‘यहोवाले घर नबनाउनु भएता...’
तपाईं जहाँ बसोबास गर्नु भएता पनि, तपाईंले घर भन्न सक्ने कुनै एउटा ठाउँ हुन्छ। बस्ने घरहरूको बनौट र ढाँचा बेग्ला बेग्लै हुन्छन्। माटो र हाँगाबिंगाले बनाइएको झोपडी, सम्पूर्णतया काठका साना-साना डेराहरू र सिमेन्टीका पक्का घरहरू—इत्यादि, इत्यादि। कसैलाई पक्का घरहरूमा बस्दा आराम लाग्छ भने, त्यति कै आराम अरूहरूले घाँसको झोपड़ीमा महसुस गर्दछन्। यस्तो किन?
आराम र सन्तोष अकसर आफ्नो साथी सङ्गतिमा निर्भर गर्दछ। (हितोपदेश १८:२४) बाहिर संसारमा जति नै चमक-दमक पाउन सकिएता पनि, घर त्यो ठाउँ हो जहाँ मानिस शान्ति र सान्त्वना पाउनको निम्ति स्वभाविकत फर्केर जाने गर्छ। तर आधुनिक परिवारहरूको जीवन शैलीबारे प्राप्त रिपोर्ट अनुसार, घरमा सधैं नै शान्ति र सान्त्वना पाउन सकिन्छ भन्ने कुनै गेरेन्टी छैन। अकसर, तपाईंसँग जीवन बिताउने व्यक्तिहरू अथवा तपाईंको परिवार, या ता तपाईंको शान्तिमा सहभागी हुन सक्छन् या तपाईंको शान्तिमा बाधा हुन सक्छन्। यसकारण, एउटा सुखमय र शान्तिपूर्ण घर-परिवारको रहस्य के हो?
घर-परिवारको निमार्ण
“परमप्रभुले नै [यहोवाले नै, न्यु.व.] घर नबनाउनु भएता, बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्” भनेर भजनसंग्रह १२७ को प्रथम पद भन्दछ। साँचो परमेश्वर, यहोवाको उपासनाका लागि भवनहरू निर्माण गर्ने काममा भाग लिनेहरूले यस कुराको सत्यताको अनुभव गरेका छन्। राज्य गृहहरूको चाँड़-चाँड़ो निर्माण गर्ने कार्यक्रममा, स्वेच्छा साथ निपुण कार्यकर्ताहरूले आफनो समय र प्रयास अर्पण गरेता पनि, निश्चित सफलता यहोवाको आशिषमा भर पर्दछ। बाहिरबाट हेर्ने मानिसहरूले पनि यहाँ एउटा असाधारण शक्तिको हात छ भनेर अकसर बुझ्न सकेका छन्। उदाहरणका लागि, कोलचेस्टर, बेलायतमा, यस प्रकारको निर्माण योजना बारे दिइएको टिप्पणीमा एउटा पत्रिकाले यो शीर्षक प्रयोग गरे: “यहोवाले छाना लगाउनु हुन्छ।”
तथापि, साँच्चै कै भवनहरूको निर्माणमा बाहेक, हाम्रा अरू प्रयासहरूको सफलता पनि यहोवाको आशिषमा भर पर्दछ। सुलेमानले भजनसंग्रह १२७ को तेस्रो पदमा उल्लेख गरेका शब्दहरूमाथि एक छिन ध्यान दिएर हेर्नुहोस्: “हेर, छोराहरू ता परमप्रभुले [यहोवाले, न्यु.व.] दिनु भएको हक . . . हुन्, गर्भको फलचाहिं उहाँको इनाम हो।” हो, परिवारहरू निमार्ण गर्ने काममा पनि यहोवा सर्वोत्तम रचयिता हुनुहुन्छ र आमा-बाबुहरूले उहाँका सहकर्मी हुने महान विशेषाधिकार पाएकाछन्।a (हिब्रू ११:१०) मसीही आमा-बाबुहरूले यो विशेषाधिकारबाट लाभ उठाउँदै, सृष्टिकर्ता, यहोवा परमेश्वरको महिमा गर्ने, आनन्दमय र शान्तिपूर्ण परिवारहरूको रचना कसरी गर्न सक्नेछन्?
परिवारको सफल रचना
निर्माणको काम सफल हुने हो भने एउटा भरपर्दो स्थापत्य नक्सा अथवा नाप नक्सा आवश्यक छ। परमेश्वरको प्रशंसा गाउने जवान मानिसहरूको निर्माण गर्दा, परमेश्वरको प्रेरित वचन, बाइबल भन्दा राम्रो अरू कुनै नाप नक्सा छैन। (२ तिमोथी ३:१६, १७) “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन” भनेर सुलेमानले लेखे। (हितोपदेश २२:६) “ठीक बाटो” यहोवाको मार्ग हो र आमा-बाबुले त्यसको अनुसरण गर्दा, तिनीहरूले आफ्ना छोरा-छोरीहरूको सामुन्ने परमेश्वरको विश्वासी सेवक हुने मौका प्रस्तुत गर्दछन्।
एउटा बलियो भवनको निर्माण गर्दा टिकाउ हुने सामग्रीहरूको पनि खाँचो पर्दछ। अफ्रिकाका एक जना मानिस युरोपमा भ्रमण गर्न गएको बेलामा, त्यहाँका केही भवनहरू सयौं वर्ष पुरानो रहेछ भनेर थाह पाउँदा छक्क परे। ती भवनहरूको निर्माण गर्दा प्रयोग गरिएका सामग्रीहरू त्यतिका बलिया रहेछन् भन्ने कुरा तिनको लागि नौंलो कुरा थियो। तर निमार्णको काम गर्ने मानिसहरूले कमसल किसिमका सामग्रीहरू प्रयोग गर्दा, अकसर ठूला-ठूला दुर्घटनाहरू हुन सक्छन् जसलेगर्दा मानिसहरूको ज्यान पनि जान सक्छ। यही सिद्धान्त बच्चाहरूलाई हुर्काउँदा पनि लागू हुन्छ।
गर्भधारणको समयमा, पापको कारण आएका असिद्ध गुणहरू बच्चाहरूले वंशानुगत पाउँछन्। (भजनसंग्रह ५१:५) अर्थात्, तिनीहरूमा सुरू देखि नै त्रुटि हुन्छ। यो त्रुटिपूर्ण झुकावको प्रतिरोध गर्न, बच्चाहरूमा मसीही आमा-बाबुहरूले स्थायी र ईश्वरीय गुणहरूको वृद्धि गर्ने प्रयत्न गर्नु पर्दछ। (१ कोरिन्थी ३:१०-१५) यो काम न गरेको खण्डमा, आमा-बाबुहरूले आफ्ना छोरा-छोरीहरूका निम्ति सबै भन्दा असल खाने कुरा, कपड़ा र घरको प्रबन्ध गरी दिन जति नै परिश्रम गरेता पनि, सारा निर्माण प्रयास व्यर्थ भएर जानेछ।
यसैकारण, आम-बाबु, विशेषगरी बाबुहरूको निम्ति यो ईश्वरीय चेताउनी छ: “तिमीहरूका बालकहरूलाई . . . प्रभुको [यहोवाको, न्यु. व.] शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यहोवाको शिक्षा र अनुशासनमा सर्वोत्तम स्तरको नाप-नक्शा र निमार्ण सामग्रीहरू पाउनु हुनेछ। तिनीहरूको प्रयोग गरेमा, सम्पूर्ण परिवारले अनन्तकालीन लाभ उठाउनेछ।
कार्य स्थलमा प्रशिक्षण
जुन सुकै निमार्णको काम गर्दा पनि, सबै भन्दा राम्रोसँग मिलाएका योजनाहरू हुँदा हुदै पनि, अचानक, सोंच्दै न सोंचेका समस्याहरू उठदछन्। यस्तै गरी, परिवारका सदस्यहरूको दैनिक जीवनमा पनि अकस्मात उठने समस्याहरूको आमा-बाबुहरूले प्रतीक्षा गर्नु पर्दछ र ती समस्याहरूको सामना गर्न तयार हुन पर्छ। यो कसरी गर्न सकिन्छ?
एउटा ता दुवै आम-बाबु बीच आपसमा खुलस्तसँग बोल-चालगर्ने बानी हुनु पर्यो। आमा-बाबुले प्रार्थनापूर्वक जवान छोरा-छोरीहरूको प्रगति बारे आपसमा छलफल गर्दा, तिनीहरूले बच्चाहरूलाई कुन कुराका लागि प्रशंसा दिनु परेको छ र कुन कुरामा चाहिं अझ “निमार्णको” खाँचो छ भनेर थाह लगाउन सक्नेछन्। यी कमजोरीहरू एक पटक थाह लागे पछि, आमा-बाबु दुवै मिलेर काम गर्न सक्नेछन् र ती कमजोरीहरूलाई समाधान गर्न आवश्यक कदम चाल्न सक्नेछन्।
तर शायद तपाईंको एउटा ठूलो परिवार होला र तपाईं सोंच्नु होला: ‘हाम्रा प्रयासले मात्र घरका विभिन्न बच्चाहरूको बेग्ला बेग्लै व्यक्तिगत आवश्यकताहरूलाई कसरी पूरा गर्न सकौंला?’ कार्य-स्थल मै प्रशिक्षण दिए कसो होला जस द्वारा तपाईंका बच्चाहरूले एक-अर्कालाई मदद दिन सक्नेछन्? सिकारूहरूले ता वषौं सम्म मुख्य कारिगर सँग-सँगै काम सिक्ने गर्छन्। शायद तपाईंको पारिवारिक अध्ययन भइ रहेको बेलामा, तपाईंले आफ्ना केही हुर्किसकेका छोरा-छोरीहरूलाई तिनीहरू भन्दा सानाहरूलाई कुनै कुनै कुरा बुझाउन लगाउनु सक्नु हुन्छ। इमानदारी, साथी-सङ्गति, स्कूलमा खराब प्रभावहरूको सामना गर्ने, इत्यादि विषयहरूमा दुवै साना र ठूला छोरा-छोरीहरूले अकसर चासो लिने गर्छन्। अलिक ठूलो भइ सकेका छोरा-छोरीहरूलाई यस प्रकारको जिम्मेवारी दिनु भयो भने, जसै तिनीहरूले आफू भन्दा सानाहरूलाई आवश्यक कुराहरूको शिक्षा दिनेछन्, तिनीहरूको आफ्नै समझ शक्ति र शिक्षा दिने योग्यता तीव्र हुनेछ। (हिब्रू ५:१४) यस प्रकारको प्रबन्ध द्वारा, घरका केटा-केटीहरूको बीच, साँचो भ्रातृत्व बढ़न सक्दछ।
शायद तपाईंको परिवार सानो होला र घरमा एक जना मात्र बच्चा होला। यस्तो परिस्थितामा, आफ्नो बच्चालाई राम्रोसँग बुझ्ने तपाईंको सामुन्ने धेरै मौकाहरू छन्। तर आफ्नो बच्चालाई घरमा विशेष ध्यानको केन्द्र बनाएर उसको आनीबानी बिगार्ने खतरा देखि सतर्क हुनुहोस्। त्यहाँ घरमा तपाईं तीन जना हुनुहुन्छ, होइन र? यसकारण सबै कुरा एक साथ मिलेर गर्ने बानी बसाल्नु होस्। यसो गर्नु भयो भने, उसले अरूहरूसँग कुरा गर्न सिक्ने छ, अरूहरू प्रति ध्यान दिनेछ र यी गुणहरूले उसलाई स्वार्थी हुनदेखि रोकनेछ।
पारिवारिक सामीप्यलाई लक्ष्य बनाउनुहोस्
परिवार निर्माण गर्नुको अर्थ बाइबल अध्ययन गर्नु र सल्लाह र अनुशासन दिनु मात्र होइन। सुलेमानले भने: “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज-मजा गर्नु भन्दा अरू बढ़ी केही छैन।” (उपदेशक २:२४) स्वादिलो हुने गरी खाने कुरा पकाएको छ भने, अवश्य पनि तपाईंको परिवारले खाना रूचाउँछन् होला। के तपाईंको परिवारमा एक साथ बसेर खाने प्रबन्ध छ? शायद यो सधैं सम्भव न होला, किनभने परिवारका कुनै सदस्यहरू काममा गएका छन् भने, कोही स्कूलमा होलान् अथवा कोही चाहिं अरू केही काममा घरबाट बाहिर गएका होलान्। तर अकसर, दिनमा एक पटक चाहिं सबै सँगै बसेर खान सम्भव हुन्छ। यसरी एक साथ खाने बेलामा, वातावरण आनन्दमय बनाउन कुन कुन कुराले सहायता दिन सक्नेछ?
एक जना मसीही भाइले यस अवसरमा बाइबल सम्बन्धी एउटा प्रश्न उठाउने गर्छन् र त्यसको छलफलमा सबैले भाग लिन सक्छन्। तर जवाफ थाह न हुनेहरूलाई यो भाइले लाजमा पार्न चाहिं खोज्दैनन्। तर कुनै कुनै परिवारहरूमा खान बसेको बेलामा, क्षेत्र सेवकाईको अनुभवहरू भन्ने गर्छन्। आध्यात्मिक कुराहरू तिर यस प्रकार ध्यान दिएर, खाना खाने समय सम्पूर्ण परिवारको निम्ति लाभप्रद हुन सक्छ। (रोमी १४:१९ हेर्नुहोस्) हुन ता हो, संसारका कुनै भागहरूमा, खाना खाने बेलामा कुरा गर्ने चलन छैन। तापनि, एउटा आनन्दमय वातावरण कायम राख्ने प्रयत्न गर्नु महत्वपूर्ण हो। हितोपदेश १५:१७ भन्छ: “डाहसित खाएको मोटो बहरभन्दा, प्रेमसित खाएको सागपात असल हो।”
मसीही परिवारमा आराम र मनोरञ्जनका लागि पनि ठाउँ छ। बुद्धिमान आमा-बाबुहरूले यी अवसरहरू पारिवारिक बन्धनलाई बलियो पार्न प्रयोग गर्छन्। कसरी?
जवानहरूलाई आफ्नो बाटो लागेर, जे मन पर्छ, त्यही गर्न दिनु सजिलो भएता पनि, यसमा खतरा छ। उदाहरणका लागि, जवान मानिसहरूलाई तिनीहरूको ज्यान अथवा हात-खुट्टा नै खतरामा पर्ने गरी खेल कुदमा भाग लिन दिनु कति मूर्ख कुरा हुनेछ! (१ तिमोथी ४:८) यसकारण, सकेसम्म, बरू परिवारको प्रत्यक सदस्यले भाग लिन सक्ने किसिमको मनोरञ्जन छान्नु होस्। घरको बाबुले सबैको राय सल्लाह लिएर, प्रत्यकलाई कुनै न कुनै कुरा तैयार गर्न दिन सक्छन्।
के तपाईं एउटा परिवारको रूपमा, मण्डलीका अरू सदस्यहरूलाई आफ्नो पारिवारिक आनन्दहरूमा भाग लिन बोलाउन सक्नु हुन्छ? मण्डलीका पाको सदस्यहरू अकसर विभिन्न परिवारका कार्यक्रमहरूमा भाग लिन रूचाउँदछन्, विशेषगरी जब तिनीहरूको आफ्नै परिवार तिनीहरूसँग बसेका हुँदैनन् अथवा तिनका परिवारले मसीही सिद्धान्त अनुसार जीवन बिताएका हुँदैनन्। (याकूब १:२७) धेरै मण्डलीहरूमा, आमा अथवा बाबुमात्र भएका परिवारहरू पनि छन्। ईश्वरतन्त्रीय अधीनता र मसीही सु-व्यवस्थालाई ध्यानमा राख्दै, प्राचीनहरू र अरूहरूले पनि यस प्रकारका परिवारका सदस्यहरूलाई आध्यात्मिक शरण दिन सक्छन्। (यशैया ३२:१) एक जना परिपक्व मसीहीले प्रकट गरेको प्रेमपूर्ण चासोको कारण, धेरै “टुहुरोहरू” पछि गएर सन्तुलित मनोवृतिका साथ आ-आफ्ना परिवारका शिर हुन गएका छन्।—भजन संग्रह ८२:३.
एउटा मसीही परिवारको निर्माण गर्दा परिश्रमको खाँचो छ। तर यहोवाको मदद द्वारा, “छोराहरू ता परमप्रभुले [यहोवाले, न्यु.व] दिनु भएको हक हुन्। हेर गर्भको फल चाहिं उहाँको इनाम हो” भनेर तपाईंले वास्तवमा मुल्याङ्कन गर्नु हुनेछ। (भजनसंग्रह १२७:१, ३) तिनीहरू आफ्ना मसीही आमा-बाबुका लागि मात्र होइन तर तिनीहरूका सृष्टिकर्ता, यहोवा परमेश्वरका निम्ति पनि प्रशंसाको स्रोत बन्न सक्नेछन्। (w89 10/1)
[फुटनोट]
a वास्तवमा, प्रथम पदमा उल्लेखित् “निर्माणकर्ताहरू” र तेस्रो पदको “छोराहरू” भन्ने हिब्रू शब्दहरू दुवै, मूल शब्द “निर्माण गर्नुबाट” आएकाछन् जस्तो देखिन्छ। साथै, “बास-स्थान” अथवा “परिवारलाई” सङ्केत गर्दा पनि हिब्रूमा “घर” शब्द प्रयोग हुनु सक्छ। (२ शमूएल ७:११, १६; मिका १:५) यसर्थ, घर बनाउनु र परिवार हुर्काउनु, दुवैको अर्थ सम्बन्धित छन्। दुवै कामका लागि यहोवाको आशिष अत्यावश्यक छ।