शुद्ध मनको हुनुहोस्–अन्त नजीकै छ
“सबै कुराको अन्त नजीकै आएको छ। यसकारण शुद्ध मनको भएर प्रार्थनामा सचेत रहो।”—१ पत्रुस ४:७.
१. (क) एक जना धार्मिक नेता र तिनका अनुयायीहरू कुन कुराबारे निराश भए? (ख) केही प्रत्याशित कुराहरू पूरा नहुँदा के प्रश्नहरू उठ्न सक्छन्?
“आज राती अन्तिम प्रार्थना गर्दा मैले परमेश्वरबाट बोलावा पाएँ। उहाँले भन्नुभयो १,१६,००० मानिसहरू स्वर्गतर्फ उक्लिनेछन् र मरिसकेका ३७ लाख विश्वासीहरूको चिहान आकाशतर्फ खुल्नेछ।” यो कुरा मिसन फर द कमिङ्ग डेज भन्ने धार्मिक समूहका नेताले २८ अक्टोबर, १९९२-का दिनमा भनेका थिए। यो दिन तिनीहरूका निम्ति भविष्यवाणी गरिएको प्रायश्चितको दिन थियो। तथापि, २९ अक्टोबरको दिनमा त एक जना पनि स्वर्गमा उक्लेन नता कसैको चिहान खुल्यो। नाशको दिनमा विश्वास गर्ने ती कोरियावासीहरू तुरुन्तै स्वर्गारोहण हुनुको सट्टा त २९ अक्टोबरको दिनमा अन्य दिनकै सरह बाँचिरहेका थिए। तोकिएको नाशको दिन आयो र त्यसै गयो, तर नाशको दिनमा विश्वास गर्नेहरू चाहिं आफ्नो विश्वासमा अटल रहे। तर यस्तो हुँदा मसीहीहरूले के गर्नु पर्ने हो? के तिनीहरूले अन्त नजीकै आइरहेछ भन्ने कुरामा विश्वास गर्न छाडिदिने हो?
२. भविष्यमा हुने न्यायको दिनको विचार प्रेरितहरूलाई कसले सुनायो र कस्तो परिस्थितिहरूबीच तिनीहरूले यसबारे सिके?
२ यसको जवाफका लागि येशूले आफ्ना चेलाहरूसित एकान्तमा कुरा-कानी गर्नुभएको अवसरलाई सम्झौं। रवाफिलो माउन्ट हार्मनको छेउछाउमा गालीलको समुद्रको उत्तरपूर्व सिजरिया फिलिप्पीको मुलुकमा हुँदा उहाँले आफू मारिने कुरा स्पष्टसित भन्नु भएका थिए र चेलाहरूले पनि सुने। (मत्ती १६:२१) तर अझै गम्भीर कुराहरू भन्न बाँकी नै थियो। चेला हुनुको अर्थ निरन्तर आत्म-त्यागको जीवन बिताउनु हो भनी व्याख्या गरी सक्नु भएपछि येशू यो चेतावनी दिनुहुन्छ: “मानिसको पुत्र आफ्नो पिताको महिमामा आफ्ना दूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको कर्मअनुसार प्रतिफल दिनेछ।” (मत्ती १६:२७) येशूले भविष्यमा आफू आउने कुरा गर्दै हुनुहुन्थ्यो। तर त्यस अवसरमा उहाँ एउटा न्यायाधीशको रूपमा आउनु हुने थियो। त्यस बेला कुनै व्यक्तिले उहाँको अनुसरण इमान्दारीका साथ गरी रहेको छ कि छैन त्यस माथि सबै कुरा निर्भर हुने थियो। येशूको न्याय कुनै व्यक्तिको धन-सम्पत्तिको आधारमा होइन, उसको व्यवहारको आधारमा हुने थियो। यस तथ्यलाई उहाँका चेलाहरूले राम्ररी मनमा राख्नु परेको थियो। (मत्ती १६:२५, २६) यसकारण, तेजस्वी आगमनका साथ हुने न्यायको बाटो हेरेर बस्नु भनी येशू ख्रीष्टले स्वयं नै आफ्ना चेलाहरूलाई भन्नुहुन्छ।
३. भविष्यमा उहाँको आगमन निश्चित छ भनेर येशूले कसरी दर्शाउनु भयो?
३ यसपछि जुन कुरा येशू भन्नुहुन्छ त्यसले भविष्यमा हुने उहाँको निश्चित आगमनलाई दर्शाउँछ। अधिकारका साथ उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्।” (मत्ती १६:२८) यी शब्दहरू छ दिन पछि नै पूरा हुन्छन्। येशूको रूप परिवर्त्तन भएको एउटा अभूतपूर्व दर्शन देख्दा उहाँका नजिकका चेलाहरू अचम्म मान्छन्। तिनीहरूले येशूको अनुहार सूर्यझैं चम्किरहेको, र उहाँको वस्त्र ज्योतिझैं सेतो भएको वास्तवमा देख्छन्। यो रूप परिवर्त्तन ख्रीष्टको महिमा र राज्यको पूर्वाभास थियो। राज्यसम्बन्धी भविष्यवाणीको यो कस्तो बलियो पुष्टि! चेलाहरूलाई मनमा शुद्ध हुनका निम्ति कस्तो शक्तिशाली प्रेरणा!—२ पत्रुस १:१६-१९.
शुद्ध मनको हुन किन यति जरुरी छ
४. उहाँको आगमनका सम्बन्धमा मसीहीहरू आत्मिक रूपमा किन सतर्क रहनु पर्छ?
४ लगभग एक वर्षभित्र नै येशूलाई हामी फेरि जैतूनको डाँडामा आफ्ना चेलाहरूसित एकान्तमा कुराकानी गरिरहेको देख्छौं। यरूशलेम शहरतर्फ घोरिएर हेर्दै, भविष्यमा हुने उहाँको उपस्थितिको चिन्हबारे व्याख्या गर्दै उहाँ तिनीहरूलाई चेतावनी दिनुहुन्छ: “जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरू जान्दैनौ।” उहाँका चेलाहरू निरन्तर सतर्क रहनु पर्छ किनकि उहाँको आगमनको समय अन्जान छ। त्यसका निम्ति तिनीहरू सदा तत्पर रहनु पर्दछ।—मत्ती २४:४२.
५. जागा रहनु पर्ने आवश्यकतालाई कसरी दर्शाउन सकिन्छ?
५ प्रभुको आगमन एउटा चोर आएको जस्तो हुनेछ। उहाँ अगाडि भन्नु हुन्छ: “तर यो जान, कि घरको मालिकले चोर कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहने थियो, र आफ्नो घर फोरिन दिने थिएन।” (मत्ती २४:४३) आफू कति बेला आउँछु भनेर घोषणा गर्दै चोरले घरधनीलाई सूचना दिंदैन। उसको मुख्य हतियार थाहा नदिईकन जाइलाग्नु हो। त्यसकारण, घरधनी सधैं नै जागा रहनु पर्दछ। तथापि विश्वासी मसीहीहरू चाहिं त्यसरी त्रसित भएर निरन्तर जागा रहने होइनन्। बरु हजार वर्षीय शान्ति ल्याउन आफ्नो महिमामा ख्रीष्ट आउनु हुनेछ भन्ने तिनीहरूको उत्कट आशाद्वारा प्रेरित भएर तिनीहरू जागा रहन्छन्।
६. हामी शुद्ध मनको किन हुनु पर्दछ?
६ जति नै जागा रहे तपानि उहाँ आउनु हुने ठीक दिनको अग्रिम अन्दाज कसैले पनि लगाउन सक्तैन। येशू भन्नुहुन्छ: “यसकारण तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४४) त्यसैकारण शुद्ध मनको हुनु आवश्यक छ। सम्भवतः कुनै मसीहीले फलानो दिनमा त उहाँ आउनु हुने छैन भनी सोचेको होला तर हुन सक्छ सोही दिनमा येशू आई पुग्नु होला! भनौं भने बितेको समयमा असल मन भएका विश्वासी मसीहीहरूले बडो इमान्दारीका साथ अन्त आउने दिन ठम्याउन खोजे। तर येशूले दिनु भएको यो चेतावनी नै बारम्बार सही प्रमाणित भएको छ: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गको दूतहरूले, नपुत्रले, तर पिताले मात्र।”—मत्ती २४:३६.
७. ख्रीष्टको अनुयायी हुनका निम्ति हामीले आफ्नो जीवन कसरी बिताउनु पर्छ?
७ उसो भए हामी कुन निष्कर्षमा पुग्नु पर्ने हो त? ख्रीष्टको अनुयायी हुने हो भने, हामी यो दुष्ट रीतिरिवाजको अन्त एकदमै नजीक छ भनी सधैं विश्वास गर्दै बस्नु पर्छ।
८. सुरुका दिन देखि नै मसीही धर्मको एउटा विशेषता के थियो?
८ यसप्रकारको मनोवृत्ति मसीहीहरूले सधैं राख्दै आएका छन् भनेर सांसारिक इतिहासकार र बाइबलविद्हरूले समेत स्वीकार गर्छन्। उदाहरणका लागि, द ट्रान्सलेटर्स न्यु टेस्टामेन्ट-का सम्पादकहरूले आफ्ना शब्दसंग्रहमा “दिन” शब्द अन्तर्गत यसो भनेका छन्: “नयाँ नियमका समयका मसीहीहरू त्यस समयका लागि पर्खेर बसेका थिए जब यो संसार र यसका सारा दुष्टता र खराबीहरू खत्तम भएर जानेछ अनि सारा मानवजातिलाई न्याय गर्न येशू पृथ्वीमा फर्केर आउनु हुनेछ। त्यसपछि शान्तिको एउटा नयाँ युग प्रारम्भ हुनेछ र सारा संसारमाथि उहाँको प्रभुत्व हुनेछ।” इनसाइक्लोपीडिया ब्रिटेनिका भन्छ: “मसीही धर्मको विश्वव्यापी विस्तार र अन्तको समयको मसीही प्रत्याशा अर्थात् ख्रीष्टको चाँडै नै पुनःआगमन हुनेछ भन्ने प्रतीक्षा सबै सम्बन्धित छन्। मसीहीहरूले अन्तको समयलाई पर्खेर बस्नुको अर्थ परमेश्वरको आउनेवाला राज्यका लागि एउटा निष्क्रिय चाहना गर्नु मात्र थिएन।”
शुद्ध मनको हुनु भनेको के हो
९. मसीहका सम्बन्धमा पत्रुसले गरेका केही प्रत्याशाहरू गलत भए तापनि तिनी किन विश्वस्त रहन सके?
९ येशूसित चेलाहरूको त्यो आत्मीयतापूर्ण कुराकानी भएको केही ३० वर्षपछि पनि अन्तको समयलाई पर्खिँदा पर्खिँदा प्रेरित पत्रुस थाकेनन्। तिनी र तिनका सङ्गी चेलाहरूले मसीहका सम्बन्धमा सुरुमा गरेका प्रत्याशाहरू गलत भए तापनि यहोवाको प्रेम र शक्तिले तिनीहरूको आशा निश्चय नै पूरा हुनेछ भनी तिनीहरू विश्वस्त थिए। (लूका १९:११; २४:२१; प्रेरित १:६; २ पत्रुस ३:९, १०) युनानी शास्त्रभरि पाइने ध्येयलाई तिनले पनि यसरी दोहोऱ्याउँछन्: “यी सबै कुराको अन्त नजीकै आएको छ।” यसपछि उहाँले आफ्ना सङ्गी मसीहीहरूलाई यो आग्रह गर्छन्: “यसकारण शुद्ध मनको भएर प्रार्थनामा सचेत रहो।”—१ पत्रुस ४:७.
१०. (क) शुद्ध मनको हुनु भनेको अर्थ के हो? (ख) हर कुरालाई परमेश्वरको इच्छासित दाँजेर हेर्नुमा के विथोलित छ?
१० “शुद्ध मनको” हुनु भनेको अर्थ सांसारिक दृष्टिकोणले अति बाठो हुनु होइन। यहोवा भन्नुहुन्छ: “म ज्ञानीहरूको ज्ञान नाश पार्नेछु, औ बुद्धिमानहरूका बुद्धिलाई रद्दी तुल्याउनेछु।” (१ कोरिन्थी १:१९) पत्रुसले प्रयोग गरेको शब्दको अर्थ “मनमा स्थिर हुनु” भनेको हुन सक्छ। मनको आत्मिक स्थिरता हाम्रो उपासनासित सम्बन्धित छ। मनमा स्थिर छौं भने हामीले जुनसुकै कुरालाई पनि यहोवाको इच्छासित दाँजेर हेर्नेछौं; कुन कुरा महत्त्वपूर्ण हो र कुन कुरा होइन त्यो हामी बुझ्नेछौं। (मत्ती ६:३३, ३४) अन्त अत्यन्तै नजीक भए तापनि हामी विचलित हुने छैनौं न त आफू बाँचिरहेको समयसालको उपेक्षा नै गर्छौं। (मत्ती २४:३७-३९ सङ्ग तुलना गर्नुहोस्।) यसको सट्टा हामी आफ्नो विचार, मानसिक झुकाव र व्यवहारमा संयम र सन्तुलन कायम राख्छौं। यी कुराहरू हामी प्रथमतः परमेश्वरप्रति (“प्रार्थनामा सचेत रहेर”) अनि हाम्रा छिमेकीप्रति (“आपसमा प्रगाढ प्रेम राखेर”) व्यक्त गर्दछौं।—१ पत्रुस ४:७, ८.
११. (क) “आफ्नो मनको आत्मामा नयाँ होओ” भनेको अर्थ के हो? (ख) नयाँ मानसिक प्रवृत्तिले राम्रा निर्णयहरू गर्न कसरी सजिलो पारिदिन्छ?
११ शुद्ध मनको हुनु भनेको हामी “आफ्नो मनको आत्मामा नयाँ हुनु” हो। (एफिसी ४:२३) नयाँ किन हुनु? किनभने हामीले असिद्धता वंशानुगत पाएका छौं; हामी पापपूर्ण वातावरणमा जीवन बिताउँछौं; यसले गर्दा आध्यात्मिकताको विरोध गर्ने प्रवृत्तिले हाम्रो मनमाथि जबरजस्त प्रभाव पार्दछ। त्यो शक्तिले हाम्रो सोचाइ र झुकाउहरूलाई निरन्तर भौतिकवाद र स्वार्थतिर धकेली रहन्छ। त्यसकारण कुनै पनि व्यक्ति मसीही हुँदा उसलाई एउटा नयाँ शक्ति अथवा बलियो मानसिक प्रवृत्तिको आवश्यकता पर्दछ जसले उसको सोच विचारलाई सही दिशातर्फ अर्थात् आध्यात्मिकतातिर धकेल्न सकोस्। यसप्रकार, शिक्षा, पेशा, नोकरी, मनोरञ्जन, मनबहलाव, लुगाको फेसन वा अन्य यस्ता अरू कुराहरूबारे उसले फैसला गर्नु पर्दा, यी कुराहरूलाई सर्वप्रथम शारीरिक र स्वार्थी दृष्टिले होइन तर आध्यात्मिक दृष्टिले हेर्ने झुकाव उसमा हुनेछ। यो नयाँ मानसिक प्रवृत्तिको कारण, शुद्ध मन र अन्त नजीकै छ भन्ने चेतनाका साथ उसलाई जुनसुकै कुराको पनि फैसला गर्न सजिलो हुनेछ।
१२. हामी कसरी “विश्वासमा पक्का [स्वस्थ]” रहन सक्छौं?
१२ शुद्ध मनको हुनुको अर्थ हाम्रो आत्मिक स्वास्थ्य राम्रो हुनु हो। हामी “विश्वासमा पक्का [स्वस्थ, न्यु व०]” कसरी रहन सक्छौं? (तितस २:२) हामीले आफ्नो मनलाई असल खालको भोजन खुवाउनु पर्छ। (यर्मिया ३:१५) परमेश्वरको पवित्र आत्माको सञ्चालनद्वारा उपलब्ध गराइएको परमेश्वरको सत्य वचनमा आधारित भोजन नियमित रूपमा खाने गऱ्यौं भने हाम्रो आध्यात्मिक सन्तुलन कायम राख्ने हामीले मदत पाउने छौं। अतः नियमित तवरमा व्यक्तिगत अध्ययन गर्नु, क्षेत्र सेवकाईमा भाग लिनु, प्रार्थना र मसीही सङ्गति गर्नु अत्यावश्यक छन्।
शुद्ध मनले हामीलाई कसरी जोगाउँछ
१३. मूर्खतापूर्ण गलतीहरू गर्नबाट मनको शुद्धताले हामीलाई कसरी जोगाउँछ?
१३ हाम्रो अनन्त जीवन नै हराउने किसिमका मूर्खतापूर्ण र बुद्धिहीन गलती गर्नबाट हामीलाई शुद्ध मनले जोगाउनेछ। यो कसरी सम्भव छ? प्रेरित पावलले “बुद्धिको व्यवस्था”-को कुरा गरेका छन्। जुन व्यक्ति विश्वासमा पक्का अर्थात् स्वस्थ हुन्छ, ऊ “परमेश्वरको व्यवस्थामा” मगन रहन्छ र यही व्यवस्थाले उसको बुद्धिको व्यवस्थालाई पनि नियन्त्रनमा राखेको हुन्छ। हुनतः “पापको अधीनमा रहेको व्यवस्था” बुद्धिको व्यवस्था विरुद्ध लड्दछ। तथापि, यहोवाको मदतले मसीही विजयी हुन सक्छ।—रोमी ७:२१-२५.
१४, १५. (क) हाम्रो मनलाई आफ्नो वशमा पार्न कुन दुई प्रकारका प्रभावहरू सङ्घर्ष गर्दछन्? (ख) मन कसरी विजयी हुनु सक्छ?
१४ विलासी जीवनशैलीमाथि जोर दिने पापी शरीर र आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्दै जीवन बिताउन लाउने परमेश्वरको आत्मा बीचको स्पष्ट भिन्नता देखाउँदै पावल रोमी ८:५-७ मा यसरी लेख्तछन्: “शरीरअनुसार चल्नेहरूले शरीरका कुरामा, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। किनभने शरीरमा मन लगाउनुचाहिं मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो। किनभने शरीरतिर लागेको मनचाहिं परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन, औ नता यो कहिले हुनसक्तछ।”
१५ पवित्र आत्मासित सहयोग गर्ने मन कसरी विजयी हुन्छ भन्ने कुरा पावलले ११-वौं पदमा भन्छन्: “तर यदि येशूलाई मरेकाबाट बिउँताउनुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट बिउँताउनुहुनेले नै तिमीहरूमा बास गरेका उहाँका आत्माद्वारा तिमीहरूका नाशमान शरीरहरूलाई पनि जीवित पार्नुहुनेछ।”
१६. मनको शुद्धताले हामीलाई कुन कुन प्रलोभनहरूबाट बचाउँछ?
१६ त्यसकारण शुद्ध मनका भयौं भने यस संसारका सर्वव्याप्त आकर्षणहरूले अर्थात् हर प्रकारका सुख-विलास, भौतिक कुराहरू र लैङ्गिक बदचलनले हामीलाई अलमलाउन सक्ने छैन। हाम्रो शुद्ध मनले हामीलाई “व्यभिचारदेखि अलग रहो” र त्यसबाट हुने खतरनाक परिणामहरूबाट जोगिएर बस भन्नेछ। (१ कोरिन्थी ६:१८) हाम्रो शुद्ध मानसिक प्रवृत्तिले गर्दा हामी राज्यसम्बन्धी जिम्मेवारीहरूलाई जीवनमा प्रथम स्थान दिन उत्प्रेरित हुनेछौं। साथै, यहोवासितको हाम्रो सम्बन्धलाई कमजोर पार्न सक्ने कुनै सांसारिक पेशा अपनाउने मौका हाम्रो सामुन्ने आउँदा हाम्रो शुद्ध मानसिक प्रवृत्तिले हाम्रो सोचाइलाई जोगाउनेछ।
१७. आर्थिक जिम्मेवारीको समस्यालाई सामना गर्नुपर्दा एकजना अग्रगामी बहिनीले मनको शुद्धता कसरी प्रदर्शित गरिन्?
१७ उदाहरणका लागि, दक्षिणपूर्व एसियाको एउटा गरम देशमा एउटी बहिनी छिन् जसले आफ्नो मनमा राज्यसम्बन्धी जिम्मेवारीलाई नै प्रथम स्थान दिएकी छिन्। तिनले पूर्ण-समय सेवकाईप्रति प्रेम बढाएकी थिइन्। त्यस देशमा जागिर खानेहरूले हप्तामा छ वा सातै दिन काम गर्नु पर्दछ। विश्वविद्यालयमा आफ्नो अध्ययन समाप्त गरी सकेपछि तिनका पिताले (जो यहोवाका साक्षी थिएनन्) आशा गरेका थिए कि तिनले परिवारका निम्ति थुप्रै पैसा कमाउने छिन्। तर अग्रगामी हुने तिनको एउटा ठूलो धोको रहेको हुनाले तिनले एउटा अर्ध-समय काम खोजिन् र साथै अग्रगामीको काम पनि गर्न थालिन्। यसो गर्दा तिनका पिता रिसाएर तिनलाई घरबाट बाहिर निकालिदिने धम्की दिए। तिनका पिता जुवाडी भएका हुनाले तिनीमाथि थुप्रो कर्जा थियो र छोरीले कमाएर कर्जा सबै तिरी देलिन् भन्ने तिनले आशा गरेका थिए। ती बहिनीको कान्छो भाइ विश्वविद्यालयमा पढ्दै थियो। कर्जाले गर्दा उसको फिस तिर्ने पैसासम्म पनि तिनीहरूसित थिएन। त्यो कान्छो भाइले प्रतिज्ञा गऱ्यो कि दिदीले उसलाई मदत गरी दिएको खण्डमा, पछि नौकरी पाएर परिवारको हेरचाह उसैले गर्नेछ। दिदीको हृदयमा के गरूँ के गरूँ जस्तो भयो। भाइलाई प्रेम गर्ने कि अग्रगामी कामलाई। यस कुरामाथि बडो ध्यानपूर्वक विचार गरेपछि अग्रगामी काम गरी नै रहने र एउटा अर्को नोकरी खोज्ने निर्णय तिनले गरिन्। उनको प्रार्थनाको उत्तरमा तिनले एउटा राम्रो नोकरी पाइन् जसले गर्दा आफ्नो परिवार पाल्न र तिनको प्रथम प्रेम अर्थात् अग्रगामी सेवा पनि गर्न तिनी सक्षम भइन्।
शुद्ध मन कायम राख्नका निम्ति यहोवाको मदत खोज्नुहोस्
१८. (क) केही मानिसहरू किन निराश हुन सक्छन्? (ख) ती निराश व्यक्तिहरूलाई कुन शास्त्रपदहरूले सान्त्वना दिन सक्छ?
१८ ख्रीष्टका केही अनुयायीहरूका निम्ति शुद्ध मन कायम राख्न अपठ्यारो होला। वर्तमान दुष्ट रीतिरिवाज तिनीहरूले आशा गरेको भन्दा अबेरसम्म रहिरहेको हुँदा तिनीहरूको धैर्य कम हुँदै जान सक्छ। तिनीहरू निराशित हुन सक्छन्। तथापि, अन्त आउँछ नै। यहोवाले त्यो प्रतिज्ञा गर्नु भएको छ। (तितस १:२) र उहाँले प्रतिज्ञा गर्नु भएको पार्थिव प्रमोदवन पनि आउने नै छ। यहोवाले यस कुराको निश्चय गर्नु भएको छ। (प्रकाश २१:१-५) जब नयाँ संसार आउँछ, शुद्ध मन राख्ने सबैका लागि त्यहाँ एउटा “जीवनको सहारा [जीवनको रूख, न्यु व०]” हुनेछ।—हितोपदेश १३:१२.
१९. मनको शुद्धता कसरी कायम राख्न सकिन्छ?
१९ मनलाई हामी कसरी शुद्ध राख्न सक्छौं? यहोवाको मदत खोज्नुहोस्। (भजनसंग्रह ५४:४) उहाँको नजीक रहनुहोस्। यहोवा हामीसित घनिष्ठता कायम राख्न चाहनुहुन्छ। यो एउटा कति आनन्दमय कुरा हो! चेला याकूब लेख्दछन्, “परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूको नजीक आउनुहुनेछ।” (याकूब ४:८) पावल भन्दछन्: “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाह होस्। प्रभु नजीकै हुनुहुन्छ। केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:४-७) र यो भासिन्दै गएको रीतिरिवाजको भारी बोझ बोक्न सकिंदैन जस्तो लागेमा त्यो बोझ यहोवामा राखिदिनु होस् र उहाँले तपाईंलाई सम्हाल्नु हुनेछ।—भजनसंग्रह ५५:२२.
२०. पहिलो तिमोथी ४:१० अनुसार हामी कुन बाटोमा हिंडि रहनु पर्दछ?
२० हो, अन्त नजीकै छ। त्यसकारण शुद्ध मनको हुनुहोस्! यो सल्लाह १९०० वर्ष अघि आवश्यक थियो भने आज अत्यावश्यक भएको छ। यहोवा जसरी हामीलाई उहाँको नयाँ संसारमा सुरक्षापूर्वक पुग्न निरन्तर निर्देशित गर्दै हुनुहुन्छ त्यसरी नै हामी पनि उहाँको निरन्तर प्रशंसा गर्नमा आफ्नो शुद्ध मनलाई प्रयोग गरी नै रहौं।—१ तिमोथी ४:१०. (w93 6⁄1)
तपाईं कसरी उत्तर दिनुहुन्छ?
▫ मनको शुद्धताको अर्थ के हो?
▫ मनमा शुद्ध हुनु किन यति आवश्यक छ?
▫ आफ्नो मनको आत्मामा हामी कसरी नयाँ हुन सक्छौं?
▫ हाम्रो मनमा कुन कुराको द्वन्द निरन्तर चलिरहन्छ?
▫ मनको शुद्धता हामी कसरी कायम राख्न सक्छौं?
[पृष्ठ १४-मा भएको चित्र]
प्रार्थनाद्वारा परमेश्वरको नजीक हुँदा मनको शुद्धता कायम राख्नमा हामी मदत पाउँछौं
[पृष्ठ १६-मा भएको चित्र]
शुद्ध मनको भयौं भने यस संसारका प्रलोभनहरूको बहकाउमा हामी पर्ने छैनौं