“शान्ति खोज र त्यसैको पिछा गर”
“परमप्रभुको [यहोवाको, न्यु.व] बड़ाइ होस्, जो आफ्नो दासको प्रगतिमा [शान्तिमा, न्यु.व.] प्रसन्न हुन्छन्।”—भजनसंग्रसह ३५:२७.
१. आज हामी कुन प्रकारको शान्तिबाट आनन्द उठाउँदै छौं?
यो विभाजित संसारमा शान्तिसँग बस्नु कति आनन्दको कुरा हो! “शान्तिको परमेश्वर” यहोवाको उपासना गर्नु र उहाँको “शान्तिको वाचाका” आशिषहरूमा सहभागी हुनु कति हर्षमय अनुभव हो! जीवनका अन्य चापहरूको माझमा, “सारा समझलाई माथ” गर्ने “परमेश्वरको शान्तिलाई” जान्नु र जुन सुकै राष्ट्र, भाषा, जाति अथवा सामाजिक स्थितिबाट आएका भएता पनि, परमेश्वरका जनहरूलाई एकता दिने, “शान्तिको बन्धन” अनुभव गर्नु कति आरामदायक कुरा हो!—१ थिस्सलोनिकी ५:२३; इजकिएल ३७:२६; फिलिप्पी ४:७; एफिसी ४:३.
२, ३. (क) परमेश्वरका जनहरूले एउटा सामूहिक रूपमा धैर्य धारण गर्न सकेता पनि, व्यक्तिगत मसीहीहरूलाई के हुन सक्छ? (ख) बाइबलले हामीलाई के गर्ने आग्रह गर्दछ?
२ यहोवाका साक्षीहरूको हैसियतमा हामी यो शान्तिको मोल गर्दछौं। तथापि, यसलाई हामीले हल्का ठान्नु हुँदैन। एउटा मसीही मण्डलीसँग सम्बन्धित हुँदैमा, अथवा कुनै मसीही परिवारको सदस्य हौं भन्दैमा, शान्ति स्वयं कायम हुँदैन। शेष अभिषिक्त जनहरू र तिनीहरूका सङ्गी “अरू भेड़ाहरूले” एउटा बगालको रूपमा अन्तसम्मै धैर्य धारण गरेता पनि, व्यक्तिगत रूपमा, केहीले चाहिं आफ्नो शान्ति गुमाएर पछि हट्न सक्छन्।—यूहन्ना १०:१६; मत्ती २४:१३; रोमी ११:२२; १ कोरिन्थी १०:१२.
३ प्रेरित पावलले आफ्ना समयका अभिषिक्त जनहरूलाई चेताउनी दिए: “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्वरबाट पतित हुनालाई तिमीहरूमा कसैको अविश्वासको दुष्ट हृदय हुनेछ।” (हिब्रू ३:१२) यो चेताउनी ठूलो भीड़काहरूलाई पनि प्रयोग हुँदछ। यसकारण, बाइबलले मसीहीहरूलाई आग्रह गर्दछ: “त्यो असल [शान्ति न्यु.व.] पछि लागोस्। किनकि प्रभुको [यहोवाको, न्यु.व.] नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ, तर परमप्रभुको [यहोवाको, न्यु.व.] मुख खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”—१ पत्रुस ३:१०-१२; भजनसंग्रह ३४:१४, १५.
“शरीरमा मन लगाउनु”
४. परमेश्वरसँगको हाम्रो शान्ति के ले भङ्ग हुन सक्छ?
४ हामीले शान्तिको पिछा गर्दा, कुन कुराले बाधा पुऱ्याउन सक्तछ? पावलले एउटा कुराको उल्लेख गर्दछन्: “किनभने शरीरमा मन लगाउनुचाहिं मृत्यु हो, तर आत्मा अनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। किनभने शरीरतिर लागेको मनचाहिं परमेश्वर तर्फको शत्रुता हो।” (रोमी ८:६, ७) यहाँ “शरीर” शब्द भन्नाले, हामी असिद्ध मानिसहरूको वंशानुगत प्राप्त पापपूर्ण पतित अवस्थालाई पावलले सङ्केत गर्दछन्। पतित शरीरका झुकावहरू अनुसार हिड़नाले, हाम्रो शान्ति भङ्ग हुन सक्तछ। एक जना मसीहीले पश्चातापको भावना बिना अनैतिक काम गर्छ, झूट बोल्छ, चोरी गर्छ, लागू पदार्थ लिन्छ अथवा अरू कुनै ढङ्गमा ईश्वरीय नियम उल्लङ्घन गर्छ भने, उसले यहोवासँग केही समय अघि अनुभव गरेको शान्ति भङ्ग गर्दछ। (हितोपदेश १५:८, २९; १ कोरिन्थी ६:९, १०; प्रकाश २१:८) साथै, उसले आध्यात्मिक कुराहरू भन्दा भौतिक कुराहरूलाई महत्त्व दिएमा, परमेश्वरसँगको उसको शान्तिमा खतरा पुग्न सक्तछ।—मत्ती ६:२४; १ यूहन्ना २:१५-१७.
५. शान्तिको पिछा गर्नुमा के सम्मिलित छ?
५ साथै, पावलले भने: “आत्मामा मन लगाउनु जीवन र शान्ति हो।” शान्ति आत्माका फलहरू मध्येको एउटा फल हो र हामीले आध्यात्मिक कुराहरूको मोल गर्न आफ्नो हृदयलाई प्रशिक्षण दियौं र यसो गर्न परमेश्वरसँग प्रार्थना द्वारा मदत माँग्यौं भने, “शरीरमा मन लगाउन” देखिन् हामी अलग्ग रहने छौं। (गलाती ५:२२-२४) १ पत्रुस ३:१०-१२ मा, शान्ति धार्मिकतासँग सम्बन्धित छ। (रोमी ५:१) शान्तिको पिछा गर्दा, “खराबीबाट फर्केर असल पछि” लाग्नु पनि समावेश छ भनी पत्रुस भन्दछन्। परमेश्वरको आत्माले हामीलाई “धार्मिकताको पिछा” गर्ने मदत दिन सक्तछ र यस प्रकार परमेश्वरसँगको शान्ति कायम रहन सक्नेछ।—१ तिमोथी ६:११, १२.
६. मण्डलीको शान्तिबारे, प्राचीनहरूको एउटा जिम्मेवारी के हो?
६ शान्तिको पिछा गर्नु मण्डलीमा प्राचीनहरूका लागि एउटा ठूलो चासोको विषय हो। उदाहरणका लागि, कसैले दूषित चाल-चलन सुरूआत गर्न खोजेमा, त्यस पापीलाई सुधार्ने कोशिश गर्दै, मण्डलीलाई सुरक्षित राख्ने जिम्मेवारी प्राचीनहरूको हो। सुधार स्वीकार गरेमा, उसले आफ्नो शान्ति पुनः प्राप्त गर्नेछ। (हिब्रू १२:११) होइन भने, यहोवासँग मण्डलीको शान्तिमय सम्बन्ध कायम राख्नका लागि, उसलाई बहिष्कार गर्नु आवश्यक पर्नसक्छ।—१ कोरिन्थी ५:१-५.
आफ्ना भाइहरूसँगको शान्ति
७. कोरिन्थिकाहरूलाई ‘शरीरका कुराहरूमा मन लगाउनेहरूको’ एउटा कुन चिन्ह बारे पावलले चेताउनी दिए?
७ ‘शरीरमा मन लगाउनाले’ परमेश्वरसँगको हाम्रो शान्ति मात्र होइन तर अरू मसीहीहरूसित पनि हाम्रो शान्ति भङ्ग हुन सक्तछ। पावलले कोरिन्थीहरूलाई लेखि पठाए: “किनभने तिमीहरू अझै पनि शारीरिक नै छौ। किनभने जहाँसम्म तिमीहरूमा डाह र झगड़ा छँदैछ, के तिमीहरू शारीरिक र मानिसको चालमा चल्ने भएनौं र?” (१ कोरिन्थी ३:३) डाह र झगड़ा शान्तिको ठीक विपरीत हो।
८. (क) मण्डलीमा ईर्ष्या र कलह मचाउनेलाई के हुन सक्तछ? (ख) परमेश्वरसँगको हाम्रो शान्ति के मा भर पर्दछ?
८ डाह र झगड़ा द्वारा मण्डलीको शान्ति भङ्ग गर्नु एउटा अत्यन्त घोर अपराध हो। आत्माको एउटा फल र शान्तिसँग सम्बन्धित एउटा अर्को गुणबारे कुरा गर्दै, प्रेरित यूहन्नाले चेताउनी दिए: “यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्नसक्तैन।” (१ यूहन्ना ४:२०) त्यसै तरिकाले भाइहरू बीच कुनै व्यक्तिले डाह र झगड़ा उत्पन्न गर्दछ भने, के त्यो व्यक्तिको परमेश्वरसँग वास्तवमा शान्तिपूर्ण सम्बन्ध हुन सक्छ होला र? अवश्य पनि हुन सक्तैन! हामीलाई आग्रह गरिएको छ: “तिमीहरू सिद्ध भएका होओ, सान्त्वना पाएका होओ, एकै मनका होओ, शान्तिमा रहो, र प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनु हुनेछ।” (२ कोरिन्थी १३:११) हो, यदि हामी एक अर्कासँग शान्तिसित निरन्तर बस्यौं भने अनि शान्ति र प्रेमका परमेश्वर हामीसँग हुनु हुनेछ।
९. मसीहीहरूको पनि आपसमा कुनै गलतफहमीहरू र अनमेल कुराहरू हुनेछन् भनी हामीलाई कसरी थाह छ?
९ यसको अर्थ, मसीहीहरूका बीच, आपसमा गलतफहमीहरू कहिले हुनेछैन भनेको होइन। पेन्तीकोस पछिका केही हप्ताहहरूमा, भर्खरै स्थापित भएको त्यो मसीही मण्डलीमा दैनिक आहारको वितरणबारे एउटा मतभेद भएको थियो। (प्रेरित ६:१) एक पटक पावल र बर्णाबास बीच कुरा नमिल्दा, “चर्को मतभेद” भयो। (प्रेरित १५:३९) असल र जोशिला बहिनीहरू, इयोदिया र सिन्तकेलाई “प्रभुमा एउटै मनका होओ भनेर” अर्ती दिन पावललाई आवश्यक पर्यो। (फिलिप्पी ४:२) यसैकारण येशूले मसीहीहरूको परस्परमा शान्ति भङ्ग गर्ने समस्याहरूको कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा विस्तृत सर-सल्लाह दिनु भयो र यस प्रकारका समस्याहरूको तुरुन्त समाधान गर्नु पर्ने कुराको अत्यावश्यकतामाथि जोड़ दिनु भयो! (मत्ती ५:२३-२५; १८:१५-१७) आफ्ना अनुयायीहरू बीच कठिनाइहरू उठनेछन् भनी आशा नगर्नु भएको भए, उहाँले यस प्रकारको सर-सल्लाह दिनु हुने थिएन।
१०. मण्डलीमा कहिले काहिं के कस्ता परिस्थितिहरू उठ्दछन् र यस्तो हुँदा, सम्बन्धित सबै जनामाथि के जिम्मेवारी आइ पर्दछ?
१० आज, त्यसकारण एक जना सङ्गी मसीहीले नसोची नसम्झी भनेको कुनै शब्द, अथवा कुनै व्यवहारको कारण कसैलाई चोट पुग्न सम्भव छ। कुनै एउटा व्यक्तिको विशेष आनीबानीले गर्दा अर्को व्यक्ति लाई दिक्क लाग्न सक्तछ। प्राचीनहरूले गरेका फैसलासँग कसैको चाहिं पटक्कै सहमति नहोला। प्राचीनहरूको समितिमा नै कुनै एक जना प्राचीन कड़ा मिजासका होलान् र अरू सबै प्राचीनहरूको विचारलाई थिचोमिचो गर्न खोज्लान्। यस प्रकारका कुराहरू भएता पनि, हामीहरूले अझै शान्तिको पिछा गरी नै रहनु पर्दछ। “शान्तिको बन्धन कायम” राख्नका लागि, यस प्रकारका समस्याहरूको एउटा मसीही ढङ्गमा समाधान गर्नु एउटा चुनौती हो।—एफिसी ४:३.
११. एक अर्कासँग शान्तिको पिछा गर्न मदत दिनका लागि, यहोवाले कुन कुन प्रबन्धहरू मिलाइ दिनु भएको छ?
११ बाइबल भन्दछ: “परमप्रभुको [यहोवाको, न्यु. व.] बड़ाइ होस्, जो आफ्नो दासको प्रगतिमा [शान्तिमा, न्यु. व.] प्रसन्न हुनुहुन्छ।” (भजनसंग्रह ३५:२७) हो, यहोवा हामी सबै शान्तिसित बसेको चाहनु हुन्छ। त्यसैकारण, उहाँले हाम्रो परस्परमा र उहाँसित शान्ति कायम राख्न मदत दिनका लागि, दुईवटा प्रबन्ध मिलाइ दिनु भएको छ। एउटा हो पवित्र आत्मा, जस्को फल हो शान्ति र शान्तिसँग सम्बन्धित धैर्य, दया, विनम्रता र संयम जस्ता गुणहरू। (गलाती ५:२२, २३) अर्को प्रबन्ध हो ईश्वरीय बुद्धि, जसबारे हामी पढ़दछौं: “जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र, त्यस पछि मिलापी, कोमल, मृदुभाव, दया र बढ़िया फलले भरिएको हुन्छ।”—याकूब ३:१७, १८.
१२. हाम्रा भाइहरूसँग हाम्रो शान्ति भङ्ग भएको खण्डमा, हामीले के गर्नु उचित हुनेछ?
१२ यसकारण, एक अर्कासँग हाम्रो शान्ति भङ्ग हुँदा, के कसो गर्नु पर्ने हो भनी बाटो देखाउन माथिबाट आउने बुद्धिका लागि प्रार्थना गर्नु पर्दछ र जे ठीक हो, सो गर्ने बल हामीलाई मिलोस् भनेर पवित्र आत्मा माँग्नु पर्दछ। (लूका ११:१३; याकूब १:५; १ यूहन्ना ३:२२) हाम्रो प्रार्थना अनुरूप, हामीले ईश्वरीय बुद्धिको स्रोत, बाइबल र बाइबल सम्बन्धित अन्य साहित्यहरू हेर्ने गर्नु पर्दछ जसबाट हामीले बाइबलमा भएका कुराहरू प्रयोगमा ल्याउने सर-सल्लाह र आवश्यक निर्देशन पाउन सक्ने छौं। (२ तिमोथी ३:१६) हामीले मण्डलीका प्राचीनहरूसित पनि सल्लाह माँग्न सक्ने छौं। एउटा आखिरी कदम चाहिं, पाएको निर्देशनलाई प्रयोगमा ल्याउनु हो। यशैया ५४:१३ भन्छ: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट [यहोवाबाट, न्यु.व.] सिकाइएका हुनेछन् र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” यसबाट यो सङ्केत मिल्दछ कि यहोवाले हामीलाई सिकाउनु हुने कुराहरूलाई हामीले प्रयोगमा ल्याउनुमा नै हाम्रो शान्ति निर्भर गर्दछ।
“धन्य मेल मिलाप गराउनेहरू”
१३, १४. (क) येशूले “मेल-मिलाप गराउनेहरू” भन्नु भएको अर्थ के हो? (ख) हामी शान्ति स्थापित गर्ने व्यक्तिहरू कसरी हुन सक्छौं?
१३ येशूले उहाँका डाँड़ाको उपदेशमा भन्नु भयो: “धन्य मेल मिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका पुत्र कहलाइनेछन्।” (मत्ती ५:९) यहाँ “मेल मिलाप गराउनेहरू” भन्नाले आत्मसन्तुष्ट स्वभाव हुनेहरूलाई सङ्केत गर्दैन। मौलिक युनानी शब्दको अर्थ “मेल मिलाप [शान्ति, न्यु.व.] गराउनेहरू” हो। शान्ति भङ्ग भएको बेलामा, मेल मिलाप गराउनेहरू शान्ति पुनः स्थापित गर्नमा सिपालु हुन्छन्। तर त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, शान्ति गराउने व्यक्तिले सर्वप्रथम शान्ति भङ्ग नहोस् भन्ने प्रयास गर्दछ। “शान्तिले” उसको “हृदयमा राज्य” गर्नेछ। (कलस्सी ३:१५) परमेश्वरका सेवकहरूले शान्ति अथवा मेलमिलाप गराउने व्यक्तिहरू हुने उत्कट प्रयास गरेमा, तिनीहरूको माझमा आपसी समस्याहरू धेरै नै कम हुनेछन्।
१४ मेल मिलाप गराउने व्यक्ति हुने हो भने, हाम्रो आफ्नो कमजोरीहरू स्वीकार्न सक्नु पर्दछ। उदाहरणका लागि, एक जना मसीहीको झट्टै रीस उठने बानी होला, अथवा तिनी भावुक र चाँड़ै चित्त दुखाउने खालका हुन सक्तछन्। दबाउ परेको बेलामा, भावावेशमा तिनले बाइबलका सिद्धान्तहरू बिर्सन सक्छन्। असिद्ध मानिसहरूमा यो कुनै अनहोनी कुरा होइन। (रोमी ७:२१-२३) तापनि, शत्रुता, कलह, रीसको झोक शरीरका कार्यहरूसँग सम्मिलित गरिएका छन्। (गलाती ५:१९-२१) हामीमा यस प्रकारका कुनै पनि झुकावहरू देख्यौं भने—अथवा कसैले हामीलाई देखाइ दियो भने, हामीमा संयम र धैर्यको वृद्धि गराउन, यहोवाका आत्माका लागि हामीले निरन्तर र निष्कापट्यसाथ प्रार्थना गर्नु पर्दछ। वास्तवमा, आफ्नो नया व्यक्तित्वमा यस प्रकारका गुणहरूको वृद्धि गराउन प्रत्येक व्यक्तिले प्रयास गर्नु पर्नेछ।—एफिसी ४:२३, २४; कलस्सी ३:१०, १५.
१५. माथिबाट आएको बुद्धि किन बेमनासिब ढिपीको विपरीत हुन्छ?
१५ कहिले काहिं, सधैं आफ्नै विचारमा जिद्दी गरिरहने अटेर व्यक्तिले गर्दा, एउटा मण्डली वा प्राचीनहरूको समूहमा खलबली हुन्छ। ईश्वरीय नियम जहाँ सम्बन्धित छ, त्यहाँ एक जना मसीही अडिग र कड़ा हुनु पर्दछ। र अरूहरूका लागि लाभदायक हुने हामीसँग कुनै त्यस्तो विचार छ जस्तो लाग्छ भने, सो विचार सोझै गरी, बिना कुनै हिचकिचाहट, त्यस्का कारणहरू समेत प्रकट गर्नमा केही खराबी छैन। तर संसारका कहिले “खुशी नहुने” अथवा अर्घेलो मानिसहरू जस्ता हामी हुन चाँहदैनौं। (२ तिमोथी ३:१-४) माथिबाट आउने बुद्धि शान्त र युक्तिसङ्गत हुन्छ। लगातार अटेर र जिद्दी हुने बानी बसेकाहरूले, ‘फोस्रो घमण्डले केही नगर’ भनेर पावलले फिलिप्पीहरूलाई दिएको सल्लाह मान्नु पर्दछ।—फिलिप्पी २:३.
१६. फिलिप्पीको पुस्तकमा पावलले दिएका सल्लाहले हामीलाई फोस्रो घमण्ड दबाउने मदत कसरी दिन्छ?
१६ त्यसै पत्रमा, पावलले, ‘नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ’ ठान्नु भनी आग्रह गर्दछन्। यो कुरा फोस्रो घमण्डको ठीक विपरीत हो। एक जना परिपक्व मसीहीले आफ्नै विचारहरूलाई नै पहिले महत्त्व दिन खोज्दैन; आफूले गरेका कुराहरूको औचित्य स्थापित गर्ने कोशिश अथवा आफ्नै पद वा अख्तियारलाई सुरक्षित राख्ने प्रयास गर्दैन। यस प्रकारको प्रवृत्ति पावलले दिएका उपदेशको ठीक विपरीत हुनेछ, “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।”—फिलिप्पी २:४; १ पत्रुस ५:२, ३, ६.
मेल-मिलाप गराउने शब्दहरू
१७. जिब्रोको कुन प्रकारको दुरूपयोगबाट मण्डलीको शान्ति भङ्ग हुन सक्तछ?
१७ शान्तिको पिछा गर्ने व्यक्ति आफ्नो जिब्रोको प्रयोग गर्दा, विशेष रूपमा होशियार हुँदछ। याकूबले चेताउनी दिएका छन्: “जिब्रो पनि एउटा सानो इन्द्रिय भएर, ठूला ठूला कुराको अभिमान गर्दछ। हेर, सानो आगोको झिल्काले कसरी बड़े बड़े वन पनि स्वाहा पार्दछ!” (याकूब ३:५) छुस्के गफ गर्ने, अरूहरूको पिठ्यूँ पछाड़ि कुरा काट्ने, कड़ा र तीब्र वचनहरूको प्रयोग गर्ने, गनगन र शिकायत गर्नुका साथै व्यक्तिगत लाभका लागि बेइमानी ढङ्गमा चाकरी गर्ने—यी सबै शरीरका कामहरू हुन् जसले परमेश्वरका जनहरूको शान्तिलाई भङ्ग गर्दछ।—१ कोरिन्थी १०:१०; २ कोरिन्थी १२:२०; १ तिमोथी ५:१३; यहूदा १६.
१८. (क) आफूले नचाँहदा चाँहदै पनि जिब्रोको गलत प्रयोग गरिएको खण्डमा, यसमा सम्बन्धित सबैले के गर्न ठीक हुनेछ? (ख) रीसको झोकमा कसैले चित्त दुख्ने कुराहरू गरेमा, परिपक्व मसीहीहरूले के कस्तो प्रतिक्रिया देखाउनुपर्दछ?
१८“तर जिब्रोलाई भने कुनै मानिसले पनि तह लाउन सक्तैन” भनेर पनि याकूबले भनेका छन्। (याकूब ३:८) परिपक्व मसीहीहरूले पनि कुनै बेला त्यस्ता कुराहरू भन्न सक्छन् जसका लागि तिनीहरू साँचो मनले पछि पछितो प्रकट गर्छन्। जसरी हामीले अरूहरूलाई क्षमा गर्दछौं, त्यसरी नै अरूहरूले पनि हाम्रा यस प्रकारका गलतीहरू क्षमा गर्ने छन् भनी हामी सबै आशा गर्दछौं। (मत्ती ६:९, १०) कुनै बेला रीसको झोकमा चोट लाग्ने शब्दहरू प्रयोग होलान्। त्यति बेला, मेल मिलाप गराउने व्यक्तिले मनमा याद राख्नेछन् कि “मीठा जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) अकसर, रीस उठाउने शब्दहरूको बदला अझ रीस उठ्ने शब्दहरू प्रयोग गर्न नपरोस् भनी एउटा लामो सास लिएर, तिनले आफूलाई रोक्नु पर्ला। पछि, रीसको झोक सेलाएको बेलामा, ठूलो हृदय भएको मेल मिलाप गराउने व्यक्तिले रीसको झोकमा भनिएका कुराहरूको कसरी वास्ता गर्नु हुँदैन भनी जान्दछन्। र कसरी माफी माँग्ने हो, सो एक जना नम्र मसीहीले जान्नेछ र उसले कुनै चोट पुऱ्याएको छ भने त्यसलाई निको पार्ने प्रयास गर्नेछ। इमान्दारीसाथ, “म दुःखी छु,” भन्न सक्नु नैतिक बलको एउटा चिन्ह हो।
१९. अर्ती कसरी दिने सम्बन्धमा हामी पावल र येशूबाट के सिक्न सक्तछौं
१९ अरूहरूलाई सर-सल्लाह दिन जिब्रोको प्रयोग गर्न आवश्यक हुन सक्तछ। एन्टिओकमा पत्रुसले गलत ढङ्गमा व्यवहार गर्दा, पावलले तिनलाई सबैको सामुन्ने हपकाए। र येशूले पनि सात मण्डलीहरूलाई पठाउनु भएको सन्देशमा कड़ा सल्लाह दिनु भयो। (गलाती २:११-१४; प्रकाश अध्याय २ र ३) यी उदाहरणहरूलाई अध्ययन गऱ्यौं भने, हामीले सिक्नेछौं कि सल्लाह यति नरम हुनु हुँदैन जसले गर्दा त्यसमा भन्न खोजिएका कुराहरू नै हराएर जाओस्। सल्लाहको उद्देश्य नै हराउने गरी नरम ढङ्गमा सल्लाह दिनु हुँदैन भन्ने कुरा हामी यी उदाहरणहरू अध्ययन गर्दा सिक्तछौं। तथापि, येशू र पावल कड़ा अथवा क्रूर हुनु हुन्थिएन। उहाँहरूले सर-सल्लाह दिने बेलामा, आफ्नै मानसिक हतोत्त्साहहरू पोखाउने मौका छोप्नु भएन। उहाँहरूले आफ्ना भाइहरूलाई साँचो मनले मदत दिने चाहना गर्द थिए। अर्ती दिने व्यक्तिले आफ्नो जिब्रो पूर्ण नियन्त्रणमा छैन भनी महसुस गरेमा, तिनले केही समयका लागि रोकिएर आफ्नो झोक सेलाउन दिनु उचित हुनेछ। नत्रता, तिनले कड़ा शब्दहरू प्रयोग गर्दा, समाधान गर्न चाहेको भन्दा ठूलो समस्या उत्पन्न हुन सक्छ।—हितोपदेश १२:१८.
२०. हामीले आफ्ना भाइ अथवा बहिनीहरूसँग अथवा तिनीहरूका विषयमा जे कुरा गर्दा पनि, के कुराले निर्देशित हुनु पर्दछ?
२० पहिले नै उल्लेख गरिए झैं, शान्ति र प्रेम आत्माका फलहरू हुन् जो आपसमा सम्बन्धित छन्। हामीले आफ्ना भाइहरूसँग—अथवा तिनीहरू बारे गरेका कुराहरूमा—सधैं नै तिनीहरू प्रति हाम्रो प्रेम प्रतिबिम्बित हुन्छ भने, त्यसबाट मण्डलीमा शान्ति बढ़न सक्तछ। (यूहन्ना १५:१२, १३) हाम्रा बोली बचनहरू सधैं नै “नूनले स्वादिलो” पारिएको र “अनुग्रहसहितको” हुनु पर्दछ। (कलस्सी ४:६) ती वचनहरू स्वादिलो अर्थात् हृदयलाई ग्रहणयोग्य हुनु पर्दछ। येशूले सल्लाह दिनु भयो: “आफू आफूमा नून राख र आपसमा मिलिरहो।”—मर्कूस् ९:५०.
“उत्कट प्रयास गर”
२१. साप्ताहिक सभाहरू र दुवै साना र ठूला सम्मेलनहरूमा परमेश्वरका जनहरू बारे के प्रत्यक्ष देखिन्छ?
२१ भजनसंग्रहका लेखकले लेखे: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु, कति असल र मनोहर कुरा हुन्छ।” (भजनसंग्रह १३३:१) साँच्चै नै, हामी आफ्ना भाइहरूसँग सङ्गत गर्न रमाइलो मान्छौं, विशेषगरी हाम्रा साप्ताहिक सभाहरू र दुवै ठूला र साना सम्मेलनहरूमा। यी समयहरूमा, हाम्रो शान्ति बाहिरका मानिसहरूका सामुन्ने पनि स्पष्ट हुन्छ।
२२. (क) राष्ट्रहरूले चाँडै कुन झूटो शान्ति प्राप्त गरे झैं ठान्ने छन् र त्यसको परिणाम के हुनेछ? (ख) परमेश्वरको शान्तिको वाचाले कुन साँचो शान्ति तर्फ लैजानेछ?
२२ चाँड़ै नै, यहोवाको मदत बिना शान्ति प्राप्त गर्न सक्यौं भनी राष्ट्रहरूले ठान्ने छन्। तर तिनीहरूले “शान्ति र सुरक्षा” भनी रहेको बेलामा, परमेश्वरसँग शान्ति नराख्नेहरूमाथि अचानक विनाश आइपर्नेछ। (१ थिस्सलोनिकी ५:३) त्यस पश्चात्, मानिसले शुरूमा परमेश्वरसँगको शान्ति गुमाएको परिणाम स्वरूप आइ परेका विपत्तिहरूलाई, शान्तिको महान राजकुमारले निको पार्ने कार्य आरम्भ गर्नु हुनेछ। (यशैया ९:६, ७; प्रकाश २२:१, २) त्यस पछि परमेश्वरको शान्तिको वाचाको परिणाम, विश्वभरि शान्ति हुनेछ। मैदानका जनावरहरूले पनि शत्रुताबाट आराम अनुभव गर्नेछन्।—भजनसंग्रह ३७:१०, ११; ७२:३-७; यशैया ११:१-९; प्रकाश २१:३, ४.
२३. एउटा नया शान्तिमय संसारको प्रतीक्षामा छौं भने, हामीले अहिले के गर्नु उचित छ?
२३ त्यो एउटा कस्तो वैभवशाली समय हुनेछ! के तपाईं त्यसको प्रतीक्षामा हुनु हुन्छ? हुनु हुन्छ भने, “सबै जनासँग मेल-मिलाप साथ बस्नु होस्।” अहिले देखिन् नै आफ्ना भाइहरूसँग र विशेषगरी यहोवासँग शान्तिको खोजी गर्नु होस्। हो, “यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ” तपाईंहरू “प्रभुको दृष्टिमा निष्खोट र निष्कलङ्क” ठहरिनालाई उत्कट प्रयत्न गर्नु होस्।—हिब्रू १२:१४; २ पत्रुस ३:१४. (w03/01/91)
के तपाईंलाई सम्झना छ?
◻ यहोवासँगको हाम्रो शान्तिलाई के ले भङ्ग गर्न सक्छ?
◻ मण्डलीमा कुन प्रकारका गलतफहमीहरूको समाधान गर्न आवश्यक पर्न सक्छ?
◻ शान्तिको पिछा गर्न र त्यसैमा लागि रहन मदत दिनका निम्ति यहोवाले के प्रबन्ध मिलाइ दिनु भएको छ?
◻ मण्डलीको शान्तिलाई के कस्ता शारीरिक प्रवृत्तिहरूले भङ्ग गर्न सक्तछ र हामीले तिनीहरूको विरोध कसरी गर्न सक्ने छौं?
[पृष्ठ २५-मा भएको चित्र]
यहोवाले सिकाउनु भएकाहरूका माझमा आज प्रशस्त शान्ति पाइन्छ
[पृष्ठ २७-मा भएको चित्र]
एकताका साथ सेवा गर्ने भाइहरूको शान्ति कति आनन्दमय!