आत्माको भरमा हिंड्नुहोस् र समर्पण अनुरूप जीवन बिताउनुहोस्
“आत्माको भरमा हिंड, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन।”—गला. ५:१६.
१. पेन्तिकोसको दिन कस्तो बप्तिस्मा भयो?
इस्वी संवत् ३३ पेन्तिकोसमा येशूका अनुयायीहरू पवित्र आत्माद्वारा बप्तिस्मा भएपछि तिनीहरूले विभिन्न भाषामा बोले। तिनीहरूले पवित्र आत्माको चमत्कारपूर्ण वरदान प्रकट गरे। (१ कोरि. १२:४-१०) यो वरदान र प्रेरित पत्रुसले दिएको भाषणको परिणाम कस्तो भयो? उक्त कुरा थुप्रैको “हृदयमा गड्यो।” पत्रुसको आग्रहमा तिनीहरूले पश्चात्ताप गरे र बप्तिस्मा लिए। ऐतिहासिक विवरण यस्तो छ: “जसजसले तिनका कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्रायः तीन हजार प्राणीहरू तिनीहरूमा थपिए।” (प्रेरि. २:२२, ३६-४१) येशूको निर्देशनअनुसार तिनीहरू पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीले बप्तिस्मा भएको हुनुपर्थ्यो।—मत्ती २८:१९.
२, ३. (क) पवित्र आत्माले बप्तिस्मा हुनु र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुबीचको भिन्नता बताउनुहोस्। (ख) वर्तमान समयमा साँचो ख्रीष्टियान हुन चाहने सबैले किन पानीको बप्तिस्मा लिनुपर्छ?
२ तथापि पवित्र आत्माले बप्तिस्मा हुनु र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुबीच के कुनै भिन्नता छ? अवश्य छ। पवित्र आत्माले बप्तिस्मा हुनेहरू परमेश्वरका आत्मा-अभिषिक्त छोराको रूपमा नयाँ गरी जन्मन्छन्। (यूह. ३:३) तिनीहरू परमेश्वरको स्वर्गीय राज्यमा भावी सह-शासक र उप-पूजाहारी हुन अभिषिक्त भएका हुन्छन् र तिनीहरू ख्रीष्टको आध्यात्मिक शरीरको भाग हुन्। (१ कोरि. १२:१३; गला. ३:२७; प्रका. २०:६) त्यसैले पवित्र आत्माद्वारा हुने यो बप्तिस्मा यहोवाले पेन्तिकोसको दिनमा र त्यसपछिका दिनहरूमा गराउँदा ख्रीष्टका साझे हकवाला हुनेहरू छान्नुभयो। (रोमी ८:१५-१७) तर वर्तमान समयमा यहोवाका जनहरूको सम्मेलन तथा अधिवेशनहरूमा नियमित हुने गरेको “पवित्र आत्माको नाउँमा” लिइने बप्तिस्मा नि?
३ साँचो ख्रीष्टियानहरू यहोवाप्रतिको आफ्नो पूर्ण समर्पण जनसमक्ष प्रकट गर्न पानीमा बप्तिस्मा लिन्छन्। स्वर्गीय बोलावट भएकाहरूले पनि त्यसै गर्छन्। तर यो पानीको बप्तिस्मा पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका वर्तमान समयका लाखौं पुरुष तथा स्त्रीका लागि आवश्यक कदम पनि हो। आशा जस्तोसुकै भए पनि पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनु परमेश्वरमा स्वीकार्य हुन चाल्नैपर्ने आवश्यक कदम हो। पानीको बप्तिस्मा लिने सबै ख्रीष्टियान ‘आत्माको भरमा हिंडेको’ आशा गरिन्छ। (गलाती ५:१६ पढ्नुहोस्) के तपाईं आत्माको भरमा हिंडेर समर्पण अनुरूप जीवन बिताइरहनुभएको छ?
“आत्माको भरमा हिंड” भन्नुको अर्थ
४. ‘आत्माको भरमा हिंड्नुको’ मुख्य अर्थ के हो?
४ ‘आत्माको भरमा हिंड्नुमा’ पवित्र आत्माले तपाईंमा गर्ने कामलाई स्वीकार्नु र पवित्र आत्मालाई तपाईंमा प्रभाव पार्न दिनु समावेश छ। भनाइको मतलब तपाईंको दैनिक क्रियाकलाप पवित्र आत्माद्वारा डोरिएको हुनुपर्छ। गलाती अध्याय ५ ले पवित्र आत्माको प्रभावमा पर्नु र शरीरको लालसामा पर्नुबीचको भिन्नता देखाएको छ।—गलाती ५:१७, १८ पढ्नुहोस्।
५. पवित्र आत्माको प्रभावमा पर्नुमा कस्ता कुराबाट अलग रहनु समावेश छ?
५ यदि तपाईं पवित्र आत्माको प्रभावमा पर्नुभएको छ भने शरीरका कामबाट अलग रहन खोज्नुहुन्छ। तिनमा यी कुरा समावेश छन्: “व्यभिचार, अपवित्रता, लुच्याइँ, मूर्तिपूजा, मन्त्र-तन्त्र, दुश्मनी, झैझगडा, इर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह, मत्वालीपन, भोजको मोजमजा।” (गला. ५:१९-२१) भनाइको मतलब तपाईं “पवित्र आत्माद्वारा शरीरका कार्यहरू निर्मूल” पार्नुहुन्छ। (रोमी ८:५, १३) यसो गर्दा तपाईंले आफूलाई शारीरिक लालसाहरूको वशमा पर्न दिनुको साटो आफ्नो मन आत्माका कुराहरूमा लगाउन र यसको डोऱ्याइअनुसार चल्न मदत पाउनुहुनेछ।
६. आत्माको फलका पक्षहरू प्रकट गर्न के चाहिन्छ, उदाहरणसहित बताउनुहोस्।
६ पवित्र आत्माले तपाईंमा काम गर्न थाल्दा ईश्वरीय गुणहरू अर्थात् “आत्माको फल”-का पक्षहरू तपाईं प्रकट गर्नुहुन्छ। (गला. ५:२२, २३) तर यसको लागि प्रयास गर्नुपर्छ भनी तपाईं महसुस गर्नुहुन्छ। यसलाई उदाहरणबाट बुझौं: किसानले जमिन खनजोत गर्छ। हो, खेतीको लागि घाम र पानी नभई हुँदैन। तीबिना किसानले उब्जनीको आशा गर्न सक्दैन। पवित्र आत्मालाई घामसित तुलना गर्न सकिन्छ। आत्माको फलका पक्षहरू प्रकट गर्न हामीलाई पवित्र आत्मा नभई हुन्न। तर किसानले कडा मेहनत नगरी के नै उब्जाउन सक्छ र? (हितो. १०:४) हो, तपाईं आफ्नो हृदयको माटोलाई जसरी खनजोत गर्नुहुन्छ, त्यसले तपाईंमा उब्जने आत्माको फलका पक्षहरूको गुणस्तर र परिमाणमा फरक पार्छ। त्यसैले आफैलाई सोध्नुहोस्: ‘पवित्र आत्मासँगसँगै काम गरेर के म यसको फलका पक्षहरूलाई आफूमा उब्जन दिइरहेको छु?’
७. पवित्र आत्माको फलका पक्षहरू खेती गर्न चाहनुहुन्छ भने अध्ययन र मनन किन अत्यन्तै महत्त्वपूर्ण छ?
७ असल उब्जनी पाउन किसानले बालीमा पानी हाल्नु पनि आवश्यक छ। त्यसैगरि आत्माको फलका पक्षहरू खेती गर्न बाइबलमा पाइने र अहिले ख्रीष्टियान मण्डलीमार्फत उपलब्ध हुने सत्यको पानी तपाईंलाई चाहिन्छ। (यशै. ५५:१) सायद तपाईंले थुप्रैलाई पवित्र बाइबल पवित्र आत्माको उपज हो भनेर बताउनुभयो। (२ तिमो. ३:१६) साथै विश्वासी र बुद्धिमान् दास वर्गले बाइबल सत्यको शुद्ध पानीबारे बुझ्नैपर्ने जानकारी दिन्छन्। (मत्ती २४:४५-४७) यसको आशय स्पष्ट छ। पवित्र आत्माको प्रभावमा पर्न हामीले परमेश्वरको वचन पढ्नैपर्छ र पढेको कुरा मनन गर्नैपर्छ। यसो गर्दै हुनुहुन्छ भने, प्राप्त जानकारी ‘खोज्ने र प्रयत्नसाथ तलास गर्ने’ अगमवक्ताहरूको असल उदाहरण पछ्याउँदै हुनुहुन्छ। उल्लेखनीय कुरा स्वर्गदूतहरूले समेत प्रतिज्ञा गरिएको सन्तान र अभिषिक्त ख्रीष्टियान मण्डलीसम्बन्धी आध्यात्मिक सच्चाइप्रति गहिरो चासो देखाएका छन्।—१ पत्रुस १:१०-१२ पढ्नुहोस्।
आत्माको प्रभावमा पर्ने—कसरी?
८. तपाईंले यहोवासँग पवित्र आत्मा माग्नु महत्त्वपूर्ण छ, किन?
८ यसको लागि बाइबल अध्ययन गरेर र मनन गरेर मात्र पुग्दैन। तपाईंले यहोवाको मदत र डोऱ्याइ मागिरहनुपर्छ। उहाँले “हामीले मागेको र सम्झेको भन्दा ज्यादै प्रशस्तगरी दिन” सक्नुहुन्छ। (एफि. ३:२०; लूका ११:१३) तर कसैले यसरी सोधेमा तपाईं के जवाफ दिनुहुन्छ: “मैले माग्नुअघि नै मेरो आवश्यकता परमेश्वरलाई थाह छ भने उहाँसँग किन मागिरहनुपर्छ र?” (मत्ती ६:८) एउटा कारण, पवित्र आत्माको लागि प्रार्थना गर्दा तपाईंले यहोवामा भर पर्नुपर्छ भनेर स्वीकारिरहनुभएको हुन्छ। उदाहरणको लागि, यदि कसैले तपाईंसँग मदत माग्यो भने तपाईं सकेजति मदत गर्नुहुन्छ। तपाईंले त्यसो गर्नुको कारण उक्त व्यक्तिले तपाईंमा भरोसा गरेर तपाईंसँग मदत मागेकोले हो। (हितोपदेश ३:२७ तुलना गर्नुहोस्) त्यस्तैगरि तपाईंले परमेश्वरसँग पवित्र आत्मा माग्दा उहाँ आनन्दित हुनुहुन्छ र उहाँले तपाईंलाई पवित्र आत्मा दिनुहुनेछ।—हितो. १५:८.
९. ख्रीष्टियान सभाहरूमा उपस्थित हुँदा परमेश्वरको आत्माको प्रभावमा पर्ने मदत तपाईं कसरी पाउन सक्नुहुन्छ?
९ परमेश्वरको आत्माको प्रभावमा पर्ने अर्को तरिका सभा, सम्मेलन र अधिवेशन हुन् भनेर तपाईंलाई अवश्य थाह छ। सभा-सम्मेलनमा उपस्थित हुने र ध्यान दिने प्रयास गर्नु एकदमै महत्त्वपूर्ण छ। यसो गर्दा तपाईं “परमेश्वरका गहीरा-गहीरा कुराहरू” बुझ्न सक्नुहुन्छ। (१ कोरि. २:१०) सभामा नियमित टिप्पणी दिंदा पनि लाभ हुन्छ। विगत चार हप्ताका सभालाई सम्झनुहोस्। टिप्पणी दिएर आफ्नो विश्वास व्यक्त गर्न तपाईंले कतिचोटि हात उठाउनुभयो? यस क्षेत्रमा उन्नति गर्नुपर्ने ठाउँ छ कि? छ भने आगामी हप्ताहरूमा के गर्न सकिन्छ, त्यसो गर्ने संकल्प गर्नुहोस्। सभामा भाग लिने तपाईंको इच्छुकता यहोवाले देख्नुहुनेछ र तपाईंलाई पवित्र आत्मा दिनुहुनेछ। यसले तपाईंलाई सभाहरूबाट अझ लाभ उठाउन मदत दिनेछ।
१०. आत्माको भरमा हिंड्नुमा अरूलाई कुन निम्तो बाँड्नु समावेश छ?
१० आत्माको भरमा हिंड्नुमा प्रकाश २२:१७ को यो निम्तो स्वीकार्नु समावेश छ: “आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस्।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्’ भनोस्। जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैमा लेओस्।” अभिषिक्त दुलही वर्गमार्फत पवित्र आत्माले जीवनको पानीसम्बन्धी यो निम्तो बाँड्दैछ। “आउनुहोस्” भन्ने यो निम्तो स्वीकार्नुभएको छ भने अरूलाई पनि उक्त निम्तो दिने अठोट के तपाईंले गर्नुभएको छ? जीवन बचाउने यस काममा भाग लिन पाउनु कत्रो सुअवसर!
११, १२. प्रचारकार्यमा पवित्र आत्मा कसरी समावेश छ?
११ अहिले यो महत्त्वपूर्ण काम पवित्र आत्माको डोऱ्याइमा पूरा भइरहेको छ। प्रथम शताब्दीमा मिसनरीहरूका लागि नयाँ इलाकाहरूको ढोका खुल्ला गर्ने काममा पवित्र आत्माले कस्तो भूमिका खेल्यो, त्यो हामीले पढेका छौं। प्रेरित पावल र उनका साथीहरूलाई “पवित्र आत्माबाट एशियामा प्रचार गर्न मनाई” गरियो र बिथनियातर्फ जान पनि दिइएन। तिनीहरूलाई ती ठाउँहरूमा जान पवित्र आत्माले कसरी रोक्यो हामीलाई थाह छैन। तर युरोपको ठूलो इलाकामा जान भने आत्माले पावललाई डोऱ्याएको चाहिं स्पष्ट छ। तिनले म्यासिडोनियाको एक जना मान्छेले मदत मागिरहेको दर्शन देखेका थिए।—प्रेरि. १६:६-१०.
१२ त्यसैगरि आज पनि यहोवाको आत्माले विश्वव्यापी प्रचारकार्यमा डोऱ्याइरहेको छ। निर्देशन दिन चमत्कारी दर्शनहरू प्रयोग गरिएका छैनन्। बरु यहोवाले पवित्र आत्माद्वारा अभिषिक्त जनहरूलाई डोऱ्याउनुहुन्छ। अनि त्यही आत्माले भाइबहिनीलाई प्रचार गर्न र सिकाउन सक्दो गर्ने उत्प्रेरणा दिन्छ। यस महत्त्वपूर्ण काममा तपाईंले पनि पक्कै भाग लिइरहनुभएको छ। यस रोमाञ्चक गतिविधिमा आफ्नो आनन्द अझ बढाउन सक्नुहुन्छ कि?
१३. तपाईं पवित्र आत्माको निर्देशनको अधीनमा कसरी बस्न सक्नुहुन्छ, उदाहरण दिनुहोस्।
१३ परमेश्वरका जनहरूका लागि दिइएको जानकारी लागू गरेर तपाईं पवित्र आत्माको निर्देशनको अधीनमा बस्न सक्नुहुन्छ। जापानकी मिहोकोलाई विचार गर्नुहोस्। भर्खरै अग्रगामी सेवा गर्न थालेकी यी जवान बहिनीलाई पुनःभेट गर्न आफू सक्षम नभएको र घरधनीको चासो जगाउन नसकेको महसुस भएछ। त्यसै बेलातिर कसरी छोटो पुनःभेट गर्ने भनेर हाम्रो राज्य सेवकाई-मा व्यावहारिक सल्लाहहरू दिइएको थियो। त्यसपछि एउटा पुस्तिकाa प्रकाशित भयो। यो पुस्तिका विशेषगरि जापानी इलाकामा उपयोगी साबित भयो। मिहोकोले यो पुस्तिका कसरी चलाउने भन्नेबारे, विशेषगरि छोटो पुनःभेट गर्नेबारे दिइएको सल्लाह लागू गरिन्। त्यसो गरेलगत्तै तिनले पहिला अध्ययन गर्न त्यति चासो नदेखाएकाहरूसित बाइबल अध्ययन सुरु गर्न सकिन्। तिनी भन्छिन्: “मेरा यत्ति धेरै अध्ययन थिए कि कतिलाई त अध्ययन गर्न पर्खाउनुपरेको थियो! एक पटक त १२ जना सम्मलाई अध्ययन गराउनुपरेको थियो।” वास्तवमा तपाईं यहोवाका सेवकहरूलाई दिइएको निर्देशन लागू गर्दै आत्माको भरमा हिंड्दा प्रशस्तगरि कटनी गर्न सक्नुहुन्छ।
परमेश्वरको आत्मामा भर पर्नुहोस्
१४, १५. (क) असिद्ध मानिसहरूले समर्पण अनुरूप जीवन बिताउनु कसरी सम्भव छ? (ख) तपाईं सबैभन्दा असल मित्रहरू कसरी पाउन सक्नुहुन्छ?
१४ नियुक्त सेवकको रूपमा तपाईंले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी छ। (रोमी १०:१४) यस्तो जिम्मेवारी वहन गर्न तपाईंलाई पूर्ण सक्षम छु जस्तो नलाग्ला। तर अभिषिक्त जनहरूलाई जस्तै तपाईंलाई सक्षम पार्ने त परमेश्वर नै हुनुहुन्छ। (२ कोरिन्थी ३:५ पढ्नुहोस्) आफूले सक्नेजति गरेर अनि परमेश्वरको आत्मामा भर परेर तपाईं समर्पण अनुरूप जीवन बिताउन सक्नुहुन्छ।
१५ हो, सिद्ध परमेश्वर यहोवाप्रति गरेको समर्पण अनुरूप जीवन बिताउनु हामी असिद्ध मानिसलाई सजिलो छैन। एउटा समस्या हो, पहिले तपाईंले संगत गरेका कोहीकोही तपाईंको नयाँ जीवनशैली देखेर ताजुब मान्लान् र तपाईंबारे ‘खराबी बोल्लान्।’ (१ पत्रु. ४:४) तर तपाईंले सबैभन्दा महत्त्वपूर्ण व्यक्ति यहोवा र येशू ख्रीष्टसित नयाँ मित्रता गाँस्नुभएको छ भन्ने कुरालाई बेवास्ता नगर्नुहोस्। (याकूब २:२१-२३ पढ्नुहोस्) विश्वभरिका “भाइ-बन्धुहरू”-को भाग अर्थात् स्थानीय मण्डलीका भाइबहिनीसित घुलमिल हुनु पनि महत्त्वपूर्ण छ। (१ पत्रु. २:१७; हितो. १७:१७) यहोवाले तपाईंलाई उहाँको आत्मामार्फत तपाईंमा निरन्तर असल प्रभाव पार्न सक्नेहरूसित मित्रता गाँस्न मदत दिनुहुनेछ।
१६. तपाईं पनि किन पावलजस्तै ‘दुर्बलताहरूमा खुसी हुन’ सक्नुहुन्छ?
१६ मण्डलीमा सहयोगी मित्रहरू भए तापनि दैनिक चुनौतीहरू सामना गर्न तपाईंलाई गाह्रो हुन सक्छ। सामना गर्नुपर्ने चुनौतीहरूले कहिलेकाहीं तपाईंलाई निसासिदिन सक्छ, मानौं तपाईं समस्या नै समस्याको भारले थिचिनुभएको छ। विशेषगरि यस्तै बेला तपाईंले यहोवालाई पुकारेर पवित्र आत्मा माग्नुपर्छ। प्रेरित पावलले यस्तो लेखे: “दुर्बल हुँदा, म शक्तिमान हुन्छु।” (२ कोरिन्थी ४:७-१०; १२:१० पढ्नुहोस्) मानव कमजोरीहरू जस्तोसुकै भए तापनि परमेश्वरको आत्माले सच्याउन सक्छ भनेर पावललाई थाह थियो। त्यसैले कमजोर महसुस हुँदा र मदत चाहिंदा परमेश्वरको सक्रिय शक्तिले तपाईंलाई बल दिन सक्छ। पावलले ‘दुर्बलताहरूमा खुसी हुन’ सक्छु भनेर लेखे। यसो लेख्नुको कारण कमजोर हुँदा आफूमा पवित्र आत्माले काम गरिरहेको तिनले महसुस गरेका थिए। तपाईं पनि त्यस्तै महसुस गर्न सक्नुहुन्छ!—रोमी १५:१३.
१७. गन्तव्यतिर बढ्दा तपाईंलाई पवित्र आत्माले कसरी मदत गर्न सक्छ?
१७ परमेश्वरमा समर्पण गरे अनुरूप जीवन बिताउन सक्ने हुन हामीलाई उहाँको आत्मा चाहिन्छ। एकछिनको लागि आफूलाई पतवार भएको डुंगा चलाइरहेको व्यक्ति ठान्नुहोस्। तपाईंको गन्तव्य हो, सधैंभरि यहोवाको सेवा गर्नु। अनि पवित्र आत्मा तपाईंलाई आफ्नो गन्तव्यमा सुरक्षित पुऱ्याउन मदत गर्ने बताससरह हो। तपाईं शैतानको संसारको आत्माद्वारा यताउता हुत्तिन चाहनुहुन्न। (१ कोरि. २:१२) तपाईंले सही बतासलाई चिन्नुपर्छ। अनि त्यो बतास पवित्र आत्मा हो। परमेश्वरको वचन र उहाँको आत्मा-निर्देशित संगठनमार्फत पवित्र आत्माले तपाईंलाई सही दिशामा डोऱ्याउनेछ।
१८. अहिले तपाईंले कस्तो अठोट गर्नुभएको छ र किन?
१८ यदि तपाईं यहोवाका साक्षीहरूसित आध्यात्मिक संगतिको आनन्द उठाउँदै उनीहरूसित अध्ययन गरिरहनुभएको छ तर तपाईंले समर्पण गरेर बप्तिस्मा लिनुपर्ने महत्त्वपूर्ण कदम चाल्नुभएको छैन भने आफैलाई सोध्नुहोस्: ‘म किन हिचकिचाउनु पऱ्यो र?’ यहोवाको इच्छा पूरा गर्न अहिले पवित्र आत्माले खेल्ने भूमिका स्वीकार्नुहुन्छ र पवित्र आत्माले गर्ने सम्पूर्ण कार्यको कदर गर्नुहुन्छ भने यसको पक्षमा कदम चाल्नुहोस्। किनकि यही सही हो भनेर तपाईंले सिक्नुभएको छ। यहोवाले तपाईंलाई प्रचुर आशिष् दिनुहुनेछ। उहाँले तपाईंलाई प्रशस्त गरी पवित्र आत्मा दिनुहुनेछ। यदि तपाईंले वर्षौंअघि वा दशकौंअघि बप्तिस्मा लिनुभएको हो भने पवित्र आत्माको प्रभाव आफूमा परेको अनुभव पक्कै गर्नुभएको छ। परमेश्वरले आफ्नो आत्माद्वारा तपाईंलाई कसरी बलियो पार्न सक्नुहुन्छ, तपाईंले देख्नुभएको र महसुस गर्नुभएको छ। अनि उहाँले निरन्तर अर्थात् अनन्त भविष्यसम्म त्यसो गरिरहन सक्नुहुन्छ। त्यसैले पवित्र आत्माको भरमा हिंडिरहने अठोट गर्नुहोस्। (w10-E 03/15)
[फुटनोट]
a A Satisfying Life—How to Attain It.
के तपाईंलाई याद छ?
• ‘आत्माको भरमा हिंड्नुको’ अर्थ के हो?
• ‘आत्माको भरमा हिंडिरहन’ तपाईंलाई केले मदत दिन सक्छ?
• आफ्नो समर्पण अनुरूप तपाईं कसरी जीवन बिताउन सक्नुहुन्छ?
[पृष्ठ १९-मा भएको चित्र]
तपाईंको हृदयको माटो खनजोत गर्न प्रयास चाहिन्छ
[पृष्ठ २१-मा भएका चित्रहरू]
के तपाईं परमेश्वरको आत्माको प्रभावमा पर्नुभएको छ