अध्याय २९
पारिवारिक जीवन सफल पारौं
१. (क) परिवारको सुरूआत कसरी भयो? (ख) परिवारको निम्ति परमेश्वरको उदेश्य के थियो?
यहोवा परमेश्वरले प्रथम पुरूष र स्त्रीको सृष्टि गरेपछि, दुवैलाई एकसाथ मिलाएर एउटा परिवार बनाउनु भयो। (उत्पत्ति २:२१-२४; मत्ती १९:४-६) यी विवाहित दम्पतीले सन्तान जन्माएर परिवारको बृद्धि गराउन् भन्ने परमेश्वरको प्रयोजन थियो। अनि, सन्तानहरू ठूला भएर, तिनीहरूले पनि विवाह गरेर आफ्नो परिवार बनाउनु परेको थियो। समयमा, पृथ्वीको प्रत्यक भागमा सुखी परिवारहरू वासगरून् भन्ने इच्छा परमेश्वरको थियो। तिनीहरूले पृथ्वीको हरेक ठाउँलाई एउटा प्रमोदबन बनाउने थिए।—उत्पत्ति १:२८.
२, ३ (क) पारिवारिक असफलताका लागि किन परमेश्वरलाई दोष लगाउनु उचित होइन? (ख) एउटा सफल पारिवारिक जीवन बिताउनकालागि के आवश्यक छ?
२ तर, आज परिवारहरू फुटि रहेकाछन्, र एकैसाथ बसिरहेका भएता पनि कति परिवार सुखी छैनन्। त्यस कारण कसैले सोध्न सक्छ: ‘यदि परिवारको सृजना वास्तवमा परमेश्वरलेनै गर्नु भएको हो भने, त्यसको परिणाम राम्रो हुनु पर्ने, होइन र?’ तथापि, पारिवारिक असफलताकालागि परमेश्वरलाई दोष दिन सकिदैंन। एक जना उत्पादकले एउटा सामान उत्पादन गरेर त्यसको प्रयोग गर्ने निर्देशन पनि दिएको हुन्छ। तर, सामान खरिद गर्नेले, दिएको निर्देशन नमानेर त्यो सामानको प्रयोग गर्दा सो सामान बिग्रेमा, के उत्पादकलाई दोष दिन मिल्छ र? पटक्कै मिल्दैन। सामान जत्तिनै उच्च स्तरको भएतापनि, यदि त्यसको सही ढङ्गले प्रयोग भएनभने, त्यो बिग्रनेछ। परिवारको कुरा पनि त्यस्तै हो।
३ पारिवारिक जीवनवारे यहोवा परमेश्वरले यथेष्ट उपदेशहरू दिनु भएकोछ। तर, ती उपदेशहरूलाई अवहेलना गरियो भने, के हुनेछ? पारिवारिक प्रबन्ध सिद्ध हुँदाहुँदै पनि, त्यो छिन्न-भिन्न हुनेछ। अनि परिवारका सदस्यहरू सुखी हुनेछैनन्। तर, बाइबलमा दिएका उपदेशहरूको यदि पालना गरियो भने, यसले एउटा सफल, सुखी परिवार बनाउनेछ। त्यसकारण, परिवारका विभिन्न सदस्यहरूको सृजना परमेश्वरले कसरी गर्नुभयो र प्रत्यकलाई कुन-कुन काम जिम्मा लगाउनु भयो भनेर बुझनु अतिनै आवश्यक छ।
परमेश्वरले पुरूष र स्त्रीलाई कसरी सृष्टि गर्नु भयो
४. (क) पुरूष र स्त्रीजातिका बीच के कस्ता भिन्नताहरू छन्? (ख) परमेश्वरले यस प्रकारका भिन्नताहरू किन सृजनु भयो?
४ यहोवाले पुरूष र स्त्रीहरूलाई एकै प्रकारको बनाउनु भएको छैन भनेर कसैले पनि देख्न सक्दछ। यो सत्य हो कि धेरै कुराहरूमा तिनीहरू समान छन्। तर तिनीहरूको शारीरिक र लैङ्गिक बनौटमा स्पष्ट भिन्नता छ। साथै, तिनीहरूको भावनात्मक गुणहरूमा पनि भिन्नताछ। यो भिन्नता किन? प्रत्यकले एउटा बेग्लाबेग्लै भूमिका निभाउन सकून् भनेर परमेश्वरले तिनीहरूलाई यस प्रकारको बनाउनु भएको हो। पुरूषलाई सृष्टि गरी सके पछि, परमेश्वरले यसो भन्नु भयो: “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।”—उत्पत्ति २:१८.
५. (क) स्त्री पुरूषकी सहयोगी कसरी भइ? (ख) प्रथम बिबाह कहाँ रचियो? (ग) बिबाह एउटा आनन्ददायक प्रबन्ध किन हुन सक्दछ?
५ सहयोगीको अर्थ हो, कुनै अर्को पुर्जा सँग मेलखाने एउटा कुरा अथवा राम्रो सँग मिलेर कुनै कुरालाई पूर्ण बनाउन सक्ने चीज। पुरूषले पृथ्वीलाई भर्ने र हेरचाह गर्ने जिम्मेवारी पाएको काममा सघाउ पुऱ्याउन परमेश्वरले एउटा पूरक जोड़ीको रूपमा स्त्रीलाई बनाउनु भयो। त्यसकारण, पुरूषकै एउटा भाग बाट स्त्रीलाई बनाएर, परमेश्वरले ‘त्यसलाई पुरूष कहाँ ल्याउनु भयो’ र अदनको बगैंचामा पहिलो विवाह रचनु भयो। (उत्पत्ति २:२२; १ कोरिन्थी ११:८, ९) विवाह एउटा आनन्ददायक प्रबन्ध हुन सक्दछ किनभने एउटाको आवश्यकतालाई अर्कोले पूरागर्न सक्ने क्षमताका साथ पुरूष र स्त्री बनाइएकाछन्। तिनीहरूमा भएको बेग्ला-बेग्लै गुणहरू एक अर्काको पूरक हुन्छन्। जब एउटा लोग्ने र एउटी स्वास्नीले एक अर्कालाई बुझ्दछन्, एक-अर्काको मूल्याँङ्कन गर्दछन्, र आफूले पाएको जिम्मेवारी अनुसार एक-अर्कासँग सहयोग गर्दछन्, तिनीहरू प्रत्यकले एउटा सुखी घर बनाउनमा आफ्नो योगदान गरिरहेका हुन्छन्।
पतिले निभाउनु पर्ने भूमिका
६. (क) परिवारको शिर कसलाई बनाइएको थियो? (ख) यो किन एउटा उचित र व्यावहारिक प्रबन्ध हो?
६ कुनै पनि विवाह अथवा परिवारलाई अगुवाइ चाहिन्छ। यसप्रकारको अगुवाइ दिनकालागि चाहिने आवश्यक गुणहरू र ताकतहरू बढी मात्रामा पुरूषले पाएकोछ। त्यसै कारण बाइबलमा यसो भनिएकोछ: “पत्नीको शिर पति हुन् जस्तो ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ।” (एफिसी ५:२३) यो एउटा व्यावहारिक प्रबन्ध हो, किनभने जहाँ अगुवाइ छैन त्यहाँ कष्ट र गड़बड़ी हुन्छ। अगुवाइ नभएको परिवार, स्टियरिङ्ग ह्वील नभएको मोटरगाड़ी चलाउने कोशिश गरे जस्तै हो। अथवा, पत्नीले अगुवाइकालागि प्रतियोगिता गर्ने हो भने, एउटा गाड़ीमा दुई जना चालक बसेर, प्रत्यकले आफ्नो बेग्लाबेग्लै स्टियरिङ्ग ह्वील समातेर, अगाड़िको चक्कालाई नियन्त्रित गर्न खोजे जस्तै हुनेछ।
७. (क) पुरूषलाई आफ्नो शिर मान्ने कुनै कुनै स्त्रीले किन रूचाउँदैनन्? (ख) के सबै जनाको माथि शिर छ? परमेश्वरको यो प्रबन्ध किन बुद्धिमतापूर्ण छ?
७ तथापि, धेरैजसो स्त्रीहरू, परिवारको शिर पुरूष हुनुपर्छ भन्ने विचारलाई मन पराउदैनन्। यसको एउटा मुख्य कारण के हो भने, धेरै पतिहरूले परमेश्वरको निर्देशन अनुसार उचित ढङ्गले परिवारको अगुवाइ गरेका छैनन्। तर, कुनैपनि सङ्गठन सुचारू रूपले सञ्चालन गर्नेहो भने, त्यसलाई निर्देशन गर्ने र अन्तिम निर्णय लिने कोइ-न-कोइ चाहिन्छ भन्ने कुरा निर्विवाद छ। त्यसैले बाइबलको बुद्धिमत्तापूर्ण सिद्धान्त यो हो: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरूष हो, र ख्रीष्टका शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) परमेश्वरको प्रबन्धमा, परमेश्वर मात्र एउटा हुनुहुन्छ जसकोमाथि कुनै शिर हुँदैन। अन्य अरू सबैको, येशू ख्रीष्ट लगायत, पति र पत्नीहरू सबैलाई अरूको निर्देशन मान्नुपर्ने र अरूको निर्णयलाई शिरोपर गर्नुपर्ने खाँचो छ।
८. (क) परिवारको शिर भएर काम गर्दा, पतिहरूले कसको उदाहरण अनुसरण गर्नु पर्छ? (ख) त्यो उदाहरण बाट पतिहरूले के शिक्षा लिनु पर्छ?
८ यसको अर्थ, पतिहरूले आफ्नो भूमिका निभाउने हो भने, तिनिहरूले ख्रीष्टको अगुवाइलाई मान्नै पर्छ। ख्रीष्टले, आफ्नो चेलाहरूको मण्डलीको, जसरी अगुवाइ गर्नुभयो, त्यसरीनै पतिहरूले आफ्नी पत्नीहरू को अगुवाइ गरेर उहाँको नमूनाको अनुसरण गर्नु पर्दछ। आफ्नो पार्थिव चेलाहरूसँग ख्रीष्ट कस्तो व्यहवार गर्नु हुन्थियो? जहिले पनि एउटा दयालु र विचारशील ढङ्गमा। चेलाहरूले उहाँको निर्देशन पालन गर्नमा ढिला गरेता पनि, उहाँ कहिले तिनीहरूसँग कड़ा हुनु अथवा रिसाउनु भएन। (मर्कूस ९:३३-३७; १०:३५-४५; लूका २२:२४-२७; यूहन्ना १३:४-१५) बरू तिनीहरूकालागि आफ्नो प्राण अर्पण गर्नु भयो। (१ यूहन्ना ३:१६) एउटा मसीही पतिले ख्रीष्टको उदाहरण राम्रोसँग अध्ययन गर्नु पर्छ, र आफ्नो परिवारसँगको व्यहवारमा त्यसलाई प्रयोग गर्न हर प्रकारको प्रयत्न गर्नु पर्दछ। फलस्वरूप, तिनी परिवारमाथि प्रभुत्व जमाउने, स्वार्थी, वा अविवेकि शिर हुनेछैनन्।
९. (क) धेरै पत्नीहरूले के शिकायत गर्छन्? (ख) परिवारको अगुवाइ गर्दा पतिहरूले कुन कुरा बुद्धिमानी साथ ध्यानमा राख्नु पर्छ?
९ त्यसको ठीक विपरीत, फेरि पतिहरूले यो ध्यानमा राख्नु पर्छ: परिवारको शिर झैं तपाईं काम गर्नुहुन्न भनेर के तपाईंकी पत्नीले शिकायत गर्छिन्? घरमा अगुवाइगर्ने, पारिवारिक गतिविधिको चाँजो मिलाउने, तथा अन्तिम निर्णय लिने जिम्मेवारी उठाउनु हुन्न भनेर के तिनी भन्छिन्? तर तपाईं, एउटा पतिले यी जम्मै जिम्मेवारीहरू निभाएको परमेश्वर चाहनुहुन्छ। साथै, अगुवाइ गर्दा परिवारका अन्य सदस्यहरूको सुझाव र अभिरुचिहरूलाई ध्यानमा राख्दै, ती सुझावहरूमाथि पनि विचार पुऱ्याउन उचित हुनेछ। हो, परिवारमा पतिको भूमिका निभाउन गाह्रो छ। तर, आफ्नो कर्तव्य इमान्दारी साथ निभाउने प्रयास गर्नु भयो भने, तपाईंकी पत्नीमा तपाईंलाई हर समर्थन र मदद दिने उत्सुकता हुनेछ।—हितोपदेश १३:१०; १५:२२.
पत्नीको भूमिका निभाउन
१०. (क) बाइबलमा पत्नीहरूकालागि के सल्लाह दिइएको छ? (ख) पत्नीहरूले बाइबलको सल्लाह नमान्दा के हुन्छ?
१० बाइबल अनुसार, स्त्री आफ्नो पतिको सहयोगी हुन बनाइएको हो। (उत्पत्ति २:१८) सो भूमिका वारे, बाइबलमा यसरी जोर दिइएको छ: “ए पत्नी हो, आफ्ना-आफ्ना पतिको अधीनमा बस।” (एफिसी ५:२२) आज पुरूषहरूसँग स्त्रीहरूले प्रतियोगिता गर्ने र जोरीखोज्ने कुरा साधारण भइसकेको छ। तर, पत्नीहरू अगुवाइ गर्ने काममा अघि सर्दा, पक्कै पनि गोलमाल हुनसक्छ। वास्तवमा धेरै पतिहरूले एसो भनेका छन्: ‘यदि पत्नी घर चलाउन चाहन्छिन् भने, ठीक छ, चलाउन्।’
११. (क) एउटी पत्नीले आफ्नो पतिलाई अगुवा हुने मदद कसरी दिन सक्छिन्? (ख) पत्नीले ईश्वर बाट पाएको आफ्नो भूमिका निभाउँदा, पति माथि के असर हुन सक्दछ?
११ तर, पतिले अगुवाइ नलिएको हुनाले, तपाईंले स्वयँ अगुवाइ लिन बाध्य हुनु पऱ्यो भनि ठान्नु होला। तर एसो गर्नुको सट्टा, उहाँलाई नै परिवारको शिर भएर जिम्मेवारी उठाउने काममा तपाईंले अझ बढी मदद दिन सक्नु हुनेथियो कि? तपाईं उहाँबाट निर्देशन पाउन चाहनु हुन्छ भन्ने कुरा के तपाईं उहाँलाई दर्शाउनु हुन्छ? के तपाईं उहाँका सुझावहरू र निर्देशन माँग्ने गर्नु हुन्छ? उहाँले गरेका कामकुराहरूलाई कुनैपनि ढङ्गले नहोच्याउने कोशिश गर्नु हुन्छ? तपाईंले यदि आफ्नो परिवारमा ईश्वर प्रदत्त भूमिका निभाउने हर प्रयास गर्नु भयो भने, तपाईंको पतिले पनि आफ्नो भूमिका निभाउने काम सुरू गर्नेछन्।—कलस्सी ३:१८, १९.
१२. पतिको बिचारधारा सँग नमिल्ने विचार पनि पत्नीले व्यक्तगर्न सक्छिन् भन्नेकुरालाई के ले बोध गराउदछ?
१२ यसको अर्थ, आफ्नो पतिको विचारसँग असहमत भएमा, पत्नीले आफ्नो राय व्यक्त गर्नै हुदैन भनेको होइन। पत्नीको दृष्टिकोण सही हुनसक्छ, र यदि तिनको पतिले सो विचार सुनिदिएमा परिवारलाई त्यसबाट फायदा पनि हुनसक्छ। मसीही पत्नीहरूकालागि अब्राहामकी पत्नी साराह एउटा आदर्शको रूपमा प्रस्तुत गरिएको छ, किनभने तिनी आफ्नो पतिको अधीनमा बस्थिन्। (१ पत्रुस ३:१, ५, ६) तापनि, एउटा घरेलु समस्याको समाधानकालागि तिनले एउटा सुझाउ दिइन्, र अब्राहाम त्यस सुझाउसँग सहमत नहुँदा परमेश्वरले तिनीलाई एसो भन्नुभयो: “आफ्नी पत्नीको कुरा सुन।” (उत्पत्ति २१:९-१२) तर, कुनै कुराको अन्तिम फैसला पतिले लिइसकेको छ भने, र यदि त्यसबाट परमेश्वरको कुनै पनि नियम भङ्ग भएको छैनभने, पत्नीले सो फैसलालाई पूर्ण समर्थन गर्नु पर्छ।—प्रेरित ५:२९.
१३. एउटी असल पत्नीले के कस्ता कामहरू गर्नेछ र यसबाट तिनको परिवारमाथि के असर पर्नेछ?
१३ आफ्नो भूमिका निभाउँदा, एउटी पत्नीले परिवारको हेरचाहका लागि गर्ने धेरैनै कुराहरू छन्। उदाहरणकालागि, तिनले पौष्टिक आहारहरू तैयार पार्ने, घर सफा-सुग्घर राख्ने, र केटा-केटीहरूलाई शिक्षा दिने काममा भाग लिन सक्छिन्। विवाहित स्त्रीहरूलाई बाइबलले यो प्रोत्साहन दिन्छ: “आफ्ना-आफ्ना पतिलाई स्नेह गर्न, आफ्ना बाल-बच्चाहरूलाई माया गर्न सिकाउन्, आत्मसंयमी, पतिव्रता, घरजाम गर्नसक्ने, दयालु, आफ्ना आफ्ना पतिका अधीनमा रहने बनाउन्, कि परमेश्वरका वचनको निन्दा हुन नपाओस्।” (तितस २:४, ५) यी कर्तव्यहरू निभाउने पत्नी र आमाले, आफ्नो परिवारको स्थायी प्रेम र आदर जितन सक्ने छन्।—हितोपदेश ३१:१०, ११, २६-२८.
परिवारमा केटा-केटीको स्थान
१४. (क) परिवारमा केटा-केटीको स्थान के हो? (ख) केटा-केटीहरूले येशूको उदाहरणबाट के सिक्न सक्छन्?
१४ यहोवाले प्रथम मानव दम्पतीलाई: “फल्दै, फुल्दै, वृद्धि हुँदै जानु” भनेर आदेश गर्नु भयो। (उत्पत्ति १:२८) हो, परमेश्वरले तिनीहरूलाई छोरा-छोरी पाउनु भन्नुभयो। केटा-केटीहरू परिवारकालागि एउटा वरदान स्वरूप हुन्। (भजन संग्रह १२७:३-५) आफ्ना आमा-बाबुको नियम र आज्ञाको अधीनमा रहने हुनाले, बाइबलमा केटा-केटीको तुलना एउटा दास सँग गरिएको छ। (हितोपदेश १:८; ६:२०-२३; गलाती ४:१) येशू पनि केटाकेटी छँदा आफ्ना आमा-बाबुको अधीनमा बस्नु भयो। (लुका २:५१) यसको अर्थ, उहाँले तिनीहरूले दिएका निर्देशनहरू पालन गर्नु हुन्थियो। सबै केटा-केटीहरूले यसो गरेको खण्डमा, पारिवारिक आनन्दमा यसले ठूलो योगदान दिनसक्ने छ।
१५. केटा-केटीहरू अक्सर आमा-बाबुहरूका निम्ति किन दुःखको कारण भइ रहेका छन्?
१५ तर, आज केटा-केटीहरू परिवारकालागि वरदान हुनुको सट्टा, आमा-बाबुकालागि अकसर एउटा मानसिक कष्टको कारण भएका छन्। किन? किनभने केटा-केटी र आमा-बाबुहरू दुबैले, आफ्नो जीवनमा पारिवारिक रहन-सहन वारे, बाइबलमा दिइएको निर्देशनलाई प्रयोगमा ल्याएका छैनन्। परमेश्वरका ती केही नियम र सिद्धान्तहरू के हुन्? ती मध्य केही देहायका पानाहरूमा दिइएका छन् र तिनीहरूको हामी जाँच गरौं। जाँच गर्दै जाँदा, तिनीहरूको प्रयोगले तपाईंको पारिवारिक आनन्दमा योगदान दिन सक्नेछ भन्ने कुरासँग तपाईं सहमत हुनुहुन्छ कि हुनुहुदैन भनेर सोंच्नु होस्।
आफ्नी पत्नीलाई प्रेम र आदर गर्नु होस्
१६. पतिहरूलाई के गर्ने आदेश दिइएकोछ र यी आदेशहरूको पालना के गरेर हुन्छ?
१६ ईश्वरीय बुद्धि दर्शाउदै, बाइबल भन्दछ: “त्यसरीनै पतिहरूले पनि आफ्नी-आफ्नी पत्नीलाई आफ्नै शरीर झैं प्रेम गर्नु पर्छ”। (एफिसी ५:२८-३०) पतिको माया महसुस गर्न पाई भने मात्र पत्नी खुशी रहन सक्छे भन्ने कुरा बारम्बार अनुभव द्वारा प्रमाणित भएको छ। यसको अर्थ, पतिले आफ्नी पत्नीको बिशेष ध्यान राख्नु पर्दछ। विवेक, कोमलता, र समझदारीका साथ व्यहवार गर्नु पर्दछ। बाइबलमा भने अनुसार, पत्नीलाई ‘आदर दिनु’ आवश्यक छ। यसको अर्थ, पतिले आफ्ना सबै काम कुराहरू गर्दा पत्नीको पनि विचार राख्नु पर्दछ। यसप्रकार उसले पत्नीबाट श्रद्धा प्राप्त गर्नेछ।—१ पत्रुस ३:७.
पतिको आदर गर्नुहोस्
१७. पत्नीहरूलाई के गर्ने आदेश छ, र तिनीहरूले त्यसको कसरी पालना गर्छन्?
१७ पत्नीहरूले के गर्नु पर्छ? “पत्नीले आफ्नो पतिको गहिरो आदर गरोस्” भनेर बाइबलमा घोषणा गरिएको छ। (एफिसी ५:३३) पत्नीहरूले यो आज्ञाको अवहेलना गर्दा नै कति पतिहरू आफ्नी पत्नीहरूलाई रूचाउँदैनन्। आफ्नो पतिको निर्णयहरूका लागि समर्थन जनाउँदै, पारिवारिक लक्ष्यहरू प्राप्त गर्नमा सम्पूर्ण हृदयले सहयोग गर्दै, एउटी पत्नीले आफ्नो पति प्रति आदर जनाउन सक्छे। पतिको “सहयोगी र पूरक” हुने बाइबल प्रदत्त आफ्नो जिम्मेवारी पूरा गरी भने, उसलाई प्रेम गर्न उसको पतिलाई पनि धेरै सजिलो हुनेछ।—उत्पत्ति २:१८.
एक अर्का प्रति वफादार हुनुहोस्
१८. विवाहित दम्पती एक अर्का प्रति वफादार हुनु किन आवश्यक छ?
१८ बाइबल भन्दछ: “पति तथा पत्नी एक अर्का प्रति वफादार हुनै पर्दछ।” पतिलाई यसो भन्दछ: “तेरो फोहोरा, तेरो युवावस्थाकी पत्नी आशीर्वादी होस्। त्यहीसित तँ सुखी हो . . . तँ किन वेश्याको प्रेममा फँस्छस्? तँ किन खराब स्त्रीलाई आलिङ्गन गर्छस्?” (हिब्रू १३:४; हितोपदेश ५:१८-२०, टुडेज इङ्गलिश भर्सन) हो, व्यभिचार परमेश्वरको नियम बिरुद्धको कुरा हो। यसले परिवारमा कलह पैदा गर्दछ। अनुसन्धान गर्ने एक जनाले एसो भनेको छ: “व्यभिचारिक सम्बन्धले विवाहलाई रसिलो बनाउदछ भन्ने धारणा धेरैको होला।” तर पछि तिनी फेरि एसो भन्दछ, यसप्रकारको सम्बन्धलेगर्दा “वास्तवमा ठूला समस्याहरू” उठ्दछन्।—हितोपदेश ६:२७-२९, ३२.
आफ्नो जीवन साथीको आनन्दलाई पनि ध्यान दिनु होस्
१९. विवाहित दम्पतीले योनिक सम्बन्धमा सर्वाधिक आनन्द कसरी उठाउन सक्दछन्?
१९ सम्भोगको आनन्द आफ्ना लागि मात्र खोज्नाले सुख प्राप्त हुँदैन। बरू, आफ्नो जीवन साथीको पनि खुशी खोजेमा सुख पाइन्छ। बाइबलले भनेको छ: “पतिले पत्नीसँग गर्नु पर्ने व्यवहार गरोस्, औ त्यसैगरी पत्नीले पतिसँग।” (१ कोरिन्थी ७:३) यहाँ, आफूलाई आफ्नो जीवन साथीको हातमा सुम्पनु र दिनुमा महत्व दिइएको छ। र दिंदा, दिनेले पनि असली आनन्द पाउँछ। येशूले यसो भन्नु भएको छ: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.
आफ्नो समय आफ्ना छोरा-छोरीकालागि दिनुहोस्
२०. केटा-केटीहरूसँग मिलेर कामकुरा गर्न किन महत्वपूर्ण छ?
२० आठ बर्षको एउटा बालकले एसो भनेको छ: “मेरो पिता हरदम काम गरिरहनु हुन्छ। घरमा कहिले हुनुहुन्न। मलाई थुप्रै पैसा र खेलौनाहरू दिनु हुन्छ, तर उहाँलाई मुस्किलले देख्न पाउँछु। मँ उहाँलाई माया गर्दछु र उहाँले हरदम काम नगरे हुनेथियो जस्तो लाग्छ। मँ उहाँ सँग अझ बढ़ी समय बिताउन चाहन्छु।” बाइबलको आज्ञा अनुसार आफ्ना छोरा-छोरीहरूलाई ‘घरमा बस्दा, बाटोमा हिंड़दा, ढल्कँदा र उठदा’ परमेश्वरको वचन सिकाउँनाले पारिवारिक जीवन कति राम्रो हुनेथियो! आफ्ना छोरा-छोरीहरूका लागि आफ्नो सबै भन्दा राम्रो समय खर्च गरेमा, आफूलाई तिनीहरूकालागि प्रयोग गरेमा, पारिवारिक आनन्द निश्चित छ।—व्यवस्था ११:१९; हितोपदेश २२:६.
आवश्यक अनुशासन दिनुहोस्
२१. केटा-केटीहरूलाई अनुशासन दिने वारे बाइबलले के भन्दछ?
२१ हाम्रो स्वर्गीय पिताले आफ्ना जनहरूलाई सच्याउनकालागि उपदेश, वा अनुशासन उपलब्ध गराएर आमा-बाबुकालागि एउटा उचित उदाहरण कायम गरिदिनु भएको छ। केटा-केटीहरूलाई अनुशाशनको आवश्यकता हुन्छ। (हिब्रु १२:६; हितोपदेश २९:१५) यसलाई मान्यता दिंदै बाइबलले जोर दिएको छ: “औ ए बाबु हो, . . . [आफ्ना छोरा-छोरीलाई] प्रभुको (यहोवाको, न्यु.व.) शिक्षा र चेताउनीमा पालन-पोषण गर।” अनुशासन दिंदा, कुटनु परेमा वा पाएको सुबिधाहरू खोस्नु परेता पनि त्यसले छोरा-छोरीहरू प्रति आमा-बाबुको मायानै झल्किनेछ। बाइबल भन्दछ: “छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्था देखिनै अनुशासनमा राख्छ।”—एफिसी ६:४; हितोपदेश १३:२४; २३:१३, १४.
नौजवानहरू हो—सांसारिक तौर-तरिकाको प्रतिरोध गर
२२. नौजवानहरूको कर्तव्य के हो, र सो पूरा गर्नमा के विथोलित छ?
२२ संसारले नौजवानहरू बाट परमेश्वरको नियमहरू उल्लङ्घन गराउने प्रयास गर्दछ। साथै, बाइबलमा एसो पनि भनिएको छ, “बालकको हृदय भित्र मूर्खता गाड़िएको हुन्छ।” (हितोपदेश २२:१५) यस कारण, सही कुरा गर्नु एउटा सङ्घर्ष हो। तापनि बाइबल एसो भन्छ: “ए बालक हो, आफ्नो आमा-बाबुको आज्ञा पालन गर्नु तिमीहरूको मसीही कर्त्तव्य हो। एसो गर्न उचित हो।” यसो गर्नाले महान प्रतिफल पाइनेछ। यसकारण, बालकहरू हो, बुद्धिमान होऊ। यो अर्तीलाई ध्यान देऊ: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर।” मादक पदार्थहरू खाने, मतवालाहुने, व्यभिचार गर्ने र परमेश्वरको नियम विपरीत हुने अन्य काम गर्ने प्रलोभनहरूको बिरोध गर।—एफिसी ६:१-४; उपदेशक १२:१; हितोपदेश १:१०-१९, टुडेज इङ्गलिश भर्सन.
सँगै बाइबल अध्ययन गर्नुहोस्
२३. सँगै मिलेर बाइबल पढ़ेमा परिवारले के फायदाहरू उठाउन सक्दछ?
२३ परिवारको एकजना सदस्यले बाइबल अध्ययन गरेर त्यसका शिक्षाहरूलाई प्रयोगमा ल्यायो भने, यसबाट पारिवारिक आनन्दमा योगदान हुनसक्छ। तर परिवारका जम्मैनै सदस्यहरू,—पति, पत्नी र छोरा-छारीहरू सबै मिलेर त्यसो गरेमा, त्यो परिवार कति आनन्दित हुने थियो! जसै परिवारका प्रत्यक सदस्यले एक अर्कालाई यहोवा परमेश्वरको सेवा गर्न मदद दिने कोशिश गर्नेछन्, परिवार भित्र आपसमा एउटा न्यानो र घनिष्ठ सम्बन्ध हुनुका साथै आपसमा कुराकानी गर्ने खुल्ला वातावरण कायम हुन सक्नेछ। यसकारण, एकसाथ बसेर बाइबल अध्ययन गर्ने बानी परिवारमा बसाल्नु होस्!—व्यवस्था ६:४-९; यूहन्ना १७:३.
पारिवारिक समस्याहरू सफलतापूर्वक हल गर्न
२४. विवाहित दम्पतीले एक अर्काका गलतीहरूलाई छुट दिन किन उचित हो?
२४ साधरणतया, आनन्दित परिवारहरूमा पनि, समय समयमा समस्याहरू उठ्न सक्छन्। किनभने हामी सबै असिद्ध छौं र गलत कामहरू गर्छौं। “धेरै कुरामा हामी चुक्तछौं” भनेर बाइबल भन्दछ। (याकूब ३:२) त्यसकारण, विवाहित जोड़ीहरूले आपसमा एक अर्का बाट सिद्धताको माँग गर्नु हुदैन। यसको सट्टा एउटाले अर्कोको त्रुटिलाई छुट दिन सक्नु पर्छ। यसकारण, दुई जना मध्य कसैले पनि एउटा सम्पूर्णरूपले सुखी विवाहको आशा गर्नु भएन, किनकि असिद्ध मानिसले यो प्राप्तगर्न सम्भव छैन।
२५. विवाहित जीवनमा उठने समस्याहरूको समाधान प्रेम साथ कसरी गर्नु पर्छ?
२५ तर, अवश्य पनि, एउटा पति र एउटी पत्नीले एक अर्कालाई मन नपर्ने कुराहरू नगर्ने कोशिश गर्नु पर्छ। तथापि, जति नै कड़ा कोशिश गरेता पनि, अर्कोलाई दिक्क पार्ने कामकुरा भइहाल्छ। त्यसकारण, कठिनाइहरूको मुकाविला कसरी गर्ने? बाइबलको सल्लाह यस प्रकार छ: “प्रेमले असंख्य पापहरू ढाक्तछ।” (१ पत्रुस ४:८) यसको अर्थ, प्रेम गर्ने पति-पत्नीहरूले एक अर्काको गलतीलाई बारम्बार कोट्याइ रहनु हुँदैन। प्रेमको भाषा बरू यसो भन्दछ: ‘हो, तिमीले गलती गऱ्यौ। तर गलती म बाट पनि हुन्छ। यसकारण, म तिम्रो गलतीको वास्ता गर्दिन र तिमीले पनि त्यस्तै गर्नु।’—हितोपदेश १०:१२; १९:११.
२६. कुनै प्रकारको समस्या आइलाग्दा, त्यसलाई समाधान गर्ने मदद कसरी पाउन सकिन्छ?
२६ विवाहित जोड़ीहरूले आफ्नो गलतीहरू स्वीकार गरेर तिनीहरूलाई सुधार्ने कोशिश गरेमा, धेरै जसो विवाद र मनोव्यथाहरूलाई हटाउन सकिन्छ। विवाद जितने भन्दा, समस्या सुधार्ने तर्फ तिनीहरूको उद्देश्य हुनुपर्दछ। तपाईंको जीवन-साथी बाट गलती भएकै हो भने पनि, दयालु भएर समस्या समाधान गर्न सजिलो पार्नु होस्। तपाईं बाट भूल भएको छ भने, नम्रतापूर्वक क्षमा माँगनु होस्। त्यसलाई स्थगित न गर्नु होस्; जतिसके चाँड़ो समस्याको निराकरण गर्नु होस्। “घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।”—एफिसी ४:२६.
२७. बाइबलको कुन सल्लाह अनुसरण गरेमा, विवाहित दम्पतीले समस्याहरू समाधान गर्ने मदद पाउन सक्ने छन्?
२७ विशेष गरी, यदि तपाईं एउटा विवाहित व्यक्ति हो भने, तपाईंले यो नियम पालन गर्नु अति आवश्यक छ: “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूको कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:४) तपाईंले बाइबलको यो आज्ञा पालन गर्न आवश्यक छ: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता, धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी यहोवाले पनि तिमीहरूलाई क्षमा गर्नु भयो, त्यसरी तिमीहरूले पनि क्षमा गर। र यी सबै कुराहरू भन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१२-१४.
२८. (क) विवाह सम्बन्धी समस्याहरूको समाधान के पारपाचुके हो र? (ख) पारपाचुके गरेर फेरि विवाह गर्न पाउने एक मात्र आधार बाइबल अनुसार के हो?
२८ आज, धेरै दम्पतीहरू परमेश्वरको वचनमा पाइने सल्लाह द्वारा आफ्ना समस्याहरूको समाधान गर्नुको सट्टा, पारपाचुके गर्न खोज्दछन्। पारपाचुके द्वारा समस्याको समाधान गर्ने कुरालाई के परमेश्वरले अनुमोदन गर्नु हुन्छ? कदापि पनि गर्नु हुँदैन। (मलाकी २:१५, १६) आजीवन सम्बन्ध होस् भनेर उहाँले विवाहको सृजना गर्नु भएको हो। (रोमी ७:२) व्यभिचार भएको खण्डमा मात्र मानिसले पारपाचुके गरेर अर्को विवाह गर्न पाउने छुट बाइबलमा दिइएको छ। व्यभिचार भएको छ भने, निर्दोष पक्षले पारपाचुके गर्ने वा नगर्ने फैसला गर्न सक्दछ।—मत्ती ५:३२.
२९. (क) तपाईंको जीवन साथीले मसीही उपासनामा तपाईंलाई साथ दिएन भने, के गर्ने? (ख) यसको सम्भावित नतीजा के हुन सक्दछ?
२९ यदि तपाईंको जीवनसाथीले तपाईंसँग परमेश्वरको वचन अध्ययन गर्न नचाहेमा, वा तपाईंको मसीही कामकुराको पनि विरोध गरेमा, के गर्ने? यस्तो अवस्थामा पनि, भिन्दो भएर सो समस्याको सजिलो समाधान खोज्ने तर्फ लाग्नुको सट्टा, आफ्नो जीवन साथी सँगै बस्ने कुरामा बाइबलले प्रोत्साहन दिन्छ। बाइबलको वचनलाई आफ्नो व्यक्तिगत चालचलनमा प्रयोग गरेर, आफ्नो घरेलु परिस्थितिमा तपाईंले जे सुधार ल्याउन सक्नु हुन्छ, सो गर्नु होस्। समयमा, तपाईंको आफ्नो चालचलनले गर्दा, आफ्नो जीवनसाथीको मन तपाईंले जित्न सक्नु हुनेछ। (१ कोरिन्थी ७:१०-१६; १ पत्रुस ३:१, २) यदि तपाईंको यो मायालु धैर्यको इनाम यसरी पाउनु भयो भने, तपाईंका लागि कति ठूलो आशिष हुनेछ!
३०. आफ्नो छोरा-छोरीको निम्ति आमा-बाबुनै राम्रो उदाहरण हुन किन जरूरी छ?
३० आज धेरै जसो पारिवारिक समस्याहरू बाल-बच्चाहरू सँग सम्बन्धित हुन्छन्। तपाईंको परिवारमा पनि यसप्रकारको समस्या छ भने के गर्न सकिन्छ? सर्वप्रथम, तपाईं आमा-बाबुहरू राम्रो उदाहरण हुन सक्नु पर्छ। किनभने, छोरा-छोरीहरूमा, तपाईंले भनेको कुरा भन्दा, तपाईंले गरेको कुरालाई अनुसरण गर्ने प्रवृत्ति हुन्छ। र तपाईंको काम र कुरामा फरक हुनगयो भने, छोरा-छोरीले सो कुरा तुरून्तै बुझने छन्। त्यसकारण, तपाईंका छोरा-छोरीहरू राम्रो मसीही जीवन बिताएको चाहनु हुन्छ भने, पहिले तपाईं आफैले उदाहरण कायम गर्नु पर्दछ।—रोमी २:२१, २२.
३१. (क) आमा-बाबुको आज्ञा पालनाकालागि छोराछोरीहरूले अझ अरू बढ़ी महत्वपूर्ण कारण जान्नु किन आवश्यक छ? (ख) व्यभिचार नगर्नु भन्ने परमेश्वरको नियम पालनगर्नु बुद्धिमानी हो भनेर आफ्ना बच्चाहरूलाई तपाईंले कसरी बुझाउन सक्नु हुनेछ?
३१ साथै, छोरा-छोरीहरू सँग तर्कसङ्गत कुरा गर्ने आवश्यकता छ। तिनीहरूलाई ‘व्यभिचार गलत हो, त्यसकारण तिमीले गरेको म रूचाउँदिन’ भनेर मात्र पुग्दैन। तिनीहरूका सृष्टिकर्ता, यहोवा परमेश्वरले, व्यभिचार गर्नु गलत हो भन्नुभएकोछ भनेर तिनीहरूलाई देखाउनु आवश्यक छ। (एफिसी ५:३-५; १ थिस्सलोनिकी ४:३-७) तर यति मात्र पनि यथेष्ट छैन। किन परमेश्वरको नियमहरू पालन गर्न आवश्यक छ र सो गर्नाले तिनीहरूलाईं के फायदा हुन्छ भन्ने कुरा बुझ्न केटा-केटीहरूलाई मदद दिनु जरूरी छ। उदाहरणकालागि, पुरूषको वीर्य र स्त्रीको डिम्बा मिलेर कसरी एउटा मानव बच्चा अद्भुत रूपमा उत्पन्न हुन्छ भन्ने कुरा तर्फ तपाईंले आफ्ना बच्चाहरूको ध्यान आकर्षित गराउन सक्नुहुन्छ, अनि सोध्नु होस्: ‘यसप्रकारको चमत्कारपूर्ण जन्म सम्भव पार्न सक्ने व्यक्ति, अर्थात परमेश्वरलाईनै, मानिसको ईश्वर-प्रदत्त योन-शक्तिवारे सबै भन्दा बढी ज्ञान हुनु पर्छ, होइन र?’ (भजनसंग्रह १३९:१३-१७) अथवा, तपाईं यो पनि सोध्न सक्नुहुन्छ: ‘के हाम्रा महान सृष्टिकर्ताले हाम्रो जीवनको आनन्द खोस्ने उद्देश्यले नियम बनाउनु भएको होला र? बरू, उहाँको नियम मान्नुमा नै हाम्रो आनन्द होला, होइन र?’
३२. (क) तपाईंको बच्चाको विचार परमेश्वरको विचारसँग मेल नखाने किसिमको छ भने, तपाईंको व्यवहार तिनीहरू प्रति कस्तो हुनुपर्छ? (ख) बाइबलमा भनिएका कुराहरूको औचित्य र बुद्धि बुझ्न तपाईंको बच्चालाई कसरी मदद दिन सकिन्छ?
३२ यसप्रकारका प्रश्नहरू द्वारा, तपाईंका छोरा-छोरीहरूले योन-सम्बन्धी ईश्वरीय नियमहरू बारे तर्क गरेर सोच्न थाल्ने छन्। तिनीहरूको विचारहरूको स्वागत गर्नु होस्। तपाईंले चाहेका जस्ता ती विचारहरू भएनन् भने पनि, नरिसाउनु होस्। तपाईंका छोरा-छोरीहरूको पुस्ता, बाइबलको सद्गुणी शिक्षाहरू भन्दा धेरै नै टाढ़ा गइसकेका छन् भन्ने कुरा बुझ्ने कोशिश गर्नु होस्, र अनि तिनका पुस्ताको अनैतिक चालहरू किन बुद्धिमत्तापूर्ण छैन भनेर देखाउने कोशिश गर्नु होस्। शायद, योन सम्बन्धी अनैतिकताले गर्दा मठ्याहा जन्मिने बच्चाहरू, मैथुनरोगहरू र अन्य कष्टहरू आइलाग्ने जस्ता विशेष उदाहरणहरू तर्फ तपाईंले आफ्ना छोरा-छोरीहरूको ध्यान आकर्षित गर्न सक्नु हुनेछ। यस प्रकार, बाइबलमा भनिएका कुराहरूको औचित्य र सहीपनालाई बुझ्ने मदद उसले पाउने छ।
३३. एउटा पार्थिव प्रमोदबनमा सँधैभरि बाँच्ने बाइबलमा आधारित आशाले, पारिवारिक जीवनलाई सफलपार्ने मदद किन दिन सक्दछ?
३३ विशेष गरी, पृथ्वीमा सँधैभरि प्रमोदबनमा बाँच्ने बाइबलमा आधारित आशाले गर्दा, एउटा सफल पारिवारिक जीवन बिताउने मदद मिल्न सक्छ। यसो किन? किनभने, यदि वास्तवमा हामीहरू परमेश्वरको नया रीतिरिवाजमा बाँच्न चाहन्छौं भने, त्यसबेला हामीहरू जसरी बस्ने आशा राख्दछौं, त्यसरी नै अहिले देखिन् बस्ने हर कोशिश गर्ने छौं। यसको अर्थ हो, यहोवा परमेश्वरको निर्देशन र शिक्षाहरूलाई हामीले बड़ो नजीक सँग अनुसरण गर्ने छौं। फल:स्वरूप, हाम्रो वर्तमान आनन्दका साथ साथै, भविष्यमा अनन्त जीवन उपभोग गर्न पाउने हाम्रो सामुन्ने रहेको अनन्तकाल सम्मको खुसीयाली, परमेश्वरले थपि दिनु हुनेछ।—हितोपदेश ३:११-१८.