वैवाहिक जीवनमा नयाँ व्यक्तित्वको विकास गर्नु
“आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई धारण गर।”—एफिसी ४:२३, २४.
१. विवाहलाई किन हल्का ठान्नु हुँदैन?
विवाह जीवनको एउटा अति नै महत्त्वपूर्ण कदम हो। त्यसलाई कहिल्यै पनि हल्का ठान्नु हुँदैन। किन? किनभने एकजना अर्को व्यक्तिसित निभाउनु पर्ने त्यो एउटा आजीवन वाचा हो। त्यो अर्को व्यक्तिसित आफ्नो जीवनको सबै कुरा बाँड्नु हो। यो वाचा बलियो हुने हो भने, राम्ररी सोची-सम्झीकन फैसला गर्नु आवश्यक हुन्छ। यसमा एउटा सकारात्मक प्रभाव पनि चाँहिन्छ जसले ‘मनको आत्मालाई नयाँ पार्दै नयाँ मानिस धारण गर्ने मद्दत दिन्छ।’—एफिसी ४:२३, २४; उत्पत्ति २४:१०-५८; मत्ती १९:५, ६-सित तुलना गर्नुहोस्।
२, ३. (क) आफूलाई सुहाउँदो जीवन-साथी रोज्दा आफूमा कुन कुरा हुनुपर्छ? (ख) विवाहमा कुन-कुन कुरा सम्मिलित छन्?
२ शारीरिक अभिलाषाको जोडदार प्रभावमा हुर्रिदैं हतार हतार विवाह गर्नु उचित होइन। वयस्कमा हुनुपर्ने व्यक्तित्व र चरित्रको विकास गर्न समय लाग्छ। समयसङ्गसङ्गै अनुभव र ज्ञान पनि आउँछ। यी दुवै कुरा राम्ररी सोची-सम्झीकन फैसला गर्ने क्षमताको एउटा पूर्वाधार बन्नु सक्छ। अतः आफूलाई सुहाउँदो जीवनसाथी रोज्न पनि बढी सफल हुन सकिन्छ। स्पेनको एउटा उखानमा स्पष्टसित यसो भनिएको छ: “अनमेल विवाहगर्नु भन्दा एकलै हिंड्नु असल हो।”—हितोपदेश २१:९; उपदेशक ५:२.
३ सुहाँउदो जीवनसाथी छान्न सक्नु सफल वैवाहिक जीवनका लागि निश्चय नै एउटा मौलिक कुरा हो। यसका निम्ति एकजना मसीहीले बाइबलका मार्गदर्शनहरूको प्रयोग गर्नुपर्छ। शारीरिक आकर्षण, ज्यादै रोमान्स र भावुकताको प्रभावमा मात्र तिनी पर्नु भएन। विवाह दुईवटा शरीरको मात्र मेल होइन। त्यो दुईवटा व्यक्तित्व, दुईवटा शैक्षिक पृष्ठभूमि र सम्भवतः दुईवटा संस्कृति र भाषाको मेल हो। विवाहद्वारा दुईजना व्यक्ति एक सुत्रमा बाँधिदा जिब्रोको उचित प्रयोग गर्नु अत्यावश्यक हुन्छ; बरबाद पार्ने र सम्हाल्ने, दुवै गर्ने शक्ति बोलीमै हुन्छ। यी कुराहरूलाई ध्यानमा राख्दा, ‘प्रभुमा मात्र’ अथवा विश्वासमा हुने आफ्नो एकजना सङ्गीलाई मात्र विवाह गर्नु भनेर पावलले दिएको सल्लाह साँच्चै नै उपयुक्त छ।—१ कोरिन्थी ७:३९; उत्पत्ति २४:१-४; हितोपदेश १२:१८; १६:२४.
वैवाहिक जीवनका समस्याहरूको सामना गर्नु
४. वैवाहिक जीवनमा कहिले-काहीं मनमुटाव र तनाव किन अनुभव गरिन्छ?
४ जग जति नै राम्रो भए तापनि कहिलेकाहीं मनमुटाव, दबाव र तनावपूर्ण स्थिति हुनेछ। तर यस्ता कुराहरू विवाहित वा अविवाहित, साधारणतया सबैले नै सामना गर्छन्। आर्थिक र स्वास्थ्यसम्बन्धी समस्याहरूले जुनसुकै सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ। सबैभन्दा राम्ररी मिलेको वैवाहिक जीवनमा पनि मुडको अदलबल हुँदा कचिङ्गल खडा हुन सक्छ। यसको अलावा कसैले पनि जिब्रोलाई पूरै नियन्त्रणमा राख्न सक्तैन र यस विषयमा याकूबले यसो भने: “किनभने हामी धेरै कुरामा चुक्तछौं। जो मानिस वचनमा चुक्तैन, त्यो आफ्नो सारा शरीरमा लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ . . . जिब्रो पनि एउटा सानो इन्द्रिय भएर ठूला ठूला कुराको अभिमान गर्दछ। हेर, एक सानो आगोको झिल्काले कसरी बड़े बड़े वन पनि स्वाहा गर्दछ!”—याकूब ३:२, ५.
५, ६. (क) गलतफहमीहरू उत्पन्न हुँदा के गर्न आवश्यक हुन्छ? (ख) मतभेद मेटाउन के कदम चाल्न आवश्यक पर्न सक्छ?
५ वैवाहिक जीवनमा तनावपूर्ण स्थिति उत्पन्न हुँदा हामी त्यसलाई नियन्त्रणमा कसरी ल्याउन सक्छौं? हामीले गलतफहमीलाई झगडा र झगडालाई एउटा टुटेको सम्बन्धसम्म पुग्नदेखि कसरी रोक्न सक्छौं? यस्तैबेला मनको आत्माले एउटा ठूलो भूमिका निभाउँछ। उत्प्रेरणा दिने यो आत्मा सकारात्मक वा नकारात्मक हुन सक्छ। त्यो उत्साहप्रद र आध्यात्मिकतातर्फ झुकेको वा भ्रष्ट र शारीरिक झुकावहरूको वशमा परेको पनि हुनु सक्छ। उत्साहप्रद भाव भएको व्यक्तिले मनमुटाउलाई हटाउने र आफ्नो विवाहलाई ठीक मार्गमा राख्ने कोशिश गर्नेछ। विवाद र मतभेदको कारण वैवाहिक सम्बन्धलाई अन्त गर्नु भएन। बाइबलमा दिएको सल्लाहलाई प्रयोगमा ल्याएर झगडाको अन्त र पारस्परिक सद्भाव पुनःस्थापित गर्न सकिन्छ।—रोमी १४:१९; एफिसी ४:२३, २६, २७.
६ यसप्रकारका परिस्थितिहरूमा पावलका यी शब्दहरू अति उपयुक्त छन्: “यसकारण परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कालाई सहेर, कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कालाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१२-१४.
७. आफ्नो वैवाहिक जीवनमा कसै-कसैले कुन समस्याको सामना गर्न सक्छन्?
७ यो पद पढन सजिलो छ तर त्यसलाई आधुनिक जीवनको दबाउपूर्ण स्थितिमा प्रयोगमा ल्याउनु सधैं सजिलो हुँदैन। त्यसको एउटा मूल समस्या के हुन सक्छ? कहिलेकाहीं आफूलाई थाहै नभइकन एकजना मसीहीले दोहोरो जीवन बिताइरहेको होला। उदाहरणका लागि, राज्य सभागृहमा भाइहरू बीच भएको बेला उसले दया र विवेकपूर्ण व्यवहार गर्छ। तर घरको दैनिक कामधन्दामा लाग्दा चाहिं उसले आफ्नो आत्मिक सम्बन्ध बिर्सन सक्छ। घरमा उसले पति-पत्नी, “लोग्ने मानिस” र “स्वास्नी मानिस”-को सम्बन्ध मात्र देख्छ। राज्य सभागृहमा बोल्न हिम्मत नगर्ने कटु वचन उसले घरमा अप्ठ्यारो पर्दा प्रयोग गर्न सक्छन्। किन? किनभने केही क्षणका लागि उसको मसीही व्यक्तित्व बिलाएर गएको हुन्छ। घरमा पनि ऊ एकजना मसीही भाइ वा बहिनी नै हो भन्ने कुरा परमेश्वरको एउटा सेवकले बिर्सेको हुन्छ। मनको आत्मा सकारात्मक हुनुको सट्टा नकारात्मक भएको हुन्छ।—याकूब १:२२-२५.
८. मनको आत्मा नकारात्मक हुँदा परिणाम कस्तो हुन सक्छ?
८ यसको परिणाम के हुन्छ? पतिले ‘पत्नीलाई जीवनको अनुग्रहको सजिया हकदार र निर्बल पात्र सम्झेर बुद्धिमानीसाथ व्यवहार गर्न’ छाडन सक्छ। पत्नीले पनि पतिलाई उप्रान्त आदर नगर्लिन्; तिनको “नम्र र शान्त” स्वभाव हराउन सक्छ। मनको आत्मा आध्यात्मिक हुनुको सट्टा शारीरिक भएको हुन्छ। ‘दैहिक मन-स्थिति’ विजयी हुन्छ। अतः, मनको आत्मालाई आध्यात्मिक र सकारात्मक पारेर राख्नका लागि के गर्न सकिन्छ? हामीले आफ्नो आध्यात्मिकतालाई बलियो पार्नु पर्छ।—१ पत्रुस ३:१-४, ७; कलस्सी २:१८.
मनको आत्मालाई बलियो पार्नुहोस्
९. दैनिक जीवनमा हामीले के कस्ता फैसलाहरू गरिरहनु पर्छ?
९ हामीले फैसला र छनौट गर्ने बेला प्रयोगमा ल्याउने मानसिक झुकाव नै मनको आत्मा हो। जीवनले हाम्रो सामुन्ने विभिन्न विकल्पहरू प्रस्तुत गरी रहन्छ। राम्रो वा नराम्रो, स्वार्थी वा निस्वार्थी, नैतिक वा अनैतिक। ठीक फैसला गर्ने मदत हामीलाई के ले दिन्छ? यहोवाको इच्छा गर्नमा केन्द्रित मनको आत्माले दिन्छ। भजनरचयिताले यसप्रकार प्रार्थना गरे: “हे परमप्रभु मलाई तपाईंका नियमको मार्ग सिकाउनुहोस्। र अन्तसम्मै म त्यो पालन गर्नेछु।”—भजनसंग्रह ११९:३३; इजकिएल १८:३१; रोमी १२:२.
१०. मनको आत्मालाई हामीले सकारात्मक ढङ्गमा कसरी बलियो पार्न सक्छौं?
१० यहोवासितको हाम्रो सम्बन्ध बलियो छ भने हामीले उहाँलाई प्रसन्न तुल्याउने र वैवाहिक विश्वासघात जस्तो अन्य खराब कुराहरूबाट टाढै बस्ने मदत पाउने छौं। “परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा . . . असल र उचित” कुरा गर्ने प्रोत्साहन इस्राएललाई दिइएको थियो। तर परमेश्वरले यो सल्लाह पनि दिनु भयो: “हे परमप्रभु [सित] प्रेम गर्ने हो, खराबीलाई घृणा गर।” दशाज्ञाको सातौं आज्ञा “तैंले व्यभिचार नगर्नू” हो। अब यस आज्ञालाई पालन गर्दा इस्राएलीहरूले व्यभिचारलाई घृणा गर्न आवश्यक थियो। वैवाहिक जीवनमा इमान्दारीबारे परमेश्वरको दृष्टिकोण कति कडा छ, त्यस आज्ञाबाट बोध हुन्थ्यो।—व्यवस्था १२:२८; भजनसंग्रह ९७:१०; प्रस्थान २०:१४; लेवी २०:१०.
११. हामीले मनको आत्मालाई अझ दृढ कसरी पार्न सक्छौं?
११ मनको आत्मालाई हामी अझ बलियो कसरी पार्न सक्छौं? आध्यात्मिक गतिविधि र मूल्यहरूको मूल्याङ्कन गरेर। यसको अर्थ हामीले नियमित तवरमा परमेश्वरको वचन अध्ययन गर्ने आवश्यकतालाई पूरा गर्नुपर्छ र यहोवाका विचारहरू र उपदेशबारे सङ्गै बसेर छलफल गर्नमा आनन्द लिनुपर्छ। हाम्रो हृदयभित्रका भावनाहरू भजनरचयिताको जस्तै हुनुपर्छ: “मैले आफ्नो पूरा मन तपाईंको खोजीमा लगाएको छु। तपाईंका आज्ञाहरूबाट मलाई तर्कन नदिनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा राखेको छु। हे परमप्रभु मलाई तपाईंका नियमको मार्ग सिकाउनुहोस्। र अन्तसम्मै म यो पालन गर्नेछु। मलाई समझ दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्नेछु। मेरो पूरा हृदयले म त्यो पालन गर्नेछु।”—भजनसंग्रह ११९:१०, ११, ३३, ३४.
१२. कुन-कुन कुराले हामीलाई एकभएर आफूमा ख्रीष्टको मन झल्काउन मदत दिन सक्छ?
१२ यहोवाका धार्मिक सिद्धान्तहरूको यसप्रकार मूल्याङ्कन गरिरहने हो भने नियमित तवरमा बाइबल अध्ययन गर्नुका साथसाथै मसीही सभाहरू र सेवकाईमा लगातार भाग लिनु पनि पर्छ। यी दुई शक्तिशाली प्रभावहरूले हाम्रो मनको आत्मालाई निरन्तर बलियो तुल्याउनु सक्छन्। परिणामस्वरूप, हाम्रो निस्वार्थ जीवन-शैलीमा सधैं नै ख्रीष्टको मनको झलक देखिनेछ।—रोमी १५:५; १ कोरिन्थी २:१६.
१३. (क) मनको आत्मालाई बलियो पार्नमा प्रार्थना किन एउटा बहुमूल्य तत्त्व हो? (ख) यस सम्बन्धमा येशूले के उदाहरण कायम गर्नुभयो?
१३ एफिसीहरूलाई पठाएको पत्रमा एउटा अर्को तत्वमाथि पावलले जोड दिन्छन्: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समय आत्मामा प्रार्थना गर।” (एफिसी ६:१८) पति-पत्नीहरू सङ्गै बसेर प्रार्थना गर्न जरुरी छ। यसरी गरिएका प्रार्थनाहरूले अक्सर हृदयलाई खोली दिन्छ। खुल्लमखुल्ला कुराकानीद्वारा आपसको कुनै मतभेदलाई पनि मारमेट गर्न सकिन्छ। जाँच र परीक्षाको बेलामा प्रार्थना गर्दै हामी परमेश्वरमाथि लीन हुनुपर्छ। ख्रीष्टको मनसित मिल्ने कुरा गर्ने आत्मिक बल र मदत हामीले माग्नुपर्छ। सिद्ध येशू समेतले धेरै पटक आफ्नो पितासित प्रार्थना गर्नुभयो, बल माग्नुभयो। उहाँका प्रार्थनाहरू हृदयस्पर्शी र अर्थपूर्ण थिए। त्यसैगरी आज पनि परीक्षाको सामना गर्नु पर्दा ठीक फैसला गर्ने बल यहोवालाई पुकारेर हामी पाउन सक्छौं। शरीरको वशमा परेर वैवाहिक वाचालाई तोड्ने इच्छासित सङ्घर्ष गर्ने ताकत हामी उहाँसित माग्न सक्छौं।—भजनसंग्रह ११९:१०१, १०२.
विपरीत आचरणका उदाहरणहरू
१४, १५. (क) यूसुफले परीक्षाको सामना गर्नु पर्दा के गरे? (ख) यूसुफलाई परीक्षाको सामना गर्नमा के ले मद्दत दियो?
१४ हामी परीक्षाको सामना कसरी गर्न सक्छौं? यसबारे यूसुफ र दाऊदका उदाहरणहरूमा हामी एउटा स्पष्ट भिन्नता पाउँछौं। सुन्दर यूसुफ सम्भवतः अविवाहित भएको बेलामा पोतीफरकी पत्नीले तिनलाई बारम्बार फकाउने कोसिस गरिन्। तर अन्ततोगत्वा यूसुफले तिनलाई यो जवाफ दिए: “यस घरमा उहाँ पनि मभन्दा ठूलो हुनुहुन्न। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरूद्धमा मैले पाप गर्नु?”—उत्पत्ति ३९:६-९.
१५ परीक्षामा फँस्नु त्यति सजिलो हुँदा हुँदै पनि ठीक कदम चाल्ने बल यूसुफलाई के ले दियो? तिनको मनको आत्मा अति नै बलियो थियो। यहोवासितको आफ्नो सम्बन्धबारे तिनी धेरै नै सचेत थिए। त्यो आसक्त आइमाईसित व्यभिचार गर्नु तिनको पतिको विरुद्धमा मात्र पाप नभएर मुख्यतः परमेश्वरको विरुद्धमै पाप हुनेछ भनी यूसुफलाई थाह थियो।—उत्पत्ति ३९:१२.
१६. दाऊदले परीक्षाको सामना गर्नु पर्दा के गरे?
१६ यसको ठीक विपरीत, दाऊदलाई के भयो? तिनी एकजना विवाहित पुरुष थिए। व्यवस्थाले दिएको छुट बमोजिम तिनका पत्नीहरू धेरै थिए। एक दिन साँझपख आफ्नो दरबारबाट एउटी आइमाई नुहाइरहेकी तिनले देखे। ती आइमाई उरियाहकी पत्नी, सुन्दर बेतशेबा थिइन्। दाऊदको सामुन्ने दुइटा विकल्प थियो—एउटा चाहिं आफ्नो हृदयमा कामवासना जागुञ्जेल हेरिरहनु र अर्को चाहिं त्यहाँबाट फनक्क फर्केर परीक्षादेखि टाढा जानु। तिनले के रोजे? तिनले बेतशेबालाई आफ्नो दरबारमा ल्याउन लगाए र ऊसित व्यभिचार गरे। यसमाथि थप, बेतशेबाको पतिको मृत्यु गराउनमा पनि दाऊदको हात थियो।—२ शमूएल ११:२-४, १२-२७.
१७. दाऊदको आध्यात्मिकताबारे हामी के निष्कर्षमा पुग्न सक्छौं?
१७ दाऊदको समस्या के थियो? भजनसंग्रह ५१-मा उल्लिखित तिनको पश्चातापपूर्ण बयानबाट हामी केही ठोस कुराहरू पत्ता लाउन सक्छौं। तिनले यसो भने: “हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।” परीक्षाको समयमा तिनको हृदय शुद्ध र स्थिर थिएन भन्ने कुरा यस अभिव्यक्तिबाट स्पष्ट हुन्छ। सम्भवतः तिनले यहोवाको वचन पढ्नमा हेलचक्राइँ गरेका थिए होलान् र फलःस्वरूप तिनको आध्यात्मिकता कमजोर भएको हुन सक्छ। अथवा तिनले आफ्नो ओहदा र राजकीय शक्तिको कारण आफ्नो सोचाइलाई भ्रष्ट हुन दिएको थियो होला र यसले गर्दा तिनी कुइच्छाको शिकार हुन गए। निश्चय नै त्यति खेर चाहिं तिनको मनको आत्मा स्वार्थी र पापी थियो। त्यसैकारण त तिनले आफूमा एउटा “स्थिर आत्मा”-को आवश्यकता महसुस गरे।—भजनसंग्रह ५१:१०; व्यवस्था १७:१८-२०.
१८. येशूले व्यभिचारबारे के सल्लाह दिनु भयो?
१८ कुनै कुनै पति वा पत्नी अथवा दुवैले आफ्नो आध्यात्मिकतालाई दाऊदले झैं कमजोर हुनु दिएकोले केही मसीही विवाहहरू बरबाद भएका छन्। एकजना अर्को पुरुष वा स्त्रीलाई कामवासनासाथ एकहोरो हेर्नु हुँदैन नत्रता अन्तमा व्यभिचार हुन सक्छ भन्ने चेताउनी हामीले दाऊदको उदाहरणबाट लिनुपर्छ। यस सम्बन्धमा मानव भावनाहरूलाई येशूले राम्ररी बुझ्नु हुन्थ्यो किनभने उहाँले यसो भन्नु भएको छ: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” यस्तो स्थितिमा मनको आत्मा स्वार्थी र शारीरिक हुन्छ, आध्यात्मिक हुँदैन। अतः मसीहीहरूले व्यभिचारबाट अलग बस्न र आफ्नो वैवाहिक जीवनलाई सुखी र सन्तोषप्रद राख्न के गर्न सक्छन्?—मत्ती ५:२७, २८.
विवाहको बन्धनलाई बलियो पार्न
१९. वैवाहिक सम्बन्धलाई कसरी बलियो पार्न सकिन्छ?
१९ राजा सुलेमानले यसप्रकार लेखे: “यदि मानिस एक्लै छ भने कुनै आक्रमणकारीले त्यसलाई जित्न सक्छ, तर दुई जनाले ता रोक्नसक्छन्। औ तीन सुताले बाटिएको डोरी सजिलै चुँडिंदैन।” विपत्तिको सामना एकजनाले भन्दा मेलमिलापसित बसेका दुई जना अथवा पति-पत्नीले राम्ररी गर्न सक्छन्। तर ती दुई जनाबीच परमेश्वर पनि हुनुहुन्छ भने तिनीहरूको सम्बन्ध एउटा तीन सुते धागोजस्तो बलियो हुन्छ। तर वैवाहिक सम्बन्ध- मा परमेश्वर सम्मिलित हुनुको अर्थ के हो? यसको अर्थ परमेश्वरले वैवाहिक जीवनका निम्ति दिनु भएको सिद्धान्त र सल्लाहलाई ती दम्पतीले प्रयोगमा ल्याउनु हो।—उपदेशक ४:१२.
२०. बाइबलको कुन सर-सल्लाहले पतिलाई मदत दिन सक्छ?
२० निःसन्देह, निम्नलिखित पदहरूमा पाइने सर-सल्लाहलाई एकजना पतिले प्रयोगमा ल्याए भने, तिनको वैवाहिक जीवन धेरै नै सफल हुन सक्छ:
“हे पति हो, त्यसैगरि जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकाले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीकासाथ तिम्रा पत्नीसङ्ग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्।”—१ पत्रुस ३:७.
“ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसरीनै पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफूलाई प्रेम गर्छ।”—एफिसी ५:२५, २८.
“तिनका पतिले पनि तिनको प्रशंसा गरेर भन्छन्, ‘धेरै स्त्रीहरूले आफ्नो योग्यता देखाउँछन्, तर तिमीनै तिनीहरू सबैभन्दा श्रेष्ठ छौ।”—हितोपदेश ३१:२८, २९.
“जलि रहेको भुंग्रोमा कुनै मानिस हिंड्यो भने के त्यसको खुट्टा पोल्दैन र? अर्काकी पत्नीसित सुत्ने त्यस्तैनै हुन्छ, त्यस्ती स्त्रीलाई छुने कुनै पनि मानिस उम्केर जाँदैन। त्यसरीनै व्यभिचार गर्ने मानिस . . . आफूमाथि बर्बादी ल्याउँछ।”—हितोपदेश ६:२८, २९, ३२.
२१. बाइबलको कुन सर-सल्लाहले पत्नीलाई मदत दिन सक्छ?
२१ एउटी पत्नीले बाइबलमा पाइने निम्नलिखित सिद्धान्तहरूलाई प्रयोगमा ल्याउने कोसिस गरिन् भने, त्यसबाट तिनको वैवाहिक सम्बन्धमा स्थायित्व आउन सक्छ:
“हे पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चालचलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्वास गर्ने होऊन् र नम्र र शान्त हृदयको होस्।”—१ पत्रुस ३:१-४.
“पतिले पत्नीसङ्ग गर्नु पर्ने व्यवहार गरोस्, औ त्यसै गरि पत्नीले पनि पतिसङ्ग . . . आपसको सम्मतिले थोरै समयको निम्ति बाहेक, एकले अर्काको इन्कार नगर।”—१ कोरिन्थी ७:३-५.
२२. (क) अरू कुन-कुन कुराले वैवाहिक जीवनमाथि राम्रो असर पार्न सक्छ? (ख) यहोवाले छुटानामलाई कुन दृष्टिले हेर्नुहुन्छ?
२२ विवाह एउटा गहना हो र प्रेम, दया, अनुकम्पा, धैर्य, समझ, प्रोत्साहन र प्रशंसा त्यसका विभिन्न पक्षहरू हुन् भनेर बाइबलले देखाउँछ। यी पक्षहरू नभएको विवाह, घाम र पानी बिनाको बिरुवा जस्तो हुन्छ। यस्तो बिरुवामा हतपत फुल फुल्दैन। अतः आफ्नो वैवाहिक जीवनमा मनको आत्माद्वारा एउटाले अर्कोलाई प्रोत्साहन र आराम दिने गरौं। यहोवाले ‘छुटानामलाई घिन गर्नुहुन्छ,’ सो कहिले नबिर्सनु होस्। जहाँ मसीही प्रेम प्रयोगमा ल्याइन्छ, त्यहाँ व्यभिचार र विवाह बरबाद हुने कुरै नउठनु पर्ने हो। किन? किनभने “प्रेम कहिले टल्दैन।”—मलाकी २:१६; १ कोरिन्थी १३:४-८; एफिसी ५:३-५. (w93 2/15)
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
▫ एउटा सुखी वैवाहिक जीवनमा मूलतः के चाहिन्छ?
▫ मनको आत्माले वैवाहिक जीवनमा के असर पार्नु सक्छ?
▫ हाम्रो मनको आत्मालाई बलियो पार्नका लागि हामीले के गर्न सक्छौं?
▫ परीक्षामा पर्दा यूसुफ र दाऊदले कसरी बेग्लाबेग्लै प्रतिक्रिया व्यक्त गरे?
▫ आफ्नो वैवाहिक सम्बन्धलाई बलियो पार्न पति र पत्नीहरूलाई बाइबलका कुन-कुन सर-सल्लाहले मदत दिन्छ?
[पृष्ठ ८-मा भएको चित्र]
के हामी दोहोरो जीवन बिताइरहेछौं —राज्य सभागृहमा दयालु तर घरमा चाहिं कठोर?