आफ्नो बललाई कमजोरी बन्न नदिनुहोस्
पानी नछिर्ने १६ खण्डे आरामदायी टाइटानिक जहाज पानीमा डुब्ला भनेर कसैले सोचेको समेत थिएन। सन् १९१२ मा पहिलोपल्ट यात्रा गर्दा यो जहाजमा चाहिनेभन्दा आधा मात्र लाइफबोट थियो। एउटा हिमशिलामा ठोक्किएर जहाज डुब्यो अनि १,५०० भन्दा बढी मानिसहरूले ज्यान गुमाए।
पुरातन यरूशलेमका ईश्वरभीरु राजा उज्जियाह कुशल सेनापति थिए। यहोवाको मदत पाएर तिनले एकपछि अर्को शत्रुलाई परास्त गरे। “यस्तो आश्चर्यको वरदान मिलेको कारण [उज्जियाहको] ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए।” तर ‘तिनी अहंकारी भए अनि परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा अपराध गरे।’ आफ्नो अहंकारले गर्दा उज्जियाहलाई कोर लाग्यो।—२ इतिहास २६:१५-२१; हितोपदेश १६:१८.
उक्त दुइटा विवरणले हामीलाई के सिकाउँछ भने, बललाई बुद्धि, विनम्रता र विनयद्वारा सन्तुलनमा राखेनौं भने त्यो सजिलैसित हाम्रो कमजोरी वा अवरोध बन्नसक्छ। यो अत्यन्तै गम्भीर कुरा हो किनकि हामी प्रत्येकसँग कुनै न कुनै तरिकामा केही बल वा वरदानहरू छन् र त्यसबाट हामी फाइदा उठाउन चाहन्छौं। साथै त्यसलाई आफ्नो तथा अरूको र विशेष गरी हाम्रो सृष्टिकर्ताको लागि आनन्दको स्रोत बनाउन चाहन्छौं। निस्सन्देह, हामीले परमेश्वरबाट पाएको वरदानको पूर्ण सदुपयोग त गर्नुपर्छ नै तर त्यो हाम्रो मूल्यवान् सम्पत्तिसरह बनाउन त्यसलाई नियन्त्रणमा पनि राख्नु आवश्यक छ।
उदाहरणका लागि, काम गर्न असाध्यै मन पराउने व्यक्ति दिनरात सधैं काममा व्यस्त भइरहँदा तिनको त्यो वरदान सजिलै कमजोरीमा परिणत हुनसक्छ। होसियार व्यक्तिलाई कसैले पनि सजिलै मूर्ख बनाउन वा छल्न सक्दैन तर तिनी अत्यन्तै होसियार बनेर निर्णय नै गर्न नसक्ने हुन सक्छन्। कार्यकुशलता पनि राम्रो गुण हो। तर कार्यकुशल बन्ने धुनमा अमानवीय व्यवहार गऱ्यो भने भावशून्य र अरट्ठो वातावरण सृजना हुनसक्छ र यसले अशान्ति ल्याउँछ। तसर्थ, कुन कुन गुणहरू तपाईंको बल हो, विचार गर्नुहोस्। के तपाईं त्यसलाई ठीकसित सदुपयोग गर्नुहुन्छ? के त्यो अरूको निम्ति आशिष् भएको छ? सबैभन्दा महत्त्वपूर्ण कुरा, के तपाईं त्यसलाई “हरेक उत्तम वरदान[को]” स्रोत यहोवाको महिमा गर्न प्रयोग गर्नुहुन्छ? (याकूब १:१७) अतः बललाई बेवास्ता गरेको खण्डमा त्यो कमजोरी तथा अवरोधसमेत बन्नसक्छ भनी आउनुहोस् हामी केही उदाहरणहरू गहिरिएर हेरौं।
मानसिक क्षमताहरूको बुद्धिमानीसाथ सदुपयोग गर्नुहोस्
निस्सन्देह, तेज दिमाग एउटा मूल्यवान् गुण हो। यद्यपि, यही दिमागले गर्दा बढ्तै आत्मविश्वास भयो अथवा अरूले हाम्रो निकै प्रशंसा वा वाह वाह गरेकोले मै हुँ भन्ने विचार आउन थाल्यो भने त्यही कमजोरी बन्नसक्छ। अथवा परमेश्वरको वचन र बाइबलमा आधारित प्रकाशनहरूबारे सबै थाह छ भन्ने दृष्टिकोण हाम्रो मनमा आउनसक्छ।
आफूमा बढ्तै आत्मविश्वास भयो भने विभिन्न तरिकामा देखा पर्नसक्छ। उदाहरणका लागि, राम्रो दिमाग भएको व्यक्तिले मसीही मण्डलीमा जनभाषण वा ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भाषण दिने असाइनमेन्ट पाउँदा तिनले आशिष्को लागि यहोवालाई प्रार्थनासमेत नगरी भाषण दिने बेलामा मात्र तयारी गर्लान्। तिनी आफ्नै बुद्धि र बिना तयारी भाषण दिन सक्ने योग्यतामा भर पर्लान्। तिनको जन्मजात क्षमताले यस्तो हेलचेक्य्राइँलाई केही समयसम्म ढाकछोप गर्न सक्ला तर यहोवाको पूर्ण आशिष्बिना तिनको आध्यात्मिक प्रगति सुस्त हुन वा ठप्प रोकिनसमेत सक्छ। एउटा उत्तम वरदान बेकारमा त्यसै खेर जान्छ!—हितोपदेश ३:५, ६; याकूब ३:१.
चंखो दिमाग भएको व्यक्तिले बाइबल तथा बाइबल अध्ययन सहायक प्रकाशनहरूबारे दिमागी ज्ञान भएको भन्ने दृष्टिकोण पनि राख्नसक्छन्। तथापि, यस्तो ज्ञानले “घमण्ड” वा अहम् बढाउँछ, मायालु मसीही सम्बन्धमा “उन्नति” गराउँदैन। (१ कोरिन्थी ८:१; गलाती ५:२६) अर्कोतिर, आध्यात्मिक व्यक्तिले आफ्नो मानसिक क्षमताहरूको बावजूद परमेश्वरको आत्माको लागि सधैं प्रार्थना गर्नुका साथै त्यसैमा भर पर्छ। तिनको प्रेम, नम्रता, ज्ञान र बुद्धि बढ्दै गयो र ती एकआपसमा सन्तुलनमा छन् भने तिनको बल साँच्चै मूल्यवान् हुन्छ।—कलस्सी १:९, १०.
आफ्नो क्षमताले गर्दा घमण्डले फुलेर मै हुँ भन्ने विचार गऱ्यौं भने पनि त्यो हाम्रो कमजोरी बन्नसक्छ। वरदान पाएका व्यक्ति र तिनको अत्यन्तै प्रशंसा गर्नेहरूले कुन कुरा चटक्क बिर्से भने, यहोवाले ‘हृदयमा बुद्धिमान् हुनेहरूलाई आदर गर्नुहुन्न।’ (अय्यूब ३७:२४) “नम्रताले बुद्धि ल्याउँछ” भनी परमेश्वरको वचन बताउँछ। (हितोपदेश ११:२, नयाँ संशोधित संस्करण) प्रेरित पावल असाध्यै बुद्धिमान् र शिक्षित भए तापनि तिनले कोरिन्थीहरूलाई यसो भने: “ए भाइ हो, जब म तिमीहरूकहाँ आएँ, तब बात र ज्ञानको सर्वश्रेष्ठतामा . . . म आएको थिइनँ। . . . म कमजोरी भएर डराउँदै र ज्यादै कम्पमा तिमीहरूसँग रहें। औ मेरो वचन र मेरो प्रचार मानिसको ज्ञानका लोभ्याउने कुराहरूमा होइन, तर आत्मा र शक्तिको प्रदर्शनमा थियो, कि तिमीहरूको विश्वास मानिसहरूको ज्ञानमा होइन, तर परमेश्वरको शक्तिमा रहोस्।”—१ कोरिन्थी २:१-५.
साँच्चै बुद्धिमान् व्यक्ति न संसारले बुद्धिबारे राख्ने दृष्टिकोणले बहकिन्छ नता संसारले सफलता ठानेका कुराहरूद्वारा नै ठगिन्छ। तसर्थ, तिनले आफ्ना क्षमताहरू मानिसहरूको अनुमोदन पाउन वा भौतिक कुराहरू आर्जन गर्नको निम्ति नभई आफूलाई जीवन र योग्यताहरू दिनुहुने परमेश्वरको निम्ति प्रयोग गर्न यथाशक्य गर्छन्। (१ यूहन्ना २:१५-१७) त्यसकारण, “खोलाको धारको छेउमा रोपेको बोटजस्तै” फलदायी भएर तिनले आफ्नो जीवनमा परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापहरूलाई प्राथमिकता दिन्छन्। आफूसित भएका जन्मजात क्षमताहरूले गर्दा नभई यहोवाको आशिष्ले गर्दा “त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजन १:१-३; मत्ती ६:३३.
तपाईंको बल मसीहीधर्मबमोजिम होस्
मसीहीधर्मका सद्गुणहरूको अगाडि सांसारिक दर्शनहरू फितलो छन्। उदाहरणका लागि, मसीही जीवनशैलीले मानिसहरूलाई असल पति र पत्नी, असल छिमेकी र असल कर्मचारीहरू बनाउँछ अनि तिनीहरू इमानदार, आदरणीय, शान्तिप्रिय र परिश्रमी हुन्छन्। (कलस्सी ३:१८-२३) साथै, बोल्न र सिकाउन मसीहीधर्मले दिने प्रशिक्षणले मानिसहरूसित राम्ररी कुराकानी गर्न सिकाउँछ। (१ तिमोथी ४:१३-१५) तसर्थ, जागिरदाताहरूले मसीहीहरूलाई थप जिम्मेवारीहरू दिनु अनि पदोन्नती गर्नु कुनै छक्कलाग्दो कुरा होइन। तर होसियार भएन भने यस्ता सद्गुण दुरुपयोग पनि हुनसक्छ। पदोन्नती हुनु वा आकर्षक जागिर पाउनु भनेको कम्पनीको काममा दिनरात लाग्नुपर्ने हुनसक्छ र त्यसले गर्दा मसीही सभाहरूमा नियमित तवरमा भेला हुन नपाउने वा आफ्नो परिवारसित बहुमूल्य समय बिताउन नपाउने हुनसक्छ।
अस्ट्रेलियाका एक मसीही प्राचीनको उदाहरणलाई लिनुहोस्। तिनको परिवार थियो र अत्यन्तै सफल व्यापारी पनि थिए। तिनले “धनसम्पत्ति तथा मानसम्मान कमाउनसक्थे।” यद्यपि, तिनले यस रीतिरिवाजमा सफल हुने प्रलोभनलाई इन्कार गरे। तिनले भने: “म आफ्नो परिवारसित र मसीही सेवकाईमा बढी समय बिताउन चाहन्थें।” तिनले यसो पनि भने: “तसर्थ, मेरी पत्नीसँग सल्लाह गरेर काममा कम समय बिताउन थालें। आवश्यक नै छैन भने किन हप्तामा पाँच दिन काम गर्ने?” राम्ररी विचार गरेर आफ्नो जीवनमा व्यवहारिक काँटछाँट गर्दा हप्तामा तीन वा चार दिन काम गरेर पनि परिवारको रेखदेख गर्न सकिंदो रहेछ भनेर उक्त प्राचीनले थाह पाए। समयको अन्तरालमा, तिनले स्थानीय सम्मेलन भवन समिति र जिल्ला अधिवेशन प्रशासनमा सेवा गर्ने जस्ता सुअवसरहरूमा भाग लिने निमन्त्रणा पाए। तिनले आफ्नो क्षमतालाई बुद्धिमानीसाथ चलाएका हुनाले तिनी र तिनको परिवारले आनन्द अनि सन्तुष्टि पाए।
सुअवसरहरूप्रति सन्तुलित मनोवृत्ति
मसीही पुरुषहरूलाई मण्डलीमा सेवाका सुअवसरहरू पाउन अग्रसर हुन प्रोत्साहित गरिन्छ। “यदि कुनै मानिसले विशपको [वा सेवकाई सेवकको] काम गर्न खोज्छन् भने, तिनले असलै कामको इच्छा गर्छन्।” (१ तिमोथी ३:१) राम्रो गुण जस्तै जिम्मेवारीहरू स्वीकार्ने इच्छालाई पनि सही निर्णय गरेर सन्तुलनमा राख्नुपर्छ। यहोवाको सेवामा आनन्द गुमाउने गरी तीन थुप्रो असाइनमेन्ट पनि लिनु हुँदैन। हो, यस्तो इच्छुक मनोभाव सराहनीय कुरा हो र यस्तो मनोभाव आवश्यक पनि छ किनकि आफूले सक्ने काम पनि नगर्ने मनोवृत्ति यहोवा मनपराउनुहुन्न। तर यस्तो इच्छुकतामा विनम्रता र “आत्मसंयम” पनि झल्किनुपर्छ।—तीतस २:१२; प्रकाश ३:१५, १६.
येशूको कोमलता, अन्तरदृष्टि र संवेदनशीलताले गर्दा एकदमै दीन जनहरूलाई समेत उहाँको अगाडि अप्ठ्यारो लाग्दैनथ्यो। त्यस्तै गरी, आज समानुभूतिशील अनि अरूको चासो राख्ने व्यक्तिहरूसित मानिसहरू अप्ठ्यारो महसुस गर्दैनन्। मसीही मण्डलीका मायालु तथा धक नमानी कुरा गर्न सकिने प्राचीनहरू साँच्चै “मानिसहरूलाई वरदान” हुन्। तिनीहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुन्।—एफिसी ४:८; यशैया ३२:२.
तर प्राचीनहरूले अरूलाई मदत गर्न समय बिताए तापनि आफ्नो व्यक्तिगत अध्ययन, मनन, प्रार्थना र जन सेवकाईको लागि पनि समय मिलाउनुपर्छ। विवाहित प्राचीनहरूले त झन् आफ्नो परिवारको लागि पनि समय निकाल्नुपर्छ र परिवारका सदस्यहरूले तिनीसित धक नमानी कुरा गर्नसक्ने हुनुपर्छ।
सुयोग्य स्त्रीहरू—अद्भुत आशिष्
सुयोग्य प्राचीनहरूजस्तै आध्यात्मिक झुकाव भएका स्त्रीहरू पनि यहोवाको संगठनको उत्तम सम्पत्ति हो। साधारणतया, स्त्रीहरूसित अरूप्रति चासो राख्ने विशेष क्षमता हुन्छ र यहोवाले यो गुण मूल्यवान् ठान्नुका साथै त्यसलाई अझ बढाउन प्रोत्साहन दिनुहुन्छ। प्रेरित पावलले लेखे, “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:४) यद्यपि, “अरूहरूका कुरामा” पनि सीमा छ किनकि मसीही नता ‘अर्काको कुरामा हात हाल्न’ न अरूको निन्दोचर्चो नै गर्न चाहन्छन्।—१ पत्रुस ४:१५; १ तिमोथी ५:१३.
स्त्रीहरूसित अरू पनि थुप्रै वरदानहरू छन्। उदाहरणका लागि, मसीही पत्नी आफ्नो पतिभन्दा बुद्धिमती हुनसक्छिन्। तर यहोवाको भय मान्ने “सुयोग्य पत्नी[को]” हैसियतमा उनले आफ्नो पतिको आदर गर्छिन् अनि आफ्नो वरदानलाई पतिसँग प्रतिस्पर्धा गर्न नभई तिनलाई सहयोग गर्न सदुपयोग गर्छिन्। अनि बुद्धिमान् र विनम्र पति आफ्नी पत्नीसित ईर्ष्या वा रिस गर्नुको सट्टा उनको विशेष खुबीको मूल्यांकन् गर्नुका साथै आनन्दित हुन्छन्। तिनले आफ्नी पत्नीलाई उनको क्षमताहरू घरपरिवार बसाल्न र आफूले जस्तै आफ्ना छोराछोरीलाई पनि ‘यहोवाको भय मान्न’ प्रयोग गर्न प्रोत्साहन दिन्छन्। (हितोपदेश ३१:१०, २८-३०; उत्पत्ति २:१८) यस्ता नम्र र विनयी पतिपत्नीहरूको वैवाहिक जीवन फस्टाउँछ र त्यसले यहोवाको आदर गर्छ।
प्रभावशाली व्यक्तित्वलाई नियन्त्रणमा राख्ने
धार्मिकतामा केन्द्रित अनि तनमनले यहोवाको इच्छा पूरा गर्न अग्रसर हुने प्रभावशाली व्यक्तित्वमा नम्रता र विनय छ भने त्यो उत्तम सम्पत्ति हुनसक्छ। तथापि, अरूमाथि प्रभुत्व जमाउने अथवा धम्काउने गऱ्यो भने त्यो सद्गुण कमजोरी बन्नसक्छ। विशेष गरी मसीही मण्डलीमा यस्तो हुनसक्छ। मसीहीहरूलाई प्राचीनहरू लगायत एकअर्कासित संगत गर्दा पटक्कै अप्ठ्यारो नलाग्नु पर्ने हो।—मत्ती २०:२५-२७.
प्राचीनहरूले पनि एकअर्काको संगतिमा अप्ठ्यारो नलाग्नु पर्ने हो। अनि तिनीहरू भेला हुँदा तिनीहरूका निर्णयहरू प्रभावशाली व्यक्तित्वको प्रभावमा नभई पवित्र आत्माद्वारा प्रेरित हुनुपर्छ। चाहे प्राचीन जवान हून् वा धेरै नबोल्ने वृद्ध नै किन नहून्, पवित्र आत्माले प्राचीनहरूको निकायलाई पक्कै प्रभावित गर्नसक्छ। अतः प्रभावशाली व्यक्तित्व हुनेहरूले आफू सही छु भन्ने महसुस गरे तापनि अरूको विचारधारालाई आदर गर्न सिकेर सँगी प्राचीनहरूको “कदर” गर्दै आफ्नो व्यक्तित्वलाई सन्तुलनमा राख्नुपर्छ। (रोमी १२:१०) उपदेशक ७:१६ दयालु ढंगमा यस्तो चेताउनी दिन्छ: “ज्यादै धर्मी र ज्यादै बुद्धिमानी नहो। तिमी किन आफैलाई एउटा हाँसोको पात्र बनाउँछौ?”
“हरेक उत्तम वरदान[को]” स्रोत यहोवा आफ्नो विस्मयकारी शक्तिलाई एकदमै सही सन्तुलनमा राख्नुहुन्छ। (याकूब १:१७; व्यवस्था ३२:४) उहाँ हाम्रो शिक्षक हुनुहुन्छ! यसकारण आउनुहोस्, हाम्रा जन्मजात वरदानहरू वा गुणलाई विकास गर्न र त्यसलाई बुद्धिमानी, विनम्रता र विनयसाथ सन्तुलनमा राख्न उहाँबाट सिक्नुका साथै कडा मेहनत गरौं। त्यसो गऱ्यौं भने, हामी अरूका लागि ठूलो आशिष् साबित हुनेछौं!
[पृष्ठ २७-मा भएका चित्रहरू]
प्रार्थनापूर्वक गरिएको अध्ययन र यहोवामाथिको भरोसामा आध्यात्मिक उन्नति निर्भर हुन्छ
[पृष्ठ २९-मा भएको चित्र]
अरूप्रतिको चासोमा नम्रता पनि छ भने त्यो आशिष् साबित हुन्छ
[पृष्ठ २६-मा भएको चित्रको स्रोत]
Courtesy of The Mariners’ Museum, Newport News, VA