हृदयदेखि क्षमा गर्नुहोस्
“तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।”—मत्ती १८:३५, नयाँ संशोधित संकरण।
१, २. (क) एक कुख्यात पापीनीले येशूप्रति आफ्नो मूल्यांकन कसरी प्रकट गरिन्? (ख) प्रत्युत्तरमा येशूले के कुरालाई औंल्याउनुभयो?
सायद उनी वेश्या थिइन्, उनी धर्मी मानिसको घरमा होलिन् भनेर कल्पनासमेत गर्न सकिंदैन। उनलाई त्यहाँ देखेर कोही स्तब्ध भए भने उनले त्यहाँ गरेको काम देखेर झनै स्तब्ध हुनेथिए। उनी एक अत्यन्तै चरित्रवान् व्यक्ति छेउ जान्छिन् र तिनको पाउ आफ्नो आँसुले भिजाई कपालले पुच्छ्न थाल्छिन्। उनी त्यस अत्यन्तै चरित्रवान् व्यक्तिले गरेका कामहरूप्रति मूल्यांकन जाहेर गर्छिन्।
२ “शहरको एउटी पापी” भनेर चिनिएकी त्यस आइमाईलाई उक्त चरित्रवान् पुरुष येशूले हप्काउनु भएन। तर त्यस घरका मालिक फरिसी शिमोनले त्यस स्त्रीलाई पापीनी ठहराउन खोजे। यसको प्रत्युत्तरमा येशूले ऋणमा डुबेका दुई मानिसहरूबारे बताउनुभयो। एक जनाले धेरै अर्थात् मजदुरी गर्ने एक व्यक्तिले दुई वर्षमा कमाउने जत्ति रकम ऋण लिएको थियो। अर्कोचाहिंले यसको दसौं भाग मात्र अर्थात् तीन महिनाको ज्यालाभन्दा कम रकम ऋण लिएको रहेछ। दुवैले ऋण तिर्न नसक्दा साहूले “दुवैलाई माफी दिए।” कुरा सफा छ, बढ्ता माफी पाउनेसित बढी प्रेम गर्ने कारण छ। यस कुरासित त्यस आइमाईको दयालु कार्यलाई मिलान गरिसकेपछि येशूले यो सिद्धान्त पेश गर्नुभयो: “जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरैनै प्रेम गर्दछ।” त्यसपछि उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रा पाप क्षमा भएका छन्।”—लूका ७:३६-४८.
३. हामीले आफूबारे के विचार गर्नु आवश्यक छ?
३ आफैलाई सोध्नुहोस्, ‘म त्यस आइमाईको ठाउँमा भएको भए वा म त्यस्तै अवस्थामा परेको भए र कसैले मप्रति दया देखाएको भए, म के गर्थें? के म कठोर हुँदै अरूको भूल क्षमा गर्न एकदम इन्कार गर्थें? तपाईं ‘अहँ! कदापि त्यसो गर्ने थिइनँ’ भन्नुहुन्छ होला। तर फेरि एकछिन सोच्नुहोस्, के तपाईंलाई आफू साँच्चै क्षमाशील छु जस्तो लाग्छ? के यो तपाईंको स्वाभाविक गुण हो? के तपाईं अक्सर सजिलै क्षमा दिनुहुन्छ र के तपाईंलाई अरूले पनि क्षमा दिने व्यक्तिको रूपमा मानेको छ? आउनुहोस्, हामी प्रत्येकले किन यस क्षेत्रमा निष्कपट भई आत्मपरीक्षण गर्नुपर्ने हो, पत्ता लगाऔं।
क्षमा गर्नु आवश्यक छ —र हामीलाई क्षमा गरिएको छ
४. हामीले आफूबारे कुन तथ्यलाई स्वीकार्नुपर्छ?
४ तपाईं असिद्ध हुनुहुन्छ र यो कुरा तपाईंलाई राम्ररी थाह छ। कसैले सोध्यो भने सायद तपाईं “हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन” भन्ने १ यूहन्ना १:८ का शब्दहरू सम्झँदै जवाफ दिनुहुन्छ होला। (रोमी ३:२३; ५:१२) कसै कसैको पापकर्म जघन्य र आपत्तिजनक पापी कार्यहरूद्वारा देखिएका होलान्। तर तपाईं यस किसिमले दोषी देखा नपर्नु भएको भए तापनि परमेश्वरको स्तरबाट खस्कनुभएको वा पाप गर्नु भएका कैयन् क्षणहरू पक्कै छन् होलान्, हैन त?
५. हामी के कुराको निम्ति परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ?
५ तसर्थ, तपाईंको अवस्था प्रेरित पावलले वर्णन गरेजस्तै होला: “तिमीहरू आफ्ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै [येशूसँगै] जीवित पार्नुभयो।” (कलस्सी २:१३, नयाँ संशोधित संस्करण; एफिसी २:१-३) “हाम्रा सबै अपराध क्षमा गरिदिएर” भन्ने वाक्यांशलाई ध्यान दिनुहोस्। यसैमा थुप्रै कुरा समावेश छन्। वास्तवमा दाऊदले गरेजस्तै बिन्ती गर्ने हामी सबैसित पर्याप्त कारण छ: “हे परमप्रभु, तपाईंको नाउँको खातिर, मेरो अधर्म क्षमा गर्नुहोस्, किनकि त्यो ठूलो छ।”—भजन २५:११.
६. यहोवा अनि क्षमाको सम्बन्धमा हामी कुन कुरामा पक्का हुनसक्छौं?
६ तपाईंले वा हामीमध्ये कसैले क्षमा पाउनसक्छ र? सक्छ, किनकि यहोवा परमेश्वर क्षमा गर्न हरदम तयार हुनुहुन्छ। यो उहाँको व्यक्तित्वको अभिन्न अंग हो। (प्रस्थान ३४:६, ७; भजन ८६:५) त्यसो हो भने, अवश्य परमेश्वर हामीले उहाँलाई प्रार्थना गरेर माफ मागेको, क्षमा मागेको चाहनुहुन्छ। (२ इतिहास ६:२१; भजन १०३:३, १०, १४) यस्तो क्षमा दिन उहाँले कानुनी आधारको प्रबन्ध पनि गर्नुभएको छ र त्यो हो, येशूको छुटकाराको बलिदान।—रोमी ३:२४; १ पत्रुस १:१८, १९; १ यूहन्ना ४:९, १४.
७. तपाईं कुन तरिकामा यहोवाको अनुकरण गर्न चाहनुहुन्छ?
७ अरू मानवसित हामीले गर्नुपर्ने व्यवहारको नमुना परमेश्वरले प्रकट गर्नुभएको क्षमा गर्ने यस किसिमको इच्छुकतामा देख्नसक्छौं। यही कुरालाई जोड दिंदै पावलले लेखे: “जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफिसी ४:३२) यहाँ पावलले परमेश्वरको उदाहरण हेरेर हामीले सिक्नुपर्छ भन्न खोजेका हुन् भनेर सायद भनिरहनु नपर्ला। किनकि यसपछिको पदले यसो भन्छ: “यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।” (एफिसी ५:१) के तपाईंले यहाँ कुरा बुझ्नुभयो? यहोवाले तपाईंलाई क्षमा गर्नुभयो, त्यसकारण पावलले तर्क गरेझैं तपाईंले उहाँको अनुकरण गर्नुपर्छ र अरूप्रति “कोमल मनको र दयालु” हुनुपर्छ। तर आफैलाई सोध्नुहोस्, ‘के म त्यसै गरिरहेको छु? यस्तो स्वभाव छैन भने के म क्षमाशील हुने सम्बन्धमा परमेश्वरको अनुकरण गर्न अथक प्रयास गरिरहेको छु?’
क्षमा दिने प्रयास गर्नु आवश्यक छ
८. हाम्रो मण्डली कसरी बनेको छ भनेर हामीले बुझ्नुपर्छ?
८ मसीही मण्डलीमा क्षमाको ईश्वरीय मार्ग पछ्याउनुपर्ने अवस्था कहिलेकाहीं मात्र आउँछ भनेर हामीले सोचेजस्तै भए राम्रै हुन्थ्यो। तर वास्तविकता अर्कै छ। हो, हाम्रा मसीही भाइबहिनीहरूले येशूले देखाउनु भएको प्रेमको अनुकरण गर्ने अथक प्रयास गरिरहेका छन्। (यूहन्ना १३:३५; १५:१२, १३; गलाती ६:२) तिनीहरूले यस दुष्ट संसारको जस्तै सोचाइ, बोली अनि काम त्याग्ने प्रयास गरिरहेको निकै भइसक्यो र अझै प्रयास गर्दैछन्। तिनीहरू साँच्चै नयाँ व्यक्तित्व प्रकट गर्न चाहन्छन्। (कलस्सी ३:९, १०) यद्यपि, विश्वव्यापी मण्डली तथा प्रत्येक स्थानीय मण्डली असिद्ध मानवहरू मिलेर बनेको छ भन्ने वास्तविकतालाई हामी नकार्न सक्दैनौं। समष्टिगत तवरमा भन्ने हो भने, तिनीहरू पहिलेभन्दा त पक्कै पनि बेस भइसकेका छन्, यद्यपि तिनीहरू अझै असिद्धै छन्।
९, १०. भाइहरूबीच समस्या खडा हुँदा हामी किन छक्क पर्नु पर्दैन?
९ मण्डलीमा, हाम्रा भाइबहिनीहरूमाझ सिद्धताको आशा गर्नु हुँदैन भनेर बाइबलमा परमेश्वरले किटेरै उल्लेख गर्नुभएको छ। उदाहरणका लागि, कलस्सी ३:१३ मा पावलका यी शब्दहरूलाई विचार गर्नुहोस्: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”
१० उल्लेखनीय कुरा के छ भने, बाइबलको यस पदमा पनि परमेश्वरले हामीलाई गर्नुभएको क्षमा र हामीले अरूलाई क्षमा गर्नैपर्ने आवश्यकता र कर्तव्यबीचको सम्बन्ध सम्झाउन खोजिएको छ। तर त्यसो गर्नु चुनौतीपूर्ण किन छ? किनकि ‘कुनै मानिसको विरुद्धमा केही दोष दिने कारण’ हुनसक्छ भनेर पावलले स्वीकारे। यस्तो अवस्था उत्पन्न हुनसक्छ भनेर तिनले बुझेका थिए। प्रथम शताब्दीमा “स्वर्गमा राखिएको आशा” भएका “पवित्र जनहरू[बीच]” पनि त्यसै भएको हुनुपर्छ। (कलस्सी १:२; ५, नयाँ संशोधित संस्करण) त्यसोभए “परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय” भनी आत्माबाट साक्षी नपाएका साँचो मसीहीहरू धेरै भएको समयमा चाहिं कुरा अर्कै होला त? (कलस्सी ३:१२) यसर्थ, हाम्रो मण्डलीमा दोष दिने कारणहरू छन् अर्थात् वास्तविक वा अनुमानित गल्तीहरूका कारण भाइबहिनीहरूको चित्त दुखेको छ भने, त्यतिबेला पक्कै पनि केही खराबी छ भन्ने निष्कर्षमा हामी पुग्नु हुँदैन।
११. चेला याकूबले हामीलाई केदेखि सतर्क गराए?
११ येशूका सौतेनी भाइ याकूबका शब्दहरूले पनि हाम्रा भाइहरूलाई क्षमा दिनुपर्ने अवस्थाहरू आइपर्नसक्छ भनेर हामीले कमसे कम आशा भए पनि गर्नैपर्छ भनेर देखाउँछ। “तिमीहरूमा ज्ञानी र समझदार जो छ त्यसैले ज्ञानको नम्रतासित आफ्नो काम बढ़िया चाल-चलनबाट देखाओस्। तर यदि तिमीहरूका हृदयमा कठोर इबी र विरोध छ भने घमण्ड नगर, र सत्यको विरुद्धमा झूट नबोल।” (याकूब ३:१३, १४) मसीहीहरूको हृदयमा “कठोर इबी र विरोध”? हो, यस्तो परिस्थिति प्रथम शताब्दीका मण्डलीहरूमा सृजिएको थियो र आज पनि सृजनसक्छ भनेर याकूबका शब्दहरूले स्पष्टै देखाउँछन्।
१२. पुरातन फिलिप्पी मण्डलीमा कस्तो समस्या उत्पन्न भयो?
१२ यस सम्बन्धमा पावलसँगसँगै काँधमा काँध मिलाएर हिंड्ने दुई अभिषिक्त मसीहीहरूको वास्तविक घटना छ। फिलिप्पी मण्डलीका इयोदिया र सिन्तकेबारे पढ्नु भएको विवरण तपाईंलाई यादै होला। विस्तृत जानकारी नदिए तापनि फिलिप्पी ४:२, ३ ले तिनीहरूबीच केही समस्या थियो भनी देखाउँछ। कतै विचारै नगरी प्याच्च भनिएको रूखो टिप्पणी, आफ्नो नातेदार उपेक्षित भएको महसुस हुन गएकोले वा प्रतिस्पर्धात्मक ईर्ष्या देखा परेकोले पो तिनीहरूबीच यस्तो भएको त हैन? कारण जेसुकै होस्, परिस्थिति यत्तिबिघ्न गम्भीर भयो, त्यहाँबाट निकै टाढा अर्थात् रोममा बसिरहेका पावलले समेत उक्त खबर पाए। सायद यी दुई आध्यात्मिक बहिनीहरूबीच बोलचाल ठप्पै बन्द भयो होला, सभाहरूमा एकअर्कालाई छलेर हिंड्ने वा साथीहरूसित एकअर्काबारे रूखो टिप्पणीहरूसमेत गर्ने गरे होलान्।
१३. इयोदिया र सिन्तकेले समस्या कसरी सुल्झाएका हुनसक्छन् र यसबाट हामी के पाठ सिक्नसक्छौं?
१३ के तपाईंलाई यीमध्ये कुनै अवस्था मण्डलीमा कसैले भोगेजस्तो वा आफैले नै भोग्नुपरेको जस्तो लाग्यो? यस्तो समस्या आज पनि यदाकदा देखा पर्नसक्छ। हामी के गर्नसक्छौं? प्रथम शताब्दीको कुरा गर्ने हो भने, पावलले त्यतिबेला ती दुई समर्पित मसीहीहरूलाई “प्रभुमा एउटै मनका होओ” भनेर आग्रह गरे। आपसी मतभेद सुल्झाउन, एकअर्कालाई राजीखुसीले क्षमा दिन अनि त्यसपछि यहोवाको क्षमावन्त मनोभावको अनुकरण गर्नका लागि तिनीहरू सहमत भएका हुनसक्छन्। इयोदिया र सिन्तके यसमा सफल भएनन् होला भनेर निष्कर्ष निकाल्नुपर्ने कुनै कारण छैन अनि जसरी तिनीहरू सफल भए हामी पनि उसरी नै सफल हुनसक्छौं। यस्तो क्षमा गर्ने मनोवृत्ति आज पनि सफलतासाथ व्यवहारमा उतार्न सकिन्छ।
शान्ति कायम गर्नुहोस्—क्षमा गर्नुहोस्
१४. आपसी मतभेदलाई अक्सर किन बेवास्ता गर्न सकिन्छ र त्यसो गर्नु असल पनि किन छ?
१४ अर्को मसीहीसित तपाईंको कुनै गुनासो छ र तिनलाई क्षमा गर्न चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्ला? स्पष्टै भन्ने हो भने चट्टै समस्या समाधान गरिहाल्न सकिने कुनै सजिलो उपाय छैन। तथापि, बाइबलले मदतकारी तथा व्यवहारिक सल्लाह दिन्छ। पहिलो सुझाउ—जे भयो त्यसलाई चट्ट बिर्सने हो, जुन भन्न सजिलो भएजस्तै गर्न सजिलो त छैन। अक्सर इयोदिया र सिन्तकेबीच भएजस्तो समस्या उत्पन्न हुँदा प्रत्येक व्यक्तिले अर्को व्यक्ति नै गलत वा दोषी ठान्नसक्छ। यस्तो अवस्थामा तपाईंलाई पनि अर्को मसीही नै दोषी छ वा सबैभन्दा धेरै हानि उसकै कारणले भएको हो जस्तो लाग्नसक्छ। तथापि, के तपाईं तिनलाई क्षमा गरेर त्यो कुरालाई त्यहीं टुंग्याउनसक्नुहुन्छ? एउटा कुराचाहिं याद रहोस्, यदि अर्को पक्ष मुख्यतः वा पूरै दोषी छ भने, जुन प्रायः नहुन पनि सक्छ, त्यस अवस्थामा क्षमा गर्ने अनि जे भयो त्यसलाई पूरै बिर्सने जिम्मेवारी तपाईंकै काँधमा पर्न आउँछ।
१५, १६. (क) मीकाले यहोवाको वर्णन कसरी गरे? (ख) परमेश्वरले “अपराध माफ गरिदिनुहुन्छ” भन्नुको अर्थ के हो?
१५ क्षमा गर्ने सम्बन्धमा परमेश्वरले बसाल्नुभएको उदाहरणलाई कहिल्यै मनबाट ओझेल हुन नदेऔं। (एफिसी ४:३२–५:१) यहोवा हाम्रा गल्तीहरूलाई सम्झिराख्नुहुन्न भन्ने प्रस्ट पार्दै अगमवक्ता मीकाले लेखे: “तपाईंजस्तो परमेश्वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्छ, र आफ्नो निज उत्तराधिकारीका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ? तपाईं सधैंसम्म रीस गर्नुहुन्न, तर कृपा गर्नमा खुशी हुनुहुन्छ।”—मीका ७:१८.
१६ यहोवालाई “अपराध माफ गरिदिनुहु[ने]” भनी वर्णन गर्दा बाइबलले मानौं बिर्सने रोग लागेको मानिसजस्तै उहाँ गल्तीहरू सम्झनै सक्नुहुन्न भन्न खोजेको होइन। शिमशोन र दाऊदलाई विचार गर्नुहोस्, तिनीहरू दुवैले गम्भीर गल्तीहरू गरेका थिए। निकै समय बितिसक्दा पनि ती गल्तीहरू परमेश्वरले सम्झिरहनु भएको थियो। यहाँसम्म कि, यहोवाले बाइबलमा ती कुराहरू लिपिबद्ध गराउनुभएकोले हामीलाई समेत तिनीहरूले गरेका गल्तीहरूको सम्झना छ। तैपनि हाम्रा क्षमावन्त परमेश्वरले तिनीहरू दुवैलाई दया देखाउनुभयो र यसलाई हामीले अनुकरण गर्नुपर्ने विश्वासको नमुनाको रूपमा प्रस्तुत गर्नुभयो।—हिब्रू ११:३२; १२:१.
१७. (क) अरूले गल्ती गर्दा वा होच्याउँदा त्यसलाई बिर्सन कुन कुराले हामीलाई मदत गर्नसक्छ? (ख) हामीले त्यसो गर्ने प्रयास गऱ्यौं भने, कसरी यहोवाको अनुकरण गरिरहेका हुनेछौं? (पादटिप्पणी हेर्नुहोस्।)
१७ हो, यहोवा अपराध “माफ गरिदिनुहुन्छ”a त्यसैकारण दाऊदले दोहऱ्याई तेहऱ्याई परमेश्वरसित माफ मागे। (२ शमूएल १२:१३; २४:१०) हाम्रा सँगी मानवहरूले असिद्धताको कारण उपेक्षा गर्दा वा हामीलाई चिढ्याउँदा त्यसलाई बेवास्ता गर्न इच्छुक भएर के हामी परमेश्वरको अनुकरण गर्नसक्छौं? धावनमार्गमा बेतोडले कुदिरहेको जेट प्लेनमा बसिरहेको कल्पना गर्नुहोस्। यसो बाहिर हेर्दा धावनमार्गमा एक परिचित व्यक्तिले बच्चाले जस्तै जिब्रो निकालेर गिज्याइरहेको अथवा अभद्र व्यवहार गरेको देख्नुभयो। त्यस व्यक्ति तपाईंसित चिढिएको हुनाले तपाईंकै बारेमा सोचिरहेको हुनसक्छ भनेर तपाईंलाई लाग्नसक्छ। अथवा, तिनले त्यसरी सोचिरहेको नहुन पनि सक्छ। जेहोस्, तपाईं चढ्नुभएको हवाईजहाज उँभो उँभो उड्न थालेपछि त्यो व्यक्ति केवल धूलोको कणजत्रो मात्र देखिन थाल्छ। घण्टाभरमै तपाईं सयौं किलोमिटर पर पुगिसक्नुहुन्छ र उक्त व्यक्तिले गरेको अभद्र संकेत उहिलेको कुरा भइसक्छ। त्यसै गरी कसैले हामीलाई चिढ्याउँदा यहोवाले जस्तै त्यसलाई बुद्धिमानीसाथ बिर्सेर धेरै पर राख्यौं भने क्षमा गर्न सजिलो हुनेछ। (हितोपदेश १९:११) आजको दस वर्षभित्र वा हजार वर्षीय राज्य सुरु भएको वर्षको दुई सय वर्षभित्र त्यो उपेक्षा महत्त्वहीन भइसक्नेछैन र? त्यसो भए यसलाई त्यसै बिर्से भइहाल्यो नि?
१८. कसैले होच्याउँदा, उक्त घटना बिर्सन गाह्रो भयो भने कुनचाहिं सल्लाह प्रयोगमा ल्याउनसक्छौं?
१८ तपाईंले बेलाबखत उक्त विषयमा प्रार्थना गर्नुका साथै क्षमा गर्ने प्रयास पनि गर्नुभएको होला तर त्यसो गर्नसक्नु भएन भने के गर्ने? येशूले सम्बन्धित व्यक्तिलाई भेट्ने र शान्ति कायम गर्न यो भिन्नता सुल्झाउने कोसिस गर्ने आग्रह गर्नुभयो। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड़, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।”—मत्ती ५:२३, २४.
१९. हामीले कस्तो मनोवृत्ति राख्नुपर्छ र भाइसित शान्ति कायम गर्न खोज्दा कस्तो मनोवृत्ति राख्नदेखि परै बस्नुपर्छ?
१९ येशूले तिम्रो भाइकहाँ जानु भन्नुहुँदा आफू सही, तिनी गलत भनेर विश्वास दिलाउनका लागि जानु भन्नुभएको थिएन। गल्ती तिनकै होला। अझ हुनसक्छ गल्ती दुवै पक्षबाट भएको होला। तर जे होस्, त्यसरी भेट्न जाँदा अर्को पक्षलाई गल्ती स्वीकार्न लगाउने वा माफी माग्न लगाउने लक्ष्यचाहिं हुनुहुँदैन। यस्तो मनसाय राखेर छलफल गर्नुभयो भने पक्कै पनि असफलता हात लाग्नेछ। नत छलफल गर्नुको उद्देश्य तिनले होच्याएर गरेको वा गरेजस्तो लागेको प्रत्येक व्यवहार तौलनु नै हो। मसीही प्रेमको आत्मा प्रकट गर्दै शान्त स्वभावले छलफल गर्दा समस्याको जरा त कुरा नबुझेर पो पलाएको रहेछ भनेर पत्ता लागेको खण्डमा दुवै मिलेर उक्त समस्या सुल्झाउने कोसिस गर्नुपर्छ। छलफल गर्दा पनि कुनै टुंगो लाग्न सकेन भने नि? के टुंगो लगाउनैपर्छ? तपाईंले कमसे कम एकले अर्कालाई साँच्चै हामीलाई क्षमा दिनुहुने परमेश्वरको सेवा गर्न प्रयास गर्ने व्यक्तिको रूपमा स्वीकार्दा बेस नहोला त? वास्तविकतालाई सामना गर्दा तपाईंहरू दुवैले हृदयदेखि “असिद्धताको कारण हामीबीच यस्तो मतभेद भएकोमा मलाई खेद छ। यसलाई बिर्सिदेऔं” भन्न सजिलो हुनसक्छ।
२०. प्रेरितहरूको उदाहरणबाट हामी के सिक्नसक्छौं?
२० प्रेरितहरूबीच पनि कसै कसैले अरूभन्दा ठूलो गनिने इच्छा राख्दा मतभेद भएको थियो भनेर नबिर्सनुहोस्। (मर्कूस १०:३५-३९; लूका ९:४६; २२:२४-२६) यसले गर्दा अवस्था तनावग्रस्त हुन गयो, सायद कसै कसैको चित्त दुख्यो पनि होला वा असाध्यै होच्याएको महसुस गरे होलान्। तर तिनीहरूले यस्ता मतभिन्नताहरूलाई बिर्सेर पार गर्नसके र एकसाथ मिलेर काम गरी नै रहे। तिनीहरूमध्ये एक जनाले पछि यस्तो लेखे: “जसले जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्न इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट, आफ्ना ओठलाई छटेल कुरा बोल्नबाट जोगाओस्, औ खराबीबाट फर्केर त्यो असल पछि लागोस्।”—१ पत्रुस ३:१०, ११.
२१. क्षमा गर्ने सम्बन्धमा येशूले कस्तो गहन सल्लाह दिनुभयो?
२१ सुरुमा हामीले एक पक्षलाई विचार गरेका थियौं: हामीले बिगतमा गरेका अपराधहरूलाई परमेश्वरले क्षमा गर्नुभयो, त्यसकारण हामीले उहाँको अनुकरण गर्दै हाम्रा भाइहरूलाई क्षमा गर्नुपर्छ। (भजन १०३:१२; यशैया ४३:२५) तर अर्को पक्ष पनि छ। आदर्श प्रार्थना गर्नुभएपछि येशूले यसो भन्नुभयो: “तिमीहरूले मानिसहरूका कसूर क्षमा गऱ्यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।” यसको वर्षदिनजत्ति पछि उहाँले यसरी त्यसको सारलाई फेरि दोहऱ्याउनुभयो: “हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं। औ हामीलाई परीक्षामा नल्याउनुहोस्।” (मत्ती ६:१२, १४; लूका ११:४) यसबाहेक आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि येशूले अझै यसो भन्नुभयो: “जब तिमीहरू प्रार्थना गरेर खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूलाई तिमीहरूका अपराध क्षमा गर्नुहुनेछ।”—मर्कूस ११:२५.
२२, २३. क्षमा गर्ने हाम्रो इच्छुकताले हाम्रो भविष्यलाई कसरी असर गर्छ?
२२ हामी आफ्ना भाइहरूलाई क्षमा गर्न इच्छुक भयौं भने मात्र परमेश्वरबाट लगातार क्षमा पाइरहन्छौं। मसीहीहरूबीच व्यक्तिगत समस्याहरू खडा हुँदा आफैलाई सोध्नुहोस्, ‘कुनै भाइ वा बहिनीले सामान्य उपेक्षा गर्दा, सानो कुरामा होच्याउँदा वा मानव असिद्धताको कारण कुनै त्रुटिहरू गर्दा त्यसलाई प्रमाणित गर्नुको साटो परमेश्वरबाट क्षमा खोज्नु नै सबैभन्दा बढ्ता महत्त्वपूर्ण कुरा हो, हैन त?’ जवाफ स्पष्ट छ।
२३ तर, समस्या निकै गम्भीर किसिमको छ भने नि? अनि मत्ती १८:१५-१८ मा लिपिबद्ध येशूको सल्लाह कहिले प्रयोग गर्ने? आउनुहोस्, यसपछि यी विषयहरूमाथि छलफल गरौं।
[फुटनोटहरू]
a एक शास्त्रज्ञअनुसार मीका ७:१८ मा प्रयोग गरिएको हिब्रू लाक्षणिक शब्द “आफूसित मतलब नभएको वस्तुलाई कुनै ध्यानै नदिई सरासर आफ्नो बाटो लाग्ने यात्रु बुझाउने शब्दबाट लिइएको हो। परमेश्वरले पापको ख्यालै गर्नुहुन्न वा पापलाई उहाँ हल्का रूपमा लिनुहुन्छ अथवा बेवास्ता गर्नुहुन्छ भनेर यसले प्रकट गर्न खोजेको होइन तर, कस्तो किसिमको दण्ड दिने भनेर पापलाई केलाइरहनुहुन्न; उहाँ दण्ड होइन, क्षमा दिनुहुन्छ भन्न खोजेको हो।”—न्यायकर्त्ता ३:२६; १ शमूएल १६:८.
के तपाईंले सम्झनुभएको छ?
◻ क्षमा गर्ने सम्बन्धमा यहोवाले हाम्रोनिम्ति कसरी नमुना बसाल्नुभएको छ?
◻ मण्डलीका सदस्यहरू कस्ता छन् भनेर हामीले सम्झनैपर्छ?
◻ उपेक्षित हुँदा वा होच्याइँदा अक्सर हामीले गर्नुपर्ने कुरा के हो?
◻ आवश्यक परेमा भाइसित शान्ति कायम गर्न हामी के गर्नसक्छौं?
[पृष्ठ १५-मा भएको चित्र]
कुनै एक मसीहीसित मतभेद हुँदा त्यसलाई बेवास्ता गर्ने प्रयास गर्नुहोस्; समय बित्दै जाँदा त्यो बिस्तारै नगन्य भएर जानेछ