यहोवाको मार्गमा हिंडिरहनुहोस्
“परमप्रभुको बाटो हेर्, उहाँकै मार्गमा हिंड्, र उहाँले तँलाई देश अधिकार गर्न बढ़ाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्।”—भजन ३७:३४.
१, २. यहोवाको मार्गमा हिंड्न राजा दाऊदले के गर्नुपऱ्यो अनि अहिले हामीले के गर्नुपर्छ?
“जुन मार्गमा मैले चल्नुपर्छ, त्यो मलाई जान्नदिनुहोस्। किनकि म मेरो मन तपाईंतिर लगाउँछु।” (भजन १४३:८) मसीहीहरू आफ्नो पूरा मनतनले राजा दाऊदका ती शब्दहरू दोहोऱ्याउँछन्। तिनीहरू साँच्चै यहोवालाई खुसी तुल्याउन र उहाँको मार्गमा हिंड्न चाहन्छन्। यसको मतलब के हो? दाऊदको लागि यसो गर्नुको मतलब परमेश्वरको वचन पालन गर्नुथियो। वरपरका राष्ट्रहरूसित सम्बन्ध बढाउनु अनि तिनीहरूकै ईश्वरहरूको उपासना गर्नु होइन तर यहोवामै भरोसा राखेर वफादार भई उहाँकै सेवा गर्नुपर्थ्यो। यहोवाको मार्गमा हिंड्न मसीहीहरूले त्यति मात्र गरेर पुग्दैन।
२ एउटा कुरा, अहिले यहोवाको मार्गमा हिंड्नु भनेको येशू ख्रीष्टको छुडौतीको बलिदानमा विश्वास गर्नु, “बाटो, सत्य, र जीवन” उहाँ नै हुनुहुन्छ भनी स्वीकार्नु हो। (यूहन्ना ३:१६; १४:६; हिब्रू ५:९) साथै, एकअर्का र अझ विशेषगरि येशूका अभिषिक्त भाइहरूलाई प्रेम गरेर “ख्रीष्टको व्यवस्था” पूरा गर्नु हो। (गलाती ६:२; मत्ती २५:३४-४०) यहोवाको मार्गमा हिंड्नेहरूले उहाँको सिद्धान्त तथा आज्ञाहरूलाई प्रेम गर्छन्। (भजन ११९:९७; हितोपदेश ४:५, ६) मसीही सेवकाईमा भाग लिने आफ्नो बहुमूल्य सुअवसरको कदर गर्छन्। (कलस्सी ४:१७; २ तिमोथी ४:५) प्रार्थना, तिनीहरूको जीवनको अभिन्न भाग हो। (रोमी १२:१२) आफू ‘निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो हिंडिरहेको’ छ कि छैन भनी होसियार बस्छन्। (एफिसी ५:१५) तिनीहरू अस्थायी भौतिक सुखसुविधा वा अवैध शारीरिक सुखविलासको लागि आध्यात्मिक धनसम्पत्ति गुमाउन चाहँदैनन्। (मत्ती ६:१९, २०; १ यूहन्ना २:१५-१७) यसको साथै यहोवाप्रति वफादारी र भरोसा महत्त्वपूर्ण छ। (२ कोरिन्थी १:९; १०:५; एफिसी ४:२४) किन? किनभने हाम्रो अवस्था पनि पुरातन इस्राएलकै जस्तो छ।
भरोसा र वफादारीको खाँचो
३. यहोवाको मार्गमा हिंडिरहन वफादारी, विश्वास र भरोसाले कसरी मदत गर्नेछ?
३ इस्राएल एउटा सानो राष्ट्र थियो तर यसको चारैतिरका अमित्रैलो छिमेकीहरू मूर्तिपूजक उपासनामा छाडा उत्सवहरू मनाउँथे। (१ इतिहास १६:२६) इस्राएलले मात्र साँचो तथा अदृश्य परमेश्वर, यहोवाको उपासना गर्थ्यो र उहाँ तिनीहरूले उच्च नैतिक स्तर पालन गरेको चाहनुहुन्थ्यो। (व्यवस्था ६:४) त्यस्तैगरि आज केही लाख मानिसहरूले मात्र यहोवाको उपासना गर्छन् र तिनीहरू आफ्नो भन्दा एकदम बेग्लै स्तर तथा धार्मिक दृष्टिकोण राख्ने झन्डै छ अरब मानिसहरूको माझमा बाँचिरहेका छन्। हामी त्यो थोरै व्यक्तिहरूमध्येका हौं भने गलत मार्गको प्रभावमा पर्नदेखि सतर्क हुनुपर्छ। कसरी? यहोवा परमेश्वरप्रति वफादारी, उहाँमा विश्वास र उहाँले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने दृढ भरोसाले मदत गर्नेछ। (हिब्रू ११:६) यसले हामीलाई संसारले आशा राख्ने कुराहरूमा भरोसा राख्नदेखि जोगाउनेछ।—हितोपदेश २०:२२; १ तिमोथी ६:१७.
४. राष्ट्रहरू किन “समझको अँध्यारोमा छन्”?
४ संसारको चाल-ढालभन्दा मसीहीहरू कत्तिको भिन्न हुनुपर्छ भनी देखाउँदै प्रेरित पावलले यसप्रकार लेखे: “यसकारण म यो भन्छु, र प्रभुमा साक्षी दिन्छु, कि तिमीहरू फेरि यस्तो चाल नचल जस्तो अन्यजातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्दछन्। तिनीहरूका हृदय कठोर भएका र तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्वरको जीवनबाट बिराना भए।” (एफिसी ४:१७, १८) येशू “साँचो ज्योति” हुनुहुन्छ। (यूहन्ना १:९) उहाँलाई तिरस्कार गर्ने वा उहाँमा विश्वास गर्छु भन्न त भन्ने तर “ख्रीष्टको व्यवस्था” पालन नगर्नेहरूको “समझ अँध्यारो” भएको हुन्छ। यहोवाको मार्गमा हिंड्नु त कता हो कता तिनीहरू “परमेश्वरको जीवनबाट बिराना” भएका हुन्छन्। सांसारिक तौरतरिकामा आफू जत्ति नै बुद्धिमान ठाने तापनि तिनीहरू यहोवा परमेश्वर र येशू ख्रीष्टतर्फ डोऱ्याउने जीवनको ज्ञानबारे ‘अज्ञान’ छन्।—यूहन्ना १७:३; १ कोरिन्थी ३:१९.
५. सत्यको ज्योति संसारमा चम्किरहेको भए तापनि किन थुप्रैले सुन्दैनन्?
५ यद्यपि, सत्यको ज्योति संसारमा चम्किरहेको छ! (भजन ४३:३; फिलिप्पी २:१५) “बुद्धि खुला सड़कहरू तिर कराउँछ।” (हितोपदेश १:२०) गतवर्ष यहोवाका साक्षीहरूले यहोवा परमेश्वर र येशू ख्रीष्टबारे आफ्ना छिमेकीहरूलाई बताउन एक अरबभन्दा बढी घण्टा बिताए। लाखौं मानिसहरूले सुने। यसकारण अरू थुप्रैले हाम्रो कुरा नसुनेकोमा छक्क पर्नु पर्छ र? पर्दैन। पावलले “तिनीहरूको हृदयको कठोरताबारे” बताए। स्वार्थ वा पैसाको प्रेमले गर्दा कसै कसैको हृदय कठोर हुन्छ। अरू कतिपयलाई अहिले व्याप्त झूटो धर्म वा सांसारिक दृष्टिकोणले असर गरेको हुन्छ। जीवनमा कठोर अनुभव भोगेको कारण कोही कोही परमेश्वरलाई आफ्नो पीठ फर्काउँछन्। अरू भने यहोवाको उच्च नैतिक स्तर पालन गर्न मान्दैनन्। (यूहन्ना ३:२०) के यहोवाको मार्गमा हिंडिरहेका व्यक्तिहरूको हृदय यी सन्दर्भमा कठोर हुनसक्छ?
६, ७. इस्राएलीहरू यहोवाका उपासकहरू भए तापनि तिनीहरू कति बेला तर्किए र किन?
६ पुरातन इस्राएललाई यस्तै भयो भनी पावलले देखाए। तिनले यसप्रकार लेखे: “तिनीहरूले लालसा गरेझैं हामीले खराब कुराको लालसा गर्नुहुन्न भन्ने मनसायले यी कुरा हाम्रा निम्ति उदाहरण भएका हुन्। औ तिनीहरूमध्ये कोही कोही भएझैं तिमीहरू मूर्तिपूजक नहोओ, जसरी लेखिएको छ, ‘मानिसहरू खान र पिउनालाई बसे, अनि लीला गर्न उठे।’ हामी व्यभिचार नगरौं, जसरी तिनीहरूमध्ये कुनै कुनैले व्यभिचार गरेथे, र एकै दिनमा तेइस हजार मरेथे।”—१ कोरिन्थी १०:६-८.
७ पावल सर्वप्रथम इस्राएलले सीनै पर्वतमा सुनको बाछाको उपासना गरेको घटनालाई उल्लेख गर्छन्। (प्रस्थान ३२:५, ६) तिनीहरू केही हप्ताअघि मात्र पालन गर्न राजी भएको ईश्वरीय आज्ञाप्रति ठाडै अनाज्ञाकारी भइरहेका थिए। (प्रस्थान २०:४-६; २४:३) त्यसपछि पावल, इस्राएल मोआबका छोरीहरूसँगसँगै बालको सामु घोप्टो परेको समयबारे बताउँछन्। (गन्ती २५:१-९) बाछाको उपासना गर्दा घोर विलासितामा लागेर ‘लीला गर्न उठे।’a बाल उपासनामा एकदमै घिनलाग्दो यौन अनैतिकता हुन्थ्यो। (प्रकाश २:१४) इस्राएलीहरूले किन यी पापहरू गरे? किनभने तिनीहरूले ‘खराब कुराको लालसा गरे’ चाहे त्यो मूर्तिपूजा वा त्यससित मुछिएको छाडा प्रचलन नै किन नहोस्।
८. हामी इस्राएलका अनुभवहरूबाट के सिक्नसक्छौं?
८ हामीले यस्ता घटनाहरूबाट पाठ सिक्नुपर्छ भनी पावलले संकेत गरे। कस्तो पाठ सिक्ने? एक जना मसीहीले सुनको बाछा वा पुरातन मोआबी देवलाई दण्डवत् गर्ला भनेर हामी सोच्नसमेत सक्दैनौं। तर अनैतिकता वा स्वच्छन्द विलासिताबारे के भन्न सक्छौं? ती कुराहरू अहिले सामान्य भइसकेका छन् र त्यसप्रति हाम्रो हृदयमा लालसा जाग्न थाल्यो भने यहोवासितको हाम्रो सम्बन्धमा त्यसले बाधा पुऱ्याउँछ। त्यसो हुन दिनु भनेको अनैतिकतामा फसेसरह हुनेछ अर्थात् हामी परमेश्वरबाट अलग भएका हुनेछौं। (तुलना गर्नुहोस् कलस्सी ३:५; फिलिप्पी ३:१९) पावलले ती घटनाहरूबारे छलफल गरिसकेपछि अन्तमा सँगी विश्वासीहरूलाई यस्तो आग्रह गर्छन्: “मूर्तिपूजाबाट अलग रहो।”—१ कोरिन्थी १०:१४.
परमेश्वरको मार्गमा हिंड्नको लागि मदत
९. (क) यहोवाको मार्गमा हिंडिरहन हामी कस्तो मदत पाउँछौं? (ख) हाम्रो ‘पछिल्तिरको शब्द’ सुन्ने पहिलो तरिका के हो?
९ हामी यहोवाको मार्गमा हिंडिरहन कटिबद्ध छौं भने हामीलाई अलपत्र छोडिनेछैन। यशैयाले यस्तो अगमवाणी गरे: “तिमीहरू दाहिने–देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२१) कसरी ‘आफ्नै कानले’ हाम्रो ‘पछिल्तिर भनिएको शब्द’ सुन्नेछौं? भनौं भने, अहिले कसैले पनि साँच्चै एउटा आवाज वा परमेश्वर स्वयम्ले सन्देश दिनुभएको सुन्दैन। हामीले सुन्ने “शब्द” प्रत्येकले एउटै तरिकाबाट पाउँछौं। सर्वप्रथम, यो शब्द प्रेरित धर्मशास्त्र बाइबलबाट पाउँछौं। यसमा परमेश्वरको विचार र उहाँले मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो भनी बताइएको छ। “परमेश्वरको जीवनबाट बिराना भएका” थुप्रै स्रोतहरूबाट अनेकन् प्रचारप्रसार दिनहुँ सुन्ने हुँदा आध्यात्मिक सुस्वास्थ्यको लागि परमेश्वरको वचन पढ्नु अनि त्यसलाई नियमित तवरमा मनन गर्नु खाँचो छ। यसले हामीलाई “व्यर्थका कुराहरू” त्याग्न र “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” हुन मदत गर्नेछ। (प्रेरित १४:१४, १५; २ तिमोथी ३:१६, १७) यसले हामीलाई बलियो बनाउनेछ, स्फूर्ति प्रदान गर्नेछ अनि हाम्रो ‘मार्गमा उन्नती गर्न’ मदत गर्नेछ। (यहोशू १:७, ८) यसर्थ, यहोवाको वचनले यस्तो आग्रह गर्छ: “अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्। मेरो अर्ती सुन र बुद्धिमान् होओ, त्यसको बेवास्ता नगर।”—हितोपदेश ८:३२, ३३, नयाँ संशोधित संस्करण।
१०. हाम्रो ‘पछिल्तिरको शब्द’ सुन्ने दोस्रो तरिका के हो?
१० “ठीक ठीक समयमा खान” दिने “विश्वासी र बुद्धिमान दास” मार्फत हामी आफ्नो ‘पछिल्तिर शब्द’ सुनिरन्छौं। (मत्ती २४:४५-४७) यो प्रदान गर्ने एउटा तरिका छापिएका बाइबल-आधारित प्रकाशनहरूद्वारा हो र यो आहारा अहिले प्रशस्त मात्रामा उपलब्ध छ। उदाहरणका लागि, प्रहरीधरहरा पत्रिका मार्फत हामी भविष्यवाणीहरूबारे थप ज्ञान पाउँछौं। यो पत्रिकाले हामीलाई बढ्दो भावशून्यताको बावजूद प्रचार गर्न र चेला बनाउने कार्यमा लागिरहन, गल्तीहरू गर्नदेखि जोगिन र मसीहीहरूमा हुनुपर्ने असल गुणहरू विकास गर्न प्रोत्साहन दिंदै आएको छ। हामी यसरी ठीक ठीक समयमा दिइएको आहाराको निकै मोल गर्छौं!
११. हाम्रो ‘पछिल्तिरको शब्द’ सुन्ने तेस्रो तरिका वर्णन गर्नुहोस्।
११ विश्वासी र बुद्धिमान दासले नियमित सभाहरूद्वारा पनि आहार प्रदान गर्छ। ती हुन्, स्थानीय मण्डलीका सभाहरू, क्षेत्रीय तवरमा वर्षमा दुई चोटि हुने सभाहरू तथा ठूलठूला वार्षिक अधिवेशनहरू। यस्ता जमघटहरूको मोल नगर्ने विश्वासी मसीही को होला र? ती, हामीलाई यहोवाको मार्गमा हिंडिरहन मदत दिने अत्यावश्यक तत्त्वहरू हुन्। यस्तो नियमित मसीही सरसंगतिले हाम्रो जीवन बचाउँछ किनभने अधिकांश मसीहीहरूले बेग्लै विश्वास भएका मानिसहरूसित स्कूल वा काम गर्ने ठाउँमा धेरै समय बिताउनु पर्ने हुन्छ। सभाहरूमा ‘प्रेम र सुकर्ममा एउटाले अर्कोलाई उत्तेजित गराउने’ राम्रो मौका पाउँछौं। (हिब्रू १०:२४) हामी आफ्ना भाइहरूलाई माया गर्छौं र तिनीहरूसित संगत गर्न चाहन्छौं।—भजन १३३:१.
१२. यहोवाका साक्षीहरूसित कस्तो कटिबद्धता छ र तिनीहरूले हालै त्यो कसरी व्यक्त गरे?
१२ त्यस्तो आध्यात्मिक आहारबाट बल प्राप्त गरेर अहिले झन्डै छ लाख मानिसहरू यहोवाको मार्गमा हिंडिरहेका छन् र त्यो मार्गमा हिंड्न सिक्नका लागि अरू लाखौंले बाइबल अध्ययन गरिरहेका छन्। पृथ्वीको अरबौं जनसंख्याको तुलनामा थोरै मात्र भएकाले के तिनीहरू निरुत्साहित वा कमजोर भएका छन्? पटक्कै छैनन्! तिनीहरू ‘पछिल्तिरको शब्द’ सुनेर वफादार भई यहोवाको इच्छा गरिरहन कटिबद्ध छन्। यो कटिबद्धता जनसमक्ष प्रकट गर्न १९९८/९९ “परमेश्वरले चाहनुहुने जीवनशैली” विषयको जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित प्रतिनिधिहरूले यस हृदयस्पर्शी प्रस्तावना स्वीकारे। उक्त प्रस्तावना यसप्रकार छ।
प्रस्तावना
१३, १४. यहोवाका साक्षीहरू विश्व परिस्थितिप्रति कस्तो व्यवहारिक दृष्टिकोण राख्छन्?
१३ “ ‘परमेश्वरले चाहनुहुने जीवनशैली’ अधिवेशनमा भेला भएका हामी यहोवाका साक्षीहरू, परमेश्वरले भन्नुभएअनुसार जीवन बिताउनु नै सर्वोत्तम तरिका हो भन्ने कुरामा पूर्ण हृदयले सहमत छौं। तर हामीलाई थाह छ, अधिकांश मानवजातिले त्यस्तो दृष्टिकोण राख्दैनन्। सबैभन्दा उत्तम जीवनशैली कुन हो भनी पत्ता लगाउन मानव समाजले अनगिन्ती धारणा, दर्शन तथा धार्मिक विचारहरू प्रयोग गरेर हेरेका छन्। वर्तमान संसारको अवस्था र मानव इतिहास केलाएर हेर्ने हो भने यर्मिया १०:२३ मा लिपिबद्ध यस ईश्वरीय घोषणाको सत्यता झल्किन्छ: ‘आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।’
१४ “दिन दिनै भइरहेका थुप्रै प्रमाणहरूले उक्त पदको सत्यता झल्काउँछ। प्रायजसो मानव समाजले परमेश्वरले चाहनुहुने जीवनशैलीलाई तिरस्कार गर्छ। मानिसहरू आफूलाई जे ठीक लाग्छ त्यही गर्छन्। त्यसको परिणाम दुःखदायी भएको छ—टुक्रिएको परिवार, कुनै डोऱ्याइ नपाएका बच्चाहरू; खोक्रोपन र निराशा दिने भौतिकवादको भागदौड; थुप्रैको ज्यान लिने निरर्थक हत्या र हिंसा; धेरै मानिसहरूको ज्यान लिने जातीय तनाउ र युद्ध; यौनजन्य रोगहरू चर्काउने व्याप्त अनैतिकता। सुखशान्ति र सुरक्षाको खोजमा बाधा पुऱ्याउने थुप्रै जटिल समस्याहरूमध्ये यी केही उदाहरण मात्र हुन्।
१५, १६. परमेश्वरले चाहनुहुने जीवनशैलीबारे प्रस्तावनामा कस्तो कटिबद्धता व्यक्त गरिएको थियो?
१५ “मानवजातिको दुःखद अवस्था र ‘सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ’ अर्थात् आर-मागेडोन (प्रकाश १६:१४, १६) नजिक भएको हुँदा हामी यहोवाका साक्षीहरू यी कुराहरूमा कटिबद्ध छौं:
१६ “पहिलो: हामी आफूलाई यहोवा परमेश्वरको पक्षमा खडा भएको ठान्छौं, बिना कुनै सर्त आफूलाई समर्पित गरेका छौं र यहोवाले आफ्नो पुत्र येशू ख्रीष्ट मार्फत प्रबन्ध गर्नुभएको छुडौतीको बलिदानमा अटल विश्वास राख्नेछौं। उहाँको साक्षीको हैसियतमा उहाँले चाहनुहुने जीवनशैलीअनुसार हिंड्न दृढ निश्चित छौं र येशू ख्रीष्टको शासनअन्तर्गत उहाँको सार्वभौमिकताको अधीनमा बस्नेछौं।
१७, १८. यहोवाका साक्षीहरूले नैतिक स्तर तथा मसीही भ्रातृत्वको सन्दर्भमा कस्तो अडान कायमै राख्नेछन्?
१७ “दोस्रो: हामी बाइबलको उच्च नैतिक तथा आध्यात्मिक स्तरलाई पालन गर्न छोड्नेछैनौं। हामी संसारका मानिसहरूजस्तो अधर्ममा नचल्न कटिबद्ध छौं। (एफिसी ४:१७-१९) यहोवाको सामु स्वच्छ र संसारबाट निष्कलंक रहन हामी कटिबद्ध छौं।—याकूब १:२७.
१८ “तेस्रो: धर्मशास्त्रअनुरूपको हाम्रो अन्तरराष्ट्रिय मसीही भ्रातृत्वलाई कायमै राख्नेछौं। राष्ट्रहरूबीचको विवादमा मसीही तटस्थता कायम राख्नेछौं, अनि जातीय, राष्ट्रिय वा जनजातीय घृणा वा विभाजनमा मुछिनेछैनौं।
१९, २०. (क) मसीही आमाबाबुहरूले के गर्नेछन्? (ख) सबै साँचो मसीहीहरूले आफूलाई ख्रीष्टका चेलाहरू हुन् भनी कसरी चिनाइरहनेछन्?
१९ “चौथो: हामी आमाबाबुले आफ्ना छोराछोरीहरूलाई परमेश्वरले चाहनुहुने जीवनशैली सिकाउनेछौं। हामीले मसीही जीवनको उदाहरण बसाल्नेछौं। यसअन्तर्गत नियमित तवरमा बाइबल पढाइ, पारिवारिक अध्ययन गर्नेछौं अनि मसीही मण्डली तथा क्षेत्र सेवकाईमा तनमनले भाग लिनेछौं।
२० “पाँचौं: हाम्रो सृष्टिकर्ताले देखाउनुभएको ईश्वरीय गुणहरू खेती गर्ने प्रयास गर्नेछौं अनि येशूले जस्तै उहाँको व्यक्तित्व र तौर-तरिका अनुकरण गर्ने प्रयत्न गर्नेछौं। (एफिसी ५:१) हाम्रो सबै काम प्रेमपूर्ण ढंगमा गरेर आफूलाई येशूका चेलाहरू हौं भनी चिनाइरहनेछौं।—यूहन्ना १३:३५.
२१-२३. यहोवाका साक्षीहरूले के गरिरहनेछन् र तिनीहरू कुन कुरामा पूरा विश्वस्त छन्?
२१ “छैटौं: परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न, चेला बनाउन, परमेश्वरले चाहनुहुने जीवनशैलीबारे तिनीहरूलाई सिकाउन र मण्डलीका सभाहरूमा थप प्रशिक्षण प्राप्त गर्ने प्रोत्साहन दिन हामी कहिल्यै पछि हट्नेछैनौं।—मत्ती २४:१४; २८:१९, २०; हिब्रू १०:२४, २५.
२२ “सातौं: व्यक्तिविशेष र धार्मिक संगठनको हैसियतमा हामी आफ्नो जीवनमा परमेश्वरको उद्देश्यलाई प्रथम स्थान दिनेछौं। उहाँको वचन, बाइबललाई मार्ग निर्देशनको रूपमा चलाउनेछौं, हामी दायाँ वा बायाँ अलमलिने छैनौं। यसप्रकार परमेश्वरले चाहनुहुने जीवनशैली सर्वश्रेष्ठ हो भनेर पुष्टि दिनेछौं। हामी अहिले अनि सधैंभरि दृढ तथा वफादार भएर परमेश्वरले चाहनुहुने जीवनशैलीअनुसार हिंड्न कटिबद्ध छौं!
२३ “हामी यो प्रस्तावना गर्छौं किनभने यहोवाको इच्छा गर्ने व्यक्ति सधैंभरि रहिरहनेछ भन्ने उहाँको मायालु प्रबन्धमा पूर्ण भरोसा राख्छौं। हामी यो प्रस्तावना गर्छौं किनभने धर्मशास्त्रीय सिद्धान्त, सल्लाह तथा निर्देशनअनुसार जीवन बिताउनु सबैभन्दा सर्वोत्तम तरिका हो भनेर हामीसित पक्का विश्वास छ र यसले भविष्यको लागि उत्तम आधार तयार गर्छ ताकि हामीले साँच्चैको जीवनलाई बलियो गरी पक्री राख्न सक्नेछौं। (१ तिमोथी ६:१९; २ तिमोथी ४:७ख, ८) सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी यो प्रस्तावना गछौं किनभने हामी सम्पूर्ण हृदय, तनमन अनि शक्तिले यहोवा परमेश्वरलाई प्रेम गर्छौं!
२४, २५. प्रस्तावित प्रस्तावनाप्रति कस्तो प्रतिक्रिया देखाइयो र यहोवाको मार्गमा हिंड्नेहरूको कटिबद्धता के छ?
२४ “यस अधिवेशनमा उपस्थित भएका जस जसले यो प्रस्तावनालाई स्वीकार्नुहुन्छ, कृपया ‘हो’ भन्नुहोस्!”
२५ संसारभरिका सयौं सभागृह तथा रंगशालाहरूमा उपस्थित सबैले ठूलो स्वरले “हो!” भनी गुञ्जायमान गरे। निस्सन्देह, यहोवाका साक्षीहरू यहोवाको मार्गमा हिंड्न छोड्नेछैनन्। यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर उहाँमाथि तिनीहरूको पूरा भरोसा र विश्वास छ। जस्तोसुकै अवस्था किन आइ नपरोस्, तिनीहरू उहाँप्रति वफादार रहन्छन्। अनि तिनीहरू उहाँको इच्छा गर्न कटिबद्ध छन्।
“परमेश्वर हामीतर्फ हुनुहुन्छ”
२६. यहोवाको मार्गमा हिंड्नेहरूको कस्तो आनन्दमय अवस्था छ?
२६ यहोवाका साक्षीहरू भजनरचयिताको यो आग्रहलाई सम्झन्छन्: “परमप्रभुको बाटो हेर्, उहाँकै मार्गमा हिंड्, र उहाँले तँलाई देश अधिकार गर्न बढ़ाउनुहुनेछ।” (भजन ३७:३४) तिनीहरू पावलको यस प्रोत्साहनदायी शब्द बिर्संदैनन्: “अब हामीले यी कुरालाई के भनौं? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबका निम्ति उहाँलाई सुम्पिदिनुभयो। उहाँले हामीलाई सबै थोक पनि उहाँको साथमा सित्तैंमा कसरी दिनुहुनेछैन र?” (रोमी ८:३१, ३२) हो, हामी यहोवाको मार्गमा हिंडिरह्यौं भने उहाँले “हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न” दिनुहुनेछ। (१ तिमोथी ६:१७) अहिले हामी जुन अवस्थामा छौं अर्थात् हाम्रा प्रिय भाइबहिनीहरूसँगसँगै यहोवाको मार्गमा हिंड्न पाउनुभन्दा राम्रो सुअवसर अरू के होला र। यहोवा हाम्रो पक्षमा हुनुभएको हुँदा त्यही अवस्थामा अन्तसम्म रहिरहन कटिबद्ध होऔं अनि उहाँको तोकिएको समयमा उहाँका सबै प्रतिज्ञाहरू पूरा भएको देख्नैछौं भनी निर्धक्क हुनसक्छौं।—तीतस १:२.
[पादटिप्पणी]
a यहाँ “लीला गर्न उठे” भनी अनुवाद गरिएको युनानी पदले गैरमसीही उत्सवहरूमा हुने नाचलाई संकेत गर्छ भनी एक जना टिप्पणीकार बताउँछन्। तिनी अझ यसो पनि भन्छन्: “यी थुप्रै नाचहरू कामोत्तेजना जगाउने खालका थिए।”
के तपाईंलाई सम्झना छ?
◻ यहोवाको मार्गमा हिंड्न मसीहीले के गर्नुपर्छ?
◻ हामीले किन यहोवामा भरोसा र उहाँप्रति वफादारी खेती गर्नुपर्छ?
◻ यहोवाको मार्गमा हिंड्न हामीलाई कस्तो मदत उपलब्ध छ?
◻ “परमेश्वरले चाहनुहुने जीवनशैली” अधिवेशनमा पारित प्रस्तावनाका केही बुँदाहरू प्रकाश पार्नुहोस्।
[पृष्ठ १८-मा भएका चित्रहरू]
“परमेश्वरले चाहनुहुने जीवनशैली” जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूमा एउटा महत्त्वपूर्ण प्रस्तावना पारित गरियो