युवा जनहरू सोध्छन् . . .
के परमेश्वर मेरो मित्र रहिरहनु हुनेछ?
परमेश्वरसित राजा दाऊदको घनिष्ठ मित्रता थियो। तर एक चोटि तिनले यसो भने: “मेरो हृदयका दुःखहरू बढेका छन्।” अरूका दुर्व्यवहारले मात्र नभई आफ्नै गल्तीहरूले गर्दा पनि दाऊद पीडित थिए। परमेश्वरले समेत त्याग्नुभयो भन्ने तिनलाई लाग्न थाल्यो। त्यसैले तिनले प्रार्थना गरे: “तपाईं मतिर फर्कनुहोस्, र ममाथि अनुग्रह गर्नुहोस्। किनकि म एकलो र दुःखित छु।”—भजन २५:११, १६-१९.
तपाईं पनि दुःखित हुनुहुन्छ होला। घरमा या स्कूलमा अप्रिय परिस्थितिको बोझ हुनसक्छ। त्यति मात्र नभएर, गम्भीर स्वास्थ्य समस्या पनि हुनसक्छ या कुनै कमजोरीको कारणले निरूत्साहित हुनु होला। जस्तोसुकै अवस्था भए तापनि तपाईं एक्लै हुनुहुन्न, किनकि परमेश्वरले उदारतासित उहाँको साथ र सहयोग प्रदान गर्नुहुन्छ।a तपाईंले उहाँसित मित्रता गाँस्न थाली सक्नुभएको छ भने, कठिन परिस्थितिमा पनि उहाँले आफ्ना मित्रहरूलाई त्याग्नुहुन्न भन्ने थाह पाएर सान्त्वना पाउनुहुनेछ। तरैपनि, विरक्त लाग्दा परमेश्वर टाढा हुनुभए जस्तो लाग्नसक्छ। उहाँले सहायता नै गर्नुहुन्न जस्तो पनि लाग्ला। तर के यो कुरा साँचो हो?
“शरीरमा एक किसिमको छेस्को”
सर्वप्रथम, कृपया २ कोरिन्थी १२:७-१० पढ्नुहोस्। “शरीरमा एक किसिमको छेस्को” भएकोले पावल दुःखित भएको कुरा यहाँ वर्णन गरिएको छ। सम्भवतः त्यो “छेस्को” कुनै शारीरिक कमजोरी थियो, हुनसक्छ तिनको आँखा कमजोर थियो। जे नै भए पनि त्यसले तिनलाई भावनात्मकरूपमा “मुक्का” हानीरह्यो। यो “छेस्को” हटोस् भनेर तिनले परमेश्वरलाई तीनपल्ट बिन्ती गर्दा पनि त्यो हटेन।
के यहोवाले पावलको प्रार्थना बेवास्ता गरिरहनुभएको थियो? पटक्कै होइन! परमेश्वरले तिनलाई यसो भन्नुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।” यहोवाले यो “छेस्को” हटाउनु नभए तापनि पावललाई त्याग्नुभएन। परमेश्वरको अनुग्रह पाएर पावलले उहाँसित घनिष्ठ मित्रता गाँसे। आफ्नो कमजोरीको मुकाबिला गर्न पावललाई यस्तो मित्रता “प्रशस्त” थियो। जसै पावलले लडन्त लडे, परमेश्वरको शक्तिले तिनलाई सँभाल्यो।
दुःख सहन मदत
पावलको जस्तै, तपाईंसित पनि केही “छेस्को” वा समस्या होला, जसले बिझाएर तपाईंलाई आशाविहीन र उदास तुल्याउनसक्छ। पावलको जस्तै, परमेश्वरले तपाईंको पनि छेस्को रहिरहन दिन सक्नुहुन्छ। तर यसको अर्थ उहाँले मित्रता टुटाउनुभयो भन्ने होइन। प्रेरित पावललाई परमेश्वरले भन्नुभयो: “मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।” आफ्नो नभई परमेश्वरको शक्तिमा भरोसा गर्नुभयो भने सब कुरा सहन सक्नुहुन्छ। सम्भवै नलागेका कुराहरूसमेत परमेश्वरको आत्माको सहायताद्वारा पूरा गर्न सक्नुहुनेछ। पावलले भने: “दुर्बलताहरूमा . . . म खुशी हुन्छु, किनभने दुर्बल हुँदा, म शक्तिमान हुन्छु।”
राबिनb नाउँकी जवान स्त्रीको जीवनमा त्यस्तै भयो। जलबिन्दु रोगले गर्दा १४ वर्षकी छँदा तिनी अन्धी भइन्। त्यही वर्ष तिनकी आमाको आकस्मिक मृत्यु भयो। यी दुःखद “छेस्को” झेल्न थालेपछि राबिन भन्छिन्: “मेरो लागि यहोवा मात्र हुनुहुन्थ्यो। उहाँसित घनिष्ठ भएँ भने मात्र यी सबै झेल्न सक्नेछु भनी मलाई थाह भयो।” पूर्ण-समय प्रचारकको काम गरेर राबिनले त्यसै गरिन्। तिनी भन्छिन्: “प्रत्येक कुरामा सहायताको लागि यहोवालाई प्रार्थना गरें। उहाँले साँच्चै सहायता गर्नुभयो।”
परीक्षा भोगेपछि धेरै युवाहरूले परमेश्वरसित घनिष्ठ भएको अनुभव गरेका छन्। जेफ नाउँको केटोलाई विचार गर्नुहोस्। तिनको बुबाले परिवार त्यागेकाले आमाले सात बच्चाबच्चीको रेखदेख गर्नु पऱ्यो। त्यतिखेर १२ वर्ष मात्र पुगेका जेफ भन्छन्: “मलाई बुबाको साह्रै न्यास्रो लाग्थ्यो। मेरो न्यास्रोपन हटाइ दिने कोही भइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो।” जेफले के गरे त? “मैले यहोवालाई प्रार्थना गरें।” जेफले प्रार्थनाअनुरूप काम गरे र आध्यात्मिक क्रियाकलापहरूमा व्यस्त भएँ। पछि, पवित्र आत्मा र मसीही मण्डली मार्फत यहोवाले सहायता गर्नुभएको तिनले प्रत्यक्ष महसुस गरे। (भजन २७:१० तुलना गर्नुहोस्।) हाल २७ वर्ष पुगेका जेफ विगतलाई सम्झँदै भन्छन्: “मैले सहारा लिन सक्ने कोही थिएन। तसर्थ, म यहोवासित घनिष्ठ भएँ।” यो घनिष्ठ सम्बन्धलाई तिनी “परीक्षाले दिएको अनमोल आशिष्” भन्छन्।
परमेश्वरको मदत कसरी पाउने
स्वर्गमा हुनुहुने तपाईंको मित्रले त्यसै गरी तपाईंलाई कठिनाइमा मदत गर्नुहुनेछ। तर तपाईंले के गर्नैपर्छ? कुनै पनि मित्रता फस्टाउन कुराकानी हुनुपर्छ। प्रार्थना परमेश्वरसितको सञ्चार माध्यम हो। हामीलाई उहाँको मदत चाहिन्छ भनेर यही माध्यमद्वारा उहाँलाई भन्छौं। यद्यपि, प्रार्थना भावशून्य वा बनावटी भएमा त्यसको कुनै महत्त्व हुनेछैन। माथि उल्लिखित जवानहरूलेझैं, परमेश्वरलाई “आफ्नो हृदयको दुःख पोखा[उनुहोस्]!” (भजन ६२:८) अन्तरबिन्ती पनि गर्नुपर्छ। (फिलिप्पी ४:६) अन्तरबिन्ती भनेको उत्कट र हार्दिक प्रार्थना हो।
मनका खराब कुराहरू नियन्त्रित गर्न वा कुलत त्याग्न तपाईंलाई गाह्रो परिरहेको हुनसक्छ। यहोवालाई अन्तरबिन्ती गर्नुहोस्! प्रलोभन आउँदा मदत माग्नुहोस्। यसो गर्न सधैं सजिलो नहोला। तर गेरी भन्छन्: “गलत कामकुरा गर्ने खराब इच्छा आफूभित्रबाटै आउँदा म जसरी भए पनि प्रार्थना गर्छु। कहिलेकाहीं म सोच्छु, ‘के म यहोवालाई पुकार्न योग्यको छु र?’ तैपनि, म सधैं यहोवासँग मदत माग्छु। प्रलोभनमा नफस्न मलाई उहाँले आवश्यक मदत दिनुहुन्छ।” सुरु सुरुमा असजिलो लागे तापनि परमेश्वरलाई मनको कुरा बताइ रहनुहोस्।
तर तपाईंको प्रार्थनाको जवाफ नपाए जस्तो लागे नि? उदाहरणका लागि, लोरीले हस्तमैथुनको कुलत त्याग्न संघर्ष गरिरहेकी थिइन्। तिनी भन्छिन्: “यसबारे इमानदारीसाथ यहोवासित कुरा गर्थें। तर त्याग्नै सकेकी थिइनँ।” हाम्रो प्रार्थनाप्रति हामी कत्तिको गम्भीर छौं भनेर कहिलेकाहीं परमेश्वरले हामीलाई देखाउन लगाउनुहुन्छ। (भजन ८८:१३,१४ तुलना गर्नुहोस्।) तसर्थ, प्रार्थनामा अटुटसँग लागिरहनैपर्छ! (मत्ती ७:७; रोमी १२:१२) लोरीले ठीक त्यसै गरिन्। साथसाथै, वाचटावर सोसाइटीका प्रकाशनहरूमा पाएको सुझाउ पनि तिनले व्यवहारमा उतार्न थालिन्।c केही समयपछि, तिनको आचरणमा सुधार आयो। तिनी विगत सम्झँदै भन्छिन्: “मैले सधैं प्रलोभनको सफलतासाथ प्रतिरोध गरेकी छु। यहोवाले मलाई सहयोग गर्नुभयो, म उहाँलाई धन्यवाद दिन्छु।” यो साँचो हो कि खराब लत हटाउन संघर्षरत हुँदा पुरानै बानी दोहरिएला जस्तो हुन्छ। तर यस्तो हुँदै भए पनि कोसिस गरिरहनुभयो भने तपाईंको “प्रयत्नले” परमेश्वर रिझिनुहुनेछ अनि उहाँ तपाईंको मित्र हुनुहुनेछ।—२ पत्रुस १:५.
परमेश्वरसित काम गर्ने
परमेश्वरबाट मदत पाउने अर्को तरिका उहाँको “सहकर्मी” हुने निमन्त्रणा स्वीकार्नु हो। (१ कोरिन्थी ३:९) अरूलाई परमेश्वरबारे सिक्न मदत दिनु यसमा समावेश छ। (मत्ती २८:१९, २०) दुःखित वा निरुत्साहित हुँदा कुनै पनि प्रकारको काममा संलग्न हुने इच्छा नहोला। तथापि, ‘प्रभुको काममा प्रशस्त हुँदै जाँदा’ साँच्चै मदतकारी साबित हुनसक्छ। (१ कोरिन्थी १५:५८) यो कामले गर्दा आफ्नै समस्यामा मात्र एकोहोरो ध्यान लगाउनु हुनेछैन। (हितोपदेश १८:१ तुलना गर्नुहोस्।) अघि उल्लेख गरिएको राबिन आफ्नो कठिन समयबारे बताउँछिन्: “यहोवाको कामले मलाई दृढ रहन मदत दियो!”
परमेश्वरसित घनिष्ठ भएर काम गर्नाले उहाँले त्याग्नुभयो भन्ने धेरै समयसम्म रहने विचार पनि हट्नेछ। दुइ जना एउटै लक्ष्य लिएर एकसाथ काम गर्दा के तिनीहरूको मित्रता घनिष्ठ हुँदैन र? प्रचारकार्यमा भाग लिनुहुँदा तपाईंले चुनौतीहरू सामना गर्नुहुन्छ। मदतको लागि स्वतः तपाईंले परमेश्वरलाई हेर्नुहुनेछ। परमेश्वरले तपाईंको परिश्रमलाई आशिष् दिनुहुन्छ र उहाँको मित्रता झनै वास्तविक हुनेछ। सहकर्मीको हैसियतमा परमेश्वरले तपाईंप्रति राख्नुभएको भरोसालाई तपाईंले बुझ्न थाल्नुहुनेछ। हो, यसले तपाईंको आत्मविश्वास बढाउनेछ।
उदाहरणका लागि, क्यारी साह्रै असुरक्षित महसुस गर्थिन्। तिनकी आमाले आत्महत्या गरेकी थिइन्। कचकचे पिताले तिनलाई सधैं कुव्यवहार गर्थे। तिनी १७ वर्षकी हुँदा यहोवाको साक्षी भइन् र प्रचारकार्य गर्न थालिन्। पूर्ण-समय प्रचारक भएको दश वर्षपछि अहिले तिनी भन्छिन्: “यो कामले मलाई असाध्यै मदत गरेको छ, किनकि मैले यहोवाको आशिष् पाएकी छु। म आफैलाई भन्ने गर्छु, ‘यहोवाले मलाई प्रेम गर्नुहुन्छ भने म बेकम्मा छैन।’ यहोवाले उहाँको नाउँ घोषणा गर्न लगाउनुभएकोले म झनै सुरक्षित छु।”
“पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ”
झन्डै ज्यान गएको परिस्थितिबाट मुश्किलले बाँचेपछि राजा दाऊदले यसो लेखे: “मलाई मेरा सबै डरहरूबाट [परमेश्वरले] छुटाउनुभयो।” (भजन ३४:४, ६; १ शमूएल २१:१०-१२) दाऊदले आफ्नै अनुभवद्वारा यसरी भन्न सके: “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो।”—भजन ३४:८.
तपाईंको जीवन दाऊदको जस्तै खतरामा नपर्ला। तर कुनै समय कष्ट तथा तनाउहरू आइ पर्नसक्छ। ‘तपाईंको हृदयका दुःखहरू बढ्दा’ परमेश्वरलाई अन्तरबिन्ती गर्नुहोस्। (भजन २५:१७) परमेश्वरले मित्रता टुटाउनु होला भनेर डराउनु पर्दैन। धैर्यसाथ यहोवाले नै दिनुहुने सहायता र चासो अनुभव गर्नुभएपछि “यहोवा कस्तो भलो हुनुहुन्छ” भनेर आफै ‘पारख गरेर हेर्नुहुनेछ।’ अनि उहाँ अनन्तसम्म तपाईंको मित्र रहनुहुनेछ।—याकूब ४:८.
[फुटनोटहरू]
a “युवा जनहरू सोध्छन् . . . के म साँच्चै परमेश्वरको मित्र हुन सक्छु?” जुलाई २२, १९९५ (अंग्रेजी) को लेख हेर्नुहोस्।
b केही नाउँ परिवर्तन गरिएका छन्।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूले सोध्ने प्रश्न—त्यसका उपयोगी जवाफहरू (अंग्रेजी) पुस्तकको अध्याय २५ र २६ हेर्नुहोस्।
[पृष्ठ १२-मा भएको चित्र]
के परमेश्वरले आफ्ना मित्रहरूलाई दुःखको समयमा त्याग्नुहुन्छ?