कसरी हानिकारक गफलाई दबाउन सकिन्छ
हे परमप्रभु [यहोवा, न्यु.व.] मेरो मुखको सामने पाले राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्।” —भजनसंग्रह १४१:३.
१. हाम्रा ईश्वर प्रदत्त मस्तिष्कमा के के गर्ने क्षमता छ?
यहोवाले हामीलाई एउटा मस्तिष्क दिनु भएको छ र त्यो कति अद्भुत छ! दी इनक्रेडिबल मिशिन नाउँ भएको पुस्तक भन्छ: “हामीले कल्पना गर्न सक्ने सबै भन्दा उन्नत र जटिल किसिमका कमप्युटरहरू पनि मानव मस्तिष्कको प्राय असीमित विषमता र उपयोगिताको सामुन्ने अविकसित र असभ्य देखिन्छन् . . . प्रत्यक क्षण, तपाईंको मस्तिष्क भित्र लाखौं सङ्केत, सूचनाहरूको एउटा असाधारण बोझ बोकेर दौड़ि रहन्छन्। तपाईंका शरीरका भित्री र बाहिरी वातावरणको खबर लिएर ती सङ्केत आउने गर्छन् . . . जसै अझ अन्य सङ्केत द्वारा सूचनाहरूको अनुसन्धान र आवश्यक कारवाही गरिन्छ, विशेष प्रकारका भावना, सम्झना, सोंच-विचार र योजनाहरू उत्पन्न हुन्छन् जसबाट एउटा फैसला गरिन्छ। तुरन्त, तपाईंका मस्तिष्कबाट पठाइने अन्य सङ्केत द्वारा, तपाईंका शरीरका अन्य भागहरूले के कसो गर्नु पर्ने विषयमा आदेश पाउँछन् . . . साथै, तपाईंको मस्तिष्कले तपाईंको स्वास, रक्तका रासायनिक पदार्थहरूको सन्तुलन, तापमान र अन्य आवश्यक प्रक्रियाहरूमाथि ध्यान राख्दछ जसबारे तपाईंलाई केही चेतना न होला।”—पाना ३२६.
२. हामीले अब कुन प्रश्नमा ध्यान दिनु उचित हुनेछ?
२ निश्चय नै, यस प्रकारको अद्भुत ईश्वरीय वरदानलाई कहिले पनि एउटा फोहोर फाल्ने भाँड़ोको रूपमा प्रयोग गर्नु हुँदैन। तापनि, हानिकारक गफ सुन्न र फैलाउनमा हामी आफ्नो मस्तिष्कको दुरूपयोग गर्न सक्दछौं। यस प्रकारको कुराकानीबाट हामीले आफूलाई कसरी अलग्ग राख्न सक्छौं र अरूहरूलाई पनि यसमा भाग लिनदेखि टाढ़ै बस्ने मद्दत कसरी दिन सक्छौं?
तपाईंको ईश्वर प्रदत्त मस्तिष्कको मुल्याङ्कन गर्नु होस्
३. कुनै पनि साँचो मसीहीले किन हानिकारक गफमा भाग लिने छैन?
३ ईश्वर प्रदत्त मस्तिष्कको हामी मुल्याङ्कन गर्छौं भने, हानिकारक गफ सुन्न र फैलाउनबाट हामी अलग्ग बस्ने छौं। अरूलाई हानि पुर्याउने गरी आफ्नो जिब्रोको प्रयोग गर्ने र आफ्नो मनमा यस प्रकारका कुविचारहरू भर्ने प्रेरणा परमेश्वरको आत्माले कसैलाई पनि दिंदैन। बरू, परमेश्वरको वचन भन्दछ: “दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभु [यहोव, न्यु.व.] तिर फर्कोस्।” (यशैया ५५:७) दुष्ट मानिसको मन खराब विचारहरूले भरिएको हुन्छ र सोझो मानिसको निन्दा गर्न त्यो तत्पर रहन्छ। तर आफ्नो ईश्वर प्रदत्त मस्तिष्कको मुल्याङ्कन गर्ने व्यक्तिहरूबाट हामी कहिले पनि यस प्रकारको व्यवहारको आशा गर्दैनौं।
४. आफ्ना मस्तिष्क र बोल्ने क्षमताको हामी मुल्याङ्कन गर्दछौं भने, मन र जिब्रोको प्रयोग कसरी गर्ने छौं?
४ सही प्रकारको मुल्याङ्कन हामीमा छ भने, आफ्नो मन र जिब्रोलाई पापी शरीरको अभिलाषाको पूर्तिको निम्ति प्रयोग गर्ने छैनौं। बरू, हामी आफ्नो बोली-वचन र सोंच-विचारमा एउटा उच्च स्तर कायम राख्ने छौं। मानिसको भन्दा धेरै नै उच्च सोंच-विचार हुने ईश्वरमाथि प्रार्थनापूर्वक भरोसा राख्दै, हामी हानिकारक गफबाट अलग्ग बस्न सक्नेछौं। प्रेरित पावलले यो सल्लाह दिनु भयो: “जे कुरा सच्चा छन् [झुट्टा र निन्दाजनक होइन], जे कुरा आदरणीय छन् [क्षुद्र होइन], जे कुरा चोखा छन् [दुष्ट र हानिकारक होइन], जे कुरा असल छन् [अशुद्ध निन्दा अथवा खराब शङ्काहरू होइनन्], जे कुरा मनपर्दा छन् [घृणास्पद र अरूलाई तुच्छ तुल्याउने होइन], तिनमा केही सदगुण [खराबी होइन], र केही प्रशंसा छ भने, [दोषी ठहराउने होइन], तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.
५. पावलबारे तिनका सङ्गी विश्वासीहरूले के सुनेका र देखेका थिए?
५ पावलले अझ यो कुरा पनि थपे: “तिमीहरूले जुन कुरा सिक्यौ, र ग्रहण पनि गर्यौ, सुन्यौ र ममा देख्यौ, तिनै काम गर, औ शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।” (फिलिप्पी ४:९) अरूहरूले पावलको सम्बन्धमा के सुनेका र देखेका थिए? पवित्र र आध्यात्मिक तौरमा लाभदायक कुराहरू। तिनले लिड्या अथवा तिमोथी बारेको ताजा गफ अरूहरूलाई सुनाउँदै हिड़ेनन्। साथै, पावलले यरूशलेमका प्राचीनहरूको विषयमा गाइँ-गुइँ कुरा अवश्य पनि सुनेनन् र अरूहरूलाई पनि सुनाएनन् होलान्।a सम्भवतः, आफ्नो ईश्वर-प्रदत्त मनको आदर गर्नाले पावलले हानिकारक गफबाट अलग्ग बस्ने मद्दत पाउन सके होलान्। यहोवाले दिनु भएको मन र जिब्रोको वास्तवमा हामीहरू मुल्याङ्कन गर्दछौं भने, हामीले पनि तिनको उदाहरण अनुकरण गर्ने छौं।
परमेश्वर र उहाँका वचन प्रतिको आदर
६, ७. (क) अनियन्त्रित् जिब्रोको असर याकूबले कसरी देखाए? (ख) परमेश्वर र उहाँको वचनको श्रद्धा गर्यौं भने के हुने छैन?
६ परमेश्वर र उहाँका पवित्र वचनको निम्ति हार्दिक श्रद्धा हामीमा छ भने, त्यसले हामीलाई हानिकारक गफलाई दबाउने मद्दत दिनेछ। यस प्रकारको श्रद्धाले येशूका चेला, याकूबको सल्लाहलाई ध्यानमा राख्न हामीलाई प्रेरित् गर्नेछ किनभने तिनले जिब्रोबारे वास्तवमा विचारणीय कुराहरू भने। (याकूब ३:२-१२) एउटा व्यक्तिले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्न सके भने, तिनले आफ्नो सम्पूर्ण शरीरलाई पनि लगाम लगाएर राख्न सक्नेछन्। जसरी आगोको एउटा सानो झिल्काले सारा जङ्गलमा आगो सल्काइ दिन सक्छ, त्यसरी नै हाम्रो सानो जिब्रो पनि जीवनको क्रमलाई नै अग्निमय पारि दिने आगोको त्यो झिल्का सरह हुन सक्छ। मानिसले जङ्गली पशुहरू, चरा-चुरूङ्गी, घस्रने वस्तुहरू र जल जन्तुहरूलाई तहमा ल्याउन सकेका छन् तर “जिब्रोलाई भने कुनै मानिसले पनि तहमा ल्याउन सकेका छैनन्” भनेर याकूबले भने। तर यस कुराको निहुँ गर्दै, हामी हानिकारक गफ दबाउने कोशिश न गरिकन बस्नु भएन।
७ जिब्रोले एउटै मुखबाट दुवै आशिष र श्राप निकाल्ने गर्छ भन्ने कुरा पनि याकूबले भने। यो उचित कुरा होइन किनभने एउटै फुहाराबाट दुवै मीठो र तीतो पानी निस्कने गर्दैन। अन्जीरको रूखमा जैतुन फल्दैन र नुनिलो पानीबाट मीठो पानी आउन सक्तैन। हुन त हो, मसीहीहरू असिद्ध रहुञ्जेल, जिब्रोलाई सम्पूर्णतया तहमा ल्याउन सकिन्दैन। त्यसैले, हामीहरू गलती गरेर पश्चाताप गर्नेहरू प्रति दयावन्त हुनु पर्दछ। तापनि, यसको अर्थ हानिकारक गफलाई छुट दिनु होइन। परमेश्वर र उहाँका वचन प्रति साँच्चै नै श्रद्धाको भावना छ भने, सम्भव भए सम्म, जिब्रोको यस्तो विषालु दुरूपयोग हामी गरिरहने छैनौं।
प्रार्थनाले कसरी मद्दत दिन सक्नेछ
८. प्रार्थनाले हामीलाई कसरी हानिकारक गफ दबाउने मद्दत दिन सक्नेछ?
८ हानिकारक गफ सुन्ने र त्यसलाई फैलाउने सक-सक जबरजस्त हुन सक्छ। यसकारण, बितेको समयमा तपाईं यस प्रकारको सक-सक दबाउनमा असफल हुनु भएकोछ भने, के परमेश्वरबाट क्षमा र मद्दत माग्न उचित न होला र? येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनु भयो: “हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्।” (मत्ती ६:१३) यस प्रकारको दुष्ट तर हेर्दा आकर्षक बोलीहरूको शिकार बन्न नपरोस् भनेर साँचो हृदयसाथ परमेश्वरसँग प्रार्थना गर्ने मसीहीहरू, शैतानको यो चालबाट बच्न सक्नेछन्; तिनीहरू त्यो महान निन्दकको हातबाट उम्कनेछन्।
९. कसैको निन्दा गरौं गरौं लाग्यो भने, हामी के भनेर प्रार्थना गर्न सक्ने छौं?
९ हामीलाई कसैको निन्दा गर्ने सक-सक लागेको बेलामा, हामी यस प्रकार प्रार्थना गर्न सक्दछौं: “हे परमप्रभु [यहोवा, न्यु.व.], मेरो मुखको सामुन्ने पाले राखिदिनुहोस्। मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्।” (भजनसंग्रह १४१:३) परीक्षाको सामुन्ने हामी झुक्यौं भने, घृणास्पद, झुट्टा र हत्यारा दियाबल अर्थात् शैतानको हामीले अनुकरण गरेका हुनेछौं र अनन्त जीवन पाउने मौका हामी गुमाउन पनि सक्नेछौं। (यूहन्ना ८:४४) प्रेरित यूहन्नाले यस प्रकार लेखे: “आफ्नो भाइसँग दुश्मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहन्दैन भन्ने तिमीहरूलाई थाहै छ।”—१ यूहन्ना ३:१५.
प्रेमले गफलाई धपाउँदछ
१०. अरूहरूको विषयमा गफ गर्नुको सट्टा, तिनीहरू प्रति हामीले के दर्शाउनु पर्दछ?
१० हामी सबै नै एक-अर्का प्रति ऋणी छौं। तर हामी कसै प्रति घृणाको ऋणी हुनु भएन जसले गर्दा कसैलाई चोट पुऱ्याउन सक्ने गफ गर्न हामी बाध्य हुन परोस्। पावलले लेखे: “आपसमा प्रेम गर्नु बाहेक कसैको केही कुरामा ऋणी न होओ।” (रोमी १३:८) अरूहरूको विरुद्धमा बोल्दै तिनीहरूको प्रतिष्ठामा धक्का लगाउनुको सट्टा, दिनहुँ हामीले त्यो प्रेमको ऋण तिर्ने गर्नु पर्दछ। हामी यहोवासँग प्रेम गर्ने दाबी गर्दर्छौं भने, आफ्नो सङ्गी उपासकको निन्दा गर्न सक्तैनौं किनभने “आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्तैन।”—१ यूहन्ना ४:२०.
११. येशूले दिनु भएको भेड़ा र बाख्राको उखानबाट हानिकारक निन्दाबारे हामीले कुन कुरामा ध्यान दिनु उचित छ?
११ भेड़ा र बाख्रा सम्बन्धी, येशूले दिनु भएको उदाहरणलाई विचार गर्नु होस्। ख्रीष्टका भाइहरू प्रति जे गरिन्छ, त्यो उहाँलाई नै गरेको बराबर हुन्छ भनेर यो उखानमा बाख्राहरूलाई भनिन्छ। के तपाईं ख्रीष्टको विषयमा गफ गर्नु हुनेछ? तपाईं आफ्नो प्रभु र मालिकको विरुद्धमा बोल्नु हुनेछैन भने, उहाँका अभिषिक्त भाइहरूको विरुद्धमा त्यसरी न बोल्नु होस्। बाख्राहरूले गरेको गल्ती न गर्नुहोस् किनभने तिनीहरू “अनन्त विनाशमा [न्यु.व.]” जानेछन्। येशूका भाइहरूलाई प्रेम गर्नु हुन्छ भने, तिनीहरूबारे गर्नु हुने कुराकानीबाट यो प्रेम दर्साउनु होस्।—मत्ती २५:३१-४६.
१२. हितोपदेश १६:२ को निचोड़ के हो र त्यसले हाम्रो सोंच-विचार, काम-कुरा र बोली-वचनमा के असर पार्नु पर्दछ?
१२ हामी सबै नै पापी छौं र छुटकारा दिने, येशूको बलिदानको आवश्यकता हामी सबैलाई नै पर्दछ। हाम्रो विषयमा कसैले खराब कुरा गर्न चाहेमा, उसले भन्न पाउने धेरै कुरा भेट्टाउने छ। (१ यूहन्ना २:१, २) चाहे, हाम्रो विचारमा हामी असल नै गरिरहेका हौंला। “मानिसको सारा चालचलन उसको आफ्नै दृष्टिमा शुद्ध होला, तर मानिसको इच्छा जाँच गर्ने परमप्रभु नै [यहोवा, न्यु.व.] हुनुहुन्छ।” पक्षपात वा कृपावादले परमेश्वरको तराजुमा केही फरक पार्न सक्तैन। (हितोपदेश १६:२; प्रेरित १०: ३४, ३५) उहाँले हाम्रा आत्मालाई जाँच गर्नु हुन्छ, हाम्रा प्रवृत्ति र हाम्रो सोंचाई, काम-कुरा र बोलीवचनलाई प्रेरणा दिने कुराहरूमाथि ध्यान दिनु हुन्छ। यसकारण, आफूलाई चाहिं शुद्ध र अरूहरूलाई अशुद्ध र हानिकारक कुराको योग्य ठान्ने गलत धारणा परमेश्वरले हामीमा फेला पार्नु भएको हामी कदापि चाहन्दैनौं। यहोवा जस्तै, हामी निश्पक्ष, दयावन्त र मायालु हुनु पर्दछ।
१३. (क) “प्रेम धीरजी र दयावन्त” भएको हुनाकारण, यसले हानिकारक निन्दालाई दबाउने मद्दत कसरी दिन सक्छ? (ख) हामीले नपाएको सेवा अरू कुनै अर्को व्यक्तिले पाएको खण्डमा, उसको विरुद्धमा बोल्न देखि के ले हामीलाई रोक्ने छ?
१३ १ कोरिन्थी १३:४-८ मा पावलले दिएको सल्लाह प्रयोगमा ल्यायौं भने, हानिकारक गफ दबाउने मद्दत पाउन सक्ने छौं। उनले लेखे: “प्रेम धीरजी र दयालु हुन्छ।” उदाहरणका लागि, एउटा विभाजित परिवारमा सतावट भोग्न परिरहेकी बहिनीले हँसिलो मुख लाएर हाम्रो अभिवादन न गर्लिन्। अथवा, शायद स्वास्थ्य सम्बन्धी समस्याले गर्दा, कोही शारीरिक तौरमा ढिला होलान्। हामीमा प्रेम छ भने, यी व्यक्तिहरूलाई आलोचनायुक्त गफको शिकार बनाउनुको सट्टा, हामी तिनीहरू प्रति धीरजवन्त र दयालु हुनु पर्छ, होइन र? ‘प्रेमले डाह गर्दैन, आफै सेखी गर्दैन र घमण्डले फुल्दैन।’ यसकारण, हामीले सेवाको कुनै विशेषाधिकार नपाएर अर्कै मसीहीले पाएमा, प्रेमको कारण हामी तिनको विरुद्धमा बोल्ने छैनौं र तिनलाई त्यस अधिकारको निम्ति अयोग्य ठान्ने छैनौं। प्रेम छ भने, हामीले आफ्ना सफलताहरूको विषयमा धेरै धाक लगाउने छैनौं किनभने यसो गर्नाले अरू अलिकता कमजोरहरू निराश हुन सक्छन्।
१४. हामीले अरूहरूको विषयमा के कस्तो कुरा गर्ने र्छौं, त्यसलाई प्रेमसँग सम्बन्धित् अरू कुन् गुणहरूले असर पार्ने छ?
१४ पावलले यो पनि लेखे: ‘प्रेम आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन, खराबीको वास्ता गर्दैन।” बेकायदासाथ अरूहरूको विषयमा गैर मसीही कुराहरू गर्नुको सट्टा, प्रेमले हामीलाई अरूहरूबारे राम्रो कुरा गर्न र तिनीहरूको हित रूचाउन प्रेरित गर्नेछ। प्रेमले हामीलाई क्रोध गर्न देखि रोक्ने छ र भएको, नभएको चोटहरूको निहुँ गर्दै, मानिसहरूको विरूद्धमा बोल्न देखि हामीलाई रोक्नेछ। ‘प्रेम अधर्ममा खुसी हुँदैन, तर सत्यमा खुसी हुन्छ।’ जसले गर्दा, हाम्रा विरोधीहरूमाथि अन्याय आइपर्दा पनि हामी तिनीहरूको विषयमा हानिकारक गफ गर्दैनौं।
१५. (क) प्रेमले ‘सबै कुराको पत्यार गर्दछ र सबै कुराको आशा गर्दछ’ भन्ने कुराले हामीमा के असर पार्नु पर्ने हो? (ख) अरूहरूले यहोवाको सङ्गठनको विरुद्धमा बोलेता पनि, प्रेमका अरू कुन गुणहरूले हामीलाई यहोवाको सङ्गठनको अझ नजिक हुने मद्दत दिन सक्नेछ?
१५ प्रेम, परमेश्वरको वचनमा पाइने ‘सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ’ र झुट्टा धर्मत्यागीहरूको निन्दाजनक कुराहरू सुन्नुको सट्टा, ‘विश्वासी दासले’ दिएको आत्मिक आहारको मुल्याङ्कन गर्ने हामीलाई प्रेरणा दिन्छ। (मत्ती २४:४५-४७; १ यूहन्ना २:१८-२१) ‘प्रेम सबै कुरामा स्थिर रहन्छ, प्रेम कहिले टल्दैन’ जसले गर्दा “झुट्टा भाइहरू” अथवा अरू त्यस प्रकारका मानिसहरूले परमेश्वरको सङ्गठनको अथवा यसका सदस्यहरूको विरुद्धमा कुरा गर्दा, प्रेमले हामीलाई यस सङ्गठनप्रति वफादार भएर बस्ने मद्दत दिन्छ।—गलाती २:४.
श्रद्धाले गफलाई रोक्दछ
१६. कोरिन्थका झुट्टा भाइहरूले पावलसँग के कस्तो व्यवहार गरे?
१६ सङ्गी विश्वासीहरू प्रति हाम्रो श्रद्धाले पनि हामीलाई तिनीहरूको विषयमा हानिकारक गफ गर्नबाट रोक्दछ। तिनीहरू परमेश्वरको नजरमा ग्रहणयोग्य भएकाले, निश्चय नै हामीले तिनीहरूलाई बदनाम गर्नु हुँदैन। हामी कहिले पनि पावलले सामना गर्नु परेका ती “झुट्टा भाइहरू” जस्ता हुनु भएन। ती ‘झुट्टा भाइहरूले’ तिनको विषयमा, निःसन्देह खराब कुराहरू गरे। (२ कोरिन्थी ११:२६) धर्मत्यागीहरूले पनि पावलको बदनाम गरे होलान्। (यहूदा ३, ४ सँग तुलना गर्नुहोस्) कोरिन्थका कुनै कुनै व्यक्तिहरूले एसो भने: “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्, तर सामनेमा शरीरको निर्धो र बोली चाहिं केही कामको छैन।” (२ कोरिन्थी १०:१०) जुन व्यक्तिहरूलाई हामी माया गर्दर्छौं, ती व्यक्तिहरूबारे हामी यस प्रकारको कुरा गर्ने छैनौं।
१७. डियोत्रिफसले प्रेरित यूहन्नाको विषयमा कुरा गर्दा, कुन प्रकारका शब्दहरू प्रयोग गरे?
१७ प्रेरित यूहन्नाबारे सोंच्नु होस् जसको विरुद्धमा डियोत्रिफसले कुरा गरे। यसबारे यूहन्नाले यस प्रकार लेखे: “मैले मण्डलीलाई केही लेखें थिए, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई ग्रहण गर्दैनन्। यसकारण म आएँ भने, त्यसले कुवचनले हाम्रा विरुद्धमा बोलेर गरेको औ त्यतिले पनि सन्तोष नभएर भाइहरूलाई पनि ग्रहण न गरी, ग्रहण गेर्न इच्छा गर्नेहरूलाई पनि रोकेर मण्डलीबाट निकालि दिएका कुराहरूको सम्झना म गराउने छु।” (३ यूहन्ना ९, १०) यस प्रकार बक-बक गर्ने बानी एउटा गम्भीर समस्या थियो, र आज हामी पनि त्यस्ता कुराहरू कुनै रीतिले सुनी रहेछौं अथवा फैलाइ रहेका छौं भने, त्यसो गर्न तुरन्तै बन्द गर्नु आवश्यक छ।
१८. डियोत्रिफस् भन्दा डेमेत्रियस कसरी भिन्न थिए र यसले हाम्रो आनीबानीमा के असर पार्न सक्नेछ?
१८ धर्मीहरूका लागि श्रद्धा देखाउने आग्रह गर्दै, यूहन्नाले गायसलाई भने: “खराबीको होइन, तर भलाइको देखा-सिकी गर। जो भलो गर्दछ, त्यो परमेश्वरको हो। जसले खराब गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन। डेमेत्रियसको निम्ति ता सबै मानिसले र सत्य आफैले पनि गवाही दिएका छन्। हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ।” (३ यूहन्ना १, ११, १२) हामी प्रत्यकले स्वयंलाई सोध्नु आवश्यक छ: “के म कुरौटे डियोत्रिफस जस्तो छु अथवा विश्वासी डेमेत्रियस जस्तै छु? हामी आफ्ना सङ्गी भाइहरूको श्रद्धा गर्दछौं भने, तिनीहरूको विषयमा नकारात्मक कुराकानी गर्ने छैनौं नत्र भने अरूहरूको दृष्टिमा हामी आफै कुरौटे हुनेछौं।
१९. सी. टी. रसलको बदनामी गर्न झुट्टा भाइहरूले कसरी कोशिश गरे?
१९ झुट्टा भाइहरू प्रथम शताब्दीमा मात्र थिएनन्। १८९० को दशकमा, सङ्गठनसँग सम्बन्धित् सिद्धान्तहीन मानिसहरूले वाचटावर सोसाइटीलाई आफ्नो वशमा ल्याउन खोजेका थिए। तिनीहरूले चार्लस टेज रसलको विरुद्धमा षड़यन्त्र रचेर, तिनलाई सोसाइटीको प्रथम सभापतिको स्थानबाट हटाउन खोजेका थिए। करिब दुई वर्षसम्म यो षड़यन्त्र भित्र-भित्रै बढ़दै गयो, र त्यस पछि, १८९४ मा सम्पूर्णतया त्यो बाहिर जाहेर भयो। रसलमाथि धेरै जसो व्यापार सम्बन्धी बेइमानीको झुट्टा आरोपहरू लगाइएको थियो। प्रस्तुत गरिएका केही आरोपहरूको क्षुद्रता द्वारा, सी. टी. रसलको बदनाम गर्ने, विरोधीहरूको उद्देश्य थियो भन्ने कुरा जाहेर भयो। यस प्रकार, “श्रीमान रसल र उहाँको कामलाई भताभुङ्ग पार्ने” यो योजना विफल भयो। पावल जस्तै, भाइ रसलमाथि पनि झुट्टा भाइहरूले आक्रमण गरेका थिए तर यो परीक्षा शैतानको एउटा जाल थियो भनी बुझ्न सकियो। यस पछि, ती षड़यन्त्रकारीहरू मसीही सङ्गतीमा साझेदार हुन अयोग्य साबित हुन गए।
असल कामहरू द्वारा हानिकारक गफ रोक्न सकिन्छ
२०. पावलले कुनै कुनै तरूणी विधवाहरूमा के त्रुटि देखे?
२० पावललाई थाह थियो कि हानिकारक गफ अकसर प्रशस्त असल कामसँग होइन तर निस्क्रियतासँग सम्बन्धित् थियो। कुनै कुनै जवान विधवाहरू “घर-घर डुल्ने भइ अल्छी” भइरहेका थिए र “केवल अल्छी मात्र होइन तर कुरौटे, अरूको काममा हात हाल्ने, बोल्न न हुने कुरा” बोली रहेकाथिए भनेर पावल अप्रसन्न थिए। यसको के उपाय थियो? स्वस्थकर काम कुरोमा क्रियाशीलता। यसैकारण पावलले लेखे: “तरूणी विधवाहरूले विवाह गरून्, छोरा-छोरी पाऊन्, गृहस्थी काम गरून्, विरोधीलाई बदनाम गर्ने मौका नदिऊन् भन्न म चाहन्छु।”—१ तिमोथी ५:११-१४, बायीङ्गटन्.
२१. १ कोरिन्थी १५:५८ र हानिकारक गफबाट अलग्ग बस्नु कसरी सम्बन्धित छ?
२१ स्त्रीहरूले घरजाम गर्दै, छोरा-छोरीलाई परमेश्वरका सिद्धान्त बमोजिम प्रशिक्षण दिंदै, अन्य अरू लाभदायी काम कुरामा लागे भने, हानिकारक गफमा परिणत हुन सक्ने किसिमका व्यर्थको कुरा गेर्न तिनीहरूसँग फुर्सत् हुनेछैन। असल काम कुरामा व्यस्त रहेको खण्डमा, यस प्रकारको कुराकानी गर्ने फुर्सत् पुरूषहरूले पनि पाउने छैनन्। “सधैं प्रभुको काममा प्रशस्त” भएर बस्यौं भने, हानिकारक गफको जालबाट अलग्ग रहने मदद हामी पाउन सक्ने छौं। (१ कोरिन्थी १५:५८) विशेषगरी मसीही सेवकाईमा, मण्डलीका सभाहरूमा र अन्य ईश्वरीय काम-कुरोमा पूर्णतया व्यस्त रहँदै, हामीले आफ्नो मन आध्यात्मिक विषयहरूमा लगाइ राख्यौं भने, हामी काम नपाएर अरूहरूको गफ गर्ने र अरूहरूको काम कुरोमा हात हाल्ने व्यक्तिहरू हुने छैनौं।
२२. हितोपदेश ६:१६-१९ मा, निन्दा गर्ने मानिसहरू प्रति परमेश्वरको दृष्टिकोण बारे के भनिएको छ?
२२ हामीहरू ईश्वरीय कामहरूमा व्यस्त रह्यौं भने र अरूहरूलाई पनि आध्यात्मिक आशिष दिने इच्छा गर्यौं भने, हामीहरू कुरा ओसार्ने, अविश्वासी मानिसहरू हुनुको सट्टा, वफादार मित्रहरू हुनेछौं। (हितोपदेश १७:१७) र हामी हानिकारक गफबाट अलग्ग बस्यौं भने, यहोवा परमेश्वर स्वयं हाम्रा सबै भन्दा घनिष्ठ मित्र बन्नु हुनेछ। सात वटा कुरासँग उहाँ घृणा गर्नु हुन्छ भन्ने कुरा हामीलाई सधैं याद रहोस् अर्थात् “अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन र दुष्ट काम गर्न अग्रसर हुने खुट्टा, धेरै असत्य बोल्ने झूटा गवाही, र दाजु-भाइहरूका बीचमा झगड़ा उठाउने मानिस।” (हितोपदेश ६:१६-१९) गफ चुटने कुरौटेहरूले कुरा बढ़ाउछन् र बङ्ग्याउछन् र निन्दा गर्नेहरूको जिब्रो चाहिं झुट्टा हुन्छ। तिनीहरूको बोली सुनेर कुरा ओसार्ने मानिसहरूको खुट्टा चञ्चल हुन्छ। अकसर गरी, यसको परिणाम झगड़ा नै हुन्छ। तर परमेश्वरले घृणा गर्नु हुने कुराहरूलाई हामीले पनि घृणा गर्यौं भने, हामी हानिकारक गफबाट अलग्ग बस्ने छौं किनभने यसले निर्दोषको मानहानि गर्न सक्छ र महान निन्दक, शैतान अथवा दियाबललाई खुसी पार्छ।
२३. हाम्रो बोली-वचन द्वारा हामीले यहोवालाई कसरी आनन्दित तुल्याउन सक्छौं?
२३ यसकारण हामी यहोवाको हृदयलाई आनन्दित तुल्याऔं। (हितोपदेश २७:११) उहाँले घृणा गर्नु हुने बोली-वचनको हामी पनि घृणा गर्ने गरौं, निन्दा सुन्न इन्कार गरौं र हानिकारक गफलाई दबाउने हर कोशिश गरौं। हामी, निश्चय नै, हाम्रो पवित्र परमेश्वर, यहोवाको मद्दत द्वारा यी सबै गर्न सक्ने छौं। (w89 10/15)
[फुटनोट]
a आज पनि, सञ्चालक समितिका सदस्यहरू अथवा तिनीहरूका प्रतिनिधिहरूले गरे अथवा भने अरे भन्ने, सनसनीयुक्त कुराहरू (अकसर कुनै वास्तविकतामा आधारित नभएका) सुन्न र फैलाउन उचित होइन।
तपाईं कसरी जवाफ दिनु हुनेछ?
◻ अरूहरूको निन्दा न गर्न देखिन् प्रार्थनाले हामीलाई कसरी मद्दत दिन सक्नेछ?
◻ १ कोरिन्थी १३:४-८ प्रयोगमा ल्यायौं भने, हानिकारक गफलाई हामी कसरी दबाउन सक्नेछौं?
◻ सङ्गी विश्वासीहरूको विषयमा गफ गर्नबाट हामीलाई हाम्रो आत्म-सम्मानले कसरी रोक्न सक्ने छ?
◻ हानिकारक गफका जालहरूबाट बच्न र १ कोरिन्थी १५:५८ मा उल्लेखित् कुराको के सम्बन्ध हुन सक्दछ?