दुर्गुणले भरिएको संसारमा सद्गुणी हुने
“गनगनाइ र वाद-विवाद नगरीकन सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिं निष्खोट र सुधा भएर टेढ़ा र बरालिएको पुस्ताका बीचमा परमेश्वरका निर्दोषी सन्तान होओ, जसको बीचमा तिमीहरू संसारमा ज्योतिहरूझैं देखा पर्दछौ।”—फिलिप्पी २:१४, १५.
१, २. यहोवाले कनानीहरूलाई विनाश गर्ने आज्ञा किन दिनुभयो?
यहोवाको आज्ञाले सम्झौता गर्ने कुनै छुट दिंदैन। प्रतिज्ञा गरेको देशमा प्रवेश गर्नै लागेका इस्राएलीहरूलाई अगमवक्ता मोशाले यसो भने: “परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नु।”—व्यवस्था ७:२; २०:१७.
२ यहोवा दयालु परमेश्वर हुनुहुन्छ भने उहाँले कनानका बासिन्दाहरूको विनाश गर्ने आज्ञा किन दिनुभयो? (प्रस्थान ३४:६) ‘नत्रता कनानीहरूले आफ्ना देवताहरूका पूजामा गर्ने सबै घृणित काम इस्राएललाई सिकाएर यहोवा परमेश्वरको विरुद्धमा पाप गर्नलाउनेछन्।’ (व्यवस्था २०:१८) मोशाले यसो पनि भने: “यी जातिहरूको दुष्टताले गर्दानै परमप्रभुले तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनुहुन्छ।” (व्यवस्था ९:४) कनानीहरू दुर्गुणका प्रत्यक्ष उदाहरण थिए। तिनीहरूको उपासनाको चिनारी नै यौन भ्रष्टता र मूर्तिपूजा थियो। (प्रस्थान २३:२४; ३४:१२, १३; गन्ती ३३:५२; व्यवस्था ७:५) हाडनाताकरनी, गुदमैथुन र पशुगमन ‘कनानको रीति-थिति र विधिहरू’ थिए। (लेवी १८:३-२५) निर्दोष बालबच्चाहरू क्रूरतापूर्वक झूटा देवहरूलाई बलि चढाइन्थ्यो। (व्यवस्था १८:९-१२) त्यसकारण यहोवाले आफ्ना जनहरूको शारीरिक, नैतिक तथा आध्यात्मिक हितको लागि यी राष्ट्रहरूको अस्तित्व मात्र पनि खतरा ठान्नु कुनै अचम्मको कुरा होइन!—प्रस्थान ३४:१४-१६.
३. इस्राएलीहरूले कनानका बासिन्दाहरूलाई निर्मूल पार्ने परमेश्वरको आज्ञा पूर्णतया पालन गर्न नसक्दा के भयो?
३ परमेश्वरको आज्ञाअनुरूप कनानका बासिन्दाहरूलाई पूर्णतया निर्मूल गर्न नसकेको हुँदा इस्राएलीहरू प्रतिज्ञा गरेको देशमा आबाद गरिसकेपछि पनि त्यहाँ थुप्रै कनानीहरू थिए। (न्यायकर्त्ता १:१९-२१) समय बित्दै जाँदा कनानीहरूको असर बिस्तारै देखा पर्न थाल्यो र यसो भन्न सकिन्थ्यो: “[इस्राएलीहरूले] उहाँ [यहोवाका] धर्म-विधिहरू र तिनीहरूका पुर्खाहरूसँग गरेका करार औ तिनीहरूलाई दिएको गंभीर चेताउनीलाई त्यागे, र तिनीहरू बेकामका मूर्तिहरूपछि लागे, र तिनीहरू आफै पनि बेकामका भए। तिनीहरूले आफ्ना वरिपरि भएका जातिहरूको नकल गरे। त्यो काम परमप्रभुले तिनीहरूलाई मनाई गर्नुभएको थियो।” (२ राजा १७:१५) हो, परमेश्वरले जुन जुन कारणको लागि कनानीहरूलाई निर्मूल पार्ने आज्ञा दिनुभएको थियो, पछि समय बित्दै जाँदा इस्राएलीहरूले तिनै कामहरू गर्न थाले। मूर्तिपूजा, छाडा यौन र आफ्ना बच्चाहरू बलि चढाउन समेत तिनीहरू पछि परेनन्!—न्यायकर्त्ता १०:६; २ राजा १७:१७; यर्मिया १३:२७.
४, ५. (क) अविश्वासी इस्राएल र यहूदालाई के भयो? (ख) फिलिप्पी २:१४, १५ मा कस्तो आग्रह गरिएको छ र कस्ता प्रश्नहरू खडा हुन्छन्?
४ यसर्थ अगमवक्ता होशेले यस्तो घोषणा गरे: “हे इस्राएली हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्दाहरूसित परमप्रभुको विवाद छ, किनभने यस देशमा नता सत्यता, न करुणा नता परमेश्वरको ज्ञान छ। यहाँ कसम खानु, झूट बोल्नु, हत्या, चोरी र व्यभिचार गर्नु बाहेक अरू केही छैन। तिनीहरू सीमा नाघेर हत्यामाथि हत्या गर्छन्। यसैकारण यस देशले विलाप गर्नेछ, र यसमा बस्ने सबै दुर्बल हुनेछन्, र वनका जन्तु, आकाशका पक्षी औ समुद्रका माछाहरूसमेत पनि नष्ट हुनेछन्।” (होशे ४:१-३) सा.यु.पू. ७४० मा अश्शूरीहरूले इस्राएलको भ्रष्ट उत्तरी राज्यलाई तहसनहस गरे। त्यसको लगभग एक शताब्दीपछि बेबिलोनले यहूदाका अविश्वासी दक्षिणी राज्यलाई परास्त गरे।
५ आफूलाई दुर्गुणको प्रभावमा पर्न दिनु कत्तिको हानिकारक हुनसक्छ भनी यी घटनाहरूले देखाउँछन्। परमेश्वरले अधार्मिकतालाई घृणा गर्नुहुन्छ र आफ्ना जनहरूबीच त्यस्ता कार्यहरू हुन दिनुहुनेछैन। (१ पत्रुस १:१४-१६) हो, हामी दिनप्रतिदिन भ्रष्ट हुँदै गइरहेको “वर्त्तमान दुष्ट संसार[मा]” बाँचिरहेका छौं। (गलाती १:४; २ तिमोथी ३:१३) तैपनि, परमेश्वरको वचनले सबै मसीहीहरूलाई “निष्खोट र सुधा भएर टेढ़ा र बरालिएको पुस्ताका बीचमा परमेश्वरका निर्दोषी सन्तान” हुनसक्ने र “संसारमा ज्योतिहरूझैं देखा” पर्नसक्ने मार्ग अपनाउन आग्रह गर्छ। (फिलिप्पी २:१४, १५) तर हामी दुर्गुणले भरिएको संसारमा कसरी सद्गुणी हुनसक्छौं? के यसो गर्नु साँच्चै सम्भव छ र?
दुर्गुणले भरिएको रोमी संसार
६. प्रथम शताब्दीका मसीहीहरूले सद्गुणी हुने प्रयास गर्न किन चुनौती सामना गर्नुपऱ्यो?
६ प्रथम शताब्दीका मसीहीहरूले सद्गुणी हुने चुनौतीको सामना गरे किनभने रोमी समाज दुर्गुणमा डुबेको थियो। आफ्ना समकालीनहरूबारे रोमी दार्शनिक सेनेकाले यसो भने: “मानिसहरू दुष्टताको होडबाजीमा तँछाडमछाड गर्छन्। एकातिर खराब गर्ने इच्छा दिनप्रतिदिन तीव्र हुँदै गइरहेको छ भने अर्कोतिर खराब गर्न कुनै डरभर छैन।” तिनले रोमी समाजलाई “जंगली जनावरहरूको समुदायसित” तुलना गरे। त्यसकारण, रोमीहरूले मनोरञ्जनको लागि नरभक्षी प्रतिस्पर्धा तथा छाडा प्रहसनहरूबाट आनन्द लिन खोज्नु कुनै अचम्मको कुरा होइन।
७. सा.यु. प्रथम शताब्दीका थुप्रै मानिसहरूका सामान्य दुर्गुणहरू पावलले कसरी वर्णन गरे?
७ प्रेरित पावलले शायद प्रथम शताब्दीका मानिसहरूको पतित आचरणलाई ध्यानमा राख्दै यी कुराहरू लेखेको हुनुपर्छ: “परमेश्वरले तिनीहरूलाई तिनीहरूका नीच अभिलाषाको निम्ति छोड़िदिनुभयो, किनभने तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविकमा परिवर्त्तन गरे, र त्यसरीनै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर कामुकतामा एक दोस्रोतिर जलेर पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नो कसूरको उचित दण्ड पाए।” (रोमी १:२६, २७) अशुद्ध शारीरिक इच्छाहरू पूरा गर्न तल्लीन रोमी समाजमा दुर्गुणको कुनै कमी थिएन।
८. युनानी तथा रोमी समाजमा अक्सर केटाकेटीहरूको कसरी नाजायज फाइदा उठाइन्थ्यो?
८ रोमीहरूबीच समलैंगिकता कत्तिको व्यापक थियो भनी इतिहासले प्रस्ट बताउँदैन। तर निस्सन्देह, तिनीहरू युनानी पूर्वाधिकारीहरूबाट प्रभावित भए जसबीच समलैंगिकता सामान्य प्रचलन थियो। गुरु-चेलाको नाउँमा ठूलाहरूले साना केटाहरूलाई आफ्नो निगरानीमा लिनु सामान्य कुरा थियो तर प्रायजसो त्यस्ता सम्बन्धले युवाहरूलाई भ्रष्ट यौन आचरणमा संलग्न गराउँथ्यो। यस्तो दुर्गुण र केटाकेटीहरूप्रति गरिने दुर्व्यवहारको पछाडि पक्कै पनि शैतान र त्यसका प्रेतहरू थिए।—योएल ३:३; यहूदा ६, ७.
९, १०. (क) पहिलो कोरिन्थी ६:९, १० ले विभिन्न प्रकारका दुर्गुणहरूको कसरी भर्त्सना गरे? (ख) कोरिन्थको मण्डलीका केही मसीहीहरू पहिला कस्ता थिए र तिनीहरूले कस्तो परिवर्तन गरे?
९ ईश्वरीय प्रेरणा पाएर पावलले कोरिन्थका मसीहीहरूलाई यसो भने: “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए, तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:९-११.
१० यसप्रकार पावलको प्रेरित पत्रले यौन अनैतिकताको भर्त्सना गर्दै “व्यभिचारीहरू” “परमेश्वरको राज्यको हकदार हुनेछैन” भनी प्रस्ट पाऱ्यो। तथापि, थुप्रै दुर्गुणहरू सूचीबद्ध गरेपछि पावलले भने: “तिमीहरूमा कोही कोही यस्तै थिए, तर . . . पखालिएका छौ।” गलत काम गर्नेहरू पनि परमेश्वरको मदत पाएर उहाँको नजरमा स्वच्छ हुनु सम्भव थियो।
११. प्रथम शताब्दीका मसीहीहरू त्यस्तो दुष्ट वातावरणमा पनि कसरी सद्गुणी हुनसके?
११ हो, प्रथम शताब्दीमा संसार दुर्गुणले भरिएको भए तापनि मसीही सद्गुण फस्टायो। ख्रीष्टमा विश्वास गर्नेहरू ‘मनको परिवर्त्तनले बदलिए।’ (रोमी १२:२) “अघिअघिको आचरण” त्यागेर तिनीहरू “मनको आत्मामा नयाँ” भए। यसरी तिनीहरूले संसारका दुर्गुणहरूबाट अलग्गै बसेर ‘परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको नयाँ मानिसलाई धारण गरे।’—एफिसी ४:२२-२४.
दुर्गुणले भरिएको वर्तमान संसार
१२. संसारमा १९१४ देखि कस्तो परिवर्तन भएको छ?
१२ आज नि? अहिले जत्ति दुर्गुण त पहिले कहिल्यै थिएन। विशेषगरि १९१४ देखि विश्वव्यापी तवरमा नैतिक पतन भएको छ। (२ तिमोथी ३:१-५) सद्गुण, नैतिकता, असल नाउँ र नीतिनियमसम्बन्धी परम्परागत विचारधाराहरू त्यागेर थुप्रै मानिसहरू आत्मकेन्द्रित भएका छन् अनि “तिनीहरूले सम्पूर्ण नैतिक चेतना गुमाइसकेका छन्।” (एफिसी ४:१९, NW) न्युजवीक पत्रिकाले यसो भन्यो: “हामी नैतिक सापेक्षवादको युगमा बाँचिरहेका छौं” र यस सर्वव्याप्त अनैतिक वातावरणले “व्यक्तिगत रुचि, भावनात्मक वा सांस्कृतिक छनौटजस्ता विषयहरूमा सही र गलतको परिभाषालाई नै धमिलो बनाएको छ।”
१३. (क) अहिलेको अधिकांश मनोरञ्जनले दुर्गुणलाई कसरी बढावा दिन्छ? (ख) अनुचित मनोरञ्जनले व्यक्तिविशेषमाथि कस्तो नराम्रो असर पार्नसक्छ?
१३ प्रथम शताब्दीमा जस्तै अहिले पनि पतित मनोरञ्जन व्याप्त छ। टेलिभिजन, रेडियो, चलचित्र तथा भिडिओहरू मार्फत अटुट रूपले यौन प्रवृत्त विषयवस्तु प्रस्तुत गरिन्छ। कम्प्युटर नेटवर्कलाई समेत दुर्गुणले असर गरेको छ। एउटा विश्वविद्यालयको प्रतिवेदनअनुसार कम्प्युटरद्वारा प्रचारप्रसार गरिने अश्लील कुराहरू “कम्प्युटर नेटवर्क प्रयोग गर्ने मानिसहरूका निम्ति मनोरञ्जनको एउटा प्रमुख साधन भएको छ।” यी सबैले कस्तो असर पारिरहेको छ? एक अखबार स्तम्भकार यसो भन्छन्: “हाम्रो लोकप्रिय संस्कृति रक्तपात, अत्याचार र छाडा यौनमा चुर्लुम्मै डुबेपछि हामीलाई ती कुराहरू सामान्य लाग्न थाल्छ। हामी तिनै कुराहरूमा लट्ठिन्छौं। भ्रष्टता झन् झन् सामान्य हुँदै जान्छ किनभने यस्ता कुराहरू हामीलाई केही अनौठो लाग्दैन।”—१ तिमोथी ४:१, २ तुलना गर्नुहोस्।
१४, १५. संसारभरि यौन नैतिकतामा ह्रास आइरहेको छ भनी कुन कुराले प्रमाणित गर्छ?
१४ द न्यु योर्क टाइम्स-को यस प्रतिवेदनलाई पनि ध्यान दिनुहोस्: “विवाह नगरी सँगै बस्नु आजभन्दा २५ वर्षअघि असाध्यै निन्दनीय ठानिन्थ्यो भने अब अत्यन्तै स्वीकार्य हुन थालिसकेको छ। सन् १९८० देखि १९९१ सम्मको [संयुक्त राज्यको] तथ्यांक विचार गर्ने हो भने विवाह नगरी सँगै बस्न रुचाउने जोडीहरूको संख्यामा ८० प्रतिशत वृद्धि भयो।” केवल उत्तरी अमेरिकामा मात्र यसो भइरहेको होइन। एसियावीक पत्रिका यसो भन्छ: “[एसिया] महादेशभरि नै एउटा सांस्कृतिक विवाद उत्पन्न भइरहेको छ। विवादको विषय हो, यौन स्वतन्त्रता छान्ने वा परम्परागत मान्यता तथा मूल्यहरूमै अडिग रहने। परम्परागत मान्यताहरू बदल्न निकै दबाब आइरहेको छ।” तथ्यांकहरूअनुसार थुप्रै मुलुकमा व्यभिचार तथा विवाहपूर्व यौनसम्बन्धजस्ता कुराहरू समाजमा स्वीकृत हुन थालिरहेका छन्।
१५ हाम्रो समयमा शैतानी गतिविधि तीव्र हुनेछ भनी बाइबलले अगमवाणी गरेको थियो। (प्रकाश १२:१२) त्यसकारण अहिले दुर्गुण अचाक्ली वृद्धि भएको देखेर हामी छक्क पर्नुपर्ने कुनै कारण छैन। उदाहरणका लागि, केटाकेटीहरूप्रति गरिने यौन दुर्व्यवहारले सीमै नाघेको छ।a संयुक्त राष्ट्र संघीय बाल कोषको प्रतिवेदनअनुसार “आर्थिक लाभको लागि केटाकेटीहरूप्रति यौन दुर्व्यवहार गरिने हुँदा संसारको जुनसुकै भागका केटाकेटीहरू पनि खतरामा परेका छन्।” वर्षेनी “विश्वभरि १० लाखभन्दा बढी केटाकेटीहरूलाई जबरजस्ती बाल वेश्यावृत्तिमा लगाइन्छ, यौन वस्तुहरूको रूपमा देहव्यापार गरिन्छ। साथै, बाल अश्लील विषयवस्तुमा प्रयोग गरिन्छ।” समलैंगिकता पनि सामान्य भइरहेको छ। केही राजनीतिज्ञ तथा धार्मिक नेताहरू यसलाई “परम्परागत जीवनशैलीभन्दा भिन्न जीवनशैलीको रूपमा” बढावा दिन पछि परेका छैनन्।”
संसारका दुर्गुणहरू तिरस्कार गर्ने
१६. यौन नैतिकताबारे यहोवाका साक्षीहरू कस्तो अडान लिन्छन्?
१६ छाडा यौन नैतिकताका समर्थकहरूलाई यहोवाका साक्षीहरू समर्थन गर्दैनन्। तीतस २:११, १२ यसो भन्छ: “परमेश्वरको मुक्ति दिने अनुग्रह सबै मानिसहरूलाई प्रकट भएको छ। यस मनसायले, कि नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर हामीले यस वर्त्तमान युगमा आत्मसंयम, धार्मिक र भक्तिको जीवनमा रहनुपर्दछ भन्ने हामीलाई शिक्षा” दिन्छ। हो, हामी विवाहपूर्व यौनसम्बन्ध, जारी र समलिंगी कार्यजस्ता दुर्गुणहरूलाई त्यसरी नै घृणा गर्छौं।b (रोमी १२:९; एफिसी ५:३-५) पावलले यस्तो सल्लाह दिए: “प्रभुको नाउँ लिने जत्ति हरेक अधार्मिकताबाट दूर रहोस्।”—२ तिमोथी २:१९.
१७. मद्यपदार्थहरूप्रति साँचो मसीहीहरू कस्तो दृष्टिकोण राख्छन्?
१७ संसारले सानातिना दुर्गुण ठान्ने कुराहरूलाई पनि साँचो मसीहीहरू तिरस्कार गर्छन्। उदाहरणका लागि, थुप्रै मानिसहरू अचेल मद्यपानको दुर्व्यसनलाई रमाइलो ख्यालठट्टाजस्तो ठान्छन्। तर यहोवाका जनहरू एफिसी ५:१८ को यस सल्लाह पालन गर्छन्: “दाख-मद्यले नमात्तिओ, जसमा कामोद्दीपन हुन्छ, तर आत्माले भरिपूर्ण भएका होओ।” मसीहीले मद्यपान गर्दा अचाक्ली गर्दैनन्।—हितोपदेश २३:२९-३२.
१८. परिवारका सदस्यहरूप्रतिको व्यवहारमा यहोवाका सेवकहरूलाई बाइबल सिद्धान्तहरूले कसरी डोऱ्याउँछ?
१८ यहोवाका सेवकहरूको हैसियतमा हामी संसारका कतिपय मानिसहरूको जस्तो दृष्टिकोण पनि राख्दैनौं। तिनीहरू भन्ठान्छन्, आफ्नो पति या पत्नी वा छोराछोरीलाई चर्को स्वरले कराएर चिच्याएर गाली गर्नु वा जथाभावी शब्दहरू प्रयोग गर्नु गलत होइन। सद्गुणी हुन कटिबद्ध हुँदै मसीही पति तथा पत्नीहरू पावलको यस सल्लाह पालन गर्न प्रयास गर्छन्: “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्। औ जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफिसी ४:३१, ३२.
१९. व्यापारिक संसारमा दुर्गुण कत्तिको व्याप्त छ?
१९ बेइमानी, जालसाजी, झूट, व्यापारमा खिचातानी र चोरी आज सामान्य भइसकेका छन्। सी एफ ओ नामक व्यापारिक पत्रिकाको एउटा लेखमा यसो भनिएको थियो: “जम्मा ४,००० कर्मचारीहरूको सर्वेक्षण लिइयो . . . र त्यसमध्ये ३१ प्रतिशतले गत वर्ष ‘गम्भीर दुराचरण’ भोगेका वा प्रत्यक्ष देखेका थिए।” त्यस दुराचरणमा झूटो बोल्ने, गलत विवरण दिने, यौन दुर्व्यवहार र चोरी समावेश थियो। हामी यहोवाको नजरमा नैतिक तवरमा स्वच्छ रहन चाहन्छौं भने त्यस्तो आचरणमा संलग्न हुनु हुँदैन र व्यापारिक लेनदेनमा इमानदार हुनुपर्छ।—मीका ६:१०, ११.
२०. मसीहीहरू “रूपियाँ पैसाको प्रेम[बाट]” किन अलग बस्नुपर्छ?
२० व्यापारिक कारोबार गरेर ठूलो धनराशि हात पारेपछि परमेश्वरको सेवा गर्न बढी समय पाउनेछु भन्ने सोचाइ राख्ने एक जना मानिसलाई के भयो, ध्यान दिनुहोस्। निकै मुनाफा हुन्छ भनी बढाइचढाइ गर्दै तिनले अरूलाई पनि आफूसित मिलेर लगानी गर्न लोभ्याए। आफूले सोचेजस्तो मुनाफा नहुँदा तिनी असाध्यै आतुर भए अनि धनराशि क्षतिपूर्ति गर्न अरूले आफूलाई सुम्पेको पैसा चोरे। तिनको काम तथा अपश्चात्तापी मनोवृत्तिले गर्दा तिनलाई मसीही मण्डलीबाट बहिष्कार गरियो। बाइबलको चेताउनी शत प्रतिशत साँचो छ: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमोथी ६:९, १०.
२१. संसारमा प्रभुत्व जमाएका मानिसहरूको आचरण सामान्यतया कस्तो हुन्छ तर मसीही मण्डलीमा जिम्मेवार ओहदामा बसेकाहरूको व्यवहार कस्तो हुनुपर्छ?
२१ संसारमा सामर्थ्य तथा हैकम जमाउने मानिसहरूसित प्रायजसो सद्गुणको अभाव हुन्छ। हो, ‘शक्तिले मानिसलाई भ्रष्ट पार्छ।’ (उपदेशक ८:९) केही मुलुकहरूका न्यायाधीश, प्रहरी तथा राजनीतिज्ञहरू घूस खाएर वा अन्य प्रकारका भ्रष्टाचारमा लागेर नै आफ्नो जीविका चलाउँछन्। तथापि, मसीही मण्डलीका अगुवाहरू सद्गुणी हुनुपर्छ र अरूमाथि हैकम चलाउनु हुँदैन। (लूका २२:२५, २६) प्राचीन तथा सेवकाई सेवकहरू “पैसाको लोभले” सेवा गर्ने गर्दैनन्। व्यक्तिगत लाभलाई विचार गरेर जथाभावी निर्णय गर्ने, कुरा बंग्याउने वा प्रभाव जमाउने झुकाउबाट तिनीहरू मुक्त हुनुपर्छ।—१ पत्रुस ५:२; प्रस्थान २३:८; हितोपदेश १७:२३; १ तिमोथी ५:२१.
२२. यसपछिको लेखले कुन कुरा छलफल गर्नेछ?
२२ सरसरती हेर्ने हो भने, दुर्गुणले भरिएको यस संसारमा सद्गुणी हुने चुनौती सामना गर्न मसीहीहरू सफल भएका छन्। यद्यपि, सद्गुणी हुनु भनेको दुष्टताबाट अलग बस्नु मात्र होइन। सद्गुण खेती गर्न वास्तवमा कुन कुराको खाँचो पर्छ, यसबारे अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a अक्टोबर ८, १९९३ ब्यूँझनुहोस्!-मा (अंग्रेजी) प्रकाशित “तपाईंका छोराछोरीहरूलाई जोगाउनुहोस्!” श्रृंखलाका लेखहरू हेर्नुहोस्।
b पहिले पहिले समलैंगिक कार्यमा लागेका व्यक्तिहरूले पनि प्रथम शताब्दीका केही मानिसहरूले जस्तै आफ्नो आचरण बदल्नसक्छन्। (१ कोरिन्थी ६:११) यससम्बन्धी मदतकारी जानकारी अप्रिल-जून, १९९५ को ब्यूँझनुहोस्! पृष्ठ २३-२५ मा प्रस्तुत गरिएको थियो।
पुनरावृत्तिका लागि बुँदाहरू
◻ यहोवाले कनानीहरूको विनाश गर्ने आज्ञा किन दिनुभयो?
◻ प्रथम शताब्दीमा कस्ता दुर्गुणहरू सामान्य थिए र मसीहीहरू त्यस्तो वातावरणमा कसरी सद्गुणी हुनसके?
◻ यस संसारमा १९१४ देखि व्यापक तवरमा नैतिक ह्रास भइरहेको छ भन्ने के प्रमाण छ?
◻ यहोवाका जनहरूले कस्ता सामान्य दुर्गुणहरू तिरस्कार गर्नुपर्छ?
[पृष्ठ ९-मा भएको चित्र]
प्रथम शताब्दीका मसीहीहरू दुर्गुणले भरिएको संसारमा बसे तापनि सद्गुणी थिए
[पृष्ठ १०-मा भएको चित्र]
कम्प्युटर नेटवर्कहरूमा पनि दुर्गुण घुसिसकेको छ र यस मार्फत जवानलगायत अरू थुप्रैले अश्लील विषयवस्तुहरू सजिलै पाइरहेका छन्
[पृष्ठ १२-मा भएको चित्र]
मसीहीहरू सद्गुणी हुनुपर्छ, अरूको बेइमान कर्तुतहरू नक्कल गर्ने बेइमानहरू हुनु हुँदैन