“मरेकाहरू . . . बिउँताइनेछन्”
“किनभने तुरही बज्नेछ, र मरेकाहरू अविनाशी रूपमा बिउँताइनेछन्, औ हाम्रो चाहिं परिवर्त्तन हुनेछ।”—१ कोरिन्थी १५:५२.
१, २. (क) अगमवक्ता होशेद्वारा कुन सान्त्वनादायी वचन दिइयो? (ख) परमेश्वर मरिसकेका मानिसहरूलाई बिउँताउन चाहनुहुन्छ भनेर हामी कसरी भन्नसक्छौं?
के तपाईंको कोही प्रियजनको मृत्यु भएको छ? छ भने, अवश्य पनि मृत्युको पीडा बुझ्नुहुन्छ। तथापि, मसीहीहरू परमेश्वरले अगमवक्ता होशे मार्फत गर्नुभएको यो प्रतिज्ञाबाट सान्त्वना पाउँछन्: “म तिनीहरूलाई चिहानको शक्तिदेखि मोल तिरेर छुटाउनेछु। म तिनीहरूलाई मृत्युदेखि मुक्त गर्नेछु। ए मृत्यु, तेरो महामारीको प्रकोप कहाँ छ? ए चिहान, तेरो नाश गर्ने शक्ति कहाँ छ?”—होशे १३:१४, नयाँ संशोधित संस्करण।
२ मरेको मानिस फेरि जीवित हुन्छ भनी सुन्दा शंकालुहरूलाई वाहियात लाग्नसक्छ। तर सर्वशक्तिमान् परमेश्वरसित निश्चय पनि त्यस्तो चमत्कार गर्ने शक्ति छ! बरु मुख्य कुरा त, यहोवा मरेका मानिसहरूलाई बिउँताउन इच्छुक हुनुहुन्छ कि हुनुहुन्न, त्यो पो छ। एक पटक धर्मी पुरुष अय्यूबले सोधेका थिए: “कोही मानिस मऱ्यो भने के त्यो फेरि जीवित हुनसक्छ?” त्यसपछि आफैले यस्तो आश्वासनदायी जवाफ दिए: “तपाईंले मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ। आफूले सृजनुभएको प्राणीलाई तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो।” (अय्यूब १४:१४, १५) यहाँ “इच्छा” भनेर अनुवाद गरिएको शब्दले कुनै साधारण इच्छालाई नभई तीव्र इच्छालाई संकेत गर्छ। (भजन ८४:२ तुलना गर्नुहोस्।) हो, यहोवा बडो चासो लिएर पुनरुत्थानलाई पर्खनुहुन्छ। आफ्ना विश्वासी जनहरू बितेर गए तापनि उहाँसित तिनीहरूको सम्झना ताजै छ। उहाँ तिनीहरूलाई फेरि भेट्ने तीव्र इच्छा गर्नुहुन्छ।—मत्ती २२:३१, ३२.
येशू पुनरुत्थानलाई प्रकाश पार्नुहुन्छ
३, ४. (क) येशूले पुनरुत्थानको आशाबारे के प्रकाश पार्नुभयो? (ख) येशू किन मानव नभई स्वर्गीय व्यक्तिको रूपमा बिउँतनुभयो?
३ अय्यूबजस्ता पुरातन विश्वासी पुरुषहरूसित पुनरुत्थानको त्यति ज्ञान थिएन। यस अद्भुत आशालाई पूर्णतया प्रकाश पार्ने पहिलो व्यक्ति येशू ख्रीष्ट हुनुहुन्थ्यो। उहाँले यसो भन्दै आफूले निर्वाह गर्नुहुने ठूलो भूमिका प्रकट गर्नुभयो: “जसले पुत्रमाथि विश्वास गर्छ, त्यसमा अनन्त जीवन छ।” (यूहन्ना ३:३६) तर यो अनन्त जीवन कहाँ पाइन्छ? येशू ख्रीष्टमा विश्वास गर्नेहरूमध्ये धेरैले यसै पृथ्वीमा पाउनेछन्। (भजन ३७:११) तथापि, येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको थियो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) परमेश्वरको राज्य स्वर्गमा छ। त्यसको मतलब “सानो बगाल” महिमित व्यक्तिको रूपमा स्वर्गमा येशूसित हुनुपऱ्यो। (यूहन्ना १४:२, ३; १ पत्रुस १:३, ४) कत्ति गौरवशाली प्रत्याशा! यो “सानो बगाल[मा]” जम्मा १,४४,००० हुनेछन् भनेर पनि येशूले प्रेरित यूहन्नालाई प्रकट गर्नुभयो।—प्रकाश १४:१.
४ यी १,४४,००० जनले कसरी स्वर्गीय महिमा पाउनेछन् त? येशूले “जीवन र अविनाशलाई सुसमाचारद्वारा ज्योतिमा ल्याउनुभयो।” उहाँले आफ्नो रगतद्वारा स्वर्ग जाने “नयाँ र जीवित मार्ग” खोल्नुभयो। (२ तिमोथी १:१०; हिब्रू १०:१९, २०) प्रथमतः उहाँको मृत्यु बाइबलले अगमवाणी गरेझैं भयो। (यशैया ५३:१२) त्यसपछि, प्रेरित पत्रुसले पछि घोषणा गरेजस्तो “यिनै येशूलाई परमेश्वरले बिउँताउनुभयो।” (प्रेरित २:३२) तथापि, येशूलाई पुनः मानवको रूपमा बिउँताइएन। उहाँले भन्नुभएको थियो: “त्यो रोटी, जो म संसारको जीवनको लागि दिनेछु, मेरो देह हो।” (यूहन्ना ६:५१) येशूले मानव देह पुनः धारण गर्नु बलिदान खारेज गर्नु बराबर हुनेथियो। त्यसैकारण येशू “शरीरमा मारिएर . . . आत्मामा जीवित” पारिनुभयो। (१ पत्रुस ३:१८) येशूले यसप्रकार सानो बगालका लागि “अनन्त उद्धार प्राप्त” गर्नुभयो। (हिब्रू ९:१२) उहाँले आफ्नो सिद्ध मानव जीवनद्वारा पापी मानवजातिको छुटकाराको मोल तिर्नुभयो र १,४४,००० यो मोलको लाभ उठाउने पहिलो व्यक्तिहरू थिए।
५. येशूका प्रारम्भिक अनुयायीहरूलाई कुन आशा प्रदान गरियो?
५ पुनरुत्थान भएर स्वर्गीय जीवन प्राप्त गर्ने व्यक्ति येशू मात्र हुनुहुनेथिएन। पावलले रोमका सँगी मसीहीहरूलाई तिनीहरू परमेश्वरका पुत्र तथा ख्रीष्टका साझे हकवाला हुन पवित्र आत्माद्वारा अभिषिक्त भएका छन् भनेका थिए। यद्यपि, त्यस्तो इनाम प्राप्त गर्न तिनीहरू अन्तसम्मै विश्वासी रहनुपर्थ्यो। (रोमी ८:१६, १७) पावलले यसो पनि भने: “यदि उहाँको मृत्यु जस्तैगरी हामी उहाँसँग सम्मिलित भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि त्यसरीनै हुनेछौं।”—रोमी ६:५.
पुनरुत्थानको पक्षमा प्रतिवाद
६. कोरिन्थमा पुनरुत्थानको आशाको किन घोर आलोचना गरियो र प्रेरित पावलले कसरी त्यसको खण्डन गरे?
६ पुनरुत्थान मसीही धर्मको “प्राथमिक सिद्धान्त” हो। (हिब्रू ६:१, २, नयाँ संशोधित संस्करण) तर त्यसो भए तापनि, कोरिन्थमा त्यस सिद्धान्तको घोर आलोचना भयो। उपलब्ध प्रमाणअनुसार कोरिन्थका केही मसीहीहरूले युनानी दर्शनहरूबाट प्रभावित भई “मरेकाहरूको पुनरुत्थान हुँदैन” भनेका थिए। (१ कोरिन्थी १५:१२) सो कुराको रिपोर्ट पाएपछि प्रेरित पावलले पुनरुत्थानको आशाको, अझै भनौं अभिषिक्त मसीहीहरूको आशाको पक्षमा प्रतिवाद गरे। आउनुहोस्, पावलले कसरी खण्डन गरे हामी १ कोरिन्थी अध्याय १५ जाँचेर हेरौं। अघिल्लो लेखमा दिइएको सुझाउअनुसार पूरै अध्याय पढ्नुभयो भने बुझ्न सजिलो हुनेछ।
७. (क) पावलले कुन मुख्य विषयमाथि ध्यानकेन्द्रित गरे? (ख) पुनरुत्थान हुनुभएको येशूलाई क-कसले देखे?
७ पहिलो कोरिन्थी अध्याय १५ का प्रथम दुई पदहरूमा पावल आफ्नो छलफलको मूल आशय यसरी प्रकट गर्छन्: “ए भाइ हो, म तिमीहरूलाई त्यही सुसमाचार बताउँछु, जो मैले तिमीहरूलाई प्रचार गरेथें, र तिमीहरूले ग्रहण पनि गरेथ्यौ, जसमा तिमीहरू अड़ेका पनि छौ, . . . र तिमीहरूले व्यर्थमा विश्वास गरेनौ भने, तिमीहरूको उद्धार पनि हुनेछ।” सुसमाचारमा नअड्ने हो भने कोरिन्थीहरूले सत्य स्वीकारेको बेकार हुन्थ्यो। पावलले यसो पनि भने: “सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिएँ जो मैले पाएको पनि थिएँ, अर्थात् धर्मशास्त्रअनुसार कसरी ख्रीष्ट हाम्रा पापको निम्ति मरे, र गाड़िए, औ धर्मशास्त्रैअनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो, औ उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखापर्नुभयो, त्यसपछि उहाँ एकैपल्ट पाँच सयभन्दा बढ़ता भाइहरूकहाँ देखापर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन्, तर कुनै कुनै सुतिसके। त्यसपछि उहाँ याकूबकहाँ अनि सबै प्रेरितहरूकहाँ, देखा पर्नुभयो। अनि सबैभन्दापछि बेला नपुगी जन्मेको मानिस जस्तै मकहाँ पनि उहाँ देखा पर्नुभयो।”—१ कोरिन्थी १५:३-८.
८, ९. (क) पुनरुत्थानमा विश्वास गर्नु कत्तिको आवश्यक छ? (ख) कुन चाहिं अवसरमा येशू “पाँच सयभन्दा बढ़ता भाइहरूकहाँ” देखा पर्नुभएको हुनुपर्छ?
८ येशूको पुनरुत्थान भएको थियो भन्ने विश्वास, सुसमाचार स्वीकार्ने जतिले माने पनि नमाने पनि हुने खालको विश्वास थिएन। “ख्रीष्ट हाम्रा पापको निम्ति [मर्नुकासाथै]” बिउँतनुभएको देख्ने थुप्रै प्रत्यक्षदर्शीहरू थिए। तीमध्ये पत्रुस नाउँले राम्ररी चिनिने केफास पनि थिए। येशूको विश्वासघात र गिरफ्तारीको रात पत्रुसले उहाँलाई चिन्न इन्कार गरेका थिए। अतः पछि येशू देखा पर्नुहुँदा पत्रुसले अवश्य पनि ठूलो सान्त्वना पाएको हुनुपर्छ। पुनरुत्थान हुनुभएको येशू “बाह्रै जनाकहाँ” अर्थात् प्रेरितहरूको समूहबीच पनि देखा पर्नुभयो। उहाँ देखापर्नुभएकोले पक्कै पनि तिनीहरूको डर हट्नुकासाथै येशूको पुनरुत्थानबारे निर्भयी भई साक्षी दिन मदत पनि गरेको हुनुपर्छ।—यूहन्ना २०:१९-२३; प्रेरित २:३२.
९ ख्रीष्ट त्योभन्दा धेरै मानिसहरू अर्थात् “पाँच सयभन्दा बढ़ता भाइहरूकहाँ” पनि देखा पर्नुभयो। गालीलमा मात्रै उहाँका यति धेरै अनुयायी भएको हुँदा सम्भवतः मत्ती २८:१६-२० मा वर्णन गरिएको अवसरको बेला यो घटना भएको हुनुपर्छ। येशू ज-जसकहाँ देखा पर्नुभयो तिनीहरूले साँच्चै नै सशक्त प्रमाण पाए! सा.यु. ५५ तिर पावलले आफ्नो पहिलो पत्र कोर्दा तीमध्ये कोही कोही जीवितै थिए। तथापि, नोट गर्नुहोस्, मरिसकेकाहरूलाई यहाँ “सुतिसके” भनेर उल्लेख गरिएको छ। त्यसको मतलब आफ्नो स्वर्गीय इनाम हासिल गर्नका लागि तिनीहरूको पुनरुत्थान भइसकेको थिएन।
१०. (क) येशूको अन्तिम भेटले अनुयायीहरूलाई कस्तो असर गऱ्यो? (ख) “बेला नपुगी जन्मेको मानिस[कहाँ]जस्तै[गरि]” येशू कसरी पावलसामु देखा पर्नुभयो?
१० येशूको पुनरुत्थानको अर्को साक्षात्कार, येशूकी आमा मरियम तथा यूसुफका पुत्र याकूब थिए। येशूको पुनरुत्थानअघि स्पष्टतः याकूब विश्वासमा थिएनन्। (यूहन्ना ७:५) तथापि, येशू देखापर्नु भएपछि याकूब विश्वासी भए र सायद तिनकै कारण तिनका अरू भाइहरू पनि विश्वासमा आए। (प्रेरित १: १३, १४) स्वर्ग उक्लनुअघि आफ्ना चेलाहरूबीच अन्तिम पटक देखा पर्नुहुँदा येशूले उपस्थित सबैलाई “पृथ्वीको अन्तसम्म . . . गवाही” दिने आज्ञा गर्नुभयो। (प्रेरित १:६-११) पछि, मसीहीहरूमाथि अत्याचार गर्ने टार्ससका शावलकहाँ उहाँ देखा पर्नुभयो। (प्रेरित २२:६-८) “बेला नपुगी जन्मेको मानिस[कहाँ]जस्तै[गरि]” येशू शावलसामु देखा पर्नुभयो। मानौं, शावलले पुनरुत्थानद्वारा स्वर्गीय जीवन प्राप्त गरेझैं गरी। किनकि अभिषिक्त जनहरूले पुनरुत्थान भई आत्मिक जीवन हासिल गर्न र महिमित येशूलाई देख्नसक्न अझ सयौंवर्ष बाँकी नै थियो। यसरी येशू देखा पर्नुभएपछि, मसीही मण्डलीको अचाक्ली विरोध गर्ने शावलको जीवन नै अर्कोतर्फ मोडियो। (प्रेरित ९:३-९, १७-१९) शावल परिवर्तन भएर मसीही धर्मका अग्रणी समर्थकहरूमध्ये एक, प्रेरित पावल भए।—१ कोरिन्थी १५:९, १०.
पुनरुत्थानमाथि विश्वास गर्नु अपरिहार्य
११. “पुनरुत्थान हुँदैन” भन्नु निराधार कुरा हो भनेर पावलले कसरी पर्दाफास गरे?
११ अतः येशूको पुनरुत्थान प्रामाणिक तथ्य थियो। पावल तर्क गर्छन्, “मरेकाहरूबाट पुनरुत्थान हुनुभएको छ भन्ने ख्रीष्टको प्रचार हुन्छ भने, तिमीहरूमध्ये कसै कसैले मरेकाहरूको पुनरुत्थान हुँदैन भनी कसरी भन्छौ?” (१ कोरिन्थी १५:१२) यस्ता व्यक्तिहरूले पुनरुत्थान हुँदैन भनेर मनमनै शंका वा प्रश्न गरिरहेका मात्र नभई आफ्नो अविश्वास खुलेआम प्रकट पनि गरिरहेका थिए। तसर्थ पावल तिनीहरूको तर्क निराधार छ भनेर पर्दाफास गर्छन्। तिनी भन्छन्, यदि ख्रीष्टको पुनरुत्थान भएकै थिएन भने मसीही सन्देश झूट रहेछ र ख्रीष्टको पुनरुत्थानका प्रत्यक्षदर्शीहरू “परमेश्वरका झूटा साक्षी” रहेछन्। परमेश्वरलाई छुटकाराको मोल पनि तिरिएनछ अनि मसीहीहरू ‘पापमै रहेछन्।’ (१ कोरिन्थी १५:१३-१९; रोमी ३:२३, २४; हिब्रू ९:११-१४) शहीद भएर “मर्ने” मसीहीहरू लगायत सबै मसीहीहरू कुनै आधारै नभएको आशा लिएर बेकारमा मरेछन्। कति दयनीय हुनेथिए मसीहीहरू, यदि तिनीहरूले आशा गर्नसक्ने जीवन यति नै थियो भने। तिनीहरूले बेकारमा दुःख भोगेका हुनेथिए।
१२. (क) ख्रीष्ट “मर्नेहरूमा पहिलो फल” हुनुहुन्छ भन्नुको तात्पर्य के हो? (ख) ख्रीष्टले पुनरुत्थानलाई कसरी सम्भव तुल्याउनुभयो?
१२ तथापि, ती सत्य होइनन्। पावल अझै यसो भन्छन्: “ख्रीष्ट मरेकाहरूबाट बिउँतनुभएको छ।” त्यतिमात्र होइन, उहाँ “मर्नेहरूमा पहिलो फल” पनि हुनुहुन्छ। (१ कोरिन्थी १५:२०) इस्राएलीहरूले आज्ञाकारी भई आफ्नो उत्पादनको पहिलो फल चढाउँदा यहोवा प्रसन्न हुनुहुन्थ्यो र तिनीहरूको अन्नपातलाई प्रशस्त गराई आशिष् दिनुहुन्थ्यो। (प्रस्थान २२:२९, ३०; २३:१९; हितोपदेश ३:९, १०) अतः ख्रीष्टलाई “पहिलो फल” भनी सम्बोधन गरेर पावल थुप्रै व्यक्तिहरू स्वर्गीय जीवनका लागि बिउँताइनेछन् भन्न खोज्दैथिए। पावल भन्छन्, “किनभने मृत्यु एक जना मानिसबाट भएको हुनाले मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसबाट भयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसरीनै ख्रीष्टमा पनि सबै जीवित हुनेछन्।” (१ कोरिन्थी १५:२१, २२) येशूले आफ्नो सिद्ध मानव शरीर बलिदान दिनुभएको हुँदा मानवजातिको पुनरुत्थान सम्भव हुनुका साथै पाप र मृत्युको दासत्वबाट मुक्ति प्राप्त गर्ने बाटो पनि खुल्यो।—गलाती १:४; १ पत्रुस १:१८, १९.a
१३. (क) स्वर्गीय पुनरुत्थान कहिले हुन्छ? (ख) कोही कोही अभिषिक्त जन ‘मरिनजानुको’ कारण के हो?
१३ पावल अगाडि यसो भन्छन्: “तर हरेक आफ्नो आफ्नै क्रमअनुसार—ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँका आगमनमा ख्रीष्टकाहरू जति।” (१ कोरिन्थी १५:२३) ख्रीष्टको पुनरुत्थान सा.यु. ३३ मा भयो। तथापि, उहाँका अभिषिक्त अनुयायीहरू अर्थात् “ख्रीष्टकाहरू जति” येशूको शाही उपस्थिति सुरु भएर केही समय नबितुञ्जेल पर्खनुपर्नेथियो। बाइबलको भविष्यवाणीले उहाँको शाही उपस्थिति १९१४ मा भयो भनेर देखाउँछ। (१ थिस्सलोनिकी ४:१४-१६; प्रकाश ११:१८) उहाँको उपस्थितिको दौडान जीवित रहने व्यक्तिहरूबारे के भन्न सकिन्छ नि? पावल जवाफ दिन्छन्: “हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै मरिजाँदैनौ, तर हामी सबैको परिवर्त्तन हुनेछ। एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, किनभने तुरही बज्नेछ, र मरेकाहरू अविनाशी रूपमा बिउँताइनेछन्, औ हाम्रो चाहिं परिवर्त्तन हुनेछ।” (१ कोरिन्थी १५:५१, ५२) यसबाट प्रस्ट हुन्छ कि सबै अभिषिक्त जनले पुनरुत्थानका लागि चिहानमा पर्खिरहनुपर्दैन। ख्रीष्टको उपस्थितिको दौडान मर्नेहरूको तुरुन्तै पुनरुत्थान हुन्छ।—प्रकाश १४:१३.
१४. अभिषिक्त जनहरू कसरी “मरेकाहरूका निम्ति बप्तिस्मा लिनेहरू” हुन्?
१४ “नत्रता,” पावल भन्छन्, “मरेकाहरूका निम्ति बप्तिस्मा लिनेहरू के गर्नेछन्? मुर्दाहरू नबिउँताइने भएता तिनीहरूका निम्ति किन बप्तिस्मा दिन्छन्? किन हामी पनि हर घड़ी आपत्मा रहिरहौं?” (१ कोरिन्थी १५:२९, ३०) कुनै कुनै बाइबलमा अनुवाद गरिएझैं पावलले यहाँ मरेका मानिसहरूको नाउँमा जीवित व्यक्तिहरूलाई बप्तिस्मा दिइन्छ भन्न खोजेका होइनन्। होस् पनि कसरी, किनकि बप्तिस्मा मसीही चेला बनाउने कामसित सम्बन्धित कुरा हो र मृत मानिस चेला हुनसक्तैनन्। (यूहन्ना ४:१) बरु, पावल ती जीवित मसीहीहरूको कुरा गर्दैथे, जसमध्ये पावललगायत कतिपय “हर घड़ी आपत्मा” थिए। अभिषिक्त मसीहीहरूले ‘ख्रीष्टको मृत्युमा बप्तिस्मा लिएका थिए।’ (रोमी ६:३) अभिषिक्त हुनासाथ तिनीहरूको मानौं यस्तो मार्गका निम्ति “बप्तिस्मा” भयो जसमा चल्दा तिनीहरू अन्ततः ख्रीष्ट जुन रीतिले मर्नुभयो सोही रीतिले मर्नेथिए। (मर्कूस १०:३५-४०) हो, तिनीहरू गौरवमय स्वर्गीय पुनरुत्थानको आशा लिएर मर्नेथिए।—१ कोरिन्थी ६:१४; फिलिप्पी ३:१०, ११.
१५. पावलले कुन संकष्टको सामना गरेका हुनसक्छन् अनि पुनरुत्थानको आशाले तिनलाई कसरी ती सहन मदत गऱ्यो?
१५ पावल अब आफूले “म दिनहुँ मर्दछु” भन्न सक्ने स्थितिसम्म संकष्ट भोगेका थिए भनेर वर्णन गर्छन्। कसैले तिनलाई बढाइचढाइ कुरा गरेको भन्न नसकून् भनेर तिनी यो थप्छन्: “[यो म] हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूका निम्ति मसँग भएको मेरो घमण्डको शपथ खाएर भदन्छु।” द जेरूशलेम बाइबल सोही पदलाई यसरी प्रस्तुत गर्छ: “हे भाइ हो, म हरेक दिन मृत्युको सामना गर्छु र यो म ख्रीष्ट येशू हाम्रो प्रभुमा तिमीहरूका निम्ति मसित भएको घमण्डको शपथ खाएर भन्नसक्छु।” आफूले सामना गर्नुपरेको खतराको उदाहरण दिंदै पावल पद ३२ मा ‘एफिससमा जंगली जनावरहरूसितको लडाइँबारे’ कुरा गर्छन्। रोमीहरू ठूलठूला रंगशालाहरूमा अपराधीहरूलाई जंगली पशुसित लड्न पठाएर सजाय दिन्थे। यदि पावल साँच्चै नै कुनै जंगली जनावरसित लडेका भए यहोवाको मदतले बचेका हुनुपर्छ। पुनरुत्थानको आशा नै नहुँदो हो त, त्यस्तो खतरा मोल्नुपर्ने जीवनशैली छान्नु निस्सन्देह मुर्ख्याइँ हुन्थ्यो। भावी जीवनको आशा नहुँदो हो त, परमेश्वरको सेवा गर्दा सहेका कठिनाइ तथा त्यागहरूको कुनै अर्थै हुनेथिएन। पावल भन्छन्, “मरेकाहरू नबिउँतने भएता आओ, हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।”—१ कोरिन्थी १५:३१, ३२; २ कोरिन्थी १:८, ९ हेर्नुहोस्; ११:२३-२७.
१६. (क) “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो” भन्ने भनाइ कहाँबाट सुरु भएको हुनसक्छ? (ख) यस्तो सोचाइअनुसार चल्दा के के खतरा आइपर्न सक्थे?
१६ पावलले उक्त टिप्पणी गर्दा यशैया २२:१३ उद्धरण गरेको हुनसक्छ, जहाँ भाग्यमा विश्वास गर्ने यरूशलेमका अनाज्ञाकारी बासिन्दाहरूको वर्णन गरिएको छ। अथवा इपिक्युरीहरूका विश्वासलाई सम्झेका हुनसक्छन्। इपिक्युरीहरू मृत्युपछिको जीवनको आशाको खिसी गर्थे र जीवनको मुख्य उद्देश्य नै भोगविलास हो भन्थे। जेसुकै होस्, “खाऔं र पिऔं” सिद्धान्त ईश्वरीय सिद्धान्त थिएन। तसर्थ, पावल चेताउनी दिन्छन्: “नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) पुनरुत्थानको विरोध गर्नेहरूसित संगत गर्नु अहितकर हुनसक्छ। पावलले कोरिन्थीहरूको मण्डलीमा सच्याउनु परेका समस्याहरू, जस्तै, यौन अनैतिकता, विभाजन, मुद्दाबाजी, प्रभुको साँझको भोजको अनादर सायद त्यस्तै संगतको फल हुनसक्छ।—१ कोरिन्थी १:११; ५:१; ६:१; ११:२०-२२.
१७. (क) पावलले कोरिन्थीहरूलाई कस्तो प्रोत्साहन दिए? (ख) कुन प्रश्नहरूको जवाफ पाउन बाँकी नै छ?
१७ त्यसैकारण, पावल कोरिन्थीहरूलाई यो प्रोत्साहन दिन्छन्: “होशमा होओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ।” (१ कोरिन्थी १५:३४) पुनरुत्थानलाई नकारात्मक दृष्टिकोणले हेरेको हुँदा केही मसीहीहरू रक्सीको नशाले लट्ठिएका मानिसजस्तो आध्यात्मिक तवरमा लट्ठ भए। तिनीहरू जाग्नुपरेको थियो, सचेत रहनुपरेको थियो। त्यसैगरि आज पनि अभिषिक्त मसीहीहरू आध्यात्मिक तवरमा जागा रहनु र संसारको शंकालु दृष्टिकोणदेखि प्रभावित नहुनु नितान्त आवश्यक छ। आफ्नो स्वर्गीय जीवनको आशालाई तिनीहरूले च्यापेर राख्नैपर्छ। तर त्यतिबेला कोरिन्थीहरूको मनमा उब्जेजस्तै हाम्रो मनमा पनि प्रश्नहरू उब्जन्छन्। जस्तै, १,४४,००० कस्तो किसिमको शरीर लिएर स्वर्ग उक्लन्छन्? अनि स्वर्गीय आशा नहुने ती लाखौं मृत जनहरूको चाहिं कस्तो पुनरुत्थान हुनेछ? यसपछिको लेखमा हामी पावलले पुनरुत्थानबारे गरेका छलफलको बाँकी अंश केलाउनेछौं।
[फुटनोट]
a छुटकाराको मोलबारे थप छलफल गर्नुपरेमा फेब्रुअरी १५, १९९१ अंकको प्रहरीधरहरा (अंग्रेजी) हेर्नुहोस्।
के तपाईंले सम्झनुभएको छ?
◻ येशूले पुनरुत्थानबारे कुन कुरा प्रष्ट पार्नुभयो?
◻ ख्रीष्टको पुनरुत्थान देख्ने केही प्रत्यक्षदर्शीहरू को थिए?
◻ पुनरुत्थानको शिक्षालाई चुनौती किन दिइयो र पावलले कसरी खण्डन गरे?
◻ अभिषिक्त जनहरूले पुनरुत्थानमाथि विश्वास राख्नु किन अत्यावश्यक थियो?
[पृष्ठ १५-मा भएको चित्र]
याइरसकी छोरी पुनरुत्थान सम्भव छ भन्ने प्रमाण थियो
[पृष्ठ १६-मा भएको चित्र]
पुनरुत्थानको आशा नभएको भए विश्वासी मसीहीहरूको बलिदान बेकार हुनेथियो