्दै तनमनले परमेश्वरको सेवा गर्न सम्भव छ र? अहँ, छैन। येशूले यसो भन्नुभयो: “कसैले दुइ मालिकको चाकरी गर्नसक्तैन। किनभने त्यसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित टाँसिनेछ, र अर्कोलाई त्यसले तुच्छ गन्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको चाकरी गर्न सक्तैनौ।” येशूले आफ्ना अनुयायीहरूलाई पृथ्वीमा होइन तर “स्वर्गमा धन-सम्पत्ति” थुपार्न आग्रह गर्नुभयो। त्यसको मतलब, हामीलाई ‘कुन कुन कुराको खाँचो छ, सो जान्नुहुने’ परमेश्वरअघि असल नाउँ कमाउनु हो।—मत्ती ६:८, १९-२५.
७. हामी कसरी ‘साँच्चैको जीवन पक्रिराख्न’ सक्छौं?
७ यस सन्दर्भमा, प्रेरित पावलले आफ्ना सहकर्मी तिमोथीलाई पत्र लेख्दा कडिकडाइसाथ केही सल्लाह दिए। तिनले तिमोथीलाई यसो भने: “धनीहरूलाई कडा आज्ञा देऊ, कि तिनीहरू . . . अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि नै आशा राखून्, . . . तिनीहरू उदारचित्त भएर . . . बाँडचुड गर्नामा तत्पर होऊन्, पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै[को] जीवन हो, सो पक्री राखून्।”—१ तिमोथी ६:१७-१९.
‘साँच्चैको जीवन’ के हो?
८. (क) थुप्रै मानिस धनसम्पत्ति र मान-सम्मानको लागि किन मरिमेट्छन्? (ख) यस्ता मानिसहरूले के कुरा बुझ्न सक्दैनन्?
८ धेरैजसो मानिसलाई ‘साँच्चैको जीवन’ भन्नासाथ आराम र सुखसयलको जिन्दगी भन्ने लाग्छ। एसियाको एउटा समाचार पत्रिका यस्तो लेख्छ: “फिल्म वा टिभी हेर्नेहरूले जे देख्यो त्यसैको चाह गर्न र आफूले पाउन सकिने कुराहरूको सपना देख्न थाल्छन्।” धेरैले नाम-दाम कमाउनुलाई नै जीवनको उद्देश्य बनाउँछन्। यसको लागि थुप्रैले आफ्नो जवानी, स्वास्थ्य, पारिवारिक जीवन र आध्यात्मिकतालाई नै आहुति दिन्छन्। कमैले मात्र सोच्छन् कि सञ्चारजगत्मा देखाइने त्यस्ता सुखसयलका कुरा अरू केही नभई केवल ‘संसारको आत्माको’ छाया हो। यो ‘आत्माले’ अधिकांश मानिसलाई प्रभावित गर्छ र परमेश्वरको उद्देश्य विपरीत काम गर्न उक्साउँछ। (१ कोरिन्थी २:१२; एफिसी २:२) त्यही कारण, आज संसारमा यतिबिघ्न दुःखी मानिस भएकोमा अचम्म मान्नुपर्दैन!—हितोपदेश १८:११; २३:४, ५.
९. मानिसजातिले के कुरा कहिल्यै हासिल गर्न सक्दैनन् र किन?
९ भोकमरी, बिमारी र अन्याय निर्मूल गर्ने प्रयास गर्दै अरूको भलाइको लागि निःस्वार्थ भावले डटेर लाग्ने व्यक्तिहरूबारे के भन्न सकिन्छ? तिनीहरूको त्यस्तो प्रशंसनीय र आत्म-त्यागी प्रयासले अक्सर थुप्रैलाई लाभ पुऱ्याउँछ। तैपनि, तिनीहरूको भरमग्दुर प्रयासको बावजूद तिनीहरूले यस रीतिरिवाजलाई न्यायपूर्ण र धार्मिकताले भरिएको बनाउन कहिल्यै सक्ने छैनन्। किन? किनभने वास्तवमा “सारा संसार त्यस दुष्ट” अर्थात् शैतानको “अधीनमा परेको छ” र यो रीतिरिवाज परिवर्तन भएको त्यो चाहँदैन।—१ यूहन्ना ५:१९.
१०. विश्वासी जनहरूले कहिले ‘साँच्चैको जीवन’ पाउनेछन्?
१० यदि जीवन यति नै हो भने, त्यो कत्ति दुःखलाग्दो हुन्छ! पावलले यस्तो लेखे: “यसै जीवनमा मात्र ख्रीष्टमा हामीले आशा राखेका छौं भने, हामी सबै मानिसहरूभन्दा ज्यादै दयनीय छौं।” जीवन यति नै हो भन्नेहरूले “खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्छौं पो” भन्ने मनोवृत्ति राख्छन्। (१ कोरिन्थी १५:१९, ३२) तर भविष्यको आशा छ, मतलब “[परमेश्वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) त्यतिबेला, मसीहीहरूले स्वर्गमा या परमेश्वरको मायालु शासन अन्तर्गत पृथ्वीमा, ‘साँच्चैको जीवन’ अर्थात् “अनन्त जीवन” सिद्धतामा पाउन सक्छन्!— १ तिमोथी ६:१२.
११. परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई बढाउने काम गर्नु किन उद्देश्यपूर्ण काम हो?
११ परमेश्वरको राज्यले मात्र मानिसजातिका समस्याहरू पूर्णतया हल गर्न सक्नेछ। त्यसैले, परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई बढाउन काम गर्नु नै जो कोही पनि पछि लाग्न सक्ने सबैभन्दा उद्देश्यपूर्ण काम हो। (यूहन्ना ४:३४) यस काममा भाग लिंदा हामीले स्वर्गमा बस्नुहुने पितासित अनमोल सम्बन्धको आनन्द उठाउन सक्छौं। साथै, जीवनमा एउटै उद्देश्यको पछि लाग्ने लाखौं आध्यात्मिक भाइबहिनीसित हातेमालो गर्दै सेवा गर्दा आनन्द पनि पाउँछौं।
सही त्यागहरू गर्ने
१२. वर्तमान रीतिरिवाजको जीवन र ‘साँच्चैको जीवनबीच’ भिन्नता बताउनुहोस्।
१२ वर्तमान संसार “बितिजान्छ र त्यसको अभिलाषा पनि बितेर जान्छ” भनी बाइबल भन्छ। शैतानको संसार र यसमा पाइने मान-सम्मान तथा धनसम्पत्ति विनाशबाट बच्ने छैन “तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१५-१७) वर्तमान रीतिरिवाजको अनिश्चित धनसम्पत्ति, क्षणिक महिमा र खोक्रो आनन्दको ठीक विपरीत ‘साँच्चैको जीवन’ अर्थात् परमेश्वरको राज्यमा पाइने अनन्त जीवन चाहिं स्थायी र हाम्रो त्यागहरूको योग्य छ, तर हाम्रो त्याग सही हुनुपर्छ।
१३. एउटा दम्पतीले कसरी सही त्याग गरे?
१३ हेन्री र सुजनलाई विचार गर्नुहोस्। परमेश्वरको राज्यलाई जीवनमा प्राथमिकता दिनेहरूले उहाँबाट मदत पाउनेछन् भन्ने उहाँको प्रतिज्ञामा तिनीहरूलाई पूरा विश्वास छ। (मत्ती ६:३३) त्यसैले, तिनीहरूले सस्तो खाले घरमा बस्ने छनौट गरे जसले गर्दा खर्च टार्न एक जनाले मात्र जागिर खाए पुग्थ्यो। यसो गर्दा दुई छोरीलाई साथ लिई आध्यात्मिक क्रियाकलापमा अझ बढी समय बिताउन सक्थे। (हिब्रू १३:१५, १६) राम्रै मनसाय भएको एक जना साथीले तिनीहरूले त्यस्तो छनौट गर्नुको कारण बुझ्न सकिनन्। तिनले सुजनलाई यसो भनिन्: “हेर सुजन, अलिक राम्रो घरमा बस्न चाहन्छौ भने तिमीले केवल केही त्याग गरे पुग्छ।” तर हेन्री र सुजनलाई के थाह थियो भने यहोवालाई पहिलो स्थानमा राख्दा “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा[लाई]” पक्रिराख्न सकिन्छ। (१ तिमोथी ४:८; तीतस २:१२) तिनीहरूका दुवै छोरी जोसिला पूर्ण-समय प्रचारक बने। पारिवारिक रूपमा तिनीहरूले केही गुमाउनुपरे जस्तो महसुस गरेनन्। बरु, ‘साँच्चैको जीवनको’ पछि लाग्नुलाई जीवनको उद्देश्य बनाएर प्रशस्त लाभ उठाए।—फिलिप्पी ३:८; १ तिमोथी ६:६-८.
“यस संसारका रीतिमा” पूर्णरूपले नचल्नुहोस्
१४. आफ्नो साँचो उद्देश्यलाई बिर्संदा कस्तो दुःखदायी घटना हुन सक्छ?
१४ तर, यदि साँचो उद्देश्यलाई बिर्स्यौं र ‘साँच्चैको जीवनलाई’ पक्रिराख्न सकेनौं भने चाहिं साँच्चै खतरा हुन्छ। हामी ‘यस जीवनका चिन्ता, धन, सुख चैनको’ पछि-पछि लाग्ने खतरामा पर्छौं। (लूका ८:१४) भौतिक कुराप्रतिको अनियन्त्रित चाहना र “जीवनको फिक्रीले” हामीलाई यस रीतिरिवाजमा चुर्लुम्मै डुबाउन सक्छ। (लूका २१:३४) दुःखको कुरा, धनी बन्ने आजको व्याप्त चाहनाले कतिपयलाई खर्लप्पै निलेको छ र तिनीहरू ‘विश्वासबाट कुमार्गमा तर्केका छन् र धेरै दुःखले तिनीहरूको हृदय छेंडेको छ,’ यहाँसम्म कि तिनीहरूले यहोवासितको अनमोल सम्बन्ध समेत गुमाएका छन्। हेर्नुहोस् त, ‘अनन्त जीवन पक्री’ नराख्दा कत्ति धेरै मूल्य चुकाउनुपर्ने रहेछ!—१ तिमोथी ६:९, १०, १२; हितोपदेश २८:२०.
१५. पूर्णरूपले ‘यस संसारका रीतिमा नचलेर’ एउटा परिवारले कसरी लाभ उठायो?
१५ पावलले यस्तो सल्लाह दिए: “यस संसारका रीतिमा चल्नेहरू नचल्नेहरूजस्ता होऊन्।” (१ कोरिन्थी ७:३१) कीथ र बोनीले यो सल्लाह पालन गरे। कीथ भन्छन्: “मैले दन्त चिकित्सकको पढाइ सिध्याउनै लाग्दा यहोवाको साक्षी भएँ। मैले छनौट गर्नु थियो। थुप्रै बिरामीहरूलाई जाँचेर प्रशस्त पैसा कमाउन सक्थें। तर यसो गर्दा आध्यात्मिक जीवनमा बाधा पुग्ने थियो। सीमित संख्यामा मात्र बिरामी जाँच्ने छनौट गरें जसले गर्दा पाँच छोरीसहितको आफ्नो परिवारको आध्यात्मिक र भावनात्मक आवश्यकता पूरा गर्ने समय पाउन सक्थें। हामीसित प्रायः फाल्तु पैसा हुँदैनथ्यो, तैपनि मितव्ययी हुन सिक्यौं र आवश्यक कुरा सधैं पूरा गर्न सक्थ्यौं। हाम्रो पारिवारिक जीवन घनिष्ठ, न्यानो र आनन्दित थियो। अन्ततः हामी सबै पूर्ण-समय सेवामा लाग्यौं। अहिले छोरीहरू खुसीसाथ वैवाहिक जीवन बिताइरहेका छन्। तीन जनाको त बच्चाहरू पनि छन्। तिनीहरूले यहोवाको उद्देश्यलाई पहिलो स्थानमा राखेकोले गर्दा तिनीहरूको परिवार पनि सुखी छ।”
जीवनमा परमेश्वरको उद्देश्यलाई प्राथमिकता दिने
१६, १७. खुबी भएका मानिसहरूका कस्ता उदाहरण बाइबलमा छन् र तिनीहरूको सम्झना कसरी गरिन्छ?
१६ बाइबलमा परमेश्वरको उद्देश्यको लागि जिउने र नजिउनेहरूका उदाहरण पाइन्छ। यस्ता उदाहरणबाट सबै उमेर, सबै संस्कृति र हरेक परिस्थितिका मानिसहरूले पाठ सिक्न सक्छन्। (रोमी १५:४; १ कोरिन्थी १०:६, ११) निम्रोदले यहोवाको विरोधमा ठूल्ठूला सहरहरू बनायो। (उत्पत्ति १०:८, ९) तर अरू थुप्रै राम्रा उदाहरण पनि छन्। उदाहरणका लागि, मोशाले मिश्रमा कुलीन व्यक्तिको दर्जा पाएका थिए तर तिनले त्यसलाई जीवनको उद्देश्य बनाएनन्। बरु, तिनले आध्यात्मिक सुअवसरहरूलाई “मिश्र देशको खजनाभन्दा . . . ठूलो सम्पत्ति सम्झे।” (हिब्रू ११:२६) लूका डाक्टर थिए र तिनले पावल र अरू बिरामी पर्दा अवश्यै तिनीहरूको उपचार गरे होलान्। तर तिनले डाक्टरको रूपमा भन्दा प्रचारक र बाइबल लेखकको हैसियतमा नै अरूको निम्ति धेरै असल काम गरे। पावलको सन्दर्भमा भन्नुपर्दा, तिनी कानुनवेत्ता थिए तर तिनी “अन्यजातिहरूको प्रेरित” अर्थात् मिसनरीको रूपमा चिनिए।—रोमी ११:१३.
१७ दाऊदलाई मुख्यतया सैनिक कमान्डर अथवा संगीतकारको रूपमा नभई ‘परमेश्वरले रूचाउनुभएको एउटा मानिसको’ रूपमा सम्झिने गरिन्छ। (१ शमूएल १३:१४) हामीलाई थाह भएकै कुरा हो, दानियल बेबिलोनी सरकारको अधिकारीको रूपमा होइन तर यहोवाको वफादार अगमवक्ताको रूपमा; एस्तर फारसकी रानीको रूपमा होइन तर साहस र विश्वासकी उदाहरणको रूपमा अनि पत्रुस, अन्द्रियास, याकूब र यूहन्ना सफल जालहारीको रूपमा होइनन् तर येशूका प्रेरितको रूपमा चिनिन्छन्। अनि येशू स्वयम्लाई हामी “सिकर्मी” होइन तर “ख्रीष्ट[को]” रूपमा चिन्छौं। (मर्कूस ६:३; मत्ती १६:१६) यी सबैले स्पष्टसित के बुझेका थिए भने तिनीहरूसित जे जति खुबी, धनसम्पत्ति र मान-पदवी भए तापनि तिनीहरूको जीवन सांसारिक पेशामा होइन तर परमेश्वरको सेवामा केन्द्रित हुनुपर्छ। तिनीहरूलाई थाह थियो, आफूले प्राप्त गर्न सक्ने सबैभन्दा योग्य र इनामदायी उद्देश्य भनेको परमेश्वरको जन बन्नु हो।
१८. एक जवान मसीहीले आफ्नो जीवन कसरी प्रयोग गर्ने निर्णय गरे र तिनले के कुरा बुझे?
१८ सुरुमा बताइएका सङ जिनले पनि यो कुरा बुझे। तिनी बताउँछन्: “मेरो सारा शक्ति चिकित्सा विज्ञान, चित्रकला र शिक्षण पेशामा लगाउनुको साटो परमेश्वरप्रति गरिएको समर्पणअनुरूप आफ्नो जीवन प्रयोग गर्ने संकल्प गरें। अहिले म अनन्त जीवनको मार्गमा हिंड्न मानिसहरूलाई मदत गर्दै बाइबल शिक्षकको बढी आवश्यकता भएको ठाउँमा सेवा गर्दैछु। म सोच्ने गर्थें, पूर्ण-समय सेवक हुनु त्यति चुनौतीपूर्ण काम होइन। तर अहिले मेरो जीवन पहिलाभन्दा निकै चुनौतीपूर्ण छ किनभने भिन्न-भिन्न संस्कृति बोकेका मानिसहरूलाई सिकाउनको लागि आफ्नो व्यक्तित्व सुधार्न र दक्षता बढाउन प्रयास गर्नुपर्ने हुन्छ। मैले बुझें, यहोवाको उद्देश्यलाई आफ्नो उद्देश्य बनाउनु नै जीवन जिउने एक मात्र अर्थपूर्ण तरिका हो।”
१९. हामी जीवनमा कसरी साँचो उद्देश्य प्राप्त गर्न सक्छौं?
१९ हामी मसीहीहरूले जीवन बचाउने ज्ञान र मुक्तिको आशा पाएका छौं। (यूहन्ना १७:३) त्यसैले, “परमेश्वरको अनुग्रह व्यर्थैमा ग्रहण” नगरौं। (२ कोरिन्थी ६:१) बरु, हाम्रा जीवनका अमूल्य घडीहरू यहोवाको प्रशंसामा लगाऔं। अहिले साँचो आनन्द दिने र अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान फैलाऔं। यसो गर्दा हामी येशूका यी शब्दहरूको सत्यता अनुभव गर्नेछौं: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) अनि हामीले जीवनमा साँचो उद्देश्य पाएका हुनेछौं। (w 07 10/1)
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• हामीले जीवनमा प्राप्त गर्न सक्ने सबैभन्दा महान् उद्देश्य के हो?
• भौतिक कुराको लागि जिउनु किन मूर्खता हो?
• परमेश्वरले प्रतिज्ञा गर्नुभएको ‘साँच्चैको जीवन’ के हो?
• हामी आफ्नो जीवन परमेश्वरको उद्देश्यको लागि कसरी प्रयोग गर्न सक्छौं?
[पृष्ठ १८-मा भएका चित्रहरू]
मसीहीहरूले सही त्याग गर्नु खाँचो छ