“ए सानो बगाल, नडराओ”
“ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।”—लूका १२:३२.
१. “ए सानो बगाल, नडराओ” भन्ने येशूका शब्दहरूको आधार के थियो?
‘परमेश्वरको राज्यको खोजी गर।’ (लूका १२:३१) येशूले आफ्ना चेलाहरूलाई उक्त शब्दहरू भन्नुहुँदा अहिले हाम्रो समयसम्मका मसीहीहरूको सोचाइलाई असर गर्ने सिद्धान्त व्यक्त गर्दै हुनुहुन्थ्यो। परमेश्वरको राज्यले हाम्रो जीवनमा प्राथमिकता पाएको हुनुपर्छ। (मत्ती ६:३३) तर, लूकाको विवरणमा येशूले मायालु अनि आश्वासनदायी शब्दहरू मसीहीहरूको विशेष झुन्डलाई भन्नुभयो। उहाँले यसो भन्नुभयो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) आफ्ना घनिष्ठ चेलाहरूले भावी दिनहरूमा संकष्टमय समय सामना गर्नेछन् भनी येशूले असल गोठालाको हैसियतमा यहाँ औंल्याउनुभयो। तर परमेश्वरको राज्य खोजिरहेका छन् भने तिनीहरू डराउनु पर्ने कुनै कारण थिएन। यसर्थ, येशूको आग्रह कुनै कठोर आज्ञा थिएन। बरु त्यो मायालु प्रतिज्ञा थियो जसले तिनीहरूलाई आत्मविश्वास र साहस प्रदान गर्न मदत गऱ्यो।
२. सानो बगालमा को को समावेश छन् र तिनीहरूले किन विशेषाधिकार पाएका छन्?
२ येशू आफ्ना चेलाहरूसित कुरा गर्दै हुनुहुन्थ्यो र तिनीहरूलाई “सानो बगाल” भनी सम्बोधन गर्नुभयो। यहोवाले ‘राज्य दिनुहुने’ व्यक्तिहरूलाई पनि उहाँले सम्बोधन गर्दै हुनुहुन्थ्यो। पछि येशूलाई स्वीकार्ने ठूलो भीडको तुलनामा तिनीहरूको संख्या निस्सन्देह कम थियो। शाही सेवा अर्थात् एउटा उल्लेखनीय भविष्यको लागि चुनिएकाले तिनीहरू बहुमूल्य ठानिए। तिनीहरूका पिता, महान गोठाला, यहोवाले तिनीहरूलाई ख्रीष्टको मसीही राज्यमा स्वर्गीय अधिकार प्राप्त गर्न बोलाउनु हुन्छ।
सानो बगाल
३. सानो बगालको कस्तो महिमित दृश्य यूहन्नाले देखे?
३ त्यसोभए यो अद्भुत सुअवसर पाउने सानो बगाल को हो त? तिनी पवित्र आत्माद्वारा अभिषिक्त हुने येशू ख्रीष्टका अनुयायीहरू हुन्। (प्रेरित २:१-४) हातमा वीणा भएका स्वर्गीय गायकहरूझैं तिनीहरूलाई देखेपछि यूहन्नाले यस्तो लेखे: “अनि मैले देखें, र हेर, सियोन डाँड़ामा थुमा खड़ा हुनुहुन्थ्यो, र उहाँको साथमा उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनका निधारमा लेखिएका एक लाख चवालीस हजार थिए। स्त्रीहरूसँग नबिटुलिएका यिनै हुन्, तिनीहरू कुमारीजस्तै चोखा हुन्। थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने यिनै हुन्। यिनीहरू परमेश्वरमा र थुमामा पहिला फलहरू हुनालाई मानिसहरूमध्येबाट किनिएका थिए। औ तिनीहरूका मुखमा कुनै झूट थिएन। तिनीहरू निर्दोष छन्।”—प्रकाश १४:१, ४, ५.
४. आज पृथ्वीमा सानो बगालले कस्तो भूमिका खेल्छ?
४ सा.यु. ३३ को पेन्तिकोसदेखि यी अभिषिक्त अनि आत्माद्वारा जन्मिएका जनहरूले पृथ्वीमा ख्रीष्टका राजदूतहरूको रूपमा सेवा गरिरहेका छन्। (२ कोरिन्थी ५:२०) आज, तिनीहरूका शेष जनहरू विश्वासी र बुद्धिमान दासको सदस्यको रूपमा सेवा गरिरहेका छन्। (मत्ती २४:४५; प्रकाश १२:१७) विशेषगरि सन् १९३५ देखि पार्थिव आशा भएका लाखौं “अरू भेड़ा[हरू]” तिनीहरूसित सामेल भएका छन्। यिनीहरूले सारा पृथ्वीमा राज्य सुसमाचार प्रचार गर्न मदत गर्छन्।—यूहन्ना १०:१६.
५. पृथ्वीमा बाँकि रहेका सानो बगालका सदस्यहरूको मनोवृत्ति कस्तो छ र तिनीहरू डराउनु पर्ने कारण किन छैन?
५ पृथ्वीमा बाँकि रहेका सानो बगालका शेष जनहरूको मनोवृत्ति कस्तो छ? “हल्लिन नसक्ने राज्य” आफूले प्राप्त गर्न लागेको कुरा थाहा भएकोले तिनीहरू ईश्वरीय भय र डरसहित आफ्नो शुद्ध उपासना चढाउँछन्। (हिब्रू १२:२८) आफूले प्राप्त गर्न लागेको सुअवसर अनमोल छ र त्यसद्वारा असीमित आनन्द प्राप्त हुनेछ भनी तिनीहरूले नम्रतापूर्वक मानी लिन्छन्। राज्यबारे येशूले गर्नुभएको वर्णनअनुसार तिनीहरूले “एउटा बहुमूल्य मोती” भेटाएका छन्। (मत्ती १३:४६) महा संकष्ट नजिकिंदै जाँदा पृथ्वीमा बाँकि रहेका परमेश्वरका अभिषिक्त जनहरू निर्भयी भएर खडा हुन्छन्। “परमप्रभुको महान् र प्रख्यात दिन[को]” दौडान यस संसारमा हुन लागेका घटनाहरूको बावजूद शेष अभिषिक्त जनहरू भविष्यको डरले त्रसित छैनन्। (प्रेरित २:१९-२१) तिनीहरू डराउनै किन पर्छ र?
संख्या घट्छ
६, ७. (क) आज पृथ्वीमा सानो बगालको संख्या किन निकै कम छ? (ख) आफ्नो आशालाई प्रत्येकले कुन दृष्टिकोणले हेर्नुपर्छ?
६ हाल सालहरूमा पृथ्वीमा सानो बगालको संख्या निकै कम भएको छ। यो १९९४ स्मरणार्थ उत्सवको रिपोर्टबाट प्रष्ट भयो। विश्वभरि यहोवाका जनहरूको लगभग ७५,००० मण्डलीहरूमा ८६१७ ले मात्र प्रतीकहरूमा भाग लिएर आफू शेष जनमध्ये भएको प्रदर्शित गरे। (मत्ती २६:२६-३०) जबकि जम्मा उपस्थिति १,२२,८८,९१७ थियो। तर यस्तै हुनेछ भनी अभिषिक्त मसीहीहरूलाई थाहा छ। सानो बगालमा यहोवाले सीमित संख्या अर्थात् १,४४,००० तोक्नुभएको छ र सा.यु. ३३ देखि तिनीहरूलाई जम्मा गर्न थाल्नुभएको छ। त्यो संख्या पूरा भएपछि सानो बगालको बोलावट अन्त हुनेछ र प्रमाणहरूअनुसार विशेष आशिष् प्राप्त जनहरू जम्मा गर्ने कार्य १९३५ मा अन्त भयो भन्नु तर्कसंगत छ। तर अन्तको समयमा अरू भेडा बढेर “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” हुनेछ भनी भविष्यवाणी गरिएको थियो। सन् १९३५ देखि यहोवाले सामान्य रूपमा जम्मा गर्नुभएका मानिसहरू पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने आशा भएका ठूलो भीड़ अन्तर्गत पर्छन्।—प्रकाश ७:९; १४:१५, १६; भजनसंग्रह ३७:२९.
७ हाल पृथ्वीमा बाँकि रहेका सानो बगालका प्रायजसो सदस्यहरू ७०, ८० र ९० वर्ष पुगिसकेका छन्। केहीले सय वर्ष पार गरिसकेका छन्। उमेर जति नै भए तापनि ती सबै स्वर्गीय पुनरुत्थानद्वारा येशू ख्रीष्टसँग एक हुनेछन् र उहाँको महिमित राज्यमा उहाँसँगै राज्य गर्नेछन् भनी यिनीहरू सबैलाई थाहा छ। ठूलो भीडका सदस्यहरू भने त्यस राज्यका राजा, ख्रीष्टका पार्थिव प्रजाहरू हुनेछन्। त्यसकारण अहिले यहोवालाई प्रेम गर्नेहरूको निम्ति साँचेर राख्नुभएको कुराका लागि हामी प्रत्येक रमाऔं। आफूले कुन आशा राख्ने भनी निर्णय गर्नु हाम्रो हातमा छैन। त्यसको निर्णय यहोवा आफैले गर्नुहुन्छ। तसर्थ, दुवै समूह आनन्दित भविष्यको आफ्नो आशाप्रति हर्षित हुनसक्छन्, चाहे त्यो स्वर्गीय राज्य वा राज्य शासन अन्तर्गत पार्थिव प्रमोदवनमा होस्।—यूहन्ना ६:४४, ६५; एफिसी १:१७, १८.
८. एक लाख चवालिस हजारलाई छाप लगाउने काम कहाँसम्म पुग्यो र त्यो पूरा हुँदा के हुनेछ?
८ परमेश्वरका उद्देश्यहरूमा प्राकृतिक इस्राएलको ठाउँ ओगट्ने १,४४,००० को सानो बगाल मिलेर “परमेश्वरको इस्राएल” बनिएको हो। (गलाती ६:१६) तसर्थ, पृथ्वीमा अझै बाँकि रहेका परमेश्वरको आत्मिक इस्राएलका जनहरू शेष वर्गमा समाविष्ट छन्। ती बाँकि रहेकाहरू यहोवाको अन्तिम अनुमोदनका लागि छाप लगाइएका छन्। यी कुराहरू भइरहेको प्रेरित यूहन्नाले दर्शनमा देखे र तिनले यस्तो रिपोर्ट गरे: “औ मैले अर्को एउटा दूतलाई जीवित परमेश्वरको छाप लिएर सूर्योदय हुनेपट्टिबाट उक्लेको देखें, औ पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चारवटा दूतलाई यसो भनेर तिनले ठूलो सोरले भने, ‘हामीले हाम्रो परमेश्वरका दासहरूका निधारमा छाप नलगाउञ्जेलसम्म पृथ्वी, समुद्र र रूखहरूमाथि केही हानि नगर।’ औ छाप लागेकाहरूको संख्या [आत्मिक] इस्राएलीहरूको हरेक कुलबाट गरी एक लाख चवालीस हजारलाई छाप लाएको मैले सुनें।” (प्रकाश ७:२-४) आत्मिक इस्राएललाई छाप लगाउने काम अहिले धेरै अघि बढिसकेकोले चाँडै नै रोमाञ्चकारी घटना घट्ने संकेत स्पष्ट छ। यसकारण स्वर्गदूतहरूले पृथ्वीमा विनाशका चार बतासलाई छोड्दा आउने “महा संकष्ट” एकदम नजिक हुनुपर्छ।—प्रकाश ७:१४.
९. ठूलो भीडको बढ्दो संख्यालाई सानो बगालले कुन दृष्टिकोणले हेर्छ?
९ अहिले जम्मा गरिसकिएका ठूलो भीडका सदस्यहरू लाखौंको संख्यामा पुगिसकेका छन्। शेष वर्गको हृदयलाई त्यसले कति आनन्दित बनाउँदो हो! पृथ्वीमा बाँकि रहेका सानो बगाल दिन प्रतिदिन संख्यात्मक रूपमा सानो हुँदै गए तापनि परमेश्वरको पार्थिव संगठनलाई विस्तार गर्न आवश्यक जिम्मेवारीहरू सँभाल्न तिनीहरूले ठूला भीडका योग्य पुरुषहरूलाई प्रशिक्षित र सुसज्जित पारेका छन्। (यशैया ६१:५) येशूले संकेत गर्नुभएझैं महा संकष्टबाट बाँच्ने व्यक्तिहरू हुनेछन्।—मत्ती २४:२२.
“नडराओ”
१०. (क) परमेश्वरका जनहरूमाथि कस्तो आक्रमण हुन लागेको छ र त्यसपश्चात् के हुनेछ? (ख) हामी प्रत्येकलाई कस्ता प्रश्नहरू सोधिएका छन्?
१० शैतान र त्यसका प्रेतहरूलाई यस पृथ्वीमा झारिसकेको छ। शैतान र त्यसको झुन्ड यहोवाका जनहरूमाथि जबरदस्त आक्रमण गर्न डोऱ्याइएका छन्। यो मागोगको गोगले गर्ने आक्रमण भनी बाइबलमा भविष्यवाणी गरिएको छ। विशेषगरि कसमाथि दियाबले आक्रमण गर्छ? “संसारको केन्द्र[मा]” शान्तिपूर्वक बसिरहेका सानो बगालका बाँकि सदस्यहरू अर्थात् परमेश्वरको आत्मिक इस्राएल र त्यसको परिचालक निकायमाथि नै होइन र? (इजकिएल ३८:१-१२) हो, तर शैतानको आक्रमणको विरुद्ध यहोवा परमेश्वरले तत्कालै कसरी नाटकीय प्रत्युत्तर दिनु हुनेछ भनी विश्वासी अभिषिक्त वर्गका शेष जनहरू र साथमा तिनीहरूका वफादार सहचरहरू अर्थात् अरू भेडाले देख्नेछन्। आफ्ना जनहरूको पक्षमा उहाँले हस्तक्षेप गर्नुहुनेछ र यसैबाट यहोवाको “महा र डरलाग्दो दिन” प्रारम्भ हुनेछ। (योएल २:३१) आज, यहोवाको हस्तक्षेपबारे चेतावनी दिएर विश्वासी र बुद्धिमान दासले महत्त्वपूर्ण, जीवनदायी सेवा सम्पन्न गरिरहेका छन्। (मलाकी ४:५; १ तिमोथी ४:१६) यहोवाको राज्यको सुसमाचार प्रचार गरेर के तपाईंले यस सेवामा सक्रिय सहयोग पुऱ्याउँदै हुनुहुन्छ? निर्भयी राज्य प्रचारकहरूको हैसियतमा के तपाईं त्यस काममा लागिरहनु हुन्छ?
११. आज साहसी मनोवृत्ति राख्नु किन महत्त्वपूर्ण छ?
११ वर्तमान विश्व-परिस्थितिलाई ध्यानमा राख्दा येशूले प्रोत्साहित गर्नुभएको यो मनोवृत्ति राख्नु सानो बगालको लागि कति सामयिक छ: “ए सानो बगाल नडराओ”! यहोवाको उद्देश्यअनुरूप अहिले भइरहेका कुराहरूलाई विचार गर्ने हो भने त्यस्तो साहसी मनोवृत्ति राख्नु अत्यावश्यक छ। व्यक्तिगत तवरमा सानो बगालको प्रत्येक सदस्यले अन्तसम्मै धीरज धर्नु पर्ने आवश्यकता महसुस गर्छन्। (लूका २१:१९) सानो बगालको मालिक तथा प्रभु येशू ख्रीष्टले जसरी आफ्नो पार्थिव जीवन पूरा नहोउन्जेलसम्म धीरज धरेर विश्वासी साबित हुनुभयो त्यसरी नै शेष वर्गका प्रत्येक सदस्यले धीरज धर्नु र विश्वासी साबित हुनैपर्छ।—हिब्रू १२:१, २.
१२. अभिषिक्त मसीहीहरूलाई नडराऊ भनी येशूले झैं पावलले कसरी आग्रह गरे?
१२ सबै अभिषिक्त जनहरूले प्रेरित पावलको जस्तै मनोवृत्ति राख्नुपर्छ। नडराओ भनी येशूले दिनुभएको सल्लाहको सिलसिलामा पुनरुत्थानको अभिषिक्त जन प्रचारकको हैसियतमा प्रेरित पावलले भनेका कुरालाई ध्यान दिनुहोस्। पावलले यसप्रकार लेखे: “मेरो सुसमाचार अनुसार मरेकाबाट बिउँतनुभएको दाऊदका वंशका येशू ख्रीष्टलाई सम्झ, जसमा मैले कुकर्मीझैं कैदसम्मको कष्ट भोगेको छु, तर परमेश्वरको वचन ता बन्धनमा रहँदैन। यसकारण चुनिएकाहरूका खातिर म सबै कुरा सहन्छु, र ख्रीष्ट येशूमा भएको अनन्त महिमा सहितको मुक्ति तिनीहरूले पनि पाऊन्। यो कुरा विश्वासयोग्य छ, ‘हामी उहाँसँग मऱ्यौं भने, उहाँसँगै जिउने पनि छौं, हामीले सह्यौं भने उहाँसँग राज्य पनि गर्नेछौं, हामीले उहाँलाई इन्कार गऱ्यौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ, हामी अविश्वासी छौं भने पनि उहाँ ता विश्वासीनै रहनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नसक्नुहुन्न।’”—२ तिमोथी २:८-१३.
१३. सानो बगालका सदस्यहरूसित कस्तो बलियो विश्वास छ र यसले तिनीहरूलाई के गर्न प्रेरित गर्छ?
१३ प्रेरित पावलजस्तै अभिषिक्त सानो बगालका शेष सदस्यहरू परमेश्वरको वचनमा दिइएको शक्तिशाली समाचारको घोषणा गर्दै सतावट सहन तयार छन्। तिनीहरूको विश्वासले बलियो जरा गाडेको छ। किनभने छुटकारासम्बन्धी र मृत्युसम्मै विश्वासी रहे तिनीहरूलाई “जीवनको मुकुट” दिइनेछ भन्ने विषयमा गरिएका ईश्वरीय प्रतिज्ञाहरूमाथि तिनीहरूले अनवरत विश्वास गर्छन्। (प्रकाश २:१०) तत्कालीन पुनरुत्थान र परिवर्तनको अनुभव गरेपछि ख्रीष्टसँग राजा भएर राज्य गर्न तिनीहरू उहाँसँग एक हुनेछन्। संसारलाई जित्नेहरूको रूपमा निष्ठा कायम गरेबापत कत्रो विजय!—१ यूहन्ना ५:३, ४.
अनुपम आशा
१४, १५. सानो बगालको पुनरुत्थानको आशा किन अनुपम छ?
१४ सानो बगालले आफ्नो मनमा सँगालिराखेको पुनरुत्थानको आशा अनुपम छ। कुन कुन तरिकाहरूमा? एउटा कुरा त, त्यो पुनरुत्थान “धर्मी र अधर्मीहरू[को]” सामान्य पुनरुत्थानभन्दा पहिले हुन्छ। (प्रेरित २४:१५) वास्तवमा अभिषिक्त वर्गको पुनरुत्थान एक किसिमको श्रेष्ठताको क्रममा पर्छ, जुन कुरा १ कोरिन्थी १५:२०, २३ का यी शब्दहरूबाट प्रष्ट हुन्छ: “मर्नेहरूमा पहिलो फल भएर ख्रीष्ट मरेकाहरूबाट बिउँतनुभएको छ। तर हरेक आफ्नो आफ्नै क्रमअनुसार—ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँका आगमनमा ख्रीष्टकाहरू जति।” येशूले देखाउनु भएजस्तै धीरज तथा विश्वास प्राप्त गरिसकेको हुँदा र अझ विशेषगरि सन् १९१८ मा साँचो प्रभु आफ्नो मन्दिरमा आइसक्नु भएकोले आफ्नो पार्थिव जीवनको अन्तपश्चात् आफूले कुन कुरा प्राप्त गर्नेछन् भनी सानो बगाललाई थाहा छ।—मलाकी ३:१.
१५ यस पुनरुत्थानलाई अनुपम मान्ने एउटा थप कारण पावल दिन्छन्। पहिलो कोरिन्थी १५:५१-५३ मा रेकर्ड गरिएअनुसार तिनले यो लेखे: “हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु ‘हामी सबै मरिजाँदैनौं, तर हामी सबैको परिवर्त्तन हुनेछ। एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, . . . किनकि यस विनाशीले अविनाशी, र यस मरणशीलले अमर रूप धारण गर्नैपर्छ।” ख्रीष्टको उपस्थितिको दौडान मर्ने सानो बगालका सदस्यहरूमाथि यी शब्दहरू लागू हुन्छ। मृत्युपश्चात् तिनीहरू लामो समयसम्म अचेत बस्नु पर्नेछैन, बरु “एकै क्षणमा, आँखाको एक निमेषमा” तिनीहरूले अमरता प्राप्त गर्नेछन्।
१६, १७. पुनरुत्थानको आशाको सन्दर्भमा आज विशेषगरि अभिषिक्त मसीहीहरूले कस्तो आशिष् पाएका छन्?
१६ यस जानकारीको आधारमा हामीले प्रकाश १४:१२, १३ मा उल्लिखित प्रेरित यूहन्नाका शब्दहरूको अर्थ बुझ्न सक्छौं। तिनले यो लेखे: “‘परमेश्वरका आज्ञाहरू पालन गर्ने र प्रभु येशूमा विश्वास गर्ने पवित्र जनहरूको धीरज यसैमा छ।’ अनि मैले स्वर्गबाट यसो भन्ने आवाज सुने, ‘यो लेख, अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्। आत्मा भन्नुहुन्छ, तिनीहरूले आफ्ना आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।’”
१७ सानो बगालका शेष जनहरूका लागि कस्तो अनुपम इनाम पर्खिरहेको छ! तिनीहरूको मृत्यु हुनेबित्तिकै पुनरुत्थान हुनेछ। तत्पश्चात् आत्मिक संसारमा आफ्नो जिम्मेवारी सँभाल्दा तिनीहरूले कस्तो उल्लेखनीय परिवर्तन महसुस गर्नेछन्। अहिले सानो बगालको महिमा यस्तो बढोत्तरी भइरहेको र बाइबलका मुख्य मुख्य भविष्यवाणीहरूको पूर्ति हुँदै गइरहेको बेलामा साँच्चै नै सानो बगालका शेष सदस्यहरू ‘डराउनु पर्ने’ कुनै कारण छैन। तिनीहरूको यस्तो निर्भयताले ठूलो भीडका सदस्यहरूलाई प्रोत्साहित गर्छ। संसारले कहिल्यै नभोगेको सबैभन्दा ठूलो संकष्टको समयमा छुटकारा प्राप्त गर्ने प्रत्याशा राख्ने ठूलो भीडकाहरूले पनि निर्भयी मनोवृत्तिको खेती गर्नुपर्छ।
१८, १९. (क) हामी बाँचिरहेको समय किन महत्त्वपूर्ण छ? (ख) अभिषिक्त र अरू भेडा दुवै वर्गकाहरू डराउनु पर्ने किन कुनै कारण छैन?
१८ सानो बगालका क्रियाकलापहरू सम्झँदा तिनीहरू र साथै ठूलो भीडलाई साँचो परमेश्वरको भय मान्न सक्षम बनाउँछ। परमेश्वरले न्याय गर्नुहुने समय आइसकेको छ र बाँकि रहेको अनुकूल समय अमूल्य छ। अरू व्यक्तिहरूले तुरुन्तै कदम चालिहाल्न समय निस्सन्देह सीमित छ। यद्यपि, हाम्रो सम्बन्धमा भने परमेश्वरका उद्देश्यहरू असफल हुनेछन् भनी हामी डराउँदैनौं। निस्सन्देह त्यो सफल हुनेछ!
१९ अहिले नै चर्को स्वर्गीय आवाजहरूले यसो भनेको सुनिसकिएको छ: “पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” (प्रकाश ११:१५) महान गोठाला, यहोवाले अवश्य आफ्ना सबै भेडाहरूलाई ‘आफ्नै नाउँको खातिर धार्मिकताका मार्गमा’ डोऱ्याउनुहुँदैछ। (भजनसंग्रह २३:३) सानो बगाललाई अचूक ढंगमा तिनीहरूको स्वर्गीय इनामतर्फ डोऱ्याइँदैछ। अनि ख्रीष्ट येशूको शासन अधीनस्थ परमेश्वरको महिमित राज्यको पार्थिव क्षेत्रमा अनन्त जीवनको आनन्द उठाउन अरू भेडाहरूलाई सुरक्षापूर्वक महा संकष्ट पार गराइनेछ। यसर्थ, येशूका शब्दहरू सानो बगाललाई भनिएको भए तापनि निस्सन्देह परमेश्वरका सबै जनहरूले यी शब्दहरू सुन्नुपर्ने ठोस कारण छ: “नडराओ।”
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ सानो बगालको शेष संख्या घट्नेछ भनेर हामीले किन आशा गर्नुपर्छ?
◻ आज अभिषिक्त शेष जनहरूको परिस्थिति कस्तो छ?
◻ मागोगको गोगको आउँदै गरेको आक्रमणको बावजूद मसीहीहरू किन डराउनु पर्दैन?
◻ विशेषगरि आज १,४४,००० को पुनरुत्थानको आशा किन अनुपम छ?