आजको लागि मात्र बाँच्ने वा अनन्त भविष्यको लागि?
“आशाबाट हामीले उद्धार पाएका छौं।”—रोमी ८:२४.
१. एपिक्युरियन शिक्षा के थियो र त्यस्तो दर्शनले केही मसीहीहरूमाथि कस्तो असर पाऱ्यो?
प्रेरित पावलले कोरिन्थका मसीहीहरूलाई यसो लेखे: “तिमीहरूमध्ये कसै कसैले मरेकाहरूको पुनरुत्थान हुँदैन भनी कसरी भन्छौ?” (१ कोरिन्थी १५:१२) स्पष्टतः, युनानी गुरु एपिक्युरसको घातक दर्शनले प्रथम शताब्दीका मसीहीहरूलाई अलि अलि असर गर्न थालिसकेको थियो। त्यसकारण, पावलले एपिक्युरियन शिक्षातर्फ ध्यानाकर्षण गर्दै यसो भने: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।” (१ कोरिन्थी १५:३२) यस दार्शनिकका अनुयायीहरूले मृत्युपछि जीवन सम्भवै छैन भनी विश्वास गर्थे र शरीर केवल शारीरिक सुखविलासको लागि हो भन्ने गर्थे। (प्रेरित १७:१८, ३२) एपिक्युरियन दर्शन आत्मकेन्द्रित, आलोचनात्मक र मुख्यतः पतित थियो।
२. (क) पुनरुत्थानलाई इन्कार गर्नु किन असाध्यै खतरनाक थियो? (ख) पावलले कोरिन्थका मसीहीहरूको विश्वासलाई कसरी बलियो बनाए?
२ पुनरुत्थानलाई इन्कार गर्दा गम्भीर असरहरू हुनसक्थे। पावलले यस्तो तर्क गरे: “तर मरेकाहरूको पुनरुत्थान हुँदैन भनेता! ख्रीष्ट पनि बिउँतनुभएको होइन। औ यदि ख्रीष्ट बिउँतनुभएको होइन, भनेता, हाम्रो प्रचार व्यर्थ हो, र तिमीहरूको विश्वास पनि व्यर्थै भयो! . . . यसै जीवनमा मात्र ख्रीष्टमा हामीले आशा राखेका छौं भने, हामी सबै मानिसहरूभन्दा ज्यादै दयनीय छौं।” (१ कोरिन्थी १५:१३-१९) हो, अनन्त भविष्यको कुनै आशा नहुँदो हो त मसीहीधर्म “व्यर्थको” हुनेथियो। यसको कुनै उद्देश्य हुनेथिएन। त्यसैले, यस्तो गैरमसीहीधर्मबाट प्रभावित कोरिन्थ मण्डली समस्याको पोको हुनु अचम्मको कुरा थिएन। (१ कोरिन्थी १:११; ५:१; ६:१; ११:२०-२२) त्यसकारण, पावलले पुनरुत्थानमाथि तिनीहरूको विश्वास बलियो बनाउन खोजे। जोडदार तर्क, धर्मशास्त्रीय उद्धरण तथा उदाहरणहरू चलाएर तिनले पुनरुत्थानको आशा काल्पनिक नभई पक्कै पूरा हुने यथार्थ हो भनी प्रमाणित गरे। यसैको आधारमा तिनले सँगी मसीहीहरूलाई यस्तो आग्रह गर्न सके: “स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरिन्थी १५:२०-५८.
“जागा रहो”
३, ४. (क) पत्रुसअनुसार आखिरी दिनमा कसै कसैलाई कस्तो खतरनाक मनोवृत्तिले छोप्नेथियो? (ख) हामीले कुन कुरा बारम्बार सम्झिरहनुपर्छ?
३ आज, धेरैले निराशावादी मनोवृत्ति, खाऔं पिऔं भोलि त मरिहाल्छौं भन्ने दृष्टिकोण राख्छन्। (एफिसी २:२) यो कुरा प्रेरित पत्रुसको अगमवाणीअनुरूप छ। तिनले भने, “गिल्ला गर्नेहरू गिल्ला गर्दै, . . . यसो भन्दै आउनेछन्, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्।’ ” (२ पत्रुस ३:३, ४) साँचो उपासकहरूले पनि त्यस्तो दृष्टिकोण राखे भने, तिनीहरू “बेकम्मा र निष्फल” हुनसक्थे। (२ पत्रुस १:८) आनन्दको कुरा, आज परमेश्वरका प्रायजसो जनहरूले त्यस्तो विचारधारा राख्दैनन्।
४ वर्तमान दुष्ट रीतिरिवाजको अन्तबारे उत्सुक हुनु गलत होइन। नबिर्सनुहोस्, येशूका प्रेरित चेलाहरूले पनि यसबारे कत्ति उत्सुकता देखाएका थिए: “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” येशूले तिनीहरूलाई भन्नुभयो, “पिताले जुन जुन समय वा बखत आफ्नो अधिकारभित्र राख्नुभएको छ, सो जान्नखोज्नु तिमीहरूको काम होइन।” (प्रेरित १:६, ७) उहाँले जैतून डाँडामा बताउनुभएको सन्देशको मुख्य आशय उक्त शब्दहरूमा झल्किन्छ: “कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ। . . . मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४२, ४४) हामीले त्यो सल्लाह बारम्बार सम्झिरहनुपर्छ! कसै कसैले यस्तो सोचाइ राख्लान्, ‘यत्तिको सक्रिय किन हुने, आफ्नै तालले कामकुरा गरे भइहाल्छ नि।’ त्यस्तो सोचाइ राख्नु कत्रो महाभूल हुनेछ! “गर्जनका छोराहरू” याकूब र यूहन्नालाई विचार गर्नुहोस् त।—मर्कूस ३:१७.
५, ६. याकूब र यूहन्नाको उदाहरणबाट हामी कस्तो पाठ सिक्नसक्छौं?
५ हामीलाई थाह छ, याकूब असाध्यै जोशिलो प्रेरित थिए। (लूका ९:५१-५५) मसीही मण्डली स्थापना भएपछि तिनले सक्रिय भूमिका निर्वाह गरेको हुनुपर्छ। तर उमेर नपुग्दै हेरोद अग्रिपा प्रथमले याकूबलाई मार्न लगाए। (प्रेरित १२:१-३) यस्तो असामयिक मृत्यु भोग्नु परेको हुँदा के याकूबलाई आफू व्यर्थै जोशिलो भएँ भनेर पछुतो लाग्यो होला? पटक्कै लागेन होला! आफ्नो छोटो आयु पनि यहोवाको सेवामा बिताउन पाएँ भनेर तिनी खुशी थिए। हामीले पनि असामयिक मृत्यु भोग्नु पर्ने हो कि, के थाह! (उपदेशक ९:११; लूका १२:२०, २१ तुलना गर्नुहोस्।) त्यसकारण, निकै जोशिलो र सक्रिय भई यहोवाको सेवा गर्नु बुद्धिमानी हो। त्यसो गरेर हामी यहोवासमक्ष राम्रो नाउँ कमाउनेछौं र अनन्त भविष्यको लागि बाँचिरहेका हुनेछौं।—उपदेशक ७:१.
६ प्रेरित यूहन्नासित सम्बन्धित घटनाबाट पनि हामी पाठ सिक्नसक्छौं। “जागा रहो” भनी येशूले पटक पटक आग्रह गर्नुहुँदा प्रेरित यूहन्ना पनि त्यहाँ थिए। (मत्ती २५:१३; मर्कूस १३:३७; लूका २१:३४-३६) यूहन्नाले त्यो कुरा बिर्सेनन् र निकै उत्साही भएर दशकौंसम्म सेवा गरे। भनौं भने, सबैभन्दा बढी बाँच्ने प्रेरित पनि तिनी नै थिए जस्तो देखिन्छ। असाध्यै बूढो भइसकेपछि विगतमा गरेको विश्वासिलो गतिविधिलाई फर्केर हेर्दा आफूले गल्ती गरेजस्तो, गलत लक्ष्यतिर केन्द्रित भएको वा असन्तुलित जीवन बिताएजस्तो यूहन्नालाई लाग्यो होला त? अहँ, पटक्कै लागेन! तिनी अझै पनि भविष्यको उत्कट प्रतीक्षामा थिए। पुनरुत्थान हुनुभएको येशूले “म चाँड़ै आउँछु” भन्नुहुँदा तुरुन्तै यूहन्नाले जवाफ दिइहाले, “आमिन, आउनुहोस्, हे प्रभु येशू।” (प्रकाश २२:२०) निस्सन्देह, यूहन्ना सुस्त, शान्त ‘सामान्य जीवनको’ लालसा गर्दै वर्तमानका लागि बाँचिरहेका थिएनन्। प्रभु जुनसुकै बेलामा आए तापनि तयार रहन आफ्नो भएभरको शक्ति र बलले सेवा गरिरहन तिनी कटिबद्ध थिए। हामी नि?
अनन्त जीवनमा विश्वास गर्ने आधारहरू
७. (क) अनन्त जीवनको आशा कसरी “सनातनदेखि प्रतिज्ञा” गरिएको थियो? (ख) येशूले अनन्त जीवनको आशालाई कसरी प्रकाश पार्नुभयो?
७ ढुक्क हुनुहोस्, अनन्त जीवनको आशा मान्छेको सपना वा कल्पना होइन। तीतस १:२ ले बताएझैं हाम्रो ईश्वरीय भक्ति “अनन्त जीवनको आशामा, जोकि कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले अघि सनातनदेखि प्रतिज्ञा गर्नुभएको” कुरामा आधारित छ। सबै आज्ञाकारी मानिसहरू सधैंभरि बाँचोस् भन्ने परमेश्वरको सुरुको उद्देश्य थियो। (उत्पत्ति १:२८) आदम र हव्वाको विद्रोह वा कुनै पनि कुराले त्यो उद्देश्य पूरा हुनदेखि रोक्न सक्दैन। उत्पत्ति ३:१५ मा लिपिबद्ध गरिएअनुसार परमेश्वरले तुरुन्तै एउटा “सन्तान” प्रतिज्ञा गर्नुभयो जसले मानवजातिमाथि आइपरेको सबै हानि नोक्सानी हटाउनेछ। त्यो “सन्तान” वा मसीह अर्थात् येशू देखा पर्नुहुँदा उहाँले एउटा आधारभूत शिक्षा दिनुभयो। त्यो शिक्षा, अनन्त जीवनको आशा थियो। (यूहन्ना ३:१६; ६:४७, ५१; १०:२८; १७:३) आफ्नो सिद्ध जीवन मानिसहरूको छुडौतीको लागि दिनुभएर मानिसजातिलाई अनन्त जीवनको आशिष् दिने कानुनी अधिकार ख्रीष्टले प्राप्त गर्नुभयो। (मत्ती २०:२८) उहाँका केही चेलाहरू अर्थात् १,४४,००० स्वर्गमा सधैंभरि बाँच्नेछन्। (प्रकाश १४:१-४) यसप्रकार कुनै समय नश्वर मानवको रूपमा रहेका व्यक्तिहरूले “अमर रूप धारण” गर्नेछन्।—१ कोरिन्थी १५:५३.
८. (क) “अमर रूप” के हो र यहोवाले १,४४,००० लाई त्यो किन दिनुभएको छ? (ख) येशूले “अरू भेडा[को]” लागि कस्तो आशा दिनुभयो?
८ “अमर रूप” धारण गर्नु भनेको कहिल्यै नमर्नु मात्र होइन। यसमा “अविनाशी जीवनको शक्ति” समावेश छ। (हिब्रू ७:१६; प्रकाश २०:६ तुलना गर्नुहोस्।) तर त्यस्तो अद्भुत वरदान दिनुभएर परमेश्वरलाई के फाइदा? परमेश्वरले सृष्टि गर्नुभएको कुनै पनि प्राणीलाई भरोसा गर्न सकिंदैन भन्ने शैतानको चुनौती सम्झनुहोस्। (अय्यूब १:९-११; २:४, ५) ती १,४४,००० लाई अमरता प्रदान गर्नुभएर परमेश्वरले यस समूहमाथि पूर्ण विश्वास देखाउनुभएको छ र यस समूहले शैतानको चुनौतीलाई मुखभरिको जवाफ दिएको छ। तर बाँकी मानिसजाति नि? येशूले परमेश्वरको उत्तराधिकारी हुने यस “सानो बगाल[का]” सुरुका सदस्यहरू “इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा” बस्नेछन् भन्नुभएको थियो। (लूका १२:३२; २२:३०) यसको अर्थ, अरूले चाहिं उहाँको राज्यका पार्थिव प्रजाहरूको हैसियतमा अनन्त जीवन पाउनेछन्। यी “अरू भेडा[लाई]” अमरता नदिए तापनि तिनीहरूले “अनन्त जीवन” अवश्य पाउनेछन्। (यूहन्ना १०:१६; मत्ती २५:४६) त्यसकारण, सबै मसीहीहरूले अनन्त जीवनको आशा राख्नसक्छन्। यो कुनै काल्पनिक कुरा नभई “झूट नबोल्नुहुने परमेश्वरले” गर्नुभएको प्रतिज्ञा हो जसको निम्ति येशूले आफ्नो बहुमूल्य रगत बगाउनुभयो।—तीतस १:२.
धेरैपछि पूरा हुने?
९, १०. हामी अन्तको नजीकै छौं भन्ने कस्ता स्पष्ट संकेतहरू छन्?
९ “डरलाग्दो समय[ले]” हामी साँच्चै “आखिरी दिनमा” बाँचिरहेका छौं भनी देखाउनेछ भनेर पावलले भविष्यवाणी गरेका थिए। हामी वरपरको मानव समाज निष्ठुर, लोभी, स्वार्थी, अभक्त हुँदै जाँदा यस दुष्ट रीतिरिवाजमाथि उहाँको न्याय छिट्टै आउनेछ भनेर महसुस गर्दैनौं र? हिंसा र घृणा झन् झन् चर्किंदै गएपछि के हामी पावलका यी शब्दहरू पनि पूरा भइरहेको देख्दैनौं र: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्”? (२ तिमोथी ३:१-५, १३) कसै कसैले आशावादी भएर “शान्ति र सुरक्षा[को]” ढ्यांग्रो ठोक्लान् तर ती त्यसै हराउनेछन् किनभने “सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।” हामी बाँचिरहेको समयको अर्थ हामीलाई थाह छ। त्यसकारण, “जागा रहौं र होशियार होऔं।”—१ थिस्सलोनिकी ५:१-६.
१० साथै, आखिरी दिन “अल्प” हुनेछ भनेर पनि बाइबलले बताउँछ। (प्रकाश १२:१२; तुलना गर्नुहोस् १७:१०) त्यो “अल्प समय[को]” धेरैजसो समय त बितिसक्यो। उदाहरणका लागि, “उत्तरका राजा” र “दक्षिणका राजा[बीच]” यस शताब्दीसम्म चलेको द्वन्द्वबारे दानियलको भविष्यवाणीले ठीक ठीक वर्णन गरेको छ। (दानियल ११:५, ६) अब केवल दानियल ११:४४, ४५ मा वर्णन गरिएअनुसार “उत्तरका राजा[ले]” अन्तिम आक्रमण गर्न बाँकी छ।—यस भविष्यवाणीसम्बन्धी विस्तृत विवरणको लागि जुलाई १, १९८७ को प्रहरीधरहरा (अंग्रेजी) र नोभेम्बर १, १९९३ को प्रहरीधरहरा हेर्नुहोस्।
११. (क) मत्ती २४:१४ कुन हदसम्म पूरा भएको छ? (ख) मत्ती १०:२३ मा लिपिबद्ध येशूका शब्दहरूले के देखाउँछन्?
११ आखिरी दिनको सन्दर्भमा येशूले यो भविष्यवाणी पनि गर्नुभयो, “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) आज, यहोवाका साक्षीहरूले २३३ मुलुक, टापु तथा इलाकाहरूमा यो कार्य गरिरहेका छन्। हो, प्रचार नगरिएका इलाकाहरू अझै छन्। अनि यहोवाको आफ्नै समयमा सुअवसरको ढोका पनि खुल्नेछ। (१ कोरिन्थी १६:९) तैपनि, मत्ती १०:२३ मा येशूका शब्दहरू विचारणीय छन्: “मानिसको पुत्र नआउञ्जेलसम्म तिमीहरू कुनै रीतिले इस्राएलका शहरहरू पनि डुलिसकेको हुनेछैनौ।” अवश्य पनि सारा संसारभरि सुसमाचार प्रचार गरिनेछ। तथापि, येशू न्यायकर्ताको हैसियतमा “आउनुहुँदा” संसारको चारै कुनामा फैलिएका प्रत्येक व्यक्तिलाई हामीले परमेश्वरको राज्यको सन्देश सुनाइसकेका हुनेछैनौं।
१२. (क) प्रकाश ७:३ मा कस्तो प्रकारको ‘छापबारे’ बताइएको छ? (ख) पृथ्वीमा अभिषिक्त जनहरूको संख्या घट्दै जानुको महत्त्व के छ?
१२ प्रकाश ७:१, ३ लाई ध्यान दिनुहोस्। त्यहाँ भनेअनुसार “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा छाप नलगाउञ्जेलसम्म” विनाशको “चारै बतासलाई” रोकेर राखिएको छ। यहाँ, १,४४,००० जनहरूले स्वर्गीय बोलावट पाउँदा सुरुमा लगाइने छापबारे बताइरहेको होइन। (एफिसी १:१३) यसले त्यो अमेट छापलाई बुझाउँछ जब तिनीहरूले अनेकन् परीक्षाहरू पार तरेर “हाम्रा परमेश्वरका दासहरू” हौं भनी पूरापूर प्रमाणित गरिसकेका हुन्छन्। परमेश्वरले साँच्चै अभिषेक गर्नुभएका अभिषिक्त पुत्रहरू अब पृथ्वीमा थोरै मात्र छन्। यसबाहेक, बाइबलले महासंकष्ट सुरु भएपछि “चुनिएकाहरूका निम्ति” “दिन घटाइनेछन्” भनेर प्रस्टै बताएको छ। (मत्ती २४:२१, २२) अभिषिक्त भनी दाबी गर्ने प्रायजसो व्यक्तिहरू बूढाबूढी भइसके। के यसले पनि अन्त नजीकै छ भनी देखाउँदैन र?
विश्वासिलो पहरादार
१३, १४. पहरादारवर्गको जिम्मेवारी के हो?
१३ अन्त नआउञ्जेल ‘विश्वासी दासले’ दिने निर्देशन पालन गर्दा हाम्रै भलो हुन्छ। (मत्ती २४:४५) आधुनिक समयको “दास[ले]” “पहरादार[को]” हैसियतमा विश्वासिलो भएर सेवा गर्दै आएको एक सय वर्षभन्दा बढी भइसक्यो। (इजकिएल ३:१७-२१) जनवरी १, १९८४ को प्रहरीधरहरा-मा (अंग्रेजी) यसो लेखिएको थियो: “यस पहरादारले बाइबल भविष्यवाणीको पूर्तिअनुरूप के कस्ता घटनाहरू भइरहेका छन् नियालेर हेर्छ, ‘जगतको सुरुदेखि अहिलेसम्म नभएको महा संकष्टबारे’ चेताउनी दिन्छ र ‘कल्याणको शुभ समाचार’ घोषणा गर्छ।”—मत्ती २४:२१; यशैया ५२:७.
१४ नबिर्सनुहोस्: आफूले “के देख्छ” त्यही बताउनु पहरादारको काम हो। (यशैया २१:६-८) सम्भाव्य खतरा निकै टाढा हुनाले स्पष्टसित चिन्न नसके तापनि बाइबल समयका पहरादारले जनाउ दिने गर्थे। (२ राजा ९:१७, १८) कहिलेकाहीं त्यस्ता जनाउहरू गलत पनि हुन्थे। तर असल पहरादार आफूले दिएको जनाउ गलत होला कि भन्ने डरले चुपो लागेर बस्दैनथे। तपाईंको घर आगलागी भयो तर वारुणकर्मीहरू झूटो जनाउ होला भन्ठानेर आगो निभाउन आइपुगेनन् भने तपाईंलाई कस्तो लाग्छ? हामी चाहन्छौं, त्यस्ता मानिसहरूले खतराको सुइँको पाउने बित्तिकै कदम चालिहालोस्! परिस्थितिअनुसार पहरादारवर्गले त्यसरी नै सूचना दिंदै आएको छ।
१५, १६. (क) भविष्यवाणीबारे पहिले हामीले जसरी बुझेका थियौं, त्यसमा छाँटकाँट गर्नु किन खाँचो पर्छ? (ख) केही भविष्यवाणीहरूबारे गलत अर्थ लगाउने परमेश्वरका विश्वासिलो सेवकहरूबाट हामी के सिक्नसक्छौं?
१५ एकपछि अर्को घटनाहरू हुँदै जाँदा भविष्यवाणीको अर्थ पनि झन् झन् स्पष्ट हुँदै गएको छ। तर इतिहासले देखाएअनुसार ईश्वरीय भविष्यवाणीहरू पूरा हुनुअघि नै त्यो पूर्णतया स्पष्ट भएको त कमै मात्र छ। परमेश्वरले अब्रामलाई ‘जुन देश तिनीहरूको होइन’ त्यहाँ कतिञ्जेल प्रवासी हुनेछन् भनी तोकेरै भन्नुभएको थियो। तिनीहरू त्यहाँ ४०० वर्षसम्म रहनेथिए। (उत्पत्ति १५:१३) तथापि, त्यो समय नबित्दै तिनीहरूलाई छुटकारा दिन मोशालाई चलाइयो।—प्रेरित ७:२३-३०.
१६ मसीहसित सम्बन्धित भविष्यवाणीहरूलाई पनि ध्यान दिनुहोस्। ती घटनाहरू हेर्दा मसीहको मृत्यु तथा पुनरुत्थानबारे अग्रिमवाणी गरिएको थियो भनेर छर्लंगै हुन्छ। (यशैया ५३:८-१०) यद्यपि, येशूका आफ्नै चेलाहरूले समेत यो बुझ्न सकेनन्। (मत्ती १६:२१-२३) ख्रीष्टको भावी पारुसिया वा “उपस्थिति” हुँदा दानियल ७:१३, १४ पूरा हुनेछ भनेर तिनीहरूले बुझ्न सकेनन्। (मत्ती २४:३) अतः, तिनीहरूले उक्त घटना हुनुभन्दा २,००० वर्षअघि नै येशूलाई यस्तो प्रश्न गरे: “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” (प्रेरित १:६) मसीही मण्डली स्थापना भइसकेपछि पनि बेलाबखतमा गलत विचार तथा झूटा आशाहरूले टाउको उठाइरहे। (२ थिस्सलोनिकी २:१, २) कसै कसैको दृष्टिकोण गलत भए तापनि यहोवाले ती प्रथम शताब्दीका मसीहीहरूको काममा आशिष् दिइरहनुभयो।
१७. धर्मशास्त्रको अर्थ पहिले जुन ढंगमा बुझेका थियौं, त्यसमा छाँटकाँट गरिंदा हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?
१७ आजको पहरादारवर्गले पनि समय समयमा आफ्नो दृष्टिकोणबारे स्पष्टीकरण दिनुपरेको छ। तर यहोवाले ‘विश्वासी दासलाई’ आशिष् दिनुभएको छैन भनेर के कसैले शंका गर्नसक्छ र? यसबाहेक, प्रसंगलाई नै विचार गर्ने हो भने के ती छाँटकाँटहरू खास ठूलो परिवर्तन थिए र? बाइबललाई हामीले सुरुमा जुन अर्थमा बुझेका थियौं, त्यो यथावत् छ। हामी आखिरी दिनमा बाँचिरहेका छौं भन्ने विश्वास झन् बलियो भएको छ!
अनन्त भविष्यको लागि बाँच्ने
१८. किन हामी वर्तमानको लागि मात्र बाँच्नु हुँदैन?
१८ संसारका मानिसहरू भन्लान्, ‘खाऔं, पिऔं किनभने भोलि त मरिहाल्छौं पो।’ तर हाम्रो मनोवृत्ति यस्तो हुनु हुँदैन। अनन्त भविष्य सम्भव हुँदाहुँदै वर्तमान जीवनको सुखविलासको पछि व्यर्थै किन दौडने? चाहे हाम्रो आशा स्वर्गमा अमर जीवन पाउने होस् वा पृथ्वीमा अनन्त जीवन, त्यो कुनै सपना वा कल्पना होइन। तर “झूट नबोल्नुहुने” परमेश्वरले प्रतिज्ञा गर्नुभएको वास्तविकता हो। (तीतस १:२) त्यो आशा वास्तविकतामा परिणत हुने समय नजीकै छ भन्ने प्रमाणहरू प्रशस्त छन्। “समय अल्प भएको छ।”—१ कोरिन्थी ७:२९.
१९, २०. (क) यहोवाको राज्यको खातिर हामीले गरेका त्यागहरूलाई उहाँ कुन दृष्टिले हेर्नुहुन्छ? (ख) किन हामी अनन्त भविष्यलाई ध्यानमा राख्दै बाँच्नुपर्छ?
१९ हो, धेरैले यो संसारको विनाश छिट्टै होला भन्ठानेका थिए। यत्तिको ढिलो हुनेछ भनेर थाह हुँदो हो त कतिपय त्यागहरू गर्ने नै थिएनौं भनेर कसै कसैले सोच्लान्। तर ती त्यागहरू गरेकोमा पछुताउनु पर्दैन। आखिर, त्यागहरू गर्नु मसीही जीवनको अभिन्न अंश हो। मसीहीहरू “आफूलाई इन्कार” गर्छन्। (मत्ती १६:२४) हामीले परमेश्वरलाई खुशी पार्न गरेका प्रयासहरू व्यर्थै गए भनेर कहिल्यै सोच्नु हुँदैन। किनभने येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो खातिर र सुसमाचारको खातिर घर, कि दाज्यू-भाइ, कि दिदी-बहिनी, कि आमा, कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड़छ त्यसले . . . सय गुणा बढ़ता . . . अहिले यही समयमा पाउनेछ, र आउँदो जगत्मा अनन्त जीवन।” (मर्कूस १०:२९, ३०) हजार वर्षपछि तपाईंको जागिर, घर वा धनसम्पत्ति कत्तिको महत्त्वपूर्ण होला? तर तपाईंले यहोवाको खातिर गर्नुभएका त्यागहरू लाखौं वा करोडौं वर्षपछि पनि अर्थपूर्ण हुनेछ! किनभने “[तपाईं]हरूको काम . . . बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रू ६:१०.
२० त्यसकारण, हामी अनन्त भविष्यलाई मनमा राख्दै आफ्नो जीवन बिताऔं। ‘हामी देखिने कुरालाई होइन, तर नदेखिने कुरालाई हेर्दैरहौं किनभने देखिने कुराहरू लौकिक मात्र हुन्। तर नदेखिने कुराचाहिं अनन्त हुन्।’ (२ कोरिन्थी ४:१८) अगमवक्ता हबकूकले यसप्रकार लेखे: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:३) अन्तको ‘बाटो हेर्दै’ गर्दा हामी आफ्नो व्यक्तिगत तथा पारिवारिक जिम्मेवारीहरूप्रति कस्तो दृष्टिकोण राख्छौं? यसपछिको लेखले ती विषयहरूमा छलफल गर्नेछ।
पुनरावृत्तिका लागि बुँदाहरू
◻ यस रीतिरिवाजको अन्त आउन ढिला भएजस्तो लागेकोले कसै कसैलाई कस्तो असर परेको छ?
◻ अनन्त जीवनको आशाको आधार के हो?
◻ परमेश्वरको राज्यको खातिर गरेका त्यागहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?
[पृष्ठ १५-मा भएको चित्र]
अन्त आउनुअघि विश्वभरि प्रचार गरिसकेको हुनुपर्छ