‘ख्रीष्टको चालमा चल्नुहोस्’
“यसकारण जसरी प्रभु येशू ख्रीष्टलाई ग्रहण गऱ्यौ, त्यसैगरी . . . उहाँकै चालमा चल।”—कलस्सी २:६, ७.
१, २. (क) विश्वासी भएर यहोवाको सेवा गर्ने हनोकको जीवनलाई बाइबल कसरी वर्णन गर्छ? (ख) कलस्सी २:६, ७ अनुसार यहोवाले उहाँसँगसँगै हिंड्न हामीलाई कसरी मदत गर्नुभएको छ?
बुबाको हात समातेर टुकुटुकु हिंडिरहेको बालकलाई के तपाईंले कहिल्यै याद गर्नुभएको छ? बुबा देखेर मक्ख पर्दै अनि बुबाकै पाइलामा टेक्दै ऊ कत्ति रमाई रमाई बुबासित हिंडिरहेको हुन्छ। बुबा पनि मायालु अनुहार लिएर उसलाई हिंड्न मदत गरिरहेका हुन्छन्! आफ्ना विश्वासी जनहरूको सेवाको वर्णन गर्नुपर्दा यहोवा बुबा-छोराबीचको यस्तै सम्बन्धलाई उदाहरणस्वरूप चलाउनुहुन्छ अनि उहाँले त्यस्तो उदाहरण दिन सुहाउँछ पनि। जस्तै, परमेश्वरको वचनले विश्वासी पुरुष हनोक “परमेश्वरका साथसाथ हिंड़थे” भनेर बताउँछ।—उत्पत्ति ५:२४; ६:९.
२ मायालु बुबाले सानो छोरालाई हिंड्न मदत दिएझैं यहोवाले पनि हामीलाई यथासम्भव उत्तम मदत दिनुभएको छ। उहाँले आफ्नो एकमात्र पुत्रलाई यस पृथ्वीमा पठाउनुभयो। पृथ्वीमा रहुञ्जेल येशू ख्रीष्टले हरेक पाइलामा आफ्नो स्वर्गीय पिताको नक्कल उतार्नुभयो। (यूहन्ना १४:९, १०; हिब्रू १:३) तसर्थ, परमेश्वरसँगसँगै हिंड्न हामी येशूसँग हिंड्नुपर्छ। प्रेरित पावलले लेखे: “यसकारण जसरी प्रभु येशू ख्रीष्टलाई ग्रहण गऱ्यौ, त्यसैगरी उहाँमा जरा हालेका र बनिएका भएर, औ तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूको विश्वासमा दृढ़ भएर, धन्यवादसाथ यसमा प्रशस्त हुँदै उहाँकै चालमा चल।”—कलस्सी २:६, ७.
३. कलस्सी २:६, ७ अनुसार ख्रीष्टको चालमा चल्न बप्तिस्मा लिएर मात्र पुग्दैन भनेर किन भन्नसक्छौं?
३ ख्रीष्टको चालमा चल्न अनि हरेक कुरामा उहाँको नक्कल गर्न चाहेकै कारण सोझा हृदय भएका बाइबल विद्यार्थीहरू बप्तिस्मा लिन्छन्। (लूका ३:२१; हिब्रू १०:७-९) सन् १९९७ मा मात्रै विश्वभरि ३,७५,००० भन्दा बढी अर्थात् प्रत्येक दिन औसतन १,००० जनाले यो महत्त्वपूर्ण कदम चाले। कत्ति उत्साहजनक वृद्धि! तथापि, कलस्सी २:६, ७ मा लिपिबद्ध पावलका शब्दहरूले ख्रीष्टको चालमा चल्न बप्तिस्मा लिएर मात्र पुग्दैन भनेर औंल्याउँछ। “चल” भनी अनुवाद गरिएको युनानी क्रियाले लगातार भइरहने वा चलिरहने प्रक्रिया बुझाउँछ। यसबाहेक, ख्रीष्टको चालमा चल्नुमा चार कुरा समावेश छन् भनी पावल बताउँछन्। ती हुन्, ख्रीष्टमा जरा हालेको हुनु, उहाँमा बनिनु, विश्वासमा दृढ हुनु अनि धन्यवाद दिनमा प्रशस्त हुनु। आउनुहोस्, हामी यी चारैवटा बुँदाहरू केलाएर हेरौं र ख्रीष्टको चालमा चल्न यसले कसरी मदत गर्दोरहेछ, बुझौं।
के तपाईं ‘ख्रीष्टमा जरा हालिएको’ व्यक्ति हुनुहुन्छ?
४. ‘ख्रीष्टमा जरा हाल्नुको’ अर्थ के हो?
४ प्रथमतः हामी ‘ख्रीष्टमा जरा हालेको’ हुनुपर्छ भनी पावल लेख्छन्। (मत्ती १३:२०, २१ तुलना गर्नुहोस्।) कुनै व्यक्तिविशेषले कसरी ख्रीष्टमा जरा हाल्नेतर्फ प्रगति गर्नसक्छ? बोटबिरुवाका जरा जमीनमुनि नदेखिनेगरि पलाएको हुन्छ तर त्यो बोटबिरुवाको अभिन्न अंग हो किनकि त्यसले बोटबिरुवालाई चाहिने आड र पोषक तत्व दिन्छ। त्यसैगरि, ख्रीष्टको नमुना तथा शिक्षाहरूले हामीलाई सुरु सुरुमा नदेखिनेगरि असर गरिरहेको हुन्छ र हाम्रो मनमस्तिष्क तथा हृदयमा ठप्प बस्दै गइरहेको हुन्छ। त्यसपछि, त्यसले हामीलाई पोषण तथा बल दिन थाल्छ। हाम्रो सोचविचार, काम तथा निर्णयहरू त्यसअनुरूप ढाल्दै गयौं भने अन्ततः हाम्रो जीवन यहोवालाई अर्पण गर्न हामी उत्प्रेरित हुन्छौं।—१ पत्रुस २:२१.
५. आध्यात्मिक भोजनको “तृष्णा” कसरी जगाउन सकिन्छ?
५ येशू परमेश्वरको ज्ञान यति धेरै मन पराउनुहुन्थ्यो कि उहाँले त्यसलाई भोजनसित समेत तुलना गर्नुभयो। (मत्ती ४:४) उहाँले डाँडाको उपदेशमा हिब्रू शास्त्रका आठ विभिन्न किताबहरूबाट २१ चोटि उद्धरण गर्नुभयो। उहाँको नक्कल गर्न प्रेरित पत्रुसले आग्रह गरेजस्तै आध्यात्मिक भोजनको त्यस्तो “तृष्णा” जगाउनुपर्छ जस्तो तृष्णा “नयाँ जन्मेका बालकहरू[मा]” हुन्छ। (१ पत्रुस २:२) भोक लागेको बेला बालकले आफ्नो तीव्र तृष्णा सबैले बुझ्नेगरि जनाइहाल्छ। हाल हामीसित आध्यात्मिक भोजनको यस्तो तृष्णा छैन भने पत्रुस “तृष्णा गर” भनेर प्रोत्साहन दिन्छन्। तर कसरी गर्ने? यसका लागि भजन ३४:८ को सिद्धान्त मदतकारी हुनसक्छ: “पारख गरेर [“चाखेर,” NW] हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ।” हुनसक्छ, दिनहुँ केही अंश पढेर नियमित तवरले यहोवाको वचन बाइबल ‘चाख्ने’ गऱ्यौं भने यसमा कति आध्यात्मिक पोषण तथा स्वाद लुकेको रहेछ, त्यो देख्नेछौं। फलतः बिस्तारै बिस्तारै परमेश्वरको वचनको तृष्णा जाग्न थाल्नेछ।
६. आफूले पढेका कुराहरू मनन गर्नु किन महत्त्वपूर्ण छ?
६ तथापि, खाएको भोजन पचाउनु पनि त्यत्तिकै महत्त्वपूर्ण छ। अतः पढेको कुरा मनन पनि गर्नुपर्छ। (भजन ७७:११, १२) उदाहरणका लागि, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पढ्दा बीच बीचमा रोकिंदै ‘भर्खरै पढेको कुराबाट ख्रीष्टको व्यक्तित्वको कुन पक्ष देख्नसकें अनि त्यसको नक्कल कसरी गर्नसक्छु’ भनेर मनमनै प्रश्न गर्दा धेरै फाइदा हुनसक्छ। यसरी मनन गर्नेगऱ्यौं भने सिकेका कुरा व्यवहारमा उतार्न सजिलो हुनेछ अनि कुनै निर्णय गर्नुपर्दा येशूले भए के गर्नुहुन्थ्यो होला भनेर आफैसित सोधिरहेका हुनेछौं। यसरी सोध्दै निर्णय गर्न थाल्यौं भने हामीले साँच्चै ख्रीष्टमा जरा हालेका छौं भनेर प्रमाण दिइरहेका हुन्छौं।
७. खँदिलो आध्यात्मिक खानेकुरालाई कुन दृष्टिकोणले हेर्नुपर्छ?
७ पावल “खँदिलो खानेकुरा” अर्थात् परमेश्वरको वचनका गहिरा गहिरा सच्चाइहरू लिने आग्रह पनि गर्छन्। (हिब्रू ५:१४) यस सन्दर्भमा सर्वप्रथम हामी पूरै बाइबल पढ्ने लक्ष्य राख्नसक्छौं। त्यसपछि, ख्रीष्टले दिनुभएको छुटकाराको बलिदान, यहोवाले आफ्ना जनहरूसित गर्नुभएका विभिन्न वाचा वा बाइबलका कुनै भविष्यसूचक वचन जस्ता खास विषय छानेर अध्ययन गर्नसक्छौं। यस्ता खँदिला आध्यात्मिक भोजनहरू लिन र पचाउनका निम्ति हामीसित प्रशस्त विषयवस्तुहरू छन्। तथापि, यस्तो ज्ञान लिनुको उद्देश्य चाहिं के हो? फूर्ति लगाउन त पक्कै होइन तर यहोवालाई अझ धेरै प्रेम गर्न अनि उहाँसँग घनिष्ठ हुन। (१ कोरिन्थी ८:१; याकूब ४:८) भोकाएर यस्तो ज्ञान लियौं, व्यवहारमा उताऱ्यौं अनि अरूलाई मदत गर्न त्यसको प्रयोग गऱ्यौं भने साँच्चै नै ख्रीष्टको नक्कल गरिरहेका हुनेछौं। फलतः उहाँमा बलियोगरि जरा हाल्न सक्नेछौं।
के तपाईं ‘ख्रीष्टमा बनिएको’ हुनुहुन्छ?
८. ‘ख्रीष्टमा बनिएको’ हुनुको अर्थ के हो?
८ ख्रीष्टको चालमा चल्नुको अर्को पक्ष बुझाउन पावल अब दृश्य परिवर्तन गरेर बिरुवाबाट भवन निर्माणतर्फ लैजान्छन्। भवन निर्माण भन्ने बित्तिकै हामी जग मात्र होइन कडा परिश्रम गरेर जगमाथि उठाइने भवनको पनि कल्पना गर्छौं। त्यसैगरि, ख्रीष्टको जस्तो गुन तथा आनीबानी विकास गर्न हामीले कडा परिश्रम गर्नुपर्छ। तथापि, पावलले तिमोथीलाई लेखेझैं यस्तो कडा परिश्रम खेर जाँदैन: “तिम्रो प्रगति सबैमा प्रकट होस्।” (१ तिमोथी ४:१५; मत्ती ५:१६) हामीलाई बलियो बनाउने केही मसीही क्रियाकलापहरू के के हुन्?
९. (क) हाम्रो सेवकाईमा ख्रीष्टको नक्कल गर्न कस्ता कस्ता व्यवहारिक लक्ष्यहरू राख्नसक्छौं? (ख) हामीले आफ्नो सेवकाईबाट आनन्द उठाऊन् भनी यहोवा चाहनुहुन्छ भनेर कसरी भन्नसक्छौं?
९ येशूले हामीलाई सुसमाचार प्रचार गर्न र सिकाउन अह्राउनुभएको थियो। (मत्ती २४:१४; २८:१९, २०) उहाँले साहसी अनि प्रभावशाली ढंगमा साक्षी दिनुभएर सिद्ध नमुना बसाल्नुभयो। निस्सन्देह, उहाँले गरेजति त हामी कहिल्यै गर्न सक्दैनौं तैपनि प्रेरित पत्रुस हामीलाई यस्तो लक्ष्य राख्न आग्रह गर्छन्: “ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) ‘हरेकलाई जवाफ दिन . . . [आफू] सधैं तयार’ छैन जस्तो लाग्छ भने खिन्न नहुनुहोस्। यो लक्ष्य हासिल नहोउञ्जेल सानातिना आफूले भ्याउनसक्ने लक्ष्य राख्नुहोस्। अग्रिम तयारी गर्नुहोस्। त्यसो गर्नुभयो भने थरीथरीका प्रस्तुति बनाउन सकिन्छ र साथै प्रस्तुतिमा एक दुइटा शास्त्रपद समावेश गर्न सकिन्छ। तपाईंले अझ बढी बाइबल साहित्यहरू वितरण गर्ने, पुनःभेट गर्ने वा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्न सक्नुहुन्छ। तथापि, तपाईंको ध्याउन्ना घण्टा, साहित्य वा अध्ययनहरू बढाउने मात्र नहोस्। हाम्रो लक्ष्य संख्यात्मक नभएर गुणात्मक हुनुपर्छ। व्यवहारिक लक्ष्यहरू निर्धारण गरेर पूरा गर्ने प्रयत्न गर्नाले सेवकाईमा अर्पित हुन र आनन्द उठाउनसक्नेछौं। यहोवा पनि त्यस्तै चाहनुहुन्छ। मतलब, हामीले उहाँको सेवा “आनन्दसाथ” गरेको चाहनुहुन्छ।—भजन १००:२; तुलना गर्नुहोस् २ कोरिन्थी ९:७.
१०. हामीले गर्नुपर्ने अन्य केही मसीही कार्यहरू के के हुन् र तिनले हामीलाई कसरी मदत गर्छन्?
१० मण्डलीमा हामीले गर्ने कामहरूले पनि हामीलाई ख्रीष्टमा बनिन मदत गर्छ। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण चाहिं एकअर्कालाई प्रेम गर्नु हो। किनकि यो नै साँचो मसीहीहरूको चिनारी पनि हो। (यूहन्ना १३:३४, ३५) अध्ययनको दौडान हामीमध्ये धेरैजसो आफ्नो शिक्षकसँग मात्रै घनिष्ठ हुन्छौं र त्यो स्वाभाविक पनि हो। तथापि, के अब मण्डलीका अरूसँग चिनापर्ची गरेर “ठूला मनका होओ” भन्ने पावलको सल्लाह पछ्याउने होइन त? (२ कोरिन्थी ६:१३) प्राचीनहरूलाई पनि हाम्रो प्रेम तथा मूल्यांकन चाहिन्छ। उनीहरूलाई सहयोग गरेर अनि उनीहरूसित धर्मशास्त्रीय सल्लाह माग्नुका साथै स्वीकारेर उनीहरूको बोझिलो कामलाई हलुका बनाउनसक्छौं। (हिब्रू १३:१७) साथै, यसो गर्नाले हामी ख्रीष्टमा अझ बनिनसक्छौं।
११. बप्तिस्माबारे कस्तो व्यवहारिक दृष्टिकोण राख्नुपर्छ?
११ बप्तिस्मा रोमाञ्चकारी घडी हो! तथापि, त्यसपछिका जीवनका हरेक पलहरू त्यत्तिकै रोमाञ्चकारी होला भन्ने आशा गर्न सकिंदैन। ख्रीष्टमा बनिएको हुनुमा ‘त्यहीबमोजिम चल्न’ पनि आवश्यक छ। (फिलिप्पी ३:१६) तर यसको अर्थ नीरस वा पट्टाइलाग्दो जीवन बिताउनु भनेको होइन। यसको अर्थ हो, कतै नअल्मलिई सीधा आफ्नो बाटो लाग्नु, मतलब दिनैपिच्छे, वर्षैपिच्छे असल आध्यात्मिक आनीबानी बनाउँदै जानु हो। नबिर्सनुहोस्, “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती २४:१३.
के तपाईं “विश्वासमा दृढ़” हुनुहुन्छ?
१२. ‘विश्वासमा दृढ हुनुको’ अर्थ के हो?
१२ ख्रीष्टको चालमा चल्न के के गर्नुपर्छ भन्ने खुलाउन पावल तेस्रो वाक्यांश चलाउँदै आग्रह गर्छन्, “विश्वासमा दृढ़” रह। एउटा अनुवादमा “विश्वासमा पक्का होओ’ भनिएको छ किनकि पावलले चलाएको युनानी शब्दको अर्थ “पक्का हुनु, ग्यारेन्टी हुनु, अनि कानुनन् निश्चित हुनु” हो। हामी जसै ज्ञानमा बढ्दै जान्छौं, यहोवामाथिको हाम्रो विश्वास दृढ हुनुका साथै कानुनन् पक्का हुनुपर्ने अन्य कारणहरू पाउँछौं। फलस्वरूप, हामी झन् झन् स्थिर हुन्छौं। नतिजा, शैतानको संसारले हामीलाई हल्लाउन सक्नेछैन। यसले “परिपक्वतातर्फ बढ्दै जाऔं” भन्ने पावलको आग्रह सम्झाउँछ। (हिब्रू ६:१, नयाँ संशोधित संस्करण) जति जति परिपक्व हुन्छौं हामी उति उति स्थिर हुँदै जान्छौं।
१३, १४. (क) प्रथम शताब्दीमा कलस्सीका मसीहीहरूले तिनीहरूको स्थिरतामा आँच पुऱ्याउन खोज्ने कुन कुराको सामना गर्नुपऱ्यो? (ख) कुन कुराले प्रेरित पावल चिन्तित भएको हुनुपर्छ?
१३ प्रथम शताब्दीमा कलस्सीका मसीहीहरूले तिनीहरूको स्थिरतामा आँच पुऱ्याउन खोज्ने खतराको सामना गरे। पावलले चेताउनी दिए: “ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टका अनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।” (कलस्सी २:८, नयाँ संशोधित संस्करण) ‘प्रेमी [परमेश्वरको] पुत्रको राज्यका’ प्रजा भएका कलस्सीहरू पतित भएर आध्यात्मिक राज्यबाट नतर्कून् भन्ने पावल चाहन्थे। (कलस्सी १:१३) तर कुन कुराले गर्दा तर्किने? पावलले औंल्याए, “दर्शनशास्त्र[ले]।” यो शब्द बाइबलमा यही एक ठाउँमा मात्र पाइन्छ। के तिनले प्लेटो र सुकरातजस्ता युनानी दार्शनिकहरूबारे कुरा गरिरहेका थिए? तिनीहरूले साँचो मसीहीहरूमाथि आँच पुऱ्याउनसक्ने भए तापनि त्यसताक “दर्शनशास्त्र[को]” निकै ठूलो अर्थ लाग्थ्यो। साधारणतया, यसले विचारधारा वा विचारधारा राख्ने समूह बोध गराउँथ्यो र त्यस्तो विचारधारा धर्मसित समेत सम्बन्धित हुनसक्थ्यो। उदाहरणका लागि, प्रथम शताब्दीका जोसेफस र फिलोजस्ता यहूदीहरू आफ्नो धर्मलाई दर्शनशास्त्र भन्थे। सम्भवतः आफ्नो धर्मलाई आकर्षक बनाउन तिनीहरूले त्यसो भनेका हुनुपर्छ।
१४ पावललाई केही धार्मिक दर्शनशास्त्रहरूले चिन्तित तुल्याएको हुनुपर्छ। कलस्सीहरूलाई लेखेको पत्रको सोही अध्यायमा पावलले “नसमात, नचाख, नछोओ” भनी शिक्षकहरूलाई भने। पावलले यी शब्दहरूद्वारा ख्रीष्टको मृत्युले रद्द गरिसकेको मोशाका व्यवस्थाका विशेषताहरूलाई औंल्याउँदैथे। (रोमी १०:४) धर्मत्यागी दर्शनहरूले बाहेक अरू प्रभावहरूले मण्डलीको आध्यात्मिकतालाई खतरामा पारिरहेका थिए। (कलस्सी २:२०-२२) पावलले “विश्वका आधारभूत सिद्धान्तहरू[मा]” आधारित दर्शनशास्त्रदेखि होसियार रहन चेताउनी दिए। किनकि त्यस्तो झूटो शिक्षा मानिसहरूका मनगढन्ते कुराहरूको उपज थियो।
१५. हामीले अक्सर सामना गर्ने गैरशास्त्रीय विचारधारादेखि नबहकिन के गर्नसक्छौं?
१५ परमेश्वरको वचनमा पूर्णतया आधारित नभएका मानव धारणा तथा विचारधाराहरूको प्रवर्धन गर्दा त्यसले मसीही स्थिरतालाई खतरामा पार्नसक्छन्। आज हामी यस्ता खतराहरूबाट सतर्क हुनैपर्छ। प्रेरित यूहन्नाले आग्रह गरे: “हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर।” (१ यूहन्ना ४:१) अतः बाइबलका सिद्धान्तहरूअनुरूप जीवन व्यतित गर्नु त पुरानो जमानाको फेसन हो भनेर सहपाठीले तर्क गर्दा, छिमेकीले भौतिक मनोवृत्ति राख्न प्रभाव पार्दा, सहकर्मीले थाहै नपाउनेगरि बाइबल प्रशिक्षित विवेक बिगार्ने दबाब दिंदा अथवा सँगी विश्वासीले मनगढन्ते कुराको आधारमा मण्डलीका अरू सदस्यहरूको आलोचना वा नकारात्मक टिप्पणी गर्दा, जे जे भन्यो त्यही त्यही सुन्ने नगर्नुहोस्। परमेश्वरको वचनसित मेल नखाने कुराहरूलाई हटाइहाल्नुहोस्। त्यसो गऱ्यौं भने स्थिर रहेर ख्रीष्टसँगसँगै हिंडिरहन सक्नेछौं।
‘धन्यवादसाथ विश्वासमा प्रशस्त हुँदै जानु’
१६. ख्रीष्टसँगसँगै हिंड्नुको चौथो पक्ष के हो र हामी कस्तो प्रश्न सोध्नसक्छौं?
१६ ‘धन्यवादसाथ विश्वासमा प्रशस्त हुनु,’ ख्रीष्टसँगसँगै हिंड्नुको चौथो पक्ष हो भनेर पावल उल्लेख गर्छन्। (कलस्सी २:७) “प्रशस्त” भन्ने शब्दले किनारा उर्लेर बग्ने नदीको सम्झना गराउँछ। यसले मसीहीहरूले निरन्तर धन्यवाद दिइरहनुपर्छ वा धन्यवाद दिने बानी परेको हुनुपर्छ भनेर औंल्याउँछ। अतः यस परिप्रेक्षमा हामी सबैले आफैलाई ‘के म धन्यवादी छु?’ भनेर सोध्नु बेस होला।
१७. (क) कठिन परिस्थिति भएर गुज्रनुपर्दा समेत हामीसँग धन्यवादी हुनुपर्ने थुप्रै कारणहरू छन् भनेर किन भन्न सकिन्छ? (ख) तपाईंले यहोवाबाट पाउनुभएको केही उपहारहरू के के हुन् जसको लागि तपाईं असाध्यै कृतज्ञ महसुस गर्नुहुन्छ?
१७ साँच्चै भन्ने हो भने, दिनहुँ यहोवालाई प्रशस्त धन्यवाद दिने हामीसँग यथेष्ट कारणहरू छन्। डरलाग्दो परिस्थिति भएर गुज्रनु परिरहेको बेला समेत सानुतिनु कुराले पनि हामीलाई ढाडस दिनसक्छ। जस्तै, साथीले समानुभूति देखाउँदा हामी ढाडस पाउनसक्छौं। त्यस्तैगरि, प्रियजनले आश्वासन दिंदा, राति मस्त निदाएकोले भोलि फुर्तिलो महसुस हुँदा, मीठो भोजनले भोक मेटाउँदा, चराचुरुंगीको चिरबिर, केटाकेटीको मीठो खित्का, नीलो खुला आकाश, मन्द मन्द सुसाइरहेको हावा—यी र अरू थुप्रै कुराहरू हामी हर दिन अनुभव गर्छौं र त्यसले केही क्षण भएपनि हामीलाई ढाडस दिन्छ। यस्ता उपहारहरूलाई हामीले हल्का ठानिरहेका हुनसक्छौं। तर के यी सबै थोकका लागि पनि धन्यवाद चढाउनु पर्दैन र? यी सबै थोक “हरेक असल दान र हरेक उत्तम वरदान[का]” स्रोत यहोवाबाट आएका हुन्। (याकूब १:१७) तथापि, उहाँले यीभन्दा अतुलनीय ठूलो उपहार दिनुभएको छ। त्यो हो, जीवन। (भजन ३६:९) यसबाहेक, सधैंभरि बाँच्ने सुअवसर पनि दिनुभएको छ। यो उपहारको प्रबन्ध गर्न यहोवाले आफ्ना एक मात्र “प्रिय” पुत्र पठाउनुभएर सर्वश्रेष्ठ बलिदान गर्नुभयो।—हितोपदेश ८:३०; यूहन्ना ३:१६.
१८. यहोवाप्रति कृतज्ञ छौं भनेर कसरी देखाउन सकिन्छ?
१८ अतः भजनरचयिताका शब्दहरू कति सत्य छन्: “परमप्रभुमा धन्यवाद दिनु . . . असल कुरो हो।” (भजन ९२:१) त्यसैगरि, पावलले थिस्सलोनिकीहरूलाई सम्झाए: “सबै कुरामा धन्यवाद गर।” (१ थिस्सलोनिकी ५:१८; एफिसी ५:२०; कलस्सी ३:१५) तसर्थ, यी कुराहरूलाई ध्यानमा राख्दै हामी सबै झन् बढ्ता धन्यवादी हुने निर्णय गर्नसक्छौं। प्रार्थना गर्दा परमेश्वरसित बिन्तीभाउ मात्र गर्नुपर्छ भन्ने छैन। बिन्तीभाउको आफ्नै उपयुक्त स्थान छ। आफूलाई केही चाहिए पछि कुरा गर्ने मित्र फेला पार्नुभो भने कस्तो होला कल्पना गर्नुहोस्! अतः धन्यवाद दिन वा उहाँको प्रशंसा गर्न मात्र पनि यहोवालाई प्रार्थना गरे कसो होला? यस बैगुनी संसारमा यस्ता प्रार्थनाहरू सुन्न पाउनुहुँदा उहाँलाई कत्ति खुसी लाग्दो हो! यसरी प्रार्थना गर्नुको अर्को फाइदा के पनि छ भने यसले जीवनका सकारात्मक पक्षहरूमा मन लगाउन मदत गर्नुका साथै हामी कत्तिको आशिषित् रहेछौं भनेर सम्झाउँछ।
१९. ख्रीष्टसँग सदा सर्वदै हिंड्न सकिन्छ भनेर पावलले कलस्सी २:६, ७ मा लेखेका कुन शब्दहरूले बोध गराउँछ?
१९ परमेश्वरको वचनको एउटै परिच्छेदमा यति बिघ्न बुद्धिका कुराहरू पाउनसक्नु के चाखलाग्दो कुरा होइन र? ख्रीष्टसँगसँगै हिंड्नु भन्ने पावलको सल्लाह हामी सबैले पालन गर्न रुचाउनुपर्ने कुरा हो। अतः ‘ख्रीष्टमा जरा हालेको हुन,’ ‘ख्रीष्टमा बनिन,’ ‘विश्वासमा दृढ़ हुन’ अनि ‘प्रशस्त धन्यवाद’ दिन हामी कटिबद्ध होऔं। यो सल्लाह खासगरि भर्खरै बप्तिस्मा लिनेहरूका लागि अति महत्त्वपूर्ण छ। तर यो हामी सबैलाई लागू हुन्छ। बोटबिरुवाको मूल जरो कसरी झन् झन् गहिरिंदै जान्छ अनि निर्माण हुँदै गरेको भवन कसरी तलामाथि तला थपिंदै जान्छ, विचार गर्नुहोस्। अतः ख्रीष्टसँगको हाम्रो यात्राको कुनै अन्त छैन। उन्नति गर्नुपर्ने अनेकन् क्षेत्रहरू छन्। तर यहोवा हामीलाई मदत अनि आशिष् दिनुहुन्छ किनकि हामी उहाँ र उहाँका पुत्रसँगसँगै सदा सर्वदै हिंडिरहून् भन्ने उहाँ इच्छा गर्नुहुन्छ।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ ख्रीष्टसँग हिंड्नुमा के के समावेश छ?
◻ ‘ख्रीष्टमा जरा हाल्नुको’ अर्थ के हो?
◻ हामी कसरी ‘ख्रीष्टमा बनिनसक्छौं’?
◻ ‘विश्वासमा दृढ हुन’ किन असाध्यै महत्त्वपूर्ण छ?
◻ ‘प्रशस्त धन्यवाद’ दिने कस्ता कारणहरू छन्?
[पृष्ठ १०-मा भएको चित्र]
रूखको जरा नदेखिनेगरि पलाएको हुन्छ तर त्यसले रूखलाई चाहिने पोषक तत्व र आड दिन्छ