अध्याय आठ
‘दुष्ट आत्मिक शक्ति विरुद्ध संघर्ष गर्ने’
१. दुष्ट शक्तिहरूको गतिविधि आज हाम्रोलागि किन विशेष चासोको विषय हो?
धेरै मानिसहरू दुष्ट शक्तिहरू छन् भन्ने कुरालाई हाँसोमा उडाउँछन्। तर यो हाँसोमा उडाउने कुरा होइन। मानिसहरूले पत्याऊन् या नपत्याऊन्, दुष्ट शक्तिहरू अवश्य छन् र तिनीहरूले सबैमाथि दबाब दिने प्रयास गर्छन्। तिनीहरूको दबाबबाट यहोवाका उपासकहरू पनि मुक्त छैनन्। वास्तवमा भन्ने हो भने, तिनीहरू त्यसको प्रमुख तारो भएका छन्। यही तथ्यबारे सजग गराउँदै प्रेरित पावलले यसो भने: “हाम्रो यो लड़न्त मानिसहरूका विरुद्धमा होइन, तर [अदृश्य] प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) अहिले जस्तो दुष्ट आत्मिक शक्तिले पहिले कहिल्यै दबाब दिएको थिएन किनभने शैतान स्वर्गबाट तल फ्याँकिएको छ र त्यो आफ्नो समय अल्प भएको थाह पाएर रिसले चूर भएको छ।—प्रकाश १२:१२.
२. अलौकिक शक्तिहरू विरुद्ध कसरी विजयी हुन सकिन्छ?
२ के अलौकिक आत्मिक प्राणीहरू विरुद्ध विजयी हुन सकिन्छ? सकिन्छ। तर यहोवामा पूर्ण भरोसा राख्नुपर्छ। हामीले उहाँको कुरा सुन्नुपर्छ र उहाँको वचन पालन गर्नुपर्छ। यसो गरेको खण्डमा शैतानको नियन्त्रणमा पर्नेहरूले जस्तो हामीले शारीरिक, नैतिक तथा भावनात्मक क्षति भोग्नुपर्नेछैन।—याकूब ४:७.
स्वर्गीय स्थानमा संसारका शासकहरू
३. शैतानले क्रूर भई कसको विरोध गर्छ अनि कसरी?
३ यहोवाले स्वर्गमा आफ्नो स्थानबाट विश्व परिस्थिति जस्तो देख्नुहुन्छ, त्यसरी नै जीवन्त ढंगमा वर्णन गर्नुहुन्छ। उहाँले प्रेरित यूहन्नालाई दिनुभएको दर्शनमा शैतानलाई “ठूलो रातो अजींगरजस्तो पशु” भनी चित्रण गरिएको छ। सन् १९१४ मा परमेश्वरको मसीही राज्य स्वर्गमा स्थापित हुने बित्तिकै त्यसलाई निल्न शैतान सुरिएको थियो। तर आफ्नो प्रयासमा विफल भएपछि शैतानले त्यस राज्यका पार्थिव प्रतिनिधिहरूमाथि एकपछि अर्को क्रूर सतावट थोपर्न थाल्यो। (प्रकाश १२:३, ४, १३, १७) शैतानले यो युद्ध कसरी लड्नेछ? त्यसका आफ्नै पार्थिव प्रतिनिधिहरूद्वारा।
४. मानव सरकारको शक्तिको स्रोत को हो र यो हामी कसरी थाह पाउँछौं?
४ त्यसपछि यूहन्नालाई “सबै कुल, मानिसहरू, भाषाहरू र जातिहरूमाथि” अख्तियार हुने सातवटा शिर र दसवटा सीङ भएको जनावर देखाइयो। त्यो जनावरले संसारभरिको राजनैतिक व्यवस्थालाई चित्रण गर्छ। यूहन्नालाई बताइएअनुसार “त्यस अजींगरजस्तै पशु [शैतान अर्थात् दियाबलले] त्यसलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार दियो।” (प्रकाश १३:१, २, ७) मानव सरकारहरूको शक्ति र अख्तियारको स्रोत शैतान हो। तसर्थ, प्रेरित पावलले लेखेझैं वास्तवमा “विश्व शासकहरू” भनेको मानव सरकारहरूलाई नियन्त्रणमा राख्ने “स्वर्गीय स्थानमा दुष्ट्याइँका आत्मिक सेनाहरू” हुन्। यहोवाको सेवा गर्न चाहने सबैले यसको अर्थ राम्ररी बुझ्नु आवश्यक छ।—लूका ४:५, ६.
५. अहिले राजनैतिक शासकहरू केको लागि जम्मा गरिंदैछन्?
५ थुप्रै राजनैतिक शासकहरूले आफू धर्मपरायण भएको दाबी गरे तापनि कुनै पनि राष्ट्र यहोवाको शासन वा उहाँले नियुक्त गर्नुभएको राजा, येशू ख्रीष्टको अधीनमा बस्दैन। सबैले आफ्नै शक्ति जोगाउन मात्र संघर्ष गर्छन्। प्रकाशको पुस्तकले देखाएझैं अहिले “भूतहरूका आत्मा[ले]” “ठूलो दिनको लडाइँको निम्ति” आरमागेडोनमा सबै विश्व शासकहरू जम्मा गरिरहेको छ।—प्रकाश १६:१३, १४, १६; १९:१७-१९.
६. बहकाउमा परेर शैतानको रीतिरिवाजलाई समर्थन नगर्न कस्तो सतर्कता अपनाउनुपर्छ?
६ मानव परिवारलाई विभक्त गर्ने राजनैतिक, सामाजिक, आर्थिक र धार्मिक विवादहरूले मानिसहरूको जीवनलाई दिनहुँ असर गरिरहेका हुन्छन्। यस्ता विवादहरूमा मानिसहरूले आफ्नो वचन वा व्यवहारद्वारा कुनै एउटाको पक्ष लिनु स्वाभाविकै हो, चाहे त्यो आफ्नो राष्ट्र, जाति, भाषा समूह वा सामाजिक वर्ग नै किन नहोस्। मानिसहरू कुनै विवादमा प्रत्यक्षतः नमुछिए तापनि तिनीहरूले एउटा न एउटा पक्षलाई साथ दिइरहेका हुन्छन्। तर तिनीहरूले समर्थन गर्ने व्यक्ति वा कार्य जेसुकै भए तापनि तिनीहरूले वास्तवमा कसलाई समर्थन गरिरहेका हुन्छन्? बाइबलले स्पष्टसित यसो भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) त्यसोभए, बाँकी मानवजातिसँगसँगै नबहकिन मानिसहरूले के गर्न सक्छन्? परमेश्वरको राज्यलाई पूर्ण समर्थन दिनुका साथै संसारका विवादहरूमा तटस्थ रहन सक्छन्।—यूहन्ना १७:१५, १६.
दुष्टका धूर्त चालहरू
७. शैतानको धूर्तता झूटो धर्ममा कसरी झल्कन्छ?
७ इतिहासलाई केलाएर हेर्दा शैतानले मानिसहरूलाई साँचो उपासनाबाट बहकाउन मौखिक र शारीरिक सतावट दिएको छ। त्यसले अझ धूर्त र छट्टू चालहरू पनि अपनाएको छ। त्यसले अधिकांश मानिसजातिलाई झूटा धर्मद्वारा अन्धकारमा राखेर परमेश्वरकै सेवा गरिरहेको त हो नि भन्ने सोच्न लगाउँछ। परमेश्वरको सही ज्ञान र सत्यप्रति प्रेमको अभावले गर्दा तिनीहरू रहस्यमय तथा भावनात्मक धार्मिक कर्महरूतिर आकर्षित हुन्छन् वा आश्चर्यकामहरूबाट प्रभावित हुन्छन्। (२ थिस्सलोनिकी २:९, १०) कुनै समय साँचो उपासनामा सहभागी भएकाहरूसमेत “आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्” भनी हामीलाई चेतावनी दिइएको छ। (१ तिमोथी ४:१) त्यो कसरी हुन सक्छ?
८. हामीले यहोवाको उपासना गरिरहेको भए तापनि शैतानले कसरी झूटो धर्ममा लोभ्याउन सक्छ?
८ दियाबलले एकदमै धूर्त भएर हाम्रा कमजोरीहरूको नाजायज फाइदा उठाउँछ। के हामीलाई अझै मानिसको डरले पिरोलिरहेको छ? त्यसो हो भने, हामी झूटो धर्ममा आधारित प्रचलनहरूमा भाग लिन नातेदार वा छिमेकीहरूको दबाबमा पर्न सक्छौं। के हामी घमण्डी छौं? त्यसो हो भने, कसैले सल्लाह दिंदा वा हाम्रो कुरामा अरूले समर्थन नजनाउँदा रिसाउँछौं होला। (हितोपदेश १५:१०; २९:२५; १ तिमोथी ६:३, ४) ख्रीष्टको उदाहरणअनुसार चल्न आफ्नो दृष्टिकोणमा छाँटकाँट नगरी बरु बाइबल पढ्नु र राम्रो जीवन बिताउनु मात्र पर्याप्त छ भन्नेहरूको कुरा सुन्न ‘कान उत्सुक बनाउँछौं’ होला। (२ तिमोथी ४:३) परमेश्वरले आफ्नो वचन र संगठनमार्फत निर्देशन दिनुहुने तरिकामा हामीले उपासना गरेका छैनौं भने, हामी अर्को धार्मिक समूहमा सामेल होऔं वा आफ्नै धर्ममा लागिरहौं, त्यसको शैतानलाई कुनै मतलब छैन।
९. शैतानले आफ्नो उद्देश्य पूरा गर्न यौनलाई कसरी धूर्त तरिकामा चलाउँछ?
९ शैतानले धूर्ततापूर्वक स्वाभाविक इच्छाहरू पनि गलत ढंगमा तृप्त गर्न मानिसहरूलाई लोभ्याउन सक्छ। त्यसले यौन सम्बन्ध राख्ने इच्छालाई पनि यस्तै गरेको छ। बाइबल नैतिकतालाई तिरस्कार गरेर संसारमा थुप्रैले अविवाहितहरूबीच यौन सम्बन्ध राख्नु वैध हो वा आफू वयस्क भएको प्रमाणित गर्ने तरिका हो भन्ने सोचाइ राख्छन्। अनि विवाहितहरू नि? थुप्रैले व्यभिचार गर्छन्। अनि वैवाहिक सम्बन्धमा अवफादारी नभए तापनि थुप्रै व्यक्तिहरूले अरू कसैसित बस्न सम्बन्धविच्छेद गर्ने वा अलग्गै छुट्टिएर बस्ने गर्छन्। शैतानले धूर्त तरिका अपनाएर मानिसहरूलाई अहिलेको लागि मात्र बाँच्न उक्साउँछ अनि यसले आफू तथा अरूमा पार्ने दीर्घकालीन असर र अझ विशेष गरी यहोवा र उहाँको पुत्रसितको सम्बन्धमा पार्ने असरको बेवास्ता गर्न लगाउँछ।—१ कोरिन्थी ६:९, १०; गलाती ६:७, ८.
१०. शैतानले कस्तो तरिका अपनाएर हामीलाई अनैतिकता तथा हिंसाप्रति आकर्षित गर्न खोज्छ?
१० अर्को स्वाभाविक इच्छा, मनोरञ्जन हो। मनोरञ्जन स्वास्थ्यकर छ भने यसले शारीरिक, मानसिक तथा भावनात्मक तवरमा स्फूर्ति प्रदान गर्छ। तर शैतानले मनोरञ्जनलाई चलाएर परमेश्वरको सोचाइबाट तर्काउने प्रयास गर्दा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? उदाहरणका लागि, हामीलाई थाह छ, यहोवाले यौन अनैतिकता र हिंसालाई घृणा गर्नुहुन्छ। चलचित्र, टेलिभिजन कार्यक्रम वा रंगमञ्चमा ती कुराहरू प्रदर्शन गरिंदा के हामी मूक दर्शक भएर हेरिरहन्छौं? यो कुरा पनि नबिर्सनुहोस्, शैतानले आफू अगाध खाँदमा फ्याँकिने समय नजिकिंदै जाँदा यी कुराहरूलाई झन् झन् पतित बनाउँदै लैजानेछ किनभने “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।” (२ तिमोथी ३:१३; प्रकाश २०:१-३) त्यसकारण हामी शैतानका युक्तिहरूदेखि सधैं होसियार हुनुपर्छ।—उत्पत्ति ६:१३; भजन ११:५; रोमी १:२४-३२.
११. प्रेतवादबारे सत्य कुरा थाह पाएको व्यक्ति पनि होसियार भएन भने कसरी पासोमा पर्न सक्छ?
११ भावी बताउने, टुनामुना गर्ने वा मरेकाहरूसित कुराकानी गर्ने सबै प्रकारका प्रेतवादलाई यहोवाले घृणा गर्नुहुन्छ भनेर पनि हामीलाई थाह छ। (व्यवस्था १८:१०-१२) यो कुरालाई ध्यान राख्दा हामी दुष्ट आत्मिक माध्यमहरूसित सरसल्लाह लिने सोचाइसमेत राख्दैनौं अनि त्यस्ता पैशाचिक कार्य गर्नेहरूलाई हाम्रो घरभित्र प्रवेश गर्न दिनेछैनौं। तर तिनीहरू हाम्रो टेलिभिजन वा इन्टरनेटमा देखा परे भने, के तिनीहरूको कुरा सुन्नेछौं? हामी झाँक्रीबाट उपचार कहिल्यै नस्वीकारौंला तर हाम्रो नवजात शिशुलाई हानिबाट जोगाउन जन्तर लगाइदिन्छौं? अरूलाई मोहिनी लगाउनु गलत हो भनेर बाइबलले बताउँछ भनी थाह पाउँदा पाउँदै के हामी आफ्नो मनलाई सम्मोहकको वशमा पर्न दिन्छौं?—गलाती ५:१९-२१.
१२. (क) गलत हुन् भनी आफूलाई थाह भएका कुराहरूमा समेत संगीतले हामीलाई कसरी फसाउन सक्छ? (ख) यहोवाले अनुमोदन नगर्नुहुने मानिसहरूको अनुकरण गरिरहेका छौं भन्ने कुरा हाम्रो पहिरन, कोरीबाटी वा बोलीचालीले कसरी देखाउन सक्छ? (ग) शैतानका धूर्त युक्तिहरूको सिकार नहुन हामीले के गर्नुपर्छ?
१२ बाइबलले हाम्रो माझमा व्यभिचार र कुनै पनि प्रकारको अशुद्धताको नाउँसमेत (अशुद्ध मनसाय राखेर) लिनु हुँदैन भनेर बताउँछ। (एफिसी ५:३-५) तर त्यस्ता विषयहरूलाई रमाइलो धून, गुनगुनाउँ लाग्ने लय वा एकनासे ताल भएको संगीतसित मिसाइएको छ भने नि? के हामी विवाह नगरी यौनसम्बन्ध राख्ने, मन बहलाउन लागूपदार्थको प्रयोग गर्ने र अन्य पापपूर्ण कार्यहरूको गुनगान गर्ने गीत गुनगुनाउँछौं? अथवा त्यस्ता कुराहरूमा लाग्ने मानिसहरूको जीवन शैली अनुकरण गर्नुहुँदैन भनेर थाह हुँदाहुँदै के हामी तिनीहरूको पहिरन, कोरीबाटी र बोलीचाली अनुकरण गरेर तिनीहरूजस्तै हुन खोज्छौं? शैतानले त्यसको भ्रष्ट मार्ग अपनाउन मानिसहरूलाई लोभ्याउने तरिका कस्तो धूर्त छ! (२ कोरिन्थी ४:३, ४) त्यसका धूर्त युक्तिहरूको सिकार नहुन हामी यस संसारसँगसँगै बहकिनु हुँदैन। हामीले “अन्धकारका सांसारिक शासकहरू” को हुन् भनेर बिर्सनु हुँदैन र तिनीहरू विरुद्ध कडा संघर्ष गर्नुपर्छ।—एफिसी ६:१२; १ पत्रुस ५:८.
विजयी हुन सुसज्जित
१३. हामी आफ्नो असिद्धताको बावजुद शैतानले शासन गर्ने संसारमाथि कसरी विजयी हुन सक्छौं?
१३ आफ्नो मृत्युअघि येशूले चेलाहरूलाई यसो भन्नुभयो: “ढाडस गर, मैले संसारलाई जितेको छु।” (यूहन्ना १६:३३) तिनीहरू पनि विजयी हुन सक्थे। लगभग ६० वर्षपछि प्रेरित यूहन्नाले यस्तो लेखे: “येशूनै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि विजयी हुने अरू को हो र?” (१ यूहन्ना ५:५) येशूको आज्ञा पालन गर्नुका साथै परमेश्वरको वचनमा भर परेर हामी येशूले जस्तै गर्न सक्छौं। अरू के गर्नु आवश्यक छ? हामी मण्डलीसित घनिष्ठ हुनुपर्छ, जसको शिर येशू हुनुहुन्छ। हामीले कुनै गल्ती गर्दा साँचो पश्चात्ताप गरेर येशूको बलिदानको आधारमा परमेश्वरबाट क्षमा माग्नुपर्छ। यसरी हामी आफ्नो असिद्धता तथा गल्तीको बावजुद विजयी हुन सक्छौं।—भजन १३०:३, ४.
१४. प्रत्येक आत्मिक हतियारका लाभबारे छलफल गर्न एफिसी ६:१३-१७ पढ्नुहोस् अनि अनुच्छेदमा दिइएका प्रश्न तथा शास्त्रपद प्रयोग गर्नुहोस्।
१४ सफल हुन हामीले “सारा हात-हतियार” धारण गर्नुपर्छ, कुनैलाई पनि बेवास्ता गर्नुहुँदैन। कृपया आफ्नो बाइबलमा एफिसी ६:१३-१७ पल्टाउनुहोस् अनि ती हतियारहरूबारे विवरण पढ्नुहोस्। अनि तल दिइएका प्रश्नहरूको जवाफ दिनुभएर प्रत्येक हतियारले कसरी सुरक्षा प्रदान गर्छ, विचार गर्नुहोस्।
“कम्मर सत्यताले कसेर”
हामीलाई सत्य के हो भनेर थाह भए तापनि नियमित अध्ययन, बाइबल सच्चाइमा मनन तथा सभामा उपस्थितिले हामीलाई कसरी सुरक्षा प्रदान गर्छ? (१ कोरिन्थी १०:१२, १३; २ कोरिन्थी १३:५; फिलिप्पी ४:८, ९)
“धार्मिकताको छाती-पाता”
यो कसको धार्मिकताको स्तर हो? (प्रकाश १५:३)
यहोवाको धार्मिक स्तर नपछ्याउँदा कसरी आध्यात्मिक नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ? बुझाउनुहोस्। (व्यवस्था ७:३, ४; १ शमूएल १५:२२, २३)
“खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता”
शान्तिको लागि परमेश्वरको प्रबन्धबारे मानिसहरूलाई बताउने काममा आफूलाई व्यस्त राख्नु कसरी हाम्रोलागि सुरक्षा हो? (भजन ७३:२, ३; रोमी १०:१५; १ तिमोथी ५:१३)
“विश्वासको ढाल”
हामीसित बलियो जरा गाडेको विश्वास छ भने शंका वा डर उत्पन्न हुन सक्ने अवसरहरूमा हामीले कस्तो प्रतिक्रिया देखाउनेछौं? (२ राजा ६:१५-१७; २ तिमोथी १:१२)
“मुक्तिको टोप”
मुक्तिको टोपले भौतिक सरसम्पत्तिमा अचाक्ली चिन्तित हुने पासोमा पर्नदेखि कसरी जोगाउँछ? (१ तिमोथी ६:७-१०, १९)
“आत्माको तरवार”
हाम्रो वा अरूको आध्यात्मिकतामाथि आक्रमण हुँदा प्रतिरोध गर्न हामी सधैं केमा निर्भर हुनुपर्छ? (भजन ११९:९८; हितोपदेश ३:५, ६; मत्ती ४:३, ४)
आध्यात्मिक युद्धमा विजयी हुन अर्को कुन कुरा अत्यावश्यक छ? हामीले यो कति धेरै प्रयोग गर्नुपर्छ? कसको खातिर चलाउनुपर्छ? (एफिसी ६:१८, १९)
१५. आत्मिक युद्धमा हामी कसरी ठोस कदम चाल्न सक्छौं?
१५ ख्रीष्टका सिपाहीहरूको हैसियतमा हामी आत्मिक युद्धमा संलग्न विशाल सेनाका भाग हौं। हामी सजग रहेर परमेश्वरले दिनुभएको हात-हतियारको पूर्ण सदुपयोग गऱ्यौं भने हामी यो युद्धमा ज्यान गुमाउनेहरूमध्येका हुनेछैनौं। बरु, हामी परमेश्वरका सँगी दासहरूको लागि बल साबित हुनेछौं। शैतानले स्वर्गीय सरकार अर्थात् परमेश्वरको मसीही राज्यको अत्यन्तै विरोध गरे तापनि हामी त्यस राज्यको सुसमाचार फैलाउने काममा भाग लिन उत्सुक र तत्पर हुनेछौं।
पुनरावृत्ति छलफल
• संसारका विवादहरूमा यहोवाका उपासकहरू किन पूर्ण रूपमा तटस्थ रहन्छन्?
• मसीहीहरूको आध्यात्मिक पतन गराउन शैतानले चलाउने केही धूर्त युक्तिहरू के-के हुन्?
• परमेश्वरले दिनुभएको आत्मिक हतियारले कसरी आत्मिक युद्धमा हाम्रो सुरक्षा गर्छ?
[पृष्ठ ७६-मा भएको चित्र]
सबै राष्ट्रहरू आर-मागेडोनमा जम्मा हुँदैछन्