“एउटाले अर्कोलाई क्षमा गर”
“एउटाले अर्कोलाई सहेर . . . एउटाले अर्कोलाई क्षमा गर।”—कलस्सी ३:१३.
१. (क) पत्रुसले अरूलाई “सातपल्टसम्म” क्षमा दिने सुझाउ दिंदा तिनलाई आफू असाध्यै ठूलो मनको भएँजस्तो किन लागेको हुनुपर्छ? (ख) हामीले “सात गुणा सत्तरीपल्टसम्म” क्षमा गर्नुपर्छ भनेर येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो?
“हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरुँ? के सात पल्टसम्म?” (मत्ती १८:२१) यस्तो सुझाउ दिंदा पत्रुसलाई आफू असाध्यै ठूलो मनको भएँजस्तो लागेको हुनुपर्छ। त्यतिबेला रब्बीहरूको परम्पराअनुसार एउटै दोषको लागि तीन चोटिभन्दा बढी क्षमा दिन मिल्दैनथियो।a येशूले यस्तो जवाफ दिनुहुँदा पत्रुस कत्तिको छक्क परे होलान्, कल्पना गर्नुहोस् त: “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरीपल्टसम्म”! (मत्ती १८:२२) सात गुणा सत्तरी भनेको “असंख्य चोटि” भन्नु बराबर थियो। येशूको दृष्टिकोणमा मसीहीले अरूलाई यति नै पटक क्षमा दिनुपर्छ भन्ने कुनै सीमा छैन।
२, ३. (क) कस्ता परिस्थितिहरूमा क्षमा गर्न गाह्रो लाग्नसक्छ? (ख) अरूलाई क्षमा गर्नुमा हाम्रै भलाइ छ भनेर हामी किन निर्धक्क हुनसक्छौं?
२ तथापि, त्यो सल्लाह पालन गर्न सधैं सजिलो हुँदैन। हामीमध्ये अन्याय नभोग्ने को छ र? हुनसक्छ, कसैले तपाईंलाई विश्वासघात गऱ्यो। (हितोपदेश ११:१३) घनिष्ठ मित्रको अविवेकी वचनले तपाईंलाई ‘तरवारले’ जस्तै घोचेको होला। (हितोपदेश १२:१८) आफूले माया वा भरोसा गरेको व्यक्तिको दुर्व्यवहारले तपाईंको असाध्यै चित्त दुखेको हुनसक्छ। यस्ता घटनाहरू हुँदा स्वाभाविकतः रीस उठ्नसक्छ। हाम्रो चित्त दुखाउने व्यक्तिसित कुरै नगरूँ, हुन्छ भने त उसलाई चटक्कै छोडूँ जस्तो लाग्ला। उसलाई क्षमा दिनु भनेको आफूलाई चोट पुऱ्याउने व्यक्तिलाई यत्तिकै उम्कन दिनु जस्तो लाग्ला। यद्यपि, मनमा द्वेष बढाउँदा हाम्रो आफ्नै हानि हुन्छ।
३ त्यसकारण, येशूले “सात गुणा सत्तरीपल्टसम्म” क्षमा गर्न सिकाउनुहुन्छ। निस्सन्देह, उहाँका शिक्षाहरूले हामीलाई कहिल्यै हानि गर्नेछैनन्। उहाँको शिक्षाको स्रोत यहोवा हुनुहुन्थ्यो जसले ‘हाम्रै फायदाको निम्ति सिकाउनुहुन्छ।’ (यशैया ४८:१७; यूहन्ना ७:१६, १७) त्यसकारण, अरूलाई क्षमा गर्दा निश्चय पनि हाम्रै भलाइ हुन्छ। हामीले किन क्षमा दिनुपर्छ र कसरी क्षमा दिनसक्छौं भनी छलफल गर्नुअघि क्षमा दिनु भनेको के हो, त्यो स्पष्ट पारे बेस होला। क्षमाको अर्थ राम्ररी बुझेका छौं भने अरूले चित्त दुखाउँदा क्षमा दिनसक्छौं वा सक्दैनौं, त्यसले फरक पार्नसक्छ।
४. अरूलाई क्षमा दिनुको अर्थ के होइन र क्षमालाई कसरी परिभाषित गरिएको छ?
४ अरूले चित्त दुखाउँदा क्षमा दिनुको अर्थ तिनीहरूले जे गरे, त्यसप्रति समर्थन जनाएको वा त्यसलाई हल्कासित लिएको होइन। नता अरूलाई हामीबाट नाजायज फाइदा उठाउने मौका नै दिएको हो। आखिर, यहोवाले हामीलाई क्षमा दिनुहुँदा उहाँले पनि त हाम्रा पापहरू हल्का पारिरहनुभएको होइन। उहाँले पापी मानिसहरूलाई आफ्नो दयाको नाजायज फाइदा उठाउन दिनुहुने छैन। (हिब्रू १०:२९) धर्मशास्त्रमा अन्तरदृष्टि-अनुसार (अंग्रेजी) क्षमा भनेको “गल्ती गर्ने व्यक्तिलाई माफी दिनु; गल्तीको कारण उसप्रतिको द्वेष हटाउनु र क्षतिपूर्तिको कुनै दाबी नगर्नु” हो। (खण्ड १, पृष्ठ ८६१)b अरूलाई क्षमा गर्ने सन्दर्भमा बाइबलले हामीलाई ठोस कारणहरू दिन्छ।
अरूलाई किन क्षमा दिने?
५. एफिसी ५:१ मा अरूलाई क्षमा दिने सन्दर्भमा कुन महत्त्वपूर्ण कारण बताइएको छ?
५ अरूलाई क्षमा दिनुपर्ने एउटा महत्त्वपूर्ण कारण एफिसी ५:१ मा उल्लेख गरिएको छ: “यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।” हामी कुन अर्थमा “परमेश्वरका देखा-सिकी गर्नेहरू” हुनुपर्छ? “यसकारण” भन्ने शब्दले अघिल्लो पदसित कुरा गाँस्छ। त्यहाँ यसो भनिएको छ: “जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफिसी ४:३२) हो, क्षमा गर्ने सन्दर्भमा हामीले परमेश्वरको अनुकरण गर्नुपर्छ। सानो केटो उसको बुबाजस्तै हुन खोजेझैं, यहोवाले असाध्यै माया गर्नुहुने छोराछोरीको हैसियतमा हामीले पनि उहाँले जस्तै क्षमा दिन चाहनुपर्छ। यहोवाले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुँदा आफ्ना पार्थिव छोराछोरीहरू एकअर्कालाई क्षमा गरेर उहाँजस्तै हुन खोजेको देख्न पाउँदा उहाँ कत्तिको खुशी हुनुहुन्छ होला!—लूका ६:३५, ३६; तुलना गर्नुहोस् मत्ती ५:४४-४८.
६. यहोवा र हामीले दिने क्षमाबीच कसरी अकासजमिनको फरक छ?
६ हुन त हो, यहोवाले जस्तो हामी कहिल्यै क्षमा दिन सक्दैनौं। त्यसैकारण त हामीले एकअर्कालाई अझ बढी क्षमा गर्नुपर्छ। विचार गर्नुहोस्: यहोवा र हामीले गर्ने क्षमाबीच अकासजमिनको फरक छ। (यशैया ५५:७-९) हाम्रो विरुद्ध पाप गर्नेहरूलाई क्षमा गर्दा हामीले एउटा कुरा कहिल्यै बिर्संदैनौं। त्यो हो, हामीले पनि कुनै न कुनै दिन तिनीहरूसित क्षमा माग्नुपर्ने हुन्छ। क्षमा दिने र लिने दुवै मानिस पापीहरू हुन्। तथापि, यहोवाले दिनुहुने क्षमा सधैं एकतर्फी हुन्छ। उहाँले हामीलाई क्षमा दिनुहुन्छ तर हामीले उहाँलाई कहिल्यै क्षमा दिनुपर्ने छैन। पाप नगर्नुहुने यहोवाले त हामीलाई त्यस्तो मायालु ढंगमा पूर्णतया क्षमा दिन सक्नुहुन्छ भने के हामी पापी मानिसहरूले एकअर्कालाई क्षमा गर्ने प्रयास गर्नु पर्दैन र?—मत्ती ६:१२.
७. दया देखाउन मिल्दामिल्दै पनि हामीले अरूलाई क्षमा गर्न इन्कार गऱ्यौं भने यहोवासितको हाम्रो सम्बन्धमा यसले कस्तो नराम्रो असर पार्नसक्छ?
७ दया देखाउन मिल्दामिल्दै पनि हामीले अरूलाई क्षमा गर्न इन्कार गऱ्यौं भने परमेश्वरसितको हाम्रो सम्बन्धमा अत्यन्तै नराम्रो असर पर्नसक्छ। हामीले एकअर्कालाई क्षमा गर भनी यहोवाले आग्रह गर्नुहुने मात्र होइन, हामीले क्षमा गरेको पनि उहाँ आशा गर्नुहुन्छ। धर्मशास्त्रअनुसार, हामी यसकारणले पनि एकअर्कालाई क्षमा गर्छौं कि पछि खाँचो पर्दा यहोवाले हामीलाई क्षमा दिनुहुनेछ वा उहाँले हामीलाई क्षमा दिनुभएको छ। (मत्ती ६:१४; मर्कूस ११:२५; एफिसी ४:३२; १ यूहन्ना ४:११) अरूलाई क्षमा गर्ने ठोस कारण हुँदाहुँदै पनि क्षमा गर्न चाहेनौं भने यहोवाबाट क्षमा पाउने आशा गर्नसक्छौं र?—मत्ती १८:२१-३५.
८. अरूलाई क्षमा दिंदा किन हाम्रै भलाइ हुन्छ?
८ यहोवाले आफ्ना जनहरूलाई “तिनीहरूले हिंड़नुपर्ने असल चाल” सिकाउनुहुन्छ। (१ राजा ८:३६) एकअर्कालाई क्षमा गर्ने निर्देशन दिनुहुँदा उहाँले हाम्रो सर्वोत्तम हित विचार गर्दै हुनुहुन्छ भनेर निर्धक्क हुनसक्छौं। यसैकारण त बाइबल “क्रोधलाई शान्त हुन देओ” भन्छ। (रोमी १२:१९, NW) द्वेष एउटा गह्रौं भारी हो। द्वेषलाई मनमा खेलाइरहँदा हाम्रो सम्पूर्ण सोचाइ त्यसैमा केन्द्रित हुन्छ, शान्ति हरण हुन्छ र हाम्रो आनन्दमा बाधा पुऱ्याउँछ। लामो समयसम्म रीसाइरह्यौं भने डाहले जस्तै हाम्रो स्वास्थ्यमा त्यसले नराम्रो असर पार्नसक्छ। (हितोपदेश १४:३०) आफू एकातिर यसरी उकुसमुकुस भइरहेको बेला अर्कोतिर गल्ती गर्ने व्यक्तिलाई भने हाम्रो यस्तो पीडाबारे अत्तोपत्तो नहुनसक्छ! हामीले गल्ती गर्नेको मात्र होइन तर आफ्नै भलाइको लागि खुला मनले क्षमा दिनुपर्छ भनेर हाम्रा मायालु सृष्टिकर्तालाई थाह छ। निस्सन्देह, अरूलाई क्षमा दिनेबारे बाइबलको सल्लाह हामी ‘हिंड्नुपर्ने असल चाल’ हो।
“एउटाले अर्कोलाई सहेर”
९, १०. (क) कस्ता परिस्थितिहरूमा औपचारिक ढंगमा क्षमा दिइरहनु खाँचो पर्दैन? (ख) “एक अर्कालाई सहेर” भन्ने अभिव्यक्तिले के बुझाउँछ?
९ शारीरिक चोटपटक भन्नाले सानोतिनो घाउदेखि लिएर गहिरो चोटसम्म हुनसक्छ र सबैलाई एकैनासे स्याहारसुसार गर्नुपर्दैन। मानसिक चोट पनि त्यस्तै हो, कतिपय चोट असाध्यै गहिरो हुन्छ त कति सामान्य हुन्छन्। अरूसित हेलमेल गर्दा आइपर्ने हरेक सानोतिनो चोटलाई पनि के हामीले विवादको विषय बनाउनुपर्छ र? सानातिना अप्ठ्यारा, उपेक्षा र चित्त नबुझेका कुराहरू त भइ नै रहन्छन् र त्यस्ताहरूलाई क्षमा माग्नु वा दिनु खाँचो नहुनसक्छ। सानो सानो कुरामा पनि खिन्न भएर अरूबाट पन्छिने र अर्को व्यक्तिले माफी मागेपछि मात्र शिष्टतापूर्वक व्यवहार गर्छु भनेर एकोहोरो जिद्दी गर्ने व्यक्ति भनी नाउँ कमाएका छौं भने अरूलाई हामीसित व्यवहार गर्दा असाध्यै होशियार हुन वा घनिष्ठ नहुन बाध्य बनाइरहेका हुनसक्छौं!
१० त्यसो हुनुको साटो “व्यवहारिक व्यक्ति भनेर नाउँ कमाउनु” बेस हो। (फिलिप्पी ४:५, फिलिप्स) काँधमा काँध मिलाएर सेवा गरिरहेका असिद्ध प्राणीहरूको हैसियतमा हामीले एकअर्कालाई बेलाबखतमा रीस उठाउनु स्वाभाविकै हो। कलस्सी ३:१३ हामीलाई यस्तो सल्लाह दिन्छ: “एउटाले अर्कोलाई सहेर” बस्नुहोस्। यस अभिव्यक्तिले अरूसित धीरजी हुने, तिनीहरूको मन नपर्ने बानी वा रीसउठ्दो गुण सहने भन्ने अर्थ बुझाउँछ। त्यस्तो धीरज र संयमले हामीलाई अरूसित हेलमेल गर्दा आइपर्ने सानातिना चोटपटक, घाउहरू सहन मदत गर्छ। यसो गर्दा मण्डलीको शान्ति पनि भंग हुन पाउँदैन।—१ कोरिन्थी १६:१४.
जब घाउ गहिरो हुन्छ
११. अरूले हामी विरुद्ध पाप गर्दा तिनीहरूलाई क्षमा गर्न कुन कुराले मदत गर्नसक्छ?
११ तथापि, बाहिरबाटै देखिने अलि ठूलै चोट पुऱ्याएर अरूले हामी विरुद्ध पाप गऱ्यो भने नि? पाप त्यत्तिको गम्भीर छैन भने बाइबलको सल्लाहअनुरूप ‘एकले अर्कोलाई क्षमा गर्न’ त्यति गाह्रो नहोला। (एफिसी ४:३२) क्षमा गर्ने त्यस्तो तत्परता पत्रुसका यी प्रेरित शब्दहरूसित मेल खान्छ: “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्तछ।” (१ पत्रुस ४:८) हामी पनि पापी नै हौं भनेर सम्झ्यौं भने अरूका भूलचूकहरू बिर्सन सजिलो हुन्छ। यसरी क्षमा गर्दा हामी मनमा द्वेषलाई खेलाइरहनुको साटो मनबाट हटाउँछौं। परिणामस्वरूप, हामी विरुद्ध गल्ती गर्ने व्यक्तिसितको सम्बन्धमा स्थायी तीतोपना आउँदैन र मण्डलीको अनमोल शान्ति पनि भंग हुन दिंदैनौं। (रोमी १४:१९) शायद, समय बित्दै जाँदा हामी विरुद्ध गरेको गल्ती पनि बिर्सन थाल्छौं होला।
१२. (क) हामीलाई गहिरो चोट पुऱ्याउने व्यक्तिलाई क्षमा गर्न हामी आफै के गर्न अघि सर्नुपर्ने हुन्छ? (ख) हामीले तुरुन्तै समस्या सुल्झाइहाल्नुपर्छ भनेर एफिसी ४:२६ ले कसरी संकेत गर्छ?
१२ तर गम्भीर ढंगमा हामी विरुद्ध पाप गरेर हामीलाई गहिरो चोट पुऱ्याएको छ भने नि? उदाहरणका लागि, भरोसायोग्य साथीले असाध्यै व्यक्तिगत गोप्य कुरा अरूलाई बताइदियो। तपाईंको असाध्यै चित्त दुख्छ, लाज लाग्छ र धोका दिएको महसुस गर्नुहुन्छ। तपाईं त्यसलाई बिर्सन चाहनुहुन्छ तर बिर्सनै सक्नुहुन्न। त्यस्तो अवस्थामा समस्या सुल्झाउन तपाईं स्वयं अघि सर्नु पर्ला, शायद गल्ती गर्ने व्यक्तिसित कुरा गर्नुपर्ला। समस्या बढेर ठूलो हुनुअघि यसो गरिहाल्नु बुद्धिमानी हो। पावलले हामीलाई यस्तो जोडदार आग्रह गरे: “क्रोध गर, तर [मनमा रीस राखेर वा रीस पोखाएर] पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।” (एफिसी ४:२६) यहूदीहरूले घाम अस्ताएपछि दिन सिद्धिएको र नयाँ दिन सुरु भएको ठान्थे भन्ने तथ्यलाई ध्यानमा राख्यौं भने पावलका उक्त शब्दहरू अझ अर्थपूर्ण हुन्छन्। यसर्थ, उनले दिएको सल्लाह हो: समस्या तुरुन्तै सुल्झाइहाल्नुहोस्!—मत्ती ५:२३, २४.
१३. हामी विरुद्ध गल्ती गर्ने व्यक्तिसित कुरा गर्नुको मनसाय के हुनुपर्छ र त्यो लक्ष्य प्राप्त गर्न कुन सुझाउले मदत गर्नसक्छ?
१३ आफू विरुद्ध गल्ती गर्ने व्यक्तिसित कसरी कुरा गर्ने? पहिलो पत्रुस ३:११ ले “असल पछि लाग” भन्छ। त्यसकारण, तपाईंको मनसाय रीस पोखाउने होइन तर आफ्नो भाइसित शान्ति कायम गर्ने हुनुपर्छ। त्यसो हो भने कठोर शब्द तथा भावभंगीमा नदेखाउनु बेस। यसो गर्दा अर्को व्यक्तिले पनि त्यस्तै प्रतिक्रिया व्यक्त गर्नसक्छ। (हितोपदेश १५:१८; २९:११) साथै, असाध्यै बढाइचढाइ गरेर “तपाईंले सधैं . . . !” वा “तपाईं त कहिल्यै . . . !” जस्ता अभिव्यक्तिहरू नचलाउनुहोस्। त्यसरी बढाइचढाइ टिप्पणी गर्दा उसले झन् प्रतिरोध गर्नसक्छ। बरु, आफूलाई असाध्यै चित्त दुखेको कुरा सुल्झाउन चाहनुहुन्छ भनेर तपाईंको लबज र अनुहारले देखाओस्। जे जति भयो, त्यो तपाईंलाई कस्तो लागिरहेछ भनी खुलस्त बताउनुहोस्। अर्को पक्षलाई पनि बोल्ने मौका दिनुहोस्। उसको सबै कुरा ध्यान दिएर सुन्नुहोस्। (याकूब १:१९) यसो गर्दा के फाइदा हुन्छ? हितोपदेश १९:११ यसो भन्छ: “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” अर्को व्यक्तिको भावना र उसले जे जति गऱ्यो, त्यसको कारण बुझ्यौं भने उसप्रतिको नकारात्मक सोचाइ तथा भावना हटाउन मदत मिल्नसक्छ। शान्ति कायम गरेर त्यसलाई कायम राख्ने उद्देश्यले अघि सऱ्यौं भने जस्तै मनमुटाउ पनि सुल्झनसक्छ, एकअर्कासित क्षमायाचना गरिन्छ र क्षमा पनि दिइन्छ।
१४. हामीले अरूलाई क्षमा गर्दा कुन अर्थमा बिर्सनुपर्छ?
१४ अरूलाई क्षमा गर्नु भनेको जे जति भयो, त्यो बिर्सनैपर्छ भनेको हो त? अघिल्लो लेखमा छलफल गरेअनुसार यहोवा परमेश्वरको उदाहरण विचार गर्नुहोस्। यहोवाले हाम्रा पापहरू बिर्सनुहुन्छ भनी बाइबलले बताउनुको अर्थ उहाँले ती सम्झन सक्नुहुन्न भनेको होइन। (यशैया ४३:२५) बरु, उहाँले यस अर्थमा बिर्सनुहुन्छ, एकचोटि क्षमा गरिसकेपछि फेरि त्यसको बदला लिने विचार गर्नुहुन्न। (इजकिएल ३३:१४-१६) त्यस्तैगरि, सँगी मानवहरूलाई क्षमा गरेपछि तिनीहरूले जे जति गरे, त्यो कहिल्यै सम्झनेछैनौं भनेको होइन। तथापि, हामी विरुद्ध गल्ती गर्ने व्यक्तिसँग बदला नलिएर वा मनमा इबी नराखेर बिर्सनसक्छौं। यसरी समस्या सुल्झाइसकेपछि त्यसबारे निन्दोचर्चो गर्नु ठीक हुनेछैन। नता गल्ती गर्ने व्यक्तिलाई बहिष्कृतजस्तो गरी चटक्कै छोड्नु मायालु कुरा हुनेछ। (हितोपदेश १७:९) हो, तिनीसित पहिलेको जस्तै सम्बन्ध बनाउन समय लाग्ला। पहिलेजस्तो घनिष्ठता महसुस नगरौंला। र पनि हामी मसीही भाइको हैसियतमा तिनलाई अझै प्रेम गर्छौं र शान्तिपूर्ण सम्बन्ध कायम गर्न यथाशक्य गर्नेछौं।—लूका १७:३ तुलना गर्नुहोस्।
क्षमा दिन असम्भव जस्तो देखिंदा
१५, १६. (क) के मसीहीहरूले गल्ती गरेर पश्चात्ताप नगर्ने व्यक्तिलाई क्षमा दिनैपर्छ? (ख) भजन ३७:८ मा पाइने बाइबलको सल्लाहलाई हामी कसरी लागू गर्नसक्छौं?
१५ कसैले हामी विरुद्ध पाप गरेर असाध्यै गहिरो चोट पुऱ्यायो र आफ्नो पाप स्वीकार्दैन, पश्चात्ताप गर्दैन र क्षमा पनि माग्दैन भने नि? (हितोपदेश २८:१३) धर्मशास्त्रले स्पष्टसित बताउँछ, यहोवाले अपश्चात्तापी, कठोर पापीहरूलाई क्षमा गर्नुहुन्न। (हिब्रू ६:४-६; १०:२६, २७) हामी नि? धर्मशास्त्रमा अन्तरदृष्टि यसो भन्छ: “जानाजानी अर्काको हानि गर्ने र पश्चात्ताप पनि नगर्ने व्यक्तिहरूलाई मसीहीहरूले क्षमा गर्नुपर्ने कुनै खाँचो छैन। त्यस्ताहरू परमेश्वरका शत्रु हुन्।” (खण्ड १, पृष्ठ ८६२) असाध्यै पक्षपाती, घिनलाग्दो वा विभत्स व्यवहारको शिकार भएको मसीहीले पश्चात्ताप गर्न नचाहने दोषीलाई क्षमा वा माफी दिन बाध्य महसुस गर्नुपर्दैन।—भजन १३९:२१, २२.
१६ क्रूर दुर्व्यवहार भोग्नुपर्दा चित्त दुख्नु वा रीस उठ्नु कुनै अचम्मको कुरा होइन। तथापि नबिर्सनुहोस्, रीस र द्वेष मनमा राखिराख्नु हाम्रोलागि असाध्यै हानिकारक हुनसक्छ। कुनै न कुनै दिन त्यस्तो व्यक्तिले गल्ती स्वीकार्ला वा क्षमा माग्ला भनेर पर्खंदा झन् झन् खिन्न मात्र हुन्छौं। आफूमाथि भएको अन्यायबारे मात्र सोचिरहँदा रीस झन् झन् चर्किन थाल्छ र हाम्रो आध्यात्मिक, भावनात्मक तथा शारीरिक स्वास्थ्यमा नराम्रो असर पर्न थाल्छ। वास्तवमा भनौं भने यसो गर्दा जसले चित्त दुखायो उसलाई हामीले अझ चित्त दुखाउने मौका दिइरहेका हुन्छौं। बुद्धिमानीपूर्वक बाइबल यस्तो सल्लाह दिन्छ: “रिसाउन छोड़ र क्रोधलाई त्याग्।” (भजन ३७:८) तसर्थ, कोही कोही मसीहीहरूले समय बित्दै जाँदा त्यस व्यक्तिप्रति द्वेष राख्न छोडेर तिनलाई माफी दिने निर्णय गर्न सकेका छन्। आफूले जे जति भोग्नुपऱ्यो त्यसलाई हलुका पार्न खोजेर त होइन तर रीसलाई ठन्डा पारेर हो। जे जति भयो, त्यो न्यायी परमेश्वरको हातमा सुम्पेर तिनीहरूले निकै सान्त्वना पाए र द्वेषको कुनै कटु भावना नराखी जीवन बिताउनसके।—भजन ३७:२८.
१७. प्रकाश २१:४ मा लिपिबद्ध यहोवाको प्रतिज्ञाले हामीलाई कस्तो सान्त्वनादायी आश्वासन दिन्छ?
१७ गहिरो चोट लागेको छ भने त्यसलाई मनबाट चटक्कै निकाल्न नसकौंला, यस रीतिरिवाज रहुञ्जेल हाम्रो मनमा रहिरहनसक्छ। तर यहोवाले नयाँ संसारको प्रतिज्ञा गर्नुभएको छ जब “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:४) त्यतिबेला हामीले जे जति सम्झौंला, हाम्रो हृदयमा गह्रौं बोझ हुनेछैन, जुन कुराले अहिले हाम्रो हृदयलाई पिरोल्छ।—यशैया ६५:१७, १८.
१८. (क) हाम्रा भाइबहिनीहरूसित व्यवहार गर्दा किन क्षमा दिइरहनु खाँचो छ? (ख) अरूले हामी विरुद्ध पाप गर्दा हामी कसरी क्षमा दिन र बिर्सनसक्छौं? (ग) यसले हामीलाई कसरी लाभ पुऱ्याउँछ?
१८ त्यतिञ्जेल, आफ्ना भाइबहिनीहरूसित मिलेर बस्नुपर्छ जो हामीजस्तै असिद्ध, पापी छन्। हामी सबै गल्ती गर्छौं। बेलाबखतमा हामी एकअर्कालाई निराश पार्छौं र चित्तसमेत दुखाउँछौं। येशूलाई राम्ररी थाह थियो कि हामीले ‘सात पल्टसम्म होइन, तर सात गुणा सत्तरीपल्टसम्म’ क्षमा गर्नुपर्नेछ! (मत्ती १८:२२) हो, हामी यहोवाले जस्तो पूर्णतया क्षमा गर्न सक्दैनौं। यद्यपि, प्रायः कुनै भाइले हामी विरुद्ध पाप गर्दा द्वेष नराख्ने अर्थमा क्षमा दिनसक्छौं र पछि कहिल्यै बदला नलिने अर्थमा बिर्सनसक्छौं। यसप्रकार क्षमा दिनुका साथै बिर्संदा हामीले मण्डलीको मात्र होइन तर आफ्नो मन अनि हृदयको शान्ति पनि जोगाउँछौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, केवल हाम्रो मायालु परमेश्वर यहोवाले प्रदान गर्न सक्नुहुने शान्ति पाउनेछौं।—फिलिप्पी ४:७.
[फुटनोटहरू]
a बेबिलोनी ताल्मुदअनुसार रब्बीहरूको एउटा परम्परा यस्तो थियो: “कसैले भूल गरेमा पहिलो, दोस्रो र तेस्रो चोटिसम्म क्षमा दिन सकिन्छ तर चौथो पटक त कुनै हालतमा क्षमा हुँदैन।” (योमा 86 b) यस्तो अर्थ लगाउनुको केही कारण त आमोस १:३, २:६ र अय्यूब ३३:२९ जस्ता पदहरूको अर्थ बुझ्न नसक्नु पनि हो।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
पुनरावृत्तिका लागि प्रश्नहरू
◻ हामी अरूलाई क्षमा गर्न किन इच्छुक हुनुपर्छ?
◻ कस्ता परिस्थितिहरूमा हामीले “एक अर्कालाई सहेर” बस्नुपर्ने हुन्छ?
◻ अरूको पापले गर्दा हामीलाई गहिरो चोट लागेको छ भने शान्तपूर्वक समस्या सुल्झाउन के गर्नसक्छौं?
◻ अरूलाई क्षमा दिंदा हामीले कुन अर्थमा बिर्सनुपर्छ?
[पृष्ठ १६-मा भएको चित्र]
द्वेष मनमा खेलाइरहँदा हामी विरुद्ध गल्ती गर्ने व्यक्तिलाई हाम्रो पीडाबारे अत्तोपत्तो नहुनसक्छ
[पृष्ठ १७-मा भएको चित्र]
शान्ति कायम गर्न अरूसित कुरा गर्दा गलतफहमीहरू सजिलै हट्नसक्छन्