यहोवाले तपाईंलाई शक्तिशाली बनाउन सक्नुहुन्छ
“उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्तिहीनको शक्ति बढ़ाइदिनुहुन्छ।”—यशैया ४०:२९.
यहोवा “पराक्रमी” परमेश्वर हुनुहुन्छ। परमेश्वरको “अनन्त शक्ति र ईश्वरीय स्वभाव” उहाँको भव्य भौतिक सृष्टिमा देख्नसक्छौं। उहाँको ईश्वरीय स्वभावको त्यस्तो प्रमाण नकार्नेहरूलाई कुनै किसिमको बहाना छैन।—भजनसंग्रह १४७:५; रोमी १:१९, २०.
२ करोडौं प्रकाश-वर्षको दूरीमा फैलिएका अनगिन्ती तारापुञ्जहरूले भरिभराउ ब्रह्माण्डमा वैज्ञानिकहरूले गहिरो खोजतलास गर्दा यहोवाको शक्ति झन् प्रष्टिंदै जान्छ। राती स्वच्छ आकाश नियाँल्नुहोस् र विचार गर्नुहोस् कतै तपाईं पनि भजनरचयिताले जस्तै महसुस गर्नुहुँदैछ कि: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं [ले] नियुक्त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?” (भजनसंग्रह ८:३, ४) अनि यहोवाले मानिसहरूको कति ख्याल राख्नुभएको छ! प्रथम पुरुष तथा स्त्रीलाई उहाँले सुन्दर पार्थिव घरको प्रबन्ध गर्नुभयो। त्यसको माटोमा समेत बोटबिरुवा उमार्ने अनि पोषक तथा प्रदूषणरहित भोजन प्रदान गर्ने शक्ति थियो। परमेश्वरको शक्तिको यस्तो प्रदर्शनबाट मानिस अनि जनावरहरूले शारीरिक शक्ति पाउँछन्।—उत्पत्ति १:१२; ४:१२; १ शमूएल २८:२२.
३ दृश्य आकाश र पृथ्वीका वनस्पति तथा प्राणीहरू मोहक अनि आनन्ददायी हुनुको साथै त्यसले परमेश्वरको शक्ति पनि प्रकट गर्छ। प्रेरित पावलले यसरी लेखे: “उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, सृष्टिदखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ।” (रोमी १:२०) तर हाम्रो ध्यान तथा मूल्याङ्कन योग्य उहाँको शक्तिको अर्को प्रमाण पनि छ। ‘यस ब्रह्माण्डले भन्दा बढी अरू कुन कुराले परमेश्वरको शक्ति प्रदर्शन गर्नसक्ला!,’ भनी तपाईं शायद अन्योलमा पर्नुहोला। त्यसको जवाफ हो, येशू ख्रीष्ट। वास्तवमा, शूलीमा लट्काइएको ख्रीष्ट “परमेश्वरको शक्ति र परमेश्वरको ज्ञान हुनुहुन्छ” भनेर प्रेरित पावल प्रेरणाद्वारा भन्छन्। (१ कोरिन्थी १:२४) ‘तर कसरी र मेरो जीवनसित अहिले त्यसको के सरोकार?,’ शायद तपाईं प्रश्न गर्नुहोला।
उहाँको पुत्रद्वारा प्रकटित शक्ति
४ परमेश्वरले आफ्नै स्वरूपमा एक मात्र पुत्रको सृष्टि गर्नुहुँदा उहाँको शक्ति पहिलो चोटि प्रदर्शित भयो। सबै कुरा सृष्टि गर्न परमेश्वरको प्रचुर शक्तिको प्रयोग गरेर यस आत्मिक पुत्रले “मुख्य कालिगड” को रूपमा यहोवाको सेवा गर्नुभयो। (हितोपदेश ८:२२, ३० न्युव) कलस्सीका मसीही भाइहरूलाई पावलले यो लेखे: “उहाँमानै सबै थोक सृष्टि भएका थिए स्वर्गमा र पृथ्वीमाथि भएका दृष्ट र अदृष्ट थोकहरू [र] . . . सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।”—कलस्सी १:१५, १६.
५ हामी ‘पृथ्वीमाथि सृष्टि भएका थोकहरू’ हौं। त्यसोभए हामी मानवजातिमाथि पनि के परमेश्वरको शक्ति विस्तार गर्न सकिन्छ? वास्तवमा असिद्ध मानिसहरूसित व्यवहार गर्नुहुँदा आफ्नो उद्देश्य पूर्तिका लागि यहोवाले आफ्ना सेवकहरूलाई समय-समयमा अतिरिक्त शक्ति दिनुभएको छ। साधारणतया असिद्ध मानिसहरू ७० वा ८० वर्ष मात्र बाँच्छन् भनेर मोशालाई थाहा थियो। (भजनसंग्रह ९०:१०) तर मोशा स्वयम्को विषयमा के भन्न सकिन्छ? तिनी १२० वर्षसम्म बाँचे र पनि तिनको “आँखा कमजोर भएका थिएन, उनको बलपनि क्षीण भएको थिएन।” (व्यवस्था ३४:७) यद्यपि यसको अर्थ परमेश्वरले प्रत्येक सेवकलाई मोशाको जस्तो दीर्घायु वा बल दिनुहुन्छ भन्ने नभए तापनि यहोवाले मानिसहरूलाई शक्ति प्रदान गर्न सक्नुहुन्छ भनेर त्यसले प्रमाणित गर्छ।
६ पुरुषहरू वा स्त्रीहरूलाई परमेश्वरले शक्ति प्रदान गर्न सक्नुहुन्छ भन्ने कुरा उहाँले अब्राहामकी पत्नीलाई गर्नुभएको घटनाबाट पनि झल्किन्छ। “साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति पाइन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्यका गनेकी थिइन्।” अथवा इस्राएलका न्यायकर्त्ताहरू लगायत अन्य व्यक्तिहरूलाई यहोवाले कसरी शक्तिशाली बनाउनुभयो भनेर सोच्नुहोस्: “गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा औ दाऊद, शमूएल र अगमवक्ताहरू . . . कमजोरीबाट बलिया बनिए।”—हिब्रू ११:११, ३२-३४.
७ हामीमाथि पनि त्यस्तो शक्ति परिचालन हुनसक्छ। तर अहँ, यसो भन्दैमा हामीले चमत्कारद्वारा सन्तान पाउने वा शिमसनजस्तो बलवान हुने आशा त गर्न सक्दैनौं। तर पावलले कलस्सीका आममानिसहरूलाई भनेझैं शक्तिशाली भने हामी हुनसक्छौं। हो, आज हाम्रा मण्डलीहरूमा भएका पुरुष, स्त्री र केटाकेटीहरू जस्तै व्यक्तिहरूलाई पावलले “सारा शक्तिले बलवान” भएका छौ भनी लेखेका थिए।—कलस्सी १:११.
८ येशूको पार्थिव सेवकाईको दौडान आफ्नो पुत्रमाथि उहाँको शक्तिले काम गर्दैछ भनी यहोवाले प्रष्ट्याउनुभयो। उदाहरणको लागि, कफर्नहुममा मानिसहरूको भीड येशूकहाँ जम्मा हुँदा “उहाँसँग [यहोवाको] निको पार्ने शक्ति थियो।”—लूका ५:१७.
९ पुनरुत्थानपश्चात् येशूले आफ्ना अनुयायीहरूलाई ‘पवित्र आत्मा तिनीहरूमाथि आएपछि शक्ति पाउनेछन्’ भनी सान्त्वना दिनुभयो। (प्रेरित १:८) यो कुरा सत्य साबित भयो! सा.यु. ३३को पेन्तिकोस पछिका घटनाक्रमहरूबारे एक जना इतिहासकार यस्तो रिपोर्ट दिन्छन्: “बड़ो शक्तिसित ती प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको गवाही दिन्थे।” (प्रेरित ४:३३) परमेश्वरले खटाउनुभएको काम गर्न शक्तिशाली बनाइएकाहरूमध्ये स्वयम् पावल पनि थिए। धर्म परिवर्तन अनि आँखाको ज्योति पुनः प्राप्त भएपछि तिनी “झन्झन् शक्तिमान हुँदै गए, र ख्रीष्ट उहाँनै हुनुहुन्छ भन्ने प्रमाण दिएर दमीशकमा रहने यहूदीहरूलाई अकमक्क पारिदिए।”—प्रेरित ९:२२.
१० तीन-तीन पटक हजारौं किलोमिटरको मिसनरी यात्रा पूरा गर्न चाहिने आध्यात्मिक तथा मानसिक शक्तिलाई ध्यानमा राख्ने हो भने निस्सन्देह पावललाई थप शक्ति चाहिएको हुनुपर्छ भन्न सकिन्छ। दुई पटक जेल परेका अनि शहीद हुनसक्ने स्थितिसम्म पुगेका पावलले हर किसिमका कठिनाइहरू पनि सहे। तिनले यी सबै कसरी गर्न सके? यसको जवाफ तिनले यसरी दिए: “मद्वारा प्रचार होस् . . . भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र मलाई खूब बलियो तुल्याउनुभयो।”—२ तिमोथी ४:६-८, १७; २ कोरिन्थी ११:२३-२७.
११ तसर्थ, “आनन्दसित सारा धीरज र सहनशीलताको निम्ति उहाँको [यहोवाको] महिमाको सामर्थ्यअनुसार सारा शक्तिले बलवान” बनाइनेछन् भनी पावलले कलस्सीमा भएका “ख्रीष्टमा विश्वासी भाइहरूलाई” लेख्नु कुनै नौलो कुरा होइन। (कलस्सी १:२, ११) यी शब्दहरू मुख्यतः अभिषिक्त मसीहीहरूलाई सम्बोधन गरिएको भए तापनि ख्रीष्टको पदचिह्नमा हिंड्ने सबैले पावलले लेखेका कुराबाट ठूलो लाभ उठाउन सक्छन्।
कलस्सीमा शक्तिशाली बनाइएकाहरू
१२ एसियास्थित रोमी प्रान्तमा रहेको कलस्सी मण्डली सम्भवतः इप्राफास नामक विश्वासी मसीहीको प्रचार-कार्यद्वारा स्थापित भएको हुनुपर्छ। सा.यु. ५८ मा पावल रोममा कैदी भएको समाचार सुनेपछि इप्राफासले पावललाई भेटेर कलस्सीका भाइहरूको प्रेम अनि स्थिरताको राम्रो खबर सुनाउँदै सान्त्वना दिने निर्णय गरेको जस्तो देखिन्छ। इप्राफासले सम्भवतः कलस्सी मण्डलीमा सुधार गर्नुपर्ने केही समस्याहरूबारे यथार्थ रिपोर्ट पनि दिए होलान्। फलस्वरूप पावलले कलस्सीको मण्डलीलाई सान्त्वना अनि सल्लाहले भरिएको पत्र लेख्नु पर्ने आवश्यकता महसुस गरे। पावलले लेखेको उक्त पत्रको पहिलो अध्यायबाट शायद तपाईंले पनि यथेष्ट प्रोत्साहन प्राप्त गर्न सक्नुहुन्छ। किनभने आफ्ना सेवकहरूलाई यहोवाले कसरी शक्तिशाली बनाउन सक्नुहुन्छ भन्ने तथ्यको प्रमाण त्यसले दिन्छ।
१३ “ख्रीष्टमा विश्वासी भाइहरू” भनी पावलले सम्बोधन गर्दा कलस्सीका भाइ-बहिनीहरूले कस्तो महसुस गरे होलान्, हामी कल्पना गर्नसक्छौं। मसीही भएको समयदेखि ‘सबै पवित्र जनहरूतर्फ तिनीहरूको प्रेम’ अनि ‘सुसमाचारको फल’ फलाएकोमा तिनीहरू सराहनीय थिए! हाम्रो मण्डली अनि व्यक्तिगत तवरमा हाम्रो विषयमा पनि के त्यस्तै अभिव्यक्तिहरू व्यक्त गर्न सकिन्छ?—कलस्सी १:२-८.
१४ कलस्सीको रिपोर्ट सुनेर पावल यति उत्साही भए, “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न” “सारा आत्मिक बुद्धि र समझमा [परमेश्वरको] इच्छाको ज्ञानले . . . पूर्ण होओ” भनी तिनीहरूका लागि प्रार्थना गर्न छाडेका छैनन् भनेर तिनले कलस्सीहरूलाई लेखे। “हरेक असल काममा फलिफाप हुँदै परमेश्वरको ज्ञानमा बढ़दै गएर आनन्दसित सारा धीरज र सहनशीलताको निम्ति उहाँको महिमाको सामर्थ्यअनुसार सारा शक्तिले बलवान भएर” जाऊन् भनेर पनि तिनले प्रार्थना गरे।—कलस्सी १:९-११.
आज शक्तिशाली बनाइएकाहरू
१५ पावलले हाम्रानिम्ति कति असल उदाहरण बसाले! दुःखकष्टको बावजूद धैर्य धारण गर्न अनि आफ्नो आनन्दलाई कायम राख्न सकून् भनी हामीले गरेको प्रार्थना संसारभरिका हाम्रा भाइहरूलाई आवश्यक छ। अन्य मण्डली वा देशहरूमा भाइहरूले कठिनाइ भोग्नु परेको समाचार पाउँदा हामीले पावलले जस्तै तोकेर प्रार्थना गर्नुपर्छ। शायद प्राकृतिक प्रकोप वा त्यस्तै केही आध्यात्मिक कठिनाइले गर्दा नजिकैको मण्डली प्रभावित भएको हुनसक्छ। अथवा गृहयुद्ध वा अन्तरजातीय कलहले ग्रस्त मुलुकमा मसीहीहरूले कष्ट भोग्नुपरेको हुनसक्छ। हामीले प्रार्थना गर्दा हाम्रा भाइहरू “प्रभुको योग्य चालमा चल्न,” कष्टलाई सहँदै राज्य फल फलाउन र ज्ञानमा बढ्दै जान मदत गर्नुहोस् भनी परमेश्वरसित बिन्ती गर्नुपर्छ। यसो गर्दा परमेश्वरका सेवकहरूले उहाँको आत्माको शक्ति पाएर “सारा शक्तिले बलवान” हुनेछन्। तपाईंको महान पिताले सुन्नुभएर त्यसको प्रत्युत्तर दिनुहुनेछ भनी तपाईं निश्चिन्त हुन सक्नुहुन्छ।—१ यूहन्ना ५:१४, १५.
१६ कलस्सीका मसीहीहरूले ‘ज्योतिमा पवित्र जनहरूको अधिकारको सम्भागी हुन तिनीहरूलाई योग्य तुल्याउनुहुने पितालाई धन्यवाद’ दिनुपर्ने हो भनी पावलले लेखे। चाहे स्वर्गमा होस् वा पार्थिव क्षेत्रमा, हाम्रो स्वर्गीय पिताले आफ्नो प्रबन्धअनुसार हाम्रो निम्ति तोकिदिनुभएको स्थानका लागि उहाँलाई धन्यवाद चढाऔं। तर असिद्ध मानिसहरूलाई परमेश्वरले आफ्नो दृष्टिमा कसरी योग्य ठहराउनुभयो? आफ्ना अभिषिक्त भाइहरूलाई पावलले लेखे: “हामीलाई अन्धकारको शक्तिदेखि छुटाउनु र आफ्नो प्रेमी पुत्रको राज्यभित्र परिवर्त्तन गराउनुभयो, जसमा हाम्रो उद्धार, अर्थात् हाम्रो पापको क्षमा छ।”—कलस्सी १:१२-१४.
१७ यहोवाको प्रिय पुत्रले दिनुभएको छुटकाराको बलिदानको अनमोल प्रबन्धमाथि विश्वास गरेकोले यस दुष्ट अन्धकार रीतिरिवाजबाट हामीले छुटकारा पाएका छौं। त्यसैले चाहे हाम्रो आशा स्वर्गीय होस् वा पार्थिव, यस्तो छुटकारा दिनुभए वापत हामी दिनहुँ परमेश्वरलाई धन्यवाद चढाउँछौं। (मत्ती २०:२८) ‘परमेश्वरको प्रेमको पुत्रको राज्यमा प्रवेश’ गराउन आत्मा अभिषिक्त मसीहीहरूमाथि विशेष ढङ्गमा छुटकाराको बलिदान लागू गराइएको हुँदा तिनीहरू त्यस बलिदानबाट लाभान्वित भएका छन्। (लूका २२:२०, २९, ३०) तर “अरू भेड़ा” पनि अहिले छुटकाराको बलिदानबाट लाभान्वित हुनसक्छन्। (यूहन्ना १०:१६) परमेश्वरसमक्ष उहाँका मित्रहरूको रूपमा धर्मी ठहरिन तिनीहरूले उहाँको क्षमा पाउनसक्छन्। यस अन्तको समयमा “राज्यको यो सुसमाचार” घोषणा गर्ने काममा तिनीहरूले बृहत् मात्रामा भाग लिइरहेका छन्। (मत्ती २४:१४) यस बाहेक ख्रीष्टको सहस्रवर्षे राज्यको अन्तमा पूर्णतया धर्मी अनि शारीरिक तवरमा सिद्ध हुने अद्भुत आशा तिनीहरूसँग छ। प्रकाश ७:१३-१७ को विवरण पढ्नुभयो भने उपरोक्त परिस्थिति छुटकारा तथा आशिषत् हुनुको प्रमाण हो भनी तपाईं सम्भवतः सहमत हुनुहुन्छ होला।
१८ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुषप्रति हामी कत्तिको ऋणी छौं भनेर बुझ्न हामीलाई पावलको पत्रले मदत गर्छ। त्यसोभए परमेश्वरले ख्रीष्टद्वारा कुन कुरा पूरा गर्दैहुनुहुन्थ्यो? “क्रूसको रगतद्वारा शान्ति गराएर उहाँद्वारै सबै थोक, चाहे पृथ्वीका, चाहे स्वर्गका, उहाँद्वारानै आफैसँग मिलाप गराउनुभयो।” सारा सृष्टिलाई अदनको विद्रोह अघिजस्तै यहोवासित मिलाप गराउने परमेश्वरको उद्देश्य छ। यस्तो मिलाप गराउन चलाइएको व्यक्ति उहाँ नै हुनुहुन्छ जसलाई यावत् थोक सृष्टि गर्न चलाइएको थियो।—कलस्सी १:२०.
कुन उद्देश्य पूरा गर्न शक्तिशाली बनाइयो?
१९ परमेश्वरसित मिलाप गराइएकोले हामीमाथि जिम्मेवारीहरू आइपर्छन्। कुनै समय हामी पापी अनि परमेश्वरबाट विराना थियौं। तर अहिले येशूको बलिदानमाथि विश्वास गरेकोले र दुष्ट कुराहरूदेखि अलग भएकोले हामी “[परमेश्वर समक्ष] पवित्र र निष्कलङ्क र निन्दारहितका” छौं। (कलस्सी १:२१, २२) यसो सोच्नुहोस् त, पुरातन विश्वासी साक्षीहरूसित लज्जित नहुनु भएझैं हामीले उहाँलाई हाम्रो परमेश्वर भनी पुकारेकोमा परमेश्वर लज्जित हुनुहुन्न। (हिब्रू ११:१६) उहाँको यशस्वी नाउँ गलत ढङ्गमा अङ्गीकार गऱ्यो भनेर आज कसैले हामीलाई दोष लगाउन सक्दैन नता पृथ्वीको कुनाकुनासम्म उहाँको नाउँ घोषणा गर्न भयभीत भयौं भनेर नै दोष लगाउनसक्छ!
२० तर कलस्सी १:२३ मा पावलले दिएको सावधानीलाई सम्झनुहोस्: “यदि तिमीहरूले सुनेका सुसमाचारको आशाबाट, जो स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो, . . . तिमीहरू नहटीकन त्यसमा गड़ेर स्थिर भई विश्वासमा रहिरह्यौ भनेता उहाँले तिमीहरूलाई मिलाप गराउनुभएको छ।” यहोवाप्रति वफादार हुनु अनि उहाँको प्रिय पुत्रको पदचिह्नलाई पछ्याउनुमा धेरै कुरा निर्भर गर्छ। यहोवा तथा येशूले हाम्रोनिम्ति धेरै गरिदिनुभएको छ! अतः पावलका सल्लाह पालन गर्दै उहाँहरूप्रति हामी पनि आफ्नो प्रेम व्यक्त गरौं।
२१ ‘आफूले सुनेका सुसमाचार’ “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी सुन्न पाउँदा कलस्सीहरू अवश्य रोमाञ्चित भए होलान्। तर आज राज्य सुसमाचारको प्रचारले गर्दा २३० मुलुकहरूमा ४५ लाखभन्दा बढी साक्षीहरू भए भनी सुन्न पाउनु झन् बढी रोमाञ्चकारी छ। भनौं भने, वर्षेनी सारा राष्ट्रहरूबाट झण्डै ३,००,००० व्यक्तिहरूले परमेश्वरसित मिलाप गर्दैछन्!—मत्ती २४:१४; २८:१९, २०.
२२ कलस्सीहरूलाई पत्र लेख्दा स्पष्टतः पावल जेलमा भए तापनि तिनले आफ्नो दुर्गतिलाई कोसेनन्। बरु तिनले यसो भने: “तिमीहरूको खातिर मेरो शासनामा म आनन्द गर्दछु।” “सारा धीरज र सहनशीलता” धारण गर्नुको अर्थ के हो, पावललाई थाहा थियो। (कलस्सी १:११, २४) तर आफ्नै शक्तिले त्यसो गर्न सम्भव भएको होइन भनेर पनि तिनलाई थाहा थियो। यहोवाले नै तिनलाई शक्तिशाली बनाउनुभएको थियो! आज पनि यो कुरा लागू हुन्छ। जेलमा परेका र सताइएका हजारौं साक्षीहरूले यहोवाको सेवामा आनन्द गुमाएका छैनन्। बरु यशैया ४०:२९-३१ मा दिइएका परमेश्वरका शब्दहरूको सत्यतालाई तिनीहरूले बुझ्न सकेका छन्: “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ, . . . परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्।”
२३ ख्रीष्टमा केन्द्रित सुसमाचारको सेवकाई पावलको लागि साह्रै महत्त्वपूर्ण कुरा थियो। परमेश्वरको उद्देश्यमा ख्रीष्टले निभाउनु हुने भूमिकाको मूल्याङ्कन अरूले गरोस् भनी तिनी चाहन्थे, अतः त्यसलाई “युगयुग र पुस्ता पुस्तादेखि दबिरहेको त्यो रहस्य” भनी तिनले वर्णन गरे। तर त्यो सधैं रहस्य हुनु पर्ने थिएन। पावलले थप्दै यसो भने: “तर अब उहाँका पवित्र जनहरूमा प्रकट भएको छ।” (कलस्सी १:२६) अदनमा विद्रोह सुरु हुँदा यहोवाले उज्ज्वल आशाको प्रतिज्ञा गर्नुहुँदै ‘स्त्रीको सन्तानले सर्पको शिर कुच्याउनेछ’ भनी भविष्यवाणी गर्नुभयो। (उत्पत्ति ३:१५) यसको अर्थ के हो? पुस्तौं पुस्ता अनि शताब्दीयौंसम्म यो रहस्य भएर रह्यो। पछि येशू आउनुभयो र उहाँले “जीवन र अविनाशलाई सुसमाचारद्वारा ज्योतिमा ल्याउनुभयो।”—२ तिमोथी १:१०.
२४ हो, ख्रीष्ट तथा मसीही राज्य वरपर ‘पवित्र रहस्य’ केन्द्रित छ। ख्रीष्टसँग शासन गर्नेहरूलाई सङ्केत गर्दै पावलले “स्वर्गका . . . कुरा” भनी उल्लेख गरे। यसै पृथ्वीमा अनन्त प्रमोदवनको आनन्द उठाउने “पृथ्वीका . . . कुरा” लाई अनगिन्ती आशिष्हरू ल्याउन यिनीहरू सहायक हुनेछन्। तसर्थ “[पवित्र] रहस्यको महिमाको सम्पत्ति” बारे पावलले उल्लेख गर्नु कति उपयुक्त थियो भनेर हामी देख्न सक्छौं।—कलस्सी १:२०, २७.
२५ पावलले उत्सुकतापूर्वक मसीही राज्यमा आफ्नो स्थानका लागि पर्खिरहेका थिए। यद्यपि त्यो आशा गर्दै हात बाँधेर बस्ने कुरा होइन भनेर तिनले बुझेका थिए। “उहाँको कार्यअनुसार प्रयत्न गरेर जो ममा जोरसँग काम गर्दछ, जसको निम्ति म परिश्रम पनि गर्दछु।” (कलस्सी १:२९) जीवनरक्षक सेवकाई पूरा गर्न यहोवाले ख्रीष्टद्वारा पावललाई शक्तिशाली बनाउनुभएको थियो भनी याद गर्नुहोस्। आज हाम्रोनिम्ति पनि यहोवाले त्यस्तै गर्न सक्नुहुन्छ। तर हामीले आफैलाई प्रश्न गर्नुपर्छ, ‘भर्खर सच्चाइ सिक्दा प्रचार-कार्यका लागि मभित्र भएको जोश के अहिले पनि छ?’ तपाईं कस्तो जवाफ दिनुहुन्छ? ‘यहोवाको कार्यअनुसार प्रयत्न गरेर जोरसँग काम गर्न’ कुन कुराले हामी प्रत्येकलाई मदत गर्नसक्छ? अर्को लेखले यसै विषयमा छलफल गर्नेछ। (w94 12/15)
के तपाईंले याद गर्नुभयो?
◻ मानिसहरूको खातिर यहोवाले आफ्नो शक्ति प्रदर्शन गर्न सक्नुहुन्छ भनेर हामी किन विश्वस्त हुनसक्छौं?
◻ कलस्सी अध्याय १ मा दिइएको पावलका शब्दहरूको पृष्ठभूमि के हो?
◻ कलस्सी १:२० मा उल्लिखित मिलापलाई परमेश्वरले कसरी पूरा गर्दै हुनुहुन्छ?
◻ आफ्नो शक्ति चलाएर यहोवाले हामीद्वारा के पूरा गर्न सक्नुहुन्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. यहोवाको प्रचुर शक्तिका केही प्रमाणहरू के के हुन्?
३. ब्रह्माण्डका भौतिक वस्तुहरू बाहेक अर्को कुन कुराले पनि परमेश्वरको शक्ति प्रकट गर्छ?
४. आफ्नो पुत्रको सम्बन्धमा परमेश्वरको शक्ति कसरी देखाइयो?
५-७. (क) पुरातन समयमा परमेश्वरको शक्ति प्रदर्शन गर्ने सन्दर्भमा मानिसहरू कसरी मुछिएका थिए? (ख) आज मसीहीहरूको सम्बन्धमा पनि परमेश्वरको शक्ति प्रदर्शित हुनसक्छ भनेर विश्वास गर्ने के के कारणहरू छन्?
८, ९. हामीजस्ता मानिसहरूको सम्बन्धमा यहोवाको शक्ति प्रथम शताब्दीमा कसरी प्रष्ट पारियो?
१०. पावलको सम्बन्धमा परमेश्वरको शक्ति कसरी मदतकारी भयो?
११. परमेश्वरको शक्तिबारे पावलले कलस्सीका सहसेवकहरूलाई कुन आशाको उल्लेख गरे?
१२, १३. कलस्सीलाई लेखेको पत्रको पृष्ठभूमि के थियो र तिनीहरूले सम्भवतः कस्तो प्रत्युत्तर दिए होलान्?
१४. कलस्सीहरूप्रति पावलको के इच्छा थियो?
१५. पावलले कलस्सीहरूलाई लेखेको पत्रमा झल्किएको जस्तो मनोवृत्ति हामी कसरी प्रदर्शित गर्नसक्छौं?
१६, १७. (क) पावलले लेखेअनुसार हामी कुन कुराको लागि कृतज्ञ हुनुपर्छ? (ख) कुन अर्थमा परमेश्वरका जनहरूलाई छुटकारा अनि माफी दिइएको छ?
१८. कलस्सीमा उल्लिखित कुन मिलाप परमेश्वरले अझै पनि गर्दै हुनुहुन्छ?
१९, २०. हामी पवित्र अनि निष्कलङ्क हुनु कुन कुरामा भर पर्छ?
२१. हामी अहिले रोमाञ्चित हुनुपर्ने ठूलो कारण किन छ?
२२. हामीले कष्ट भोग्यौं भनेपनि परमेश्वरले हाम्रो लागि के गर्न सक्नुहुन्छ?
२३, २४. कलस्सी १:२६ मा उल्लिखित पवित्र रहस्य के हो?
२५. कलस्सी १:२९ मा उल्लेख गरिएअनुसार अहिले हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?
[पृष्ठ २०-मा भएको नक्सा/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
कलस्सी