हानिकारक गफबाट होसियार रहनुहोस्!
“मानिसहरू जति धेरै बोल्छन् उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ। बुद्धिमान मानिस चूप लागिबस्छ।”—हितोपदेश १०:१९.
१. द्वेषपूर्ण गफ अथवा अरूहरूको विषयमा कुरा काटने बानी, कहाँ सम्म हानिकारक हुन सक्दछ?
प्राणघातक विषलाई कुनै प्रकारले पनि अमृतमा परिवर्तित् गर्न सकिन्दैन। हानिकारक गफ अथवा बदख्वाइलाई उचित रूपमा अकसर विषसँग तुलना गरिएको छ किनभने यस प्रकारको कुराकानीले सोझो मानिसको असल नाउँलाई बदनाम गर्न सक्दछ। अर्काको कुरा काट्नु “सबै भन्दा खराब विष” हो भनेर रोमी कवि जुवेनालले भने। र अँग्रेजी नाटककार विलियम शेक्सपियरले आफ्नो एक जना अभिनेताका लागि यी शब्दहरू लेखे: “म बाट मेरो असल नाउँ खोस्ने मानिसले मबाट त्यो चीज चोर्दछ जुन चीजले उसलाई धनी तुल्याउँदैन तर मलाई चाहिं वास्तवमा गरीब बनाइ दिन्छ।”
२. कुन प्रश्नहरूलाई ध्यान दिनु आवश्यक छ?
२ तर अर्काको कुरा काट्नु भनेको वास्तवमा हो के? कुरा काट्नु र बदख्वाइ गर्नुमा के भिन्नता छ? हानिकारक गफबाट किन होसियार रहनु? र यो कसरी गर्न सकिन्छ?
तिनीहरूमा के भिन्नता छ?
३. अरूहरूको विषयमा गफ गर्नु र बदख्वाइ गर्नुमा के भिन्नता छ?
३ कुरा काट्नुको अर्थ “काम नपाएर, बसेर अरूहरूको विषयमा, तिनीहरूको चालामालाबारे बारे कुरा गर्नु हो र यस प्रकारका कुराहरू सधैं सत्य पनि न होलान्।” अर्थात् यो “कसैको विषयमा हल्का ढङ्गमा गरिएको कुरा अथवा लेख हो।” हामी सबैलाई नै मानिसहरूमा चासो भएको हुनाकारण, हामीहरू अरूहरूको विषयमा अकसर असल र लाभदायक कुराहरू गर्ने गर्दछौं। तर बदख्वाइ बेग्लै हो। बदख्वाइ भनेको “अर्काको असल नाउँ र प्रतिष्ठालाई हानि पुर्याउनका लागि गरिने झूटो कुरा गर्नु हो।” यस प्रकारको कुरा-कानी साधारणतया हानिकारक र गैर मसीही हो।
४. एक जना लेखक अनुसार, बदख्वाइको शुरूआत कसरी हुँदछ र यो के ले गर्दा उत्पन्न हुन्छ?
४ अरूहरूको विषयमा गरिएको अहानिकर गफ पनि द्वेषपूर्ण बदख्वाइमा परिणत हुन सक्दछ। लेखक आर्थर मीले एसो भने: “मानिसलाई हानि पुर्याउने अथवा उसको पतन गराउन सक्ने बदख्वाइ, कुरा काट्ने चलनबाट नै शुरू हुन्छ। यस प्रकार गफ अथवा कुरा काट्ने बानी पहिला ता काम न भएको दुरावस्थाको कारणले आउँछ। संसारका ठूला खराबीहरू मध्य यो एउटा हो। तर यो अकसर अज्ञानता द्वारा उत्पन्न हुन्छ। हामीहरू यस प्रकारको बानी मुख्यतया धेरै काम न भएका मानिसहरू अथवा जीवनमा कुनै विशेष लक्ष्य न भएकाहरू मध्य पाउँदछौं।”
५. १ तिमोथी ५:११-१५ मा पावलको सर-सल्लाहको निचोड़ के हो?
५ अरूहरूको विषयमा गरिएको गफसफ बदख्वाइमा परिणत हुन सक्छ भनेर, प्रेरित पावलले यस प्रकारको गफ गरेर हिड़ने कुनै कुनै व्यक्तिहरूको विरूद्धमा बोलेको पाउँदछौं। मण्डलीबाट मदद पाउने योग्यका विधवाहरूको विषयमा चर्चा गरे पछि, तिनले यस प्रकार लेखे: “तर तरूणी विधवाहरूको चाहिं नलेख, किनकि तिनीहरू ख्रीष्टको विरूद्ध सुखविलासमा परे भने . . . तिनीहरू घरघर डुल्ने भई अल्छी हुन सिक्छन् औ केवल अल्छी मात्र होइन तर कुरौटे, अरूको काममा हातहाल्ने, बोल्न नहुने कुराहरू बोल्ने हुन्छन्। यसकारण तरूणी विधवाहरूले विवाह गरून्, छोरा-छोरी पाऊन्, गृहस्थी काम गरून्, विरोधीलाई बदनाम गर्ने मौका नदिऊन् भन्ने म चाहन्छु। किनकि कोही कोही ता अघिनै शैतानतर्फ ढल्किसकेका छन्।”—१ तिमोथी ५:११-१५.
६. बदख्वाइमा परिणत हुन सक्ने प्रकारको गफ गर्ने आफ्नो व्यक्तिगत कमजोरीलाई दबाउन के गर्न उचित हुनेछ?
६ पावलले ईश्वरीय प्रेरणा द्वारा लेखेको हुनाकारण, तिनले स्त्रीजातिको विरूद्धमा अनुचित कुरा गरेको थिएन। तिनले भनेको कुराबारे गम्भीरतापूर्वक सोंच्नु आवश्यक छ। कुनै पनि ईश्वरीय स्त्री ‘शैतान तर्फ ढल्किसेकेको’ हुन चाँहन्दिनन्। तर आफू बदख्वाइ गर्ने दोषी हुने गरी अर्काको कुरा काटने कमजोरी कुनै मसीही स्त्रीमा छ भने तिनले कसो गर्नु पर्ने हो? पावलको यो सल्लाह तिनले नम्रतापूर्वक सुन्नु पर्दछ: “स्त्रीहरू . . . गम्भीर, अर्कालाई दोष नलाउने . . . हुनु पर्दछ।” तिनले एसो पनि भने: “वृद्धाहरू पनि पवित्र चालचलनका, अर्कालाई सित्तैंमा दोष नलाउने होऊन्।” (१ तिमोथी ३:११; तितस २:३) भाइहरूले पनि गम्भीरतापूर्वक यो उपदेश प्रयोगमा ल्याउन उचित हुनेछ।
७. शास्त्रलाई आधार बनाउँदै, हाम्रो बोलीलाई हामी सबैले नियन्त्रणमा राख्नु पर्दछ भनेर तपाईं किन भन्नु हुन्छ?
७ समय समयमा, हामी सबै नै अरूहरूको विषयमा अर्थात् क्षेत्र सेवकाईमा तिनीहरूका अनुभव, इत्यादि बारे कुरा गर्ने गर्दछौं। तर हामी कहिले पनि ‘बसेर आफ्नो भाइको विरूद्धमा’ बोल्ने न गरौं। (भजनसंग्रह ५०:१९, २०) वास्तवमा, धेरै कुरा गर्नु उचित होइन किनभने “मानिसहरू जति धेरै बोल्छन् उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ र बुद्धिमान मानिस चूप लागि बस्छ।” (हितोपदेश १०:१९) यसकारण, हानिकारक कुरा न भएता पनि, हामी अर्काको विषयमा कुरा काट्न देखिन् होसियार हुनु पर्दछ। साथै हामी सधैं अरूहरू कै विषयमा कुरा गर्नु पर्दैन किनभने हामीहरूले धार्मिक, पवित्र, प्रेमपूर्ण, सदगुणयुक्त र प्रशंसनीय कुराहरूमा ध्यान दिने गर्यौं भने, कुरा गर्ने असल विषयहरू धेरै छन्।—फिलिप्पी ४:८.
अरूहरूबारे गरिएको कुरा बदख्वाइमा कसरी परिणत हुन्छ
८. सङ्गी मसीहीहरूको विषयमा कुरा गर्नु सधैं खराब किन होइन?
८ यदि हामी सत्य कुरा गरिरहेका छौं र यो कुराबाट कसैलाई केही नोकसान हुँदैन भने, विश्वासमा हुने आफ्ना सङ्गीहरूका क्षेत्र सेवकाई र ईश्वरीय कार्यहरू बारे कुरा गर्नमा केही खराबी छैन। बरू, यस प्रकारका सकारात्मक कुराकानी द्वारा अरूहरूले प्रोत्साहन पाउन सक्नेछन्। (प्रेरित १५:३०-३३ सँग तुलना गर्नुहोस्) विश्वासी प्राचीन गायसबारे कुनै कुनै मसीहीहरूले कुरा गर्दथिए र जस बारे प्रेरित यूहन्नाले यस प्रकार लेखेर पठाए: “हे प्रिय, जे जे तिमीले भाइहरू र विदेशी भाइहरूतर्फ पनि गर्छौ, सो विश्वास योग्यकै काम गर्छौ। तिनीहरूले मण्डलीको सामने तिम्रो प्रेमको गवाही दिन्छन्।” (३ यूहन्ना ५, ६) यसकारण, आफ्ना सङ्गी मसीहीहरूको विषयमा कुरा गर्नु सधैं खराब होइन।
९. (क) हल्का प्रकारको कुराकानी सोझो मानिसको बदख्वाइमा कसरी परिणत हुन सक्दछ? (ख) हामीले आफूलाई कुन प्रश्नहरू सोध्न उचित हुनेछ?
९ तथापि, अरूहरूको निजी कुराहरूमा हात हाल्दै, तिनीहरूको नियत बारे प्रश्न गर्न थाल्यौं र तिनीहरूका चाल-चलनबारे शङ्का उत्पन्न गर्न शुरू गर्यौं भने, हल्का प्रकारको कुराकानी पनि बदख्वाइमा परिणत हुन सक्दछ। शायद हामी आफैलाई यस प्रकारका प्रश्नहरू सोधने बानी बसाल्न सक्दछौं: मैले गरेको कुराले गर्दा के अर्को व्यक्तिको बदनामी हुन सक्दछ? मैले भनेको कुरा के सत्य हो? (प्रकाश २१:८) के म यस प्रकारको कुरा तिनको सामने गर्ने थिएँ? यस प्रकारको कुराले मण्डलीमा फूट उत्पन्न हुन्छ कि? मैले भनेका कुराहरूको कारण, मण्डलीमा सेवा गर्ने अधिकारहरू तिनीबाट खोसिन सक्छ कि? के मेरो हृदयमा डाह छ कि? (गलाती ५:२५, २६; तितस ३:३) मैले गरेको चर्चाको फल असल हुनेछ कि खराब? (मत्ती ७:१७-२०) के मैले यस प्रकारका कुराहरू प्रेरितहरूको विषयमा गर्ने थिएँ होला? (२ कोरिन्थी १०:१०-१२; ३ यूहन्ना ९, १०) यहोवालाई श्रद्धा गर्दछु भनेर दाबी गर्नेहरूलाई यस प्रकारको कुरा गर्न सुहाउँछ?
१०, ११. भजनसंग्रह १५:१, ३ अनुसार, परमेश्वरको अतिथि हुन चाहन्छौं भने, हामीले के गर्ने छैनौं?
१० परमेश्वरको श्रद्धा गर्नेहरूलाई सङ्केत गर्दै, भजनसंग्रह १५:१ मा यी प्रश्नहरू गरिएको छ: “हे परमप्रभु [यहोवा न्यू. व], तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र डाँड़ामा को रहनपाउनेछ?” यस प्रकारको व्यक्ति बारे, दाऊद यस प्रकारको जवाफ दिन्छन्: “जसले आफ्नो जिब्रोले बदख्वाइ गर्दैन, औ आफ्नो मित्रको खराबी गर्दैन, आफ्नो छिमेकीहरूको बेइज्जत गर्दैन।” (भजनसंग्रह १५:३) यहाँ “बदख्वाइ” भन्ने शब्द हिब्रू कृया “पैदल जाँदै” अथवा “हिडँडुल गर्नु” बाट लिएको हो। र इस्राएलीहरूलाई यो आज्ञा दिइएको थियो: “मानिसहरूको बीचमा कुरा ओसार्ने भएर तल र माथि नगर।” (लेवी १९:१६, न्यु इन्टरनेशनल वर्सन) ‘कुरा ओसार्दै’ बदख्वाइ गर्ने मानिस परमेश्वरको मित्र र अतिथि हुन सक्दैन।
११ परमेश्वरका मित्रहरूले आफ्ना साथीहरूको केही खराबी गर्दैनन् र आफ्ना सोझा साथी भाइहरूको विषयमा अरूहरूले बदख्वाइजनक कुरा गर्दा, ती कुराहरूलाई सत्य ठान्दैनन्। विश्वासमा हुने आफ्ना सङ्गीहरूको विषयमा मिथ्या कुराहरू फैलाउँदै हिड़नुको सट्टा र तिनीहरूमाथि भक्तिहीन मानिसहरूले ओइर्याएको अपमान अझ बढ़ाउनु भन्दा, हामीहरूले सधैं तिनीहरूको विषयमा असल कुरा गर्नु पर्छ। आफ्ना भाइ-बहिनीहरूको विषयमा अपमानजनक कुरा गर्दै, तिनीहरूको बोझ हामीले अझ बढ़ाउनु भएन।
कठिनाइहरू आइपर्दा
१२. हामीसँग मतभेद भएको व्यक्तिको विषयमा कुरा काट्ने आकर्षण पर्दा, प्रेरित १५:३६-४१ ले हामीलाई कसरी मदद दिन सक्नेछ?
१२ हामी असिद्ध भएको हुनाकारण, जुन व्यक्तिसँग हाम्रो कुनै गम्भीर भिन्नता भएको छ भने, त्यो व्यक्तिको विरूद्धमा बोल्ने हामीलाई आकर्षण होला। तर पावलले आफ्नो दोस्रो प्रचार यात्रा शुरू गर्नै लागेको बेलामा के भएको थियो, एसो विचार गर्नु होस्। बर्णाबासले मर्कूसलाई साथमा लिएर जाने फैसला गरेको भएता पनि, पावल मानेनन् किनभने, “उनी प्याम्फिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए औ तिनीहरूका साथ काममा गएका थिएनन्।” यसलेगर्दा, तिनीहरूको बीच “यति चर्को मतभेद” भयो र तिनीहरू छुट्टिए। बर्णाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर लागे र पावल र सिलास चाहिं सिरिया र सिलिसियाबाट हुँदै गए। (प्रेरित् १५:३६-४१) केही समय पछि, पावल, बर्णाबास र मर्कूसको बीचको झगड़ा मेटिएको देखिन्छ किनभने मर्कूस प्रेरित पावलसँग रोममा बसेको पाइन्छ र पावलले पनि तिनको विषयमा असल कुरा गरेको पाउँदछौं। (कलस्सी ४:१०) त्यहाँ आपसमा मनमुटाउ भएकै भएता पनि, विश्वासमा हुने आफ्ना सङ्गीहरूकहाँ गएर एक अर्काको विषयमा ती मसीहीहरूले कुरा काटेको प्रमाण छैन।
१३. पत्रुस सँग सम्बन्धित कुन प्रकारको परिस्थितिहरूमा पनि, पावलले पत्रुसको विषयमा कुरा काटेनन्?
१३ यरूशलेमबाट आएका केही यहूदी मसीहीहरूको उपस्थितिमा, विश्वासमा हुने अन्यजातिहरूसँग केफास (पत्रुस) बसेर खान लज्जित भएको देख्दा, पावलले केफासको हानि हुने गरी तिनको विषयमा कुरा काट्न सक्ने सम्भावनाबाट आफूलाई रोके। तर पत्रुसको पिठिउँ पछाड़ि कुरा काटेर हिंडनुको सट्टा, पावल “उनकै सामने उनको विरूद्धमा खड़ा भए” र “सबैको सामु” पत्रुसको सुधार गरे। (गलाती २:११-१४) पत्रुसले पनि आफूलाई सुधार गर्ने व्यक्तिको विरोध गरेनन्। बरू, केही समय पछि, तिनले पावललाई “हाम्रा प्रिय भाइ पावल” भनेर सङ्केत गरेको पाउँदछौं। (२ पत्रुस ३:१५) यसकारण, विश्वासमा हुने हाम्रा कुनै सङ्गीलाई सुधारको खाँचो परेकै छ भन्दैमा, तिनको विषयमा अरूहरूकहाँ गएर कुरा काट्नु गलत हो। यस प्रकार कुरा काट्न र हानिकारक बदख्वाइ फैलाउन देखिन् होसियार रहने विशेष कारणहरू छन्।
किन होसियार रहनु?
१४. हानिकारक गफ न सुन्ने र न फैलाउने एउटा मुख्य कारण के हो?
१४ हानिकारक बदख्वाइ न सुन्ने अथवा न फैलाउने मुख्य कारण यो हो कि हामी यहोवालाई प्रसन्न तुल्याउन चाहन्छौं र उहाँ बदख्वाइको विरोध गर्नु हुन्छ। यस प्रकारको वचन प्रति परमेश्वरको दृष्टिकोण के हो, उहाँले इस्राएलीहरूलाई दिनुभएको यो आज्ञाबाट नै बुझ्न सकिन्छ: “मानिसहरूका बीच कुरा ओसार्ने भएर तल माथि नगर। तिमीहरू आफ्नो छिमेकीको रक्तपातको निम्ति खड़ा नहोओ। म परमप्रभु [यहोवा न्यू. व] हुँ।” (लेवी १९:१६) हामी ईश्वरीय अनुग्रह चाहन्छौं भने, कुराकानीको सिलसिलामा हामीले कसैको पनि बदख्वाइ गर्नु भएन।
१५. सबै भन्दा प्रमुख बदख्वाइ गर्ने को हो र हानिकारक बदख्वाइमा भाग लिने गर्यौं भने परमेश्वरसँगको हाम्रो सम्बन्धमा के असर पर्न सक्नेछ?
१५ हानिकारक बदख्वाइमा भाग न लिने अर्को कारण यो हो कि हामी यहोवाको प्रमुख निन्दक, शैतानको अनुसरण गर्ने हुन सक्छौं। परमेश्वरको यो प्रमुख शत्रुलाई उचित रूपमा “दियाबल” (युनानी भाषामा दियाबोलोस) नाउँ दिएको छ र यसको अर्थ “बदख्वाइगर्ने” व्यक्ति हो। शैतानले परमेश्वरको विरूद्धमा गरेको बदख्वाइपूर्ण कुरा गरेको हव्वाले सुनेर त्यही अनुसार काम गरे पछि, प्रथम मानव दम्पति तिनीहरूको सर्वश्रेष्ठ मित्रबाट अलग भए। (उत्पत्ति ३:१-२४) हामीहरू कहिले पनि शैतानको चालमा न फसौं र ईश्वरीय नामञ्जुरी पाउने हानिकारक कुराकानीमा भाग लिने न गरौं किनभने यस प्रकारको कुराले गर्दा हामी हाम्रा सर्वश्रेष्ठ मित्र यहोवा परमेश्वरबाट अलग हुन सक्छौं।
१६. बदख्वाइले गर्दा “मित्रहरूमा फाटो” कसरी आउन सक्दछ?
१६ अर्काको द्वेषपूर्ण बदख्वाइ गर्ने कुरौटेहरूलाई हामीले सुन्नु हुँदैन किनभने तिनीहरूले मित्रहरूको बीच फाटो ल्याउँछ। अकसर, बदख्वाइ गर्नेहरूले कुरा बढ़ाउँछन्, कुरा बनाउँछन्, असत्य बोल्छन् र जलन उत्पन्न गराउने शब्दहरूको पहाड़ खड़ा गर्छन्। मुखा-मुख बोल्नुको सट्टा, तिनीहरू पछाड़िबाट कानेखुसी गर्ने गर्छन्। बिना आधारको शङ्काहरू अकसर उठाउँछन्। यस प्रकार, “चुक्ली-खोरले मित्रहरूमा फाटो गराउँछ।”—हितोपदेश १६:२८।
१७. हल्का प्रकारको गफमा पनि ग्रस्त हुन देखिन् हामी किन होसियार हुनु पर्दछ?
१७ हामीहरू हल्का ढङ्गमा पनि एक अर्काको कुरा काट्ने गर्न देखिन् होसियार हुनु पर्दछ। किन? किनभने अरूलाई चोट न पुर्याउने कुरा पनि बारम्बार दोह्रयाएर भन्दा, चोटलाग्दो हुन सक्दछ। कुरा मठारिन अथवा बढ़ाइन सकिन्छ र अन्तमा त्यसले कुनै ईश्वरीय व्यक्तिको इज्जतमा धक्का लगाउन सक्दछ। यस्तो भयो भने, र त्यो कथा शुरू गर्ने मानिस तपाईं नै हुनु हुँदो रहेछ अथवा तपाईंले नै त्यो कथा फैलाउनु भएको रहेछ भने, तपाईंलाई कस्तो लाग्नेछ? मानिसहरूले तपाईंलाई हानिकारक व्यक्ति ठान्न सक्नेछन् र तपाईंसँग सङ्गत गर्ने इच्छा पनि न गर्लान्।—हितोपदेश २०:१९ सँग तुलना गर्नुहोस्.
१८. कुरा काट्ने बानीले गर्दा, मानिस कसरी झूटो साबित हुन सक्दछ?
१८ होसियार रहनु पर्ने अर्को कारण के हो भने, हानिकारक गफले तपाईंलाई झूटा साबित गर्न सक्नेछ। “निन्दक मानिसको चुक्ली भोक जगाउने गाँस जस्तै हो, त्यो मानिसको अन्तस्करणसम्मै पुग्छ।” (हितोपदेश २६:२२) तपाईंले पनि मिथ्या कुराहरू निल्नु भएर फेरि ती कुराहरू नै दोह्राउनु भयो भने के होला? ती मिथ्या कुराहरूलाई तपाईंले सत्य नै ठान्नु भएको भएता पनि, तिनीहरूलाई फैलाउनु हुँदा, तपाईंले झूट बोल्नु भएको बराबर हुनेछ। र ती कुराहरू झूटो प्रमाणित हुँदा, अरूले तपाईंलाई झूटो ठान्नेछन्। के तपाईं यस्तो भएको देख्न चाहनु हुन्छ? धर्म सम्बन्धी झूटो शिक्षाहरूका लागि के परमेश्वरले झूटो शिक्षकहरूलाई जिम्मेवार ठान्नु भएको छैन र? येशूले यो चेताउनी दिनु भएको थियो: “हरेक व्यर्थ कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले सबको हिसाब दिनु पर्नेछ। किनकि तिम्रा आफ्नै वचनहरूले तिमी धर्मी ठहरिनेछौ, औ तिम्रा आफ्नै वचनहरूले तिमी दोषी ठहरिनेछौ।” (मत्ती १२:३६, ३७, बायिङ्गटन) “हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनु” परेको हुनाकारण, के उहाँले तपाईंलाई एउटा झूटो बदख्वाइगर्ने व्यक्ति ठान्नु भएको चाहनु हुन्छ?—रोमी १४:१२.
१९. हानिकारक गफ प्राणघातक हो भनेर किन भन्न सकिन्छ?
१९ हानिकारक गफ न फैलाउने अर्को कारण यो हो कि त्यो अरूको हत्या गरेको बराबर हुनु सक्छ। हो, त्यो प्राणघातक हुन सक्दछ र त्यसले एउटा निर्दोष मानिसको असल नाउँको बदनाम गरी दिन सक्छ। कसै कसैका जिब्रोहरू ‘शान लगाएका . . . तरवारझैं’ हुन्छन् र द्वेषपूर्ण शब्दहरू निर्दोष मानिसलाई लुकेर हानेको काँड़हरू जस्तै हुन्छन्। दाऊदले यस प्रकार प्रार्थना गरे: “कुकर्मीहरूको गुप्त सल्लाहबाट, र अधर्म काम गर्नेहरूको हल्लाबाट मलाई लुकाउनुहोस्। जसले आफ्ना जिब्रोलाई तरवारझैं शान लगाएका छन्, औ तीता वचनरूपी काँड़हरूले ताकेका छन्।” (भजनसंग्रह ६४:२-४) के तपाईं आफ्ना साथी भाइहरूको विरूद्धमा यस प्रकारको खराब कुरा गर्न चाहनु हुन्छ र, जसले गर्दा भजनसंग्रहको यो लेखक झैं तिनीहरू पनि परमेश्वरबाट मदद माँग्न बाध्य होऊन्? के तपाईं हत्या सरह कामको निम्ति दोषी हुन चाहनु हुन्छ र?
२०. (क) परमेश्वरको मण्डलीमा, बदख्वाइ गर्ने र यसो गरेको लागि पश्चाताप न गर्नेहरूलाई के हुन सक्नेछ? (ख) प्राचीनहरूले हल्का प्रकारको कुराकानी र बदख्वाइ सम्बन्धमा, प्राचीनहरू किन होसियार हुनु पर्दछ?
२० बदख्वाइ गरेको कारण परमेश्वरको सङ्गठनबाट हटाइन सकिनेछ; पश्चाताप नगर्ने झूटा मानिस साबित भएर बदख्वाइ गर्ने व्यक्ति बहिष्कृत हुन सक्छ। तथापि हल्का प्रकारले कुरा काट्नेहरूको विरूद्धमा पनि यही कार्यावाही गर्नु पर्दैन। प्राचीनहरूले प्रार्थनापूर्वक मामलाको फैसला गर्न आवश्यक छ र तिनीहरूले द्वेषपूर्ण बदख्वाइ र साधारण गफ छुट्टाउन सक्नु पर्छ। दोषी व्यक्ति एउटा इखालु र पश्चाताप नगर्ने निन्दक हो भने मात्र त्यसलाई बहिष्कार गर्न मिल्नेछ। मानवीय चासोको कारण गरिएको सत्य र द्वेषभाव नभएको सानुतिनु कुराकानीका लागि मानिसलाई बहिष्कार गर्ने प्राचीनहरूको अधिकार छैन। सानु कुरालाई बेमनासिब ढङ्गमा बढ़ाउनु हुँदैन र त्यसमा बदख्वाइ विथोलित छ भनेर यथेष्ट प्रमाण दिने साक्षीहरू हुनु आवश्यक छ। (१ तिमोथी ५:१९) द्वेषपूर्ण गफलाई मेटाउन र मण्डलीलाई पाप द्वारा खमिरी हुनु देखिन् बचाउनका लागि पश्चाताप नगर्ने बदख्वाइगर्नेहरू हटाइन्छन्। (१ कोरिन्थी ५:६-८, १३) तर प्राचीनहरूले हतार हतार, कुनै शास्त्रीय आधारै बिना, कसैलाई पनि बहिष्कार गर्नु हुँदैन। प्रार्थना र सरसल्लाह द्वारा, प्राचीनहरूले त्यो व्यक्तिलाई पश्चाताप गर्ने, क्षमा माँग्ने अथवा आफूले बिगारेको कुरा सच्याउने र जिब्रोलाई वशमा राख्ने प्रगति गर्न मदद दिन सक्नेछन्।
के त्यो बदख्वाइ हो?
२१. गलत काम गर्ने व्यक्तिको विषयमा कुरा काट्नुको सट्टा, के गर्नु उचित हुनेछ?
२१ एउटा बुद्धिमतापूर्ण हितोपदेश अनुसार: “कुरा ओसार्नेले गुप्त कुरा प्रकट गर्छ, तर विश्वासयोग्य मानिसले गुप्त कुरा आफ्नै मनमा राख्छ।” (हितोपदेश ११:१३) के यसको अर्थ, कसैले गुप्त ढङ्गमा घोर पाप गरिरहेको छ भने, यस विषयमा केही भन्नु बदख्वाइ हुनेछ र? हुनेछैन। तपाईंले यस विषयमा अरूहरूसँग गएर जताततै कुरा गर्नु ठीक हुनेछैन। तपाईंले गलत काम गर्ने व्यक्तिसँग कुरा गर्नु पर्छ र तिनलाई प्राचीनहरूकहाँ गएर मदद माँगन प्रोत्साहन दिनु उचित हुनेछ। (याकूब ५:१३-१८) तिनले यो काम मनासिब समय भित्र गरेनन् भने, मण्डलीको शुद्धतामा चासो राख्दै, तपाईंले प्राचीनहरूलाई यो कुराको खबर दिनु पर्दछ।—लेवी ५:१.
२२. १ कोरिन्थी १:११ को घटनाले कुरा काट्ने अनुमति दिएको छैन भनेर हामी किन भन्न सक्छौं?
२२ यसरी खबर दिनु भए पछि, गलत काम गर्नेले अनुशासन अनुशासन पाउला र त्यो उसको लागि कुनै रमाइलो अनुभव न होला। तापनि, अनुशासन द्वारा प्रशिक्षित व्यक्तिले धार्मिकताको फल काट्ने छ। (हिब्रू १२:११) गलत कामको सूचना यस प्रकारको मामला सम्हाल्ने अनुभव भएकाहरूलाई दिनु पर्छ र जताततै गएर कुरा गर्नेहरूलाई होइन। पावलले कोरिन्थका मसीहीहरूलाई एसो भने: “तिमीहरूमा झगड़ा छ भन्ने तिमीहरूका बारेमा क्लोएका घरानाकाहरूबाट मलाई सूचना मिलेको छ।” (१ कोरिन्थी १:११) के त्यो घरानाका सदस्यहरूले विश्वासमा हुने आफ्ना सङ्गीहरूको विषयमा कुरा काटी रहेका थिए र? थिएनन् किनभने तिनीहरूले सूचना एउटा जिम्मेवार प्राचीनलाई दिए जसले मददको खाँचो परेकाहरूलाई फेरि जीवनको बाटोमा आउने सहायता दिन सक्दथिए।
२३. छलफलका लागि कुन प्रश्न बाँकी नै छ?
२३ हामीले कुनै व्यक्तिलाई हानिकारक गफबाट अलग रहने होसियारी दिलायौं भने, हामीले तिनको निम्ति भलाइ गरिरहेका हुनेछौं। एउटा बुद्धिमतापूर्ण हितोपदेशले एसो भन्दछ: “आफ्नो वचनको ख्याल गर्नेले आफ्नो प्राण जोगाउँछ। तर धेरै बोल्ने शोकमा पर्छ।” (हितोपदेश १३:३) कुरा स्पष्ट छ। हानिकारक गफ र दुष्ट बदख्वाइबाट होसियार रहने उचित कारणहरू छन्। तापनि, हानिकारक गफ कसरी मेटिन सकिन्छ? आउँदो लेखमा यसको छलफल हुनेछ। (w89 10/15)
तपाईंको जवाफ के हो?
◻ हल्का कुरा-कानी र बदख्वाइको बीच के भिन्नता छ?
◻ अर्काको विषयमा गरिएको कुराकानी बदख्वाइमा कसरी परिणत् हुन सक्छ?
◻ हानिकारक गफबाट होसियार रहने केही कारणहरू के हुन्?
◻ अर्को व्यक्तिले गरेको गलत कामको सूचना दिनु किन बदख्वाइ होइन?
[पृष्ठ २७-मा भएको चित्र]
मानिसको कुरा काट्दै, पछाड़िबाट काँड़ हान्ने दोषबाट सधैं अलग रहनु होस्