पाठकहरूका प्रश्नहरू
पावलले २ कोरिन्थी ६:१४ मा “विश्वास नगर्नेहरू” भन्ने पदावली चलाएर कसलाई सङ्केत गर्न खोजेका हुन्?
हामी २ कोरिन्थी ६:१४ मा यस्तो लेखिएको पाउँछौं: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।” सन्दर्भलाई हेर्ने हो भने, पावलले मसीही मण्डलीका सदस्य नभएका व्यक्तिविशेषबारे बताइरहेका थिए भन्ने कुरा स्पष्ट हुन्छ। यस स्पष्टीकरणलाई पावलले अन्य पदहरूमा चलाएको “अविश्वासी” अथवा “विश्वास नगर्नेहरू” जस्ता पदावलीहरूले समर्थन गर्छ।
उदाहरणको लागि, “विश्वास नगर्नेहरूको सामने” अदालत गएकोमा पावलले गम्भीर हप्की दिए। (१ कोरिन्थी ६:६) यहाँ विश्वास नगर्नेहरू भनेका कोरिन्थको न्याय प्रणालीमा कार्यरत न्यायाधीशहरू हुन्। पावल, आफ्नो दोस्रो पत्रमा शैतानले “अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ” भनी लेख्छन्। सुसमाचारबाट वञ्चित गराउन यस्ता अविश्वासीहरूको आँखामा ‘घुम्टो’ राखिएको छ। यस्ता अविश्वासीहरूले यहोवाको सेवा गर्नमा कुनै चासो देखाएका छैनन् किनकि पावलले सुरुमै यसो भने: “जब प्रभुतिर [“यहोवातिर”, NW] मानिस फर्कन्छ, तब त्यो घुम्टो उठाइन्छ।”—२ कोरिन्थी ३:१६; ४:४.
कोही-कोही अविश्वासीहरू अधर्म अथवा मूर्तिपूजामा संलग्न छन्। (२ कोरिन्थी ६:१५, १६) यद्यपि, सबै जना यहोवाका सेवकहरूको विरुद्धमा छैनन्। कसै-कसैले सत्यमा चासो देखाउँछन्। धेरै अविश्वासीहरूका मसीही पति अथवा पत्नी हुन्छन् अनि आफ्नो विवाहलाई कायम राख्न तिनीहरू इच्छुक हुन्छन्। (१ कोरिन्थी ७:१२-१४; १०:२७; १४:२२-२५; १ पत्रुस ३:१, २) यद्यपि, “अविश्वासी” भन्ने पदावली पावलले बारम्बार त्यस्ता व्यक्तिहरूको लागि प्रयोग गरे जो माथि बताएझैं ‘प्रभुमा विश्वास गर्नेहरूद्वारा’ बनेको मसीही मण्डलीका भाग होइनन्।—प्रेरित २:४१; ५:१४; ८:१२, १३.
दोस्रो कोरिन्थी ६:१४ मा दिइएको सिद्धान्त मसीहीहरूको लागि जीवनका सबै क्षेत्रहरूमा मूल्यवान् मार्गनिर्देशन हो अनि अक्सर यस सिद्धान्तलाई वैवाहिक जोडीको खोजीमा रहेका मसीहीहरूको लागि बुद्धिमान् सल्लाहको रूपमा उद्धृत गर्ने गरिन्छ। (मत्ती १९:४-६) कुनै पनि समर्पित बप्तिस्माप्राप्त मसीहीले बुद्धिमानी हुँदै अविश्वासीहरूबीच वैवाहिक जोडी खोज्ने गर्दैनन् किनकि तिनीहरूको मूल्यमान्यता, लक्ष्य अनि विश्वास साँचो मसीहीहरूको भन्दा धेरै भिन्न हुन्छ।
त्यसोभए, बाइबल अध्ययन गर्ने र मसीही मण्डलीसित संगत गर्नेहरूबारे चाहिं के भन्न सकिन्छ? बप्तिस्मा अप्राप्त प्रकाशकहरूबारे नि? के तिनीहरू अविश्वासीहरू हुन्? होइनन्। सुसमाचारको सत्य स्वीकार्ने अनि बप्तिस्मातर्फ अघि बढ्न निरन्तर प्रगति गरिरहेकाहरूलाई अविश्वासी भन्नु हुँदैन। (रोमी १०:१०; २ कोरिन्थी ४:१३) बप्तिस्मा लिनु अघि कर्नीलियसलाई “भक्त . . .. र . . . परमेश्वरको भय” मान्ने भनेर सम्बोधन गरियो।—प्रेरित १०:२.
बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा स्वीकारिएको व्यक्तिसित कुनै समर्पित मसीहीले विवाह गर्ने उद्देश्यले भेटघाट गर्नुका साथै विवाह गर्ने सन्दर्भमा २ कोरिन्थी ६:१४ मा पावलले दिएको सल्लाह हुबहु लागू नहुने भएकोले के त्यसरी भेटघाट गर्नु र विवाह गर्नु बुद्धिमानी हुनेछ? अहँ, यसो गर्नु बुद्धिमानी हुनेछैन। तर किन? मसीही विधवाहरूलाई पावलले दिएको स्पष्ट सल्लाहले गर्दा। पावलले यस्तो लेखे: “त्यसले जसलाई इच्छा गर्छे त्यससित विवाह गर्न स्वतन्त्र हुन्छ, तर प्रभुमा मात्र।” (१ कोरिन्थी ७:३९, छड्के अक्षर हाम्रो) यस सल्लाहअनुसार समर्पित मसीहीहरूलाई केवल “प्रभुमा” भएकाहरूबीच मात्र वैवाहिक जोडी खोज्ने आज्ञा दिइएको छ।
“प्रभुमा” र त्यससितै सम्बन्धित “ख्रीष्टमा” भन्ने पदावलीको अर्थ के हो? रोमी १६:८-१० र कलस्सी ४:७ मा पावलले त्यस्ता व्यक्तिविशेषहरूबारे बताउँछन् जो “ख्रीष्टमा” र “प्रभुमा” थिए। तपाईंले ती पदहरू पढ्नुभएमा त्यस्ता व्यक्तिहरू “सहकर्मी,” “योग्य ठहरिएका,” “प्रिय भाइ,” ‘विश्वासी सेवक’ अनि “सङ्गीदास” हुन् भनी थाह पाउनुहुनेछ।
कुनै व्यक्ति “प्रभुमा . . . दास” कहिले बन्छ? जब उसले इच्छुकतापूर्वक दासले जस्तै गर्छ अनि आफैलाई इन्कार गर्छ। येशू यसो भन्नुहुन्छ: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस [“शासनाको खम्बा,” NW] उठाएर मेरोपछि लागोस्।” (मत्ती १६:२४) कुनै व्यक्तिले जब आफूलाई परमेश्वरमा समर्पण गर्छ तब मात्र उसले ख्रीष्टलाई पछ्याउन सुरु गर्छ अनि आफूलाई पूर्णतया परमेश्वरको इच्छाको अधीनमा राख्छ। त्यसपछि, उसले आफैलाई बप्तिस्माको लागि अर्पण गर्छ अनि यहोवा परमेश्वरको सामु अनुमोदन प्राप्त नियुक्त सेवक बन्छ।a त्यसैले, ‘प्रभुमा विवाह गर्नु’ भनेको त्यस्तो व्यक्तिसित विवाह गर्नु हो जसले आफूलाई साँचो विश्वासी अर्थात् “परमेश्वर र प्रभु येशू ख्रीष्टका” समर्पित “सेवक” भनी देखाइसकेको छ।—याकूब १:१.
यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेको र राम्रो आध्यात्मिक प्रगति गरिरहेको व्यक्ति प्रशंसायोग्य हुन्छन्। तर तिनले अझै आफूलाई यहोवामा समर्पण गरिसकेका छैनन् अनि सेवा र त्यागको जीवनप्रति आफ्नो प्रतिबद्धता जाहेर गरिसकेका छैनन्। तिनी अझै आवश्यक परिवर्तनहरू गर्दैछन्। विवाहजस्तो अर्को एउटा महत्त्वपूर्ण कदम चाल्नुअघि तिनले समर्पित र बप्तिस्माप्राप्त मसीही बन्न चाहिने मुख्य परिवर्तनहरू गर्नु आवश्यक छ।
सायद विवाह गर्नको लागि बप्तिस्मासम्म पर्खने मनसायले बाइबल अध्ययनमा राम्रो प्रगति गरिरहेको जस्तो देखिने व्यक्तिसित कुनै मसीहीले विवाह गर्ने उद्देश्यले भेटघाट गर्नु के उचित हुनेछ? हुनेछैन। कुनै बप्तिस्माप्राप्त मसीही आफूसित विवाह गर्न चाहन्छ तर आफूले बप्तिस्मा नलिएसम्म उक्त मसीहीले त्यसो गर्नेछैन भनेर त्यस बाइबल विद्यार्थीले थाह पाएमा यसले उसको मनसायलाई निश्चय नै द्विविधामा पार्न सक्छ।
अक्सर छोटो समयावधिको लागि अर्थात् बप्तिस्मा लिने हदसम्म प्रगति नगरुन्जेलसम्म मात्र कुनै व्यक्ति बप्तिस्मा अप्राप्त प्रकाशक रहन्छ। त्यसैले प्रभुमा मात्र विवाह गर्नुपर्ने माथि उल्लिखित सल्लाह अव्यावहारिक छैन। कुनै व्यक्तिको विवाह गर्ने उमेर पुगिसकेको छ तिनी मसीही परिवारमै हुर्केका हुन् र लामो समयदेखि मसीही मण्डलीमा सक्रिय छन् र बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा सेवा गर्छन् भने नि? यदि यस्तो हो भने, यहोवालाई आफ्नो जीवन समर्पण गर्न तिनलाई कुन कुराले रोकेको छ? तिनी किन हिचकिचाउँछन्? के तिनको मनमा शङ्का छ? तिनी अविश्वासी नभए तापनि तिनलाई “प्रभुमा” भएको भनी भन्न सकिंदैन।
पावलले विवाहबारे दिएको सल्लाह हाम्रै भलाइको निम्ति हो। (यशैया ४८:१७) दुवै सम्भाव्य जोडीले आफूलाई यहोवामा समर्पण गरिसकेका छन् भने विवाहमा तिनीहरू दुईबीचको प्रतिबद्धता ठोस र आध्यात्मिक जगमा बसालिएको हुन्छ। तिनीहरूको एउटै मूल्यमान्यता अनि लक्ष्य हुन्छ। यसले तिनीहरूको सुखी विवाहमा ठूलो योगदान पुऱ्याउँछ। यसबाहेक ‘प्रभुमा विवाह गरेर’ एक जना व्यक्तिले यहोवाप्रति वफादारिता देखाउँछ अनि यसले अनन्त आशिष्तिर डोऱ्याउँछ किनकि “कृपालुसँग [“वफादार”, NW] [यहोवा] कृपालु [“वफादार”, NW] नै देखा पर्नुहुनेछ।” भजन १८:२५.
[फुटनोट]
a पावलले “प्रभुमा . . . दास” हुनु भनी सुरुमा अभिषिक्त मसीहीहरूलाई लेख्दा यसमा परमेश्वरको पुत्र र ख्रीष्टका भाइहरूको हैसियतमा अभिषिक्त हुने कुरा स्वीकार्नु पनि समावेश थियो।
[पृष्ठ ३१-मा भएको चित्र]
“वफादारसँग, [ यहोवा] वफादार नै देखा पर्नुहुनेछ”