अध्याय ३०
“प्रेमको बाटोमा हिँडिरहो”
१-३. प्रेम देखाउने सन्दर्भमा यहोवाको अनुकरण गर्दा नतिजा कस्तो हुन्छ?
“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) येसुले भन्नुभएको यस कुराले एउटा महत्त्वपूर्ण सत्य प्रकट गर्छ। त्यो हो, निःस्वार्थ प्रेमले आशिष् ल्याउँछ। हुनत कसैबाट माया पाउँदा हामीलाई आनन्द लाग्छ तर अरूलाई माया देखाउँदा वा दिँदा झनै आनन्दित हुन्छौँ।
२ यो कुरा स्वर्गमा बस्नुहुने हाम्रो बुबालाई राम्ररी थाह छ। यस भागका अघिल्ला अध्यायहरूमा सिकेझैँ प्रेम देखाउने सन्दर्भमा यहोवाले सर्वोत्कृष्ट उदाहरण बसाल्नुभएको छ। कसैले पनि उहाँले जस्तो सर्वोत्कृष्ट तरिकामा वा यति लामो समयसम्म प्रेम देखाउन सकेको छैन। त्यसैले उहाँलाई “आनन्दित परमेश्वर” भनिनु कुनै छक्कलाग्दो कुरा होइन।—१ तिमोथि १:११.
३ हाम्रो मायालु परमेश्वर हामी उहाँजस्तै बन्न कोसिस गरेको चाहनुहुन्छ, विशेषगरि प्रेम देखाउने सन्दर्भमा। एफिसी ५:१, २ मा यस्तो आग्रह गरिएको छ: “परमेश्वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू होओ अनि . . . प्रेमको बाटोमा हिँडिरहो।” हामीले प्रेम देखाउने सन्दर्भमा यहोवाको अनुकरण गऱ्यौँ भने दिँदा पाइने अपार आनन्द अनुभव गर्न सक्छौँ। साथै उहाँलाई खुसी तुल्याइरहेको छु भनेर महसुस गर्दा सन्तुष्ट पनि हुन सक्छौँ किनभने उहाँको वचनले “आपसमा प्रेम” गर्न प्रोत्साहन दिन्छ। (रोमी १३:८) तर ‘प्रेमको बाटोमा हिँडिरहनुपर्ने’ अरू पनि थुप्रै कारण छन्।
प्रेम किन महत्त्वपूर्ण छ?
४, ५. हामीले भाइबहिनीलाई आत्मत्यागी प्रेम देखाउनु किन महत्त्वपूर्ण छ?
४ हामीले ख्रिष्टियन भाइबहिनीलाई प्रेम देखाउनु किन महत्त्वपूर्ण छ? सरल शब्दमा भन्नुपर्दा साँचो ख्रिष्टियनको चिनारी नै प्रेम हो। प्रेमविना हामी भाइबहिनीसित घनिष्ठ सम्बन्ध गाँस्न सक्दैनौँ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, हामीमा प्रेम छैन भने हामी यहोवाको नजरमा केही पनि होइनौँ। बाइबलले यी सत्यहरूलाई कसरी जोड दिएको छ, विचार गरौँ।
५ पृथ्वीमा आफ्नो जीवनको अन्तिम रात येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।” (युहन्ना १३:३४, ३५) येसुले “मैले तिमीहरूलाई प्रेम गरेजस्तै” भन्नुहुँदा उहाँले हामीलाई देखाउनुभएको जस्तै प्रेम अरूलाई देखाउन आज्ञा दिँदै हुनुहुन्थ्यो। यस किताबको अध्याय २९ मा सिकेझैँ उहाँले आफ्नो भन्दा अरूको आवश्यकता र चाहनालाई प्राथमिकता दिनुभएर आत्मत्यागी प्रेम देखाउने सन्दर्भमा हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभयो। हामीले पनि त्यस्तै निःस्वार्थ प्रेम देखाउनुपर्छ र हाम्रो प्रेम मण्डलीबाहिरका मानिसहरूले पनि स्पष्टै देख्नुपर्छ। हो, आत्मत्यागी भ्रातृप्रेम नै ख्रिष्टका साँचो अनुयायीहरूको चिनारी हो।
६, ७. (क) प्रेम देखाउनु एकदमै महत्त्वपूर्ण छ भनेर बाइबलले कसरी जोड दिन्छ? (ख) पावलले १ कोरिन्थी १३:४-८ मा कुन कुरामा जोड दिए?
६ हामीमा प्रेमको कमी छ भने के हुन्छ? प्रेषित पावलले यसो भने: “मसित प्रेमचाहिँ छैन भने म ट्वाङट्वाङ बज्ने घण्टा वा झ्याइँझ्याइँ गर्ने झ्याली मात्र हुन्छु।” (१ कोरिन्थी १३:१) ट्वाङट्वाङ बज्ने घण्टा र झ्याइँझ्याइँ गर्ने झ्यालीको आवाज कानै खाने हुन्छ। त्यस्तो आवाज सुमधुर नहुने भएकोले हामीलाई सुन्न पनि मन लाग्दैन। कत्ति सुहाउँदो उदाहरण! प्रेम नभएको मानिस पनि यस्तै चर्को आवाज निकाल्ने बाजाजस्तै हो। के यस्तो मानिसले अरूसित घनिष्ठ सम्बन्ध कायम राख्न सक्छ र? पावलले यसो भने: “मसित . . . डाँडाहरू सार्न सक्नेसम्मको विश्वास छ तर प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।” (१ कोरिन्थी १३:२) सोच्नुहोस् त, कुनै मानिसले ठूलठूलो काम गरे तापनि उसमा प्रेम छैन भने यस पदको फुटनोटले बताएअनुसार ऊ “बेकारको” हुन्छ। हो, बाइबलले प्रेम देखाउनु एकदमै महत्त्वपूर्ण छ भनेर जोड दिन्छ।
७ तर हामी अरूसित व्यवहार गर्दा यो गुण कसरी देखाउन सक्छौँ? यसको जवाफ पाउन १ कोरिन्थी १३:४-८ मा पावलले बताएको कुरा विचार गरौँ। तिनले यी पदहरूमा हामीप्रतिको परमेश्वरको प्रेम वा परमेश्वरप्रतिको हाम्रो प्रेमबारे बताएनन् बरु हामी आपसमा कसरी प्रेम देखाउन सक्छौँ भन्ने कुरामा जोड दिए। तिनले प्रेम भनेको के हो र के होइन भनेर वर्णन गरे।
प्रेम के हो?
८. अरूसित व्यवहार गर्दा हामीलाई किन धीरज चाहिन्छ?
८ “प्रेम धीरजी . . . हुन्छ।” प्रेम देखाउनु भनेको धीरजी भई एकअर्कालाई सहिरहनु हो। (कलस्सी ३:१३) के हामीलाई यस्तो धीरज चाहिन्छ? अवश्य चाहिन्छ। हामी सबै जना त्रुटिपूर्ण छौँ। त्यसैले ‘सँगै सुत्दा गोडा लाग्छ’ भनेझैँ भाइबहिनीसित काँधमा काँध मिलाएर सेवा गर्दा बेलाबेलामा एकअर्कालाई रिस उठाउने काम गर्न पुग्छौँ। तर हामी धीरजी र सहनशील छौँ भने मण्डलीको शान्तिमा खलल नपुऱ्याईकनै सानोतिनो मनमुटाव र समस्या सुल्झाउन सक्नेछौँ।
९. हामी कुन-कुन तरिकामा अरूलाई दया देखाउन सक्छौँ?
९ “प्रेम . . . दयालु हुन्छ।” हामीले एकअर्कालाई मदत गर्दा र विचार पुऱ्याएर बोल्दा दयालु भएको देखाइरहेका हुन्छौँ। प्रेमले सबैलाई, अझ विशेषगरि खाँचोमा परेकाहरूलाई दया देखाउने तरिकाहरू खोज्न उत्प्रेरित गर्छ। उदाहरणको लागि, कुनै वृद्ध दाइ वा दिदीले एक्लो महसुस गरिरहेका हुन सक्छन् र तिनलाई प्रोत्साहन चाहिएको हुन सक्छ। कुनै एक्ली आमा वा बेग्लै आस्था भएको परिवारमा बस्ने बहिनीलाई केही मदत चाहिएको हुन सक्छ। बिरामी वा समस्यामा परेका कुनै भाइ वा बहिनीलाई साँचो मित्रको दयालु बोलीको आवश्यकता पर्न सक्छ। (हितोपदेश १२:२५; १७:१७) हामी यस्ता तरिकाहरूमा दया देखाउन अग्रसर भयौँ भने निष्कपट प्रेम देखाइरहेका हुन्छौँ।—२ कोरिन्थी ८:८.
१०. हामीलाई गाह्रो लागे तापनि सत्य बोल्न प्रेमले कसरी मदत गर्छ?
१० “प्रेम . . . सत्यमा खुसी हुन्छ।” अर्को अनुवाद यसो भन्छ: “प्रेमले . . . आनन्दित भई सत्यको पक्ष लिन्छ।” हो, प्रेमले हामीलाई सत्यको पक्ष लिन अनि ‘एकअर्कासित साँचो बोल्न’ उत्प्रेरित गर्छ। (जकरिया ८:१६) उदाहरणको लागि, हामीले माया गर्ने कुनै व्यक्तिले गम्भीर पाप गर्दा हामी तिनले गरेको गल्ती लुकाउँदैनौँ, त्यसलाई समर्थन गर्दैनौँ वा त्यसबारे झूट बोल्दैनौँ। बरु यहोवा र तिनीप्रतिको प्रेमले गर्दा हामी त्यस्तो अवस्थामा परमेश्वरको स्तरअनुसार चल्छौँ। पक्कै पनि त्यस्तो परिस्थितिमा जे सही हो, त्यो गर्न हामीलाई गाह्रो लाग्न सक्छ। तर हामी तिनले परमेश्वरबाट मायालु अनुशासन पाएको र त्यसलाई स्विकारेको चाहन्छौँ किनकि त्यसो गर्दा तिनकै भलाइ हुन्छ। (हितोपदेश ३:११, १२) हामी ख्रिष्टियनहरू अरूलाई प्रेम गर्ने भएकोले “सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.
११. प्रेमले ‘सबै कुरा खप्ने’ भएकोले हामीले भाइबहिनीको गल्तीलाई के गर्नुपर्छ?
११ “प्रेमले . . . सबै कुरा खप्छ।” यस अभिव्यक्तिको शाब्दिक अर्थ हुन्छ: “यसले सबै कुरा ढाक्छ।” (किङडम इन्टरलिनियर) पहिलो पत्रुस ४:८ यसो भन्छ: “प्रेमले असङ्ख्य पापहरू ढाक्छ।” हो, प्रेमको बाटोमा हिँड्ने ख्रिष्टियनले भाइबहिनीको गल्ती वा कमीकमजोरीबारे सबैलाई बताउँदै हिँड्दैनन्। प्रायजसो अवस्थामा भाइबहिनीहरूको गल्ती त्यत्ति ठूलो हुँदैन अनि त्यसलाई प्रेमले सजिलै ढाक्न सकिन्छ।—हितोपदेश १०:१२; १७:९.
१२. प्रेषित पावलले फिलेमोनलाई भरोसा गरेको कसरी देखाए? हामी पावलको उदाहरणबाट के सिक्न सक्छौँ?
१२ “यसले . . . सबै कुरा पत्यार गर्छ।” एउटा बाइबल अनुवादअनुसार प्रेम “सधैँ असल कुरा सोच्न तयार हुन्छ।” हामी भाइबहिनीलाई शङ्कालु नजरले हेर्दैनौँ अनि तिनीहरूको मनसायमाथि प्रश्न उठाउँदैनौँ। प्रेमले हामीलाई भाइबहिनीबारे “सधैँ असल कुरा सोच्न” र तिनीहरूलाई भरोसा गर्न मदत गर्छ।a उदाहरणको लागि, पावलले फिलेमोनलाई लेखेको पत्रलाई लिनुहोस्। ओनेसिमस फिलेमोनका दास थिए तर तिनी आफ्नो मालिकलाई छोडेर भागेका थिए। पछि तिनी ख्रिष्टियन बने। त्यसैले पावलले फिलेमोनलाई पत्र लेखेर आफ्नो दासलाई भाइको रूपमा स्विकार्न आग्रह गरे। तिनले फिलेमोनलाई दबाब दिनुको साटो प्रेमले उत्प्रेरित भएर त्यसो गर्न भने। फिलेमोनले जे सही छ, त्यही गर्नेछन् भन्ने कुरामा ढुक्क हुँदै पावलले यस्तो लेखे: “तिमीले मेरो कुरा मान्नेछौ भन्ने कुरामा म विश्वस्त छु, त्यसैले म लेख्दै छु। अनि तिमीले मैले भनेको भन्दा पनि बढ्ता गर्नेछौ भनेर मलाई थाह छ।” (फिलेमोन २१) प्रेमले हामीलाई भाइबहिनीमाथि यस्तै भरोसा भएको कुरा व्यक्त गर्न उत्प्रेरित गर्छ अनि यसले सधैँ राम्रो नतिजा ल्याउँछ।
१३. हामी भाइबहिनीको सधैँ भलो भएको आशा गर्छौँ भनेर कसरी देखाउन सक्छौँ?
१३ “यसले . . . सबै कुराको आशा गर्छ।” प्रेम भरोसायोग्य हुनुको साथै आशावादी पनि हुन्छ। प्रेमले हामीलाई भाइबहिनीको सधैँ भलो भएको आशा गर्न उत्प्रेरित गर्छ। उदाहरणको लागि, कुनै भाइले “अनजानमा कुनै गलत कदम” चाले र तिनलाई कसैले सच्याए भने तिनले त्यो स्विकार्नेछन् भनेर हामी आशा गर्छौँ। (गलाती ६:१) साथै हामी विश्वासमा कमजोर भएकाहरू पछि फेरि बलिया हुनेछन् भनेर आशा गर्छौँ अनि धैर्य गर्दै तिनीहरूलाई मदत गर्छौँ। (रोमी १५:१; १ थिस्सलोनिकी ५:१४) हामीले माया गरेको कोही सत्यबाट तर्किए भने येसुले दिनुभएको उदाहरणको हराएको छोराको जस्तै कुनै दिन तिनको होस खुल्नेछ र तिनी यहोवाकहाँ फर्कनेछन् भनेर आशा गरिरहन्छौँ।—लुका १५:१७, १८.
१४. मण्डलीभित्र कसरी हाम्रो सहनशीलताको जाँच हुन सक्छ? प्रेमले हामीलाई के गर्न मदत गर्छ?
१४ “यसले . . . सबै कुरा सहन्छ।” सहनशीलताले हामीलाई निराशा र गाह्रो परिस्थितिको सामना गर्नुपर्दा स्थिर रहन मदत गर्छ। हाम्रो सहनशीलताको जाँच मण्डलीबाहिरबाट आउने समस्याहरूले गर्दा मात्र हुन्छ भन्ने त होइन। बरु कहिलेकाहीँ मण्डलीभित्रबाट पनि परीक्षा आउन सक्छ। त्रुटिपूर्ण भएकोले भाइबहिनीले कहिलेकाहीँ हाम्रो चित्त दुखाउन सक्छन्। कुनै भाइ वा बहिनीले सोचविचार नगरी बोलेर हाम्रो भावनामा ठेस पुऱ्याउन सक्छन्। (हितोपदेश १२:१८) साथै मण्डलीको कुनै मामिला हामीले सोचेजस्तो तरिकामा समाधान नगरिएको हुन सक्छ। मण्डलीमा सबैको आदर कमाएका भाइको कुनै व्यवहार देखेर हामीलाई यस्तो लाग्न सक्छ: ‘ख्रिष्टियन भएर पनि यस्तो गर्न सुहाउँछ?’ यस्ता अवस्थाहरूको सामना गर्नुपर्दा के हामी मण्डलीदेखि टाढिन्छौँ अनि यहोवाको सेवा गर्न छोड्छौँ? हामीमा प्रेम छ भने कदापि त्यसो गर्दैनौँ। प्रेमले हामीलाई भाइबहिनीको कमीकमजोरीमा मात्र ध्यान दिएर तिनीहरूमा भएका असल कुराहरूको बेवास्ता गर्ने हदसम्म नपुग्न वा पूरै मण्डलीमा राम्रो कुरा केही पनि छैन भन्ने सोचाइ नराख्न मदत गर्छ। साथै हामीमा प्रेम छ भने त्रुटिपूर्ण मानिसले जे भने पनि वा गरे पनि परमेश्वरप्रति वफादार रहन्छौँ र मण्डलीलाई साथ दिइरहन्छौँ।—भजन ११९:१६५.
प्रेम के होइन?
१५. डाह के हो? प्रेमले कसरी यस दुर्गुणदेखि अलग रहन मदत गर्छ?
१५ “प्रेमले डाह गर्दैन।” डाह भनेको अरूको सरसम्पत्ति, क्षमता अनि तिनीहरूले पाएको आशिष्को ईर्ष्या गर्न उक्साउने दुर्गुण हो। डाह गर्ने मानिस स्वार्थी हुन्छ अनि यस विनाशकारी भावनालाई नियन्त्रणमा राखिएन भने यसले मण्डलीको शान्ति भङ्ग गर्छ। हामीलाई ईर्ष्यालु हुनदेखि कुन कुराले जोगाउँछ? (याकुब ४:५) एक शब्दमा भन्नुपर्दा, प्रेमले। यस अमूल्य गुणले हामीलाई आफूले हासिल गर्न नसकेको तर अरूले हासिल गरेको उपलब्धिमा तिनीहरूसँगै खुसी हुन मदत गर्छ। (रोमी १२:१५) हामीमा प्रेम छ भने अरूले आफ्नो दक्षता वा उपलब्धिको लागि प्रशंसा पाउँदा हामी आफ्नो अपमान भएको महसुस गर्दैनौँ।
१६. हामी भाइबहिनीलाई साँच्चै प्रेम गर्छौँ भने यहोवाको सेवामा हासिल गरेको सफलताको किन फुर्ती लगाउँदैनौँ?
१६ “यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन।” प्रेमले हामीलाई आफ्नो प्रतिभा वा उपलब्धिबारे फुइँ लगाउनदेखि जोगाउँछ। हामी भाइबहिनीलाई साँच्चै प्रेम गर्छौँ भने हामीले साक्षीकार्यमा हासिल गरेको सफलता वा मण्डलीमा पाएका सुअवसरहरूको फुर्ती लगाउँदैनौँ। किनकि हामीले यस्ता कुराहरूको फुर्ती लगाउँदा अरू निराश हुन सक्छन् अनि तिनीहरूले आफूलाई बेकामको ठान्न सक्छन्। हामीमा प्रेम छ भने यहोवाले हामीलाई सेवाको काममा दिनुभएको सुअवसरको फुर्ती लगाउनेछैनौँ। (१ कोरिन्थी ३:५-९) साथै प्रेम “घमन्डले फुल्दैन” अथवा अर्को एउटा अनुवादअनुसार यसले “आफ्नो प्रशंसा गर्दैन।” (ट्रिनिटेरियन बाइबल सोसाइटी) प्रेमले हामीलाई अरूभन्दा आफूलाई श्रेष्ठ ठान्नदेखि रोक्छ।—रोमी १२:३.
१७. प्रेमले कसरी विचारशील हुन उत्प्रेरित गर्छ? हामीले कस्तो आचरण देखाउनु हुँदैन?
१७ “यसले अभद्र व्यवहार गर्दैन।” अभद्र व्यवहार गर्ने मानिसको चालचलन अनुचित वा आपत्तिजनक हुन्छ। यसमा प्रेम हुँदैन अनि यसले अरूको भावना र भलाइको पटक्कै वास्ता गर्दैन। अर्कोतर्फ प्रेमले हामीलाई अरूप्रति विचारशील हुन उत्प्रेरित गर्छ। यसले असल आनीबानी र परमेश्वरलाई मन पर्ने आचरण देखाउन अनि भाइबहिनीको आदर गर्न जुरमुऱ्याउँछ। त्यसैले प्रेमले हामीलाई ख्रिष्टियन भाइबहिनीलाई ठेस वा चोट पुऱ्याउने “लाजमर्दो आचरण” देखाउनदेखि रोक्छ।—एफिसी ५:३, ४.
१८. मायालु व्यक्तिले सबै कामकुरा तिनकै तरिकामा हुनुपर्छ भन्ने धारणा किन राख्दैनन्?
१८ “यसले . . . आफ्नै फाइदा खोज्दैन।” नयाँ संशोधित संस्करण बाइबल यसो भन्छ: “प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन।” मायालु व्यक्तिले आफ्नो विचार सधैँ सही हुन्छ र सबै कामकुरा आफ्नै तरिकामा हुनुपर्छ भन्ने धारणा राख्दैनन्। तिनी अरूलाई आफ्नो इसारामा नचाउन खोज्दैनन् अनि फरक विचारधारा भएका व्यक्तिलाई जसरी भए पनि आफ्नै कुरामा सहमत गराउन खोज्दैनन्। अर्कोतर्फ जिद्दी गर्ने मानिस वास्तवमा घमन्डी हुन्छ। बाइबल यसो भन्छ: “नाशको अघि घमन्ड . . . आउँछ।” (हितोपदेश १६:१८) यदि हामी भाइबहिनीलाई साँच्चै प्रेम गर्छौँ भने तिनीहरूको विचारको कदर गर्छौँ अनि सम्भव भएसम्म तिनीहरूले भनेअनुसार गर्न इच्छुक हुन्छौँ। पावलले यसो भने: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्।”—१ कोरिन्थी १०:२४.
१९. अरूले हाम्रो चित्त दुखाउँदा प्रेमले के गर्न उत्प्रेरित गर्छ?
१९ “यो आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन।” हामीमा प्रेम छ भने अरूको बोली वा व्यवहारले गर्दा हामी तुरुन्तै आवेशमा आउँदैनौँ। अरूले हाम्रो चित्त दुखाउँदा हामीलाई रिस उठ्नु स्वाभाविकै हो। तर रिसाउनु जायजै भए तापनि प्रेमले हामीलाई मनमा रिस पाल्नदेखि जोगाउँछ। (एफिसी ४:२६, २७) कसैको बोली वा व्यवहारले गर्दा हाम्रो चित्त दुखेको छ भने हामी त्यसको हिसाब राख्दैनौँ। बरु प्रेमले हामीलाई मायालु परमेश्वरको अनुकरण गर्न उत्प्रेरित गर्छ। हामीले अध्याय २६ मा सिकेझैँ उचित कारण छ भने यहोवा हाम्रो गल्ती क्षमा गरिदिनुहुन्छ। उहाँले एक चोटि क्षमा दिनुभएपछि त्यो गल्ती फेरि कहिल्यै सम्झनुहुन्न र भविष्यमा त्यस गल्तीको सजाय दिनुहुन्न। यो कुरा थाह पाउँदा के हामी उहाँप्रति कृतज्ञ हुनु पर्दैन र?
२०. कुनै भाइ वा बहिनी पापको पासोमा पर्छन् अनि समस्यामा फस्छन् भने हामी कस्तो प्रतिक्रिया देखाउँछौँ?
२० “यो कुकर्ममा खुसी हुँदैन।” नयाँ अङ्ग्रेजी बाइबल यसो भन्छ: “प्रेम . . . अरूले पाप गर्दा रमाउँदैन।” अर्को एउटा बाइबलमा यसरी अनुवाद गरिएको छ: “अरूले गल्ती गर्दा प्रेम कहिल्यै खुसी हुँदैन।” प्रेम कुकर्ममा प्रसन्न हुँदैन। त्यसैले हामी कुनै किसिमको अनैतिकताप्रति आँखा चिम्लँदैनौँ। यदि कुनै भाइ वा बहिनी पापको पासोमा पर्छन् अनि समस्यामा फस्छन् भने हामी कस्तो प्रतिक्रिया देखाउँछौँ? हामीसित प्रेम छ भने हामी रमाउँदैनौँ अनि ‘ठिक्क पऱ्यो! उसलाई त्यस्तै हुनुपर्थ्यो’ पनि भन्दैनौँ। (हितोपदेश १७:५) बरु गल्ती गरेको र आध्यात्मिक रूपमा खस्किसकेको व्यक्तिले फेरि आध्यात्मिक रूपमा बलियो हुन कदम चाल्दा हामी खुसी हुन्छौँ।
“सबैभन्दा उत्तम मार्ग”
२१-२३. (क) पावलले “प्रेम कहिल्यै अन्त हुँदैन” भन्दा के बताउन खोज्दै थिए? (ख) हामी अन्तिम अध्यायमा के छलफल गर्नेछौँ?
२१ “प्रेम कहिल्यै अन्त हुँदैन।” यहाँ पावलले के बताउन खोज्दै थिए? यस पदको प्रसङ्गले देखाएअनुसार तिनले सुरु-सुरुका ख्रिष्टियनहरूले पाएको पवित्र शक्तिका वरदानहरूबारे बताइरहेका थिए। ती वरदानहरूले भर्खरै स्थापना भएको मण्डलीमाथि परमेश्वरको अनुग्रह छ भन्ने कुरा देखायो। तर निको पार्ने, भविष्यवाणी गर्ने वा विभिन्न भाषामा बोल्ने चमत्कारपूर्ण वरदान सबै ख्रिष्टियनले पाएका थिएनन्। तैपनि त्यसले खासै फरक पार्दैन थियो किनकि त्यस्ता वरदानहरू अन्ततः लोप भएर जाने थिए। तर एउटा कुरा भने सधैँभरि रहने थियो, जुन हरेक ख्रिष्टियनले विकास गर्न सक्थे। त्यो अरू कुनै पनि वरदानभन्दा सर्वोत्कृष्ट थियो र सधैँभरि रहिरहने थियो। वास्तवमा पावलले त्यसलाई “सबैभन्दा उत्तम मार्ग” भने। (१ कोरिन्थी १२:३१) त्यो “सबैभन्दा उत्तम मार्ग” के थियो? त्यो प्रेमको मार्ग थियो।
२२ हो, पावलले वर्णन गरेको ख्रिष्टियन प्रेम “कहिल्यै अन्त हुँदैन।” येसुका साँचो अनुयायीहरूको चिनारी अहिले पनि आत्मत्यागी भ्रातृप्रेम नै हो। के हामी संसारभरिका मण्डलीहरूमा यहोवाका उपासकहरूमाझ यस्तो प्रेम देख्दैनौँ र? यस्तो प्रेम सधैँभरि रहन्छ किनकि यहोवाले आफ्ना वफादार सेवकहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। (भजन ३७:९-११, २९) त्यसैले ‘प्रेमको बाटोमा हिँडिरहन’ सक्दो प्रयास गरिरहौँ। यसो गर्दा हामीले दिँदा पाइने आनन्द आफैले अनुभव गर्न सक्नेछौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले नयाँ संसारमा अनन्त जीवन पाएपछि हाम्रा मायालु परमेश्वर यहोवाको अनुकरण गर्दै एकअर्कालाई सदासर्वदा प्रेम गरिरहन सक्नेछौँ।
यहोवाका सेवकहरूको चिनारी तिनीहरूमाझ भएको प्रेम हो
२३ प्रेमबारे चर्चा गरिएको भागको यस अन्तिम अध्यायमा हामीले एकअर्कालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ भनेर छलफल गऱ्यौँ। हामीले यहोवाको प्रेमका साथै उहाँको शक्ति, न्याय र बुद्धिबाट पनि थुप्रै लाभ उठाउन सकेका छौँ। त्यसैले हामी आफैलाई यस्तो प्रश्न सोध्न चाहन्छौँ: ‘म यहोवालाई साँच्चै प्रेम गर्छु भनेर कसरी देखाउन सक्छु?’ यस प्रश्नबारे हामी अन्तिम अध्यायमा छलफल गर्नेछौँ।
a तर त्यसको मतलब प्रेम देखाउनु भनेको कसैमाथि आँखा चिम्लेर विश्वास गर्नु त होइन। बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन् र . . . ठेस पुऱ्याउँछन्। यिनीहरूबाट टाढै बस।”—रोमी १६:१७.