अरिस्तार्खस—एक वफादार सहयोगी
अरिस्तार्खस प्रेरित पावलका भरपर्दो सहकर्मीहरूमध्ये एक थिए। तिनको नाउँ सुन्ने बित्तिकै तपाईं कुन कुरा सम्झनुहुन्छ? केही सम्झनुभयो कि? प्रारम्भिक मसीही इतिहासमा तिनले कस्तो भूमिका निर्वाह गरे, के तपाईं भन्न सक्नुहुन्छ? हाम्रोनिम्ति अरिस्तार्खस बाइबलका अन्य पात्रहरू जत्तिकै चिरपरिचित नभए तापनि मसीही युनानी धर्मशास्त्रमा तिनको निकै पटक उल्लेख गरिएको पाइन्छ।
त्यसोभए, अरिस्तार्खस को थिए? पावलसित तिनको के सम्बन्ध थियो? अरिस्तार्खस एक वफादार सहयोगी थिए भनेर किन भन्न सकिन्छ? अनि तिनको उदाहरण जाँचेर हामी के पाठ सिक्नसक्छौं?
एफिसस शहरमा एक जमात मानिसहरूले चिच्याइरहेको र गोलमाल मच्चाइरहेको बेला अरिस्तार्खस नाटकीय ढंगमा प्रेरितको पुस्तकमा देखा पर्छन्। (प्रेरित १९:२३-४१) झूटा देवी डायनाको लागि चाँदीको मन्दिर बनाउने व्यापारले डेमेत्रियस र एफिससमा भएका अन्य व्यापारीहरूलाई निकै फाइदा पुऱ्याइरहेको थियो। तर उक्त शहरमा पावलले जोडतोडसित प्रचार गर्दा धेरैले यस देवीको अशुद्ध उपासना त्यागे। त्यसैकारण, डेमेत्रियसले अन्य शिल्पकारहरूलाई उस्कायो। पावलले प्रचार गरेको हुँदा तिनीहरूको आर्थिक अवस्था मात्र डाँवाडोल भएको हैन तर मानिसहरूले डायनाको उपासनासमेत छाड्ने सम्भावना छ भनेर त्यसले ती बाँडाहरूलाई बतायो।
पावललाई भेट्टाउन नसकेर त्यस क्रुद्ध भीडले तिनको सहयोगी अरिस्तार्खस र गायसलाई जबरजस्ती रंगशालामा तानेर ल्यायो। ती दुइ जनाको ज्यान जोखिममा भएकोले पावललाई तिनका मित्रहरूले “तमाशा-घरभित्र जाने हिम्मत नगर्नुहोस् भनेर बिन्ती गरे।”
तपाईं भए के गर्नुहुन्थ्यो, कल्पना गर्नुहोस् त। लगभग दुइ घण्टासम्म त्यो भीड “एफिसियनहरूकी डायना महान् हुन्” भन्दै चिच्याइरह्यो। त्यो उन्मत्त भीडबीच र त्यसमाथि आफ्नो बचाउमा केही बोल्न नपाउँदा अरिस्तार्खस र गायसलाई पक्कै पनि आफ्नो अग्निपरीक्षा भएजस्तो लाग्यो। तिनीहरूले बाँच्ने आशा मारेको हुनुपर्छ। तर खुशीको कुरा, तिनीहरू बाँचे। लूकाको विवरण जीवन्त हुनुको कारण शायद तिनले अरिस्तार्खस र गायसलाई परेको घटना तिनीहरूकै मुखबाट सुनेका हुनसक्छन् भनेर केही विद्वान्हरूले बताएका छन्।
अन्तमा नगरका हाकिमले नगरमा भएको खैलाबैला शान्त पारे। तिनले निर्दोष ठहर गर्दा र मानिसहरूको होहल्ला शान्त पार्दा अरिस्तार्खस र गायसलाई गह्रौं भारी बिसाएजत्तिकै भएको हुनुपर्छ।
यस्तो अवस्था भएर गुज्रनुपऱ्यो भने, तपाईं कस्तो महसुस गर्नुहुन्थ्यो? मिसनरी कार्यमा पावलको सहयोगी हुनु मेरो वशमा छैन, यो अत्यन्त जोखिमपूर्ण छ र यसको साटो त शान्त जीवन बिताउँथें भन्ने निष्कर्षमा के तपाईं पुग्नुहुन्थ्यो? तर अरिस्तार्खसले त्यस्तो विचार गरेनन्! थिस्सलोनिकावासी भएकोले सुसमाचार घोषणा गर्दा के कस्ता खतराहरू आइपर्छन्, तिनलाई राम्ररी थाह थियो होला। पावलले केही वर्षअघि तिनको शहरमा प्रचार गर्दा त्यहाँ पनि खैलाबैला मच्चिएको थियो। (प्रेरित १७:१-९; २०:४) अरिस्तार्खस वफादार भएर पावलसितै लागिरहे।
ग्रीसदेखि यरूशलेमसम्म
बाँडाहरूले दंगाफसाद गरेको केही महिनापछि पावल ग्रीसमा थिए। ग्रीसबाट सिरियाको बाटो हुँदै यरूशलेमतिर समुद्री यात्रा गर्दा “यहूदीहरूले तिनका विरुद्धमा षड़यन्त्र गरे।” (प्रेरित २०:२, ३) यस्ता संकटपूर्ण समयमा पावलसित को थिए? अरिस्तार्खस।
भर्खरै आइपरेको यो खतराले गर्दा पावल, अरिस्तार्खस र तिनका सहयोगीहरूले आफ्नो योजनामा फेरबदल गरी म्यासिडोनिया भएर यात्रा गरे। त्यसपछि, तिनीहरू एसिया माइनरको पाखैपाखा हुँदै पटारामा आइपुगे र त्यहाँबाट फोनिसिया जान जहाज चढे। (प्रेरित २०:४, ५, १३-१५; २१:१-३) स्पष्टतः यो यात्राको प्रमुख उद्देश्य यरूशलेममा खाँचोमा परेका भाइहरूलाई म्यासिडोनिया र अखैयाका मसीहीहरूले पठाएको चन्दा पुऱ्याउनु थियो। (प्रेरित २४:१७; रोमी १५:२५, २६) पावलसँगै यात्रा गर्नेहरू थुप्रै थिए। शायद तिनीहरू प्रत्येकलाई विभिन्न मण्डलीहरूले चन्दा पुऱ्याउने जिम्मा सुम्पेका थिए। निस्सन्देह, यस्तो ठूलो समूह छ भने धनमाल लुटिने डर पनि निकै कम हुनेथियो।
अरिस्तार्खसले पावलसँगसँगै ग्रीसदेखि यरूशलेमसम्म यात्रा गर्ने सुअवसर पाए। तथापि, तिनीहरू फेरि यहूदियाबाट रोम जान लागेका थिए।
रोमको यात्रा
यस पटक परिस्थिति अलि भिन्नै थियो। पावल सिजरियामा थुनिएको दुइ वर्ष बितिसकेको थियो र सिजरकहाँ अपील गरेको हुँदा तिनलाई सांग्लोले बाँधेर रोम पठाइयो। (प्रेरित २४:२७; २५:११, १२) पावलका सहयोगीहरूले कस्तो महसुस गरे होलान्, कल्पना गर्नुहोस्। सिजरियादेखि रोमसम्मको यात्रा निकै लामो र भावनात्मक तवरमा पनि असाध्यै थकाउने खालको थियो। र बाटोमा के कसो हुने हो, कसैले अनुमान लगाउन सक्दैन थियो। पावललाई आड दिन र सहयोग गर्न तिनीसँगै को जाने थिए? यसको लागि दुइ पुरुषहरू छानिएका अथवा तिनीहरू स्वेच्छाले आएका हुनसक्छन्। तिनीहरू अरिस्तार्खस र प्रेरित पुस्तकका लेखक लूका थिए।—प्रेरित २७:१, २.
रोम जान लागेको त्यो जहाजमा लूका र अरिस्तार्खसले पनि कसरी यात्रा गर्न पाए? इतिहासकार जुजेप्पा रीच्चोटी यस्तो अनुमान लगाउँछन्: “यी दुइ निजी भाँडा बेहोर्ने यात्रुको रूपमा जहाज चढेका हुनसक्छन् . . . अथवा रोमी अफिसरले तिनीहरूलाई पावलको दास भन्ठानेर दयापूर्वक जहाजमा चढ्न दिएका हुनसक्थे। किनकि रोमी व्यवस्थाअनुसार रोमी नागरिकले केही दास साथमै लैजानसक्थे।” तिनीहरूको उपस्थिति र प्रोत्साहनले गर्दा पावललाई निकै बल मिलेको हुनुपर्छ!
लूका र अरिस्तार्खसले ज्यान जोखिममा पारेरै भएपनि पावलप्रति आफ्नो प्रेम दर्शाए। तिनीहरू चढेको जहाज माल्टाको टापुमा डुब्दा वास्तवमा तिनीहरूको ज्यानै जोखिममा परेको थियो।—प्रेरित २७:१३-२८:१.
पावलका “संगी-कैदी”
पावलले सा.यु. ६०-६१ मा कलस्सीहरू र फिलेमोनलाई पत्र लेख्दा अरिस्तार्खस र लूका तिनीसित रोममै थिए। अरिस्तार्खस र इप्राफासलाई पावलले ‘सँगी कैदीहरू’ भनेर सम्बोधन गरेका छन्। (कलस्सी ४:१०, १४; फिलेमोन २३, २४) तसर्थ, केही समय अरिस्तार्खस पावलसित थुनामा बसेका हुनसक्छन्।
कम्तीमा दुइ वर्षजत्ति रोममा कैदी भएर बस्नु परे तापनि पावललाई एक जना सुरक्षाकर्मीको रेखदेखमा आफ्नै डेरामा बस्ने अनुमति दिइएको थियो। र त्यहाँ तिनले आफूलाई भेट्न आउने मानिसहरूलाई सुसमाचार घोषणा गर्नसक्थे। (प्रेरित २८:१६, ३०) त्यतिबेला अरिस्तार्खस, इप्राफास, लूका र अरूले पावललाई सहयोग र प्रोत्साहन दिंदै तिनको सेवा गरे।
“सान्त्वना दिने”
अरिस्तार्खससित सम्बन्धित प्रेरित बाइबलको विभिन्न प्रसंगहरूलाई केलाएपछि तिनीबारे के थाह हुन्छ? लेखक डब्लू. डी. थोमसअनुसार “अरिस्तार्खस सतावट सामना गर्नसक्ने र सतावट आइपर्दा पनि विश्वासलाई ढलपल हुन नदिने, सेवा गर्न दृढ संकल्पित मानिसको रूपमा प्रस्टै देखिन्छन्। घामपानी, तातोचिसो केही नभनी परमेश्वरलाई प्रेम गर्ने मानिसको रूपमा तिनले आफ्नो भिन्नै पहिचान दिएका छन्।”
पावलअनुसार अरिस्तार्खस र अरू मानिसहरू तिनलाई “सान्त्वना दिने[हरू]” (युनानी, पारेगोरिया) थिए। (कलस्सी ४:१०, ११) पावललाई सान्त्वना र प्रोत्साहन दिएर अरिस्तार्खस खाँचोमा परेको बेला एक सच्चा सहयोगी साबित भए। अनि निकै वर्षसम्म प्रेरित पावलको मित्र हुन पाउँदा तिनले अवश्य सन्तोष र आध्यात्मिक प्रगतिको अनुभव गरेको हुनुपर्छ।
हामी अरिस्तार्खसजस्तै नाटकीय परिस्थितिहरूमा नपरौंला। तर आज मसीही मण्डलीमा भएका सबै जना ख्रीष्टका भाइहरू र यहोवाको संगठनसित त्यसरी नै वफादार हुनु जरुरी छ। (मत्ती २५:३४-४० तुलना गर्नुहोस्।) मृत्यु, रोगबिमारी वा अन्य कारणहरूले गर्दा आज नभए भोलि सँगी उपासकहरूले दुःखकष्ट भोग्नुपर्ला। तिनीहरूसित काँधमा काँध मिलाएर, मदत गरेर, सान्त्वना तथा प्रोत्साहन दिएर हामीले पनि आफूलाई वफादार सहयोगी प्रमाणित गर्नसक्छौं र त्यसको आनन्द उठाउनसक्छौं।—तुलना गर्नुहोस् हितोपदेश १७:१७; प्रेरित २०:३५.