“प्रभुमा . . . बलवान होओ”
“प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान होओ।”—एफिसी ६:१०.
१. (क) लगभग ३,००० वर्षअघि कस्तो असामान्य भिडन्त भयो? (ख) दाऊद किन विजयी हुन सके?
लगभग ३,००० वर्षअघिको कुरा हो, रणभूमिमा दुई प्रतिद्वन्द्वी सैन्यदलबीच दुई जना योद्धाको मुठभेड भयो। त्यसमध्ये जवान चाहिं दाऊद नाउँ गरेका गोठाला केटा थिए। तिनको सामु अजङको र एकदमै बलियो गोल्यत थियो। गोल्यतले लगाएको झिलमको वजन ५७ किलोग्राम जति थियो र उसले एउटा बडेमानको भाला र ठूलो तरवार भिरेको थियो। दाऊदले कुनै हतियार भिरेका थिएनन् र तिनीसित हतियारको नाउँमा एउटा घुँयेत्रो मात्र थियो। आफू विरुद्ध लड्न आएको यो फुच्चे इस्राएली देखेर पलिश्ती वीर गोल्यतले आफ्नो अपमान भएको ठान्यो। (१ शमूएल १७:४२-४४) यो तमासा हेरिरहेका दुवै पक्षले हारजितको अनुमान लगाइसकेका थिए होलान्। तर शक्तिले सधैं लडाइँ जित्न सकिंदैन। (उपदेशक ९:११) दाऊदले यहोवाको बलमा लडाइँ लडेको हुँदा तिनी विजयी भए। तिनले भने, “लड़ाइँ परमप्रभुकै हो।” बाइबल विवरणले बताएअनुसार “दाऊद आफ्नो घुँयेत्रो र ढुङ्गाले विजयी भए” अनि त्यो पलिश्तीभन्दा बलियो साबित भए।—१ शमूएल १७:४७, ५०.
२. मसीहीहरू कस्तो लडन्तमा भाग लिन्छन्?
२ मसीहीहरू शारीरिक युद्धमा भाग लिंदैनन्। तिनीहरू सबै मानिसहरूसँग शान्तिमा रहने भए तापनि एकदमै शक्तिशाली प्रतिद्वन्द्वीहरूसित आध्यात्मिक लडन्त लड्छन्। (रोमी १२:१८) एफिसीहरूलाई लेखेको पत्रको अन्तिम अध्यायमा पावलले सबै मसीहीहरू संलग्न भएको एउटा लडन्तबारे वर्णन गरे। तिनले यस्तो लेखे: “हाम्रो यो लड़न्त मानिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।”—एफिसी ६:१२.
३. एफिसी ६:१० अनुसार हाम्रो सफलता पक्का गर्न हामीलाई के चाहिन्छ?
३ यहोवा परमेश्वरसितको हाम्रो सम्बन्धलाई बिगार्न खोज्ने ती “दुष्ट्याइँका आत्मिक सेनाहरू” शैतान र त्यसका प्रेतहरू हुन्। तिनीहरू हामीभन्दा निकै बलिया भएको हुँदा दाऊद जस्तो अवस्थामा थिए, हामी पनि त्यस्तै अवस्थामा छौं अनि परमेश्वरको बलमा भर नपरी हामी विजयी हुन सक्दैनौं। वास्तवमा, पावल हामीलाई “प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान” भइरहन आग्रह गर्छन्। (एफिसी ६:१०) त्यो सल्लाह दिइसकेपछि हामीलाई विजयी हुन मदत गर्ने आध्यात्मिक प्रबन्ध तथा मसीही गुणहरूबारे प्रेरित पावल वर्णन गर्छन्।—एफिसी ६:११-१७.
४. यस लेखमा हामी कुन दुइटा मुख्य बुँदाहरू विचार गर्नेछौं?
४ आउनुहोस्, हाम्रो शत्रुको बल तथा कर्तुतबारे धर्मशास्त्र के भन्छ, अब त्यो केलाऔं। त्यसपछि, आफ्नो सुरक्षाको लागि हामीले अपनाउनुपर्ने प्रतिरक्षात्मक रणनीतिबारे हामी विचार गर्नेछौं। हामीले यहोवाको निर्देशन पालन गऱ्यौं भने शत्रुहरू हामी विरुद्ध विजयी हुनेछैनन् भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं।
दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्ध लडन्त
५. एफिसी ६:१२ मा प्रयोग गरिएको “लड़न्त” भन्ने पदावलीले हामीलाई शैतानको रणनीति बुझ्न कसरी मदत गर्छ?
५ हाम्रो “लड़न्त . . . स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो” भनी पावल बताउँछन्। त्यो प्रमुख दुष्ट आत्मा अवश्य पनि “भूतको मालिक” शैतान अर्थात् दियाबल हो। (मत्ती १२:२४-२६) मौलिक भाषाको बाइबलमा हाम्रो लडन्तलाई कुस्ती वा शारीरिक घम्साघम्सीसित तुलना गरिएको छ। पुरातन युनानका कुस्ती प्रतियोगिताहरूमा प्रत्येकले आफ्नो प्रतिद्वन्द्वीको सन्तुलन बिगारेर उसलाई भुइँमा पछार्न खोज्थ्यो। त्यसरी नै, दियाबल पनि हामीले आफ्नो आध्यात्मिक सन्तुलन गुमाएको चाहन्छ। त्यसले यो कसरी गराउन सक्छ?
६. हाम्रो विश्वासलाई कमजोर बनाउन दियाबलले कसरी विभिन्न कर्तुतहरू चलाउन सक्छ, धर्मशास्त्रबाट देखाउनुहोस्।
६ दियाबलले एउटा सर्प, गर्जेको सिंह वा ज्योतिर्मय स्वर्गदूतको जस्तो व्यवहार गर्न सक्छ। (२ कोरिन्थी ११:३, १४; १ पत्रुस ५:८) हामीलाई निरुत्साहित पार्न वा सतावट दिन त्यसले मानव माध्यमहरू चलाउन सक्छ। (प्रकाश २:१०) सारा संसारमाथि शैतानको अख्तियार भएको हुँदा हामीलाई पासोमा पार्न त्यसले संसारको इच्छा तथा आकर्षणको नाजायज फाइदा उठाउन सक्छ। (२ तिमोथी २:२६; १ यूहन्ना २:१६; ५:१९) हव्वालाई बहकाएझैं हामीलाई पनि झुक्याउन त्यसले सांसारिक वा धर्मत्यागी सोचाइ चलाउन सक्छ।—१ तिमोथी २:१४.
७. प्रेतहरूको कस्तो सीमितता छ र हामीसित कस्ता मदतहरू उपलब्ध छन्?
७ शैतान र त्यसका प्रेतहरूका हतियारहरू र शक्ति निकै ठूलो देखिए तापनि त्यसको सीमितता छ। यी दुष्ट आत्माहरूले स्वर्गमा हुनुहुने हाम्रो पितालाई अप्रसन्न तुल्याउने दुष्ट कार्यहरू गर्न हामीलाई जबरजस्ती गर्न सक्दैनन्। हामी असल र खराब छुट्ट्याउन सक्ने स्वतन्त्र नैतिक प्राणीहरू हौं र हामी आफ्नो सोचाइ र व्यवहारलाई नियन्त्रणमा राख्न सक्छौं। यसबाहेक, यो लडन्तमा हामी एक्लै छैनौं। एलीशाको समयमा जस्तो थियो, हाम्रो समयमा पनि कुरा त्यस्तै हो: “हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” (२ राजा ६:१६) हामी परमेश्वरको अधीनमा बस्यौं र दियाबलको विरोध गऱ्यौं भने त्यो हामीबाट भाग्नेछ भनेर बाइबलले हामीलाई आश्वासन दिन्छ।—याकूब ४:७.
हामीलाई शैतानका युक्तिहरू थाह छ
८, ९. अय्यूबको निष्ठा तोड्न शैतानले कस्ता परीक्षाहरू ल्यायो अनि आज हाम्रो सामु कस्ता आध्यात्मिक खतराहरू छन्?
८ शैतानका युक्तिहरूका विषयमा हामी अजान छैनौं किनभने त्यसका मुख्य कर्तुतहरू धर्मशास्त्रले प्रकट गरेको छ। (२ कोरिन्थी २:११) धर्मी मानिस अय्यूब विरुद्ध दियाबलले विभिन्न तरिका अपनायो, जस्तै कठिन आर्थिक सङ्कट, प्रियजनहरूको मृत्यु, परिवारबाट विरोध, शारीरिक पीडा र झूटा साथीहरूको निराधार आलोचना। अय्यूब निराश भए अनि परमेश्वरले आफूलाई त्याग्नुभयो भन्ठाने। (अय्यूब १०:१, २) आज, शैतानले हामीलाई यी समस्याहरू प्रत्यक्षतः नल्याए तापनि त्यस्ता कठिनाइहरूले थुप्रै मसीहीहरूलाई पिरोल्छ अनि दियाबलले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ।
९ यस अन्तको समयमा आध्यात्मिक खतराहरू अझ तीव्र गतिले बढेका छन्। आध्यात्मिक लक्ष्यहरूभन्दा भौतिक कामकुरालाई बढी महत्त्व दिने संसारमा हामी बाँचिरहेका छौं। सञ्चारजगत्ले अवैध यौन सम्बन्धलाई भावनात्मक चोटको कारक नभई आनन्दको स्रोतको रूपमा चित्रण गर्छ। अनि अधिकांश मानिसहरू “परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” भएका छन्। (२ तिमोथी ३:१-५) “विश्वासको निम्ति उत्कटसाथ कम्मर” कसेनौं भने यस्तो सोचाइले हाम्रो आध्यात्मिक सन्तुलनलाई ढलपल गराउन सक्छ।—यहूदा ३.
१०-१२. (क) बीउ छर्नेको उखानमा येशूले दिनुभएको एउटा चेतावनी के थियो? (ख) आध्यात्मिक मूल्यमान्यताहरू कसरी निसासिन सक्छन्, उदाहरणद्वारा बताउनुहोस्।
१० शैतानको एउटा अत्यन्तै सफल कर्तुत, हामीलाई यस संसार र यसका भौतिकवादी दौडधूपहरूमा चुर्लुम्मै डुब्न लगाउनु हो। कुनै-कुनै अवस्थामा “यस संसारको फिक्री र धनसम्पत्तिको मायाले [परमेश्वरको राज्यको] वचनलाई निसासिदिन्छ” भनेर येशूले बीउ छर्नेको उखानमा चेतावनी दिनुभयो। (मत्ती १३:१८, २२) यहाँ “निसासिदिन्छ” भनेर अनुवाद गरिएको युनानी शब्दको अर्थ “पूरै अँठ्याउनु” हो।
११ उष्ण प्रदेशीय जङ्गलहरूमा एउटा विशेष प्रजातिको नेभाराका बोटहरू पाइन सक्छन्। यो बिस्तारै बढ्दै जाँदा जुन रूखले यसलाई आश्रय दिइरहेको हुन्छ, त्यसैको डाँठलाई यसले बेर्न थाल्छ। अलि अलि गर्दै यो नेभाराको जराले आफूलाई आश्रय दिइरहेको रूखलाई बेर्छ अनि यी जराहरू निकै बलिया हुँदै जान्छन्। यो नेभाराको बोटले आफूलाई आश्रय दिइरहेको रूखलाई चाहिने पोषण सबै आफैले जमिनबाट सोस्छ अनि यसको झाँगिएको लहराले रूखसम्म घाम पुग्न दिंदैन। अन्ततः आश्रय दिइरहेको रूख मर्छ।
१२ त्यसरी नै, यस रीतिरिवाजको फिक्री, धनसम्पत्तिको खोजी तथा आरामदायी जीवन शैलीले बिस्तारै-बिस्तारै हाम्रो बढी समय र शक्ति खान सक्छ। यस संसारका कामकुराहरूतर्फ हाम्रो ध्यान मोडिंदा व्यक्तिगत बाइबल अध्ययनलाई बेवास्ता गर्न अनि मसीही सभाहरू छुटाउने बानी बसाल्न कत्ति बेर पनि लाग्नेछैन र यसो हुँदा हामी आध्यात्मिक पोषणबाट वञ्चित हुन्छौं। अब आध्यात्मिक क्रियाकलापहरूको ठाउँ भौतिकवादी लक्ष्यहरूले लिन थाल्छ अनि हामी बिस्तारै शैतानको लागि सजिलो सिकार बन्छौं।
हामी दृढ भएर खडा हुनुपर्छ
१३, १४. शैतानले विरोध गर्दा हामीले कस्तो अडान लिनुपर्छ?
१३ पावलले सँगी विश्वासीहरूलाई “शैतानका युक्तिहरूका विरुद्धमा खड़ा हुन” आग्रह गरे। (एफिसी ६:११) निस्सन्देह, हामी शैतान र त्यसका प्रेतहरूलाई विनाश गर्न सक्दैनौं। परमेश्वरले त्यो काम येशू ख्रीष्टलाई सुम्पनुभएको छ। (प्रकाश २०:१, २) तथापि, शैतानलाई नहटाइन्जेल हामी दृढ भएर “खड़ा” रहनुपर्छ र यसो गऱ्यौं भने त्यसका आक्रमणहरूको कारण हामी विचलित हुनेछैनौं।
१४ प्रेरित पत्रुसले पनि शैतान विरुद्ध दृढ भएर खडा रहनुपर्ने खाँचोलाई जोड दिए। पत्रुसले यस्तो लेखे: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ। तिमीहरू आफ्नो विश्वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन् भन्ने जानेर त्यसको विरोध गर।” (१ पत्रुस ५:८, ९) वास्तवमा, गर्जेको सिंहले झैं दियाबलले आक्रमण गर्दा दृढ भएर खडा हुनको लागि हाम्रा आध्यात्मिक भाइबहिनीहरूको सहयोग अत्यावश्यक छ।
१५, १६. सँगी विश्वासीहरूको सहयोगले हामीलाई कसरी दृढ भएर खडा हुन मदत गर्न सक्छ भनी देखाउन एउटा धर्मशास्त्रीय उदाहरण दिनुहोस्।
१५ अफ्रिकी घाँसे मैदानमा नजिकै सिंह गर्जंदा हरिणहरू खतरामुक्त नहोउन्जेल तेज गतिले टाढ-टाढासम्म भाग्छन्। तथापि, हात्तीहरूले भने आपसी सहयोगको राम्रो उदाहरण देखाउँछन्। एलफेन्ट्स—जेन्टल जायन्ट्स अफ आफ्रिका एण्ड एसिया (हात्तीहरू—अफ्रिका र एसियाका भलाद्मी ढड्डुहरू) भन्ने पुस्तक यसो भन्छ: “हात्तीको बथानले सामान्यतया अपनाउने प्रतिरक्षात्मक तरिका के हो भने, हुर्किसकेका ठूला हात्तीहरू आफ्नो अनुहार बाहिरतिर फर्काएर घेरा बाँध्छन् अनि बच्चाहरूलाई भने घेराको सुरक्षाभित्र राख्छन्।” यस्तो बल र सहयोग देखेपछि सिंहहरूले हात्तीका बच्चाहरूलाई समेत त्यति आक्रमण गरेको पाइँदैन।
१६ शैतान र त्यसका प्रेतहरूले धम्क्याउँदा हामी पनि विश्वासमा दह्रो भएका हाम्रा भाइहरूसित काँधमा काँध मिलाएर त्यसरी नै एकसाथ बस्नुपर्छ। पावल रोममा कैदी छँदा कोही-कोही सँगी मसीहीहरू तिनको लागि “सुदृढ पार्ने मानिसहरू” भए भनेर तिनले मानिलिए। (कलस्सी ४:१०, ११, NW) “सुदृढ पार्ने” भनेर अनुवाद गरिएको युनानी शब्द मसीही युनानी धर्मशास्त्रमा एक चोटि मात्र प्रयोग गरिएको छ। भाइनको एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वड्र्स-अनुसार “यो शब्दको मौखिक रूपले जलन कम गर्ने औषधीलाई बुझाउँछ।” सन्चो पार्ने मलमजस्तै यहोवाका परिपक्व उपासकहरूको सहयोगले भावनात्मक वा शारीरिक दुःखकष्टले गर्दा भएको पीडालाई कम गर्न सक्छ।
१७. कुन कुराले हामीलाई परमेश्वरप्रति विश्वासी रहन मदत गर्न सक्छ?
१७ विश्वासी भई परमेश्वरको सेवा गर्ने हाम्रो सङ्कल्पलाई सँगी मसीहीहरूको प्रोत्साहनले सुदृढ बनाउन सक्छ। विशेष गरी मसीही प्राचीनहरू आध्यात्मिक मदत दिन उत्सुक छन्। (याकूब ५:१३-१५) विश्वासी रहने मदतको लागि उपलब्ध सहायकहरू नियमित बाइबल अध्ययन र मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा उपस्थिति पनि हुन्। परमेश्वरसित हाम्रो व्यक्तिगत घनिष्ठ सम्बन्धले पनि उहाँप्रति विश्वासी रहन हामीलाई मदत गर्छ। निस्सन्देह, चाहे हामी खाऔं, पिऔं वा जेसुकै गरौं, हाम्रो इच्छा सबै कुरा परमेश्वरको महिमाको निम्ति गर्ने हुनुपर्छ। (१ कोरिन्थी १०:३१) यहोवालाई प्रसन्न तुल्याउने मार्गमा हिंडिरहनको लागि प्रार्थनापूर्वक उहाँमा भरोसा राख्नु नितान्त आवश्यक छ।—भजन ३७:५.
१८. निराशाजनक परिस्थितिहरूले हाम्रो बललाई कमजोर बनाए तापनि हामीले किन लत्तो छोड्नु हुँदैन?
१८ कहिलेकाहीं आफू आध्यात्मिक तवरमा कमजोर भएको महसुस हुँदा शैतानले आक्रमण गर्छ। सिंहले कमजोर जनावरलाई झम्टन्छ। पारिवारिक समस्या, आर्थिक कठिनाइ वा रोगबिमारले हाम्रो आध्यात्मिक बललाई कमजोर बनाउन सक्छ। तर परमेश्वरलाई मन पर्ने कुराहरू गर्न हामी नछोडौं किनभने पावलले यसो भने: “दुर्बल हुँदा, म शक्तिमान हुन्छु।” (२ कोरिन्थी १२:१०; गलाती ६:९; २ थिस्सलोनिकी ३:१३) तिनले भन्न खोजेको कुरा के थियो? हामीले बलको लागि यहोवालाई पुकाऱ्यौं भने हाम्रा कमीकमजोरीहरूको ठाउँ परमेश्वरको शक्तिले ओगट्न सक्छ। परमेश्वरले आफ्ना जनहरूलाई बलियो बनाउन सक्नुहुन्छ र अवश्य बलियो बनाउनुहुन्छ भनेर गोल्यतमाथि दाऊदको विजयले देखाउँछ। वर्तमान समयका यहोवाका साक्षीहरूले असह्य सङ्कटको बेला परमेश्वरले बलियो बनाउनुभएको महसुस गरेको कुरा पुष्टि गर्न सक्छन्।—दानियल १०:१९.
१९. यहोवाले आफ्ना सेवकहरूलाई कसरी सुदृढ पार्न सक्नुहुन्छ भनी देखाउन एउटा उदाहरण दिनुहोस्।
१९ परमेश्वरले दिनुभएको सहयोगबारे एउटा विवाहित दम्पतीले यस्तो लेखे: “वर्षौंसम्म पति-पत्नीको हैसियतमा हामीले यहोवाको सेवा गर्दा थुप्रै आशिष्हरू पाएका छौं अनि थुप्रै राम्रा मानिसहरू चिन्न सकेका छौं। हामीले सफलतापूर्वक कठिनाइहरू सहन यहोवाबाट प्रशिक्षण र बल पाएका छौं। अय्यूबले जस्तै कहिलेकाहीं कुनै अवस्था आइपर्नुको कारण हामीले बुझेनौं तर यहोवाले अवश्य मदत गर्नुहुनेछ भनेर चाहिं हामीलाई थाह थियो।”
२०. यहोवाले आफ्ना जनहरूलाई सधैं सहयोग गर्नुहुन्छ भनेर कस्तो धर्मशास्त्रीय प्रमाणले देखाउँछ?
२० आफ्ना विश्वासी जनहरूलाई सहयोग दिन र सुदृढ पार्न यहोवाको हात बचाउन नसक्ने गरी शक्तिहीन छैन। (यशैया ५९:१) भजनहार दाऊदले यस्तो भजन गाए: “पतन भएकाहरू सबैलाई परमप्रभुले सह्माल्नुहुन्छ, निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ।” (भजन १४५:१४) निस्सन्देह, स्वर्गमा हुनुहुने हाम्रो पिताले “हाम्रो बोझ दिनहुँ” उठाउनुहुन्छ र हामीलाई साँच्चै चाहिएका कुराहरू दिनुहुन्छ।—भजन ६८:१९.
हामीलाई “परमेश्वरको सारा हात-हतियार” चाहिन्छ
२१. आध्यात्मिक हात-हतियारको खाँचोलाई पावलले कसरी जोड दिए?
२१ हामीले शैतानका केही तरिकाहरू विचार गऱ्यौं अनि त्यसको आक्रमणसामु दृढ भएर खडा हुनुपर्ने खाँचो देख्यौं। अब, सफलतापूर्वक हाम्रो विश्वासको प्रतिरोध गर्न हामीले अर्को एउटा अत्यावश्यक प्रबन्धबारे विचार गर्नै पर्छ। प्रेरित पावलले एफिसीहरूलाई लेखेको पत्रमा शैतानका युक्तिहरूका विरुद्धमा खडा हुन र दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्धको लडन्तमा विजयी हुन चाहिने अत्यावश्यक तत्त्वबारे दुई चोटि उल्लेख गरे। पावलले यस्तो लेखे: “शैतानका युक्तिहरूका विरुद्धमा खड़ा हुनसक्नालाई परमेश्वरको सारा हात-हतियार धारण गर। . . . परमेश्वरका सारा हात-हतियार उठाओ, र खराब दिनमा सामना गर्न र सबै काम गरेर खड़ा हुनसक्ने होओ।”—एफिसी ६:११, १३.
२२, २३. (क) हाम्रो आध्यात्मिक हात-हतियारमा के-के समावेश छ? (ख) यसपछिको लेखमा हामी कुन कुरा विचार गर्नेछौं?
२२ हो, हामीले “परमेश्वरका सारा हात-हतियार” धारण गर्नुपर्छ। पावलले एफिसीहरूलाई पत्र लेख्दा तिनी एक जना रोमी सिपाहीको निगरानीमा थिए र त्यो सिपाहीले कहिलेकाहीं सारा हात-हतियार भिरेको हुनुपर्थ्यो। तथापि, प्रेरित पावलले भने ईश्वरीय प्रेरणा पाएर यहोवाका सबै सेवकको निम्ति अत्यावश्यक आध्यात्मिक हात-हतियारबारे लेख्न सकेका थिए।
२३ यस ईश्वर-प्रदत्त हात-हतियारमा मसीहीहरूसित हुनुपर्ने गुणहरू लगायत यहोवाले गर्नुभएका आध्यात्मिक प्रबन्धहरू समावेश छन्। यसपछिको लेखमा हामी प्रत्येक आध्यात्मिक हात-हतियारलाई एक-एक गरी केलाउनेछौं। यसले हामी आध्यात्मिक युद्धको लागि कत्तिको सुसज्जित छौं भनेर पत्ता लगाउन मदत गर्नेछ। साथै, येशू ख्रीष्टको अद्भुत उदाहरणले शैतान अर्थात् दियाबलको सफलतापूर्वक प्रतिरोध गर्न हामीलाई कसरी मदत गर्छ भनेर हेर्नेछौं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• सबै मसीहीहरूले कस्तो लडन्त लड्नुपर्छ?
• शैतानका केही कर्तुतहरू वर्णन गर्नुहोस्।
• सँगी विश्वासीहरूको सहयोगले हामीलाई कसरी सुदृढ पार्न सक्छ?
• हामी कसको बलमा भर पर्नुपर्छ र किन?
[पृष्ठ ११-मा भएका चित्रहरू]
मसीहीहरूको ‘लडन्त दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्ध हो’
[पृष्ठ १२-मा भएको चित्र]
यस रीतिरिवाजका फिक्रीहरूले परमेश्वरको वचनलाई निसासिदिन सक्छ
[पृष्ठ १३-मा भएको चित्र]
सँगी मसीहीहरू “सुदृढ पार्ने मानिसहरू” हुन सक्छन्
[पृष्ठ १४-मा भएको चित्र]
के तपाईं बलको लागि परमेश्वरलाई प्रार्थना गर्नुहुन्छ?