विश्वास गर्नेहरूलाई बचाउन यहोवाद्वारा “मूर्खताको” प्रयोग
“किनकि जब परमेश्वरको ज्ञानअनुसार [बुद्धि, न्यु व०] संसारले परमेश्वरलाई ज्ञानद्वारा चिनेनन्, तब प्रचारको मूर्खताद्वारा विश्वास गर्नेहरूलाई उद्धार गर्न परमेश्वरलाई असल लाग्यो।”—१ कोरिन्थी १:२१.
१. यहोवाले “मूर्खताको” प्रयोग कसरी गर्नुहुन्छ र संसारले आफ्नो बुद्धिको प्रयोगद्वारा परमेश्वरलाई चिन्न सकेन भनी हामीलाई कसरी थाह भएको छ?
त्यस्तो के भन्नु भएको? के यहोवाले पनि कहिले मूर्खताको प्रयोग गर्नु हुन्थ्यो र? साधारणतया गर्नु हुँदैन! तर संसारको नजरमा मूर्ख देखिने कुरालाई उहाँले प्रयोग गर्न सक्नु हुन्छ र गर्नु पनि हुन्छ। उहाँलाई प्रेम गर्ने र उहाँलाई चिन्ने मानिसहरूलाई बचाउनका लागि उहाँ यसो गर्नु हुन्छ। आफ्नो बुद्धिको प्रयोगद्वारा संसारले परमेश्वरलाई चिन्न सक्तैन। येशू ख्रीष्टले प्रार्थना गर्नु हुँदा, यो कुरा स्पष्ट पारिदिनु भयो: “हे धार्मिक पिता, संसारले तपाईंलाई चिनेन्।”—यूहन्ना १७:२५.
२. बाहिरबाट हेर्दा यहोवाका मार्गहरू र संसारका मार्गहरू कसरी एउटै देखिन सक्छन्, तर तथ्य के हो?
२ यहोवाका मार्गहरू संसारका मार्गहरू भन्दा बेग्लै छन् भनेर येशूका यी शब्दहरूले सङ्केत गर्दछन्। बाहिरबाट हेर्दा त परमेश्वरको र संसारको उद्देश्य एकनास जस्तो देखिन सक्छन्। संसारले गरेका प्रयासहरू माथि परमेश्वरको आशिष पनि छ जस्तो देखिन सक्छ। उदाहरणका लागि, बाइबल भन्दछ कि पृथ्वीमा मानिसजातिलाई शान्त, सुखमय र सबै कुरा सम्पन्न भएको जीवन प्रदान गर्नका लागि परमेश्वरले एउटा धार्मिक राज्य स्थापित गर्नु हुने छ। (यशैया ९:६, ७; मत्ती ६:१०) यस्तैगरी, संसारले पनि एउटा तथाकथित नयाँ विश्व व्यवस्थाद्वारा मानिसहरूलाई शान्ति, सुख र सम्पन्नता प्रदान गर्ने आफ्नो उद्देश्यको घोषणा गर्दछ। तर परमेश्वरको उद्देश्य र संसारको उद्देश्य एउटै होइनन्। यहोवाको उद्देश्य आफूलाई विश्वको सार्वभौम सत्ताधारी साबित गर्नु हो। यो कार्य उहाँले स्वर्गमा केन्द्रित एउटा सरकारद्वारा गर्नु हुने छ। यसै सरकारले सबै पार्थिव सरकारहरूलाई नष्ट गरिदिने छ। (दानियल २:४४; प्रकाश ४:११; १२:१०) अतः, परमेश्वर र संसार बीच कुनै समानता छैन। (यूहन्ना १८:३६; १ यूहन्ना २:१५-१७) यसैकारण, बाइबलले दुई प्रकारका बुद्धिहरूको विषयमा कुरा गर्दछ—“परमेश्वरको ज्ञान [बुद्धि, न्यु व०]” र “संसारको ज्ञान [बुद्धि, न्यु व०]।”—१ कोरिन्थी १:२०, २१.
सांसारिक बुद्धिको आधारभूत त्रुटि
३. संसारको बुद्धि हेर्नमा प्रभावशाली भए तापनि, मानिसले प्रतिज्ञा गरेको नयाँ विश्व व्यवस्था किन कहिले पनि सन्तोषजनक हुन सक्तैन?
३ परमेश्वरको बुद्धिद्वारा निर्देशित नभएका मानिसहरू संसारको बुद्धि देखेर प्रभावित हुन्छन्। त्यहाँ मन लोभ्याउने र सुन्नमा उच्च लाग्ने सांसारिक दर्शनहरू छन्। सर्वश्रेष्ठ मानव मस्तिष्क भनी ठानिएका व्यक्तिहरू द्वारा उच्चशिक्षा प्रदान गर्ने हजारौं शिक्षालयहरू छन्। कयौं शताब्दीहरू देखिन् जम्मा गरिएका मानव अनुभवद्वारा प्राप्त ज्ञानले ठूला-ठूला पुस्तकालयहरू भरिभराउ छन्। तथापि, यी सबै हुँदा हुँदै पनि सांसारिक शासकहरूले विचार गरेको नयाँ विश्व व्यवस्था आखिर असिद्ध र पापको कलङ्क लागेका मरणशील मानिसहरूको शासन बाहेक अरू केही हुने होइन। अतः, त्यो व्यवस्था असिद्ध हुनेछ। त्यसले बितेका समयमा गरिएका भूलहरू दोहोर्याउने छ र मानिसजातिका सबै आकाङ्क्षाहरूलाई कहिले पनि पूरा गर्न सक्ने छैन।—रोमी ३:१०-१२; ५:१२.
४. संसारको नयाँ विश्व व्यवस्था कुन कुन कुराको वशमा छ र यसको परिणाम के हुन्छ?
४ मानिसद्वारा आयोजित त्यो नयाँ विश्व व्यवस्थामाथि मानव कमजोरीको प्रभाव पर्ने छ। तर यति मात्र होइन। त्यो व्यवस्था दियाबल अर्थात् शैतान र त्यसका दूतहरूको अथवा दुष्ट आत्मिक व्यक्तिहरूको अधीनमा हुने छ। हो, मानिसहरूले “[ख्रीष्टको] महिमाको सुसमाचार”-माथि विश्वास नगरून् भनेर शैतानले तिनीहरूको मनलाई अन्धो पारिदिएको छ। (२ कोरिन्थी ४:३, ४; एफिसी ६:१२) फलःस्वरूप, संसारमाथि एउटा पछि अर्को व्यथा आइलाग्छ। ईश्वरको मद्दत बिना र ईश्वरीय इच्छाको केही वास्ता नराख्दै त्यसले स्वयंलाई शासन गर्ने सङ्घर्षपूर्ण प्रयास गर्दछ। तर यसको परिणामस्वरूप, त्यसले अनेक कष्ट र दुःख भोग्दछ। (यर्मिया १०:२३; याकूब ३:१५, १६) अतः प्रेरित पावलले भने झैं, “संसारले [त्यसको] ज्ञानद्वारा परमेश्वरलाई चिनेन्।”—१ कोरिन्थी १:२१.
५. यो संसारको बुद्धिको आधारभूत त्रुटि के हो?
५ यसकारण, संसारको बुद्धि अथवा एउटा नयाँ विश्व व्यवस्था ल्याउने योजनाको मूल त्रुटि के हो त? त्रुटि यो हो—संसारले यस्तो कुराको उपेक्षा गर्दछ जसलाई कदापि पनि सफलतापूर्वक उपेक्षा गर्न सकिन्दैन र त्यो हो यहोवाको सर्वोच्च सार्वभौमिकता। संसारले घमण्ड गर्दै ईश्वरीय सार्वभौमिकतालाई अस्वीकार गर्दछ। संसारले जानीजानी यहोवालाई त्यसका कुनै पनि योजनाहरूमा सामेल गर्दैन। त्यो आफ्नै योग्यता र योजनाहरूमा भर पर्दछ। (दानियल ४:३१-३४ सँग तुलना गर्नु होस्; यूहन्ना १८:३७) “परमप्रभुको डर मान्नु बुद्धिको प्रथम खुडकिलो हो” भन्दै बाइबलले स्पष्टसँग बताउँदछ। (हितोपदेश ९:१०; भजनसंग्रह १११:१०) तर पनि संसारले भने बुद्धि प्राप्तिको आधारभूत आवश्यकता समेत सिकेको छैन। अतः, ईश्वरीय मद्दत बिना यो सफल कसरी हुन सक्छ?—भजनसंग्रह १२७:१.
राज्यको प्रचार मूर्खता अथवा व्यावहारिक?
६, ७. (क) परमेश्वरको बुद्धिद्वारा निर्देशित व्यक्तिहरू के को विषयमा प्रचार गरिरहेका छन्, तर संसारले तिनीहरूलाई कुन दृष्टिले हेर्छन्? (ख) मसीही जगतका पादरीहरू कसको बुद्धिको प्रयोग गर्दै प्रचार गर्दछन् र यसको परिणाम के भएको छ?
६ यसका विपरीत, जसजसले परमेश्वरलाई चिन्दछन्, तिनीहरूले परमेश्वरको बुद्धि प्रदर्शित गर्छन् र त्यसै अनुसार हिंड्न रोज्छन्। येशूले अग्रिमवाणी गर्नु भए झैं, तिनीहरूले “राज्यको सुसमाचार . . . सारा संसारमा” प्रचार गरिरहेका छन्। (मत्ती २४:१४; २८:१९, २०) हाम्रो पृथ्वी हिंसा, प्रदूषण, गरिबी र मानव कष्टले अहिले भरिएको बेलामा, के यस प्रकारको प्रचारकार्य व्यावहारिक हो र? सांसारिक तवर्मा बुद्धिमान हुनेहरूका लागि यस प्रकार परमेश्वरको राज्यको विषयमा प्रचार गर्नु एउटा मूर्खता हो। यसमा तिनीहरूले अलिकता पनि व्यावहारिकता देख्तैनन्। तिनीहरूको नजरमा परमेश्वरको राज्यका यी प्रचारकहरू राष्ट्रको प्रगतिमा एउटा बाधा मात्र हुन् र आदर्श राजनैतिक सरकार विकास गर्ने क्रमको गतिलाई यी प्रचारकहरूले सुस्त पारिदिन्छन्। यस प्रकारको काममा, तिनीहरूलाई मसीही जगतका पादरीहरूले पनि समर्थन गर्छन्। ती पादरी वर्गले पनि यही संसारको बुद्धिअनुसार प्रचार गर्छन्। तिनीहरूले परमेश्वरको नयाँ संसार र त्यसको राज्य सरकारबारे जान्नु पर्ने कुराहरू मानिसहरूलाई सिकाउँदैनन्, जबकि ख्रीष्टले दिनु भएको मौलिक शिक्षाको विषय नै यही थियो।—मत्ती ४:१७; मर्कूस १:१४, १५.
७ इतिहासकार एच० जी० वेल्सले मसीही जगतको पादरी वर्गको गल्तीलाई औल्याउँदै यसो भने: “येशूले स्वर्गको राज्यको शिक्षालाई अति नै ठूलो महत्त्व दिनु भयो। तर यसको तुलनामा यसै शिक्षालाई धेरै जसो मसीही गिर्जाहरूले तिनीहरूका गतिविधि र शिक्षाहरूमा केही विशेष महत्त्व दिएका छैनन्।” तर जीवन पाउनका निम्ति, यस पुस्ताका मानिसहरूले सर्वप्रथम परमेश्वरको स्थापित राज्यको विषयमा सुन्नु आवश्यक छ। यसका लागि, सुसमाचार बारे तिनीहरूलाई कसैले गएर प्रचार गर्न जरुरी छ।—रोमी १०:१४, १५.
८. परमेश्वरको सुसमाचार प्रचार गर्नु आज सबैभन्दा व्यावहारिक कुरा किन हो, तर के गर्नाले चाहिं केही स्थायी लाभ हुने छैन?
८ अतः, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु आज सबैभन्दा व्यावहारिक कुरा हो। यी आखिरी दिनहरूका ‘डरलाग्दा समय’-मा मानिसहरूलाई के गरौं, कसो गरौं भइ रहेको छ। तर राज्यको सन्देशले तिनीहरूलाई एउटा साँचो आशा प्रदान गर्दछ। यसले मानिसहरूको हृदयलाई आनन्दले भरिदिन्छ। (२ तिमोथी ३:१-५; रोमी १२:१२; तितस २:१३) यस संसारमा जीवन अनिश्चित र छोटो छ। तर परमेश्वरको नयाँ संसारमा भने अनन्तकालसम्म, आनन्द, प्रशस्तता र शान्तिका साथ ठीक यसै पृथ्वीमा जीवनको आनन्द उठाउन सकिनेछ। (भजनसंग्रह ३७:३, ४, ११) येशू ख्रीष्टले भन्नु भए झैं: “किनकि सिङ्गै पृथ्वी प्राप्त गरेर आफ्नो प्राण चाहिं गुमाउँछ भने, मानिसलाई के लाभ हुनेछ र? अथवा आफ्नो प्राणको बदलामा मानिसले के देला र?” कुनै व्यक्तिले परमेश्वरको नयाँ संसारमा जीवन पाउने अधिकार गुमाउछ भने, यो बितेर जाने संसारको के काम? त्यस व्यक्तिले वर्तमानमा भौतिक कुराहरूबाट उठाएको आनन्द निरर्थक, व्यर्थ र अल्पकालीन हुने छ।—मत्ती १६:२६; उपदेशक १:१४; मर्कूस १०:२९, ३०.
९. (क) येशूको अनुयायी हुन निम्त्याइएको एक जना मानिसले यो काम स्थगित गर्ने कोशिश गर्दा, येशूले तिनलाई के सल्लाह दिनु भयो? (ख) येशूले दिनु भएको जवाफले हामीमा के असर पार्नु पर्ने हो?
९ येशूले एक जना व्यक्तिलाई आफ्नो अनुयायी हुन निम्ताउनु हुँदा, तिनले जवाफमा यसो भने: “पहिले मेरा बाबुलाई गाडन देओ।” येशूले तिनलाई के सल्लाह दिनुभयो? आफ्ना आमा-बाबु नमरुञ्जेलसम्म पर्खेर बस्दा, त्यस व्यक्तिलले एउटा अति नै महत्त्वपूर्ण कार्यलाई स्थगित गरेको हुने थियो। यसकारण येशूले प्रतिउत्तरमा तिनलाई यसो भन्नुभयो: “मुर्दाहरूलाई आफ्नै मुर्दा गाडन देओ, तर तिमी गएर परमेश्वरको राज्यको प्रचार गर।” (लूका ९:५९, ६०) ख्रीष्टको आज्ञा पालन गर्दै बुद्धि प्रदर्शित गर्ने व्यक्तिहरूले राज्यको सन्देश प्रचार गर्ने आफ्नो जिम्मावारीलाई पन्छाउनु मिल्दैन। यो संसार र त्यसका शासकहरू नष्ट हुनेछन् भन्ने तथ्यको जानकारी तिनीहरूले ईश्वरीय बुद्धिद्वारा पाउँदछन्। (१ कोरिन्थी २:६; १ यूहन्ना २:१७) परमेश्वरको सार्वभौमिकताका समर्थकहरू जान्दछन् कि मानिसजातिका लागि एक मात्र साँचो आशा ईश्वरीय हस्तक्षेप र शासन हो। (जकरिया ९:१०) अतः संसारिक बुद्धि हुनेहरूले परमेश्वरको राज्यमा विश्वास गर्दैनन् र त्यो स्वर्गीय सरकार रुचाउँदैनन्। तर ईश्वरीय बुद्धिअनुसार हिंड्नेहरूले चाहिं आफ्ना सङ्गी मानवहरू वास्तवमा लाभन्वित हुने काम गर्दछन् र तिनीहरूलाई यहोवाले प्रतिज्ञा गर्नु भएका नयाँ संसारमा अनन्त जीवनका लागि तयार पार्दछन्।—यूहन्ना ३:१६; २ पत्रुस ३:१३.
“नष्ट हुनेहरूका निम्ति मूर्खता”
१०. (क) तार्ससको शावलको धर्म-परिवर्तन हुँदा तिनले के काम गर्न थाले र तिनको नजरमा त्यो काम कस्तो थियो? (ख) प्राचीन युनानीहरू कुन कुराका लागि प्रसिद्ध थिए तर परमेश्वरले तिनीहरूको बुद्धिलाई कुन दृष्टिले हेर्नु हुन्थ्यो?
१० तार्ससका शावल जो पछि गएर येशूका प्रेरित पावल भए, तिनले यो जीवन बचाउने काम अपनाए। येशू ख्रीष्टले शावलको धर्म-परिवर्तन गराइ दिनु भएर तिनलाई एउटा मूर्खतापूर्ण काममा खटाउनु भयो भनी सोच्नु के मनासिब हो? पावलले यस प्रकार सोचेनन्। (फिलिप्पी २:१६) त्यति खेर, युनानीहरू संसारका सबैभन्दा विद्वान मानिसहरू ठानिन्थ्यो। तिनीहरू आफ्ना महान दार्शनिकहरू र बुद्धिमान पुरुषहरूमा गौरव गर्दथिए। पावल युनानी भाषा बोल्न सक्थे। तापनि, तिनी युनानी दर्शन र शिक्षा अनुरूप हिंड्दैन थिए। किन? किनभने यस प्रकारको सांसारिक बुद्धि परमेश्वरको नजरमा मूर्खता हो।a पावलले ईश्वरीय बुद्धिको खोजी गरेको हुनाले, तिनी मानिसहरूको घर-घर गएर सुसमाचार प्रचार गर्न प्रेरित भएका थिए। इतिहासको सबैभन्दा महान प्रचारक, येशू ख्रीष्टले उदाहरण कायम गरिदिनु भएको थियो र उहाँले नै पावललाई पनि यो काम गर्न अह्राउनु भएको थियो।—लूका ४:४३; प्रेरित २०:२०, २१; २६:१५-२०; १ कोरिन्थी ९:१६.
११. प्रचार गर्ने आफ्नो जिम्मेवारी र संसारको बुद्धिबारे पावलले भनेका कुराको निचोड के हो?
११ पावलले उहाँको प्रचार गर्ने आफ्नो जिम्मेवारीको विषयमा यसो भन्छन्: “किनभने ख्रीष्टले मलाई . . . सुसमाचार प्रचार गर्न पठाउनुभएको हो। कुराको चतुर्याइँमा होइन, नत्रता ख्रीष्टको क्रूस बेकम्मा हुनेथियो। किनभने क्रूसको कुरा [येशूले चढाउनु भएको छुटकाराको बलिदान] नष्ट हुनेहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूका निम्ति ता परमेश्वरको शक्ति हो। किनभने लेखिएको छ, ‘म ज्ञानीहरूका ज्ञान नाश पार्नेछु, औ बुद्धिमानहरूका बुद्धिलाई रद्दी तुल्याउनेछु।’ ज्ञानी खोइ त? शास्त्री कहाँ? यस युगको बहस गर्ने कहाँ? के परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएन? किनकि जब परमेश्वरको ज्ञानअनुसार संसारले परमेश्वरलाई ज्ञानद्वारा चिनेन्, तब प्रचारको मूर्खताद्वारा विश्वास गर्नेहरूलाई उद्धार गर्न परमेश्वरलाई असल लाग्यो।”—१ कोरिन्थी १:१७-२१.
१२. “प्रचारको मूर्खता” द्वारा यहोवाले के सम्पन्न गर्नु हुँदैछ र ‘माथिबाट आएको ज्ञान’ चाहनेहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्नेछन्?
१२ हामीलाई पत्यार गर्न गाह्रो लागे तापनि, जसजसलाई संसारले मूर्ख ठान्छन्, तिनीहरूलाई नै यहोवाले आफ्ना प्रचारकहरूको हैसियतमा प्रयोग गर्नु हुन्छ। हो, यी प्रचारकहरूको सेवकाईको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई परमेश्वरले बचाउनु हुन्छ। यहोवाले मिलाउनु भएको प्रबन्ध अन्तर्गत “मूर्खताका” प्रचारकहरूले पनि आफूमा घमण्ड गर्न सक्तैनन् नता अरू मानवहरूले तिनीहरूकहाँ आएर सुसमाचार सुनाउने व्यक्तिहरूमा गौरव गर्न पाउने छन्। “कोही प्राणीले परमेश्वरको सामने घमण्ड गर्न नपाओस् भनेर” नै यस्तो प्रबन्ध गरिएको हो। (१ कोरिन्थी १:२८-३१; ३:६, ७) हुनः त, प्रचारकले एउटा महत्त्वपूर्ण भूमिका निभाउँदछ। तर मुक्ति भने तिनले प्रचार गर्ने सन्देशमाथि विश्वास गरेको खण्डमा मात्र पाउन सकिन्छ। हेर्नमा प्रचारक मूर्ख, नम्र होला। सतावट सहन गर्दै पनि तिनी घर-घर गइरहेको होला। तर ‘माथिबाट आउने ज्ञान’ चाहनेहरूले ती कुराहरूको वास्ता गर्ने छैनन्। तिनीहरूले प्रचारकको सन्देशलाई तिरस्कार गर्ने छैनन्। बरु, नम्र जनहरूले राज्यको एक जना प्रचारकलाई आदर गर्ने छन्। तिनलाई यहोवाले पठाउनु भएको हो र तिनी परमेश्वरको नाउँमा आउँदछन् भनेर तिनको सम्मान नै गर्नेछन्। प्रचारकले मौखिक र लिखित, दुवै रूपमा ल्याएका सन्देशलाई यी नम्र जनहरूले ठूलो महत्त्व दिनेछन्।—याकूब ३:१७; १ थिस्सलोनिकी २:१३.
१३. (क) ख्रीष्टको मृत्युबारे प्रचारगर्दा, यसलाई यहूदीहरू र युनानीहरूले कुन दृष्टिले हेर्द थिए? (ख) येशूका अनुयायी हुनका लागि कुन श्रेणीबाट धेरै मानिसहरू बोलाइएनन् र किन?
१३ परमेश्वरका मार्गहरूका विषयमा आफ्नो छलफल कायम राख्दै, पावल भन्छन्: “यहूदीहरू ता चिह्न माग्छन्, औ ग्रीकहरू ज्ञानका खोजमा छन्, तर हामीचाहिं क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार गर्दछौं जो यहूदीहरूका निम्ति बाधा, र अन्यजातिहरूका निम्ति मूर्खता छ। तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होस्, चाहे ग्रीकहरू होस्, ख्रीष्ट परमेश्वरको शक्ति र परमेश्वरको ज्ञान हुनुहुन्छ। किनभने परमेश्वरको मूर्खता मानिसहरूको ज्ञानभन्दा श्रेष्ठ छ, औ परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्तिशाली छ। किनभने ए भाइ हो, तिमीहरू आफ्नो बोलावटलाई विचार गर, शरीरअनुसार धेरै जना शक्तिमान, धेरैजना खानदानीलाई बोलावट भएको छैन। तर बुद्धिमानहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशाली कुराहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई चुन्नुभयो।”—१ कोरिन्थी १:२२-२७; यशैया ५५:८, ९ सँग तुलना गर्नुहोस्.
१४. (क) यहोवाका साक्षीहरूलाई तिनीहरूको सिफारिस-पत्रहरू बारे कसैले सोध्दा, तिनीहरूले के देखाउँछन्? (ख) सांसारिक बुद्धि प्रदर्शित गर्दै पावलले युनानीहरूलाई प्रसन्न तुल्याउन किन चाहेनन्?
१४ येशू पृथ्वीमा हुनुहुँदा, यहूदीहरूले स्वर्गबाट एउटा चिह्न माँगे। (मत्ती १२:३८, ३९; १६:१) तर येशूले कुनै पनि चिन्ह दिन चाहनु भएन। त्यस्तैगरी, यहोवाका साक्षीहरूले आज चिन्हको रूपमा कुनै पनि सिफारिस-पत्रहरू प्रस्तुत गर्दैनन्। बरु, सुसमाचार प्रचार गर्ने आफ्नो जिम्मावारीलाई तिनीहरूले औंल्याउँदछन्। यी जिम्मेवारी बाइबलमा, यशैया ६१:१, २; मर्कूस् १३:१०; र प्रकाश २२:१७ जस्ता पद्यहरूमा उल्लेखित छन्। प्राचीन समयका युनानीहरूले बुद्धि र उच्चकोटिको सांसारिक शिक्षा खोज्द थिए। पावल पनि सांसारिक बुद्धिमा पोख्त थिए तर तिनले यसको प्रर्दशन गरेर युनानीहरूलाई प्रसन्न तुल्याउन चाहेनन्। (प्रेरित २२:३) तिनले साहित्यिक युनानी भाषा प्रयोग गर्नुको सट्टा, साधारण मानिसहरूले बोलचाल गर्दा प्रयोग गर्ने युनानी भाषा बोल्द थिए र लेख्त थिए। पावलले कोरिन्थीहरूलाई यसो भने: “ए भाइ हो, जब म तिमीहरू कहाँ आए, तब बात र ज्ञानको सर्वश्रेष्ठतामा परमेश्वरको रहस्य सुनाउन म आएको थिइनँ। . . . औ मेरो वचन र मेरो प्रचार मानिसको ज्ञानका लोभ्याउने कुराहरूमा होइन, तर आत्मा र शक्तिको प्रदर्शनमा थियो, कि तिमीहरूको विश्वास मानिसहरूको ज्ञानमा होइन, तर परमेश्वरको शक्तिमा रहोस्।”—१ कोरिन्थी २:१-५.
१५. सुसमाचारको ठट्टा गर्ने मानिसहरूलाई पत्रुसले कुन कुराको सम्झना गराउँदछन् र कसरी वर्तमान स्थिति नूहको समय जस्तै छ?
१५ यी आखिरी दिनहरूमा, परमेश्वरको आउन लागेको नयाँ संसारको सुसमाचार र यो जगतको अन्तबारे सुनेर गिल्ला गर्ने व्यक्तिहरू छन्। तर तिनीहरूलाई प्रेरित पत्रुसले नूहको समयको “संसार जलमय भएर नष्ट भएको” कुराको सम्झना गराउँदछन्। (२ पत्रुस ३:३-७) त्यस्तो जलप्रलय आउन लागेको बेलामा, नूहले के गरे? धेरै जसो मानिसहरूलाई नूहले एउटा विशाल जहाजको निर्माण गरेको कुराको मात्र सम्झना हुन्छ। तर पत्रुसको भनाइअनुसार, परमेश्वरले त्यो प्राचीन संसारलाई जलमय पार्नु हुँदा, उहाँले “धर्मका प्रचारक नूह र अरू सात जनाहरूलाई जोगाउनुभयो।” (२ पत्रुस २:५) जलप्रलय आउन भन्दा पहिलेका ती मानिसहरूले आफ्नो सांसारिक बुद्धिमा भरोसा राख्दै नूहले प्रचार गरेको सन्देशको ठट्टा गरे र तिनलाई मूर्ख, अवास्तविक र अव्यावहारिक भने। आज, साँचो मसीहीहरूले पनि त्यस्तै प्रकारको स्थितिको सामना गरिरहेका छन्। येशूले पनि हाम्रो पुस्तालाई नूहको समयसित तुलना गर्नु भएको थियो। तथापि, गिल्ला गर्नेहरूको बावजूद, राज्यको सुसमाचारको प्रचार कुनै गफमात्र होइन। नूहले गरेको प्रचार जस्तै, यसको पनि अर्थ मुक्ति हो!—प्रचारक र प्रचारकको कुरा सुन्ने, दुवैका निम्ति।—मत्ती २४:३७-३९; १ तिमोथी ४:१६.
‘बुद्धिमान बन्नका लागि मूर्ख बन्नु’
१६. यो संसारको बुद्धिलाई आर-मागेडोनमा के हुने छ र परमेश्वरको नयाँ संसारमा बाँच्नेहरू को हुनेछन्?
१६ चाँडै नै, आर-मागेडोनमा, यहोवा परमेश्वरले सबै “ज्ञानीहरूको ज्ञान” नष्ट गरिदिनु हुने छ। एउटा नयाँ विश्व व्यवस्थाद्वारा मानिसजातिका लागि उच्चतम स्थिति ल्याउने छ भनेर अग्रिमवाणी बोल्ने सारा “बुद्धिमानहरूका बुद्धिलाई” उहाँले एकातिर पन्छाइ दिनु हुने छ। “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाइँ”-ले भएभरको आडम्बर, दर्शन र सांसारिक बुद्धिलाई भस्म पारिदिनेछ। (१ कोरिन्थी १:१९; प्रकाश १६:१४-१६) संसारको नजरमा मूर्ख देखिने यहोवाको महिमावान राज्यको सुसमाचारप्रति आज्ञाकारी हुनेहरूले मात्र त्यो युद्धमा बाँचेर परमेश्वरको नयाँ संसारमा जीवन प्राप्त गर्ने छन्।
१७. यहोवाका साक्षीहरू कसरी ‘मूर्ख’ भएका छन् र परमेश्वरको सुसमाचार प्रचार गर्नेहरूले के गर्ने फैसला गरेका छन्?
१७ यो संसारले मूर्ख ठान्ने कुराको प्रचार गर्नु, यहोवाको आत्माद्वारा निर्देशित उहाँका साक्षीहरू लाज मान्दैनन्। संसारको नजरमा बुद्धिमान हुने कोशिश गर्नुको सट्टा, तिनीहरू ‘मूर्ख’ भइदिएका छन्। कसरी? आफूलाई बुद्धिमान तुल्याउने राज्यको प्रचार गर्ने काम गरेर। जस्तो कि पावलले लेखे: “तिमीहरू मध्ये कसैले यस संसारमा आफैलाई बुद्धिमान सम्झन्छ भने, त्यो मूर्ख बनोस् र त्यो बुद्धिमान हुनेछ।” (१ कोरिन्थी ३:१८-२०) यहोवाका साक्षीहरू जान्दछन् कि तिनीहरूले प्रचार गरिरहेको सन्देशमा मानिसहरूको प्राण बचाउन सक्ने शक्ति छ। यसैकारण, तिनीहरूले यो संसार र यसको सबै बुद्धि आर-मागेडोनमा नाश नहोउञ्जेलसम्म, यो समाचारको प्रचार निरन्तर गरिरहने छन्। चाँडै नै, यहोवा परमेश्वरले उहाँको विश्वव्यापी सार्वभौमिकता साबित गर्नु हुने छ र वर्तमान “प्रचारको मूर्खतामा” विश्वास गर्ने र त्यस बमोजिम काम गर्नेहरूलाई अनन्त जीवन दिनु हुनेछ। (w92 9/15)
[फुटनोट]
a प्राचीन युनानका बुद्धिजीवीहरूले गरेका दार्शनिक छलफल र अनुसन्धानहरूको बावजूद तिनीहरूका लेखहरूमा एउटा पनि वास्तविक आशा चाहिं पाइन्दैन। प्रोफेसर जे० आर० एस० स्टेरेट र सेमुएल एङ्गस यसो भन्छन्: “जीवनका दुःखहरू, प्रेमको अल्पकालीनता, आशाले दिने धोका र मृत्युको कठोरताबारे जतिको विलाप युनानी साहित्यले गर्दछ, त्यति त अरू कुनै साहित्यले पनि गरेको छैन।”—फङ्क एन्ड वेग्नेलिस् न्यु “स्टेन्डर्ड” बाइबल डिक्शनेरी, १९३६, पृष्ठ ३१३। (Funk and Wagnalis New “Standard” Bible Dictionary, 1936, page 313.)
तपाईंका जवाफहरू के हुन्?
◻ कुन दुई प्रकारका बुद्धिहरू छन्?
◻ यो संसारको बुद्धिको आधारभूत त्रुटि के हो?
◻ सुसमाचारको प्रचार गर्नु किन सबैभन्दा व्यावहारिक कुरा हो?
◻ सबै सांसारिक बुद्धिलाई चाँडै नै के हुने छ?
◻ संसारले मूर्खता ठानेको कुरा प्रचार गर्न यहोवाका साक्षीहरू किन लाज मान्दैनन्?